Thursday, March 1, 2018

पीएनबी घोटाला र नेपाली वित्तीय क्षेत्रले सिक्नुपर्ने पाठ

२०७४ फागुन २ गते भारतको पन्जाब नेसनल बैंक (पीएनबी) मा १ खर्बभन्दा बढी रकम घोटाला भएको समाचारले भारतीय र नेपाली पुँजीबजारमा हलचल मच्चियो । पीएनबीले नेपालको एभरेस्ट बैंकमा समेत सेयर लगानी गरी व्यवस्थापन सम्हालेका कारण पनि नेपाली पुँजीबजारको चासो र चिन्ता स्वाभाविक थियो । केही समयअगाडि एनआईसी एसिया बैंकमा स्विफ्ट काण्ड सुनेका नेपालीहरू पीएनबी घटनामा सोही माध्यम जोडिएसँगै ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्से’ जस्तै हुन पुगे । 

पीएनबी घोटाला 

पीएनबीले अति जरुरी सूचनाका रूपमा कर्मचारीहरू र खातावालाको संलग्नता मुम्बई शाखामा ११ हजार ३ सय ६० करोड भारु (ने.रु. १८ हजार ८ सय ५७ करोड) को घोटाला भएको सार्वजनिक गर्यो । बैंकको मुम्बई शाखाका केही कर्मचारीले कोर बैंकिङ प्रणालीलाई छलेर प्रख्यात हिरा व्यापारी निरव मोदी तथा मेहुल चौकसीसँगको मिलिभगतमा आधिकारिक कागजात र बैंकसँग संस्थागत सम्बन्धबिना विदेशमा भुक्तानीका लागि स्विफ्टमार्फत लेटर अफ अन्डरटेकिङ (एलओयू) म्यासेज पठाउने गर्थे । यसैका आधारमा उल्लिखित व्यक्ति वा कम्पनीलाई तोकिएको रकमबिना संकोच स्वाभाविक रूपमा भुक्तानी दिन्थे । बैंकहरूका लागि स्विफ्टको माध्यमबाट प्राप्त हुने एलओयू म्यासेज पर्याप्त ग्यारेन्टी हुन्छ । 

बाहिरिएको जानकारीअनुसार कर्मचारीले निकै चलाखीपूर्वक आफूमा निहित अधिकारको दुरुपयोग गरी संस्थालाई विश्वासघात गर्दै निरव मोदी तथा मेहुल चौकसीको स्वार्थमा काम गर्दै आएका थिए । उनीहरूले मौखिक अनुरोधमा बैंकको आधिकारिक जानकारी एवम् कोर बैंकिङ प्रणालीमा रेकर्डसमेत नहुने गरी स्विफ्टमार्फत रकम भुक्तानीका लागि एलओयू जारी गर्थे । अझ चाखलाग्दो कुरा यस्तो धोकापूर्ण कार्य सन् २०११ देखि नै भइरहेको थियो । यतिका वर्षसम्म गुपचुप तरिकाले भइरहेको धन्दा, सम्बन्धित कर्मचारी सेवानिवृत भई नयाँ कर्मचारी आएपछि मात्र संस्थागत जानकारीमा आएको देखिन्छ । 

एलओयू र स्विफ्ट 

एलओयू बैंकहरूहरूबीच अन्तर्राष्ट्रिय भुक्तानीमा लागि जारी गरिने अन्तरबैंक जमानत, निर्देशन वा ग्यारेन्टी हो । बैंकले ग्राहक वा खातावालका तर्फबाट विदेशमा रहेको अर्को बैंकलाई उल्लिखित व्यक्ति वा संस्थालाई तोकिएको रकम भुक्तानी गर्न एलओयू जारी गर्छ ।

सामान्यतः बैंकले सम्बन्धित कम्पनी वा व्यक्तिसँग आवश्यक पर्याप्त जमानत, ग्यारेन्टी वा भुक्तानी लिएर निर्धारित समयमा सो रकम तोकिएको सर्तबमोजिम फिर्ता भुक्तानी गर्ने सम्झौताका आधारमा स्वदेशमा रहेको वस्तु तथा सेवा आयात गर्ने व्यक्ति वा संस्थाका तर्फबाट विदेशमा रहेको निर्यातकर्ता वा सम्बन्धित पक्षलाई भुक्तानीका लागि एलओयू जारी गर्छ । उदाहरणका लागि नेपालको कुनै व्यक्ति वा कम्पनीले विदेशबाट सामान आयात गर्यो भने नेपाली बैंकले विदेशको निर्यातक कम्पनी वा व्यक्तिलाई तोकिएको रकम भुक्तानी दिन विदेशमा रहेको बैंकलाई स्विफ्ट म्यासेजमार्फत एलओयू नोट जारी गर्छ, जुन बैंकिङ भुक्तानी प्रणालीको आमप्रचलन हो । 

अन्तर्राष्ट्रिय स्तरमा बैंकहरूबीच यस्तो निर्देशनको सूचना आदानप्रदान गर्न स्विफ्ट (सोसाइटी फर वल्र्डवाइड इन्टरबैंक फाइनान्सियल टेली कम्युनिकेसन) प्रणालीको प्रयोग गरिन्छ । यो बैंकिग क्षेत्रले गोप्य र सुरक्षित रूपमा वित्तीय सूचना आदानप्रदान गर्ने माध्यमका रूपमा स्विकारिएको सञ्जाल हो । यसै माध्यमबाट संसार वित्तीय सेवा, सेवाप्रदायक बैंक तथा सरोकारवालाहरू एकआपसमा जोडिएका छन् । यसमा प्रत्येक बैंक/संस्थालाई छुट्टै कोड दिइएको हुन्छ र सोही कोडका आधारमा कुन बैंकबाट आएको र कसलाई भुक्तानी दिने भन्ने पहिचान गरिन्छ । 

