‘एक थुकी सुकी, सयौंले थुकी नदी’ भन्ने उखानजस्तै सामूहिक हित र जोखिम न्यूनीकरणको सिद्धान्तका आधारमा धेरै लगानीकर्ताहरू मिलेर सामूहिक मुनाफा बाँडफाँड तथा जोखिम वहनका लागि स्थापित तथा सञ्चालित कोष नै सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्ड हो ।
कोषको सञ्चालक तथा व्यवस्थापकले धितोपत्र बोर्डको स्वीकृत सीमाभित्र रहेर कोषको रकम जुटाउन कम्पनीहरूले सेयर बेचेजस्तै सर्वसाधारणलाई कोषको ससानो एकाइका रूपमा युनिट बिक्री गर्छन् । सामान्यतः यस्ता युनिटहरूको मूल्य रु. १० र युनिट खरिद गर्ने व्यक्ति उक्त कोषको युनिटधारक अर्थात् युनिट होल्डरका रूपमा कोषको नाफानोक्सानमा हिस्सेदारी कायम गर्छन् ।
यसले गर्दा सानो रकम भए पनि लगानी गरेर केही मुनाफा कमाउन चाहने व्यक्तिहरूका लागि यस्ता म्युचुअल फन्ड राम्रो माध्यम हुँदै आएका छन् । त्यसैले म्युचुअल फन्ड भनेको कुनै कम्पनीको सेयर नभई मर्चेन्ट बैंकहरूद्वारा निष्कासित तथा व्यवस्थित कोषहरू हुन्, जसले बजारमा उपलब्ध लगानीका क्षेत्रहरू र जोखिमको विश्लेषण गर्दै उच्चतम प्रतिफल र जोखिमबीच सन्तुलन कायम गर्दै लगानी गरेर मुनाफा आर्जन गर्छ र युनिट होल्डरहरूलाई लाभांशका रूपमा मुनाफा वितरण गर्छन् ।
अहिलेको अवस्थामा यस्ता कोषको लगानीको मुख्य क्षेत्र भनेको सेयर बजार, डिबेन्चर, ऋणपत्र, मुद्दती निक्षेप नै हुन् । त्यसैले पनि कतिपयले सेयरमा सीधै लगानी नगरी जोखिम व्यवस्थापनका लागि म्युचुअल फन्डहरूमार्फत लगानी गरिरहेका छन् ।
म्युचुअल फन्डका प्रकार
म्युचुअल फन्डहरूको स्वीकृति लिँदा नै पाँच वर्ष, सात वर्ष वा अनिश्चित अवधि कति समयका लागि सञ्चालन तथा व्यवस्थापन गर्ने हो, सोही अनुरूप हुन्छ । कोष व्यवस्थापकले समयावधि तोकिएको वा नतोकीकनै म्युचुअल फन्डहरू सञ्चालनमा ल्याउन सक्छ ।
(क) बन्दमुखी म्युचुअल फन्ड: निश्चित समयावधि तोकिएजस्तै सिद्धार्थ इक्विटी इन्भेस्टमेन्ट फन्ड, नविल ब्यालेन्स फन्ड आदि ‘बन्दमुखी’ फन्ड हुन् । बन्दमुखी म्युचुअल फन्डहरूले तोकिएको समयपछि सम्बन्धित निकायले समय बढाउन नवीकरण गरेको अवस्थामा बाहेक कोषमा उपलब्ध सम्पत्तिहरू बिक्री गरी युनिटहोल्डरहरूलाई दामासाहीले वितरण गर्नुपर्छ ।
यस्ता म्युचुअल फन्डहरू धितोपत्र कारोबार हुने दोस्रो बजार अर्थात् नेप्सेमा सूचीकृत भएर खरिद–बिक्रीसमेत गर्न सकिन्छ । अहिले नेप्सेमा २५ वटा म्युचुअल फन्डको कारोबार भइरहेको छ । यस्ता युनिटहरू सेयरजस्तै सहज खरिदबिक्री गर्न सकिन्छ र बजारमा उक्त युनिटहरूको खुद सम्पत्ति, माग र आपूर्तिका आधारमा पुँजीगत लाभ वा हानी पाउन सकिन्छ ।
