Sunday, April 11, 2021

बुक बिल्डिङका अवसर र चुनौतिहरू

खुल्ला बजारको मान्यताविपरीत नियन्त्रित र आरक्षित अंकित मूल्यमा सर्वसाधारणमा सेयर जारी गरिरहेको नेपाली धितोपत्र बजारले धितोपत्र (सेयर) को उचित मूल्य पहिल्याउन ‘बुक बिल्डिङ’ विधि कार्यान्वयनको प्रयास गरिरहेको छ । विद्यमान अंकित मूल्यमा सेयर निष्कासनले स्थापित र मुनाफासहित सकारात्मक नेटवर्थका कम्पनीको सेयर अप्रत्यक्ष छुटमा लगानीसँगै तत्कालीन केही मूल्यगत लाभको अवसर त होला, तर राम्रा कम्पनी बजारबाट हतोत्साहित हुने, लगानीको अवसर गुम्ने सम्भावना पनि रहन्छ । अर्कातिर व्यवसाय सञ्चालन र तत्काल मुनाफा नहुने ऋणात्मक नेटवर्थका कम्पनीलाई अंकित मूल्यमार्फत अप्रत्यक्ष प्रिमियम वा बढी मूल्य तिर्नुपर्नेछ । मूल्यगत द्वन्द्व निरूपण गर्दै उचित मूल्य निर्धारणका लागि ‘बुक बिल्डिङ’ कम्पनी र लगानीकर्तालाई स्वीकार्य विकल्प हुन सक्छ ।

‘बुक बिल्डिङ’ र मूल्य निर्धारण

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार ‘बुक बिल्डिङ विधि’ ले संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दा धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि वा प्रक्रियालाई जनाउँछ । ‘बुक बिल्डिङ निर्दे शिका, २०७७’ ले धितोपत्रको निष्कासन मूल्य बजारले नै निर्धारण गर्ने तथा मूल्य निर्धारण प्रक्रियालाई पारदर्शी तथा प्रतिस्पर्धी बनाउने अपेक्षा गरेको छ ।

यस विधिबाट धितोपत्र निष्कासन गर्न चाहने संस्था क) तीन आर्थिक वर्षदेखि लगातर खुद मुनाफामा रहेको, ख) साधारणसभाले ‘बुक बिल्डिङ’ विधिमार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको, ग) प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीको कम्तीमा १ सय ५० प्रतिशत रहेको र घ) औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड पाएको हुनुपर्नेछ।

निर्देशिकाअनुसार मूल्य सीमा निर्धारणका लागि १) निष्कासन तथा बिक्री प्रबन्धक र स्वचालित विद्युतीय प्रणालीमार्फत कार्य सञ्चालन सम्झौता, २) नियमावलीको अनुसूची ५ बमोजिमको विवरणसहित निष्कासन गरिने धितोपत्रको संख्या, ‘अनुमानित मूल्य’, मूल्यांकनको औचित्य र आधार खुलाएर प्रारम्भिक विवरण पत्र तयार, ३) योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई छलफल, ४) कम्तीमा १० योग्य संस्थागत लगानीकर्तासँग न्यूनतम खरिद सेयर संख्या, ‘आशय मूल्य’ र मूल्यांकनको आधारसहित आशय मूल्य प्राप्ति, ५) आशय मूल्यको अध्ययन गरी ‘आधार मूल्य’को २० प्रतिशत तल र माथि रहने गरी ‘मूल्य सीमा’ कायम, र ६) स्वीकृतिका लागि बोर्डमा निवेदन दिनुपर्नेछ । यसपछि मूल्य निर्धारणका लागि १) तोकिएको मूल्य सीमा भित्र, आशय मूल्य पेस गरेकाबाट उल्लिखित संख्या र मूल्यभन्दा कम नहुने गरी, एक संस्थागतबाट निष्कासनको बढिमा २० प्रतिशत नहुने गरी र स्वार्थ नबाझिएका योग्य संस्थागत लगानीकर्ताहरूबाट बोलकबोल गर्ने; २) स्वचालित विद्युतीय बिल्डिङ गराउने; र ३) बुक बिल्डिङ निर्देशिकाको अनुसूची ३ बमोजिम ‘कट अफ मूल्य’ निर्धारण गर्दै आवेदक संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँड गर्नुपर्छ ।

बाँडफाँड भएका योग्य संस्थागत लगानीकर्ता, सेयर संख्या र ‘कट अफ मूल्य’ सहित संशोधित विवरणपत्र बोर्डबाट स्वीकृति गराएर ‘कट अफ मूल्य’को १० प्रतिशत छुटमा सर्वसाधारणलाई सेयर निष्कासन र बाँडफाँड गर्नुपर्छ । यसमा आवेदन र बाँडफाँड न्यूनतम ५० कित्ताको हुनेछ ।

