Sunday, August 2, 2020

प्रिओपनिङ, सर्किट र मूल्यान्तर

माग र आपूर्तिका आधारमा क्रेता र विक्रेताको मोलमोलाइले स्वतन्त्र मूल्य निर्धारण र किनबेचको खुल्ला बजार सिद्धान्तअनुरूप सञ्चालन हुने पुँजीबजार (सेयर वा धितोपत्र बजार) को मूल्य संवेदनशीलताकै कारण कानुनतः बजार सञ्चालन समय, दैनिक धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड) को मूल्य र बजार परिसूचक परिवर्तनको अधिकतम (अपर) र न्यूनतम सीमा (लोअर) सीमा तोकेरै बजार, कारोबार र मूल्यान्तरको सूक्ष्म नियमन र व्यवस्थापन गरिन्छ ।

नेपालमा ‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५’ तथा ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ अनुसार धितोपत्र बजारको समय, मूल्य परिवर्तन सीमा र सर्किटको व्यवस्थापन हुन्छ ।नियमावलीको नियम १५ अनुसार (१) धितोपत्र सूचीकरणपश्चात् पहिलो कारोबारको मूल्य र त्यसपछि हुने कारोबार मूल्यको अन्तर, (२) अघिल्लो दिन बजार बन्द हुँदा कायम मूल्य र अर्को दिन सुरु कारोबार मूल्यबीचको अन्तर, (३) लगातार ६० दिनसम्म कारोबार नभएका धितोपत्रको पुनः कारोबार हुँदा कायम हुने सुरु मूल्य, (४) कारोबार समय र कारोबार मूल्यका आधारमा प्रत्येक दिनको मूल्य परिवर्तनको सीमा कायम गर्नुपर्छ । यस्तै नियम १९ अनुसार धितोपत्र बजारले आवश्यकताअनुसार कारोबारमा सर्किट ब्रेकर लाग्ने व्यवस्था गर्नुपर्ने र सर्किट ब्रेकरसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न बोर्डले आवश्यक निर्देशन दिन सक्नेछ ।

विनियमावलीको विनियम ११ ले (१) प्रारम्भिक कारोबार (प्रिओपनिङ) का लागि बिहान १०ः३० देखि १०ः४५ बजेसम्म, (२) बोलकबोल वा निरन्तर कारोबार (रेगुलर ट्रेडिङ सेसन)का लागि बिहान ११ः०० देखि ३ः०० बजेसम्म र (३) अन्तिम कारोबार (क्लोजर) अपरान्ह ३ः०० देखि ३ः०५ बजेसम्म कारोबार सत्र र समय तोकेको छ । विनियम १२ मा मूल्य परिवर्तनको सीमा उल्लेख छ ।
काराेवार समय


प्रिओपनिङ

नेप्सेले प्रारम्भिक (प्रिओपनिङ) कारोबारका लागि छुट्ट्याएको ‘बिहान १०ः३० देखि १०ः४५ बजेसम्म’को १५ मिनेटभित्र लगानीकर्ता/कारोबारीहरूले धितोपत्रको आदेश प्रविष्टि मात्र गर्न सक्छन् । कारोबार प्रणालीले ‘इकोनोमिक अर्डर क्वान्टिटी तथा इकोनिमिक अर्डर प्राइस’का आधारमा माग र आपूर्तिको सिद्धान्तबमोजिम निर्धारित समयभित्र प्रविष्ट सम्पूर्ण आदेशहरूलाई एकैपटक कार्यान्वयन गर्छ ।

विनियमावलीबमोजिम प्रिओपनिङ सत्रमा अघिल्लो दिनको अन्तिम मूल्यको ‘५ प्रतिशत घटी वा बढीको मूल्य सीमा’ भित्र रहेर आदेश प्रविष्टि गर्न सकिन्छ । यही पाँच प्रतिशत मूल्यान्तरको लालसाले जोखिम लिने लगानीकर्ताहरू प्रिओपनिङमा आदेश राख्न लालायित हुन्छन् । सामान्यतः धेरै कित्ता र ठूलो कारोबार नहुने भए पनि थोरै कित्ताले फराकिलो मूल्यान्तरको अवसरले गर्दा प्रिओपनिङ अधिक जोखिम लिने र मूल्यान्तर (मूल्य सीमा)मा खेल्ने कारोबारीहरूको प्राथमिकतामा पर्छ । यस सत्रमा नियमित बजारमा जस्तो धितोपत्रको माग र आपूर्तिको अवस्था जनाउने मार्केट डेप्थ देखिने छैन भने एउटा कम्पनीको किन्ने वा बेच्ने एक किसिमको एउटा मात्र खरिद वा बिक्री आदेश प्रविष्टि गर्न सकिन्छ । अनलाइन लिएकाहरूले प्रिओपनिङमा क्लिक गरेर तोकिएको मूल्य सीमाभित्र सीधै अनि अरूले ब्रोकरमार्फत खरिद वा बिक्री आदेश प्रविष्टि गर्न सक्छन् । यसरी प्रविष्ट आदेशहरू सामान्यतः नियमित कारोबार सुरुभन्दा अगाडि नै कारोबार सम्पन्न वा रद्द हुन्छन्, तर प्रिअाेपनमा कायम मूल्यकाे २ प्रतिशत भित्रका अादेशहरू भने नियमित सत्रमा जानसक्छ । अनलाइन प्रणालीमा सम्पन्न कारोबारको विवरण प्रिओपनिङ सत्र सकिएको केही समयमा मार्केट लाइभमा देखिने हुँदा अनलाइनमा पहुँच भएकाहरूले कारोबार कम्पनी र मूल्यान्तरका आधारमा बजार र कम्पनीको मूल्यगत अवस्था अनुमान गर्न सक्छन् । त्यसैले कतिपय अवस्थामा मूल्य र कारोबार प्रभावित गर्न पनि प्रिओपनिङमा कारोबारको प्रयास हुन्छ ।