(ख) खुलामुखी म्युचुअल फन्ड: समयसीमा निर्धारण नभएजस्तै नागरिक एकांकी युनिटलाई ‘खुलामुखी’ म्युचुअल फन्डहरूका रूपमा चिनिन्छ । नेपालमा सञ्चालित पहिलो एनसीएम म्युचुअल फन्ड पनि खुला रूपमा सुरुवात भएको हो । तर पछि गएर बन्दमुखीमा परिणत गरिएको थियो ।
खुलामुखी म्युचुअल फन्डहरू भने नेप्सेमा सूचीकृत हुँदैन, समयसीमा अगाडि नै खरिदबिक्री गर्नुपरेमा कोष सञ्चालकले उक्त समयको खुद सम्पत्ति (नेट एसेट्स भ्यालु) मा ..... आफंैले युनिट खरिद गरिदिन्छ । हाल ४ खुल्लामुखी फन्ड संचालनमा छन् ।
सच्याइएकाे ः खुलामुखीकाे काराेवारकाे व्यवस्था फण्ड म्यानेजरले गर्दछ र दैनिक कायम न्याभकाे अाधारमा यसकाे किनबेच हुन्छ । किनबेचकाे कमिसन ताेकिए बमाेजिम हुन्छ ।
मूल्य र किनबेच
नियमानुसार स्वीकृत योजना (स्किम) लाई रु. १० अंकित मूल्यको ससानो एकाइमा विभाजन गरिन्छ । त्यसैले आईपीओबाट फन्डका योजनामा लगानी गर्न प्रतिएकाइ रु. १० ले कम्तीमा १ सय एकाइका लागि रु. १ हजारको आवेदन दिनुपर्छ । डिम्याट खाता, बैंक खाता र सी–आस्बा भएका लगानीकर्ताले ‘मेरो सेयर’ वा ‘सी–आस्बा’ सेवाप्रदायक बैंक तथा वित्तीय संस्थाबाट ‘सेयर’मा जसरी तोकिएको अवधिमा आवेदन गर्न सकिन्छ ।
‘बन्दमुखी’ एकाइ अनुमति प्राप्त सेयर दलाल (ब्रोकर) कहाँ कारोबार खाता खोलेर दोस्रो बजारमा ब्रोकरमार्फत वा स्वयमले कारोबार प्रणाली (टीएमएस) मा ‘एमएफ’ (MF) छानेर कम्तीमा १ सय युनिटका लागि खरिद–बिक्री आदेश दिन सकिन्छ । ‘न्याभ’को आधारमा किन्नेबेच्नेको वैधानिक सीमाभित्रको मोलमोलाइबाट तय हुने मूल्य र किनबेच निश्चित हुँदैन । सामान्यतः ‘न्याभ’बाट छुट (डिस्काउन्ट) मा किनबेच हुने ‘बन्दमुखी’ एकाइ हाल १२-२९ प्रतिशत छुटमा कारोबार भइरहेको देखिन्छ । किनबेच रकमका आधारमा प्रतिकारोबार न्यूनतम रु. १०, ५ लाखसम्म ०.१५ प्रतिशत, ५ देखि ५० लाखमा ०.१२ प्रतिशत र ५० लाखमाथि ०.१ प्रतिशत ब्रोकर कमिसन तथा ०.०१ सेबोन शुल्क र प्रतिदिन प्रतिफन्ड रु. २५ डीपी शुल्क तथा पुँजीगत लाभमा ५ प्रतिशत (संस्थागतलाइ १०%) लाभकर लाग्छ ।
‘खुलामुखी’ दोस्रो बजारमा सूचीकृत र कारोबार हुँदैन, तर योजना व्यवस्थापकबाट ‘न्याभ’को आधारमा निर्धारित मूल्यमा तोकिएको विधिबाट किनबेच सुनिश्चित हुन्छ । योजना व्यवस्थापकले नै एकाइ किनबेचको व्यवस्था गर्दै नियमानुसार किन्ने (बाई ब्याक) र बेच्ने मूल्य सार्वजनिक गर्नुपर्छ । हाल सञ्चालनमा रहेको एनआईबीएल सहभागिता फन्ड वेबसाइटबाट सहजै वा तोकिएको बिक्री केन्द्रबाट कायम ‘न्याभ’को आधारमा किनबेच गर्न सकिने व्यवस्था छ । किन्दा ‘न्याभ’का आधारमा कुल रकम र डिपी शुल्क रु. २५ मात्र लाग्छ । बेच्दा पनि ‘न्याभ’को आधारमा प्राप्त हुने रकममा धारित (होल्ड) अवधिको आधारमा ६ महिनामा १.५%, ६-१२ महिनामा १.२५%, १२-१८ महिनामा १% र १८-२४ महिनामा ०.७५% ‘एक्जिट फी’ तथा पुँजीगत लाभमा ५ प्रतिशत (संस्थागतलाइ १०%) लाभकर लाग्छ ।