सम्भवतः यस विधिबाट सेयर निष्कासन गर्ने पहिलो कम्पनी सर्वोत्तम सिमेन्ट हुनेछ, जसले मूल्य सीमा निर्धारणका लागि छलफलको चरण पूरा गरेको छ । बोलकबोल, ‘कट अफ मूल्य’ निर्धारण र योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँडपछि निर्धारित ‘कट अफ मूल्य’बाट १० प्रतिशत कम मूल्यमा सर्वसाधारणका लागि निष्कासन हुनेछ । त्यसैले हालको अनुमानित र बाहिरिएको प्रतिकित्ता रु. ७ सय ५० आधिकारिक र अन्तिम मूल्य हुनेछैन ।

अवसर

बैंक, बिमा र जलविद्युत्को दबदबा रहेको विद्यमान नेपाली धितोपत्र बजारलाई वास्तविक उद्योग–व्यवसाय (रियल सेक्टर)को उचित सहभागितासहितको अर्थतन्त्रको ऐना बनाउने अवसर ‘बुक बिल्डिङ’ले जुराउन सक्छ । हुन त धितोपत्र बजारमा रियल सेक्टरको सहभागिता बढाउन सरकारले १ अर्बभन्दा बढी पुँजी भएकालाई सर्वसाधारणमा धितोपत्र निष्कासनमा प्रोत्साहनसँगै सूचीकृत उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत् उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने निकायलाई लाग्ने करमा १५ प्रतिशतले छुटको व्यवस्था गरेको छ । सहुलियतका बावजुद धितोपत्र बजार प्रवेशमा अनिच्छुक उद्योग–व्यवसायलाई ‘बुक बिल्डिङ’ले व्यवसाय, मुनाफा र साख प्रतिविम्बित हुने गरी ‘उचित मूल्य’ मा सेयर निष्कासनको अवसरसँगै सूचीकरणमा प्रोत्साहित गर्ने र सर्वसाधारणलाई लगानीको अवसर जुराउने अपेक्षा गर्न सकिन्छ ।

यस्तै पुँजी संकलनको राम्रो विकल्प भए पनि धितोपत्र बजारबाट टाढिँदै आएका उद्योग–व्यवसायलाई निश्चित लागत नपर्ने गरी पुँजी संकलन, सर्वसाधारणको सहभागितामार्फत वस्तु तथा सेवामा अपनत्व र बजारीकरण, सुशासनलाई अँगाल्दै कम्पनीको बजार मूल्य र पुँजीकरणसँगै साख र प्रतिष्ठा बढाउने अवसर हुनेछ ।

निर्देशिकाबमोजिमको विद्युतीय बोलकबोल प्रणालीको विकासले हालको भौतिक उपस्थिति चाहिने सेयर लिलामीलाई विद्युतीय बनाउने ढोका खुल्न सक्छ ।

चुनौतीहरू

१. मूल्य निर्धारणः ‘बुक बिल्डिङ’को मुख्य चुनौती सर्वस्वीकार्य र विश्वासिलो ‘उचित मूल्य’ निर्धारण हुनेछ । यसमा उचित मूल्य पहिल्याउन विभिन्न चरण पार गरिँदै गर्दा संलग्न पक्षहरूको जिम्मेवारी र पारदर्शिता निकै महत्वपूर्ण हुनेछ । आरक्षित र अंकित मूल्यमा सेयर खरिद गरिरहेका आमलगानीकर्ताहरूले बढी मूल्य तिर्नुपर्दाको असन्तुष्टिसँगै निर्धारित मूल्यमा प्रश्न उठाउन सक्नेछन् । नियामकले कम्पनीको योग्यता परीक्षणदेखि मूल्य निर्धारणमा सहजीकरणसँगसँगै कम्पनीको विगतको वित्तीय अवस्था र त्यसमा छेडछाड नभएको, ‘अनुमानित मूल्य’ यथोचित भएको, ‘आशय मूल्य’ र ‘कट अफ मूल्य’ तय गर्दा निष्कासन प्रबन्धक र योग्य संस्थागत लगानीकर्ताहरूबाट अनैतिक र गैरजिम्मेवारीपूर्ण कार्य वा मिलेमतो नभएको सुनिश्चित गर्नैपर्छ । तिरिएको प्रिमियम सेयरधनीकै हुने र लाभांशका रूपमा फिर्ता आएमा प्रभावकारी लागत/मूल्य (इफेक्टिभ कष्ट) घट्ने प्रस्ट्याउन सके मूल्यगत विरोध केही कम हुनेछ ।

