Sunday, March 1, 2020

सेयर (दोश्रो) बजारमा सेयर किनबेच, शुल्क र कर

धितोपत्रको 'प्राथमिक बजार'मा नियमित र चाहेजति सेयर वा डिबेन्चर किन्न पाइन्न । अनि हामीले किनेको सेयर कम्पनीले फिर्ता पनि किन्दैन । सेयरमा लगानी गर्न वा लगानी बढाउन अनि प्राथमिक बजारमा किनेकै सेयर बेच्न पनि बजारमै जानुपर्छ । अझ स्थानीय, आयोजना प्रभावित, जनताको लगानी, समृद्धिको आधार आदि नाममा भिडाइएका सेयरहरूका कारण धेरै सर्वसाधारण नचाहिकनै सेयर बजार धाउन बाध्य छन् । सूचीकृत धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड) को कारोबार हुने बजारलाई नै दोस्रो बजार वा सेयर बजार वा पुँजीबजार भनिन्छ । यसको सञ्चालन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले र नियमन नेपाल धितोपत्र बोर्ड (सेवोन) ले गर्छ । क्रेता र विक्रेताको कहिले भेट नहुने र नचिन्ने यस बजारमा कम्प्युटर प्रविधि र सफ्टवेयरको मद्दतले व्यवस्थित र पारदर्शी ढंगले कारोबार सम्पन्न हुन्छ । किन्ने र बेच्नेलाई सघाउन सेवोनबाट अनुमति पाएका ५० दलाल कम्पनी (स्टक ब्रोकर वा सेयर दलाल वा ब्रोकर) लाई नेप्सेले कारोबार अनुमति र जिम्मेवारी दिएको छ । उनीहरूले तोकिएको कमिसन लिएर क्रेताका तर्फबाट किनिदिने र विक्रेताका तर्फबाट बेचिदिने तथा किनेको धितोपत्र क्रेताको डिम्याट खातामा र बेचेको रकम विक्रेताले पाउने जिम्मेवारी लिन्छन् । सामान्य लाग्ने यस बजारमा अन्य बजारमा जस्तो पैसा लिएर गएर सहजै चाहिएजति धितोपत्र निश्चित मूल्यमा किन्न मात्र होइन, बेच्न पनि सकिन्न । यसका लागि पूर्वतयारीका साथै माग र आपूर्ति, मूल्य र अन्य केही पक्षहरूमा जानकार र सचेत हुनुपर्छ । प्रविधिमा आधारित हुँदै गएको धितोपत्र बजारमा कम्तीमा प्रविधि बुझेको, पहुँच र कम्प्युटर तथा सफ्टवेयर चलाउन पनि जान्नैपर्ने अवस्था छ । 

अत्यावश्यक कुरा र तयारी

दोस्रो बजारमा धितोपत्र किनबेच गर्न बैंक खाता, डिम्याट खाताकारोबार खाता अनिवार्य छ । आफ्नो नाममा बैंक र डिम्याट खाता छैन भने पायक पर्ने बैंकमा खाता खोल्नुपर्छ । प्राय: बैंकले पनि डिपी सेवा दिने हुँदा सोही बैंकमा वा ब्रोकर कहाँ वा अन्य डिपी सेवाप्रदायक कहाँ डिम्याट खाता खोल्न सकिन्छ । अभाैतिक शेयर भण्डारण गर्न डिम्याट खाता अनिवार्य हुन्छ ।  यसपछि बैंक र डिम्याट खाताको प्रमाण (स्टेटमेन्ट वा चिठी) सहित नागरिकताको फोटोकपि र फोटो लिएर अनुमतिप्राप्त स्टक ब्रोकरको कार्यालयमा गएर ग्राहक परिचय (केवाईसी) फारम भर्दै ‘कारोबार खाता’ खोल्न सकिन्छ । ‘कारोबार खाता’ खोलेपछि विशेष ग्राहक परिचय नम्बर पाइन्छ र सोही नम्बर नै कारोबारका लागि प्रयोग हुन्छ । एकपटक (एकै काराेवार)मा रु. ५ लाखभन्दा बढीको धितोपत्र किनबेच गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य छ । यसका साथै आफ्नो डिम्याट खातामा भएको धितोपत्रको जानकारी लिन र बिक्री गरिएको सेयर विद्युतीय प्रणालीबाट कम्प्युटर वा मोबाइलबाट हस्तान्तरण गर्न सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले उपलब्ध गराउने मेरो सेयर’को सेवा लिन सकिन्छ । डिम्याट खाता खोलिएको डीपी सेवा प्रदायकलाई वार्षिक शुल्क रु. ५० तिरेर ‘मेरो सेयर’ को सुविधाका लागि पासवर्ड र युजर आईडी पाउन सकिन्छ । यसका लागि पनि आफ्नै इमेल ठेगाना हुनुपर्छ । डिम्याट खाता साउन १ देखि असार मसान्तसम्म जुन मितिमा खाेलेकाे भएपनि असार मसान्तसम्म मात्र म्याद हुन्छ । मेराे शेयरकाे खाता खाेलेकाे वा नविकरणकाे अाधारमा १ वर्ष अवधि हुन्छ । त्यसैले डिम्याट प्रत्येक अार्थिक वर्ष (अाव) सकिनु अगाडि वा अावकाे शुरूवातमा नै वार्षिक नविकरण शुल्क रू. १०० तिरेर नविकरण गर्नुपर्छ । मेराे शेयरकाे हकमा म्याद सकिनु अगाडि वार्षिक रू. ५० तिरेर नविकरण गर्न सकिन्छ । हाल मेराे शेयरबाट सहजै नविकरण गर्न सकिन्छ, यसकाे लागि  ‘मेरो सेयर’ सुविधा र समस्या (dilipmuna.blogspot.com) लेख पढ्नु हाेला ।

अनलाइन कारोबारका लागि भने ब्रोकरसँग थप सम्झौता गर्नुका साथै चाहिएकाे काराेवार लिमिटकाे २५ प्रतिशत रकम धरौटी (काेलाटरल) राखेर युजरनेम र पासवर्ड लिएर इन्टरनेटका माध्यमबाट कारोबार गर्ने वेबसाइट (टिएमएस) मा प्रवेश गरी मोवाइल वा कम्प्युटरबाट अनलाइन धितोपत्र किनबेच गर्न सकिन्छ  (अनलाइन काराेवारसम्बन्धी थप "अनलाइन धिताेपत्र किनबेच" मा पढ्नुस्) । साँच्चै किनबेच गर्नु केही दिन ब्रोकर कार्यालयमा गएर खरिद–बिक्रीको तरिका, भुक्तानी विधि, सेयर छान्ने तरिका, लागत–लाभ र जोखिम बारेमा व्यावहारिक ज्ञान लिनु राम्रो हुन्छ । नेप्सेको वेबसाइट वा कम्पनी र अन्य अनलाइट साइटहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ ।


थप विद्यमान व्यवस्था अनुसार एक व्यक्तिले बढीमा २ वटा डिम्याट खाता खाेल्न सकिन्छ भने एक डिम्याटकाे एक काराेवार खाता । त्यसैले कसैले दुइ डिम्याट खाेलेर दुइ ब्राेकरसँग काराेवार खाता खाेल्न, अनलाइन युजरनेम लिन र काराेवार गर्न सकिन्छ तर दुइ डिम्याटबाट एकै ब्राेकरसँग वा एक डिम्याटबाट दुइ ब्राेकरसँग काराेवार गर्न मिल्दैन । 

धितोपत्र किनबेच

कुन कम्पनीको सेयर किन्ने वा बेच्ने निर्णयसँगै मूल्य र कित्ता खुलाएर खरिद वा बिक्री आदेश दिनुपर्छ । हाल (क) कारोबार खाता खोलेकै स्टक–ब्रोकरको कार्यालयमा उपस्थित भएर, (ख) टेलिफोन, एमएमएस वा इमेलजस्ता सञ्चार माध्यमबाट आदेश दिएर, र (ग) अनलाइन सफ्टवेयरमार्फत आफैंले धितोपत्रको किनबेच आदेश प्रविष्ट गर्न सकिन्छ ।

(क) खरिद–बिक्री आदेश : ब्रोकर वा अनलाइनबाट दिइने खरिद वा बिक्री आदेशका आधारमा किनबेच र नाफाघाटा निर्भर रहने हुँदा चनाखो हुनुपर्छ । आदेश दिँदा कुन कम्पनीको कति कित्ता सेयर, कति मूल्यमा किन्न वा बेच्न चाहेको र सो आदेश एक दिन, एकपटक वा कारोबार नहुँदा कहिलेसम्म कायम हुने स्पष्ट गर्नुपर्छ । निश्चित मूल्य, मूल्य सीमा (प्राइस रेन्ज), वा प्रचलित बजार मूल्य तोकेर आदेश दिन सकिन्छ । अनलाइन कारोबारमा भने आदेश बहाल रहने अवधिका आधारमा ‘डे’ (एक दिन), ‘जीटसी’ (रद्द नगरेसम्म), ‘जिटिडि’ (तोकिएको दिनसम्म) तथा विधिको आधारमा ‘एओएन’* (सबै कित्ता किनबेच हुने वा पूरै आदेश रद्द गरिने), ‘आईओसी’ (पूरै वा आंशिक कित्ता धितोपत्र तुरुन्त किनबेच हुने र किनबेच हुन नसकेको आदेश तुरुन्त रद्द हुने), तथा ‘एफओके’ (सबै कित्ता धितोपत्र तुरुन्त किनबेच हुने वा पूरै आदेश तुरुन्त रद्द गर्ने) तरिकाले आदेश प्रविष्ट गर्न सकिन्छ ।
* एअाेएन हाल नरहेकाे

अनलाईन कारोबार गर्दा ट्रेड म्यानेजमेन्ट सिष्टम (TMS) मा खरिदबिक्री गर्न

  • EQ - Equity/Equity Share - शेयर खरिदबिक्रिका लगि EQ अप्सन छान्ने । नेपाली शेयरबजारमा सर्वाधिक प्रचलित र नेप्सेमा सबैभन्दा बढी कारोबार हुने वित्तीय उपकरण ।
  • MF - Mutual Fund – म्युचुअल फण्डकाे खरिदबिक्रिका लगि MF अप्सन छान्ने । शेयरपछिको सर्वाधिक प्रचलित वित्तीय उपकरण हो । खुला र बन्द गरी दुई किसिमको हुन्छन् । खुलामुखी नेप्सेमा कारोबार हुन्न ।
  • NCD - Non Convertible Debenture – डिबेन्चरकाे खरिदबिक्रिका लगि NCD अप्सन छान्ने । अहिले बैंकले जारी गरेका सबै अपरिवर्तनीय डिवेन्चर हुन् । निश्चित अवधीपछि पुरै रकम फिर्ता हुन्छ ।
  • BO - Bond – नेपालको शेयर बजारमा यस्तो उपकरण सरकारी ऋणपत्रको रुपमा मात्र देखिएको छ । कम्पनीले जारी गरेको देखिन्न । यो डिवेन्चर जस्तै हो । डिवेन्चर अलि जोखिमयुक्त हुन्छ भने यो जोखिमरहित हुन्छ । यसमा कम ब्याज वा प्रतिफल प्राप्त हुन्छ ।
  • PS - Preference Share – पूँजी संकलनका लागि उपयाेगी अग्राधिकार शेयर नेपालमा खासै उपयोग छैन । यसमा निश्चित वा अनिश्चित लाभांस र परिवर्तनीय वा अपरिवर्तनीय अग्राधिकार हुन्छ । एभरेष्ट बैंकको EBLCP परिवर्तनीय र कृषिकाे अपरिवर्तनीय अग्राधिकार शेयर हाे ।
  • PCD - Partially Convertible Debenture – यसको यस्तो खालको उपकरण देखिएको छैन । यो आँशिक परिवर्तन हुन्छ ।
  • FCD - Fully Convertible Debenture – यस्तो किसिमको पनि उपकरण देखिएको छैन । यो पूर्णरुपमा परिवर्त्य हुन्छ ।
  • WS – Warrant Script – कम्पनीले कम्पनीको शेयर विशिष्ट मूल्यमा विशेषीकृत समयमा किन्न विशेषीकृत अधिकार दिन्छ । यो लगभग हकप्रद जस्तै भए पनि यसको अवधि २ वर्षसम्मको हुन्छ । यो अवधिमा यसलाई हस्तान्तरण गर्न सकिन्छ तर अधिकारको सृजना गर्दैन । अधिकार सृजना हुन विशिष्ट समय आउनुपर्छ । यस्ता वारेन्टस कभर्ड, एसेट, इक्विटी, बास्केट, इन्डेक्स, डीट्याचेबल, वेडिङ, नेक्ड, क्यास एन्ड शेयर गरी नौ प्रकारका हुन्छन् । इक्विटी वारेन्ट पुट र कल गरी दुई प्रकारको हुन्छ ।
  • TMS मा नभएको OFCD – Optionally Fully Convertible Debenture यो पनि यहाँ प्रचलनमा छैन । यो इच्छाधीन हुन्छ । धारकले परिवर्त्य गराउन चाहे परिवर्तन हुन्छ नचाहे हुन्न । सहारा इन्डियाले यस्तै उपकरण ल्याउँदा अहिले त्यसका मालिक सुब्रत राय जेलमा छन् ।
यस मध्ये हाल EQ, NCD र MF बढि प्रचलनमा ।
साभार सहयेगः ज्येति दाहाल


खरिदबिक्रि अादेश विधिमा परिमार्जन


‘एओएन (AON)’ (अल अर नन) ले माग र अापुर्तिमा खेलेर मूल्य प्रभावित गरेकाे भन्ने नयाँ विवाद सिर्जना गरिएकाे छ । नेप्सेले अाधिकारिक सूचना विना २०७८ जेठ ३० गते दिनकाे १ बजेबाट टिएमएसमा खरिदतर्फ एओएन डिसेवल गरेकाे छ । यससँगै क्रेताले चाहेकाे परिमाणमात्र किन्न पाउने अधिकारबाट बञ्चित भएका छन् । कसैले ५५ किता पाए किन्छु नभए किन्दिन भन्न नपाउने भएकाे छ, अब क्रेताले ५५ किता किन्न खाेज्दा ५० मात्रै पनि पाउन सक्नेछ । त्यसैले खरिद अादेश राख्दा बिक्रिमा रहेकाे किता र अादेश संख्यामा विशेष चनाखाे हुनुपर्ने छ । हेर्दा ठूलाे समस्या देखिन्न तर ग्राहककाे छनाैटकाे अधिकारमा प्रहार भएकाे छ र उसले बिक्रेताकाे इच्छामा निर्भर भएर किन्नुपर्ने छ । यस्तै क्रेताकाे लगानी याेजना र लगानी व्यवस्थापन याेजना माथि अप्रत्यक्ष नियन्त्रण भएकाे छ । 

विक्रीकाे सन्दर्भ हाल एओएन नहटेकाे अवस्थामा यस विकल्पबाट बेच्दा चाहेकाे परिमाण नै बेच्न सकिन्छ । यदि एओएनमा नराखि बेच्ने हाे भने ५७ किता बेच्न खाेज्दा ५२ किता बिकेर ५ किता अडलटमा जाने वा कतिपय अवस्थामा १ किता नबिकेर पछि बेच्दा लाग्ने चर्काे लागतले धेरैलाइ दुःख दिनेछ । अझ ५७ किता बेचेर ऋण वा तिरनतारन गर्न खाेज्नेकाे सबै नबिकेर सिर्जना हुने अार्थिक समस्याकाे सम्भावना रहन्छ । एओएन राख्दा कि ५७ कित्तै बिक्छ नभए बिक्दैन, जसले अडलट बस्ला भन्ने चिन्ता हुन्न ।

एओएन राखिएका अादेशहरू एकैपटकमा काराेवार हुने सम्भावना बढि हुन्छ, यसले ससानाे काराेवार हुँदा लाग्ने उच्चदरकाे कमिसन जाेगिनसक्छ, भने धेरै काराेवारकाे रेकर्ड झन्झट पनि हुन्न ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना जारी गरी नेपाल धितोपत्र बोर्डको निर्देशनमा २०७९ असार १९ देखि लागू हुने गरी बिक्रीतर्फ समेत ‘एओएन’ हटाएको छ । हुन त खरिदतर्फको ‘एओएन’ २०७८ जेठ ३० बाटै हटाइएको हो । करिब एक वर्ष असन्तुलित रूपमा चलेको ‘एओएन’मा सुधारभन्दा बोर्डकै निर्देशनमा बिक्रीतर्फ पनि हटाइयो । हाल खरिद वा बिक्री दुवै तर्फ एअाेएन हटेकाे छ ।

(ख) मूल्य : सेयर बजारमा सबैभन्दा जटिल र विवादस्पद भनेको मूल्य हो । अन्य वस्तु तथा सेवामा जस्तो निश्चित मूल्य हुँदैन । एकै दिन एउटै धितोपत्रको समेत प्रत्येक कारोबारमा मूल्य फरक हुनसक्छ । आमरूपमा ब्रोकरले र केहीका अनुसार ठूला तथा संस्थागत लगानीकर्ताले सेयरको मूल्य निर्धारण गर्ने र उनीहरूले चाहेको मूल्यमा किनबेच गर्ने गलत बुझाइ पाइन्छ । वास्तवमा सेयरको माग तथा आपूर्ति अनि क्रेता र विक्रेताको आपसी समझदारीमा मूल्य निर्धारण हुन्छ । जबसम्म सेयरधारकले कुनै मूल्यमा बेच्न र उक्त मूल्यमा अर्को क्रेताले किन्न चाहन्न तबसम्म कारोबार नै हुन्न । ब्रोकरले क्रेता र विक्रेताले स्वीकारेको मूल्यमा किनबेच गरिदिने मात्र हो ।किनबेच मूल्यका आधारमा कारोबारीको नाफा–घाटा र लगानीकर्ताको अदृष्य सम्पति (भर्चुअल प्रोपर्टी) निर्धारण हुने हुँदा मूल्यमा प्रभाव पार्ने प्रयास सबैले गर्छन् । किन्नेले माग घटाएर वा आपूर्ति बढ्ने र अनेक कुरा सुनाएर वा तर्साएर सस्तोमा बेच्न बिक्रेतालाई तथा विक्रेताले पनि अनेक लोभलालच र मागको सिर्जना गरेर वा आपूर्ति नियन्त्रण गरेरवा आशा देखाएर मूल्यमा प्रभाव पार्दै किनबेचमा उक्साउन सक्छन् । त्यसैले लहलहै र उक्साहटमा किनबेचको निर्णयबाट पछुताउनुभन्दा अलि बुझेर निर्णय लिन पनि व्यावहारिक ज्ञान र अध्ययन चाहिन्छ ।

कम्पनीको (क) सूचीकृत पछिको पहिलो कारोबार, (ख) हकप्रद वा बोनसका लागि बुकक्लोजपछिको पहिलो कारोबार तथा (ग) मर्जपछिको पहिलो कारोबारका लागि भने बजार सञ्चालक वा नेप्सेले सन्दर्भ मूल्य तोक्न सक्छ ।

आवश्यकता र प्राथमिकताअनुसार प्रचलित मूल्य वा सन्दर्भ मूल्यका आधारमा खरिद–बिक्रीको आदेश दिन वा किनबेच गर्न सकिन्छ । अहिले बजारमा को, कति कित्ता, कति मूल्यमा किन्न वा बेच्न बसेको थाहा नभए पनि बजारमा कुनै मूल्यमा कति कित्ता बिक्री र कति कित्ता खरिद हुने अवस्था छ ? अनि अन्तिम कारोबार कति मूल्यमा भयो ? त्यो कति रुपैयाँ र प्रतिशतले तल वा माथि ? सहितको बजारको गहिराइ (मार्केट डेप्थ) को जानकारी नेप्सेको वेबसाइटमा वा अनलाइन प्रणालीमै पाउन सकिन्छ । उदाहरणका लागि एक कम्पनीको सेयरको मार्केट डेप्थ तालिकामा दिइएको छ ।

