Saturday, August 26, 2017

पैसा कहाँ लगानी गर्ने ? सेयर कि घरजग्गा ?

वचत तथा लगानीका विभिन्न औजारहरु शेयर, घरजग्गा, सुन, ऋण वा वचतपत्र, वचत तथा मुद्धति आदि मध्ये अहिले धेरैको रोजाइमा शेयर वा घरजग्गा प्राथमिकतामा रहेको देखिन्छ । मानिसहरुले प्रतिफल वा विकल्पको तुलना गर्दा समेत जग्गामा लगाउँदा यति मुनाफा हुन्छ र शेयरबाट यति मुनाफा आउँछ भन्ने हिसाव गर्ने प्रचलन रहेको छ । तसर्थ शेयर र घरजग्गा लगानीका परिपूरक अनि प्रतिश्पर्धी पनि हुन्। यसो भन्दैमा शेयर र घरजग्गाको लगानी एउटाबाट अर्कोमा सहजै सर्ने अवस्था नभएता पनि शेयर र घरजग्गामा लगानी केहीहदसम्म सर्न शुरु भएको पनि छ । यस अवस्थामा शेयर वा घरजग्गा लगानीका लागि कुन उपयुक्त हुन्छ भन्ने विश्लेषणका लागि निम्न पक्षहरुलाई केलाउनु बुद्धिमानी हुनेछ ।

लगानी र स्रोत व्यवस्थापन 

लगानीका दृष्टिकोणले घरजग्गामा केही ठूलो रकम एकैपटक आवश्यक पर्दछ । उदाहरणको लागि २.५ आना जग्गा किन्दा नै लाखौं रुपैयाँ आवश्यक पर्ने हुन्छ । यसको विपरित शेयरमा केहि हजार र त्यो पनि आफूसँग उपलब्ध भए अनुसार लगानी गर्न सकिन्छ । यसको साथै शेयर बजारमा विभिन्न मूल्यका शेयरहरु उपलब्ध हुनुका साथै सामूहिक लगानी कोष (म्युचुअल फण्ड) मार्फत निकै सानो रकम समेत लगानी गर्न सकिन्छ । यस हिसावले घरजग्गाको तुलनामा शेयर लगानी सहज देखिन्छ ।

लगानीको लागि रकम व्यवस्थापनमा भने शेयरको तुलनामा घरजग्गामा केही सहज हुनसक्छ । बैंक तथा वित्तिय संस्थाहरुले तुलनात्मक रुपमा घरजग्गालाई प्राथमिकता दिने हुँदा आफूसँग उपलब्ध स्रोत बाहेक ऋण भुक्तानीको भरपर्दो माध्यम भएको अवस्थामा घरजग्गामा ऋण सहज हुन्छ । हुनतः बैंक तथा वित्तिय संस्थाहरुले शेयर धितो कर्जा उपलब्ध गराउन थालेका छन्, तर तुलनात्मक रुपमा केही बढि व्याज तिर्नुपर्ने र निश्चित शेयरमा बाहेक ऋण नपाइने संभावना रहन्छ ।

लगानीको उद्देश्य

दुवै क्षेत्रमा लगानीको उद्देश्य मुनाफा नै हो । घरजग्गा वा शेयर दुवैदीर्घकालीन लगानी वा कारोवर गर्ने उद्देश्यले लगानी गर्न सकिन्छ । घरजग्गामा लगानी आफ्नै प्रयोग, दीर्घकालीन पुँजीगत लाभ वा कारोवारको उद्देश्यले गरिन्छ भने नियमित आय (पेन्सन), केही वर्षमा मुनाफा लिएर विक्री गर्न मध्यकालीन वा दीर्घकालीन लगानी तथा छोटो अवधिमा कारोवार गर्न शेयरमा लगानी गरिन्छ । उद्देश्यका हिसावले दुवैको उस्तै देखिएतापनि घरजग्गाको तुलनामा शेयरमा निकै छोटो अवधिका लागि समेत लगानी गरी पुँजीगत लाभ लिन सकिने सम्भवना बढिरहन्छ ।

जोखिम

घरजग्गाको तुलनामा शेयरको मूल्य, आपूर्ति, नियम कानुन धेरै परिर्वतन भईरहने हुँदा पक्कै शेयरमा केही बढी जोखिम रहन्छ । घरजग्गाको जोखिम भनेको कुनै बदमासले झुक्याएर विक्री गर्ने, समयपरिस्थिति र उक्त क्षेत्रको जग्गाको मागका कारण मूल्यमा हुने सामान्य घटबढ मात्र हो । घरजग्गा थप आपूर्तिको नहुने हुँदा आपूर्तिको जोखिम हुँदैन । घरको सम्बन्धमा त विमा गरेर धेरै हदसम्म जोखिम न्यूनीकरण समेत गर्न सकिन्छ ।