२. सूचीकरण र सुशासनः सेयरको उचित मूल्य पाए पनि कम्पनीको व्यवस्थापन र सञ्चालनमा सम्भावित हस्तक्षेप र नियन्त्रणको आशंकमा लक्षित उद्योग–व्यवसाय सूचीकरणमा नआउन सक्छन् । तिनलाई सहभागिता, सुशासन र पुँजीकरणका फाइदा देखाउँदै बजारमा डोर्याउनु चुनौतीपूर्ण हुनेछ । लगानीकर्तालाई पनि अधिकारसँगै जिम्मेवारी लिन प्रेरित गर्न सके केही सहज हुनेछ ।

३. सन्दर्भ मूल्य र लागत प्रमाणीकरणः यस विधिअनुसार कम्पनीको अंकित, योग्य संस्थागत लगानीकर्ताहरूले तिर्ने र आम लगानीकर्ताले तिर्ने प्रतिसेयर मूल्य फरक हुनेछ । तसर्थ, सूचीकरण पछि कारोबार खुलाउने सन्दर्भ मूल्य कति र कसरीको तत्काल समाधान गरिनुपर्छ । लागत गणना र प्रमाणिकरणको अन्योलता र द्वन्द्व हटाउन सीडीएससीको भारित औसत लागत गणना प्रणालीमा सम्बन्धितले तिरेको मूल्य नै लागतका रूपमा जनाइनुपर्छ ।

४. नियमाकीय क्षमताः प्रत्यक्ष नियामक नभएका कम्पनीहरूको बोर्डबाट दरिलो नियमनमा सकृय (प्रोएक्टिभ) भूमिका ननिभाउने हो भने आमलगानीकर्ताहरूले विगतको भन्दा कैयौं गुना बढी आर्थिक क्षति बेहोर्ने छन् । उचित मूल्यमा निष्कासनसँगै सूचीकरणपछि पनि कम्पनीहरूको वित्तीय अवस्था र विवरण प्रकाशन, लाभांश, बजारमा सेयरको आपूर्ति र मूल्य, सूचनामा समान पहुँचजस्ता पक्षहरूमा बोर्डको भूमिका खोजिनेछ । विगतमा अंकित मूल्यमा हजार रुपैयाँ क्षति बेहोरेका लगानीकर्ताहरूले कैयौं गुना बढी नोक्सानी बेहोर्ने मात्र होइन, हकप्रद, बोनसको लालसा देखाएर, माग-आपूर्तिमा छेडछाड (कर्नरिङ) गर्दै सेयरको बजार मूल्यमा खेल्दै अन्ततः कम्पनी वा कारोबार बन्दको खतरा र भयावह अवस्था आउनेछ । हालै श्रीराम सुगर मिल्सको हकप्रदको घटना होस् वा भृकुटी पल्प एन्ड पेपर, गोरखकाली रवर, हरिसिद्धि ब्रिक एन्ड टायल, रघुपति जुट मिल्स, बुटवल स्पिनिङ मिल्स, ज्योति स्पिनिङ, अरुण वनस्पति, नेपाल बिटुमिन एन्ड ब्यारेल, फ्ल्युर हिमालयन, बिराट सु, नेपाल वनस्पति घिउ, नेपाल खाद्यजस्ता नामुद उत्पादनमूलक उद्योगहरूको कथा नदोहोरिएला भन्न सकिन्न ।

नियामकीय क्षमतामा बारम्बार सवाल उठिरहेको विद्यमान अवस्थामा ‘बुक बिल्डिङ’ उचित मूल्य निर्धारणको बहानामा टाठाबाठा उद्योग–व्यवसायलाई सेयर प्रिमियम संकलन र अनुचित मूल्यगत नाफाको माध्यम नबन्ने सुनिश्चित गर्न बोर्डलाई सहज छैन् । अझ विगतमा सयौं लगानीकर्ताहरूको करोडौं लगानी डुबाएर बदनाम अनि निश्चित व्यक्तिले मनमौजी चलाएका उद्योग–व्यवसायलाई नियमन र सुशासनमा डोर्याउन नसके बुक बिल्डिङ ‘नखाऊँ भने दिनभरिको सिकार, खाउँ कान्छा बाउको अनुहार’ हुन सक्छ । सरोकारवालले जिम्मेवारीपूर्ण भूमिका निर्वाह, अवसरको सदुपयोग र चुनौतीको सामना गर्न सके ‘बुक बिल्डिङ’ कम्पनी र लगानीकर्ताको हितसँगै बजार विकासमा कोसेढुंगा पनि हुन सक्छ ।

थप कानुनी व्यवस्था

काराेवार दैनिकमा २०७७ चैत २९ गते प्रकाशित, बुक बिल्डिङका अवसर र चुनौतीहरू « (karobardaily.com)

Sunday, March 28, 2021

म्युचुअल फन्डमा लगानी प्रतिफल कि छल ?


