Sunday, June 3, 2018

के बजेटले पुँजीबजारलाई गतिशील बनाउँछ ?

२०७५ जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेटका सम्बन्धमा विभिन्न टीकाटिप्पणी र मूल्यांकन भइरहेका छन् । सरकारले संसद्मा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा निर्वाचनका समयमा वामपन्थी घोषणपत्र र चुनावी सभामा व्यक्त गरेका वाचा पूरा गर्न निकै ठूलो आकारको बजेट आउने र अनेक सेवासुविधा, करको दायरा र दर व्यापक बढ्ने अपेक्षाविपरीत नेपाली अर्थतन्त्रको नाडी राम्रोसँग छामेका अर्थमन्त्रीले पहिलेदेखि भन्दै आएअनुसार बजेटलाई ब्यालेन्स्ड (सन्तुलित), जेन्युइन (यथार्थपरक) र ट्याक्टफुल (युक्तिसंगत) बनाउने इमानदार प्रयास गरेको छनक दिएका छन् ।

पुँजीबजारका सम्बन्धमा पनि नीति तथा कार्यक्रममा उल्लेख भएअनुरूप ‘पुँजीबजारको विस्तार गरी आन्तरिक लगानी परिचालनलाई गतिशील’ बनाउनेतर्फ केही कार्यक्रमलाई अगाडि बढाउने र केही अवरोध हटाउने काम भएको छ । जहाँसम्म प्रस्तुत बजेटले नेपाली पुँजीबजारलाई साँच्चिकै गतिशील बनाएर राष्ट्रिय पुँजी निर्माणको आधार बन्छ वा गति नै ‘सिल’ हुन्छ वा अर्थमन्त्रीको बुझाइअनुसारको ‘स्थिरतातर्फ उन्मुख’ हुन्छ भन्ने आमप्रश्न छ, त्यो व्यावहारिक प्रभाव नहेरी भन्ने सकिने अवस्था छैन ।

बजेटमा पुँजीबजार

बजेटमा ‘वित्तीय क्षेत्र’ अन्तर्गत समेटिएका नौमध्ये निम्न बुँदाहरूले पुँजीबजारसँग प्रत्यक्ष सरोकार राख्छन्: 

१. बुँदा १९५ मा वित्तीय सेवा सबै नेपालीको सहज पहुँच वृद्धि गरिने र वित्तीय क्षेत्र नियमनकारी निकायहरूको क्षमता अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंक ऐन, बिमा ऐन र धितोपत्र ऐनमा समयानुकूल संशोधन गरिने उल्लेख छ ।

२. बुँदा १९९ मा एक अर्ब वा सोभन्दा बढीको पुँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरूलाई पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरण भई पुँजीबजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने उल्लेख छ । यस्तै प्राइभेट इक्विटी, भेन्चर फन्ड र हेज फन्ड लगायतका नयाँ संस्थाहरूलाई पुँजीबजारमा प्रवेश गराइने र नेपालको क्रेडिट रेटिङ गराई विदेशी लगानी र ऋण प्रवाहलाई सहजीकरण गरिनेमा जोडिदिइएको छ । 
यसका अतिरिक्त एक वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने अभियान सञ्चालन गरिने; लघुवित्त संस्था र वित्तीय सहकारीलाई कर्जा सूचना केन्द्रको सञ्जालमा आबद्ध गरिने; कर्जा चुक्ता नगर्नेहरू सामाजिक सुविधाबाट बञ्चित हुने व्यवस्था; साना निक्षेपको अनिवार्य बिमा रकमको सीमा वृद्धि गरी रु. ३ लाख र धितोरहित प्रवाह हुने साना कर्जा सुरक्षण गर्ने रकमको सीमा रु. १० लाख पुराउने व्यवस्था; आगामी दुई वर्ष भित्र सबै बिमा कम्पनीहरूले कुल बिमा कारोबार मध्ये लघु बिमाको कारोबार कम्तीमा १० प्रतिशत पुराउनुपर्ने व्यवस्था; हुलाक बचत बैंकलाई खारेज गरी सञ्चित रकम वाणिज्य बैंकहरूमा खातासहित हस्तान्तरण गर्ने व्यवस्था; सरकारी कोषहरूमा निष्क्रिय रहेको रकमलाई पुँजी निर्माणमा प्रयोग गरिने; सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापनाको चरणमा रहेको पूर्वाधार विकास बैंक सञ्चालनमा ल्याइने; वित्तीय क्षेत्रले सम्मिश्रित विधिमार्फत पूर्वाधारमा लगानी गर्ने सम्बन्धमा नीतिगत व्यवस्था गरिने; र नेपालमा संचालित जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले बिमा लेखाङ्कको कम्तीमा २० प्रतिशत अनिवार्य रूपमा नेपाल पुनर्बिमा गर्नुपर्ने व्यवस्थाले बैंक तथा बिमा व्यवसायको विकास तथा विस्तारमा उल्लेख्य मद्दत पुराउने विश्वास गर्न सकिन्छ । 

