Sunday, April 7, 2019

लगानी अवसरको गलत बाँडफाँड

लगानी अवसरको गलत बाँडफाँड
देशमा गत वर्षको चुनावबाट स्थायी सरकार आएसँगै ‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि पूर्वाधार, जलविद्युत्, उत्पादन, सेवाजस्ता क्षेत्रमा लगानी जुटाउन राष्ट्रिय पुँजी निर्माण र परिचालनदेखि वैदेशिक सहायता र लगानी जुटाउन सरकारले विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । यसै सन्दर्भमा सरकारले हालै ‘लगानी सम्मेलन’ सम्पन्न गरेको छ भने ‘जनताको जलविद्युत् कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ

लगानी जुटाउने प्रयास

देशको कृषि, ऊर्जा, शिक्षा, उत्पादनमूलक उद्योग, पर्यटन, सहरी पूर्वाधारमा लगानी जुटाउन सरकारले २०७५ चैत १५ र १६ गते लगानी सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनका सहभागीहरूमाझ प्रस्तुत भएका ७७ वटा परियोजनामध्ये ११ वटामा सम्झौता र १७ वटामा आवेदन प्राप्त भएको छ । करिब ३० खर्बको लगानी जुटाउने सरकारको प्रयासमा केवल १२ खर्बको लगानी अवसरको माग लगानीकर्ताहरूले गरे, अर्थात् लगानीको अवसर खोज्ने लगानीकर्ता नै थिएनन् । सम्मेलनमा जलविद्युत् क्षेत्रका मात्र करिब १२ खर्ब लागतका १९ आयोजना प्रस्तुत भएका थिए ।

यस्तै सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’मार्फत २१ जलविद्युत् आयोजनामा नागरिकको लगानी जुटाउने प्रयास गरेको छ । यस कार्यक्रमअन्तर्गतको पहिलो त्रिशूली जलविद्युत् कम्पनीले ‘त्रिशूली–३ बी’ जलविद्युत् आयोजनाको ३५ लाख ९३ हजार ८ सय ५० कित्तामा सर्वसाधारणलाई लगानी आह्वान गर्दा प्रधानमन्त्रीले १० हजार र ऊर्जामन्त्रीले १ हजारसमेत कुल ६ करोड ४४ लाख ७२ हजार ३ सय ५० कित्ता अर्थात् १८ गुना बढी रकम लगानी प्रतिबद्धता र लगानी अवसरको माग भएको थियोे ।

यसरी एकातिर सरकारले ठूला स्वदेशी र विदेशी लगानीकर्ताहरूमाझ ७७ खर्बको लगानी आह्वान गर्दा केवल १२ खर्बको लगानी प्रतिबद्धता आउँछ, अर्कातिर आमनेपालीले एउटै कम्पनीमा १८ गुना बढी लगानीको अवसरको माग र प्रतिबद्धता व्यक्त गरे । नेपालमा कम्पनीहरूले सेयरमार्फत पुँजी जुटाउन खोज्दा कैयौं गुना बढीले लगानीको अवसर खोजिएको त्रिशूली जलविद्युत् कम्पनीमा मात्र होइन, १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्तामा लगानी आह्वान भएको माथिल्लो तामाकोसी हाइड्रोपावरमा समेत ४.३७ गुना बढी सेयरका लागि आवेदन परेका थिए भने बैंक तथा वित्तीय संस्थाको हकमा यस्तो आवेदन सयौं गुनासम्म पर्ने गरेको छ । यसले देशले लगानीको अवसर सिर्जना गर्दा विदेशी र ठूलाभन्दा छरिएर रहेका स्वदेशी लगानीकर्ताहरूबाट बढी लगानी जुटाउन सकिने संकेत गरेको छ ।


लगानी अवसरको बाँडफाँड

सरकारको विदेशी लगानीकर्ता मोहले गर्दा लगानी सम्मेलनमा सहभागी विदेशी र ठूला लगानीकर्ताहरूले चाहे जति र चाहेको आयोजनामा छनोटपूर्ण तरिकाले लगानीको अवसर पाए भने स्वदेशी लगानीकर्ताहरूले जोखिम लिएर लगानी गर्न खोज्दासमेत पर्याप्त लगानीका अवसर पाउन सकेका छैनन् । यसले स्वदेशी लगानीकर्ताहरू सरकारको लगानीको अवसर बाँडफाँड नीतिमाथि नै प्रश्न उठाउन बाध्य भएका छन् ।

यसको पछिल्लो उदाहरणका रूपमा त्रिशूली बी आयोजनामा १ लाख ५४ हजार ५ सय ५९ जनाले न्यूनतम १ सय कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिएकामा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम सम्पूर्ण आवेदकलाई १० कित्ता र बढी सेयर आवेदन गर्नेलाई थप १० कित्ता बाँडफाँड गर्दा लगानीको अवसर खोज्दै सेयरमा आवदेन दिएका प्रत्येकले केवल २० कित्ता र भाग्यमानी ५२ हजार २ सय ६७ आवेदकले थप १० कित्तासहित कुल ३० कित्ता सेयर पाए । २०७४ साउन २ गतेदेखि कार्यान्वयनमा आएको बाँडफाँड नीति अनुसार प्रधानमन्त्रीले समेत केवल २० कित्तामा २ हजार रुपैयाँमात्र लगानीको अवसर पाए । हुनत विद्यमान बाँडफाँड नीतिकै कारण प्रधानमन्त्रीले कम्तीमा २० कित्ता सेयरमा लगानीको अवसर पाए पनि त्यसले न त लगानीकर्ताको लगानी क्षमताको दोहन गर्न सक्यो, न त लगानीकर्ताले चाहेअनुसारको लगानीको अवसर प्रदान गर्न, बरु एउटा तहमा लगानी गर्न चाहने लगानीकर्तालाई केवल १०-२० कित्ता सेयरमा लगानी गर्नुपर्दा आईपीओमा लगानी निरुत्साहित गर्ने निश्चित छ । हो, यसले धितोपत्र लगानीकर्ता र डिम्याट खाताको संख्या बढाउन बाहेक खास योगदान गर्न सक्दैन ।