बढ्दो बजारका उत्साहित लगानीकर्ता ‘मेरो सेयर’मा देखिएका सबै सार्वजनिक निष्कासन (आईपीओ) कम्पनीको सेयर भन्दै ‘म्युचुअल फन्ड’, डिबेन्चर खरिद गर्दै पछुताउनेको जमात बढ्दो छ । कुनै पनि धितोपत्र, जति नै राम्रो लगानी उपकरण चाहे त्यो सेयर, ‘म्युचुअल फन्ड’ वा डिबेन्चर नै भए पनि पर्याप्त जानकारीबिनाको लगानी प्रतिफलका नाममा आफैंमाथि छल हो । हुन त विश्वव्यापी रूपमा लगानी र लगानी व्यवस्थापनका लागि सर्वस्वीकार्य लगानी उपकरण मानिने ‘म्युचुअल फन्ड’, नेपालको सन्दर्भ परिपक्व र सर्वस्वीकार्य नभइसकेको अवस्थामा बुझेर लगानी गर्नु नै छलबाट बच्ने निर्विकल्प उपाय हुनेछ ।

म्युचुअल फन्ड के हो ?

सामूहिक हित र जोखिम न्यूनीकरणका लागि लागत, लाभ र जोखिम बाँडफाँडको सहमतिमा धेरै लगानीकर्ताहरूको लगानीमा सञ्चालित कोष (फन्ड) नै सामूहिक लगानी कोष अर्थात् ‘म्युचुअल फन्ड’ हो । यो कम्पनीको सेयर होइन, तर सामहिक रूपमा कोषमा संकलित रकम सेयर, डिबेन्चर, मुद्दतीजस्ता विविध लगानी उपकरणमा नियमानुसार लगानी गरी जोखिम र लाभ (रिस्क–रिटर्न) व्यवस्थापन गर्ने माध्यम हो । अप्रत्यक्षतः यसमा लगानी धितोपत्रमा लगानी नै हुँदा ‘बजार जोखिम’ निहित हुन्छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार ‘लगानी कोष भन्नाले योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्यले करारको आधारमा सहभागीहरूबाट सामूहिक लगानी योजनामा जम्मा गरेको रकमबाट सिर्जना भई आफ्नो जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बद्ध सम्पत्ति सम्झनुपर्छ र सो शब्दले यस ऐनबमोजिम योजना व्यवस्थापकले आफ्नो जिम्मेवारीमा लिएको कोष वा सम्पत्तिको लगानी व्यवस्थापनबाट सिर्जित थप सम्पत्ति र प्रतिफलस्वरूप जम्मा भएको रकम समेतलाई जनाउँछ’ भनेको छ ।

सञ्चालन र व्यवस्थापन

प्रचलित सामूहिक लगानी कोषसम्बन्धी नियमानुसार निष्कासन, सञ्चालन र नियमन हुने ‘म्युचुअल फन्ड’मा (क) योजना प्रायोजक (फन्ड स्पोन्सर) द्वारा प्रायोजनसँगै बीउ पुँजीमार्फत निश्चित प्रतिशत एकाइ (युनिट) किनेर लगानी गर्छ; (ख) योजना व्यवस्थापक (फन्ड म्यानेजर) ले कोष सञ्चालन, व्यवस्थापन र डिपोजिटरी गर्छ; (ग) योजना सुपरिवेक्षक (फन्ड सुपरभाइजर) ले निर्धारित रणनीतिअनुरूप लगानी, जोखिम र लाभको सुपरिवेक्षण गर्छ । व्यक्तिगत तवरमा गर्ने विश्लेषण र लगानी व्यवस्थापन फन्डमा व्यावसायिक टिमले गर्छ । यसबापत खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु— ‘न्याभ’) को आधारमा क) योजना व्यवस्थापकले वार्षिक बढीमा १.५ प्रतिशत; ख) सुरपरिवेक्षकले बढीमा ०.२ प्रतिशत र ग) डिपोजिटरीले बढीमा ०.२ प्रतिशतसम्म वार्षिक सेवा शुल्क वा दस्तुर लिन सक्नेछ ।

प्रकार र प्रकृति

समग्रमा ‘म्युचुअल फन्ड’हरू निश्चित अवधिको ‘बन्दमुखी’ र अनिश्चित अवधि वा दीर्घकालीन ‘खुलामुखी’ हुन्छन् । हाल १८ ‘बन्दमुखी’ र दुई ‘खुलामुखी’ योजना (एनआईबीएल सहभागिता फन्ड र एनआईसी एसिया डाइनामिक डेप्थ फन्ड) सञ्चालनमा छन् । तत्काल दोस्रो बजार प्रवेश गर्ने कुमारी इक्विटी फन्ड र सनराइज ब्लुचिप फन्डबाहेक पनि थप फन्डहरू प्रक्रियामा छन् ।