यससँगै आर्थिक विधेयकमा पुँजीबजारसँग प्रत्यक्ष जोडिएका कर प्रावधान, दर, नीतिगत विषयमा निम्नानुसार व्यवस्था गरिने उल्लेख छ : 

१. बुँदा २२ मा धितोपत्र दलाल सेवामा विगतमा लागेको मूल्य अभिवृद्धि कर र सम्बन्धित कार्यालयबाट कर निर्धारण भई तिर्न–बुझाउन बाँकी रहेको मूल्य अभिवृद्धि कर र सोमा लागेको जरिवाना, थप दस्तुर र ब्याज मिनाहा हुने व्यवस्था गरिएको छ । 

२. अनुसूची १ को मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को उपदफा (३) सँग सम्बन्धित कर छुट हुने वस्तु तथा सेवाहरूको समूह ११ अन्य वस्तु तथा सेवाको बुँदा ४ मा वित्तीय सेवा, जीवन बिमा सेवा, पुनर्बिमा सेवा, कृषि बाली बिमा, फलफूल बिमा, मौरी बिमा, पशु बिमा, पन्छी बिमा, मत्स्य बिमा, समाशोधन गृह (क्लियरिङ हाउस) सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), पुँजीबजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ व्यवसाय, कमोडिटी फ्युचर मार्केट र धितोपत्र तथा कमोडिटी दलाल व्यवसायलाई समावेश गरिएको छ । 

३. बुँदा ३० मा आयकर ऐन २०५८ मा संशोधन गर्दै धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत् उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरूलाई लाग्ने करमा १५ प्रतिशतले छुट हुने व्यवस्था गरेको छ । यस्तै विशेष उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारका लागि सेयरमा पुँजीकरण गरेको अवस्थामा त्यस्तो पुँजीकरणमा लाभांश वितरणस्वरूप लाग्ने लाभांश करमा शतप्रतिशत छुट हुनेछ । 

४. अग्रिम कर असुलीको बुँदा (२) मा प्रचलित कानुनबमोजिम दर्ता भई धितोपत्रको खरिद–बिक्रीको कारोबार गर्ने बासिन्दा निकायबाहेक अन्य कुनै व्यक्तिलाई कुनै बासिन्दा निकायमा रहेको हितको निःसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा (क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको ७.५ प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको १० प्रतिशत र अन्यको हकमा लाभ रकमको २५ प्रतिशतका दरले तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) द्वारा लगानी गरिएको हितको निःसर्गको हकमा अग्रिम कर असुल गरिनेछैन भन्ने व्यवस्था कायम गरिएको छ । 

गतिशिल कि गति ‘सिल’

‘समृद्ध नेपाल र सुखी नेपाली’ को दीर्घकालीन उद्देश्य हासिल गर्ने सवालमा पुँजीबजारलाई सँगै लगिने र यसलाई गतिशील बनाउन आन्तरिक लगानी परिचालन हुनेमा सरकारले विश्वास दिलाउने पुनःप्रयास बजेटमा गरिएको छ । पुँजीबजारलाई राष्ट्रिय पुँजी निर्माणको अहम् हिस्सा बनाउने बताउँदै आएका अर्थमन्त्रीले महालेखा बारम्बार उठाउँदै आएको धितोपत्र कारोबार कमिसनमा मूल्य अभिवृद्धि कर (भ्याट)को अन्योलता हटाएर बजारलाई गलिशील बनाउने राम्रो प्रयास गरेको देखिन्छ । 

यसको साथै (क) १ अर्ब वा सोभन्दा बढी पुँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरूलाई पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरण भई पुँजीबजारमा सूचीकृत गरिने, र (ख) प्राइभेट इक्विटी, भेन्चर फन्ड र हेज फन्डलगायत वास्तविक क्षेत्र (रियल सेक्टर) को प्रवेशसँगै पुँजीबजार थप गतिशील हुने र अर्थतन्त्रको वास्तविक ऐनाका रूपमा आफूलाई उभ्याउनुका साथै वैकल्पिक लगानी र पुँजी निर्माणका औजार (टुल्स) हरू उपलब्ध गराउनेछ । यस्तै नेपालको क्रेडिट रेटिङ गराई विदेशी लगानी र ऋण प्रवाहलाई सहजीकरण गरिने व्यवस्थाले आवश्यक पर्दा नेपाली बैंकहरूले विदेशबाट सहज रूपमा ऋण ल्याएर आन्तरिक ऋणको माग व्यवस्थापन गर्ने विकल्प सहज बनाउनेछ । 

बैंकिङ पहुँच बढाउने, सबै नेपालीको बैंक खाता, लघुवित्तलाई कर्जा सूचनाको दायरामा ल्याउने, साना निक्षेपको बिमा रकमको सीमा वृद्धि र लघु बिमा र पुनर्बिमा व्यवसायलाई गतिशील बनाएसँगै पुँजीबजारका मुख्य दुई खम्बा बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्र थप मजबुत हुने सम्भावना देखिन्छ । 