शेयरमा तुलनात्मक रुपमा धेरै जोखिम रहन्छ । जस्तो कम्पनीको संख्या र पुँजीको अवस्था, विद्यमान लगानीकर्ताको प्रवृति, नियामक निकायको निर्देशन र कानुनी व्यवस्था आदिका कारण बजारमा उपलब्ध हुने शेयरको संख्या, सम्बन्धित कम्पनीको व्यवसाय, मुनाफा, व्यवस्थापन, आर्थिक राजनीतिक अवस्था, कानुनी प्रावधान, आदि विविध कारणले शेयरको माग तथा आपूर्ति, मूल्य, मुनाफामा प्रभावित हुन्छ । यसको सम्पूर्ण जोखिम लगानीकर्ता वा कारोवारीले उठाउन पर्ने हुन्छ, यहाँ विमाको विकल्प उपलब्ध हुँदैन ।

मुनाफा वा प्रतिफल

घरजग्गा वा शेयरमा निहित विभिन्न किसिमका जोखिम वहन गरे वापत लगानीकर्ताहरुले खोज्ने मुनाफा नै हो ।घरजग्गाबाट बहालको रुपमा नियमित आम्दानीका साथै लागतभन्दा बढी मूल्यमा विक्री हुँदा एकमुष्ट पुँजीगत लाभ प्राप्त हुन्छ ।सामान्यतः घरजग्गामा बहालभन्दा पुँजीगत लाभ प्रधान हुन्छ ।

शेयरमा भने लगानी गरिएको कम्पनीको मुनाफाको आधारमा लाभांस (नगद वा शेयर)का साथै पुँजीगत लाभ वा हानीको संभावना रहन्छ । शेयरको एउटा राम्रो पक्ष भनेको गुणात्मक वृद्धि (मल्पिप्लाएर इफेक्ट) पनि हो, जसले मूलतः दीर्घकालीन लगानीकर्ताहरुको शेयर संख्या र लाभांस दुवै वृद्धिको गुञ्जायस राख्दछ ।घरजग्गामा तुलनात्मक जोखिम कम हुँदा नकारात्मक प्रतिफल वा नोक्सानीको संभावना पनि कम हुन्छ भने शेयरमा यो उच्च रहन्छ ।

खरिदविक्रीको सहजता र पारदर्शिता

नेपालको सन्दर्भमा घरजग्गाको खरिदविक्रीको लागि निश्चित बजार छैन र व्यक्तिगत वा सामुहिक वा संस्थागत रुपमा विद्यमान दलाल वा सिधै खरिदविक्री गर्नुपर्ने बाध्यता रहेको छ । यसको साथै कानुनी रुपमा समेत निश्चित क्षेत्रफलभन्दा सानो आकारमा जग्गा टुक्र्याउन नपाइने नियमले गर्दा पनि खरिद वा विक्री गर्दा उक्त आकार भन्दा सानो जग्गा खरिदविक्री हुन गाह्रो छ । अहिलेको अवस्थामा किन्दा पनि निकै ठूलो रकमको जोहो गर्नुपर्ने हुन्छ भने विक्री गर्दा पनि आवश्यकता अनुसार विक्री गर्न सहज छैन ।

यसको तुलनामा शेयर आफूसँग उपलब्ध रकम, आफ्नो जोखिमवहन क्षमता, आसातित प्रतिफलको आधारमा विभिन्न विकल्पहरु मध्ये छानेर सानो आकारमा समेत खरिदविक्री गर्न सकिन्छ । उदाहरणको लागि आफूसँग १०,००० छ भने सोही मूल्यको शेयर किन्न सकिन्छ भने आफूलाई २५,००० मात्र चाहिएको छ भने सोही मूल्य हाराहारीको शेयर विक्री गर्न सकिन्छ । जुन घरजग्गामा संभव हुँदैन ।सहज खरिदविक्रीले गर्दा घरजग्गाको तुलनामा शेयरमा तरलताको फाइदा रहन्छ ।