मूल्य र किनबेच

नियमानुसार स्वीकृत योजना (स्किम) लाई रु. १० अंकित मूल्यको ससानो एकाइमा विभाजन गरिन्छ । त्यसैले आईपीओबाट फन्डका योजनामा लगानी गर्न प्रतिएकाइ रु. १० ले कम्तीमा १ सय एकाइका लागि रु. १ हजारको आवेदन दिनुपर्छ । डिम्याट खाता, बैंक खाता र सी–आस्बा भएका लगानीकर्ताले ‘मेरो सेयर’ वा ‘सी–आस्बा’ सेवाप्रदायक बैंक तथा वित्तीय संस्थाबाट ‘सेयर’मा जसरी तोकिएको अवधिमा आवेदन गर्न सकिन्छ ।

‘बन्दमुखी’ एकाइ अनुमति प्राप्त सेयर दलाल (ब्रोकर) कहाँ कारोबार खाता खोलेर दोस्रो बजारमा ब्रोकरमार्फत वा स्वयमले कारोबार प्रणाली (टीएमएस) मा ‘एमएफ’ (MF) छानेर कम्तीमा १ सय युनिटका लागि खरिद–बिक्री आदेश दिन सकिन्छ । ‘न्याभ’को आधारमा किन्नेबेच्नेको वैधानिक सीमाभित्रको मोलमोलाइबाट तय हुने मूल्य र किनबेच निश्चित हुँदैन । सामान्यतः ‘न्याभ’बाट छुट (डिस्काउन्ट) मा किनबेच हुने ‘बन्दमुखी’ एकाइ हाल १२-२९ प्रतिशत छुटमा कारोबार भइरहेको देखिन्छ । किनबेच रकमका आधारमा प्रतिकारोबार न्यूनतम रु. १०, ५ लाखसम्म ०.१५ प्रतिशत, ५ देखि ५० लाखमा ०.१२ प्रतिशत र ५० लाखमाथि ०.१ प्रतिशत ब्रोकर कमिसन तथा ०.०१ सेबोन शुल्क र प्रतिदिन प्रतिफन्ड रु. २५ डीपी शुल्क तथा पुँजीगत लाभमा ५ प्रतिशत (संस्थागतलाइ १०%) लाभकर लाग्छ ।

‘खुलामुखी’ दोस्रो बजारमा सूचीकृत र कारोबार हुँदैन, तर योजना व्यवस्थापकबाट ‘न्याभ’को आधारमा निर्धारित मूल्यमा तोकिएको विधिबाट किनबेच सुनिश्चित हुन्छ । योजना व्यवस्थापकले नै एकाइ किनबेचको व्यवस्था गर्दै नियमानुसार किन्ने (बाई ब्याक) र बेच्ने मूल्य सार्वजनिक गर्नुपर्छ । हाल सञ्चालनमा रहेको एनआईबीएल सहभागिता फन्ड वेबसाइटबाट सहजै वा तोकिएको बिक्री केन्द्रबाट कायम ‘न्याभ’को आधारमा किनबेच गर्न सकिने व्यवस्था छ । किन्दा ‘न्याभ’का आधारमा कुल रकम र डिपी शुल्क रु. २५ मात्र लाग्छ । बेच्दा पनि ‘न्याभ’को आधारमा प्राप्त हुने रकममा धारित (होल्ड) अवधिको आधारमा ६ महिनामा १.५%, ६-१२ महिनामा १.२५%, १२-१८ महिनामा १% र १८-२४ महिनामा ०.७५% ‘एक्जिट फी’ तथा पुँजीगत लाभमा ५ प्रतिशत (संस्थागतलाइ १०%) लाभकर लाग्छ ।

प्रतिफल र साँवा फिर्ता

सैद्धान्तिक रूपमा योजना व्यवस्थापकले सदैव जोखिम व्यवस्थापन गर्दै उच्चतम प्रतिफललाई प्रयास गर्छ । त्यसैले उसको लगानी र कारोबार क्षमताले फन्डको ‘न्याभ’ र एकाइधनीको सम्पत्ति र प्रतिफल निर्भर रहन्छ । योजना व्यवस्थापकले उपलब्ध विभिन्न लगानी उपकरणमा उच्चतम लाभका लागि व्यवस्थित लगानी गर्दै ‘न्याभ’ र आम्दानी बढाउने प्रयास गर्छ । ‘बन्दमुखी’ मा आयको आधारमा एकाइधनीलाई वार्षिक ‘नगद लाभांश’ मात्रै वितरण गरिन्छ । ‘खुलामुखी’ मा भने नगद लाभांश पुनःलगानी (डिभिडेन्ड रिइन्भेस्टमेन्ट) मार्फत ...* थप एकाइ किन्न सकिने प्रावधान हुन्छ । 