लगानीका अवसरको सिर्जना र राष्ट्रिय पुँजी निर्माण

आमलगानीकर्ताको लगानीको भोक र क्षमतालाई राज्यको पूर्वाधार, औद्योगिक र आर्थिक विकासमा परिचालन गर्न सबैभन्दा पहिले सरकारले छरिएका लगानीकर्ताहरूको लगानी र जोखिमवहन क्षमताको अध्ययन–अनुसन्धान गरी उनीहरूको क्षमताअनुसारका लगानीका अवसर सिर्जना गर्दै विभिन्न आयोजनाका आवश्यकताअनुसारको स्वदेशी लगानीकर्ताहरूको लगानी क्षमता विकास र विस्तारमा सहजीकरण गर्नुपर्छ ।

सरकारले अब वैदेशिक लगानी खोज्ने चक्करमा स्वदेशी लगानीकर्ताहरूमाथिको विभेद बन्द गर्दै लगानी सहजीकरण र हरसम्भव सेवा र सुविधा दिएर राष्ट्रिय पुँजी निर्माण र लगानीमा प्रोत्साहन गर्नुपर्छ । लगानीको ज्ञान र क्षमतासँगै जोखिमवहन गर्न सक्ने आमनेपालीहरूलाई कर, आयको स्रोतमा सहुलियत दिएर सकेको लगानी गर्न प्रोत्साहन र लगानी वातावरण निर्माणमा लाग्नुपर्छ ।

सरकारले अहिले जनताको जलविद्युत्मा समेटिएका आयोजनाहरूको पटकपटक सेयर जारी गर्नुको सट्टा सबै वा धेरैवटा कम्पनीमा लगानी गर्न सक्ने ठूलो पुँजीगत क्षमता भएको बलियो कम्पनी खडा गरी सेयर जारी गर्न सकिन्छ । यसको विकल्पमा विद्यमान हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र इन्फ्रास्ट्रकचर डेभलपमेन्ट बैंकलाई गाभेर कम्तीमा ५० अर्ब रुपैयाँको कम्पनी बनाउने र अंकित मूल्यमा एफपीओमार्फत लगानीको अवसर सिर्जना गर्न सकिन्छ । यसो हुँदा पटक–पटक सेयर निष्कासनको झन्झट कम हुनुका साथै आमलगानीकर्ताले एउटै कम्पनीको उल्लेख्य कित्ता सेयरमार्फत लगानी गर्न सक्नेछन् ।


सेयरमा लगानी अवसर बाँडफाँड नीतिमा सुधार

हाल सार्वजनिक निष्कासनमा आपूर्तिभन्दा माग बढी भएको अवस्थामा नेपाल धितोपत्र बोर्डले २०७४ साउनबाट कार्यान्वयनमा ल्याएको ‘धितोपत्र निष्कासन तथा बाँडफाँड नीति’ले लगानी सिर्जनामा खास असर नदेखिए तापनि दीर्घकालीन राष्ट्रिय पुँजी निर्माण र ठूला आयोजनामा लगानी जुटाउन समस्या आउने सम्भावना रहन्छ । जति नै जोखिम लिन र लगानी गर्न खोजे पनि अन्ततः १०-२० कित्ता सेयर बाँडफाँड हुने नीतिले (क) ठूलो रकम लगानी गर्न चाहने र सक्षम लगानीकर्ताहरूलाई आईपीओमा आवेदनमा निरुत्साहित गर्छ, (ख) दीर्घकालीन रूपमा सेयरधारण र जोखिमवहन क्षमता भएका लगानीकर्ताहरूको प्राथमिक बजारबाट पलायन हुन्छन्, (ग) कम्पनीमा व्यावसायिक योगदान गर्न सक्ने गुणात्मक सेयरधनीभन्दा र संख्यात्मक भीडबाट सञ्चालन, व्यवस्थापन खर्च र व्यावहारिक बोझ बढाउँछ, र (घ) धितोपत्र बजारमा कम्पनीका सेयरहरूको कर्नरिङ हुँदा कारोबारमा व्यावहारिक कठिनाइसँगै समग्र पुँजीबजारको विकास र विस्तारमा समेत बाधा पुग्छ ।