अधिक नियन्त्रित उच्च जोखिम र मूल्यान्तरको विकल्पसहितको तर निकै सानो कारोबार हुने प्रिओपनिङ विगतमा त्यति चर्चा र प्रयोगमा थिएन, हाल अनलाइन प्रयोगकर्ता बढेसँगै एकातिर प्रिओपनिङमा पहुँच र प्रयोग बढेको छ भने अर्कातिर नियमित कारोबारमै प्रभाव (साइड इफेक्ट) देखिन थालेको छ । विगतमा प्रिओपनिङको मूल्यान्तरकै कारण केही कम्पनीको कारोबार मात्र प्रभावित भए पनि हाल आएर बजार परिसूचक र पूरै दिन कारोबार नै प्रभावित भएसँगै यसको औचित्यतामा प्रश्न उठाउँदै मूल्य पासो थाप्न र बजार नियन्त्रणमा प्रयोग गरिएको आशंकामा प्रिओपनिङ कारोबार नै बन्द गरिनुपर्ने आवाज पनि उठाइए । पहुँच भएका केहीले प्रिओपनिङमा ५ प्रतिशतको वैधानिक मूल्यान्तरमै कारोबार गर्दा पनि परिसूचक ह्वात्तै बढ्ने, तर सर्किटको नियमानुसार ४ प्रतिशतको घटबढमा २० मिनेट कारोबार रोकिँदा सर्किटको प्रावधान नै पुनरावलोकन हुनुपर्ने तर्क पनि बढेको छ । हालै नेपाल स्टक एक्सचेन्जले अध्ययन समेत गरेको छ ।
थप टिप्पणी १, प्रिअाेपनमा मूल्यान्तरकाे सीमा सम्बन्धमा नियामकबाट २०७८ असार १० गते विगतकाे ५ प्रतिशतकाे सट्टा ‘२ प्रतिशत घटी वा बढीको मूल्य सीमा’ (±२ प्रतिशत) कायम कायम गर्न निर्देशन भएकाे छ। 

सर्किट ब्रेकर

स्टक एक्सचेन्जले धितोपत्रहरूको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोबार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन् । नेपालमा पनि नियामकको स्वीकृतिमा बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले सर्किटको व्यवस्था गरेको छ ।

सर्किट ब्रेकर कम्पनी र बजार परिसूचकका लागि फरक सीमा तोकिएको छ । विनियम १७ ले सर्किट ब्रेकरको व्यवस्था गरेको छ । विगतमा ३, ४ र ५ प्रतिशतको बजार सर्किट हाल निरन्तर कारोबार सुरु भएको एक घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट, दुई घण्टाभित्र ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र त्यसपछि कुनै पनि समयमा ६ प्रतिशतले घटे वा बढेमा सो दिनको कारोबार बन्द गर्ने व्यवस्था गरेको छ । कम्पनीतर्फ प्रिओपनिङमा कायम मूल्यमा १० प्रतिशतभन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार हुनेछैन भन्ने कानुनी व्यवस्था भएता पनि प्रचलनमा अघिल्लाे दिन कायम मूल्यकाे १० प्रतिशत घटी वा बढीसम्म मूल्य कायम हुने प्रचलन छ ।