यस्तै नियामक निकायहरूको क्षमता अभिवृद्धि र सम्बन्धित ऐन–कानुनको समयसापेक्ष सुधारले पुँजीबजारलाई स्वस्थ र सबल बनाउँदै गतिशील बनाउन सघाउनेमा विश्वास गर्न सकिन्छ । 

तर थप राजस्व संकलनका लागि व्यक्तिगत पुँजीगत लाभकरमा गरिएको वृद्धिले पुँजीबजारको विकास तथा विस्तारमा केही अवरोध भने ल्याउने सम्भावना रहन्छ । हुन त सय रुपैयाँको नाफामा पहिलेको ५ बाट २.५ रुपैयाँले बढेर ७.५ रुपैयाँ लाभकर काटिने व्यवस्थालाई लगानीकर्ताले करको दरमा करिव ५० प्रतिशतको वृद्धिका रूपमा लिएमा पुँजीबजारको गति नै ‘सिल’ हुने सम्भावना रहन्छ । संस्थागत लगानीकर्ताहरूको अग्रिम लाभकर १० प्रतिशतलाई यथावत् राखेर व्यक्तिहरूलाई संस्थागत रूपमा लगानी गर्न प्रोत्साहन गर्न खोजिएको हो भने भविष्यमा पुँजीबजार थप गतिशील हुने र राष्ट्रिय पुँजी निर्माण सहयोग पुग्नेछ । 

सरकारले व्यक्तिगत लगानीकर्ताको लाभकर वृद्धिसँगै त्यसलाई अन्तिम हुने घोषणा, लाभकरको गणना तथा लाभांश करको अन्योलता हटाएर पुँजीबजारको गतिशीलता बढाउने अवसर भने गुमाएको छ । 

निचोड

भ्याट छुट, सूचीकृत कम्पनीहरूलाई कर छुट, बाध्यात्मक सूचीकरण र सक्षम नियमकसम्बन्धी लगानीकर्ताहरूको आवाजलाई धेरै हदसम्म सम्बोधन गर्ने प्रयास प्रस्तुत बजेटले गरेको छ । उल्लिखित कार्यक्रमहरू व्यावहारिक रूपमै कार्यान्वयन भई पुँजीबजारले राम्रो गति लिएको अवस्थामा व्यक्तिगत लाभकरबाट आहत लगानीकर्ताहरू केही उत्साहित हुनेछन् । तर, पुँजीबजारसँग सम्बन्धित कार्यक्रमहरू कागजमै सीमित भएको अवस्थामा लाभकरबाट आहत लगानीकर्ता कमजोर नियामकसँगै भ्रमपूर्ण सूचनाका आधारमा सेयर किनबेच वा लगानीको निर्णय गर्न बाध्य हुँदा झन् निरास हुन पुगेमा गति नै ‘सिल’ हुने सम्भावनालाई समेत नकार्न सकिन्न ।

काराेवार दैनिकमा २०७५ जेठ २० गते प्रकाशित, https://karobardaily.com/news/idea/6156

Monday, May 21, 2018

कित्ता माहात्म्य

किता अर्थात् कुनै कम्पनीको शेयर पुँजीको सानो इकाई । लगानी वा कारोवार दुवैको लागि अपरिहार्य । जसरी राज्य सत्तामा कब्जा जमाउन भोटको आवश्यक पर्छ, कम्पनीको सत्तामा कब्जा जमाउन वा सत्तामा पुर्याउन पनि कित्ताको आवश्यकता पर्छ । त्यसैले कित्ता नै कम्पनीको सत्ता र बजारमा नेतृत्वको आधार हो । बजारमा कित्ता हुने र नहुनेको घम्साघम्सी हुन्छ भने कम्पनीमा कसको बढी कित्ता भन्ने । कित्ता धारकलाई शेयरधनी वा हिस्सेदार भन्छन् ।

कित्ता कसरी प्राप्त गर्ने ?
कित्ता प्राप्त गर्ने तरिका भनेको (१) कम्पनीको तर्फबाट सार्वजनिक निष्कासन (आइपिओ) हुँदा अंकित मूल्यमा किन्ने, (२) शेयरबजारबाट किन्ने, (३) कम्पनीको तर्फबाट हकप्रद, थप निष्कासनको समयमा किन्ने, (४) कसैले आफ्नो हक दावी नगरेको शेयर लिलामी हुँदा किन्ने । जुन तरिका अपनाए पनि मुख्य उद्देश्य कित्ता प्राप्त गर्नु नै हो ।

कित्ताको लागत
कम्पनीको लागि प्रत्येक कित्ताको अंकित मूल्य रु. १०० हो र कम्पनीले पुँजी संकलन गर्न सोही अंकित मूल्यमा बेच्छ । थप निष्कासन कम्पनी मार्फत नै हुने भए तापनि निर्धारित सूत्र वा नियामकबाट स्वीकृत दरमा कित्ताको विक्री हुनेहुँदा तोकिएको मूल्यमा किन्नु पर्ने हुन्छ । तर लिलामीमा भने बोलकवोल दरमा बढी मूल्य कबुल्नेले पाउने हुँदा मूल्य आफूले नै तय गर्ने हो । उल्लेखित तरिकाले कित्ता तुलनात्मक रुपमा सस्तोमा पाइन्छ । यी विधीहरुबाट भने चाहे जति वा लिन खोजे जति कित्ता पाइदैन ।