थोरै कित्ता सेयर भएको कम्पनीप्रति अपनत्वको कमी मात्र होइन, साना लगानीकर्ताहरूको जोखिमवहन क्षमता पनि कम हुँदा सूचीकृकत नहुँदै दोस्रो बजारमा बिक्री गर्न हतारोले उनीहरू कम्पनीको व्यावसायिक लाभ र दीर्घकालीन पुँजीगत लाभको अवसरबाट वञ्चित त हुन्छन् नै, दोस्रो बजारमा आपूर्तिको समस्या बढेर प्राथमिक बजारमा लगानी गरेकाहरू समेत पुँजीगत घाटामा जाने अवस्था आउन सक्छ । यसले सेयर उपलब्ध गराएर समृद्ध र सुखी नेपाली बनाउने सरकारको लक्ष्यमा समेत तुसारापात हुनुका साथै पुँजीबजारको स्थायित्वमा समेत नकारात्मक असर पुग्नेछ । हुन त आरक्षणमा सेयर उपलब्ध गराएर समृद्ध र सुखी नेपाली बनाउने भन्ने सोच राख्नु नै गलत हुन्छ, किनभने सेयरले सुनिश्चित नाफा दिन सक्छ भन्ने मान्यता राख्दा भोलि सेयर जारी गर्ने कम्पनीले आशातीत प्रगति नगरेमा त्यसबाट कुनै पनि प्रकारको लाभ (लाभांश वा पुँजीगत लाभ) दिन नसक्दा आमलगानीकर्ता भोलिका दिनमा सेयर लगानी र सेयर बजारप्रति नकारात्मक धारणा बन्न सक्नेतर्फ पनि सोच्नुपर्छ । सेयर लगानीलाई मौलिक अधिकार जस्तो किसिमले व्याख्या गर्नु हुन्न । यो विशुद्ध जोखिमसहितको लगानी हो, लगानी गर्नेले खोज्ने लाभांश वा पुँजीगत लाभ नै हो । तर, विद्यमान बाँडफाँड नीतिले भिडाउने १०-२० कित्ता सेयरले तत्कालको लागि सेयर लगानीकर्ताहरूको संख्यात्मक भीड त बढ्छ, तर समृद्धि र सुखी नेपाली, राष्ट्रिय पुँजी निर्माण र लगानी सिर्जना असम्भव नै हुन्छ । सम्भवतः १०-२० कित्ता सेयर मात्र पाइने थाहा भएको भए प्रधानमन्त्रीबाट १० हजार र ऊर्जामन्त्रीले १ हजार कित्ताको सेयरमा आवेदन हुने थिएन होला अनि सेयर नपाइने कुण्ठाबाट एकपटक पलायन भएको लगानीकर्तालाई पुनः फर्काउन गाह्रो हुन्छ । 

पक्कै पनि कुनै पनि लगानीकर्ताले चाहेजति लगानीको अवसर कम्पनी वा सरकारले दिन नसक्ला, तर जोखिम लिएर लगानी गर्न चाहने विभिन्न लगानीकर्ताहरूको प्राथमिक धितोपत्र बजारमा सहभागितालाई कायम राख्न पनि (क) विद्यमान बाँडफाँड नीतिको समिक्षा र सुधार, (ख) जारी भएको सेयर कित्ता र समूहगत आवेदकको संख्याका आधारमा समानुपातिक बाँडफाँड, (ग) सेयरमा कारोबार (ट्रेडिङ) भन्दा दीर्घकालीन लगानी प्रोत्साहन गर्न सेयरधारण गरेको अवधिका आधारमा पुँजीगत लाभकर नीति, (घ) सेयरमा आरक्षण नभई जोखिमवहन र लगानी क्षमताका आधारमा लगानी अवसरको बाँडफाँड हुनुपर्छ ।

काराेवार दैनिकमा २०७५ चैत २४ गते प्रकाशित
https://karobardaily.com/news/idea/18193

Sunday, March 24, 2019

नेप्सेको ११ सय र लगानी रणनीति

१२ सय १२ बाट खुलेको चालू आर्थिक वर्ष ०७५/७६ को नेपाली सेयर बजारको परिसूचक नेप्से विभिन्न उतारचढाव पार गर्दै २०७५ फागुन १९ गते ११ सयको न्यूनतम बिन्दुमा पुग्दा लगानीकर्ताहरूको छटपटाहट भने उच्चतम बिन्दुमा पुग्यो । हुनत मंसिरमा नेप्से १,११८ हाराहारीमा आइपुग्दा लगानीकर्ताहरू आत्तिएर राजनीतिक पार्टी, संसद्, सरकार, नियामक र सञ्चालकसम्मको ढोका ढकढक्याउन पुगेसँगै सरकारबाट ‘मुद्रा तथा पुँजीबजार समस्या पहिचान तथा समाधान समिति’ गठन भई समस्या पहिचान र समाधानको आशामा केही सुधारिँदै १,२१५ सम्म पुगेको नेप्से पुनः १,१०० को बिन्दुमा ओर्लियो । लगानीकर्ता, सरकार, नियामक र बजार सञ्चालकका अनेक प्रयासका बाबजुद चालू आवमा नेप्से परिसूचक १,२८० भन्दा माथि र १,१०० भन्दा तल जान सकेको छैन । चालू अबको १ सय ६७ कारोबार दिनमा ५२ दिन मात्र १,२०० माथि रहेको नेप्सेको औसत परिसूचक १,१८३ र न्यूनतम १,१०० रहेको देखिन्छ । हालसम्मको नेप्सेको उच्चतम बिन्दु १,८८१ को आधारमा हेर्दा नेप्से परिसूचक करिब ७८१ बिन्दु अर्थात् ४१.५ प्रतिशतको गिरावट आएको छ ।
 
परिसूचकको विगत हेर्दा उच्चतम बिन्दुभन्दा पुग्नु करिब ९ महिना अगाडि २०७२ कातिक १९ गते पनि नेप्से १,१०० मा थियो । उच्चतम बिन्दुबाट ओर्लन सुरु भएको करिब ३१ महिनामा बिन्दुगत हिसाबले परिसूचक पुनः उही १,१०० मा फर्किएको छ । यसरी ४० महिनाको चक्रमा नेप्से सूचक घुमिफिरी एउटै बिन्दुमा पुग्दा सेयर बजारको अर्को महत्वपूर्ण आधार बजार पुँजीकरण भने ११ खर्ब ५६ अर्बबाट १३ खर्ब ४३ अर्ब पुगेको छ ।


एघारसयको परिसूचक
मिति
नेप्से विन्दु
कारोवार रकम (रु. करोड)
बजार पूँजीकरण (रु. खर्ब)
२०७२ कातिक १९
११००.०९
१५.६३
११.५७
२०७३ साउन १३
१८८१.४५
२२६.६५
२०.७१
२०७५ साउन १
१२०४.३१
२०.६१
१४.२६
२०७५ फागुन १९
११००.५८
२३.५३
१३.४३
२०७५ चैत ७
११४०.६०
२४.८६
१३.९४