पीएनबी र एभरेस्ट बैंक 

एभरेस्ट बैंकमा पीएनबीले विदेशी लगानीकर्ताको रूपमा करिब २० प्रतिशत पुँजी लगानी गरेको छ भने प्राविधिक सम्झौताबमोजिम उच्च व्यवस्थापनसमेत सम्हाल्दै आएको छ । यस आधारमा बैंकको नाफा–नोक्सानीमा पीएनबीको जिम्मेवारी र अधिकार रहन्छ, तर पीएनबीको आर्थिक दायित्वमा एभरेस्टको कुनै सरोकार रहँदैन । तसर्थ हालैको घटनाबाट एभरेस्ट बैंकको कारोबार र नाफा–नोक्सानमा प्रत्यक्ष असर पर्नुपर्ने कुनै आधार रहँदैन, तर पीएनबीकै व्यवस्थापन भएकाले एभरेस्ट बैंकको व्यवस्थपन र साखमा भने केही असर पर्न सक्छ । 

जहाँसम्म पीएनबीले आर्थिक व्यवस्थापनका लागि नेपालमा रहेको सेयर बिक्री गर्न सक्ने सम्भावना छ, त्यो उसको अधिकार हो । यसले एभरेस्ट बैंकको पुँजीगत क्षमतामा कुनै असर पर्दैन । लगानी फिर्ता नै गरे पनि एभरेस्ट बैंकको लगानीकर्ता परिवर्तन हुने र केही व्यावसायिक अवसर गुमाउने सम्भावनाबाहेक आत्तिनुपर्ने वा ठूलो नोक्सानीको गुन्जायस रहन्न । अहिलेको अवस्थामा पीएनबीलाई राम्रो मुनाफा दिइरहेको एभरेस्ट बैंकको सेयर बिक्री गर्ने वा व्यवस्थापन छोड्ने सम्भावना निकै कम रहन्छ । 

बैंकहरूले सिक्नुपर्ने पाठ 

हुन त बैंकहरू सबैभन्दा उच्च प्रविधिको प्रयोग गर्ने सुशासनयुक्त पर्याप्त सुपरिवेक्षण र नियन्त्रणसहितको व्यवस्थित संस्थाका रूपमा परिचित छन् । बैंकहरूमा हरेक कारोबारका लागि तथ्यांक प्रविष्टि, सुपरिवेक्षण, नियन्त्रण र स्वीकृतिसहितको बहुनियन्त्रण पद्धति बैंकिङ प्रणालीमा रहन्छ । प्रत्येक बैंकले आवश्यक प्रविधि, व्यवस्थापन र दक्ष मानव–संसाधनलाई बैंकिङ प्रणालीको आधारभूत सर्तका रूपमा स्वीकार गरी सोहीअनुरूपको यथोचित व्यवस्था गरेका हुन्छन् । नेपाली बैंक तथा वित्तीय संस्थाहरूले पनि आवश्यक प्रविधि सुरक्षा गरेकै हुनुपर्छ ।

यति हुँदाहुँदै पनि हालैको पीएनबी घटना र नेपालकै एनआईसी एसिया र हिमालयन बैंकमा समेत प्रविधिको दुरुपयोग अनि साविकको एचएन्डबी (हाल लुम्बिनी विकास बैंक) तथा केही बैंकहरूमा कर्मचारीहरूबाट बैंकलाई हानि पुराउने काम भएबाट बैंकिङ प्रणालीमा प्रविधि र मानवीय जोखिमलाई उजागर गरेको छ । 

त्यसमाथि नेपाल आफैंमा प्रविधिको विकास गर्ने भन्दा प्रविधि आयात र उपयोग गर्ने प्रयोगकर्ता मुलुक हो । यस्तै उच्चस्तरीय मानव संसाधनको अभावमा प्रविधिको प्रभावकारी नियमन, व्यवस्थापन र सुरक्षा चुनौतिपूर्ण रहँदै आएको छ ।

एनआईसी एसियामा पनि पीएनबीमा जस्तै स्विफ्ट प्रविधिको दुरुपयोग भएको थियो । एनआईसीमा स्विफ्ट पासवर्ड ह्याक गरी अनधिकृत तवरले रकम स्थानान्तर भएको बताइएको थियो । यसमा कर्मचारीको संलग्नतासम्बन्धी कुनै तथ्य बाहिर ल्याइएको छैन । यसअगाडि पनि हिमालयन बैंकमा कार्ड प्रविधिको दुरुपयोग गरी करोडौं रकम हिनामिना भएको थियो । तत्कालीन एचएन्डबी बैंकमा पनि कर्मचारीको संलग्नतामा रकम हिनामिना भएको पुष्टि भएको थियो । 