यस्तै घरजग्गामा खरिद र विक्रीको आधिकारिक मूल्य, दलालको कसिन जस्ता कुराहरु पारदर्शी हुँदैनन् र क्रेता र विक्रेता दुवै तेस्रो पक्ष अर्थात् दलालबाट शोषित हुने संभावना निकै उच्च रहन्छ । यसको साथै सरकारी दस्तुरका लागि तोकिएको मूल्य र वास्तविक कारोवार मूल्यमा समेत आपसी समझदारीमा फरक मूल्य कायम हुने हुँदा संस्थागत रुपमा भएको खरिदविक्री बाहेक कुन घरजग्गा कति मूल्यमा किनबेच भयो यकिन भन्न सकिने अवस्था रहन्न । अर्कोतिर एउटै क्षेत्रमा समान प्रकृतिको घरजग्गा समेत धेरै फरकमूल्यमा कारोवार हुने संभावनाले गर्दा घरजग्गाको मूल्य आंकलन गर्न असम्भव नै हुन्छ ।

शेयर कारोवारका लागि सरकारले नेपाल स्टक एक्सचेन्ज, मान्यताप्राप्त दलाल तथा सोमा लाग्ने शुल्क तथा कमिसनहरु समेत सुनिश्चित गरिएको हुँदा यहाँ क्रेता र विक्रेता बीच प्रत्यक्ष भेट नभएता पनि किनबेच भएको शेयर कति मूल्यमा भयो र सोको कति भुक्तानी हुन्छ थाहा हुन्छ । क्रेताले कुन शेयरको लागि कति मूल्य र शुल्क तिर्दैछु र विक्रेताले कति मूल्यमा बेचे वापत कति भुक्तानी आउछ र सोको पुँजीगत लाभ वा हानी पारदर्शी रुपमा जानकारी पाउन सक्छ । विद्यमान अवस्थामा कुन शेयर कतिसम्ममा खरिद वा विक्री हुनसक्छ भन्ने आंकलन गर्न सकिन्छ ।

तसर्थ पारदर्शिता र कारोवारको सन्दर्भमा शेयरको तुलनामा घरजग्गा निकै अपारदर्शि र मूल्य आंकलन गर्न कठिन हुन्छ । चाहेको समयमा किनबेच गर्न समेत घरजग्गामा अलि कठिन नै हुन्छ । घरजग्गाको अर्को अभाव भनेको प्रत्यक्ष नियामक हो, जसले थप जटिलता र अपारदर्शितालाई बढवा दिएको छ ।

यसको साथै घरजग्गा र शेयरमा पुँजीगत लाभमा कर समान दर भएता पनि कारोवारमा हुने पारदर्शिताले गर्दा घरजग्गामा पुँजीगत लाभ छल्न जति सजिलो छ, त्यो शेयरमा हुँदैन ।

शेयर कि घरजग्गा ?

उल्लिखित पक्षहरुको आधारमा लगानीको उद्देश्य, जोखिमवहन क्षमता, आफूसँगको ज्ञान र सीप, लगानी अवधि, आसातित प्रतिफल आदिलाई मनन् गरेर शेयर वा घरजग्गामा भन्ने निर्धारण गर्नुपर्ने हुन्छ । स्वप्रयोजनको अवस्थामा बाहेक घरजग्गा र शेयरको तुलनात्मक विश्लेषण गरी खरिदविक्री गर्न संभव हुन्छ । कुनै ठाउँमा चलनचल्तीको भन्दा निकै कममूल्य वा ठूला पूर्वाधार विकासका कारण भविष्यमा घरजग्गाको मागमा निकै उछाल आएर मूल्य वृद्धि हुने संभावना छ, आफूसँग ठूलो रकम वचत छ, र तत्काल रकम आवश्यक हुने अवस्था छैन, बजारमा व्याजदर कम छ भने घरजग्गा लगानीको प्राथमिकतामा राख्न सकिन्छ । तर आफूसँग थोरै मात्र रकम वचत छ, त्यो पनि केही समयको लागि हो भने शेयर उपयुक्त विकल्प हुनसक्छ ।

यसको साथै आफूलाई नियमित आम्दानी चाहिन्छ वा एकमुष्ट लाभ, आफ्नो सम्पति कतिको तरल राख्ने आदि पक्षले समेत शेयर वा घरजग्गाको छनौट प्रभावित हुन्छ ।घरजग्गाको तुलनामा शेयरमा लगानी गर्ने हो भने अलि बढि चनाखो भई सम्बन्धित कम्पनीको वित्तिय, व्यवसायिक र व्यवस्थापकिय अवस्था, राष्ट्रिष्य–अन्तर्राष्ट्रिय आर्थिक–राजनीतिक अवस्था, बजारमा प्रचलित व्याजदर, वैकल्पिक अवसरहरु, बजारमा सम्बन्धित कम्पनीको शेयरको माग र आपूर्तिको अवस्थामा, नियामक र कानुनी प्रावधानलाई नियाल्नु जरुरी हुन्छ ।

यदि सम्पत्ति व्यवस्थापन वा लगानी विविधीकरण(पोर्टफोलियो म्यानेजमेन्ट)को लागि घरजग्गा वा शेयरको विकल्प खोजिएको हो भने उपलब्ध स्रोत बाँडफाँड गरी दुवैमा लगानी गर्नु बुद्धिमानी हुनसक्छ, जसले गर्दा शेयरबाट पाइने गुणात्मक वृद्धि, नियमित लाभांस र पुँजीगत लाभको साथै घरजग्गाको एकमुष्ट पुँजीगत लाभको मिश्रणबाट खुद मुनाफा केही वृद्धि हुन सक्नेछ ।

नेपाली तारा अनलाइनमा प्रकाशित http://nepaltara.com/News/13106-2/

बैंकहरुको ३७ प्रतिशत पुँजी बढ्दा आम्दानीमा २६ प्रतिशत वृद्धि

हाल संचालनमा रहेका २८ बाणिज्य बैंकहरु मध्ये सार्वजनिक शेयर निष्कासन नगरेको राष्ट्रिय बाणिज्य बैंकलाई छोडेर हेर्ने हो भने नेपाल राष्ट्र बैंकले तोकेको ८ अरबको चुक्ता पुँजी पुर्याउन २७ बैंकहरुले बोनस, हकप्रद, मर्ज वा प्राप्तिका माध्यमबाट आर्थिक वर्ष २०७३/७४ मा ४७ अरव ६० करोड २२ लाख ४३ हजार पुँजी थप गरेका छन् । 

आर्थिक वर्ष २०७२/७३ को लागि कायम १ खर्व २६ अर्व ८१ करोड ४९ लाख १९ हजार रहेको बैंकहरुको चुक्ता पुँजी आ.व. २०७३/७४मा १ खर्व ७४ अर्व ४१ करोड ७१ लाख ६२ हजार पुगेको वित्तिय विवरण प्रकाशित गरेका छन् । यसै आ.व.को अन्तिम प्रतिवेदन तयार गर्ने अवधिसम्ममा बोनस, हकप्रद, मर्ज वा प्राप्तीबाट बाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्व पुर्याउनुपर्ने हुँदा पनि बैंहरुको चुक्ता पुँजी २ खर्व १६ अर्व भन्दा बढि हुने पक्का छ । त्यस आधारमा १ आ.व.मा नै बैंकहरुको चुक्ता पुँजी ७० प्रतिशतभन्दा बढिले बढ्ने छ ।

तुलनात्मक रुपमा सबैभन्दा बढि पुँजी जनता बैंक नेपालले बढाएको छ । उसको पुँजी २०३.१२ प्रतिशतले बढेको छ भने बैंक अफ काठमाण्डु, प्रभु बैंक र नविल बैंकले पुँजी थप भएको छैन ।

सबैंभन्दा बढि पुँजी थप भएका बैंकहरु (रकम रु हजारमा)


हालै प्रकाशित बैंकहरुको वित्तिय विवरणको आधारमा हेर्दा बैंकहरुले ३७.५४ प्रतिशतले चुक्ता पुँजी बढाइसकेका छन् भने खुद मुनाफा भने २६.०७ प्रतिशतले मात्र बढेको छ । २७ बाणिज्य बैकहरुले आव २०७३/७४ मा खुद ४२ अरव १८ करोड १ लाख ७४ हजार कमाए । जनता बैंकले पुँजीसँगै मुनाफा प्रतिशत पनि निकै बढाएको छ, जसलाई बैंक अफ काठमाण्डुले पछ्याएको छ । आव २०७३/७४ मा उल्लेख्य प्रतिशतमा बढाउने बैकहरु निम्न अनुसार छन् । 

सबैंभन्दा बढि प्रतिशले मुनाफा बढाएका बैंकहरु (रकम रु हजारमा)


बैंकहरुले चुक्ता पुँजी मार्फत मात्र आफूलाई बलियो संस्था बनाएका होइनन्, गत आवमा उनीहरुले जगेडा कोष पनि उल्लेख्य बढाए ।

आव २०७२/७३ को भन्दा ९० प्रतिशले बढाएर जगेडा कोषमा १ खर्व ६ अर्व ३५ करोड २६ लाख ७२ हजार पुर्याए । जगेडा कोष बढाउने मामलामा नेपाल बैंक लि. सबैभन्दा अब्बल देखिएको छ । उसले एक आ.व.मा १३१० प्रशितको हाराहारी जगेडा कोष बढाएको छ । यसमा उसले सम्पति तथा अन्य कम्पनीको शेयर विक्रिको नाफाको योगदान उल्लेख्य रहेको छ । उसलाई भने जनता बैंकले पछ्याएको छ ।