थप टिप्पणी १, दुवै प्रकारका म्युचुअल फण्डले दिने लाभांस अंकित मूल्यका अाधारमा हुन्छ, उदाहरणका लागि १५ प्रतिशत लाभांस भनेकाे अंकित मूल्य रू १० काे १५ प्रतिशत अर्थात् प्रति एकाइ रू. १.५ लाभांस  हुन्छ, बजार मूल्यकाे १५ प्रतिशत हाेइन । यस अनुसार १०० एकाइ हुनेले रू १५० पाउँछ । खुल्लामुखीमा भने लाभांस पुनःलगानी पनि हुन्छ र पुनःलगानी गरेमा साेहि रकमले अाउने थप एकाइ पाइन्छ । जस्तै १००० एकाइमा १५ प्रतिशतले पाउने रू १,५०० ले मानाैं बुकक्लाेजकाे दिनकाे न्याभ रू १३ भए करिव ११५ एकाइ दिन्छ ।

अंकित मूल्यभन्दा फरक दाेस्राेबजारबाट किन्नेकाे वास्तविक प्रतिफल (Yield) भने बजारमूल्य वा लागतमा निर्भर हुन्छ । जस्तै, मूल्य १४ घाेषित लाभांस २५ प्रतिशत भएपनि वास्तविक प्रतिफल दर भने १७.८६ (२.५ ÷ १४) हुनेछ ।  अझ लाभांस वितरण पछि न्याभ घटेर वा मूल्य प्रभावले हुने वास्तविक प्रतिफल अनुमान गर्न गाह्रै हुनेछ । 

‘बन्दमुखी’ मा अवधि सकिएपछि सबै सम्पत्तिलाई नगदमा परिणत गरेर एकाइधनीलाई समानुपातिक रूपमा फिर्ता गरिन्छ । अवधि नसकिँदै रकम आवश्यक परे दोस्रोबजारमा बेचेर निस्कन सकिन्छ । जस्तै अवधि सकिँदाकाे अन्तिम न्याभ रू. १४.७५ थियाे सम्पतिलाइ नगदमा परिणत गर्दा प्रति एकाइ रू. १५ भए सबै एकाइधनीले प्रति एकाइ रू. १५ का दरले फिर्ता भुक्तानी पाउँछन् । ‘खुलामुखी’मा भने व्यवस्थित फिर्ता योजना (सिस्टमेटिक विथ ड्र प्लान) बाट एकाइ फिर्ता गरेर वा कायम ‘न्याभ’मा एकाइ बिक्री गरेर निस्कन सकिन्छ ।


यसरी ‘म्युचुअल फन्ड’ लगानीमा वार्षिक नगद लाभांश र पुनःलगानीसँगै बजार मूल्यका आधारमा किनबेच गर्दै पुँजीगत लाभको अवसर पनि रहन्छ ।

‘न्याभ’को अवस्था
तालिकाअनुसार ‘बन्दमुखी’ योजनाहरूको साप्ताहिक ‘न्याभ’ ९.९४ देखि १९.३८ छ भने २९.५४ प्रतिशतसम्मको छुट मूल्यमा किनबेच भइरहेको छ ।

बन्दमुखी म्युचुअल फण्ड, न्याभ र कारोवार मूल्य

सिनं.

फण्ड

आकार
(
रु. करोड)

२०७७ फागुनसम्मको कुल आय (रु. करोड)

२०७७ फागुनको ‘न्याभ’ (रु.)

२०७७ चैत को साप्ताहित ‘न्याभ’ (रु.)

२०७७ चैत १२ को बजारमूल्य (रु.)

साप्ताहिक ‘न्याभ’मा छुट/(प्रिमियम) (%)