कित्तामा अधिकार जमाउने सबैभन्दा सजिलो उपाय भनेको शेयर बजारबाट किन्ने हो । त्यहाँ आफूसँग भएको कित्ता विभिन्न कारणले बेच्न बसेका हुन्छन्, त्यसमध्ये आफूलाई ठिक लागेको वा तिर्न चाहेको मूल्यको कित्ताहरु किन्न पाइन्छ । यसको लागि (१) शेयर अभौतिक रुपमा जम्मा गर्ने खाता (डिम्याट खाता), (२) बैंक खाता खोल्नुपर्छ । यति भएपछि नागरिकताको फोटोकपि र फोटो लिएर शेयर दलालको अफिसमा जाने । त्यहाँ ग्राहक पहिचान फारम भर्नुपर्छ । अब तपाइँ शेयरबजारबाट कित्ता किन्न योग्यता पुग्छ । कित्ता किन्न अब आवश्यक पैसाको जोहो गरी दलाललाई कुन कम्पनीको कति कित्ता कति दरसम्ममा वा बजार मूल्य अनुसार किनीदिन खरिद आदेश दिनुपर्छ । दलालले तपाइँको आदेश अनुसार कित्ता किनेर फोन वा मेसेजबाट किनिएको कित्ता र कुल लागतको जानकारी दिन्छ । तपाइँले तोकिए अनुसार उक्त रकम दलालको बैंक वा अफिसमा जम्मा गरिदिनुपर्छ ।

कित्ताको जोखिम
कित्ताले सत्तामा पुर्याउने मात्र होइन, यसले आर्थिक मत्ता र यता न उताको पनि बनाउन सक्छ । त्यसैले त भन्छन्, सिंहको सवार सजिलो तर ओर्लन गाह्रो । एक त कित्ता पाउनै मुस्किल, पाएको कित्ता जोगाउन मुस्किल हुन्छ । कित्ता कुन पैसाले किनेको, कस्तो कम्पनीको त्यस आधारमा पाल्दा लाग्ने खर्च पनि फरक हुन्छ । अनि शेयरबजारबाट भित्र्याउने कित्ताको त झन् मूल्य फरकफरक हुन्छ ।

आफैले भर्खर ६५० मा किनेको कित्ता एकैछिनमा ६५१ वा ६४९ वा ६०० नै पनि हुनसक्छ । त्यो भनेको उक्त कम्पनीको कित्ता किन्ने र बेच्ने कति छन् र उनीहरुको कित्ता लेनदेनको लागि भईरहेको मोलमोलाइ हो । यसले तपाइको कित्ताको रुपमा रहेको सम्पत्तिको बजारमूल्य पनि तलमाथि हुन्छ । हो, कम्पनी मार्फत बेचेको कित्ताको मूल्य भने निश्चित हुन्छ । त्यसैले कित्ताको पहिलो जोखिम भनेको बजार मूल्यमा हुने घटबढ हो है ।

हुनतः कित्ता किन्ने कम्पनीको सत्तामा जान वा सत्तामा पुर्याउन हो । तर सबैजना सत्तामा पुग्दैनन र सत्तामा पुर्याइएकाहरुबाट पनि राम्रो काम हुन्छ भन्ने हुन्न । त्यसले कित्तासँगै कम्पनीको व्यवसायको आधारमा सिर्जना हुने जोखिमको पनि जिम्मेवार हुनुपर्छ । कम्पनीको व्यवसाय राम्राे हुँदा मुनाफा बढ्छ र कित्ताधारी हामीले धारण गरेको कित्ताको अनुपातमा कम्पनीले बाँडे अनुसार नाफा पाउँछौं । तर कहिलेकाही राष्ट्रिय– अन्तराष्ट्रिय आर्थिक–सामाजिक अवस्था, सरकारको आर्थिक नीति, नियामकहरुको कानुनी व्यवस्था आदिले गर्दा कम्पनीले राम्रो मुनाफा गर्न सक्दैनन् । हो, कित्ता धारण गरेपछि कम्पनीको घाटाको प्रत्यक्ष जोखिम पनि लिनुपर्ने हुन्छ । तर कम्पनी जति नै घाटामा गएपनि घरखेतबाट तिर्नुपर्दैन । कम्पनीको नाफाघाटा, कित्ताको दोस्रो जोखिम हो ।

कित्ता किन लिने र केकेमा ध्यान दिने ?
कित्ता किन्ने मानिस अनुसार कम्पनीको सत्तामा कब्जा जमाउन र कम्पनीको नाफामा हिस्सेदारी कायम गर्न वा सस्तोमा किनेर नाफा सहित बेच्न किनिन्छ । दुवै अवस्थामा,