११ सय र लगानीकर्ताको मनोभाव

नेपालका लगानीकर्ता वा कारोबारीले कम्पनीको सेयरको माग र आपूर्ति तथा व्यावसायिक र वित्तीय अवस्थाभन्दा नेप्से परिसूचकलाई लगानी निर्णयको मुख्य आधार बनाउँदै आएका छन् । उनीहरू (क) नेप्से केवल सूचीकृत धितोपत्रहरूको कारोबार दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्यबीचको अनुपात मात्र भएको, (ख) सेयरको बजार मूल्य माग र आपूर्तिसँगै अन्य धेरै तत्व हरूले प्रभावित पार्न सक्ने, (ग) नेपालको बजार परिसूचकमा लगानी र कारोबार गर्न नमिल्ने, (घ) नेप्से तलमाथि हुँदै गर्दा देखिने नाफाघाटा केवाल स्वप्निल (भर्चुअल) हुँदा लगानीको वास्तविक नाफाघाटा सुनिश्चित नहुने तर्फ ध्यान दिँदैनन् । विगत साँढे दुई वर्षको अन्तरालमा नेप्से परिसूचक घट्दै १,१०० हाराहारी पुगेसँगै न्यूनतम बिन्दुका रूपमा मनोगत परिभाषित गर्ने लगानीकर्ता सोअनुरूपको खरिद व्यवहार अपनाउन पनि हिचकिचाउँछन् । विगतको अर्बौंको दैनिक कारोबार औसत रु. ३०.७२ करोडमा खुम्चिनुले लगानीकर्ताहरू ‘पर्ख र हेर’को मनस्थितिमा नै रहेको देखिन्छ ।

हुन त लगानीकर्ताहरू र केही प्राविधिक विश्लेषकहरूबाट नेप्सेको १,१०० बिन्दुलाई नै बियरिसको न्यून बिन्दुका रूपमा व्याख्या हुन थालेको छ । तर, कारोबार रकम, संख्या अनि प्राविधिक विश्लेषणका औजारहरूले यसको पुष्टि गरिनसकेको अवस्थामा आमलगानीकर्ताको मनोभावलाई गलत सावित गर्दै परिसूचक १,१०० भन्दा तल जान्छ वा जाँदैन भनेर शतप्रतिशत ग्यारेन्टी गर्न पक्कै सकिँदैन र कसैले गर्छ भने त्यो गलत हुनेछ । जसरी भूकम्प कहिले ? कति रेक्टर स्केलको ? कति क्षति गर्छ ? केन्द्रबिन्दु कहाँ हुन्छ ? भन्ने पूर्वानुमान असम्भव भएजस्तै नेप्से परिसूचकको उच्चतम–न्यूनतम बिन्दु कहिले तल–माथि जान्छ ? भन्ने ज्योतिष विज्ञान, लगानीकर्ताको अनुभव, प्राविधिक विश्लेषणबाट ग्यारेन्टी गर्न सकिन्न । विगतको चाल, लगानीकर्ताको मनोभाव र अनुभवका आधारमा पूर्वानुमान मात्र गर्न सकिन्छ ।

२०७५ फागुन १९ गतेको १,१०० बिन्दु अहिलेसम्मको न्यूनतम देखिएको र त्यसपछिका दिनमा बिस्तारै परिसूचकसँगै कारोवार रकममा देखिएको वृद्धिले लगानीकर्ता बियरिस बजारलाई विस्तारै विदाइ गर्न अग्रसर भएको हो कि जस्तो देखिँदा कुनै दिन पुनः बिक्री चाप बढेर सूचक दोहोरो अंकले घट्नुले अन्योलतालाई पनि इँगित गर्छ । यससँगै ,दैनिक कारोबार २०–३० करोडको वरिपरि घुम्नु र खरिद चाप उल्लेख्य नबढ्नुले लगानीकर्ताहरूको मनमा कतै न कतै बजार अझै केही घट्छ कि भन्ने आशंका र खरिदको उपयुक्त समय भन्ने आत्मविश्वासमा कमी पनि झल्किन्छ । यसले लगानी निर्णय र व्यवस्थापनमा सचेतता र सजगताको आवश्यकता औंल्याउँछ ।

नेप्से परिसूचक

स्टक एक्सचेन्जमा सूचीकृत धितोपत्रहरूको कारोबार भएको दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्यबीचको अनुपात नै बजार परिसूचक हो । सूचीकृत धितोपत्रको मूल्य बढेमा यो परिसूचक बढ्ने र मूल्य घटेमा घट्ने गर्छ । नेपाल स्टक एक्सचेन्जले प्रत्येक कारोबार भएको दिन यस प्रकारको परिसूचक गणना गर्छ । यसलाई नेप्से परिसूचक भनिन्छ । यसले समग्र बजारको प्रतिनिधित्व गर्छ ।

कस्ताे रणनीति

बजार परिसूचक हेरेर र आधारभूत विश्लेषण गरेर लगानी वा कारोबार गर्ने लगानीकर्ताहरूसँग सदैव उपलब्ध हुने मुख्य तीन विकल्पहरू (क) किन्ने, (ख) बेच्ने, वा (ग) तटस्थ रहने नै हो । बजार परिसूचक र कारोबारको अवस्था, व्यक्तिगत जोखिमवहन क्षमता (रिक्स एपाटाइट), लगानी उद्देश्य, रकम, स्रोत, अवधिअनुसार कुनै वा मिश्रित रणनीति अपनाउन सकिन्छ ।