जतिसुकै उत्कृष्ट प्रविधिको प्रयोग गरिए पनि त्यसको नियमन र नियन्त्रणमा मानवीय संलग्नता रहन्छ । मानिसहरूको नियत परीक्षण गर्ने प्रविधि नै नभएकाले कर्मचारीमा अन्तरनिहित जोखिम अन्य संघसंस्थामा जस्तै बैंकहरूमा पनि रहन्छ । यस अवस्थामा नेपाली बैंकहरूले पनि प्रविधि र मानवीय जोखिमको चातुर्यपूर्ण तरिकाले प्रभावकारी समाधान खोज्नुको विकल्प छैन । 

अबको उपाय 

संस्थाहरू प्रविधि र मानव संसाधनको संयोजनमा सञ्चालित हुने हुँदा सबै पक्षको प्रभावकारी व्यवस्थापनका साथै नियमन र सुपरिवेक्षण अपरिहार्य रहन्छ । पीएनबी वा नेपाली बैंकहरूमा भएका हिनामिनामा बैंकिङ प्रणालीमा विद्यमान विश्वसनियता, प्रविधि र नियमन वा व्यवस्थापकीय छिद्रको प्रयोग गरिएको देखिन्छ । यस कारण अब बैंकिङ प्रणालीलाई थप विश्वसनीय बनाउन बैंक तथा वित्तीय संस्थाहरूले (१) नियमित रूपमा प्रविधिको लेखापरिक्षण (टेक्नोलोजी अडिट) गर्दै प्रविधिगत जोखिम न्यूनीकरण गर्ने । (२) पीएनबी वा नेपालका बैंकहरूको विगतका घटनाहरूबाट पाठ सिक्दै एउटा निश्चित समयको अन्तरालमा जिम्मेवार परिवर्तन र माथिल्लो तहबाट निरन्तर सुपरिवेक्षण गर्ने । (३) ऋणीका साथै संस्थाको समग्र जोखिम (मानवीय तथा प्रविधि) को मूल्यांकन र जोखिम न्यूनीकरण विधिहरूलाई संस्थागत गर्ने तथा सीधै सञ्चालक समितिप्रति जवाफदेही हुने गरी विशेष अधिकार र जिम्मेवारीसहितको जोखिम व्यवस्थापन अधिकृतको अनिवार्य व्यवस्था गर्नुपर्छ । 

अन्त्यमा, बैंक तथा वित्तीय संस्थाहरूले मानवीय र प्रविधिगत जोखिमहरूको उत्कृष्ट व्यवस्थापन गर्दै बचतकर्ता, लगानीकर्ता, सरोकारवाला र समाजको विश्वनीयतामा खरो उत्रिनु्पर्नेछ । जतिसुकै जोखिमपूर्ण भए पनि प्रविधि र मानव संसाधनको प्रभावकारी परिचालन गर्नुको विकल्प छैन ।

काराेवार दैनिकमा फागुन १३ गते प्रकाशित https://karobardaily.com/news/idea/2683

Tuesday, February 13, 2018

आक्रामक पुंजीवृद्धि र पुंजी पर्याप्तता

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकहरूले मुनाफा तथा अन्य वितरणयोग्य कोषहरूको रकम परिचालन गरेर यथाशक्य बोनस सेयर जारी गरे भने उल्लेख्य परिणाममा हकप्रद सेयरसमेत बिक्री गरे । केही बैंकहरू मर्जर र प्राप्तिमा गए । तैपनि आव ०७४-७५ को दोस्रो त्रैमाससम्म १९ वटा बैंकले मात्र तोकिएको पुँजी पुर्याए, ९ वटा बैंक पुँजी जुटाउन प्रयासरत छन् । हुन त बैंकहरूको पुँजी कति चाहिन्छ भन्ने पुँजी पर्याप्तता मापदण्डले निर्देशन र नियन्त्रण गर्छ । यस आव (०७४-७५) को पुस मसान्तकोे बैंकहरूको समग्र पुँजी पर्याप्तता दर हेर्दा हाल गरिएको पुँजीवृद्धि केहीका लागि नपुग र केहीलाई बढी भएको देखिन्छ ।

चुक्ता पुँजीको अवस्था


चुक्ता पुँजी वृद्धिसँगै बैंकहरूले आक्रामक पुँजी विस्तार रणनीति अपनाएको देखिन्छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये कृषि विकास, सिटिजन्स, एभरेस्ट, ग्लोबल आईएमई, हिमालयन, जनता, लक्ष्मी, माछापुच्छ, नबिल, नेपाल बंगलादेश, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, नेपाल एसबीआई, प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य, सानिमा, स्ट्यान्डर्ड चार्टर र सनराइज बैंक गरी १९ वटाले तोकिएको ८ अर्ब चुक्ता पुँजी पुर्याएका छन् ।

अझै बैंक अफ काठमाण्डू (बीओके), एनएमबी, सिद्धार्थ, प्रभु, कुमारी, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी), मेगा, सेन्चुरी र सिभिल गरी ९ वटा बैंक पुँजी पु¥याउन प्रयासरत छन् । बीओके, मेगा, सेञ्चुरी र सिभिलले बोनसबाटै पुँजी पु¥याउने बताएका छन् । एनएमबीले एफपीओ र बोनस, सिद्धार्थले १० प्रतिशत हकप्रद र १४ प्रतिशत बोनसबाट पुँजी जुटाउनेछ । प्रभुले ४० प्रतिशत, कुमारीले २० प्रतिशत र एनसीसीले ५० प्रतिशत हकप्रद जारी गरी नपुग बोनसबाट चुक्ता पुँजीको व्यवस्था गर्नुपर्नेछ ।



गत आवको दोस्रो त्रैमाससम्म १ खर्ब ४४ अर्ब रुपैयाँ हाराहारी रहेको बैंकहरूको कुल चुक्ता पुँजी करिब ७० अर्ब बढेर २ खर्ब १४ अर्ब पार गरेको छ । बैंकहरूको शून्यदेखि २४६.७७ प्रतिशत र समग्र बैंकहरूमा गत पुस मसान्तभन्दा ४८.६ प्रतिशतले चुक्ता पुँजी बढेको छ । १० अर्ब ६२ करोड रुपैयाँको चुक्ता पुँजीसहित नेपाल इन्भेस्टमेन्ट बैंक सबैभन्दा पहिलो र एनसीसी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँसहित अन्तिम स्थानमा छ । 

जगेडा कोष

चुक्ता पुँजीसँगै जगेडा कोष पनि १६ अर्ब ६४ करोडले वृद्धि भएर पुस मसान्तमा १ खर्ब ०३ अर्ब २० करोड पुगेको छ । यस अवधिमा जनता बैंकले सबैभन्दा बढी २ सय २१ प्रतिशतले जगेडा कोष बढाएको छ भने लक्ष्मी बैंकको ५० प्रतिशतले घटेको छ । प्राइम, नेपाल एसबीआई, कृषि विकास र माछापुच्छ्रे बैंकको जगेडा कोष गत वर्षको पुस मसान्तभन्दा घटेको छ । जगेडा कोषमा ९ अर्ब ९१ करोड रुपैयाँसहित नेपाल इन्भेस्टमेन्ट अब्बल र सबैभन्दा कम १ अर्ब रुपैयाँसहित जनता बैंक कमजोर देखिएको छ । 

पुँजीकोष वा पुँजी पर्याप्तता

बैंकको व्यावसायिक क्षमताको आधार रहेको पुँजीकोषले नै पुँजी पर्याप्तता जनाउँछ । पुँजी कानुनतः तोकिएको अवस्थामा सोही बमोजिम र सामान्यतः पुँजीभारले थिचिने वा पुँजी नपुगेर व्यवसाय नचल्ने होइन, ठिक्क हुनुपर्छ । विद्यमान व्यवस्थानुसार बैंकहरूको पुँजीकोष न्यूनतम ११ प्रतिशत हुनुपर्छ । व्यवसाय विस्तार र जोखिमको आधारमा केही थप पुँजीगत सबलता ध्यान दिँदा १४–१५ प्रतिशतसम्मको पुँजीकोषलाई ठिक्क मान्न सकिएला । यस आधारमा ११.२४ देखि १५ पुँजीकोष भएका १७ बैंकहरूको पुँजीलाई ठिकै मान्न सकिन्छ । सिटिजन्स, बीओके, कृषि विकास, माछापुच्छरे , एभरेस्ट, नेपाल बैंक, जनता, सिभिल, मेगा, सेन्चुरी र स्ट्यान्डर्ड चार्टरसँग व्यावसायिक आवश्यकताभन्दा बढी पुँजीकोष देखिन्छ । पुँजीकोषका आधारमा सबैभन्दा बढी २२.९६ सहित स्ट्यान्डर्ड चार्टर बलियो र ११.४३ रहेको ग्लोबल आईएमई केही कमजोर देखिन्छ । बैंकहरूले अब व्यवसाय विस्तारसँगै पुँजीकोष सबल बनाउन वैकल्पिक स्रोतहरू डिबेन्चर, अग्राधिकार सेयर वा जगेडा कोष बढाउन ध्यान दिनुपर्नेछ ।

निक्षेप

एक वर्षमा जनता बैंकको निक्षेप सबैभन्दा बढी १०६ प्रतिशतले बढेको छ भने नविल बैंकको ०.३९ प्रतिशतले बढेको छ । मर्ज वा प्राप्तिबिनाको वृद्धिदर हेर्ने हो भने एनआईसी एसिया निक्षेप ५२ प्रतिशतले बढाउन सफल भएको छ । आव ०७४-७५ को पुस मसान्तमा बैंकहरूसँग २२ खर्ब १९ अर्ब निक्षेप रहेको छ । सबैभन्दा बढी निक्षेप राष्ट्रिय वाणिज्य बैंकसँग १ खर्ब ४९ अर्ब रुपैयाँ छ भने सूचीकृतमध्ये नेपाल इन्भेस्टमेन्ट बैंकसँग १ खर्ब २९ अर्ब रुपैयाँ र सबैभन्दा कम सिभिलसँग ३७ अर्ब छ । यसबाहेक नविल, एनआईसी एसिया, एभरेस्टर ग्लोबल आईएमई बैंकसँग १ खर्बभन्दा बढी निक्षेप छ । 

कर्जा तथा सापट

व्यवसाय विस्तारको मापक र आम्दानीको स्रोत कर्जा तथा सापटी २१ प्रतिशतले बढेर यस पुस मसान्तमा १९ खर्ब ११ अर्ब हाराहारी पुगेको छ । निक्षेप १६ प्रतिशतले बढेको तुलनामा कर्जा विस्तार दर बढी हुँदा थप कर्जा विस्तारमा कठिनाइ झेलिरहेका छन् । जनताको सबैभन्दा बढी १ सय १२ प्रतिशत र बैंक अफ काठमान्डूको सबैभन्दा कम ३ प्रतिशतले कर्जा बढेको छ । नियमित व्यवसायको आधारमा एनआईसीको कर्जा वृद्धि उच्च छ । रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकले सबैभन्दा बढी १ खर्ब १३ अर्ब रुपैयाँ तथा सबैभन्दा कम सिभिल बैंकले ३३ अर्ब ५५ करोड रुपैयाँ कर्जा तथा सापटी दिएको छ । 