१. किन्दा सकेसम्म सस्तो र बेच्दा महंगो हुनुपर्छ । त्यसैले किन्न खोज्नेले तर्साएर, अनर्गल कुरा गरेर बजारमा कित्ताको मूल्य घटाउन खोज्छ भने बेच्नेले पनि लोभलालच देखाएर कित्ता भिडाउन खोज्छ । अझ बजारमा कित्ताको मूल्य निकै बढेको वा घटेको अवस्थामा यस्तो चलखेल बढी नै हुन्छ । यस्तो अवस्थामा कित्ता किन्न र बेच्न निकै सचेत हुनुपर्छ ।

२. कम्पनीको सत्ता कब्जा गर्ने अवस्थामा बाहेक कित्ता किन्दा बजारमा पाइने एउटै समूह, उतिकै मूल्य र एउटै कम्पनीको किन्नु हुन्न । भनेको सबै पैसा एकै ठाउँमा खन्याउनु हुन्न ।

३. सम्पत्तिको रुपमा जोडेको कित्ताको बजारमूल्यभन्दा आफूसँग भएको कित्ताको औसत लागत बढी भए बजारबाट सस्तोमा किनेर लागत कम गर्ने र लागत भन्दा बढी भएको अवस्थामा बेच्न पनि सकिन्छ ।

४. कित्ता लिएको कम्पनी तुलनात्मक रुपमा कसरी काम गरिरहेको छ, मुनाफाको अवस्था, व्यवस्थापन जस्ता पक्षहरुमा जानकारी लिईराख्नुपर्छ । यसको लागि पत्रपत्रिकामा निस्कने त्रैमासिक रिपोर्ट, साधारणसभामा पाइने वार्षिक प्रतिवेदन र आवश्यकता अनुसार कम्पनीमा गएर अवस्था बुझ्नु पर्छ ।

५. कहिले पनि आफ्नो आर्थिक र जोखिम लिने क्षमताभन्दा बढी कित्ता किन्नु हुन्न । यसले आर्थिक सामाजिक रुपमा अप्ठेरो अवस्थामा पुर्याउँछ ।

कित्ता जोगाउने
कित्ताधारीहरुको आ–आफ्नै उद्देश्य हुन सक्छन् । तर सबैले कित्ता प्राप्त गर्ने, जोगाउने र बढाउने हुनुपर्छ । किनभने कित्ताको खेलमा जहिलेपनि अरुसँगभन्दा आफूसँग धेरै र बढी कित्ता राख्ने प्रयास भइरहन्छ । जति बढी कित्ता कम्पनीको मुनाफामा त्यति नै बढी हिस्सा । आफूसँग धेरै कित्ता भएपछि त्यसको बजारमूल्य निर्धारणमा पनि अहम भूमिका खेल्न सकिन्छ।

तर कित्ता पाल्न त्यति सहज छैन् । किन्दाको लागत मात्र होइन, त्यो पैसा अन्त लगाउँदा आउने नाफा गुमाउनु पर्ने एकातिर हुन्छ भने ऋणमा पैसा लिएर कित्ता किनेको अवस्थामा सम्झौता अनुसारको व्याज र सावाँ फिर्ता गर्नुपर्ने हुन्छ । नभए कबुल अनुसार ऋणदिनेले धितोमा राखेको कित्ता नै बेचिदिने जोखिम हुन्छ । यस्तो अवस्थामा कुन र कति कित्ता जोगाउने विशेष ध्यान दिनुपर्छ ।

विशेषगरी, बजारमा कित्ताको मूल्य घटेको अवस्था, जस्लाई बियरिस पनि भन्छन्, कित्ता जोगाउन धौधौ हुन्छ । एकातिर, कित्ताको मूल्य घटेसँगै सम्पत्ति घटिरहेको हुन्छ, अर्कोतिर ऋण दिनले थप धितो वा पैसा जम्मा गर्न ताकेता गर्छ । बेचेर तिरौं घाटा लाग्छ । हो, त्यसैले कम्पनीको सत्ता वा मुनाफाको लोभमा आफ्नो क्षमताभन्दा बढी कित्ता पाल्नु हुन्न । यस्तो अवस्थामा सबैभन्दा पहिले आफूसँग भएका राम्रा कम्पनीका कित्ताहरु जसको पछि भाउ बढ्ने र मुनाफा दिने सम्भावना छ, तिनलाई जोगाउने । यसरी जोगाउन त्यस्तै परे केही नराम्रा कित्ता बेच्ने वा कम घाटा भएका कित्ता बेच्ने ।

कित्ता किन्दा जति सोच्नुपर्छ, बेच्दा त्यो भन्दा बढी सोच्नुपर्छ । किन्दा जसरी दुःखको पैसा परेको हुन्छ, बेच्दा घाटा पनि हुन सक्छ । कहिलेकाही महंगोमा बेचेर सस्तोमा उही कम्पनीको कित्ता किन्ने पनि गरिन्छ । तर यसो गर्दा पनि कति कित्ता बेचेर कति कित्ता किन्न सकिन्छ हिसाव गर्नुपर्छ । नभए हामीसँग भएको कित्ता त लिन्छन् नै हामीले सस्तोमा खोज्दा भुइको टिप्न खोज्दा पोल्टाको समेत पोखिन सक्छ ।कित्ता माहात्म्य आजलाई इति । कित्ताधारकाय नमो नम ।