१. किन्नेः नेप्सेको १,१०० परिसूचक साँच्चिकै न्यूनतम भन्ने आत्मविश्वास भएका लगानीकर्ताको तत्कालीन रणनीति सेयर किन्ने नै हुनुपर्छ । सेयर बजारको बियरिस अवस्था भनेको बजारले दिएको किन्ने अवसर पनि हो । पछि बेच्न र औसत लागत घटाउन पनि सेयर किन्नैपर्ने हुन्छ, तर किन्दा औसत लागत व्यवस्थापन वा पूँजीगत लाभमा स्पष्ट हुनुपर्छ । व्यवसाय र मुनाफा ठिक तर औसत लागत बढी भएका कम्पनीको लागत घटाउन पनि सस्तो हुँदा सेयर किन्नु श्रेयस्कर हुनसक्छ । बियरिसको अन्तिम बिन्दु वा ‘बियरिस ट्र्याप’ को अवस्थामा केही नाफा भएका वा कम घाटा भएका सेयर बेचेर भए पनि भविष्यमा बजारको तुलनामा बढी मुनाफा दिने, निकै मूल्य घटेका, घाटा बढी भएका कम्पनीको सेयर बुद्धिमानी हुन्छ ।

२. तटस्थ रहनेः परिसूचक न्यूनतम भएकोमा विश्वस्त छैन भने तटस्थ रहन सकिन्छ । यसलाई ‘पर्ख र हेर’ वा ‘होल्ड’ रणनीति पनि भनिन्छ । यसमा आफूसँग भएको सेयर नबेच्ने वा बजारबाट नकिन्ने विकल्प हुन्छ । यसोगर्दा केही महँगोमा बेचेर पुनः सस्तोमा किन्ने, छोटो अवधिमा केही मुनाफा कमाउने, र सस्तोमा किनेर औसत लागत घटाउने अवसरबाट भने वञ्चित हुनुपर्नेछ । बियरिस बजारको सबैभन्दा चुनौती नै सेयरको कित्ता जोगाउनु वा बढाउनु हो । थप लगानी गर्न आँट र रकमले साथ नदिएको अवस्थामा पनि बजार मूल्य घटाएर बेच्न उक्साउन थापिने ‘मूल्य पासो’मा नफस्नु वा नडराई आफूसँग भएको सेयर जोगाउनु लगानी व्यवस्थापनको एउटा विकल्प हुन सक्छ ।

३. बेच्नेः बजारको कारोबार र लगानीकर्ताको सेयर किनबेच व्यवहारले १,१०० को परिसूचकलाई पूर्ण पुष्ट्याइँ नगरिसकेको अवस्थामा अझै घट्छ भन्ने बलियो सोच भएका लगानीकर्ताले केही सेयर बेचेर घाटा कम गर्न वा ‘स्टप लस’ रणनीति अपनाउन सकिन्छ । तर, बजारले लगानीकर्ताको विगतको ९०० को बिन्दुलाई केही हदसम्म गलत सावित गर्दैै १,१०० मा नै सोच्न झकझक्याएको अवस्थामा‘स्टप लस’रणनीति अपनाउँदा विशेष सावधानी अपनाउनुपर्नेछ ।

४. छोटो अवधिको कारोबार गर्नेः नेप्से परिसूचकको उतारचढावले दीर्घकालीन लगानी निर्णय गर्न कठिन भएको अवस्थामा छोटो अवधिको कारोबार वा लगानी गर्न सकिन्छ । बियरिस र ‘बियरिस ट्र्याप’ को अवस्थामा आमरूपमा अपनाइने कारोबार रणनीति ‘सर्ट सेल’ हो । नेपालमा ‘इन्ट्रा डे’ (सोही दिन किनबेच) को प्रावधान नभएको अवस्थामा ‘सर्ट सेल’ लाई व्यवहारमा अपनाउन भने सहज छैन । बजार र कम्पनीको कारोबारको सूक्ष्म अध्ययन गर्दै स–सानो कितामा छोटो अवधिको कारोवार वा थोरै–थोरै गर्दै किनबेचको विकल्प अपनाउन सकिन्छ ।

आमभावना र केही विश्लेषणले नेप्सेको १,१०० लाई न्यूनतम भन्न खोजे पनि लगानी व्यवहार र कारोबार रकमले पुष्ट्याइँ नगरेको वर्तमान अवस्थामा बियरिस अवस्थाको अन्त्य मानेर लगानीमा हतारो वा केही मुनाफा बुक गर्नु अगाडि थप सचेत र सजग हुनैपर्छ । ११ देखि १३ सयको चक्रमा बजार लामो समय र धेरै पटक घुमेको नेप्से कता जान्छ ? कहिले अगाडि बढ्छ र बुलको लयमा फर्कन्छ त्यो अनिश्चित छ । बजारको चरित्र हेर्दा विगतमा जस्तो ११ सयबाट अबको ९ महिनामा १,८८१ पार हुने वा ९ सयको हाराहारीमा पुग्ने सम्भावना कम नै छ । यस अवस्थामा दीर्घकालीन लगानी वा कारोबार रणनीति अनुसार बजारको चाल हेर्दै सोही लयमा आफ्नो लगानी व्यवस्थापन गर्दै जानु बुद्धिमानी हुनेछ ।

सेयर बजारमा बियरिस ‘मन नपरेको पाहुना’ हो भने ‘बियरिस ट्र्याप’ चातुर्य क्रेताले थापेको पासो हो । ‘हूलमूलमा जीउ र अनिकालमा बीउ जोगाउनु’ भनेजस्तै सेयर बजारको बुलमा पैसा जोगाउनु र बियरिसमा कित्ता जोगाउनु वा थप्नु नै बुद्धिमानी हुन्छ ।