२०८३ बैशाख ९ गतेदेखि लागु नयाँ सर्किट र मूल्य परिवर्तन सीमा

नेप्सेकाे पत्र

पुरानाे सर्किट र मूल्य परिवर्तन सीमा

मूल्यान्तर वा मूल्य परिवर्तन सीमा 

लगानीकर्ताले लगानी, लागत र लगानी व्यवस्थापन गर्न तथा कारोबारीले मूल्यान्तरबाट मुनाफा आर्जन अर्थात् पुँजीगत लाभका लागि पुँजीबजारमा धितोपत्र कारोबार गर्छन् र मूल्यान्तरको खेल खेल्छन् । कारोबारीहरूले सदैव सस्तोमा किनेर केही मुनाफासहित बढी मूल्यमा बेच्ने प्रयास गर्दा किन्ने वा लगानी गर्नेले पनि सस्तोमा किन्ने उपायहरू अपनाउँछन् । मोलमोलाइ र मूल्यान्तरको यही वैधानिक खेलले नै धितोपत्र बजारलाई जीवन्त राख्दै (क) कारोबारीहरूलाई आकर्षित गर्दै जीविकोपार्जनको अवसर, तथा (ख) पर्याप्त लगानीको अवसर नपाएका लगानीकर्ताहरूलाई लगानी बढाउने र औसत लागत व्यवस्थापनको अवसर दिन्छ ।

विनियम १२ मा (१) प्रिओपनिङमा अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको ५ प्रतिशतसम्म; (२) निरन्तर कारोबार सत्रमा प्रिओपनिङमा कायम मूल्यको २ प्रतिशतसम्म; तथा (३) प्रिओपनिङमा कारोबार नभएका धितोपत्रहरूको अघिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशतसम्म घटबढको सीमाभित्र रहेर आदेश प्रविष्टि र मूल्य परिवर्तन गर्न सकिने व्यवस्था छ । यस्तै कुनै धितोपत्र १५ दिनसम्म कारोबार नभए नेप्सेले मूल्य सीमा खुला गर्न सक्ने तथा सूचीकरणपश्चात्को पहिलो कारोबारका लागि नेप्सेले मूल्य सीमा तोक्न सक्नेछ । बोनस, हकप्रद, नगद लाभांश वा अन्य कुनै संस्थागत गतिविधिका कारणले धितोपत्रको मूल्यमा उल्लेखनीय परिवर्तन हुने अवस्थामा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य दिन सक्ने व्यवस्था छ । नियमानुसार न्यूनतम १ रुपैयाँ* वा एक रुपैयाँले भाग जाने पूर्ण अंकमा मूल्य प्रविष्टि गर्नुपर्छ, तर ५० रुपैयाँभन्दा कम मूल्यमा धितोपत्र कारोबार हुने भए पैसामा समेत मूल्य परिवर्तन र प्रविष्टि गर्न सकिनेछ । प्रचलनअनुसार डिबेन्चरमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछि ०.१ प्रतिशतसम्मको मूल्य परिवर्तन हुन सक्छ ।

थप टिप्पणी २, खरिदबिक्रि अादेश प्रविष्टिमा हाल कायम रू १ काे व्यवस्थालाइ परिवर्तन गर्दै १० पैसा घटि वा बढिकाे अन्तरमा मूल्यमा अादेश दिन सकिने (माेलमाेलाइ) काे व्यस्थाका लागि २०७८ असार १० गते नियामकबाट निर्देशन भएकाे छ । नियामककाे २०७८ असार १० काे निर्देशन

थप टिप्पणी ३, मूल्यान्तर र सर्किटसम्बन्धी कानुनी व्यवस्था र प्रचलित विधीबीच केहि भिन्नता देख्न सकिन्छ । प्रत्येक धिताेपत्रकाे सम्बन्धमा कानुनले प्रिअाेपनमा कायम मूल्यकाे ±१० प्रतिशत भनेपनि प्रचलनमा अघिल्लाे दिन कायम अन्तिम काराेवार मूल्यकाे ±१० प्रतिशतमा सर्किटकाे व्यवस्था छ । यसले एक दिनमा एक धिताेपत्रकाे मूल्य अघिल्लाे दिनमा कायम मूल्यकाे अाधारमा कुल २० प्रतिशत र एकै दिन कायम हुनसक्ने न्यून्तम मूल्यकाे अाधार २२.२२ प्रतिशत वा अधिकतम मूल्यका अाधारमा १८.१८ प्रतिशतकाे मूल्यान्तरकाे सम्भावना रहन्छ । मूल्य प्रविष्टिकाे सम्बन्धमा समेत टिएमएसमा उपलब्ध एमकेटि (मार्केट) विकल्पबाट खरिदबिक्री अादेश प्रविष्ट गरिएकाे अवस्थामा २ प्रतिशतकाे मूल्य सीमा सहजै ताेडिन सक्छ । यसरी व्यवहारमा मूल्यान्तर किनबेच अादेशमा ±२ प्रतिशत र दिनकाे ±१० प्रतिशत (कुल २० प्रतिशत) भएपनि कानुनमा केहि विवाद (±१५% अब ±१२%) हाे कि भन्ने विवाद देखिएकाे छ । यससम्बन्धी थप जानकारीका लागि एकैचोटी १८% तल र २२% माथिसम्म जानसक्छ सेयर मूल्य, के सर्किट रेन्ज घटाउन आवश्यक हो? (bizmandu.com) पढ्न सकिन्छ । 