क्लिकमाण्डुमा २०७४ चैत १३ गते प्रकाशित, https://clickmandu.com/2018/03/45877

लिलाम बढाबढमा संस्थापक हकप्रद सेयर बेच्न सकस

पुँजीवृद्धिका लागि हकप्रद सेयर जारी गर्ने क्रमबढेसँगै नबिकेका सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने क्रम पनि बढेको छ । बिगतमा छिटपुट आउने सेयर लिलामीका सूचनाहरू अहिले नियमित जस्तै हुनथालेका छन् । यसले लगानीकर्ताहरूका लागि एकमुष्ट सेयर खरिद गर्न पाउने असर पनि दिएको छ । तर यसरी बिक्री गरिने सेयरको न्यूनतम र अधिकतम मूल्यको सीमा नहुँदा आवेदक मूल्य अनिश्चिताको भूमरीमा रुमल्लिन बाध्य हुन्छन् ।
किन आउँछ लिलामीमा ?

नियमक निकायबाट पुँजी वृद्धि निर्देशनका कारण मुनाफाबाट वा ऋण पुँजी लिन लिएर पुँजी जुटाउन नपाइने अवस्थामा हकप्रद सेयर निष्कासन गर्न बाध्य हुन्छन् । यसका लागि कम्पनीले अंकित मूल्यमा तोकिएको अनुपातमा हकप्रद सेयर खरिद गर्न विद्यमान सेयरधनीहरूलाई कम्तीमा ३५ दिन र बढिमा थप १५ समेत ५० दिनसम्म समय दिन सक्छ । तर कतिपय सेयरधनीले क) सूचना नपाएर, ख) लगानी रकमको अभाव, ग) प्राप्त प्रतिफलमा असन्तुष्टी, घ) अन्य व्यवहारिक कारणले हकको सेयर खरिद गर्दैनन् । हुनत: कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्दा साविक सेयरधनीले खरिद गर्न नचाहेको अवस्थामा सोही समूहको अर्को सेयरधनीले तोकिएको ढाँचामा निवेदन दिई खरिद गर्न मनोनयनको प्रावधान रहेको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियामावली, २०७३ को नियम २० अनुसार हकप्रद सेयर बिक्रीको लागि खुल्ला अवधिभित्र बिक्री हुन नसकी बाँकी रहेको सेयरसार्वजनिक सूचना प्रकाशन गरी लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्नुपर्ने कानुनी प्रावधानका कारण कम्पनीहरूले नबिकेको सेयर लिलामीमा ल्याउँछन् ।

तथ्यांकमा सेयर लिलामी

अहिले तालिकामा दिईएका ६ कम्पनीका ५१ लाख संस्थापक र ९ लाख किता सर्वसाधारण गरी कुल ६० लाख ६९ हजार किता सेयरहरू लिलामी बिक्रीमा छन् । अझै हकप्रद जारी भएका र प्रक्रियामा रहेका कम्पनीहरूका हजारौं किता सेयर लिलामी आउने संभावना छ ।

आर्थिक वर्ष (आव) २०७४/७५ को बैशाख मसान्तसम्ममा धितोपत्र बोर्डबाट ४५ कम्पनीहरूलाई २० करोड ७७ लाख ५८ हजार ७८ किता हकप्रद सेयर निष्कासन स्वीकृत दिएकोमा ३७ कम्पनीका १९ करोड ३७ लाख १९ हजार ५४ किता निष्कासन भईसकेका छन्।

यस आवमा स्विकृतभई निष्कासित मध्येबाट करिव १ करोड संस्थापक र ४३ लाख किता सर्वसाधारण सेयर लिलाम बढाबढमा आएका छन् । यस्तै विभिन्न समयमा हकप्रद निष्कासित र अन्य कारण समेत यस आवमा थप १ करोड १९ लाख ८६ हजार ५४ किता संस्थापक र ३२ लाख ८६ हजार २ सय ६५ गरी कुल १ करोड ५२ लाख ७२ हजार ३ सय १९ किता सेयर पनि लिलाममा आएका छन् ।

यसरी आवको १० महिनामा नै २ करोड १९ लाख हाराहारी संस्थापक र ७६ लाख सर्वसाधारण समेत कुल २ करोड ९५ लाख किता भन्दा बढी सेयर लिलाममा आएका छन्, यो भनेको ७४ प्रतिशत संस्थापक र २६ प्रतिशत हाराहारी सर्वसाधारण सेयरको हिस्सा हो ।

लिलामी आएको मध्यम
लिलामी आएको
संस्थापक
सर्वसाधारण
कुल
२०७४/७५ निष्कासित हकप्रदमध्येबाट
९९,८५,१९७
४३,२७,७११
,४३,१२,९०८
गत आवमा निष्कासित हकप्रद मध्येबाट
३३,६३,००५
२८,८०,८८६
६२,४३,८९०
अन्य संस्था वा ब्यक्तिको तर्फबाट
८६,०९,८३४
,६५,३७९
८८,७५,२१३
सामुहिक लगानी कोषबाट
१३,२१६
,४०,०००
,५३,२१६
लिलामीमा आएको कुल
,१९,७१,२५२
७६,१३,९७६
,९५,८५,२२७
प्रतिशतमा
७४.२६
२५.७४
१००