खुद ब्याज आम्दानी

पुस मसान्तसम्म बैंकहरूले ४३ अर्ब ११ करोड खुद आम्दानी गरेका छन्, जुन गत आवको पुस मसान्तभन्दा ४ अर्ब ८८ करोड अर्थात् १२.७९ प्रतिशतले मात्र बढेको छ । यो कर्जा तथा सापटी वृद्धिको तुलनामा निकै कम हो ।

जनता बैंकको खुद ब्याज आम्दानी पनि सबैभन्दा बढी १ सय ३८ प्रतिशतले बढेको छ भने एनसीसीको ४३ प्रतिशतले घटेको छ । रकमका आधारमा सबैभन्दा राष्ट्रिय वाणिज्य बैंकले रु. ४ अर्ब १ करोड रुपैयाँ कमाएको छ भने सूचीकृतमध्ये नबिल बैंकले सबैभन्दा बढी २ अर्ब ९३ करोड रुपैयाँ कमाएर खुद ब्याज आम्दानीमा अग्रपंक्तिमा उभिएको छ । सबैभन्दा कम खुद ब्याज आम्दानी सिभिल बैंकको रु. ५७ करोड ८४ लाख रहेको छ ।

खुद मुनाफा

लगानीकर्ताहरूको मुख्य चासो रहने खुद मुनाफा आर्जनमा बैंकहरू खरो उत्रिन सकेका छैनन् । चुक्ता पुँजी ७० अर्ब बढ्दा खुद मुनाफा रु. २ अर्ब ८० करोड बढेको छ । समीक्षा अवधिमा बैंकहरूको खुद मुनाफा वृद्धिदर सुस्त देखिएको छ । बढ्दो कोषको लागतले पनि खुद मुनाफा घटाएको देखिन्छ ।

बैंक अफ काठमाण्डू, एनआईसी एसिया, सिटिजन्स, नेपाल बंगलादेश, माछापुच्छरे , नेपाल बैंक र प्रभुको खुद मुनाफा तुलनात्मक रूपमा घटेको छ भने एनसीसीको सबैभन्दा बढी ३५६ प्रतिशतले बढेको छ । रकमका आधारमा सबैभन्दा बढी नविल बैंकले रु. १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार रुपैयाँ कमाएको छ भने सबैभन्दा कम सिभिल बैंकले रु. २१ करोड ६९ लाख ४६ हजार मात्र कमाउन सकेको देखिन्छ ।

प्रतिसेयर आम्दानी

आक्रामक चुक्ता पुँजी वृद्धिले प्रतिसेयर आम्दानीमा नकारात्मक असर पारेको छ । गत आवको दोस्रो त्रैमासमा औसत २७.९४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी खुम्चिएर रु. २०.७३ मा झरेको छ । सबैभन्दा बढी प्रतिसेयर आम्दानी नबिल बैंकको रु. ४५.५७ र कम जनता बैंकको रु. ६.७९ छ । औसतमा बैंकहरूको प्रतिसेयर आय रु. २०.७३ छ ।

नेटवर्थ

पुँजीवृद्धिसँगै धेरै बैंकहरूको नेटवर्थ घटेका छन् । ८ अर्ब पुँजी पुर्यायाएका मध्ये ग्लोबल आईएमई र नेपाल बैंकको मात्र नेटवर्थ बढेको छ । नेटवर्थका आधारमा रु. २०२.९७ सहित कृषि विकास बैंक अब्बल देखिएको छ । यसैको हाराहारीमा नेपाल इन्भेस्टमेन्ट र नबिल बैंक देखिएका छन् । बैंकहरूको औसत नेटवर्थ रु. १४९.३३ छ ।

निष्क्रिय कर्जा

कर्जा २५ प्रतिशतले बढाएका बैंकहरू निष्क्रिय कर्जालाई पनि नियन्त्रण राख्न सफल देखिएका छन् । गत आव पुस मसान्तमा औसत १.५१ प्रतिशत रहेको निष्क्रिय कर्जा झिनो अंकले बढेर औसतमा १.७१ प्रतिशत पुगेको छ । सबै बैंक नियामकले तोकेको निष्क्रिय कर्जाको अधिकतम दर ५ प्रतिशत मुनि कायम राख्न सफल भएका छन् । सबैभन्दा न्यून निष्क्रिय कर्जा ०.०३ प्रतिशतसहित सानिमा बैंक अब्बल देखिएको छ भने सिभिलको उच्च ४.५२ प्रतिशत छ ।

लगानी निर्णय र बैंकहरूको वित्तीय अवस्था मापन गर्न माथि उल्लिखित सूचकहरूका साथै व्यवस्थाअघिको सञ्चालन नाफा, इक्विटीमा प्रतिफल, सम्पत्तिमा प्रतिफललाई हेर्न सकिन्छ । बैंकहरूको निक्षेप र पुँजी कोषको प्रभावकारी व्यवस्थापनबाट कर्जा तथा सापटीको आधार तय हुने र यसबाट खुद मुनाफा प्रभावित हुन्छ । अहिले पनि उल्लेख्य पुँजी बढाउँदा समेत केही बैंकलाई थप व्यवसायको विस्तारका लागि पुँजी अभाव हुने देखिएको छ । बैंकहरूले पुँजी व्यवस्थापनका लागि दीर्घकालीन रणनीति र वैकल्पिक माध्यमबाट पुँजी कोष बलियो बनाउनुपर्ने देखिन्छ ।

तालिकाः २०७४ पुसमसान्तसम्म बैंकहरूकाे वित्तीय अवस्था र तुलनात्मक प्रगति




काराेवार दैनिकमा २०७४ माघ २८ गते प्रकाशित
https://karobardaily.com/news/idea/2276

Sunday, January 28, 2018

सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि र मूल्य प्रभाव

धितोपत्र बजारमा सर्वसाधारणलाई सार्वजनिक सेयर निष्काशन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका सेयरहरू किनबेचसँगै सेयरधनीहरू परिवर्तन भइरहन्छन् । यसले कम्पनीले दिने लाभांश कसले पाउने र निर्णय प्रक्रियामा कहिलेसम्मकालाई कसरी सहभागी गराउने निक्र्यौल गर्न कठिनाइ हुन्छ । कम्पनीले नियमित वा विशेष निर्णयहरू गर्ने सन्दर्भमा विद्यमान सेयरधनीहरूको लगत कायम गर्न निश्चित मिति तोक्छ, जसलाई सेयरधनी दर्ता पुस्तिका बन्द वा बुकक्लोज भनिन्छ । यसरी बुक क्लोजको मितिसम्म कायम सेयरधनीले मात्र कम्पनीको निर्णय र हक वा अधिकार तथा दायित्व कायम गर्दछन् ।

कम्पनीले कुनै निर्णयका लागि बुकक्लोज गर्ने सम्बन्धमा पब्लिक लिमिटेड कम्पनीले राष्ट्रियस्तरको पत्रिकामा सात दिनअघि सूचना प्रकाशन गरी वर्षभरिमा ४५ दिन नबढाई एकपटकमा ३० दिनसम्म सेयरधनी दर्ता बन्द गर्न सक्ने व्यवस्था गरेको छ । सामान्यतः १) कम्पनीको वार्षिक साधारणसभा, २) विशेष साधारणसभा, र ३) हकप्रद सेयर निस्काशनको लागि बुकक्लोज गरिन्छ । सामूहिक लगानी कोषहरूले भने साधारण सभा नगर्ने हुँदा लाभांश प्रयोजनको लागि १ दिन बुकक्लोज तोकेर एकाइ धनीहरूको लगत कायम गरिन्छ । मर्ज वा प्राप्तिमा रहेका कम्पनीहरूको हकमा सम्झौता भएर कारोबार रोकिएको दिनलाई नै बुकक्लोज मानिन्छ । 

बुकक्लोजको प्रभाव 

कम्पनीले वितरण गर्ने लाभांश, हकप्रद सेयर वा निर्णयमा कम्पनीमा बुकक्लोजको मितिसम्म कायम सेयरधनीहरूको मात्र हकअधिकार रहने हुँदा स्वाभाविक रूपमा उक्त मितिसम्म कायम सेयरधनीहरू र सो पछिका सेयरधनीहरूबीच फरक अवस्था रहन्छ । विशेष साधारणसभाका लागि गरिने बुकक्लोजले सेयरधनीको निर्णय गर्ने अधिकार बाहेक आधारभूत पक्षमा ठूलो प्रभाव पार्दैन, तर लाभांश र हकप्रद सेयरका लागि हुने बुकक्लोजले धितोपत्रको बजार मूल्य र आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्दछ । 
थप टिप्पणी १, विद्यमान प्रचलनमा कम्पनीबाट घाेषित लाभांस वा हकप्रदमा अधिकार तथा साेकाे लागि बाेलाइने सभामा मतदानमा सहभागिताका लागि बुकक्लाेज मितिसम्म शेयरधनी कायम हुनुपर्छ । बुकक्लाेज अगाडि शेयर किन्दा बुकक्लाेज मिति अघिल्लाे काराेवार दिन खरिद भइ ताेकिएकाे मिति भित्र साेकाे जानकारी सम्बन्धित शेयर रजिष्ट्रार कहाँ पुग्नु पर्छ । उदाहरणकाे लागि माघ ३ गते बुकक्लाेज भएमा माघ २ गतेसम्म किन्नेले घाेषित लाभांस वा हकप्रदमा अधिकार पाउँछ भने माघ ३ गते मूल्य समायाेजन हुन्छ । समायाेजित मूल्यमा बेच्नेले त्यस्ताे लाभांस वा हकप्रद पाउँछन्, तर अघिल्लाे दिन बेच्नेले पाउँदैनन् ।

क) मूल्य समायोजन 
विद्यमान प्रावधान अनुसार १) बोनस जारी, २) हकप्रदबाट जारी, ३) बजारमूल्यको १० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण हुने अवस्थामा बुकक्लोजपछि मूल्य समायोजन हुन्छ । बोनस सेयर वा नगद लाभांशको हकमा बुकक्लोजको अघिल्लो दिनको अन्तिम कारोबार मूल्यमा प्रस्तावित दर अनुसार र हकप्रद सेयरको हकमा हकप्रदको दर अनुसार अन्तिम कारोबार मूल्यमा अंकित मूल्य जोडेर मूल्य समायोजन गरिन्छ । यसमा स्पष्ट हुन निम्न तीन उदाहरणहरू हेरौं: 

उदाहरण १ : बोनस प्रयोजन — कम्पनीले साधारणसभाबाट पारित गरी २० प्रतिशत बोनस सेयर दिने प्रस्तावसहित पुस १५ गते बुकक्लोज तोक्यो र कम्पनीको पुस १४ गतेको अन्तिम कारोबार मूल्य रु. ६०० रह्यो भने समायोजित मूल्य ६०० भागा १.२ (विद्यमान १ कित्ता र २० प्रतिशत बोनसबाट प्राप्त हुने ०.२ कित्ता) अर्थात् ६००/१.२० बराबर रु. ५०० कायम हुनेछ । सूत्रवत् रूपमा, अन्तिम कारोबार मूल्य/(१ + बोनस दर)ले गणना गरी समायोजित मूल्य निकाल्न सकिन्छ । 

उदाहरण २: हकप्रद प्रयोजन — मानौं कम्पनीले पुस १५ गते २५ प्रतिशत हकप्रद जारी गर्ने प्रयोजनको लागि बुकक्लोज गरेको छ र कम्पनीको पुस १४ गतेको अन्तिम कारोबार मूल्य रु. ५०० छ । सूत्रवत् रूपमा, समायोजित मूल्य = (अन्तिम कारोबार मूल्य + हकप्रदको दर अनुसारको अंकित मूल्य)/१ + हकप्रद सेयरको दर हुन्छ । यस अनुसार (५०० + २५)/१ + ०.२५ भई समयोजित मूल्य रु. ४२० कायम हुन्छ । 

उदाहरण ३: नगद लाभांश प्रयोजन — मानौं सूचीकृत दुई धितोपत्रले २५ प्रतिशतका दरले नगद लाभांश घोषणा गर्याे । पहिलोको अंकित मूल्य रू १०० र अन्तिम कारोबार मूल्य ५०० थियो र दोस्रोको १२ रूपैंया भएको अवस्थामा पहिलोले नगद लाभांशको रूपमा २५ रूपैयाँ पायो, जुन बजार मूल्यको १० प्रतिशत नभएको हुँदा बजार मूल्य समायोजन हुँदैन । तर अर्कोतर्फ दोस्रो धितोपत्र जसको अंकित मूल्य रू १० र अन्तिम कारोबार मूल्य १२ रुपैंया थियो, उसले २.५ रुपियाँ अर्थात् बजार मूल्यको २० प्रतिशतभन्दा बढी नगद लाभांश पाउने हुँदा दोस्रोको बजार मूल्य समायोजन हुन्छ । 

थप टिप्पणी २, अंकित मूल्य १०० भएका कम्पनीहरूकाे नगद लाभांस सामान्यत बुकक्लाेज हुँदाकाे कायम मूल्यकाे १० प्रतिशतभन्दा कम हुनेहुँदा सामान्यत मूल्य समायाेजन हुन्न । तर म्युचुअल फण्डहरूकाे केवल नगद लाभांस हुने र सामान्यतः लाभांस रकम बुकक्लाेज हुँदा कायम मूल्यकाे १० प्रतिशतभन्दा बढि हुनेहुँदा मूल्य समायाेजन हुन्छ । म्युचुअल फण्डकाे हकमा लाभांस वितरणसँगै खुद सम्पति (न्याभ) समेत प्रभावित हुने (घट्ने)मा चनाखाे हुनुपर्छ । थप जानकारीका लागि म्युचुअल फन्ड र सेयर बजार लेख वा म्युचुअल फन्डमा लगानी प्रतिफल कि छल ? पढ्नसक्नु हुन्छ ।

थप टिप्पणी ३, मूल्य समयाेजनले गर्दा बाेनस र हकप्रदकाे सन्दर्भमा समायाेजित मूल्यमा किन्नु र अघिल्लाे दिन किन्नुले समग्र लागत र लाभमा उल्लेख्य असर पर्दैन्, तर नगद लाभांस भने प्राप्त नहुने र प्रायः अवस्थामा नगद लाभांस मूल्यमा बैधानिक समायाेजन नहुने तर बजारले अनाैपचारिक मूल्य समायाेजन हुँदा  लागत र लाभमा प्रभाव पर्नेछ । 

ख) माग र आपूर्ति 
बोनस सेयर वा हकप्रद जारी हुने गरी भएको बुकक्लोजले कम्पनीको सेयर संख्या बढाउँछ जसले निकट भविष्यमा उक्त कम्पनीको सेयर आपूर्ति बढ्ने सम्भावना देखाउँछ र बुकक्लोजसँगै समायोजित मूल्यलाई थप प्रभावित पार्दछ । 

सेयर किनबेच बुकक्लोज पछि कि अगाडि ? 