प्रतिफल र साँवा फिर्ता
सैद्धान्तिक रूपमा योजना व्यवस्थापकले सदैव जोखिम व्यवस्थापन गर्दै उच्चतम प्रतिफललाई प्रयास गर्छ । त्यसैले उसको लगानी र कारोबार क्षमताले फन्डको ‘न्याभ’ र एकाइधनीको सम्पत्ति र प्रतिफल निर्भर रहन्छ । योजना व्यवस्थापकले उपलब्ध विभिन्न लगानी उपकरणमा उच्चतम लाभका लागि व्यवस्थित लगानी गर्दै ‘न्याभ’ र आम्दानी बढाउने प्रयास गर्छ । ‘बन्दमुखी’ मा आयको आधारमा एकाइधनीलाई वार्षिक ‘नगद लाभांश’ मात्रै वितरण गरिन्छ । ‘खुलामुखी’ मा भने नगद लाभांश पुनःलगानी (डिभिडेन्ड रिइन्भेस्टमेन्ट) मार्फत थप एकाइ किन्न सकिने प्रावधान हुन्छ ।
‘बन्दमुखी’ मा अवधि सकिएपछि सबै सम्पत्तिलाई नगदमा परिणत गरेर एकाइधनीलाई समानुपातिक रूपमा फिर्ता गरिन्छ । अवधि नसकिँदै रकम आवश्यक परे दोस्रोबजारमा बेचेर निस्कन सकिन्छ । जस्तै अवधि सकिँदाकाे अन्तिम न्याभ रू. १४.७५ थियाे सम्पतिलाइ नगदमा परिणत गर्दा प्रति एकाइ रू. १५ भए सबै एकाइधनीले प्रति एकाइ रू. १५ नै फिर्ता पाउँछन् । ‘खुलामुखी’मा भने व्यवस्थित फिर्ता योजना (सिस्टमेटिक विथ ड्र प्लान) बाट एकाइ फिर्ता गरेर वा कायम ‘न्याभ’मा एकाइ बिक्री गरेर निस्कन सकिन्छ ।
दुवै प्रकारका म्युचुअल फण्डले दिने लाभांस अंकित मूल्यका अाधारमा हुन्छ, उदाहरणका लागि १५ प्रतिशत लाभांस भनेकाे अंकित मूल्य रू १० काे १५ प्रतिशत अर्थात् प्रति एकाइ रू. १.५ लाभांस हुन्छ, बजार मूल्यकाे १५ प्रतिशत हाेइन । यस अनुसार १०० एकाइ हुनेले रू १५० पाउँछ । खुल्लामुखीमा भने लाभांस पुनःलगानी पनि हुन्छ र पुनःलगानी गरेमा साेहि रकमले अाउने थप एकाइ पाइन्छ । जस्तै १००० एकाइमा १५ प्रतिशतले पाउने रू १,५०० ले मानाैं बुकक्लाेजकाे दिनकाे न्याभ रू १३ भए करिव ११५ एकाइ दिन्छ ।
अंकित मूल्यभन्दा फरक दाेस्राेबजारबाट किन्नेकाे वास्तविक प्रतिफल (Yield) भने बजारमूल्य वा लागतमा निर्भर हुन्छ । जस्तै, मूल्य १४ घाेषित लाभांस २५ प्रतिशत भएपनि वास्तविक प्रतिफल दर भने १७.८६ (२.५ ÷ १४) हुनेछ । अझ लाभांस वितरण पछि न्याभ घटेर वा मूल्य प्रभावले हुने वास्तविक प्रतिफल अनुमान गर्न गाह्रै हुनेछ ।
यसरी ‘म्युचुअल फन्ड’ लगानीमा वार्षिक नगद लाभांश र पुनःलगानीसँगै बजार मूल्यका आधारमा किनबेच गर्दै पुँजीगत लाभको अवसर पनि रहन्छ ।
लगानी र ध्यान दिनुपर्ने