पक्कै पनि लगानीकर्ताहरूले नेप्सेको बिन्दुभन्दा कम्पनीको प्रतिसेयर आय, मूल्य आम्दानी अनुपात, नेटवर्थ जस्ता सूचक र व्यवसाय, व्यवस्थापन, सुशासनलाई हेर्दै औसत लागत, लाभांश र लगानीमा प्रतिफलतर्फ ध्यान केन्द्रित गर्नु श्रेयष्कर हुनेछ । यसका साथै आफ्नो विद्यमान पोर्टफोलियो पुनरावलोकन गरी कम्पनीहरूको आधारभूत अवस्था, जोखिम बहन क्षमता, लगानीको स्रोत, लागत (ब्याज) र वैकल्पिक अवसरको विश्लेषण गरी तटस्थ बस्ने, घाटा कम गर्ने (स्टप लस), थप लगानी गर्ने, औसत लागत घटाउने, लगानी गरिएका कम्पनी परिवर्तन गर्ने वा किनबेच गर्ने रणनीति अपनाउन सकिन्छ ।

काराेवार दैनिकमा २०७५ चैत १० गते प्रकाशित, https://karobardaily.com/news/idea/17636

Wednesday, March 20, 2019

नसुल्झिएको लाभकर, उल्झिएको प्यान

शेयरमा गरिने लगानीमा लगानीकर्ताहरुले लाभांस र लागतभन्दा बढी मूल्यमा हक निःसर्ग (आफूसँग भोगाधिकार भएको शेयरको हक बेच्दा) पूँजीगत लाभ पाउँछन् । लाभांसमा कम्पनीले तोकिएको दरमा कर गणना र कर कट्टी गरीभुक्तानी दिने तथा लाभांस कर नै अन्तिम हुँदा यसमा खास विवाद देखिएको छैन । हो, बोनस शेयरमा लगाइँदै आएको ५ प्रतिशत लाभांस करसम्बन्धमा लगानीकर्ता र सरकारबीच केही असमझदारी भएपनि तैं चुप मै चुप रहेर लगानीकर्ताहरुले सरकारसँग द्वन्द्व गर्न नचाहेको देखिन्छ ।
भोगाधिकार निसर्ग गर्दा प्राप्त पूँजीगत लाभको दरका सम्बन्धमा विवाद नभएता पनि क) गणना विधि, ख) अन्तिम कि अग्रीम र ग) कर प्रयोजनका लागि कसरी लिने भन्ने अन्यौलताले शेयरबजार, लगानीकर्ता वा कारोवारी त प्रभावित हुँदै आएका छन् नै, सरकार, नियामक र बजार संचालक एवम् सरोकारवालाहरु बीच समयसमयमा द्वन्द्वको रुप पनि लिँदै आएको छ ।
बोनस वा हकप्रदको वास्तविक लागत कति र कसरी गणना गर्ने भन्ने विवादमा २०७५ जेठ २२ गते लगानीकर्ताहरूबाटै कारोवार बन्द गरेका थिए । आन्दोलनको दबाबपछि सेयरबजारमा देखिएको गविधाहरूमा स्पष्टता ल्याउन र प्रमाणित सुधारका लागि आवश्यकता अनुसार विज्ञ-विशेषज्ञसँग राय-सुझाव लिई सुझावसहितको प्रतिवेदन पेश गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त कार्यदलको प्रतिवेदन प्राप्त नभएसम्मका लागि पुँजीबजार पूर्ववत संचालन गर्न आवश्यक व्यवस्था सम्बन्धी पत्र सिडिएसबाट जारी भएपछि बजार पूर्ववत संचालनमा आएको हो ।
आजको मितिसम्म उक्त कार्यदलले बोनस र हकप्रद शेयरको लागत गणना सूत्र र प्रविधिको सम्बन्धमा के कस्तो प्रगति भयो कुनै निर्णय गरेको वा सोको लागि आवश्यक पूर्वाधार तयार गरेको जानकारी सूचित गरेको छैन ।
कार्यदलले काम गरेको ९ महिना बितिसक्दा र नयाँ बजेट, आर्थिक नीति तथा कार्यक्रम आउन केवल २ महिना जति बाँकी हुँदासमेत लागत र लाभ गणना विधीको निक्र्यौल नहुँदा आगामी आर्थिक वर्षमा समेत लाभ गणना र करको असमझदारीले निरन्तरता पाउने होकी भन्ने आशंका बढेको छ भने लगानीकर्ताहरु घाटामा कर र करमा दर्ताको विवादमा उल्झिन बाध्य छन् ।
लाभ गणना विवाद
विद्यमान आयकर ऐन २०५८ को दफा ९५क(२)(क) अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट लाभको हकमा धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा (दफा ३७ बमोजिम गणना गरिएको) लाभ रकमको ७.५ प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था गरेको छ । यसमा सबैको आफ्नै बुझाइ र व्याख्या रहँदै आएको छ ।
सामान्य रुपमा हेर्दा आईपिओ र दोस्रो बजारबाट किनेको शेयरको लागत र लाभसम्बन्धी कुनै विवाद देखिँदैन् र लगानीकर्ता र सरकारबीचको विवाद भनेको बोनस र हकप्रद शेयरको लागतको सम्बन्धमा देखिए पनि गहिरिएर हेर्ने हो भने लगानीकर्ताले बिक्री गरेको शेयरको वास्तविक लागत र लाभको हिसाव गर्न र गणना गरिएको लाभकर दुरुस्त भएको सुनिश्चित गर्न सकिने अवस्था छैन । उदाहरणको लागि श्यामको एविसि बैंकको शेयरमा लगानी र कारोवार तथा लागत र लाभलाई नियालौं ।
शेयर खरिद
किता
लागत (रु.)
शेयर विक्री
किता
बिक्री रकम (रु.)
आईपिओ
१००
१०,०००



बोनस शेयर
२०
??