थप टिप्पणी ४, २०८३ बैशाख ८ गतेदेखि लागु हुने गरी पुनः मूल्यान्तर र सर्किटसम्बन्धी कानुनी व्यवस्थामा परिवर्तनले समेत प्रिअाेपनमा कायम मूल्यकाे ±१५ प्रतिशत भनेपनि प्रचलनमा अघिल्लाे दिन कायम अन्तिम काराेवार मूल्यकाे ±१५ प्रतिशतमा सर्किटकाे व्यवस्था भएकाे अनुमान गरिएकाे छ । यसले एक दिनमा एक धिताेपत्रकाे मूल्य अघिल्लाे दिनमा कायम मूल्यकाे अाधारमा कुल ३० प्रतिशत र एकै दिन कायम हुनसक्ने न्यून्तम मूल्यकाे अाधार ३५.२९ प्रतिशत वा अधिकतम मूल्यका अाधारमा २६.०९ प्रतिशतकाे मूल्यान्तरकाे सम्भावना रहन्छ । यदि कानुनी व्यवस्था अनुरूप मूल्यान्तर सीमा कायम भएकाे अवस्थामा हिजाे कायम मूल्यकाे २८.५ देखि ३१.५ प्रतिशतकाे मूल्यान्तर सम्भावना रहन्छ ।


समस्या र समाधान

प्रिओपनिङ, सर्किट र मूल्यान्तरका विद्यमान प्रावधानहरूले निर्धारित मूल्यगत र परिसूचकगत सीमाकै कारण जोखिम नियन्त्रण हुँदै गर्दा निश्चित अवधिमात्र होइन, दिनभरि नै बजार वा कुनै कम्पनीको कारोबार नहुँदा कारोबारी र लगानीकर्ताहरू निराश र उत्तेजित पनि भएका थिए । यससँगै प्रिओपनिङ बन्द गर्ने, प्रिओनिङको मूल्यलाई नियमित कारोबारसँग नजोड्ने, सर्किटको दर बढाउने, सर्किटको संकेट सहित कारोबार गर्न दिने विषय उठे । बढ्दो बजारमा नकारात्मक लाग्ने सर्किटको प्रावधान घट्दो बजारमा आफ्नो हितमा देख्नेहरू नभएका होइनन् । त्यसैले केही साइड इफेक्टका बाबजुद फराकिलो मूल्यान्तर र मूल्यगत अवसरसँगै नियमित कारोबारलाई सन्दर्भ मूल्य दिने प्रिओनिङ वा नयाँ कम्पनीलाई बजार प्रवेश गराउने स्पेसल प्रिओपनिङ धितोपत्र बजारका अभिन्न हिस्सा भएका छन् । स्पेसल प्रिओनिङमा कारोबार नहुँदा अजोड इन्स्योरेन्सको कैयौं दिन नियमित कारोबार हुन सकेको छैन ।

तसर्थ, प्रिओपनिङ बन्द गर्नुभन्दा विद्यमान सर्किटको नियममा परिवर्तन गरेर कम्तीमा प्रिओपनिङमा ५ प्रतिशत मूल्य सीमाभन्दा केही बढी हुने गरी नेप्से परिसूचकतर्फ ६, ८ र १० प्रतिशतको सर्किटमा जानु सहज र प्रभावकारी विकल्प हुनसक्छ । बरु प्रिओनिङ कारोबारको १५ मिनेटलाई विभाजन गरी आदेश परिमार्जन र रद्दको व्यवस्था, र प्रिओपनिङको मूल्यलाई नियमित कारोबार र बजार परिसूचकसँग नजोड्न सकिन्छ ।

थप टिप्पणी ४, प्रिओपनको मान्यता अनुरूप कारोबारसँगै नियमित कारोबारलाई निर्देशित गर्न र विम्ब पस्कन सकेको छैन । यसलाई कानुन सम्मत र व्यावहारिक बनाउन, (क) मूल्यान्तर सीमा नियमित कारोबारको भन्दा कम्तीमा दुई गुणा, (ख) कारोबार हुने न्यूनतम १०० कित्ता, (ग) प्रिओपनको औसत मूल्यबाट नियमित सत्रका लागि सन्दर्भ मूल्य लिँदै सर्किट गणना, (घ) लगानीकर्ता सहभागिता, सचेतना र पहुँच प्रवद्र्धनसँगै विद्यमान कानुनी र प्रणालीगत विवाद समाधान गरिनुपर्छ ।


कारोबार दैनिकमा २०७७ साउन १८ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/34506
Revised/update 23 April 2026, NST 12:30

1 comment: