Sunday, May 23, 2021

अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण

निषेधाज्ञा र महामारीसँगै भौतिक उपस्थिति, आउजाउमा असहजताले मात्र होइन, धितोपत्र किनबेचमा सहजता र स्वनियन्त्रणका कारण अनलाइनबाट धितोपत्र कारोबार निकै बढेको छ । करिब ३५ लाख डिम्याट खाता खोलिँदा ७ लाखले कारोबार खाता खोल्दा ६ लाख लगानीकर्ताले ‘अनलाइन कारोबार’ गर्दै आएका छन् ।

धितोपत्र कारोबारलाई सहज, स्वचालित र पेपरलेस बनाउने प्रयासस्वरूप बजार सञ्चालक नेप्सेबाट विकास र २०७५ पुस १७ बाट व्यावहारिक सञ्चालनमा ल्याइएको ‘नेप्से अनलाइन ट्रेडिङ सिस्टम - NEPSE Online Trading System’ (नट्स-NOTS)’ अनलाइन कारोबार प्रणालीको मुख्य हिस्सा ‘ट्रेड म्यानेजमेन्ट सिस्टम - Trade Management System’ (टीएमएस-TMS)मा पहुँच सबैलाई अनिवार्यजस्तै छ । खोजेजस्तै पूर्ण नभए पनि सेमिअटोमेटेड प्रकृतिको विद्यमान ‘टीएमएस’ प्रणालीबाट धितोपत्र दलाल (ब्रोकर) को प्रत्यक्ष सहभागिताबिनै बासस्थान वा कार्यालयबाटै इन्टरनेट सुविधा भएको कम्प्युटर, ट्याबलेट वा मोबाइल फोनजस्ता उपकरणमार्फत क) कोलाटर जम्मा गर्न; ख) खरिद–बिक्री आदेश प्रविष्टि, परिमार्जन र कारोबारको जानकारी लिन; ग) कारोबारको विस्तृत विवरण र अभिलेख हेर्न र रुजु गर्न; घ) भुक्तानी र राफसाफ गर्न सकिन्छ ।

आवश्यक तयारी 

धितोपत्र (दोस्रो वा सेयर) बजारमा कारोबार गर्न प्राथमिक बजारमा चाहिने ‘डिम्याट’, ‘बैंक खाता’, ‘मेरो सेयर’सँगै स्वीकृति प्राप्त धितोपत्र दलाल (ब्रोकर) कहाँ ‘कारोबार खाता’ खोल्नैपर्छ । अनलाइन कारोबारका लागि केवाईसी अद्यावधिक गर्दै ‘टीएमएस’को ‘युजरनेम - User name र पासवर्ड - Password’ लिनुपर्छ, जुन सम्बन्धित दलाल कार्यालय गएर, वेबसाइट मार्फत वा ‘टीएमएस’बाटै पनि रजिस्ट्रर गर्दै निःशुल्क पाइन्छ । यसपछि अनलाइन प्रणालीमा प्रवेश गर्दै निम्न अनुसार काराेवार गर्न सकिन्छ ।


१. कोलाटरल

‘युजरनेम (User name) र पासवर्ड (Password)’ सँगै धितोपत्र किनबेचका लागि सम्बन्धित ब्रोकरबाट कारोबार रकमको सीमा (लिमिट - LIMIT) प्राप्त गर्नुपर्छ, जुन धरौटी रकम (कोलाटरल - Collatoral) र सम्झौताको आधारमा ब्रोकरले उपलब्ध गराउँछ । धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार खरिद आदेश प्राप्त गर्दा नै कम्तीमा २५ प्रतिशत अग्रिम भुक्तानी लिनुपर्ने व्यवस्थाबमोजिम ब्रोकरले ‘कोलाटरल’ माग्छन् । ब्रोकरसँगको सहमतिमा नगद (Cash) वा चेक (Cheque) डिपोजिट गर्न वा आवश्यकताअनुसार बैंक (Bank)/कनेक्ट आईपीएस (connectIPS) बाट अनलाइन नै लोड/जम्मा गर्न सकिन्छ । अनलाइन प्रणालीमा कोलाटरलले नै कारोबार ‘लिमिट’ निर्धारण गर्ने हुँदा कति ‘कोलाटरल’ र कति ‘लिमिट’ ब्रोकर र ग्राहकमा निर्भर हुन्छ । ‘लिमिट’ बिना किनबेच आदेश नै प्रविष्टि गर्न सकिन्न । ‘कोलाटरल’ र ‘लिमिट’ टीएमएसको ‘माइ इन्फरमेसन (My Information)’ वा ‘ड्यास बोर्ड (DASH BOARD)’मा पनि हेर्न सकिन्छ । काेलाटरलकाे कति गुना लिमिट भन्ने ‘म्यानेज काेलाटरल (Manage Collatoral)’ काे   ‘मल्टिल्पिकेसन फ्याक्टर (Multiplication Faction)’ मा हेर्न सकिन्छ । थप जानकारीका लागि काेलाटरल व्यवस्थापन पढ्नुस् ।


२. खरिद–बिक्री आदेश

‘टीएमएस’मा प्रवेश गरी उपलब्ध ‘लिमिट’ अनुसार खरिद–बिक्री आदेश राख्न सकिन्छ । ‘अर्डर म्यानेजमेन्ट (ORDER MANAGEMENT)’को ‘बाइ/सेल (BUY OR SELL)’मा क्लिक गर्दै अथवा ‘मार्केट डाटा (MARKET DATA)’ को ‘मार्केट डेप्थ (MARKET DEPTH)’ मा सम्बन्धित धितोपत्र छनौट गरी ‘बाइ (BUY)’ वा ‘सेल (SELL)’ मा क्लिक गरी खरिद–बिक्री आदेश दिन सकिन्छ । किनबेचका लागि नियमित समय ११ देखि ३ बजेसम्म ‘कन्टिन्युअस (CONTINUOS)’, बिहान १०ः३० देखि १०ः४५ बजेसम्म ‘प्रिओपन (PRE OPEN)’, सूचीकृतको पहिलो कारोबारका लागि ‘स्पेसल प्रिओपन (SPECIAL PRE OPEN)’ र अडलट (१० कित्ता/१ सय एकाइभन्दा कम) का लागि ‘अडलट (ODD LOT)’ छान्नुुपर्छ । यसपछि तोकिएको ‘लिमिट’ भित्र मूल्य र कित्ता उल्लेख गर्दै किन्न ‘एलएमटी–लिमिट (LMT)’ र बजारमा उपलब्ध मूल्यमा तोकिएका कित्ता किन्न ‘एमकेटी–मार्केट (MKT)’ छान्नुपर्छ ।

Option 1 through Order Management > Buy/Sell

Option 2 through Market DATA> Market Depth

यसपछि किनबेच गर्न खोजेको धितोपत्रका आधारमा ‘इन्स्टा (INST)’मा १) साधारण सेयरलाई ‘ईक्यू (EQ)’, २) अग्राधिकार सेयरलाई ‘पीएस (PS)’, ३) अपरिवर्तनीय डिबेन्चरलाई ‘एनसीडी (NCD)’ वा ४) म्युचुअल फन्डलाई ‘एमएफ (MF)’ छानेर सिम्बोलको कोठामा सम्बन्धित धितोपत्रको नाम लेख्ने वा पहिलो अक्षर थिचेसँगै उपलब्ध हुने सूचीबाट छान्ने । धितोपत्र छानेर कित्ता वा एकाइ ‘क्यूटीवाई (QTY)’ कोठामा उल्लेख गरी तिर्न चाहेको प्रतिकित्ता-एकाइ मूल्य ‘प्राइस (PRICE)’मा जनाउने । यसपछि ‘भ्यालिडिटी (VALIDITY)’ मा समय वा विधिको आधारमा १) एक दिनलाई ‘डे (DAY)’, २) किनबेच नहुँदासम्म भए ‘जीटीसी (GTC)’ (गुड टिल क्यान्सिल), ३) तोकिएको मितिसम्म भए ‘जीटीडी (GTD)’ (गुड टिल डेट) सहित मिति उल्लेख गर्ने । यस्तै ‘भ्यालिडिटी’ मा नै खरिद–बिक्री आदेशअनुसार सम्पूर्ण कित्ता/एकाइ कारोबार हुने अन्यथा नहुने गर्न ‘एओएन (AON)’ (अल अर नन), आदेश राख्नेबित्तिकै किनबेच भए गर्ने नभए नगर्ने ‘आईओसी (IOC)’ (इमिडिएट अर क्यान्सिल), अथवा तत्काल किनबेच नभए रद्द हुने आदेशका लागि ‘एफओके (FOK)’ (फिल अर किल) विकल्प रोज्ने ।

एओएन विवाद र उययाेग 

  • ‘एओएन (AON)’ (अल अर नन) ले माग र अापुर्तिमा खेलेर मूल्य प्रभावित गरेकाे भन्ने नयाँ विवाद सिर्जना गरिएकाे छ । नेप्सेले अाधिकारिक सूचना विना २०७८ जेठ ३० गते दिनकाे १ बजेबाट टिएमएसमा खरिदतर्फ एओएन डिसेवल गरेकाे छ । यससँगै क्रेताले चाहेकाे परिमाणमात्र किन्न पाउने अधिकारबाट बञ्चित भएका छन् । कसैले ५५ किता पाए किन्छु नभए किन्दिन भन्न नपाउने भएकाे छ, अब क्रेताले ५५ किता किन्न खाेज्दा ५० मात्रै पनि पाउन सक्नेछ । त्यसैले खरिद अादेश राख्दा बिक्रिमा रहेकाे किता र अादेश संख्यामा विशेष चनाखाे हुनुपर्ने छ । हेर्दा ठूलाे समस्या देखिन्न तर ग्राहककाे छनाैटकाे अधिकारमा प्रहार भएकाे छ र उसले बिक्रेताकाे इच्छामा निर्भर भएर किन्नुपर्ने छ । यस्तै क्रेताकाे लगानी याेजना र लगानी व्यवस्थापन याेजना माथि अप्रत्यक्ष नियन्त्रण भएकाे छ । 
  • विक्रीकाे सन्दर्भ हाल एओएन नहटेकाे अवस्थामा यस विकल्पबाट बेच्दा चाहेकाे परिमाण नै बेच्न सकिन्छ । यदि एओएनमा नराखि बेच्ने हाे भने ५७ किता बेच्न खाेज्दा ५२ किता बिकेर ५ किता अडलटमा जाने वा कतिपय अवस्थामा १ किता नबिकेर पछि बेच्दा लाग्ने चर्काे लागतले धेरैलाइ दुःख दिनेछ । अझ ५७ किता बेचेर ऋण वा तिरनतारन गर्न खाेज्नेकाे सबै नबिकेर सिर्जना हुने अार्थिक समस्याकाे सम्भावना रहन्छ । एओएन राख्दा कि ५७ कित्तै बिक्छ नभए बिक्दैन, जसले अडलट बस्ला भन्ने चिन्ता हुन्न ।
  • एओएन राखिएका अादेशहरू एकैपटकमा काराेवार हुने सम्भावना बढि हुन्छ, यसले ससानाे काराेवार हुँदा लाग्ने उच्चदरकाे कमिसन जाेगिनसक्छ, भने धेरै काराेवारकाे रेकर्ड झन्झट पनि हुन्न ।

यसरी प्रणालीमा प्रविष्ट खरिद–बिक्री आदेशहरू ‘मूल्य र समय (PRICE AND TIME)’का आधारमा म्याचिङ हुँदै कार्यान्वयन हुन्छन् । ‘अर्डर म्यानेजमेन्ट (Order Management)’को ‘डेली अर्डर बुक (Daily Order Book)’मा गएर आफूले राखेको आदेशको अवस्था थाहा पाउन सकिन्छ । कार्यान्वयन भएका आदेश ‘कम्प्लिटेड (Completed)’ मा र बाँक ‘ओपन (Open)’ मा देखिन्छ । ‘एक्सन (Action)’ मा क्लिक गर्दै उक्त धितोपत्रको बजार माग र आपूर्तिको अवस्था (मार्केट डेप्थ - Market Depth) पनि हेर्न वा किनबेच नभइसकेको अवस्थामा मूल्य वा कित्ता-एकाइ परिमार्जन गर्न सकिन्छ । ‘कम्प्लिटेड’मा पनि प्लस चिह्नमा थिचेर आदेश कार्यान्वयन र ‘ट्रेड डिटेल (Trade Detail)’मा आदेशअनुसार किनबेच भएको कित्ता, मूल्य, कमिसन, सेबोन शुल्क, डिपी शुल्क तथा बिक्रीको हकमा लाभकरको जानकारी लिन सकिन्छ ।


खरिद–बिक्री आदेशको विकल्पका आधारमा नियमित कारोबार समयपश्चात् ‘कम्प्लिटेड’ मा जान्छन् र ती ‘कम्प्लिटेड’, ‘पार्सियल्ली कम्प्लिटेड’ वा ‘क्यान्सिल’ हुन्छन् ।

३. सेयर र रकम भुक्तानी

प्रचलित नियमानुसार किनेको धितोपत्रको रकम र बेचेको धितोपत्र कारोबारको भोलिपल्ट (अर्को कार्यदिन, टी प्लस वन) ब्रोकरलाई हस्तान्तरण गर्ने जिम्मेवारी किन्ने–बेच्नेको हुन्छ । बेचेको धितोपत्र सीडीएस्सीको ‘मेरो सेयर’ मा उपलब्ध ‘सेयर ट्रान्सफर’को विकल्प प्रयोग गरी विद्युतीय माध्यमबाट ‘ईडीआईएस’ द्वारा हस्तान्तरण गर्नुपर्छ । ‘ईडीआईएस’ सम्भव नभए मात्र डीपीबाट उपलब्ध ‘डीआईएस–डेबिट इन्स्ट्रक्सन स्लिप’ भरेर ब्रोकरलाई दिनुपर्छ । तोकिएको अवधिमा कुनै पनि कारण धितोपत्र हस्तान्तरण गर्न असफल भए ‘क्लोजआउट’ मा परिन्छ र बिक्री मूल्यको २० प्रतिशत जरिवाना बेहोर्नुपर्नेछ । रकमको सम्बन्धमा कुनै जरिवानाको कानुनी व्यवस्था नभए पनि किनेको भुक्तानी दिनु नैतिक दायित्व हो ।


किनेको धितोपत्रको रकम क) टीएमएस, ख) चेक, ग) कनेक्ट आईपीएस, घ) अनलाइन बैंकिङबाट भुक्तानी गर्न सकिन्छ । टीएमएसबाट भुक्तानी गर्न ‘फन्ड सेटलमेन्ट’को ‘पेमेन्ट सेटलमेन्ट’ अन्तर्गत ‘बाई इन्फरमेसन’ मा गएर तिर्न बाँकी बिलहरू हेर्दै तिर्ने बिलको ‘एक्सन’ मा क्लिक गर्दै ‘ईओडी’ छनोट गरी ‘एमाउन्ट’मा बिलअनुसार (प्रणालीले देखाएको रकम) को भुक्तानी रकम उल्लेख गर्ने अनि ‘बैंक’मा ग्लोबल आईएमई वा कनेक्ट आईपीएस छनोट गरेर ‘रिमाक्र्स’ मा बिल मिति वा कारोबार नम्बर केही लेखेर ‘मेक पेमेन्ट÷प्रोसिड’ क्लिक गर्नुपर्छ । यसपछि बैंकको अनलाइन वा कनेक्ट आईपीएस प्रणालीमा जान्छ र उल्लिखित प्रक्रिया पूरा गरी भुक्तानी हुन्छ । सामान्यतः कोलाटर क्यास र ननक्याससमेत हुने र नियमित कारोबारमा आवश्यक परिरहने हुँदा भुक्तानीका लागि ‘कोलाटर’को विकल्प नअपनाउँदा राम्रो । ‘कोलाटरल’बाट भुक्तानीमा प्रणालीले स्वतः भुक्तानी नजनाउने हुँदा ब्रोकरबाट भुक्तानी मिलान गराउनुपर्छ, जसले भुक्तानी अन्योलता र समयमा धितोपत्र नआउने जोखिम रहन्छ । हाल ग्लोबल आईएमई बैंकले मात्र ‘टीएमएस’बाटै भुक्तानी सुविधा दिने र प्रायः ब्रोकरको कारोबार बैंक पनि हुँदा यस बैंकमार्फत भुक्तानी लिँदादिँदा सहज र केही आईपीएस शुल्क बच्छ । सम्बन्धित ब्रोकरको बैंक, खाताको नाम र नम्बर लिएर टीएमएसबाहिरबाट पनि भुक्तानी गर्न सकिन्छ । टिएमएस बाहिरबाट भुक्तानी गरेकाे अवस्थामा दलाललाइ सम्पर्क गरेर टिएमएसमा भुक्तानी, काेलाटरल र लिमिट समायाेजन गराउनुपर्ने हुन्छ । यसले थप समय, लागत र मेहनत लाग्नेछ । इअाेडिकाे हकमा सिस्टमले स्वतः हिसाव मिलान गर्छ ।

In TMS > Fund Settlement > Buy Information


Once click in Make Payment > Confirm Payment


If choosed Global IME Bank leads to GBIME online banking

Complete process and pay

४. विगत कारोबार र हिसाब

टीएमएसमा कारोबारसँगै विगतको कारोबार र हिसाब हेर्न सकिन्छ । ‘फन्ड सेटलमेन्ट’को ‘क्लाइन्ट फन्ड ट्रान्सफर हिस्ट्री’ मा गएर बैंक र एनसीएचएलबाट गरिएको र प्राप्त भुक्तानीको अभिलेख पाइन्छ । यस्तै ‘फन्ड सेटलमेन्ट’ कै ‘बाई इन्फरमेसन’ मा भुक्तानी बाँकी ‘पेमेन्ट ड्यु’, भुक्तानी गरिएका ‘सक्सेस’ र प्रक्रियामा रहेका ‘इन प्रोग्रेस’ को जानकारी पाइन्छ । ‘सेल इन्फरमेसन’ मा प्राप्त हुन बाँकी भुक्तानी ‘पेमेन्ट ड्यु’, स्वीकृत भुक्तानी ‘एप्रुभ्ड’, ब्रोकरबाट भएको भुक्तानी ‘सक्सेस’ र प्रक्रियामा रहेका ‘इन प्रोग्रेस’मा हुन्छ । ‘सक्सेस’मा देखिने सूचीको ‘प्लस’ थिच्दा कारोबारको विस्तृत हिसाब पाइन्छ ।

Buy information

Sell information

यस्तै ‘मार्केट डाटा’ मा बजारको अवस्था, मार्केट डेप्थ, सक्रिय धितोपत्र, बढेका र घटेका १० धितोपत्र, मार्केट लाइभ हेर्न सकिन्छ । ‘ब्रोकर ब्याक अफिस’को ‘डीपी होल्डिङ’ले डिम्याटमा रहेको धितोपत्र देखाउँछ । अनेक समस्या र सुधारको आवश्यकताका बाबजुद उपलब्ध अनलाइन प्रणाली अपनाउनु हितकर छ, जसले स्वनियन्त्रणमा सहजै कारोबार र राफसाफ गर्दै अभिलेखको सुविधा निःशुल्क दिन्छ ।


कतिपय अवस्थामा टिएमएस लगइन गर्दा प्रणालीले यस्ताे सन्देश दिन सक्छ । यसमा वास्तवमा अाेटिपी पठाएकाे हुँदैन र केहि गर्नुपर्दैन, केवल त्याे क्रस (X) थिचे पुनः लगइन विन्डाेमा पुगिनछ र पहिलेकै तरिकाले लगइन हुन्छ ।


थप जानकारीका लागि

Last revised/corrected/updated 25 July 2021, 11:04 NST




Sunday, April 25, 2021

मूल्यान्तरको खेलमा माग र आपूर्ति सन्तुलन र सरकारी कम्पनी

धितोपत्रको प्राथमिक बजारमा सामान्यतः निश्चित वा आरक्षित मूल्य कायम हुँदा मूल्यान्तर (मूल्यको अन्तर) को सम्भावना हुँदैन । सम्भवतः बुक बिल्डिङसँगै अप्रत्यक्ष खेलको सुरुवात विस्तारै होला । तर, दोस्रो बजार (सेयर बजार) मा लगानी वा लगानी व्यवस्थापनसँगै मूल्यान्तरमा खेल्दै मुनाफा (पुँजीगत लाभ) का लागि सेयर किनबेच गरिन्छ । मूल्यान्तरको खेलमा सहभागी धितोपत्र कारोबारीहरू सदैव मूल्य नियन्त्रण वा स्वार्थअनुरूपको मूल्य कायम गर्ने प्रयासमा हुन्छन् । अन्य वस्तु तथा सेवाको व्यवसायभन्दा फरक धितोपत्र बजारमा प्रत्येक कारोबारमा तोकिएको सीमाभित्र वैधानिक मूल्यान्तरको छुट हुन्छ ।

मूल्यान्तरको वैधानिक व्यवस्था र बन्देज

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार क) प्रारम्भिक कारोबार सत्र (प्रि-ओपनिङ) मा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत घटी वा बढी, ख) निरन्तर कारोबार सत्रमा कायम मूल्यको २ प्रतिशत घटी वा बढी, ग) १ सय अंकित मूल्यको धितोपत्रमा न्यूनतम एक रुपैयाँ वा एकले भाग जाने पूर्णांक, तर ५० भन्दा कम मूल्यमा कारोबार हुने धितोपत्रमा एक रुपैयाँभन्दा कमको मूल्यान्तरमा सेयर किनबेच आदेश दिन सकिन्छ । यसरी एक दिनमा बढीमा १० प्रतिशत मूल्य तल वा माथि गर्दै अधिकतम २० प्रतिशतको मूल्यान्तरमा खेल्न सकिन्छ ।

धितोपत्र ऐन, २०६३ दफा ९१ अनुसार “कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार मानिन्छ ।” यस्तो कारोबार दण्डनीय हुन्छ ।

सोही ऐनमा “कसैले हुँदै नभएको वा कृत्रिम वा झुटो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतारचढाव गराएको मानिने” व्यवस्था छ । ऐनअनुसार कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरूसँग मिली (क) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, (ख) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने, (ग) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने, जस्ता काम दण्डनीय हुनेछ ।



थप टिप्पणी, २०७८ असार १० गते नियामकबाट (क) प्रिअाेपन सेसनमा विगतकाे ५ प्रतिशतकाे सट्टा ‘२ प्रतिशत घटी वा बढीको मूल्य सीमा’ (±२ प्रतिशत) कायम कायम गर्न, र (ख) खरिदबिक्रि अादेश प्रविष्टिमा हाल कायम रू १ काे व्यवस्थालाइ परिवर्तन गर्दै १० पैसा घटि वा बढिकाे अन्तरमा मूल्यमा अादेश दिन सकिने (माेलमाेलाइ) काे व्यवस्था गर्न निर्देशन भएकाे छ। नियामककाे २०७८ असार १० काे निर्देशन । 

मूल्यान्तर र सर्किटसम्बन्धी कानुनी व्यवस्था र प्रचलित विधीबीच केहि भिन्नता देख्न सकिन्छ । प्रत्येक धिताेपत्रकाे सम्बन्धमा कानुनले प्रिअाेपनमा कायम मूल्यकाे ±१० प्रतिशत भनेपनि प्रचलनमा अघिल्लाे दिन कायम अन्तिम काराेवार मूल्यकाे ±१० प्रतिशतमा सर्किटकाे व्यवस्था छ । यसले एक दिनमा एक धिताेपत्रकाे मूल्य अघिल्लाे दिनमा कायम मूल्यकाे अाधारमा कुल २० प्रतिशत र एकै दिन कायम हुनसक्ने न्यून्तम मूल्यकाे अाधार २२.२२ प्रतिशत वा अधिकतम मूल्यका अाधारमा १८.१८ प्रतिशतकाे मूल्यान्तरकाे सम्भावना रहन्छ । मूल्य प्रविष्टिकाे सम्बन्धमा समेत टिएमएसमा उपलब्ध एमकेटि (मार्केट) विकल्पबाट खरिदबिक्री अादेश प्रविष्ट गरिएकाे अवस्थामा २ प्रतिशतकाे मूल्य सीमा सहजै ताेडिन सक्छ । यसरी व्यवहारमा मूल्यान्तर किनबेच अादेशमा ±२ प्रतिशत र दिनकाे ±१० प्रतिशत (कुल २० प्रतिशत) भएपनि कानुनमा केहि विवाद (±१५% अब ±१२%) हाे कि भन्ने विवाद देखिएकाे छ । यससम्बन्धी थप जानकारीका लागि एकैचोटी १८% तल र २२% माथिसम्म जानसक्छ सेयर मूल्य, के सर्किट रेन्ज घटाउन आवश्यक हो? (bizmandu.com) पढ्न सकिन्छ ।


माग र आपूर्तिको खेलमा सरकारी कम्पनी

वस्तु तथा सेवा होस् वा सेयरको मूल्य निर्धारणमा मुख्य भूमिका माग र आपूर्तिकै हुन्छ । मूल्य बढाउन माग बढाउन वा आपूर्ति घटाउन तथा मूल्य घटाउन माग घटाउन वा आपूर्ति बढाउन सक्नुपर्छ । मूल्यान्तरको खेलमा स्वार्थअनुकूल मूल्य डोर्याउँदै जित्ने मुख्य उपाय भनेकै माग र आपूर्ति व्यवस्थापन हो । माग र आपूर्तिबीच जति असन्तुलित अवस्था हुन्छ, मूल्यान्तरको खेल त्यति सहज हुन्छ । हाल बजारमा उच्चमूल्यका सेयरले पनि यसको पुष्टि गर्छ । उच्च माग र न्यून आपूर्तिका सेयरको मूल्य निर्धारणमा आधारभूत पक्ष (फन्डामेन्टल) ले काम गर्दैन् । यस यथार्थतालाई बिर्संदै इन्साइडर ट्रेडिङ, पम्प एन्ड डम्प, सर्कुलर ट्रेडिङ र कर्नरिङको कुरा जोडतोडले उठ्छ, तर माग र आपूर्ति व्यवस्थापनमा नियामक र सरकारको कहिल्यै ध्यान जाँदैन ।

तालिकाः उच्चमूल्यका १० सूचीकृत कम्पनी सहित सरकारको उल्लेख्य लगानी र नियन्त्रणका कम्पनीहरू

कम्पनी

सूचीकृत शेयर (कित्ता)

सरकारको हिस्सा (%)

संस्थापक (%)

सर्वसाधारण (%)

अन्तिम कारोवार मूल्य* (रु)

बजार पूँजीकरण (रु. अर्ब)

नेपाल टेलिकम

१५,००,००,०००

९१.

९१.५३

.४७

,२९७

१९४.५५

नेपाल बैंक

१२,६३,६७,५८७

५१

५१

४९

४३८

५५.३५

कृषि विकास बैंक

१०,९८,९९,२९६

५१

५१

४९

४२८

४७.०४

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलममेन्ट कम्पनी

११,००,००,०००

५०

८०

२०

४८२

५३.०२

नेपाल पुनर्बीमा कम्पनी

१०,००,००,०००

४४

८४

१६

,४०३

१४०.३०

राष्ट्रिय विमा कम्पनी

२६,६६,३६५

४७.

८०.४६

१९.५४

१७,६००

४६.९३

बिसालबजार कम्पनी

,९१,४००

अनिश्चित

नखुलेको

नखुलेको

,१६८

.५६

साल्ट ट्रेडिङ कम्पनी

१९,२०,२४६

११.

नखुलेको

७८.७४

१०,३००

१९.७८

युनिलिभर

९२०,७००

 

नखुलेको

नखुलेको

१९,४४०

१७.९०

बोटलर्स नेपाल (तराई)

१२,१०,०००

 

७५

२५

,१३०

११.०५

जनउत्थान सामुदायिक लघुवित्त

,९२,०००

 

५५

४५

,९५०

.९२

हिमालयन डिस्टिलरी

८६,७७,०२५

 

५८

४२

,३३४

३७.६१

नागरिक लगानी कोष

,००,००,००३

 

८०

२०

,८८६

११६.५८

नेसनल माइक्रोफाइनान्स

३१,९४,९४८

 

७०

३०

,१०१

.९१

फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स

६२,५५,१९३

 

७०

३०

२८८५

१८.०५

नोटः तथ्यांक नेप्से वेबसाइट र सम्बन्धित कम्पनीको रिपोर्ट, एचआईडिसिएलको वार्षिक प्रतिवेदनमा पूँजी वृद्धि र हिस्सा परिवर्तन देखिन्छ । 
* २०७८ बैशाख ९ काे मूल्य

बजारमा सरकारी कम्पनीका करोडौं कित्ता सूचीकृत भए पनि कारोबारयोग्य कित्ता कम र संस्थागत मागमा प्रोत्साहनले कतै सरकार नै माग र आपूर्तिबीच असन्तुलन गर्दै मूल्यान्तरका सहयोगी बन्दै त छैन भन्ने आशंका उब्जाएको छ । सरकारको बहुसंख्यक वा नियन्त्रणका नेपाल टेलिकम (एनटिसी), राष्ट्रिय बिमा कम्पनी (आरबीसीएल), हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलममेन्ट कम्पनी (एचआईडीसीएल), नेपाल बैंक (एनबीएल), कृषि विकास बैंक (एडीबीएल) र नेपाल पुनर्बिमा कम्पनी (एनआरआईसी) सँगै सरकारी हस्तक्षेप रहेका साल्ट ट्रेडिङ कम्पनी (एसटीसी) र विशालबजार कम्पनी (बीबीसी) सूचीकृत छन् । यसबाहेक नागरिक लगानी कोष, नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा पनि सरकारको लगानी र अप्रत्यक्ष नियन्त्रण छ ।

१५ करोड कित्ता सूचीकृत र सबैभन्दा बढी पुँजीकरणको नेपाल टेलिकमको ८.४७ प्रतिशतले करिब १.२७ करोड कित्ता कारोबारयोग्य देखिए पनि कर्मचारीसँग रहेको लाखौं कित्ता बिक्रीमै आउँदैन । यस्तै नेपाल पुनर्बिमाको केवल १.६० करोड, एचआईडीसीएलको २.२ करोड कित्ता मात्र कारोबारयोग्य छ । विवादास्पद विशालबजार कम्पनीको विवरणमा ५ लाख कित्ता र नेप्सेमा ४.९१४ लाख कित्ता मात्र सूचीकृत देखिन्छ, जबकी ४.१ करोड कित्ता लगत कायम गरिसकेको छ । साल्ट ट्रेडिङको पनि सूचीकृत १९.२० लाख कित्ता देखिन्छ, तर महालेखाले सरकारको हिस्सामा प्रश्न उठाइरहेकै छ । दुवै कम्पनीमा सरकारको वास्तविक हिस्सा, सूचीकृत र कारोबारयोग्य कित्ताको विवाद कायमै छ । सरकारकै अप्रत्यक्ष नियन्त्रणको नागरिक लगानी कोषको पनि ६० लाख कित्ता हाराहारी मात्र कारोबारयोग्य छ । सरकारको प्रत्यक्ष र अप्रत्यक्ष नियन्त्रण रहने सूचीकृत कम्पनीहरूको सेयर मूल्य असन्तुलित माग र आपूर्तिबाट प्रभावित महसुस हुन्छ । एकातिर कम कारोबारयोग्य कित्ता अर्कोतिर बैंक तथा बिमा क्षेत्रले समेत लगानी तथा किनबेच गर्न पाउँदा थप मागको सिर्जनाले मूल्य वृद्धिमा मद्दत पुगेको छ । अझ नेपाल टेलिकमले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को “सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाको जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (इनिसियल पब्लिक अफरिङ) गर्नुपर्ने” प्रावधानविपरीत ८.४७ प्रतिशत सेयर निष्कासन गरेर कानुन मिच्दै सेयरको आपूर्ति नियन्त्रित गरिरहेको छ ।