खरिद
२००
३०,०००



खरिद
१३२
१६,५००
बिक्री
११०
१७,६००
हकप्रद
१५०
१५,०००



खरिद
१००
१२,५००
बिक्री
५०
,४००
कुल
७०२
८४,०००
कुल बिक्री
१६०
२५,०००
औसत लागत/कित्ता

११९.६५
औसत बिक्री मूल्य/कित्ता

१५६.२५
बाँकी शेयर र बजार मूल्य (रु.)
५४२
५५,०००



उदाहरण अनुसार लगानीकर्ता र सरकारबीच लागत र लाभ गणनाका सम्बन्धमा निम्न विवाद हुँदै आएको वा हुने सम्भावना रहन्छ ।
१) बोनस शेयरको लागत: अब यहाँ श्यामले बोनस शेयरको लागि क) कुनै रकम तिर्नु नपरेको हुँदा शून्य लागत, ख) सरकारले रु. १०० मानेर रु. ५ लाभांस कर लिएको हुँदारु. १०० लागत, वा ग) कम्पनीले शेयरधनीको तर्फबाट लाभांस समेत तिर्ने गरी दिएको प्रति किता लाभांस रु. १०५.२६ नै लागत मान्ने ? भन्ने अन्यौलता मात्र होइन उक्त बोनस शेयर प्राप्त गर्न उच्च मूल्यमा बजारबाट खरिद गरिएको लागत र बुक क्लोज पछि बोनस शेयरको अनुपातमा नेप्सेले समायोजन गरेको मूल्यको आधारमा लागत गणना गर्ने भन्ने अन्यौलता रहँदै आएको छ ।
२) हकप्रद शेयरको लागत:  श्यामले १५० किता हकप्रद शेयर खरिदका लागि प्रत्यक्ष भुक्तानी गरेको रु. १५ हजार (१५० x रु. १००)लाई लागत मान्ने कि उक्त हकप्रदको हक कायम गर्न बजारबाट शेयर खरिद गर्दा तिरेको मूल्य र हकप्रदको आधारमा बुक क्लोज पछि समायोजित हुने मूल्यले सिर्जना हुने लागत मध्ये कुन चाहिँ लगानीकर्ताको वास्तविक लागत हो र कुन आधारमा लाभ गणना गरेर कर लगाउने भन्ने विवाद रहँदै आएको छ ।
३) कुल शेयरको लागत र लाभ:  बोनस र हकप्रदको उक्त विवादको समाधान गर्न गठित कार्यदलले विभिन्न छलफल र परामर्श गरी लागत र लाभको गणना विधि निकाल्ने कुरा चले पनि धेरै लगानीकर्ता र सरकारले ध्यान नदिएको अर्को पाटो आईपीओ वा दोस्रोबजारबाट खरिद शेयरको समेत वास्तविक लागत र लाभ गणनाको विद्यमान प्रणाली र कटाउँदै आएको लाभकरसमेत विवादित हुने संभावना देखिन्छ । उदाहरण अनुसारप्रचलित विधिमा श्यामले विक्री गरेको ११० र ५० किताको लागत रु. १०० वा रु. १५० को आधारमा ७.५ प्रतिशतका दरले लाभकर लगाइँदै आएको छ किनभने उसले बेचेकोमा नाफा देखिन्छ । तर के श्यामले शेयरको हक निसर्गबाट प्राप्त रकमका वास्तविक लाभ भएको हो त? मूल प्रश्नको उत्तर केलाउने तर्फ कसैको ध्यान गएको देखिँदैन् ।
यहाँ श्यामले उक्त कम्पनीको शेयरको केही किता बिक्री गरेको र त्यो शेयर वास्तवमा बोनस, बजारबाट खरिद वा हकप्रदबाट प्राप्त मध्येको कुन हो ? त्यसको वास्तविक लागत कति हो ? भन्ने प्रमाणित गर्ने बैज्ञानिक आधार र क्षमता व्यक्तिगत लगानीकर्ताहरुसँग नहुने वा व्यवहारिक रुपमा सम्भव नहुने अवस्थामा सरकारले शेयर ब्रोकर मार्फत हुँदै आएको लाभकरको गणना माथि स्वभाविक प्रश्न उठने छ । उदाहरण अनुसार पनि श्यामले रु. २५ हजारको शेयर बिक्रीवापत तत्कालका केही मुनाफा देखिए पनि बजारमूल्यको आधारमा नोक्सानीमा देखिन्छ ।
यसरी कुन लागतको र कसरी खरिदको शेयर पहिचान गरी वास्तविक लागत निकाल्ने नसकिने भएको अवस्थालाई ध्यान दिएर नै लगानीकर्ताहरुले औसत लागतको आधारमा लाभ र लाभकर गणनाको लागि आवाज उठाउँदै आएका हुन् । माथिको उदाहरण अनुसार पनि श्यामले औसत लागत रु. ११९ को आधारमा प्रति किता करिव रु. ३६ लाभ प्राप्त गरेको देखिन्छ र सोही आधारमा लाभकर गणना गरेको अवस्थामा विवादको दायरा साँघुरिने र विवाद घट्ने देखिन्छ । अन्यथा, लगानीकर्ताले नोक्सानीमा कर तिर्नुपरेको र सरकारले पाउनुपर्ने जति कर नपाएकोमा एकले अर्कोलाई शंकाको दृष्टिले हेर्ने र घोचपोच चलि नै रहनेछ ।
करमा दर्ता र प्यान विवाद