सिएमएफ–२ CMF2

५६

२४.३७

१४.४९

१५.१०

१०.६४

२९.५४

एनआईसीबिएफ NICBF

७५.५०

४१.६२

१५.५६

१५.६०

११.३२

२७.४४

एसआइजिएस—२ SIGS2

१२०

६९.१०

१६.३४

१६.३८

११.९७

२६.९२

एसईएफ SEF

१५०

८६.६०

१६.०६

१६.०६

११.७५

२६.८४

एनआइबिएलपिएफ NIBLPF

७५

४८.४१

१६.३२

१६.४२

१२.०२

२६.८०

एलईएमएफ LEMF

१२५

४७.३०

१४.६५

१४.६९

१०.७७

२६.६८

एनइएफ NEF

१२५

७३.१४

१५.८८

१५.९७

११.७५

२६.४२

एनबिएफ–२ NBF2

११२

५४.५६

१५.०९

१५.१३

११.१४

२६.३७

एनआईसीजिएफ NICGF

८३.५२

५४.९९

१६.६०

१६.६५

१२.२८

२६.२५

१०

एसएईएफ SAEF

१३०

१०१.०९

१८.४६

१८.५९

१३.९८

२४.८०

११

सिएमएफ–१ CMF1

८२

२९.८७

१३.८२

१३.८८

१०.४५

२४.७१

१२

एलयुके LUK

६५.२६

२१.०८

१३.२३

१३.३२

१०.०५

२४.५५

१३

एनएमबीएचएफ–१ NMBHF1

१००

४३.५०

१५.०३

१५.१२

११.४७

२४.१४

१४

एसएफएमएफ SFMF

८६

५८.३०

१७.०५

१७.०६

१३.००

२३.८०

१५

एनएमबी–५० NMB50

१२५

७४.५६

१६.३७

१६.४८

१२.६०

२३.५४

१६

जिआईएमइएस–१ GIMES1

१००

८२.६४

१९.२७

१९.३८

१५.०९

२२.१४

१७

एनआइबिएसएफ–१ NIBSF1

१००

४२.८९

१४.६९

१४.७७

१२.८६

१२.९३

१८

एसएलसिएफ SLCF

१२०

–०.७३

९.९४

९.९४

९.९३

०.१

नाेटः जिअाइएमइएस–१ काे डाटा थप, प्रकशित लेखकाे साप्ताहिक न्याभ चैत ६ हुनुपर्ने  अन्यथा भएकाे । डाटा शेयरसंसार डटकम र मासिक विवरण ।

‘खुल्लामुखी’ को ‘न्याभ’ तर्फ एनआईविएल सहभागिता फण्डको रु. १६.३३ र एनआईसी एसिया डाइनामिक डेप्थ फण्डको रु. १०.९४ छ । यसमा डिस्काउन्ट हुँदैन्, न्याभमा नै किन्नुपर्ने छ ।


लगानी र ध्यान दिनुपर्ने

मूलतः धितोपत्रमा चासो र इच्छा भएका तर स्वयम् लगानी व्यवस्थापन गर्न नसक्ने वा नचाहने निष्क्रिय लगानीकर्तासँगै नगद लाभांश र पोर्टफोलियो व्यवस्थापनका लागि सक्रिय लगानीकर्ताले पनि ‘म्युचुअल फन्ड’ मा लगानी आवश्यक मानिन्छ । व्यावसायिक टिमबाट व्यवस्थापन हुने ‘म्युचुअल फन्ड’ को बजार र कारोबारमा विशेष पहुँचसँगै सूचीकृत कम्पनीले निष्कासन गर्ने धितोपत्रमा ५ प्रतिशत आरक्षणका साथै करहरू छुट पाउँछन्, जसको लाभ एकाइधनीले पनि पाउँछन् । आरक्षण र सहुलियत अनुरूप उपलब्धि हासिल गर्न नसकेकाेमा याेजना व्यवस्थापकहरूकाे क्षमता माथि अनेक प्रश्न उठाउँदै आरक्षण बन्द गरिनु वा आरक्षणकाे शेयरमा लकिङ हुनुपर्ने आवाज चर्कै उठ्छ । तर उपलब्ध सुविधाकाे फाईदा उठाउन एकाइ किन्नुकाे विकल्प रहन्न । एकपटक किनेर ७–१० वर्षमा पैसा चाहिँदा ‘बन्दमुखी’मा लगानी गर्न सकिन्छ । एकपटक किनेर लामो अवधि धारण गर्ने वा नियमित (मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक) लगानी गर्दै जान ‘खुलामुखी’ योजना उपयुक्त हुन्छ । यस्तै लाभांश लिने वा पुनःलगानीको आधारमा बन्द वा खुला योजना छनोट गर्नुपर्छ ।

‘बन्दमुखी’मा लगानी गर्दा मुख्यतः ‘न्याभ’को अवस्था (मासिक/साप्ताहिक), योजना व्यवस्थापक र सुपरिवेक्षक, लगानी र धितोपत्रको वास्तविक लागत (नोट/टिप्पणीमा हेर्ने), खुद सम्पत्ति, आम्दानीको अवस्था, प्राप्त भएकाे र नभएकाे आय, विगतको लाभांश र ‘न्याभ’, बाँकी अवधिलाई ध्यान दिनुपर्छ । ‘खुलामुखी’मा योजनाको लगानी, ‘न्याभ’, बिक्री केन्द्र र शुल्क; पुनःलगानीको विकल्प, सिस्टमेटिक इन्भेस्टमेन्ट र विथ ड्र प्लानसमेतमा ध्यान दिनुपर्छ ।

बढ्दो ‘म्युचुअल फन्ड’सँगै प्रतिस्पर्धा पनि बढेको छ, जसले एकातिर लगानीकर्तालाई छनोटको अवसर बढेको छ भने अर्कातिर योजना व्यवस्थापक र योजनाले सार्वजनिक निष्कासनमा पाउने आरक्षित धितोपत्रको हिस्सा घट्नेछ।

थप टिप्पणी २, म्युचुअल फण्डहरूकाे अाय समेत समावेश गरेर ‘न्याभ’ गणना हुन्छ, त्यसैले लाभांस घाेषणा, बुक क्लाेजकाे समय तिर म्युचुअल फण्ड किन्दा लाभांसकै अनुपातमा बजार मूल्य समायाेजना वा ‘न्याभ’ घट्ने तर्फ सजग हुनुपर्छ।

प्रचलन अनुसार घाेषित लाभांस बुकक्लाेजकाे मितिमा कायम काराेवार मूल्यकाे १० प्रतिशतभन्दा बढि भएमा मात्र मूल्य समायाेजन हुन्छ । जस्तै, कुनै याेजनाले २५ प्रतिशत लाभांस घाेषणा गर्याे र बुकक्लाेजकाे अघिल्लाे काराेवार मूल्य रू. १५ कायम भयाे । यहाँ घाेषित लाभांस २५ प्रतिशत अर्थात् प्रति एकाइ रू २.५ कायम काराेवार मूल्य रू १५ काे  १६.६७ प्रतिशत (१० प्रतिशत भन्दा बढि) हुँदा मूल्य समयाेजन हुन्छ । बुक क्लाेज पछिकाे लागि नेप्सेले रू १२.५ (१५–२.५ = १२.५) सन्दर्भ मूल्य ताेक्छ । तर यदि बुक क्लाेजकाे लागि कायम काराेवार मूल्य २७ भएकाे भए घाेषित लाभांस रू २.५, ९.२५% मात्र हुँदा नेप्सेले मूल्य समायाेजन गर्दैन । बजार संचालक वा प्रणालीले मूल्य समायाेजन गरे वा नगरे पनि न्याभ घट्ने हुँदा स्वभाविक रूपमा बजार मूल्य पनि घट्नसक्छ । बजारले अाफै मूल्य समायाेजन गर्नसक्छ । उदाहरणकाे रू १५ काे न्याभ लाभांस वितरण पछि रू १२.५ हाराहारी झर्छ । त्यसैले मूल्य तिर्दा न्याभमा प्रभावलाइ विशेष ध्यान दिनुपर्छ । अन्यथा, रू १५ न्याभकाे २५ प्रतिशत लाभांसकाे लाेभमा रू १४/१५ तिरेर किन्दा भाेली न्याभ नै रू १२.५ मा झरेर अाफ्नाे रू १४ बाटै अाफैले लाभांस खाएकाे अवस्था अाउन सक्छ ।

शेयर र म्युचुअल फण्डमा लाभांस पछिकाे सम्पतिमा भने फरक हुन्छ । कम्पनीले छुट्याएकाे नाफाबाट लाभांस बाडछ, जसले लाभांस वितरण पछि कम्पनीकाे पुँजी घट्दैन । तर म्युचुअलमा न्याभमा प्राप्त भएकाे र नभएकाे नाफा समेत हिसाव हुन्छ र प्राप्त नाफाकाे वितरणयाेग्य रकमबाट लाभांस बाँड्ने हुँदा लाभांस वितरण पछि खुद सम्पति (न्याभ) नै घट्छ । 

 
बन्दमुखी म्युचुअल फण्ड, न्याभ र कारोवार मूल्य


...*प्रकाशित लेखमा भूलवस अंकित मूल्य भएकाेले सच्याइएकाे

Disclosure/Note: Text in red are added and/or amended on published article. I will not be responsible for any profit/loss from investment in MF based on this article. 
२०७६–७७ मा म्युचुअल फण्डहरूकाे अवस्था र लाभांस यहाँ पढ्न सक्नु हुन्छ । म्युचुअल फण्डसम्बन्धी थप लेख र टिप्पणीहरू मेरै ब्लग वा ज्याेति दाहालकाे www.jdahal.blogspot.com मा पढ्न सक्नुहुनेछ ।

काराेवार दैनिकमा २०७७ चैत १५ गते प्रकाशित, म्युचुअल फन्डमा लगानी प्रतिफल कि छल ? « (karobardaily.com)
Revised and/or updated: 21 July 2021, NST 15.27