तालिका १ः मार्केट डेप्थकाे उदाहरण
२३६
१०.०० (४.४२%)

यसअघिको मूल्य
२२६
अधिकतम
२३७
न्यूनतम
२२५
अन्तिम
खरिद आदेश
खरिद परिणाम
खरिद मूल्य
बिक्री मूल्य
बिक्री परिणाम
बिक्री आदेश
४००
२३५
२३६
२४००
१०००
२३४
२३७
३६९९
१३०५
२३३
२३८
७६९४
१०५०
२३१
२३९
७८१०
१३
२१७२
२३०
२४०
११२९
कुल
४१२५२


२३३५७


मार्केट डेप्थ तालिकाले खरिद वा बिक्रीमा रहेको सेयर संख्या, मूल्यका साथै आदेशले उक्त मूल्यमा कति जनाले उल्लिखित कित्ता किन्न चाहेको देखाउँछ । मूल्यसँगै किन्न वा बेच्न राखिएको कित्ता मेल खाएपछि क्रमश: कारोबार हुन्छ । तालिकाअनुसार रु. २ सय ३५ मा ४ सय कित्ता तत्काल बेच्न सकिन्छ र रु. २ सय ३६ मा किन्न चाहे २ हजार ४ सय कित्तासम्म तत्काल पाइने सम्भावना रहन्छ । मार्केट डेप्थमा देखिएका सबै कित्ताकाे काराेवार निश्चित हुन्न । यस्तै मूल्यान्तर र माेलमाेलाइका लागि रणनीतिक खरिदबिक्री अादेश हुनसक्छन् । त्यसैले किनबेच वा अादेश प्रविष्टि अगाडि मार्केट डेप्थकाे राम्ररी विश्लेषण वा अध्ययन गर्नुपर्छ ।

विद्यमान नियमानुसार बिहान कारोबार सुरुअगाडि (प्रिओपनिङ) अर्थात् १०:३० देखि १०:४५ बजेसम्म हिजोको अन्तिम कारोबार मूल्यको ५ प्रतिशतसम्म तथा नियमित कारोबार समय अर्थात् ११ देखि ३ बजेसम्म अन्तिम कारोबार मूल्यको २ प्रतिशतसम्म तल वा माथि मूल्य तय गरेर खरिद वा बिक्री आदेश प्रविष्टि गर्न सकिन्छ ।

अन्य पक्षहरु

क) शुल्क, लागत, लाभकर ः सेयर किन्दा वा बेच्दा निश्चित दरमा ब्रोकर कमिसन (तालिका हेर्नुस्), सेवोनको शुल्क, डिपी शुल्क सहित बेचिएकाे सेयरकाे नाफामा व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशतका दरले पूँजीगत लाभकर तिर्नुपर्छ ।

कारोवार रकम (रु)

२०७३.०४.०६ – २०७७.०९.११ सम्म कमिसन (%)

२०७७ पुस १२ देखि
२०८१ बैशाख ३१ सम्म कमिसन (%)

२०८१ जेठ १ देखि कमिसन (%)

५०,००० सम्म

०.६ (न्यूनतम रु. २५)

०.४ (न्यूनतम रु. १०)

०.३६ (न्यूनतम रु. १०)

५०,००१ देखि ५,००,००० सम्म

०.५५

०.३७

०.३३

,००,००१ देखि २०,००,००० सम्म

०.५

०.३४

०.३१

२०,००,००१ देखि १,००,००,००० सम्म

०.४५

०.३०

०.२७

,००,००,००१ देखिमाथि

०.४

०.२७

०.२४


प्रत्येक कारोबार रकमको ०.०१५ प्रतिशत सेवोन शुल्क तथा एक दिनमा एउटा कम्पनीको जतिवटा कारोबार भए पनि २५ रुपैयाँ डीपी शुल्क पनि लाग्छ । तिरिएको ब्रोकर कमिसनको २० प्रतिशत हिस्सा नेप्सेले लिन्छ ।

म्युचुअल फण्डमा कारोबार रकमका आधारमा निम्नअनुसार कमिसन र ०.०१ प्रतिशत सेवाेनकाे शुल्क लाग्छ ।