संस्थापक सेयर बेच्न सकस

हाल लिलामीमा आउने सेयरहरूमध्ये केही अपवाद बाहेक सर्वसाधारण सेयर सहजै र बजार मूल्य भन्दा बढी रकममा समेत बिक्री हुने गरेको देखिन्छ । तर संस्थापक सेयर अंकित मुल्यमा समेत बिक्न गाह्रो हुनेगरेको देखिन्छ ।

सामान्य तथ्यांक हेर्दा पनि संस्थापक तर्फ ९ प्रतिशत र सर्वसाधारणतर्फ केवल ४ प्रतिशत हाराहारी सेयर लिलामीमा आएको देखिन्छ । मुख्यत: कम्पनीको लाभांस र इक्विटीमा प्रतिफलबाट असन्तुष्टि, दोस्रो बजारमा मूल्य विभेद, किनबेचमा अनेक कानुनी शर्तहरू र धितोबन्धकमा कठिनाईका कारण समेत संस्थापक सेयर बिक्री नभई लिलामीमा आउने गरेका छन् ।

साविक संस्थापकहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने र अन्य इच्छुक लगानीकर्ताले संस्थापक सेयर खरिदका लागि नियामकबाट तोकिएको योग्यता पुरा गरी (क) आम्दानीको स्रोत खुलेको कागजात, (ख) कर चुक्ता प्रमाणपत्र, र (ग) कालोसूचीमा नरहेको प्रमाणित कागज पेश गर्नुपर्दा कतिपय कम्पनीका संस्थापक सेयरहरू लिलामीमा बेच्नसमेत हम्मे पर्ने गरेको छ ।

यस आवमा लिलाम बढाबढबाट बिक्रीमा राखिएका १२ कम्पनीको हकप्रद पहिलोपटक लिलामीमा बिक्री नभएर पुन: दोस्रोपटक लिलामी गर्नुपरेको थियो भने बेष्ट फाइनान्स, हाम्रो विकास बैंक र सिभिल बैंकको संस्थापक सेयर तेस्रोपटक लिलामी गर्नुपर्ने बाध्यता आएको छ । सिभिल बैंकको २९ लाख ९२ हजार किताभन्दा बढी सेयर तेस्रोपटकमा समेत सबै बिक्री हुनेमा आशंका छ । यसरी पटकपटकको लिलामीबाट लागत बढ्नुका साथै पुँजी व्यवस्थापन र व्यवसाय विस्तारमा समेत नकारात्मक प्रभाव पर्ने संभावना रहन्छ ।

लिलामीको सेयर खरिद प्रक्रिया

बिक्री नभई बाँकी रहेको सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री व्यवस्थापन गर्दछ । यसको लागि धितोपत्र दर्ता तथा निष्काशन नियामावली, २०७३ नियम १५ बमोजिम कम्तीमा एउटा राष्ट्रियस्तरको दैनिक पत्रिकामा बिक्री खुल्ला गरिने दिन भन्दा कम्तीमा सात कार्यदिन अगाडि अनुसूची–८ बमोजिमको विवरण खुलाई सार्वजानिक जानकारीका लागि आव्हानपत्र प्रकाशित गर्दछ । जारी सूचनाको आधारमा सेयर खरिद गर्न चाहने लगानीकर्ताले निम्न प्रक्रिया अपनाउनु पर्नेछ ।

(१) सर्वसाधारण सेयर : (क) बिक्री प्रबन्धक वा तोकिएको कार्यालयमा निर्धारित शुल्क बुझाएर फारम लिई उल्लेखित सबै विवरण स्पष्ट भर्ने;(ख) खरिद गर्न चाहेको कित्ताको तिर्न चाहेको दरले हुनआउने रकम तोकिएको बैंक वा वित्तीय संस्थामा जम्मा गर्ने वा ‘गुड फर पेमेन्ट चेक’ वा ड्राफ्टबाट भुक्तानी गर्ने भए आफ्नो खाता रहेको बैंकमा गएर फारम उल्लेखित नाममा आवश्यक रकमको ‘गुड फर पेमेन्ट चेक’ वा ड्राफ्ट बनाउने;(ग) बैंकमा नगद जम्मा गरेको भौचर वा ‘गुड फर पेमेन्ट चेक’ वा ड्राफ्ट र बोलकबोल फारम खाममा सिलवन्द गरी बाहिर ‘सर्वसाधारण सेयर खरिद आवेदन’ उल्लेख गरी बिक्री प्रबन्धक वा तोकिएको कार्यालयमा बुझाउनुपर्छ । दश लाख भन्दा बढी रकमको आवेदन दिँदा अनिवार्यरुपमा प्यान नं. उल्लेख गर्नुपर्छ र आवश्यकता अनुसार प्यानको प्रतिलिपि समेत समावेश गर्नुपर्छ ।