उच्च मूल्यका १० कम्पनीहरूमध्ये ४ सरकारी लगानी वा प्रत्यक्ष/अप्रत्यक्ष नियन्त्रणका र युनिलिभर, बोटलर्स नेपाल तराई, जनउत्थान लघुवित्त, हिमालय डिस्टिलरी, नेसनल माइक्रोफाइनान्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स सहित ६ कम्पनी छन्, जसको सेयर मूल्य प्रतिकित्ता २८ सय माथि छ । यसरी उच्च मूल्य कायम हुनुमा तिनको व्यवसाय र मुनाफाभन्दा सेयरको माग र आपूर्तिबीच असन्तुलन स्पष्ट झल्कन्छ । हुन त बैंक तथा बिमा क्षेत्रका बाहेक अन्यमा संस्थापक र सर्वसाधारणको सेयर किनबेचमा खास भिन्नता नहुँदा सर्वसाधारणको हिस्सा कति भन्नेले महत्व राख्दैन, तर निकै थोरै कित्ता बजारमा पठाउँदै मूल्यमा खेल्ने अवसर दिइरहने हो भने कर्नरिङ, पम्प एन्ड डम्प, सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ बेकार कुरा हुनेछन् ।

निष्कर्ष र सुझाव

एउटै बजार प्रणालीमा २-४ लाख**कित्ता र २०-२५ कराेड** कित्ता सूचीकृत कम्पनीको कारोबार हुने अवस्थामा पक्कै बजारले नै मूल्यान्तरमा खेल्ने सहज वातावरण तयार गरिदिनेछ । अझ निकै थोरै पुँजी र धेरै पुँजीका कम्पनीको पनि ५-१० प्रतिशत सर्वसाधारणमा जारी गरी कारोबारयोग्य कित्ता नियन्त्रित हुँदा माग र आपूर्तिको सामान्य सिद्धान्त मात्र होइन, कारोबारका लागि उपलब्ध केही हजार कित्ताहरू निश्चित व्यक्तिबीच किनबेच गर्दै वा आफ्नै समूहले किनेर र पछि बजारमा आपूर्ति नियन्त्रित गर्दै उच्च माग सिर्जना गरेर मूल्यलाई उच्चस्तरमा पुर्याउनु कुनै कठिन हुनेछैन । थोरै पुँजी र कम कारोबारयोग्य कित्ता सेयर सूचीकरण भनेको कानुनतः खुल्ला रूपमै सर्कुलर ट्रेडिङ, पम्प एन्ड डम्प र कर्नरिङलाई प्रोत्साहन हो । बजारमा रियल सेक्टर वा निश्चित कम्पनीको प्रवेशलाई प्रोत्साहन भन्दैमा १-२ लाख कित्ताका कम्पनीलाई सूचीकरण अनुमति दिनु ‘आ बयल मुझे मार’ भनेजस्तै हो ।

त्यसैले अवाञ्छित मूल्यान्तर नियन्त्रण र निरुत्साहनका लागि सूचीकरण र बजार प्रणालीमा कारोबारका लागि निश्चित कित्ता वा प्रतिशत कारोबारयोग्य सेयर हुनैपर्ने बाध्यात्मक व्यवस्था गरिनुपर्छ । यसमा सूचीकृत वा सूचीकरण हुने सरकारी कम्पनीहरूले नेतृत्वदायी र उदाहरणीय भूमिका खेल्दै टेलिकमले थप सेयर निष्कासन गर्नुपर्छ । उदाहरणका लागि क) न्यूनतम ५० करोडभन्दा न्यून पुँजीका कम्पनी मुख्य बजार प्रणालीमा प्रवेश निषेध, तथा ख) निजी क्षेत्रका कम्पनीकोे न्यूनतम २० र सरकारी नियन्त्रण वा लगानीका कम्पनीमा न्यूनतम ३० प्रतिशत सेयर कारोबारयोग्य हुनैपर्ने व्यवस्था गर्न सकिन्छ ।
थप सामग्री
** प्रकाशित लेखमा सच्याइएकाे 
काराेवार दैनिकमा १२ बैशाख २०७८ मा प्रकाशित, मूल्यान्तरको खेलमा माग र आपूर्ति सन्तुलन « (karobardaily.com)
Revised/updated 5 July 2021, NST 14:53