बुकक्लोजको मूल्य समायोजन र सेयर आपूर्तिको प्रभाव आकलन गर्न नसक्दा मानिसहरू बुकक्लोज अगाडि वा पछाडि सेयर किनबेच गर्नेमा असमञ्जसमा पर्दछन् । बुकक्लोज अगाडि वा पछाडि सेयर किन्ने निर्णय गर्दा निम्न कुराहरूमा ध्यान दिनु उपयुक्त हुनेछ: 

१) लगानी वा कारोबार : यदि कम्पनीमा दीर्घकालीन लगानी गर्ने हो भने सामान्यतः बुकक्लोज अगाडि सेयर किन्नु उपयुक्त मानिन्छ । बुकक्लोज अगाडि सेयर खरिद गरिएको अवस्थामा कम्पनीले दिने लाभांश वा हकप्रद सेयरमाथिको अधिकारका अतिरिक्त निर्णय प्रक्रियामा सहभागिता र मताधिकार प्राप्त हुनेछ । बजारमा सेयरको मूल्य वृद्धि भएको अवस्थामा थप पुँजीगत लाभ एवम् आधार मूल्यको लाभको सम्भावना पनि रहन्छ । यदि अल्पकालका लागि पुँजीगत लाभका लागि कारोबार गर्ने हो भने बुकक्लोज पछाडि खरिद गर्नु कम जोखिमपूर्ण मानिन्छ । यस आधारमा लगानीकर्ताहरूले खरिद बुकक्लोज अगाडि र बिक्री पछाडि गर्नु बुद्धिमत्तापूर्ण मानिन्छ । 

२) बजार र कम्पनीको बजार मूल्यको अवस्था : बजार र कम्पनीको सेयर मूल्य स्थिर, बढ्दो वा घट्दो अवस्था कुन छ, त्यसलाई मनन गर्नुपर्दछ । स्थिर अवस्थामा बुकक्लोज अगाडि वा पछाडि सेयर किनबेचले तात्त्विक असर गर्दैन । बढ्दो अवस्थामा बुकक्लोज अगाडि र घट्दो अवस्थामा बुकक्लोज पछाडि सेयर खरिद लाभदायक हुन सक्छ । 

३) कम्पनीको सेयरको माग र आपूर्ति : सामान्यतया बजारमा कम सेयर आपूर्ति र माग उच्च भएका कम्पनीहरूको सेयर मूल्य बुकक्लोज पछाडि पनि बढ्ने सम्भावना उच्च हुँदा बुकक्लोज अगाडि खरिद गर्नु राम्रो हुन्छ । आपूर्ति अनुरूप सेयरको माग नभएका कम्पनीको बोनस सेयर वा हकप्रदले आपूर्ति बढेर बजारमा सेयर मूल्य घट्ने सम्भावना उच्च रहन्छ । यस्ता कम्पनीका सेयरमा लगानी वा कारोबार दुवै अवस्थामा बुकक्लोज अगाडि सेयर बिक्री फाइदाजनक हुन सक्छ । 

४) बोनस वा हकप्रद वितरण र सूचीकरण समय : बुकक्लोजसँँग सेयर मूल्य समायोजन भए तापनि बोनस सेयर स्वीकृत भई वितरण गर्न केही समय लाग्ने हुन्छ । हकप्रद सेयरको लागि बुकक्लोजको हकमा हकप्रद सेयरको निष्काशन, बन्द, बाँडफाँड, सूचीकरण र सेयरधनीलाई वितरणसम्म लामो प्रक्रिया पूरा गर्नुपर्ने हुँदा बोनस सेयरको भन्दा थप समय लाग्दछ । कम्पनीको व्यवस्थापनले कति छिटो बोनस वा हकप्रद जारी तथा सूचीकरण गर्न सक्छ र त्यसले बजारमा आपूर्ति तथा मूल्यमा पार्ने सम्भावनाका आधारमा उक्त कम्पनीको सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि भन्ने निर्णयमा विचार गरिनुपर्दछ । 

५) व्यक्तिगत जोखिम वहन क्षमता : बुकक्लोज पछाडि सेयर मूल्य कम देखिँदा किन्न प्रोत्साहित हुनेमात्र होइन बढ्दो आपूर्तिको डरले तत्काल किन्न निरुत्साहित पनि हुन सक्छन् । मूल्य घट्ने र आपूर्ति बढ्दा बजारमा सेयर मूल्य कता जान्छ भन्ने आकलन निकै कठिन र जोखिमपूर्ण हुन्छ । यसरी हुने मूल्यको प्रभाव सकारात्मक वा नकारात्मक दुवैबाट उत्पन्न हुने जोखिम वहन क्षमता, जोखिम आकलन र व्यवस्थापन क्षमतालाई पनि सेयर किन्दा ध्यान दिनुपर्दछ । 

अन्त्यमा, नगद लाभांशले म्युचुअल फन्डको खुद सम्पत्तिमा नै असर गर्ने र लाभांश पनि बजार मूल्यको १० प्रतिशतभन्दा बढी रहने सम्भावना रहँदा बुकक्लोजसँगै बजार मूल्य समायोजन हुन्छ तर अरू कम्पनीको मूल्य समायोजनको सम्भावना न्यून हुन्छ । बोनस र हकप्रदको लागि हुने बुकक्लोजले सेयर मूल्य र आपूर्ति प्रभावित गर्ने हुँदा त्यसपछिको मूल्य आकलन, जोखिम वहन र व्यवस्थापन गर्ने क्षमता, लगानीको उद्देश्य र अवधि आदि पक्षहरूलाई ध्यान दिएर सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि भन्ने निर्णय गर्नुपर्दछ । अझ हकप्रदको हकमा कुनै कारणवश हकप्रद सेयर लिन छुटेमा दीर्घकालीन नोक्सानी हुनेछ ।

काराेवार दैनिकमा २०७४ माघ १३ गते सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि « (karobardaily.com) शीर्षकमा प्रकाशित
Updated 25 July 2021, 15:01 NST