२) संस्थापक सेयर : संस्थापक सेयरको लिलामीमा कतिपय कम्पनीहरूले पहिलोपटक साविक कायम संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने प्रावधान राखेको हुन्छ भने केहिले अन्यले समेत किन्न पाउने व्यवस्था गरेको हुन्छ । त्यसैले आफू संस्थापक सेयरधनी नभएको कम्पनीको सेयर किन्नको लागि सर्वप्रथम बिक्रीका लागि उपलब्ध सेयर अन्यले किन्न पाउने प्रावधान भएको हुनुपर्छ । यदि किन्न मिल्ने रहेछ भने माथि सर्वसाधारण सेयरधनीका लागि उल्लेखित प्रक्रियाबाटै फारम खरिद, आवश्यक विवरण सहित रकमको भौचर वा ‘गुड फर पेमेन्ट चेक’ वा ड्राफ्ट सहित खाममा सिलबन्द गरेर बाहिर ‘संस्थापक सेयर खरिद आवेदन’ उल्लेख गरी बिक्री प्रबन्धक वा तोकिएको कार्यालयमा बुझाउनुपर्छ । संस्थापकका लागि समेत १० लाख भन्दा बढी रकमको लागि आवेदन दिँदा प्यान नं. र त्यसको प्रतिलिपि समेत समावेश गर्नुपर्छ । यसका अतिरिक्त(क) आम्दानीको स्रोत खुलेको कागज;(ख) कर चुक्ता प्रमाणपत्र;(ग) कालोसूचीमा नरहेको प्रमाणित कागज समेत संलग्न गर्नुपर्नेछ भने सम्बन्धित नियमक निकाय वा कानुनत: संस्थापक हुन योग्यता पुगेको हुनुपर्नेछ ।

संस्थाले सेयर खरिद गर्न चाहेमा प्रबन्धपत्र नियमावलीमा सेयर खरिदबिक्री गर्न सक्ने व्यवस्था (क) दर्ता प्रमाणपत्र, (ख) करचुक्ता प्रमाणपत्र, (ग) सेयर खरिद गर्ने सम्बन्धमा संचालक समितिको निर्णयको प्रतिलिपि तथा अख्तियारनामा आवेदनसँग संलग्न गर्नुपर्नेछ ।

सुधारका उपायहरू

हकप्रद सेयर जारी गर्दा नै (क) कम्पनी तथा बिक्री प्रबन्धकले यथेष्ट सूचना प्रवाह; (ख) स्वयंले वा मनोनितअर्को सेयरधनीले खरिद गर्ने प्रक्रियामा सहजता;(ग) इच्छुक सेयरधनीहरूलाई निश्चित प्रतिशतसम्म थप सेयरका लागि आवेदन गर्न सकिने व्यवस्था गर्न सके लिलामीमा आउने सेयरसंख्यामा उल्लेख्य कमी आउने छ । अझसम्पूर्ण हकप्रद सेयर खरिदको प्रत्याभूत गरिनुपर्ने कानुनी व्यवस्था भएमा लिलामीको झमेला नै रहँदैन् ।

यस्तै विभिन्न कारणले लिलामीमा आएका सेयरको मूल्य अन्यौलता हटाउन अधिकतम र न्यूनतम मूल्य तोक्ने व्यवस्था गर्नुपर्छ । यसको लागि बजारमूल्य वा १८० दिनको औसत कारोवार मूल्य वा आधारमूल्य वा कम्पनीको नेटवर्थको निश्चित प्रतिशत तलमाथिको दरमा बोलकवोलको व्यवस्था गर्न सकिन्छ ।

संस्थापक सेयर खरिद प्रक्रियालाई केही खुलुको बनाएर लगानीयोग्य रकम र चाहना भएका लगानीकर्तालाई संस्थापक सेयर किन्न प्रोत्साहित गर्न सकिन्छ । हकप्रद निष्कासनका साथै लिलामीको पहिलापटकमा नै विद्यमान संस्थापक वा अन्यले समेत आवेदन गर्न सक्ने व्यवस्थाका साथै साविक संस्थापक र निश्चित रकमसम्मको आवेदनमा करचुक्ता, कालोसूची र आयस्रोत खुलाउनु पर्ने प्रावधानलाई स्वेच्छिक बनाउन सकिन्छ । यसले कम्पनीहरूलाई आफ्नो कितावी मूल्य (बुक भ्यालु) वा नेटवर्थभन्दा सस्तोमा समेत सेयर बिक्री गर्न नसकेर दोहर्याई तेहर्याई लिलामीमा जान र पुँजी व्यवस्थापनको समस्याबाट मुक्ति दिनेछ ।

(विभिन्न संचारमाध्यममा प्रकासित तथ्यांकलाई एकत्रित र विश्लेषणगर्दा सकेसम्म यथार्थपरक बनाउने प्रयास गरिएको छ ।)

काराेवार दैनिकमा २०७५ जेठ ६ गते प्रकाशित https://karobardaily.com/news/idea/5559