Saturday, March 2, 2019

सेयर बजारमा प्यानको प्यारप्यार र ट्यारट्यार किन ? यस्ता छन् फाइदा र बेफाइदा

प्यान अर्थात् परमानेन्ट एकाउन्ट नम्वर (स्थायी लेखा नम्वर) नेपाली शेयरबजार र लगानीकर्ताका लागि शेयरको बजारमूल्य भन्दा ठूलो चासो र चिन्ताको विषय बनेको छ ।
लगानी गरिएका कम्पनीहरुको बजार मूल्य घटेर रन्थिनिएका लगानीकर्ताहरु ‘शेयर खरिदमा प्यान अनिवार्य’ जस्तो एब्स्ट्रयाक्ट कुराले थप रनभुल्लमा परेका छन् । यसलाई थप अन्यौल बनाउने काममा केही लगानीकर्ता, स्वघोषित लगानीकर्ताका नेताहरु र विज्ञहरुको द्वैध चरित्रले सघाएको छ भने नियामकले आगो झोस्ने र बजार संचालकले आगोमा घिउ थप्ने काम गरेका छन् ।
प्यान विवादको शुरुवात
कानुनले समेत अनिवार्य नगरेको र सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको प्यानमा ध्यान खिच्ने काम भने २०७५ माघ ११ गते नेप्सेले केही लगानीकर्ता र नेताहरुलाई बोलाएर प्यान अनिवार्य गर्ने सम्बन्धी छलफलबाट भएको देखिन्छ । बजार संचालक भएको नेप्सेले नियामकको निर्देशन बमोजिम लगानीकर्ताहरुसँग छलफल बढाउनु स्वभाविक भए पनि प्यानको बारेमा स्पष्ट कानुनी आधार प्रस्तुत गर्न नसक्नु उसको कमजोरी देखिन्छ । उसले आमलगानीकर्ताहरुसँग छलफल गर्नुको बदला केवल चुनिएका स्वघोषित लगानीकर्ताका प्रतिनिधिहरुसँग छलफल र उनीहरुबाट प्यानको बारेमा सतही फाईदाका कुरा व्यक्त हुँदा आमलगानीकर्ताहरु पनि तर्कबितर्कमा उत्रेका छन् ।
धितोपत्रमा लगानी गर्नेहरुलाई प्यान लाउनुपर्छ र पर्दैन भन्ने कुरा शेयरलाई सम्पत्ति वा वस्तुसँगै जोडेर हेर्ने मात्र होइन, सरकारले समयसमयमा राजश्वको लक्ष्य नभेटेसँगै उठाउँदै आएको विषय हो । हालको प्यानसम्बन्धी वहसलाई सतहमा छरपष्ट पार्ने काम नेप्सेले गरेपनि त्यसमा आगो झोस्ने काम भने धितोपत्र बोर्डले गरेको देखिन्छ ।
उसले विगतको कार्यक्रमको निरन्तरताको रुपमा आव २०७५÷७६ को नीति तथा कार्यक्रमको बुँदा ३७ मा ‘बोर्डको आव २०७४÷७५ को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नम्बरलाई आव २०७५÷७६ देखि अनिवार्य गर्नको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने भनिएकोमा दोस्रो बजारमा शेयर खरिद बिक्रीका लागि हाललाई स्थायी लेखा नम्बर लिन प्रोत्साहित गर्ने’ उल्लेख छ । उसले कार्यक्रम तय गर्दैगर्दा क) यस वर्षको सरकारको नीति तथा कार्यक्रमको बारेमा जानकारी नलिएको वा अर्थमन्त्रालयसँग समन्वय नगरेको, ख) करसम्बन्धी अधिकार क्षेत्र र विधीमा नजरअन्दाज गरेको, ग) सरकारलाई काम देखाउने प्रपञ्च केहो ?स्पष्ट नभएको आभास हुन्छ ।
कानुनतः कति, कहाँ र कसरी कर लाउने भन्ने अधिकार क्षेत्र बोर्डको भन्दा अर्थ मन्त्रालय र आन्तरिक राजश्वको हो ।सामान्यतः आर्थिक वर्षको शुरुवात वा निश्चित मिति तोकेर सरकारले करको दर र दायरा सम्बन्धी हुँदै आएको नीतिगत व्यवस्थाभन्दा फरक तरिकाले बोर्डबाटमाघमा आएर अचानक २०७६ बैशाख १ गतेदेखि ‘शेयर खरिदमा प्यान अनिवार्य’ भन्दै उर्दीको हवाला दिँदै नेप्सेले २०७५ फागुन १ गते आमलगानीकर्तालाई फरमान सुनाउँछ । फरमान पढ्दा लाग्छ, कतै शेयरबजारको करसम्बन्धी निर्णयको अधिकारसमेत बोर्डलाई प्रत्यायोजन गरेको हो की भनेर । तर ढुक्क हुनुस् करको दर वा दायरा तोक्ने त के पूँजीगत लाभकरको गणना विधी बनाउनेसम्मको ल्याकत बोर्डले राखेको देखिन्न् । धितोपत्र सम्बन्धी ऐन, कानुन र नीति निर्माणमा सहजकर्ता वा सल्लाहकार भएपनि आजसम्म उसले लगानीकर्ताको पक्षमा कम्तिमा करको मामलामा सहयोगी भूमिका खेलेको महसुस गर्न सकिएको छैन ।
यस अवस्थामा नेवारी उखान ‘बेला न कुबेला बजि नेला’ अर्थात् गलत समयमा गरिने काम जस्तै बजार र लगानीकर्ता अनेक समस्याले रन्थितिएको समयमा प्यानको बिगुल बजाउनुमा पनि बोर्डको अपरिपक्वता र शंकाको घेरामा हेरिनु स्वभाविक हो । हो, सरकारले चाहेमा आवश्यक कानुन र नीति बनाएर कुनैपनि क्षेत्रलाई करको लागि दर्ता, करको दर तोक्न र कर संकलन गर्न सक्छ । बोर्डको अहिलेको हर्कत हेर्दा सरकारको नीति अनुरुप प्यानको कुरा आएकोमा विश्वास गर्न सकिने अवस्था छैन । बोर्ड वा त्यसको नेतृत्वको कार्यकाल सकिँदै गर्दा सरकारलाई थप राजश्वको दायरा बढाउन सहजीकरण गरेको देखाएको वा कर संकलनमा सघाएकोमा उपहार स्वरुप आफ्नो कार्यकाल लम्ब्याउने धृष्टता जस्तो देखिने ‘प्यानको नाटक’ मा बोर्ड आफै खलपात्रको रुपमा लगानीकर्ता माझ परिचित हुने जोखिम पनि उत्तिकै रहने छ ।
कानुनी व्यवस्था
कानुनतः उद्योग, व्यापार, पेसा, व्यवसाय वा रोजगारी गरी निर्धारण योग्य आयआर्जन गर्ने व्यक्ति (प्राकृतिक वा निकाय) तथा अग्रीम करकट्टि गर्नुपर्ने प्राकृतिक व्यक्ति, निकाय, गैरसरकारी संस्था, सरकारी कार्यालयहरु सबैले प्यान लिनुपर्छ । यस्तै (१) सरकारी, अर्ध सरकारी निकाय तथा कम्पनी, संघसंस्थालाई घरबहालमा दिने व्यक्ति, (२) डाक्टर, ईन्जिनियर, वकिल, लेखा परिक्षक, ब्यक्तिगत परामर्शदाता, बीमा अभिकर्ता, कलाकार र कमिशन एजेन्ट, (३) रु. १० लाख भन्दा बढीको शेयर खरीद बिक्री गर्ने व्यक्ति, (४) रोजगारी आय भएको व्यक्तिको हकमा रु.१ लाख साठी हजार र दम्पती छनौट गर्नेको हकमा रु. २ लाख भन्दा बढी करयोग्य आय भएको व्यक्ति, र (४) भाडाका सवारीसाधन धनी प्राकृतिक व्यक्तिले अनिवार्य रुपमा प्यान लिनुपर्ने उल्लेख छ ।
उल्लेखित कानुनी व्यवस्थाले कर निर्धारण योग्य आयआर्जन वा व्यवसाय गर्ने व्यक्तिले मात्र प्यान लिए पुग्छ । शेयर लगानीका सम्बन्धमा एकातिर १० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच गर्दा प्यान लिनुपर्ने उल्लेख छ, अर्कोतिर ‘शेयर, जग्गा र घरजग्गामा पूँजीगत लाभ’ सम्बन्धी आन्तरिक राजश्व विभागको सूचनाको बुँदा १५ मा ‘गैर व्यावसायिक करयोग्य सम्पत्ति हुने बासिन्दा प्राकृतिक व्यक्तिले आफ्नो शेयर वा घरजग्गा वा जग्गा खरीद बिक्री गर्न प्यान लिन पर्दैन वा अन्य किसिमले दर्ता हुन नपर्ने तर पूँजीगत सम्पत्तिको कारोवार व्यवसायको रुपमा गर्ने व्यक्तिले (जस्तै शेयर दलाल वा रियल इस्टेट व्यवसाय गर्ने व्यक्ति) प्यान लिनु पर्ने’ उल्लेख छ । यसले शेयरको कारोवार गर्नेले मात्र प्यान लिनुपर्ने होकी जस्तो देखिएपनि अहिले १० लाखभन्दा बढीको शेयर खरिदमा प्यान अनिवार्य जस्तै छ ।
कानुनतः शेयरलाई सम्पत्ति वा वस्तु कुन रुपमा लिने स्पष्ट नभएकोे अन्यौलतालाई लगानीकर्ता र सरकारले फरकफरक तरिकाले व्याख्या गर्ने मात्र होइन, शेयरबजार, लगानी र कारोवारका सन्दर्भमा समेत भिन्न बुझाइका कारण शेयरबजारमा केकस्तो र कति कर भन्ने अन्यौलता रहँदै आएको छ । यससम्बन्धमा छुटै वहस आवश्यक छ । विद्यमान कानुन र कर कार्यालयको निर्देशनसमेत अन्यौलपूर्ण रहेको भने यथार्थ हो ।
शेयरलाई सम्पत्ति वा वस्तु कुन रुपमा लिने र पूँजीगत लाभकर अग्रिम कि अन्तिम भन्ने अन्यौलतालाई लगानीकर्ता र सरकारले फरकफरक तरिकाले व्याख्या गर्ने मात्र होइन, शेयरबजार, लगानी र कारोवारका सन्दर्भमा समेत भिन्न बुझाइका कारण शेयरबजारमा केकस्तो र कति कर भन्ने अन्यौलता रहँदै आएको छ । यससम्बन्धमा छुटै वहस आवश्यक छ (याे दुईलेख पनि पढ्नुस,  सेयर बजारसम्बन्धमा अन्योलग्रस्त सरकारप्यानले बिगारेको सेयर बजारको वातावरण) । कानुन र कर कार्यालयको निर्देशनसमेत अन्यौलपूर्ण रहेको भने यथार्थ हो ।
फाइदा र बेफाइदाका कुरा
लगानीकर्ताहरुको अर्को समूहले सरकारले अन्य पेशा व्यवसायको आय र शेयरको पूँजीगत लाभलाई एकीकृत गरी आयकर निर्धारण गर्ने र सो अवस्थामा प्रत्येक लगानीकर्ताले थप करको भारवहन गर्नुपर्ने अनावश्यक प्रकृयागत झन्झटबाट त्रस्त छन् ।
पक्कै तिरिएको लाभकर र लाभांस समेत एउटा लेखा नम्वरमा अभिलेख हुँदा आफूले लगानीबाट कति करि तिरियो थाहाहुँदा आत्मसम्मान त होला तर अहिले नै पनि कट्टा गरिएको लाभकर, लाभांस, व्याज जस्ता स–साना कर प्यान लिएका र सम्बन्धित पक्षलाई प्यान नम्वर दिएको अवस्थामा समेत अभिलेखित नभएको तथ्यलाई मनन् गर्ने हो भने प्यानको व्यवहारिक फाइदा कमै हुनेछ ।
जहाँसम्म थप करको डर छ, त्यसमा सरकारले केही भनिसकेको छैन र उसले प्यानको एकल द्वारबाट लगानीकर्ताहरुलाई फकाइफुलाइ करको जालो (ट्याक्स नेट)मा छिराउने प्रयास गरिरहेको छ ।
तत्काल थप कर लाग्दैन र प्यान लिन गाह्रो छैन भनेर फकाउँदै छ । यता बोर्डले पनि प्यानको भित्री आसय केहो? र किन प्यान चाहियो स्पष्ट पार्न सकेको छैन । बोर्डले २०७५ फागुन १३ गते आयोजना गरेको प्यानसम्बन्धी छलफलमा भनिएको भनेर चर्चामा आएजस्तो बोर्डलाई प्यानसम्बन्धी विस्तृतमा थाहा नभएरै प्यानको फरमान सुनाएको हो भने शेयरबजारका लागि त्यो भन्दा घातक केही हुनसक्दैन ।कानुन परिपालनाको नियमन र सचेतना गर्नुपर्ने नियामकले कानुनी पक्षमा उठेका प्रश्नहरुमा अनभिज्ञता राख्ने छुट पाउदैन ।
व्यवहारिक पाटो

जसले जे तर्क गरे पनि प्यान करयोग्य आय भएका व्यक्तिहरुलाई दिईने करको एउटा संकेत हुँदा लगानीकर्ताहरुलाई प्यान भनेको ‘शेयर करयोग्य वस्तु हो र यसको आयमा कटाइएको पूँजीगत लाभकर अन्तिम नभएको हुँदा थप कर तिर्न आउन गरिएको सरकारको निम्तो’ पत्र हो ।
जहाँसम्म नागरिकका रुपमा आर्थिक गतिविधि र मुनाफामा करको जिम्मेवारीको पाठ छ, यहाँ सरकार, नियामक र प्यानको पक्षमा तर्क गर्नेहरुले पनि निम्न यथार्थतालाई आत्मसात् गर्नु जरुरी छ ।
क) लगानीकर्ताहरुले सूचीकृत कम्पनीको शेयरमा लगानी गरेका हुन् र कम्पनीको आर्थिक क्रियाकलापबाट सिर्जित आयमा कानुन बमोजिमको आयकर अहिले पनि तिरिरहेका छन्, जुन लगानीकर्ता कै आयको अंश हो ।
ख) कम्पनीले लगानीकर्तालाई कर पछिको मुनाफाबाट कुनै लाभांस भुक्तानी गरेको अवस्थामा समेत लाभांस कर कट्टी गरेर मात्र भुक्तानी हुन्छ । कर छल्ने वा गैरकर आयको प्रश्न नै उठ्दैन ।
ग) शेयर कारोवार र पूँजीगत लाभको अवस्थामा भने कानुनी अन्यौलता रहेको पक्कै हो । विद्यमान कानुन, लगानीकर्ता र कारोवारीको फरक बुझाइ र सरकारले करको दायरामा ल्याउन खोजेको क्षेत्र पनि पूँजीगत लाभकर मात्र हो । यदि शेयरलाई सम्पत्तिको रुपमा लिने हो भने घरजग्गामा जस्तै पूँजीगत लाभमा हाल अग्रिम कट्टी गरिएको कर अन्तिम हुनुपर्छ र थप कर निर्धारण (ट्याक्स एसेसमेन्ट)को गुञ्जायस रहनु हुँदैन् । यदि शेयरलाई वस्तुका रुपमा लिने र कट्टी भएको पूँजीगत लाभकर अन्तिम होइन भने शेयरबजारमा पूँजीगत लाभ र हानीको गणना गर्ने बैज्ञानिक लेखा प्रणाली आवश्यक रहन्छ । केवल कम्पनीमा रहेको एक व्यक्तिको हक अर्कोमा कानुनसम्मत ढंगले निरन्तर हस्तान्तरण हुने प्रकृयालाई वस्तु कारोवार जस्तो लिइनु ठूलो गल्ति हुनेछ । व्यक्तिगत लेखा विधी नभएको र आय प्रमाणित गर्ने कुनै निकाय नभएको अवस्थामा शेयरको वास्तविक नाफा वा घाटा प्रमाणित गरी कर निर्धारण जटिल हुनेछ ।
घ) शेयरमा लगानी गर्न सरकारले प्रोत्साहित गर्दैगर्दा शेयर किन्न प्यान अनिवार्यले पूँजीको अभावमा छटपटाइरहेका जलविद्युत र अन्य आयोजनाका लागि पूँजी परिचालनमा समेत व्यवहारिक समस्या आउने जोखिम रहन्छ ।
ङ) नियामकले प्यान लगाउने सम्बन्धमा जारी गरेको निर्देशनको सबैभन्दा अनौठो कुरा चाहीँ ‘शेयर किन्न प्यान चाहिने’ तर बेच्न नचाहिनेमा देखिन्छ । प्यान मार्फत लगानीकर्तालाई करको दायरामा ल्याएर राजश्व बढाउने हो भने शेयर किन्दा होइन बेच्दा लाभ हुने र करको सम्भावना रहने हो, तर नियामकले करको कुनै गुञ्जाइस नै नरहने आर्थिक गतिविधीमा प्यान अनिवार्य पूर्णत अव्यवहारिक निर्णय हो ।
अन्यौलताको निवारण
नियामकबाट शुरुभएको प्यानसम्बन्धी वहसले तत्काल ठूलो उपलब्धी हुनेमा आशंका रहँदै गर्दा यसको निरुपणको जिम्मेवारी पनि नियामकले नै लिनुपर्ने देखिन्छ । बोर्डले तत्कालका लागि प्यानको फरमान फिर्ता लिँदै अवैतनिक कर अधिकृतको जिम्मेवारीबाट पछि हट्नु नै श्रेयस्कर हुनेछ ।
बरु पूँजीगत लाभकरको बैज्ञानिक गणना, लाभकरलाई अन्तिम बनाउने र लगानीकर्ताहरुको आत्मविश्वास जगाउन धितोपत्र बजारलाई लगानीकर्तामैत्री बनाउने तर्फ सरकारलाई घचघच्याउनु पर्छ ।
सरकारले पनि शेयरबजारबाट अतिरिक्त करभन्दा पूँजीगत लाभकरलाई नै कानुनतः अन्तिम कर घोषणा गर्दै शेयरबजारबाट कर होइन पूँजी परिचालन गर्दै आर्थिक गतिविधि बढाउँदा थप राजश्व संकलन गर्ने संभावना रहन्छ । अन्तराष्ट्रिय प्रचलन र नियमको हवाला दिँदै गर्दा नेपाली लगानीकर्ताको अवस्था, बजारमा माग र आपूर्ति व्यवस्थापन प्रणाली, जस्ता अनेक पक्षलाई पनि ध्यानदिनु पर्छ ।
प्यानबाट करको एकीकृत हिसाव हुन्छ भनेर तर्कगर्ने शेयर कारोवारीहरुले पनि कर र आय प्रमाणीकरणको आधिकारिक निकाय नभएको र कट्टा गरिएको करहरु सरकारको ढुकुटीमा जाँदैगर्दा प्यानमा अभिलेख गर्न व्यवहारिक कठिनाइ रहेको तर्फ ध्यानदिनु पर्छ ।
हेर्दा सहजै पाइने कागजको चिर्कोट जस्तो लाग्ने प्यान भनेको करको हिसावकिताव गर्न सरकारले दिएको लेखा नम्वर भएको तर्फ आँखा चिम्लन सकिन्न । तलव वा निश्चित आयका लागि लिइएको प्यानको आधारमा नै शेयर कारोवारमा प्यान लगाइनु फाइदाजनक भन्ने तर्क गर्दा शेयर भनेको सम्पत्ति हो र यसमा लगानी गरिने पनि बिर्सनु हुन्न ।

क्लिकमाण्डु अनलाईनमा २०७५ फागुन १७ गते १६.२६ मा प्रकासित
https://clickmandu.com/2019/03/76185.html

Friday, March 1, 2019

कुन विकास बैंकको सेयर किन्दा फाइदा ? किन्नुअघि के के हेर्ने ?

कुनै समय स्थानीय र क्षेत्रीय पहिचानका रुपमा उदाएका विकास बैंकहरु ७६ वटाबाट ३३ मा झरेका छन् । जसमध्ये ११ ले राष्ट्रियस्तरमा, एउटाले १० जिल्लामा, १७ ले ३ जिल्लामा, ४ ले १ जिल्लामा कारोवार गर्ने अनुमति पाएका छन् ।

नेपाल राष्ट्र बैंकले ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई प्रादेशिक मोडेलमा जान सुझाएसँगै संचालनमा रहेका विकास बैंकहरु समेत अस्तित्वको अन्यौलतामा रुमलिन बाध्य छन् । यिनीहरुलाई तल फाइनान्स कम्पनीहरु र माथि बाणिज्य बैंकहरुसँग सेवा, पहुँच, प्रतिफलमा प्रतिष्पर्धा त्यति सहज नभएको यिनीहरुको व्यवसाय विस्तार र मुनाफाको वृद्धिबाट पनि देख्न सकिन्छ ।

एक जिल्ले र ३ जिल्ले बैंकहरुलाई प्रादेशिक बैंकमा स्तरोन्नति हुन पनि अर्को मर्ज वा प्राप्ति कै सहारा लिनुपर्ने अवस्था छ भने १० जिल्ले शाइन डेभलपमेन्ट बैंक सहजै राष्ट्रियस्तरको बन्ने क्षमता र संभावनाका कारण केही समय पछि नै विकास बैंकहरु राष्ट्रिय वा प्रादेशिक स्तरमा संचालन हुने देखिन्छ ।

आरोह-अवरोह पार गरेर पूँजीगत र संरचनागत स्थिरताको संघारमा पुगेका राष्ट्रियस्तरका विकास बैंकहरु समेत थप बलियो बन्न मर्ज वा प्राप्तिको कामलाई निरन्तरता दिइरहेका छन् । विकास बैंकमा आफूलाई सबल र सक्षम देखाइसकेको ओम डेभलपमेन्ट बैंक भने प्राइम कमर्सियल बैंकले प्राप्ति गर्ने सम्झौता गरिसकेको छ ।

प्रमुख वित्तीय नतिजा देवःमा सहारा र वेष्टर्न तथा ज्योतिमा हाम्रो विकास बैंकको विलयको प्रकृयामा रहको छ । यसले विकास बैंकहरुको अवस्था बाहिरी रुपमा स्थिर र शान्त देखिए पनि भित्री रुपमा थप मर्जर र प्राप्तीको खेल कायम देखिन्छ । यस अवस्थामा यहाँ तुलनात्मक रुपमा स्थिर राष्ट्रियस्तरका विकास बैंकहरुको आव २०७५/७६ को अर्धवार्षिक वित्तिय समिक्षाको प्रयास गरिएको छ । आव २०७५/७६ मा राष्ट्रियस्तरका विकास बैंकहरुले समग्रमा चुक्ता पूँजी २८ अर्व ९० करोड रुपैयाँ छ । विकास बैंकहरुले २ खर्व ७० अर्व रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरी २ खर्व ४० रुपैयाँ हाराहारी कर्जा प्रवाह गरी करिव २ अर्व ५२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

२०७५/७६ काे प्रथम अर्धवार्षिक वित्तिय नतिजा र ७४७५ काे मुनाफा र लाभांस
विकास बैंक
चुक्ता पूँजी (रु. अर्व)
जगेडा कोष (रु. अर्व)
निक्षेप (रु. अर्व)
कर्जा तथा सापटी (रु. अर्व)
खुद मुनाफा (रु. करोड)
प्रतिशेयर आम्दानी (रु)
नेटवर्थ (रु)
पूँजी कोष (%)
२०७५.११.६ को पिई (%)
निष्कृय कर्जा (%)
प्रतिशेयर आम्दानी ७४७५ (रु)
लाभांस ७४७५ (रु)
ओम
२.५२
१.०४
२३.६८
२१.३५
२४.०३
१९.११
१४१.४६
१५.४१
१०.३१
०.६०
१५.९२
१२.७
कामना–सेवा
२.५०
१.०५
१७.२८
१५.७४
१३.८२
११.०५
१४२.०९
१९.२०
१२.१३
१.६७
१३.७२

कैलास
२.५२
०.९४
२६.७३
२३.५५
२७.४७
२१.८५
१३७.१०
१४.७९
९.४७
०.३३
२१.९४
१७.००
गण्डकी
२.७५
०.८८
२६.१९
२३.३९
२६.५२
१९.२९
१३२.११
१७.५०
९.३८
०.४१
१८.२५
१४.२०
गरिमा
२.७९
०.६५
२६.९८
२३.५२
२७.९५
२०.०५
१२३.४१
१५.९१
९.०८
०.२८
१७.२७
१३.७५
ज्योति
२.५९
०.४६
२३.५८
२०.३३
१७.०४
१३.१४
११७.६४
१५.६१
१०.४३
०.५९
११.७७
८.४०
देव
२.५३
०.६१
१७.११
१५.७०
१३.३०
१०.५०
१२४.२३
१६.०७
११.४३
२.१७
१०.८७

महालक्ष्मी
२.८४
१.०५
२८.९०
२५.३६
१९.७६
१३.९०
१३६.९५
१६.२२
११.५१
४.४१
२१.३१
१५.००
मुक्तिनाथ
३.०६
०.८५
३८.१४
३२.९८
४०.४८
२६.४२
१२७.८९
१३.७८
१२.४९
०.०५
२२.२०
१९.२१
लुम्बिनी
२.१८
१.३६
२३.४४
२१.७२
२३.४६
२१.५७
१६२.३४
१५.८२
७.९३
२.३१
१८.४८
१७.३५
सांग्रिला
२.६१
०.६८
१८.४०
१६.७४
१८.७०
१४.३५
१२५.९०
१८.६६
९.४८
१.२४
१३.०७
९.४५
जम्मा
२८.९०
९.५८
२७०.४४
२४०.३८
२५२.५४







औसत
२.६३
०.८७
२४.५९
२१.८५
२२.९६
१७.३८
१३३.७४
१६.२७
१०.३३
१.२८
१६.८०
११.५५


लगानी निर्णय र लगानीमा प्रतिफल

कुनै पनि लगानीकर्ता वा शेयर कारोवारीले शेयर किनबेचको निर्णय गर्दा विभिन्न कोणबाट कम्पनीहरुको विश्लेषण गर्नुपर्दछ । तर सबैले कम्तिमा प्रतिशेयर आय, नेटवर्थ, मूल्य आम्दानी अनुपातसँगै लाभांस दरलाई लिन्छन् । र, सोही आधारमा अन्य वित्तीय सूचकहरुको समेत गणना गरी कम्पनीको तुलना, विश्लेषण र छनौट गर्ने प्रचलन छ । लगानीकर्ताको व्यक्तिगत जोखिमवहन क्षमता, लगानीको लागि उपलब्ध रकम र स्रोत, अपेक्षित प्रतिफल र लगानीको अवधिका आधारमा कम्पनीको अल्पकालीन वा दीर्घकालीन अवस्थासँगै क) ग्राहम भ्यालु, ख) क्युमुलेटिभ एनुअल ग्रोथ रेट (सिएजिआर), ग) बजारमूल्य र किताबी मूल्यको अनुपात (पिबी रेसियो), घ) इन्ट्रान्जिक भ्यालु (अन्तर्य मूल्य), ङ) डिभिडेण्ड यिल्ड जस्ता थप वित्तिय विधीको प्रयोग गर्न सक्छन् ।

उपरोक्त विधिमध्ये कुनै एक वा मिश्रित विधी प्रयोग गरेर लगानी गरिने कम्पनी वा बैंकहरुको छनौट गर्न सकिन्छ । बैंकहरुका सन्दर्भमा अन्य पक्षका अलावा पूँजीपर्याप्ता अनुपात (क्यापिटल एडिक्वेसी रेसिया अर्थात् कार) समेत हेर्नुपर्दछ । यहाँ राष्ट्रियस्तरका विकास बैंकहरुको गत आर्थिक वर्षको नाफामा लाभांसको अवस्था र प्रमुख चार सूचकहरुको चर्चा गरिएको छ ।

१. प्रतिशेयर आय (इपिएस)ः  सामान्यतः खुद आम्दानी (अवधीको नाफा)लाई कम्पनीमा कायम शेयर संख्याले भाग गरेर प्रतिशेयर आय अर्थात् अर्निङ पर शेयर (इपिएस) निकालिन्छ, जसले लगानीकर्ताहरुको प्रत्येक शेयरमा भएको आम्दानीलाई मौद्रिक रुपमा अभिव्यक्त गर्दछ । जस्तो मुक्तिनाथ विकास बैंकले ३८ करोड ४० लाख कमायो र उसको ३ करोड ६ लाख किता शेयर छ भने उसको अर्धवार्षिक इपिएस १३ रुपैयाँ र वार्षिकीकरण गर्दा करिव २६ रुपैयाँ हुन आउँछ ।

कम्पनीले निश्चित अवधिमा गरेको व्यवसायिक गतिविधि र सोको लागि गरिएका सम्पूर्ण खर्च एवं कर कटाएर बाँकी खुद मुनाफाका आधारमा गणना गरिने इपिएसलाई लगानी विश्लेषणको सबैभन्दा पहिलो आधारका रुपमा लिइन्छ । खुद मुनाफा र प्रतिशेयर आयले कम्पनीको व्यवसायिक गतिविधि र मुनाफा क्षमतासँगै लाभांसलाई इंगित गर्ने हुँदा नै लगानी निर्णयमा सबैभन्दा पहिले इपिएस कति छ ? विगतको भन्दा कति बढ्यो वा घट्यो जस्ता कुराको चर्चा पहिले आउँछ ।

आव २०७५/७६ को यस अर्धवार्षिक अवधिमा ११ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल २ अर्व ५२ करोड ५४ लाख मुनाफा आर्जन गरेका छन् । कुल पूँजी २८ अर्व ९० करोडका आधारमा विकास बैंकहरुको औसत प्रतिशेयर आय यस अवधीसम्मको ८.७ रुपैयाँ तथा वार्षिकीकरण गर्दा १७.३८ रुपैयाँ हुन आउँछ । जुन गत आवको १६.८० रुपैयाँ हाराहारी नै रहेको छ । प्रति शेयर सबैभन्दा बढी मुक्तिनाथले २६.४२ रुपैयाँ र देवले कम १०.५० रुपैयाँ कमाएको छ ।

यस अवधिमा मुक्तिनाथ, गरिमा र सांग्रिलाले बोनस शेयर मार्फत पूँजी बढाए अनुरुप नै इपिएस बढाउन सफल भएको देखिन्छ भने महालक्ष्मीको प्रतिशेयर आय पूँजी वृद्धिको तुलनामा निकै घटेको देखिन्छ । ओमले २० प्रतिशले इपिएस बढाउँदा महालक्ष्मीको ३५ प्रतिशले घटेको छ ।

यसरी इपिएस प्रमुख र प्राथमिक आधार भएपनि यसको पुनः परिक्षण, आम्दानीका आधारहरु, वार्षिकीकरण गर्दा समानदरमा आय हुने विश्वसनीयता समेतलाई ध्यान दिनुपर्छ । किनबेचको निर्णय गर्दा विश्वसनीय र बढी इपिएस भएको, नियमित व्यवसायिक आधारमा मुनाफा आर्जन गर्न सफल, र सम्बन्धित क्षेत्रको औसतभन्दा बढी इपिएस भएको कम्पनीलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ ।

२. प्रतिशेयर खुद मूल्य (नेटवर्थ)ः लगानीकर्ताको शेयरको कितावीमूल्य वा वर्तमान सम्पत्तिको अवस्था जनाउने प्रतिशेयर नेटवर्थले शेयरधनीले अंकित मूल्यका रुपमा लगानी गरेको १०० रुपैयाँ वा १० रुपैयाँको वर्तमान वित्तीय मूल्य कति छ भन्ने जनाउँछ । यसले कम्पनीको वित्तिय अवस्था तथा शेयरधनीको खुद सम्पत्तीको अवस्थालाई जनाउँछ ।

शेयरधनीको खुद सम्पत्तिलाई कुल शेयर संख्याले भाग गरेर निस्कने नेटवर्थलाई शेयरको किताबी मूल्य पनि भनिन्छ । कानुनतः अंकित मूल्यभन्दा बढी नेटवर्थ भएको कम्पनीले मात्र मुनाफा बाँड्न पाउँछ र जति बढी नेटवर्थ कम्पनी त्यति नै वित्तिय रुपमा बलियो र सबल मानिन्छ ।

गत आर्थिक वर्षको अन्त्यमा औसतमा रु. १३४.३६ रहेको विकास बैंकहरुको नेटवर्थमा अहिले रु. १३३.७४ मा पुगेर सामान्य रुपमा खुम्चिएको छ । जसले विकास बैंकहरु शेयरधनीको सम्पत्ति बढाउन सकेको देखिँदैन् । यस अवधिमा लुम्बिनीको सबैभन्दा बढी रु. १६२.३४ र कम ज्योतिको रु. ११७.६४ रहेको छ ।

कामना सेवाको १०.२९ प्रतिशतले नेटवर्थ बढ्दा महालक्ष्मीको ११.२४ प्रतिशतले घटेको छ । यहाँ ध्यानदिनुपर्ने चाहीँ देव र कामना सेवाले गत आवको लाभांस समेत घोषणा गरेका छैनन् भने ओम र लुम्बिनीको लाभांस वितरण नहुँदा नेटवर्थ स्वभाविक रुपले बढेको छ । महालक्ष्मीको भने बोनस शेयर वितरणका कारण नेटवर्थ घटन पुगेको छ ।

३. मूल्य आम्दानी अनुपात (पिई) ः प्रतिशेयर आयका आधारमा आफ्नो लागत वा बजार मूल्य कति गुना छ र अहिलेकै दरमा आम्दानी हुँदा साँवा फिर्ता हुन कति समय लाग्छ भन्ने सामान्य जानकारी दिने मूल्यआम्दानी अनुपात जसलाई प्राइस अर्निङ रेसिया (पिई) लाई शेयर किनबेच गर्दा निकै महत्वका साथ लिइन्छ ।

आमरुपमा पिई १० गुनासम्म सस्तो, १५ गुनासम्म किन्न उपयुक्त, २० गुनासम्म सामान्य जोखिमयुक्त (थोरै बढी मूल्य) र २० भन्दा बढी हुँदा महँगो वा जोखिमपूर्ण मानिन्छ । तर कम्पनी र बजारको अवस्था अनुसार कति पिई उपयुक्त भन्ने आफैंले निर्णय गर्नुपर्दछ ।

यसले मूल्यसँगै कम्पनीप्रति बजारको विश्वास र सोको लागि अन्य व्यक्तिले तिर्नचाहेको प्रिमियम सहितको बजारमूल्य पनि जनाउँछ । बजारमूल्य (खरिद मूल्य)लाई प्रतिशेयर आम्दानीले भाग गरेर पिई निकालिन्छ । त्यसैले प्रत्येक दिनमात्र होइन प्रत्येक कारोवारको पिई फरक हुनसक्छ । पिई अनुपात वा गुना जति कम भयो त्यति राम्रो मानिने हुँदा किन्दा सदैव कम मूल्य र कम पिई कायम गर्ने प्रयास गर्नुपर्छ ।

पिईको मुख्य आधार भनेको इपिएस भएको हुँदा सबैभन्दा पहिले सही इपिएस प्राप्त गर्नुपर्दछ र सोको आधारमा कतिसम्म प्रतिफलका लागि कति जोखिम लिने सोही अनुरुपको पिई भएका कम्पनी छनौट गर्नुपर्छ । सामान्यतः कम पिई भएका कम्पनी लगानीका लागि उत्तम मानिएता पनि बढी जोखिम र उच्च प्रतिफल चाहनेहरुले व्यवसायिक विस्तार तथा भविष्यमा उच्च मुनाफाको संभावनका आधारमा बढी पिई भएका कम्पनीहरुसमेत छान्ने गरेको पाइन्छ ।

२०७५ फागुन ६ गतेको बजारमूल्यका आधारमा राष्ट्रियस्तरका विकास बैंकहरुको औसत पिई १०.३३ देखिएको छ, जुन सामान्यतः लगानीका लागि उत्तम मानिन्छ । हालको ७.९३ पिईको आधारमा लुम्बिनी लगानीका लागि सबैभन्दा पहिलो र सस्तो र १२.४९ पिई भएको मुक्तिनाथ महंगो देखिन्छ । यहाँ लुम्बिनीको पूँजी बढाउने काम नसकिएको र ओमको कारोवार रोकिएको हुँदा औसत पिई केही फरकपर्ने तर्फ ध्यानदिनु पर्छ ।

४. पुँजीकोषको अवस्थाः पूँजीका रुपमा परिचालन हुनसक्ने प्राथमिक पूँजी र पूरक पूँजी सहितको कोष नै पूँजीकोष हो । यसले क) संस्थाको जोखिम वहन क्षमता, ख) व्यवसाय संचालनका लागि पुँजी पर्याप्तता, र ग) पूँजी परिचालनको अवस्थालाई जनाउँछ । हुनतः कतिपयले धेरै चुक्ता पूँजी र ठूलो पूँजीकोषलाई राम्रो मान्छन् ।

तर कुनैपनि व्यवसायमा आवश्यकता भन्दा धेरै बढी वा घटी पूँजी हानीकारक मानिन्छ । बैंक तथा वित्तिय संस्थाको हकमा कुल जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम पुँजीकोष अनुपात वा कार (क्यापिटल एडिक्वेसी रेसियो) न्यूनतम ११ प्रतिशत हाराहारी कायम गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको हुँदा १२ देखि १४ प्रतिशतको पूँजीकोषलाई स्वीकार्य अवस्था र १५ भन्दा माथिलाई अधिक पूँजी मान्न सकिन्छ ।

पूँजीकोषको अवस्थाले कम्पनीलाई थप पूँजी आवश्यक पर्ने वा नपर्ने संकेत गर्ने हुँदा लाभांसको रुपमा बोनस शेयर चाहने लगानीकर्ताले कसिलो पूँजीकोष तथा नगद चाहनेले खुकुलो (बढी) पूँजीकोष भएको कम्पनी छान्नु उपयुक्त हुन्छ ।

यस अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको औसत पू्ँजीपर्याप्तता अनुपात १६.२२ देखिएको छ, जुन वित्तीय सिद्दान्तमा केही अधिक पूँजीको अवस्था देखिन्छ । पूँजी परिचालन र पूँजीकोष व्यवस्थापनका हिसावले मुक्तिनाथ सबैभन्दा प्रभावकारी र कामना सेवा कर्जा तथा ऋण प्रवाह गर्न असफल देखिन्छ । मुक्तिनाथको क्यापिटल एडिक्वेसी रेयियो १३.७८ रहँदा कामनासेवाको सबैभन्दा बढी १९.२ रहेको छ ।

५. लगानीमा प्रतिफलः लगानी निर्णय प्रभावित गर्ने अर्को प्रमुख कुरा भनेको लगानीमा प्रतिफल हो । कम्पनीले प्रत्येक आर्थिक वर्षको समाप्तिपछि संचालक समितिबाट निर्णय गरी सम्बन्धित नियामकबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गरी मुनाफाको आधारमा लाभांसको रुपमा प्रतिफलको वितरण गर्दछ । सबै लगानीकर्ताले बढी भन्दा बढी लाभांस खोज्नु स्वभाविक भएतापनि कम्पनीको व्यवसायिक अवस्था र नियामकीय व्यवस्थाका आधारमा कम्पनीले बोनस शेयर र नगद लाभांस दिन्छ ।

गत आवमा राष्ट्रियस्तरका विकास बैंकहरुले औसतमा प्रति शेयर १६.८० प्रतिशत मुनाफाबाट हालसम्मको औसत ११.५५ प्रतिशतका दरले लाभांस वितरण गरेको देखिन्छ । लाभांस पनि मुक्तिनाथले सबैभन्दा बढी १९.२१ र ज्योतिले केवल ८.४० प्रतिशत दिएको देखिन्छ । देव र कामनासेवाले लाभांस घोषणा गर्नै बाँकी छ ।

थप ध्यान दिनुपर्ने कुरा चाहीँ कम्पनीले लाभांस सँधै अंकित मूल्य अर्थात् रु. १०० प्रति किताको आधारमा दिन्छ, जबकी लगानीकर्ताको लागत आइपिओमा किनेको अवस्थमा बाहेक बढी हुनसक्छ । त्यसैले लगानीकर्ताले कम्पनीको कुल शेयर र कुल लगानीको आधारमा प्राप्त कुल लाभांसबाट आफ्नो वास्तविक लाभांस दर निकाल्नुपर्छ । यसलाई डिभिडेण्ड यिल्ड समेत भनिन्छ।

उल्लिखित मुख्य सूचकहरुका अतिरिक्त अतिरिक्त क) इक्विटीमा प्रतिफल (आरओई), ख) खुद व्याज आम्दानी, ग) व्याजदर अन्तर (स्प्रेड दर), घ) निष्कृय कर्जा, ङ) निक्षेप र कर्जा तथा सापटीको आकार, च) जगेडा कोषको आकार, छ) तरलताको अवस्था जस्ता सूचांकहरुको विश्लेषण गर्दै औसत अवस्थासँग तुलना गरिन्छ ।

निचाेड

अर्धवार्षिक व्यवसायिक अवस्थाले बैंकहरुले ६ महिनाको अवस्थाको आधारमा आगामी वर्षको वित्तीय अवस्था, प्रतिशेयर आय र संभावित लाभांस अनुमान गर्ने आधार दिन्छ । हालको अवस्था हेर्दा राष्ट्रियस्तरका विकास बैंकहरुले गत आवको तुलनामा उल्लेख्य प्रगतिको अपेक्षा गर्न सकिन्न ।

केही बैंकले २६ प्रतिशत मुनाफा देखिएतापनि धेरैको व्यवसायिक आवश्यकताभन्दा पूँजी बढी भएको हुँदा प्रतिशेयर आय र लाभांस क्षमता कमजोर नै देखिएको छ । हुनतः गत आवको तुलनामा निक्षेप १३.३ प्रतिशत र कर्जा तथा सापट १९.४ प्रतिशतले विस्तार गर्न सफल भएता पनि प्रतिशेयर आयमा खासै सुधार आउन सकेको देखिन्न । यस आधारमा विकास बैंकहरुले पूँजी परिचालन र मुनाफामा थप मेहनत गर्नुपर्ने देखिन्छ ।

विकास बैंकमा लगानी गर्ने लगानीकर्ताहरुका लागि प्रतिशेयर आय, पूँजी पर्याप्तता अनुपात, र खराव कर्जा अनुपातको आधारमा मुक्तिनाथ आकर्षक हुनसक्छ । तर उसको मूल्यआम्दानी अनुपात सबैभन्दा बढी रहेको छ । नेटवर्थ र पिईको आधारमा प्राथमिकतामा देखिने लुम्बिनी रोज्दा भने उसको खराव कर्जा र नियामकले तोकेको पुँजी नपुगेको अवस्थालाई ध्यान दिनुपर्छ ।

क्लिकमाण्ड अनलाइनमा २०७५ फागुन १६ गते १३ः१५ मा प्रकाशित
https://clickmandu.com/2019/02/76076.html