शेयरको लाभांस करमा सामान्य असहमतिका बावजुद खास विवाद नरहेको अवस्थामा स्थायी लेखा नम्वर अर्थात् करमा दर्ताको मुख्यविवाद र आशंका भनेकै पूँजीगत लाभकर गणना र कर निर्धारणमा रहँदै आएको छ । सरकारले कानुनतः पूँजीगत लाभलाई अन्तिम हो वा होइन भन्ने द्विविधा कायमै राख्दै कर छलि वा अपर्याप्त कर भुक्तानीको आशंकामा कर व्यवस्थापनको बहाना बनाउँदै लगानीकर्ताहरुलाई करमा दर्ता हुन अर्थात् प्यान लिन दवाव दिँदै आएको छ भने लगानीकर्ताहरु शेयरमा आवश्यकभन्दा बढी कर लगाइसकेको र आफूहरुले हक निसर्ग गरेकोमा पनि तोकिएको कर तिरिसकेको भन्दै अनावश्यक करको प्रकृयामा नजाने बताइरहेका छन् ।
सरकारले पनि किन प्यान चाहिएको ? र यथार्थ उद्देश्य र करको गणना कसरी हुने बताउन चाहँदैन भने लाभ करलाई आयकर प्रयोजनमा जोडेर थप करको निर्धारण गरिने आशंकमा लगानीकर्ताहरु प्यानलाई सरकारले थापेको करको धरापका रुपमा लिएका छन् । प्यानसम्बन्धी विवादहरु विभिन्न लेखमा पढ्न सकिन्छ ।
शेयर बिक्रीमा वास्तविक लाभ र गणनाको विवादसँगै जोडिएको प्यानको विवाद गत माघदेखि उग्ररुपमा अगाडि बढेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनको निर्देशनभन्दै नेप्सेबाट जारी भएका सूचनामात्र होइन, बोर्डले समेत कहिले खरिदमा मात्र प्यान त कहिले रु. ५ लाख माथिको कारोवारमा प्यान भन्ने निर्णयहरुमा निरन्तरको परिवर्तनले थप अन्यौलता र विवाद सिर्जना गर्ने निश्चित छ ।
समाधानको विकल्प
लाभकरसम्बन्धी बैज्ञानिक विधीको तर्जुमा गर्दै वास्तविक लागत र करलाई व्यवहारिक बनाउन सकेमा लगानीकर्ता र सरकारबीचको करको विवाद धेरै हदसम्म सहजै समाधान हुने आशा गर्न सकिन्छ । सरकारले शेयरबजारमा प्यान लगाउने र लाभकरको विवाद निरुपणका निम्ति तत्काल २०७६ बैशाख १ गतेदेखि रु. ५ लाखको कारोवारमा अनिवार्य भन्ने बोर्डको निर्देशन फिर्ता गर्दै, लाभकर गणना विधिको विकास पश्चात् आगामी आर्थिक वर्षको आर्थिक नीति तथा कार्यक्रममा अनुसार हुने र सो नीति तथा कार्यक्रममा निम्नअनुसार लाभकर र करको व्यवस्था गर्दै लगानीकर्ता र सरकारबीच सुमधुर सम्बन्ध र पूँजीबजारको सहकार्यलाई अगाडि बढाउन सकिन्छ ।
१. लाभकर गणनाको सफ्टवेयर:  लाभकर गणनाको मुख्य विवादको रुपमा रहँदै आएको लागत र लाभलाई सँधैको लागि निरुपण गर्न एउटै कम्पनीको अनेक लागत रहने वर्तमान प्रणालीमा सुधार गर्दै केवल औसत लागतका आधारमा लाभ र कर गणना गरिनुपर्छ । यसले आइपीओ, एफपिओ, बजारबाट, बोनस, हकप्रदको लागत कति र कहिले किनेको, कुन बेचेको भन्ने विवाद र द्विविधाबाट लगानीकर्ता र सरकारले मुक्ति पाउने छ ।
व्यक्तिगत तवरमा औसत लागत गणना र प्रमाणीकरण व्यवाहारिक नहुनसक्छ, त्यसैले कारोवार र शेयरसम्बन्धी पूर्ण विवरण हुने नेप्से वा सिडिएससीबाट संचालन हुने गरी एउटा प्रभावकारी सफ्टवेयर निर्माण गर्दै सो सफ्टवेयर मार्फत औसत लागत, खुद लाभ रकम र कर गणना एवम् प्रमाणीकरण गर्ने प्रणालीको विकास र कार्यान्वयन गरिनुपर्छ । यस्तो लाभकर लगानीकर्ताले शेयरधारण गरेको अवधिको आधारमा फरकफरक दरमा कर लगाइनु पर्छ ।
२. लाभकर अग्रिम नभई अन्तिम हुने: कट्टा गरिएको लाभकर नै अन्तिम हुने कानुनी सुनिश्चितता गरिनुपर्छ । यसो भएमा शेयर कारोवारमा कर निर्धारणयोग्य आय नहुने अवस्थामा प्यान आवश्यक नहुन सक्छ र प्यान नै लगाउँदा समेत थप करको धराप भन्ने लगानीकर्ताको मानसिकता परिवर्तन गर्न सघाउ पुग्ने र प्यान कार्यान्वयन सहज हुनेछ ।
३. शेयर सम्पत्ति र लगानी: सरकारले शेयर सम्पत्ति कि वस्तु भन्ने विद्यमान कानुनी अन्यौलताको अन्त गर्दै शेयरको बिक्री नभई हित निसर्गबाट पूँजीगत लाभ हुने र प्राकृतिक व्यक्तिको हकमा घरजग्गाको जस्तै अन्तिम कर हुने कानुनी व्यवस्था गर्नुपर्छ ।
क्लिकमाण्डु अनलाइनमा २०७५ चैत २ गते प्रकाशित