सबैंभन्दा बढि प्रतिशले जगेडा काेष बढाएका बैंकहरु (रकम रु हजारमा)


यसरी बैंकहरुले एकै वर्षमा संस्थागत सवलता हासिल गर्न निकै मेहेनत गरेका छन् । जसले गर्दा लगानीकर्ताको प्रतिफलको मुख्य आधार प्रतिशेयर आम्दानीमा सामान्य नकारात्मक असर पुगेको देखिन्छ । गत आ.व.मा बैंकहरुले औसत सामान्य प्रतिशेयर करिव २४.१८ रुपैयाँ कमाए, जुन आव ७२/७३मा करिव २६.३८ रुपैयाँ रहेको थियो । पुँजी वृद्धिमा केन्द्रित हुनु अनि बोनस र हकप्रदका माध्यमले थप भएको पुँजीले तत्काल मुनाफा आर्जन नसकेकोले नै प्रति शेयर आम्दानी केही घटेको हो ।समग्रमा बैंकहरुले बढाएको पुँजी, खुद मुनाफा र जगेडा कोषको अवस्था निम्न अनुसारको रहेको छ ।


अार्थिक न्यूज अनलाइनमा 24 August 2017 (8 Bhadau 2074) मा प्रकाशित
http://aarthiknews.com/2017/08/107914

प्रति शेयर आम्दानी अन्यौलता

आर्थिक वर्षको अन्त्यसँगै कम्पनीहरूको वार्षिक कारोवारको आर्थिक अवस्था र मुनाफा सहितको चौथो अपरिष्कृत त्रैमासिक वित्तीय विवरणहरू प्रकासन शुरु भएको छ । यो त्रैमासिक वित्तीय विवरण भएता पनि यसले कम्पनीहरूको एक आर्थिक वर्षमा कति पुँजी लगाए, कति कमाए र कतिसम्म लाभांस दिन सक्छन् अनुमान गर्ने आधार पनि दिन्छ । सोही आधारमा लगानीकर्ताहरू कुन शेयर किन्ने र कुन बेच्ने लगानीसम्बन्धी निर्णय गर्दछन् । तर हालै प्रकाशित वित्तीय विवरणहरूमा लगानी निर्णयलाई प्रभावित गर्ने मुख्य वित्तीय सूचक वा अनुपात देखाउने प्रति शेयर आम्दानीमा अपनाइएको फरकफरक मापदण्डले गर्दा विगतको भन्दा फरक प्रकृतिको प्रति शेयर आम्दानी प्रस्तुत भए । यसले सामान्य प्रति शेयर आम्दानी निकाल्दै आएका आमलगानीकर्ता र कारोवारीहरूमा अन्यौलता ल्यायो ।

वित्तीय विवरण सम्बन्धी कानुनी प्रावधान

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को परिच्छेद ७ ले अनुसूची १४ मा उल्लिखित विवरण सो त्रैमासिक अवधि समाप्त भएको तीसदिन भित्र बोर्ड समक्ष पेश गर्नुपर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ । नियमावलीको अनुसूची १४ अनुसार त्रैमासिक विवरणमा गत वर्ष र यस वर्षको सोही अवधिको तुलनात्मक विवरण, सम्बन्धित पक्ष बीच भएको कारोवार सम्बन्धी विवरण समेत खुलाएर सो त्रैमाससम्मको वासलात र नाफानोक्सान सम्बन्धी वित्तीय विवरण प्रकाशित गर्नुपर्ने उल्लेख छ । यस्तो विवरणमा न्यूनतम रुपमा प्रमुख वित्तीय अनुपातहरू जस्तैः प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रति शेयर नेटवर्थ, प्रति शेयर कुल सम्पतिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण उल्लेख छ ।

त्रैमासिक विवरणमा प्रस्तुत हुने त्यस्ता वित्तीय विवरणका अतिरिक्त व्यवस्थापकीय विश्लेषण, कानुनी कारवाही सम्बन्धी विवरण, संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण, समस्या तथा चुनौति, संस्थागत सुशासन सम्बन्धी जानकारी अध्यक्ष/कार्यकारी प्रमुखले सत्य, तथ्यताको उदघोष सहित प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

प्रति शेयर आम्दानी

सामान्य रुपमा प्रति शेयर आम्दानी अर्थात् ईपिएस भनेको कायम सर्वसाधारण शेयरमा कम्पनीले गरेको खुद आम्दानीको हिस्सा हो । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । प्रति शेयर आम्दानीले कम्पनीले प्रत्येक शेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रति शेयर आम्दानी भनेको कम्पनीले सर्वसाधारण शेयरधनीको लागि कमाएको मुनाफा हो । हुनतः प्रति शेयर गणना गर्ने विभिन्न सूत्रहरूको विकास भएको छ । अन्तराष्ट्रिय रुपमा समेत विभिन्न किसिमका सूत्रहरूको प्रचलनमा रहेको पाइन्छ । नेपालको सन्दर्भमा पनि बैंकिग क्षेत्रमा नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम (एनएफआरएस) को प्रचलनसँगै भारित औसत पुँजीको अवधारणा सहितको सूत्र ३ बाट प्रति शेयर आम्दानी गणना विधि प्रयोगमा आएको छ ।

सामान्य रुपमा कम्पनीले सबै खर्च र तिर्नुपर्ने रकम घटाएर आउने रकम अर्थात् सर्वसाधारण शेयरधनीहरूका लागि उपलब्ध हुने रकमलाई कायम शेयर संख्याले भाग गरेर सामान्य प्रति शेयर आम्दानी निकालिन्छ । यसको लागि, 
  • सूत्र १: खुद आम्दानी/कायम कुल सर्वसाधारण शेयर संख्याको सामान्य सूत्र प्रयोग गरिन्छ । यदि कम्पनीले अग्राधिकार शेयरबाट पुँजी संकलन गरेको छ भने त्यस्तो अवस्थामा खुद आम्दानीबाट कायम अग्राधिकार शेयरका लागि लाभांस घटाएर कायम कुल शेयर संख्याले भाग गरिन्छ ।
  • सूत्र २: (खुद आम्दानी – अग्राधिकार शेयरका लागि लाभांस)/कायम कुल सर्वसाधारण शेयर संख्या, यसका साथै अन्तराष्ट्रिय रुपमा कम्पनी विभिन्न समयमा पुँजी संकलन र परिचालन गरेको आधारमा निम्न प्रकारका सूत्रहरूको समेत प्रयोग गर्ने चलन रहेको छ ।
  • सूत्र ३ः (खुद आम्दानी – अग्राधिकार शेयरका लागि लाभांस)/भारित औसत सर्वसाधारण शेयर संख्या
  • सूत्र ४ः (खुद आम्दानी – अग्राधिकार शेयरका लागि लाभांस)/औसत सर्वसाधारण शेयर संख्या
  • सूत्र ५ः (नियमित संचालन मुनाफा – अग्राधिकार शेयरका लागि लाभांस)/भारित औसत सर्वसाधारण शेयर संख्या

विगतको प्रचलन र हाम्रो सन्दर्भ

नेपालमा एभरेष्ट बैंक, कृषि विकास बैंक र तारागाउँ होटलले मात्र अग्राधिकार शेयर जारी गरी पुँजी संकलन गरेको हुँदा सामान्यतः कम्पनीको खुद आम्दानी नै सर्वसाधारण शेयरधनीहरूको मुनाफाको रुपमा लिइन्छ र यसलाई कम्पनीको कायम शेयर संख्याले भाग गरेर सामान्य प्रति शेयर आम्दानी निकाल्न प्रचालन रहेको छ । कम्पनीहरूले आर्थिक वर्ष २०७२/७३ सम्म प्रति शेयर आम्दानीको सामान्य सूत्र १ वा सूत्र २ प्रयोग गरेर नै प्रति शेयर आम्दानी निकाल्ने गरिन्थ्यो ।

प्रति शेयर आम्दानी र लगानीको सम्बन्ध

लगानीकर्ताको लगानी निर्णयको मुख्य आधार कम्पनीको मुनाफा र लाभांस नै हो । अझ दोस्रो बजारमा लगानी निर्णयलाई मुनाफा र प्रति शेयर आम्दानीले निकै प्रभाव पार्दछ । यसको मुख्यकारण मुनाफाको सोझो सम्बन्ध लाभांस क्षमतासँग जोडिन्छ, जुन लगानीकर्ताको लगानीमा प्राप्त हुन्छ । कम्पनीको संचालक समितिले चाहेको अवस्थामा सामान्यतः खुद मुनाफा वा प्रति शेयर आम्दानीको ८० प्रतिशतसम्म लाभांसको लागि छुट्याउन सकिन्छ । प्रति शेयर नेटवर्थ चुक्ता पुँजीको दोब्बर भएको अवस्थामा मुनाफाको सम्पूर्ण रकम नै लाभांसको रुपमा बाँड्न पनि सकिन्छ ।

प्रति शेयर आम्दानीले लाभांससँगै मूल्य आम्दानी अनुपात (Price earning ratio), लाभांस भुक्तानी अनुपात (Dividend payout ratio) र शेयर पुँजी वा नेटवर्थमा प्रतिफल (Return on equity) लाई असर गर्दछ । त्यसैले फरक सूत्रगत आधारमा फरक प्रति शेयर आम्दानी आउने वित्तिकै अन्य वित्तीय अनुपातहरू समेत प्रभावित हुँदा कुन शेयर किन्ने, बेच्ने वा होल्ड गर्ने जस्ता लगानी निर्णय समेत प्रभावित हुनेछ ।

नयाँ प्रचलन

आर्थिक वर्ष २०७३/७४ सँगै बैंक तथा वित्तीय संस्थाहरूमा एनएफआएएस विधिबाट आय गणना गर्ने प्रचलनको शुरुवात गरिएको छ, जसले कम्पनीले आम्दानी गर्न प्रयोग गरेको भारित औसत पुँजीलाई ध्यान दिन्छ । अर्थात् कम्पनीले विभिन्न समयमा विभिन्न किसिमले संकलित रकमलाई आयआर्जन गर्न प्रयोग गरेको अवधिले समायोजन गरी भारित औसत निकाल्छ । एनएफआरएसको नेपाल लेखामान प्रणाली (नास)को ३२ बुँदामा प्रति शेयर आय गणनासम्बन्धी विधि दिईएको छ । जसले निम्न कुरामा ध्यानदिनुपर्ने उल्लेख गरेको छः
  • आधारभूत वा समायोजित (Diluted) प्रति शेयर आयको गणना गर्दा प्रयोग गरिने रकम (सूचक)ले नाफा वा नोक्सानीमा पुर्याएको योगदानको आधारमा समायोजन ।
  • आधारभूत वा समायोजित प्रति शेयर आयको गणना गर्दा भारित औसत सर्वसाधारण शेयरलाई भाजकको रुपमा प्रयोग गरिँदा एक आपसमा समायोजन ।
  • पुँजी संकलनका उपकरणहरू (विशेष परिस्थितिमा जारी हुने शेयर) जसले भविष्यमा संभावित प्रति शेयर आयलाई प्रभावित गर्दछ, तर प्रतिवेदनको अवधिमा समायोजित प्रति शेयर आयको गणनामा असर नगर्ने अवस्थामा त्यस्ता उपकरणलाई समायोजन गर्नुनपर्ने रुपमा लिने ।
  • यदि कम्पनीले वासलात मिति पछि उक्त अवधिको वासलातलाई असर पुग्ने उल्लेख्य सर्वसाधारण शेयर कारोवार भएको वा सर्वसाधारण शेयरको कारोवार हुने संभावना जसले कायम हुने शेयर संख्यामा उल्लेख्य परिवर्तन ल्याउँछ, सोको विवरण । उदाहरणको लागि सर्वसाधारण शेयर जारी र शेयरको नगद, वारेन्ट र अप्सन, परिवर्तन र एक्सरसाइज (नास ३४.१७) ।

अन्यौलता र निकास

पुँजीकरणको नयाँ प्रचलनसँगै आमलगानीकर्ताहरू यथार्थ प्रति शेयर आम्दानी सम्बन्धमा अन्यौलतामा परेका छन्, किनभने पहिलेको सामान्य सूत्रले निकाल्दा आउने प्रति शेयर आम्दानी भन्दा एनएफआरएस सूत्रबाट बढि प्रति शेयर आय आउँछ । यसले मूलतः परिचालित प्रति शेयर पुँजीमा आम्दानी हेर्ने हुँदा र वास्तविक लाभांस क्षमतालाई प्रतिविम्वित गर्दैन्, किनभने कम्पनीको खुद आम्दानीले प्रकाशित प्रति शेयर आम्दानी अनुसारको लाभांस भुक्तानी क्षमता राख्दैन । पहिले विशेषगरी विमा कम्पनीहरूको प्रति शेयर आम्दानी र लाभांस भुक्तानी बीचमा रहँदै आएको अपारदर्शिता र अन्यौलता अब बैंक तथा वित्तीय संस्थामा पनि देखिने संभावना बढेकोछ । एनएफआरएस विधि लेखांकन सर्वस्वीकृत विधि भएता पनि लगानीकर्ताको चासो प्रति शेयर बाँडफाँडका लागि कति आम्दानी उपलब्ध हुनसक्ने रकम अन्यौलपूर्ण बनेको छ ।