कारोवार रकम (रु)

२०७३.०४.०६ – २०७७.०९.११ सम्म कमिसन (%)

२०७७ पुस १२ देखि
कमिसन (%)

,००,००० सम्म

०.३ (न्यूनतम रु. २५)

०.१५ (न्यूनतम रु. १०)

,००,००१ देखि ५०,००,००० सम्म

०.२५

०.१२

५०,००,००१ देखिमाथि

०.२

०.१०


डिबेन्चर कारोबार रकमका आधारमा निम्नअनुसार कमिसन र ०.०१ प्रतिशत सेवाेनकाे शुल्क लाग्छ ।

कारोवार रकम (रु)

२०७७ पुस १२ देखि
कमिसन (%)

,००,००० सम्म


०.१ (न्यूनतम रु. १०)

,००,००१ देखि ५०,००,००० सम्म


०.०५

५०,००,००१ देखिमाथि


०.०२


यसकाे अतिरिक्त रकम लिँदा र पठाउँदा कनेक्ट अाइपिएस वा भुक्तानी सेवा प्रदायककाे शुल्क लाग्ने अवस्थामा थप लागत अाउनेछ । त्यसैले १ सय रुपैयाँ किनेको सेयरको वास्तविक लागत करिब १ सय १ रुपैयाँ र १ सय मा बेच्दा करिब ९९ रुपैयाँ मात्र पाइन्छ । अर्थात् प्रभावकारी वा यथार्थ लागत र पाउने रकम फरक हुन्छ ।

किन्दा थपिने र बेच्दा काटिने शुल्कहरु
१. ब्रोकर कमिसन (०.४–०.२७%, घटिमा रु १०)
२. सेवोन शुल्क (०.०१५%)
३. डिपी शुल्क (रु २५ प्रति धितोपत्र प्रति दिन)
४. आइपिएस वा अरुको शुल्क (लाग्ने अवस्थामा)

२०७७ साउन १ देखि भारित अाैसत लागत (Weighted average cost - WACC) काे अाधारमा हुने मुनाफामा ५ प्रतिशत अग्रिम लाभकर कट्टि हुन्छ । त्यसभन्दा अगाडि खरिद मूल्य वा अाधार मूल्य (बेस रेट) र बिक्रि मूल्यकाे अाधारमा लाभकर लाग्दथ्याे । २०७८ साउन १ पछि धारित (हाेल्ड) अवधिकाे अाधारमा ३६५ दिनभन्दा बढि धारित (हाेल्ड) धिताेपत्रमा ५ प्रतिशत र त्यसभन्दा कम समय हाेल्डमा ७.५ प्रतिशत लाभकर लाग्नेछ । 

सेबाेनबाट २०८१ बैशाख २८ गते जारी सूचना

(ख) बुक क्लोज मिति : सूचीकृत कम्पनीहरूले लाभांश तथा हकप्रद तथा अन्य विशेष निर्णयका लागि लाभग्राही सेयरधनीहरूको सूची तयार गर्न बुकक्लोज मिति तोक्छ । बोनस तथा हकप्रद सेयर वितरण हुने अवस्थामा बुक क्लोज मितिको अघिल्लो दिनसम्म किनेका वा सेयरधारण गरेकाहरूले मात्र तोकिएको बोनस तथा हकप्रद पाउँछन् । अझ बोनस तथा हकप्रदको दरमा आधारमा मूल्यसमेत समायोजन हुने हुँदा बुकक्लोज मिति र समायोजित सन्दर्भ मूल्यमा निकै चनाखो रहनुपर्छ । थप जानकारीका लागि "सेयर किनबेच बुकक्लाेज अगाडि वा पछाडि" शीर्षककाे लेख पढ्नु हाेला । 