मूलतः धितोपत्रमा चासो र इच्छा भएका तर स्वयम् लगानी व्यवस्थापन गर्न नसक्ने वा नचाहने निष्क्रिय लगानीकर्तासँगै नगद लाभांश र पोर्टफोलियो व्यवस्थापनका लागि सक्रिय लगानीकर्ताले पनि ‘म्युचुअल फन्ड’ मा लगानी आवश्यक मानिन्छ । व्यावसायिक टिमबाट व्यवस्थापन हुने ‘म्युचुअल फन्ड’ को बजार र कारोबारमा विशेष पहुँचसँगै सूचीकृत कम्पनीले निष्कासन गर्ने धितोपत्रमा ५ प्रतिशत आरक्षणका साथै करहरू छुट पाउँछन्, जसको लाभ एकाइधनीले पनि पाउँछन् । आरक्षण र सहुलियत अनुरूप उपलब्धि हासिल गर्न नसकेकाेमा याेजना व्यवस्थापकहरूकाे क्षमता माथि अनेक प्रश्न उठाउँदै आरक्षण बन्द गरिनु वा आरक्षणकाे शेयरमा लकिङ हुनुपर्ने आवाज चर्कै उठ्छ । तर उपलब्ध सुविधाकाे फाईदा उठाउन एकाइ किन्नुकाे विकल्प रहन्न । एकपटक किनेर ७–१० वर्षमा पैसा चाहिँदा ‘बन्दमुखी’मा लगानी गर्न सकिन्छ । एकपटक किनेर लामो अवधि धारण गर्ने वा नियमित (मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक) लगानी गर्दै जान ‘खुलामुखी’ योजना उपयुक्त हुन्छ । यस्तै लाभांश लिने वा पुनःलगानीको आधारमा बन्द वा खुला योजना छनोट गर्नुपर्छ ।
‘बन्दमुखी’मा लगानी गर्दा मुख्यतः ‘न्याभ’को अवस्था (मासिक/साप्ताहिक), योजना व्यवस्थापक र सुपरिवेक्षक, लगानी र धितोपत्रको वास्तविक लागत (नोट/टिप्पणीमा हेर्ने), खुद सम्पत्ति, आम्दानीको अवस्था, प्राप्त भएकाे र नभएकाे आय, विगतको लाभांश र ‘न्याभ’, बाँकी अवधिलाई ध्यान दिनुपर्छ । ‘खुलामुखी’मा योजनाको लगानी, ‘न्याभ’, बिक्री केन्द्र र शुल्क; पुनःलगानीको विकल्प, सिस्टमेटिक इन्भेस्टमेन्ट र विथ ड्र प्लानसमेतमा ध्यान दिनुपर्छ ।
बढ्दो ‘म्युचुअल फन्ड’सँगै प्रतिस्पर्धा पनि बढेको छ, जसले एकातिर लगानीकर्तालाई छनोटको अवसर बढेको छ भने अर्कातिर योजना व्यवस्थापक र योजनाले सार्वजनिक निष्कासनमा पाउने आरक्षित धितोपत्रको हिस्सा घट्नेछ।
म्युचुअल फण्डहरूकाे अाय समेत समावेश गरेर ‘न्याभ’ गणना हुन्छ, त्यसैले लाभांस घाेषणा, बुक क्लाेजकाे समय तिर म्युचुअल फण्ड किन्दा लाभांसकै अनुपातमा बजार मूल्य समायाेजना वा ‘न्याभ’ घट्ने तर्फ सजग हुनुपर्छ।
प्रचलन अनुसार घाेषित लाभांस बुकक्लाेजकाे मितिमा कायम काराेवार मूल्यकाे १० प्रतिशतभन्दा बढि भएमा मात्र मूल्य समायाेजन हुन्छ । जस्तै, कुनै याेजनाले २५ प्रतिशत लाभांस घाेषणा गर्याे र बुकक्लाेजकाे अघिल्लाे काराेवार मूल्य रू. १५ कायम भयाे । यहाँ घाेषित लाभांस २५ प्रतिशत अर्थात् प्रति एकाइ रू २.५ कायम काराेवार मूल्य रू १५ काे १६.६७ प्रतिशत (१० प्रतिशत भन्दा बढि) हुँदा मूल्य समयाेजन हुन्छ । बुक क्लाेज पछिकाे लागि नेप्सेले रू १२.५ (१५–२.५ = १२.५) सन्दर्भ मूल्य ताेक्छ । तर यदि बुक क्लाेजकाे लागि कायम काराेवार मूल्य २७ भएकाे भए घाेषित लाभांस रू २.५, ९.२५% मात्र हुँदा नेप्सेले मूल्य समायाेजन गर्दैन । बजार संचालक वा प्रणालीले मूल्य समायाेजन गरे वा नगरे पनि न्याभ घट्ने हुँदा स्वभाविक रूपमा बजार मूल्य पनि घट्नसक्छ । बजारले अाफै मूल्य समायाेजन गर्नसक्छ । उदाहरणकाे रू १५ काे न्याभ लाभांस वितरण पछि रू १२.५ हाराहारी झर्छ । त्यसैले मूल्य तिर्दा न्याभमा प्रभावलाइ विशेष ध्यान दिनुपर्छ । अन्यथा, रू १५ न्याभकाे २५ प्रतिशत लाभांसकाे लाेभमा रू १४/१५ तिरेर किन्दा भाेली न्याभ नै रू १२.५ मा झरेर अाफ्नाे रू १४ बाटै अाफैले लाभांस खाएकाे अवस्था अाउन सक्छ ।
शेयर र म्युचुअल फण्डमा लाभांस पछिकाे सम्पतिमा भने फरक हुन्छ । कम्पनीले छुट्याएकाे नाफाबाट लाभांस बाडछ, जसले लाभांस वितरण पछि कम्पनीकाे पुँजी घट्दैन । तर म्युचुअलमा न्याभमा प्राप्त भएकाे र नभएकाे नाफा समेत हिसाव हुन्छ र प्राप्त नाफाकाे वितरणयाेग्य रकमबाट लाभांस बाँड्ने हुँदा लाभांस वितरण पछि खुद सम्पति (न्याभ) नै घट्छ ।
नेपालमा म्युचुअल फन्ड
विश्वमा म्युचुअल फन्डहरूको उपस्थिति धेरै पुरानो भए पनि नेपालमा यसको उल्लेख्य विकास र उपस्थिति भने २०६९ देखि मात्र भएको हो । योभन्दा अगाडि बजारमा एनसीएम म्युचुअल फन्ड एउटाको मात्र उपस्थिति थियो र त्यो १० वर्षको अवधिमा सबै युनिटको भुक्तानी गरेर बन्द भएको थियो ।
नागरिक कोषबाट सञ्चालित नागरिक एकांकी युनिटसहित हाल बजारमा ११ वटा यस्ता सामूहिक लगानी कोषहरूको उपस्थिति रहेको छ र उनीहरूले ५० करोडदेखि १ अर्ब रुपैयाँको कोष खडा गरेका छन् । सञ्चालनमा रहेकामध्ये १० वटा म्युचुअल फन्डहरूले ८ अर्ब २५ करोडका पाँच वा सात वर्ष अवधिका ८ करोड २५ लाख बन्दमुखी युनिटहरू बिक्री भएका छन् ।
हाल (२०७८ माघ २९ ) २५ बन्दमुखी र ४ खुल्लामुखी याेजनाहरू संचालनमा छन् ।
सेयर बजारमा म्युचुअल फन्ड
हाम्रो जस्तो निकै उतारचढाव हुने र अर्थतन्त्रका वास्तविक क्षेत्रको कम सहभागिता रहेको सेयर बजारलाई केही भए पनि व्यवस्थित गर्न र संस्थागत उपस्थितिसहित निश्चित बाटोमा हिँडाउन सहयोगीका रूपमा म्युचुअल फन्डहरूलाई अगाडि बढाइएको हो ।
नेपालमा पनि २०६५–६८ बीच बजारमा आएको चरम अवस्थाबाट पाठ सिकेरै होला, सरकारी तवरमा नै नीतिगत व्यवस्था गरी म्युचुअल फन्डहरूलाई बजारमा प्रवेश गर्ने वातावरण सिर्जना गरियो ।
बजारलाई चलायमान बनाउन साना, ठूला वा संस्थागत सबै लगानीकर्ताको उत्तिकै भूमिका र दायित्व हुने हुन्छ, तर पनि बजारको विकास र विस्तारमा म्युचुअल फन्डको सकारात्मक भूमिका र दायित्वलाई बढी हुन्छ । त्यसैले सरकारले उनीहरूलाई विशेष सुविधाहरूको व्यवस्था गरेको हो । कुनै पनि कम्पनीको सार्वजनिक निष्कासनमा निश्चित प्रतिशत आरक्षणका साथै पुँजीकगत लाभकरमा समेत छुट दिएर बजारमा म्युचुअल फन्डको उपस्थितिलाई सहज बनाइएको छ ।
यस्तो सुविधा सानासाना पुँजी जम्मा गरेर बजारमा परिचालन गर्न मात्र होइन, बजारमा संस्थागत लगानीकर्ताको उपस्थितिलाई बलियो बनाएर मार्केट मेकरको केही भूमिका निर्वाह गरोस् भन्ने मनसायसमेत रहेको छ ।
बजारमा केही अन्य संस्थागत लगानीकर्ता पनि छन्, तर उनीहरूलाई म्युचुअल फन्डहरूलाई जस्तो आरक्षण र करछुटको सुविधा दिइएको छैन । त्यसकारण पनि सरकार र आमलगानीकर्ताले बजारमा म्युचुअल फन्डहरूको सकारात्मक भूमिकाको अपेक्षा गर्नु स्वाभाविक हो ।
हुन त बजारको उतारचढावले आमलगानीकर्ताहरूसँगै म्युचुअल फन्डहरूलाई पनि प्रभावित पारेको हुन्छ, तर व्यक्तिगत लगानीकर्ताको तुलनामा उनीहरूको जोखिमवहन क्षमता, कोषको आकार, विश्लेषण तथा बजार सूचनामा पहुँच आदि कारण बजारलाई प्रभावित गर्ने वा जोखिम न्यूनीकरण गर्ने क्षमता बढी हुन्छ ।
म्युचुअल फन्डहरूले सेयर बजारमा प्रत्यक्ष लगानी गर्न चाहने तर सोका लागि ज्ञान, पहुँच, विश्लेषण तथा पहुँच नभएका साना लगानीकर्ताहरूलाई सहयोग गर्दै लगानीका लागि अवसरसमेत प्रदान गरेको छ ।
बजारको अपेक्षा
म्युचुअल फन्डहरू पनि अन्य लगानीकर्ता वा कारोबारीहरूजस्तै लगानीबाट मुनाफा गर्ने उद्देश्यबाटै सेयर बजारमा आएका हुन् । अझ उनीहरूको निश्चित समयभित्र लगानी गरी मुनाफा प्राप्त गरिसक्नुपर्ने बाध्यात्मक अवस्थामा दीर्घकालीन भूमिका पक्कै निर्वाह गर्न सक्दैन । तर, म्युचुअल फन्डहरू पनि सेयर बजारका सक्रिय सरोकारवाला भएको हुँदा बजारको समग्र विकास र विस्तारमा थप भूमिकाको अपेक्षा गरिएको छ ।
व्यक्तिगत लगानीकर्ता र कारोबारी मात्र होइन, सरकारले समेत म्युचुअल फन्डहरूको सहयोगी भूमिकाको अपेक्षा गरेरै कर तथा आरक्षणको व्यवस्था गरेको होला । त्यसैले म्युचुअल फन्डहरूप्रति बजारले निम्न अपेक्षा गरेको पाइन्छ:
- ठूला र संस्थागत क्षमताका आधारमा प्राप्त हुने सूचना तथा पहुँचको दुरुपयोग नगरी स्वस्थ र सन्तुलित बजार विकासमा सकारात्मक भूमिका खेल्नुपर्छ ।
- समयसीमा भित्र बाँधिएको मुनाफामुखी भए पनि कारोबारसँगै कम्तीमा अल्पकालीन लगानीकर्ताको भूमिका खेल्नुपर्छ ।
- बजारमा कुनै कम्पनीको सेयरमा हुने माग तथा आपूर्तिको सन्तुलन कायम गर्ने अनौपचारिक मार्केट मेकर वा थोक विक्रेताको भूमिका निर्वाह गर्नुपर्छ ।
- बजार विकासका लागि सूचना प्रवाह र लगानीकर्ता जागरण अभियान चलाउनुपर्छ । तर, केही समयदेखि म्युचुअल फन्डहरूले बजारको अपेक्षाअनुरूप भूमिका नखेलेका हुन् कि भन्ने आभास समेत पाइएको छ । केही फन्डले बजारलाई सन्तुलित बनाउनुभन्दा क्षणिक मुनाफाका लागि प्राप्त सुविधा र पहुँचको दुरुपयोगसमेत गरेको आशंका गरिएको छ । यसले कतिपयले म्युचुअल फन्डहरूलाई बजारले ‘दूध खुवाएर पालेको सर्प’का रूपमा समेत लिन थालेका छन् ।
यति हुँदाहुँदै पनि अहिलेको अवस्थामा म्युचुअल फन्डहरू बजारका अविभाज्य अंग हुन् र यिनीहरूलाई बजारमा सकारात्मक भूमिका खेल्न प्रेरित गर्नुको विकल्प छैन । सरकारले पनि कर छुट र आरक्षण दिएबापत उनीहरूलाई बजारप्रति उत्तरदायी बनाउन सार्वजनिक निष्कासनमा आरक्षणमा दिइएको सेयर निश्चित अवधिसम्म बिक्री गर्न नपाइने लकइन अवधि राख्ने; म्युचुअल फन्डहरूले किनेको सेयरले कम्पनीको सञ्चालक समिति चयनमा मत दिन नपाउने र बजार सन्तुलित गर्ने विशेष भूमिका खेल्नुपर्ने व्यवस्था गर्नुपर्छ ।
हामी आमलगानीकर्ता र कारोवारीहरूले म्युचुअल फन्डहरूले सिर्जना गरेको अवसरसमेतको सदुपयोग गर्दै उनीहरूसँग सहकार्य गर्ने र उनीहरूको लगानी तथा कारोबारलाई पछ्याउनु बुद्धिमानी हुन सक्छ ।
आमलगानीकर्ता र म्युचुअल फन्डहरू बजारका प्रतिस्पर्धीसँगै सरोकारवालासमेत हुन् । त्यसैले प्रतिस्पर्धासँगै बजारको विकासमा सहकार्यमा नै सबैको भलो छ । म्युचुअल फन्डहरूले लगानीको अवसर सिर्जनासँगै ठूलो रकम बजारमा लगानी गर्ने हुँदा बजारको अवस्थाले आमलगानीकर्तासँगै उनीहरूको नाफा–नोक्सानमा समेत प्रत्यक्ष प्रभाव पर्छ नै । अझ व्यक्तिले १ रुपैयाँ गुमाउँदा म्युचुअल फन्डहरूले १ सय रुपैयाँ गुमाइरहेका हुन्छन् ।
नाेटः मूल्य र किनबेच, प्रतिफल र साँवा फिर्ता, र लगानी र ध्यान दिनुपर्ने विषयवस्तु 'म्युचुअल फन्डमा लगानी प्रतिफल कि छल ?' शीर्षककाे लेखबाट थपिएकाे ।
म्युचुअल फण्डसम्बन्धी थप
https://dilipmuna.blogspot.com/2018/01/blog-post_15.html
https://dilipmuna.blogspot.com/2017/05/blog-post_31.html
https://dilipmuna.blogspot.com/2017/02/blog-post_6.html
https://dilipmuna.blogspot.com/2016/12/published-in-arthik-news-online.html
https://dilipmuna.blogspot.com/2017/01/blog-post.html
https://dilipmuna.blogspot.com/2017/09/blog-post.html
https://dilipmuna.blogspot.com/2018/01/blog-post_15.html
https://dilipmuna.blogspot.com/2017/05/blog-post_31.html
https://dilipmuna.blogspot.com/2017/02/blog-post_6.html
https://dilipmuna.blogspot.com/2016/12/published-in-arthik-news-online.html
https://dilipmuna.blogspot.com/2017/01/blog-post.html
https://dilipmuna.blogspot.com/2017/09/blog-post.html
Revised/updated 14 Feb 2022, NST 13.44
No comments:
Post a Comment