यसले एकातिर संभावित प्रति शेयर लाभांसको दर सामान्यरुपमा गणना गर्न नसकिने हुन्छ भने अर्कोतिर कम्पनीले कहिले र कुन अवधिमा बोनस र हकप्रदलाई पुँजीकरण गरेको छ र कुन आधारमा प्रति शेयर आय गणना गरेको हो पारदर्शी नहुने अवस्था छ । यसो हुँदा आमलगानीकर्ता जो सामान्य प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात र नेटवर्थ जस्ता आधारभूत वित्तीय सूचकको समेत ज्ञान राख्न सक्दैनन् उनीहरू थप अन्यौलमा पर्ने र जोखिम व्यहोर्नु पर्ने अवस्थामा पुग्नेछन् ।

यसको साथै वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरू कसैले एनएफआरएस र कसैले सामान्य सूत्रबाट प्रति शेयर आय गणना गरी विवरण प्रकाशित गरेका छन् । विशेषगरी ठूलो परिणाममा हकप्रद जारी गरी पुँजी संकलन गरेका बैंकहरूले एनएफआरएस विधिबाट र केहिले सामान्य सूत्रबाट प्रति शेयर आम्दानीको गणना र प्रस्तुत गरेबाट कतै पुँजीको भारी थपिएसँग बढि प्रति शेयर आम्दानी देखाउन त एनएफआरएस लागु गरेका त होइनन् भन्ने आम चासो उब्जेको छ । जानकारहरूका अनुसार प्रति शेयर आम्दानीको लेखांकनका लागि नियामकबाट कुनै सूत्र वा मापदण्ड निर्देशित छैन, जसले गर्दा कम्पनीहरूले आफ्नो अनुकूलतामा कहिले एनएफआरएस त कहिले सामान्य विधिबाट प्रति शेयर आम्दानीको गणना गर्ने गरेको पाइन्छ ।

एउटा बैंकले त प्रति शेयर आम्दानी एनएफआरएस विधिबाट गरे पनि टिप्पणीमा यो एनएफआरएस विधिबाट गरिएको होइन भन्ने उल्लेख गरेको छ । यसरी प्रति शेयर आम्दानीको गणना र वित्तीय विवरण प्रस्तुतिमा एकरुपता नहुँदा आमलगानीकर्ता यथार्थ र शुद्ध सूचना पाउनबाट समेत वञ्चित हुनपुगेका मात्रै होइनन् र कुन विधि आधिकारिक हो भन्ने निक्र्यौल गर्न नसक्ने अवस्थामा पुगेका छन् । लेखांकनमा जुन विधि अपनाइएता पनि एकरुपता र यथार्थ जानकारी नै आमलगानीकर्ताको चासोको विषय हो ।

यसको निकास भनेको नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बिमा समितिले सम्बन्धित सरोकारवालाहरूसँगको सहकार्यमा सबै कम्पनीहरूका लागि आयव्ययको गणना गर्ने एउटै मापदण्ड तयारी गरी कार्यान्वयनमा ल्याउनु नै हो । यदि एनएफआरएस अनुसार नै वित्तीय विवरण तयार हुने अवस्थामा स्पष्ट टिप्पणी सहित वा लेखांकन प्रति शेयर आम्दानी (Accounted earning per share) र बाँडफाँडयोग्य प्रति शेयर आम्दानी (Dispensable earning per share) को उल्लेख गरी विवरण प्रकाशित गरिनुपर्दछ । बिमा कम्पनीहरूको वित्तीय विवरणमा समेत संभावित एक्चुलरी भ्यालुयसनको रकम उल्लेख गरिनु पर्दछ, जसले केहि हदसम्म यथार्थ संभावित प्रतिफलको अनुमानलाई सघाउँदै लगानीमा प्रतिफलको अन्यौलता हटाउने छ भने बजारलाई लगानीकर्ता मैत्री र पारदर्शी पनि बनाउने छ ।

लगानी सम्बन्धी निर्णय, प्रतिफल र जोखिमको सम्पूर्ण भागिदार अन्तत लगानीकर्ता नै हुनेहुँदा कुनै कम्पनीको शेयर किनबेच गर्दा उक्त कम्पनीको वित्तीय व्यवसायिक र व्यवस्थापकिय विश्लेषण र परिक्षण गर्ने जिम्मेवारी भने लगानीकर्ता स्वयंको हुने हुँदा थप सचेत र सजग हुनुको विकल्प रहँदैन ।

काराेवार दैनिकमा २०७४ साउन २७ गते प्रकाशित
Published in Karobar daily on 13 August 2017