(ग) मूल्य तथा सेयरको भुक्तानी : विद्यमान नियमानुसार सेयर किनेको भोलिसम्ममा रकम र बेचेको अवस्थामा सेयर सम्बन्धित ब्रोकरकहाँ पुग्नुपर्छ । रकम चेक वा अनलाइनबाट अनि सेयर ‘मेरो सेयरबाट ईडीआईएस गरेर’ वा डीआईएस (डीपीबाट पाइने डेविट इन्स्ट्रक्सन स्लिप) बाट ब्रोकरलाइ दिन सकिन्छ । बेचेको सेयर जुनसुकै कारण तोकिएको समय (बेचेकाे भाेलिपल्ट, T+1) मा दिन नसके बेचिएको रकमको २० प्रतिशतले क्लोजआउट जरिवाना तिर्नुपर्ने हुन्छ । किनेकाे पैसा ढिला तिरेमा वा नतिरेमा के हुने भन्ने कुनै कानुनी कारवाहीकाे प्रावधान छैन, तर ताेकिएकाे समय भित्र रकम तिर्नु क्रेताकाे जिम्मेवारी हाे । कतिपय अवस्थामा रकम भुक्तानी नहुञ्जेल ब्राेकरले सेयर हस्तान्तरण राेक्ने गरेकाे पाइन्छ । थप जानकारीका लागि "धितोपत्रको कारोबार नगदी वा उधारो ?" शीर्षककाे लेख पढ्नु हाेला ।

२०७७ माघ ११ गतेबाट T+2 कार्यान्वयनमा अाउने हुँदा रकम र सेयर भुक्तानी चक्र यस अनुसार हुनेछः
  • T0 (काराेवार दिन) = किनबेच
  • T1 (दाेस्राे कार्यदिन) = किन्नेले पैसा (टिएमएस, कनेक्ट अाइपिएस वा चेकबाट) र बेच्नेले शेयर (मेराे शेयरबाट इडिअाइएस वा डिअाइएसबाट) ब्रोकरलाई हस्तान्तरण ।
  • T2 (तेस्राे कार्यदिन) = किन्नेबेच्ने ब्रोकरबिच शेयर र रकम लिनेदिने ।
  • T3 (चाैथाे कार्यदिन) = व्यक्तिले किनेकाे शेयर र बेचेकाे रकम पाउने । तर बिचमा सार्वजनिक विदामा विशेष परिस्थितिमा रकम र शेयर प्राप्तिमा केहि दिन लाग्नसक्छ । धेरै दिन भएमा क्लाेजअाउ परेकाे वा केहाे बुझ्न ब्राेकरसँग सम्पर्क गर्नुपर्छ ।

(घ) जोखिम वहन र व्यवस्थापन : सेयर लगानी र कारोबार सबैभन्दा जोखिमपूर्ण लगानी र व्यापार हो । यसमा कम्पनीको व्यवसाय र अर्थतन्त्रसँगै बजारको मूल्य तलमाथि हुँदाको गम्भीर जोखिम पनि गाँसिन्छ । त्यसैले अल्पकालीन लगानीमा बजारमा कम्पनीको सेयरको मूल्य र मूल्यमा प्रभाव पार्न सक्ने पक्षहरूको सूक्ष्म निगरानी तथा लक्षित नाफा वा घाटा बुक गर्नुपर्छ । दीर्घकालीन लगानीमा बजारको मूल्यभन्दा कम्पनीको व्यवसाय, व्यवस्थापन, मुनाफा, लाभांश, लागत र प्रतिफल, जोखिम लिने र व्यवस्थापन क्षमतामा ध्यान दिनैपर्छ । बढी मुनाफाको लोभमा आफ्नो क्षमताभन्दा बढी जोखिम लिएर सेयर कारोबार र लगानी निकै घातक हुन सक्छ । कतिपय अवस्थामा बिक्रियाेग्य (फ्रि ब्यालेन्स) भन्दा बढि धिताेपत्र बिक्री हुन सक्छ, जसले क्लाेजअाउटकाे जाेखिम (जरिवना) सिर्जना गर्नेछ ।
थप वा विस्तृत जानकारीका लागि पढ्नुपर्ने

काराेवार दैनिकमा २०७६ फागुन १८ गते  "सेयर (दोश्रो) बजारमा सेयर किनबेच कसरी गर्ने ?" शीर्षकमा प्रकाशित, https://www.karobardaily.com/news/idea/29595
Revised and/or updated: 10 May 2024 : NST 14:45

7 comments: