सेयर ‘
लगानी कि कारोबार’ अर्थात् ‘लगानीकर्ता कि कारोबारी’ सम्बन्धी विगतको चर्चा तन्किएर
क) लगानी बजारमा कि कम्पनीमा अर्थात्
ख) बेचेर कमाउने कि किनेर ? बहस हुन थालेको छ । लगानी र कारोबार नबुझे पनि लगानीकर्ताको परिचय बनाएका ‘सेयर कारोबारी-व्यापारी’को बाहुल्यता रहेको नेपाली धितोपत्र बजार ‘कमाउन बेच्न सक्नुपर्छ’ भन्ने बुझाइबाट परिचालित छ । उनीहरूको बुझाइमा नेबेची कमाइन्न, सेयरको कमाइ भनेकै बेचेर हुने पुँजीगत लाभमात्रै हो, बजारबाट लगानी हुन्न । कारोबारी मात्र होइन, ‘कम्पनीमा लगानी’को दाबा गर्ने लगानीकर्ता पनि लागत, लगानी, जोखिम र प्रतिफल व्यवस्थापनभन्दा बजार मूल्य हेर्दै मूल्यगत सेयर सम्पत्तिमा उत्तेजित र निराश हुँदै किनबेच गर्छन् । कारोबारी बजारमा माग र मूल्यको अनि लगानीकर्ता लगानी गरेको कम्पनीको जानकारी राख्दैनन् । जोखिम–लाभलाई उपेक्षा गर्छन् ।
‘बजारमा लगानी’ वा बेचेर कमाउने
आमबुझाइ र भनाइ नै सेयर बजारमा पैसा लगाउने अर्थात् ‘बजारमा लगानी’ । यसको अर्थ सेयरको किनबेच वा व्यापार अर्थात् मोलमोलाइ गर्दै सस्तोमा किनेर मुनाफासहित सकेको बढी मूल्यमा ‘बेचेर कमाउनु’ हो । अन्य वस्तु तथा सेवाको व्यापारभन्दा सेयरको व्यापार व्यावहारिक र चारित्रिक रूपमा फरक हुन्छ । राज्यको निकायबाट सञ्चालन र व्यवस्थापनसँगै नियमन हुने धितोपत्र बजारमा कानुनी सीमाभित्र प्रत्येक कारोबारमा मूल्यान्तर र उपलब्ध प्रणालीभित्र किन्ने र बेच्नेलाई किनबेचको स्वतन्त्रता रहन्छ । तर, मूल्य र किनबेच अनिश्चित हुन्छ । मोलमोलाइ गर्दै सस्तोमा किनेर मुनाफासहित बेच्नेले मात्र बजारमा कमाउँछ । त्यसैले बजारमा लगानीमा सबैभन्दा पहिले किन्ने र बेच्ने सीप जान्नैपर्छ । मोलमोलाइसँगै बजारीकरणको सीप र विद्यमान कारोबार प्रणाली, कानुनी प्रावधानको ज्ञान हुनैपर्छ ।
सेयरको व्यापार गर्दैगर्दा किनिएको सेयरको कुल लागत र अपेक्षित मुनाफासहितको बिक्री लक्ष्य हासिल गर्न पर्याप्त बजारीकरण अर्थात् मार्केटिङ र विज्ञापन गर्दै माग र आपूर्ति व्यवस्थापन क्षमता पनि राख्नुपर्छ । अन्य वस्तु तथा सेवाको भन्दा बजारीकरण विधि र प्लेटफर्म फरक होला तर सेयरको माग र मूल्य व्यवस्थापनमा बजारीकरणको भूमिकालाई नकार्न हुन्न । अहिले पनि बजारमा केही ठाटाबाठा सक्षम व्यापारीले आफूसँग उपलब्ध सेयरको विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रचारप्रसार गर्दै मूल्य बढाएर बेच्छन् भने माग र आपूर्तिमा खेल्दै चाहेको मूल्यमा किन्छन् । यसरी हुने वैधानिक मूल्यान्तरको खेल र किनबेचलाई कतिपयले चलखेल भन्दै विरोध गर्छन् । वास्तविक व्यापारीले कानुनी परिधिभित्र रहेर माग र आपूर्ति अनि मूल्यमा खेलेर किनबेच गर्दै नाफा कमाउनु व्यावसायिक धर्म नै हो । प्रणालीभित्र रहेर हुन सक्ने स्वार्थगत गतिविधिको सूक्ष्म निगरानी, नियमन र नियन्त्रण नियामकबाट हुनैपर्छ ।
बजारमा लगानी गर्दै गर्दा सेयरको कुल लागतसँगै समय र अन्य लागतमा ध्यान दिनुपर्छ । मूल्यान्तरले सिर्जना गर्ने मुनाफासँगै जोखिम अवस्थाको वैकल्पिक रणनीति तयार गर्नुपर्छ । कतिपय अवस्थामा बजारमा सेयरको माग र आपूर्ति बुझ्न नसक्दा वा उपलब्ध सेयरको उपयुक्त मूल्य कायम गर्न वा बिक्रीमा असमर्थ हुँदाको लागि घाटा न्यूनीकरण (स्टप लस)को लागि पनि तयार हुनैपर्छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसारको कारोबार प्रणाली र मूल्यान्तरको सुविधा भनिए पनि स्टप लस, सर्ट सेल, सापटी, अक्सन, फ्युचरका साथै हेजिङजस्ता घाटा व्यवस्थापन विकल्प-सुविधा नभएको अर्थात् किनेको सेयर र बेचेको रकम भुक्तानी हुनैपर्ने डेलिभरी प्रणालीमा आधारित नेपाली धितोपत्र बजारमा उच्च जोखिम र मुनाफाको सन्तुलन पनि जटिल हुन्छ । यहाँ कारोबारी स्वयंले चातुर्यतापूर्वक मोलमोलाइमा किनबेच, बजारीकरण, माग–आपूर्ति व्यवस्थापन गर्दै मूल्यान्तरमा खेलेर पुँजीगत लाभ निकाल्नुपर्नेछ ।
‘कम्पनीमा लगानी’ वा किनेर कमाउने
राज्यको नीतिगत व्यवस्थाका कारण चाहेर पनि सार्वजनिक निष्कासनमा सहजै र पर्याप्त सेयर किन्न नसकिने हुँदा ‘कम्पनीमा लगानी’ गर्न चाहने लगानीकर्ता सेयर किन्न सेयर बजारमा नै निर्भर हुन्छन् । अझ चाहेको समयमा खोजेको परिमाणमा सेयर पाउने र किन्ने सम्भावना पनि रहन्न । त्यसैले ‘कम्पनीमा लगानी’का लागिसमेत बजारबाट बिस्तारै सेयर किन्ने बाध्यता रहन्छ ।
‘कम्पनीमा लगानी’ गर्दै गर्दा किनबेचमा भन्दा बढी सतर्कता अपनाउनु र अध्ययन गर्नुपर्छ । कस्तो कुन सेक्टरको कम्पनी, लाभांश, प्रतिफल र जोखिम जोडिएर आउँछ भने त्यसको मुख्य आधार व्यावसायिक अवस्था, मुनाफा, प्रतिसेयर आय (ईपीएस), सेयरको किताबी मूल्य (नेटवर्थ), मूल्य–आम्दानी अनुपात (पीई), वार्षिक वृद्धिदर (ग्रोथ रेट) जस्ता केही तथ्यांकीय आधारसँगै प्रवद्र्धक, सञ्चालक, व्यवस्थापन, विगत र लाभांश अवस्था तथा नीति पनि केलाउनुपर्छ ।
दीर्घकालीन लगानीमा कम्पनीको संस्थागत सुशासन अर्थात् विद्यमान नियम–कानुनअनुसार साधारणसभा, कोषहरूको व्यवस्था, नियामकीय कारबाही हेर्नुपर्छ भने भावी रणनीति तथा योजना, प्रतिस्पर्धी क्षमता तथा बजारको अवस्था, नीतिनियमसँगै आर्थिक परिदृश्यसमेतलाई ध्यान दिनुपर्छ । यससँगै जोखिमवहन क्षमता, लगानीको स्रोत, नगद वा सेयर लाभांशको प्राथमिकता हेर्दै लागत र लाभको व्यवस्थापन तथा मूल्य अनुमानका लागि मूल्य–आय अनुपात (पीई), ग्राहम भ्यालु, मूल्य–नेटवर्थ (पीबी) जस्ता विधिको सहयोग लिन सकिन्छ । मध्यकालीन लगानीमा कम्पनीको व्यावसायिक अवस्थासँगै वित्तीय अवस्थामा आउन सक्ने परिवर्तन र त्यसको बजारमा मूल्यगत प्रभाव कसरी व्यवस्थापन गर्ने वा पुँजीगत लाभको अवसर कसरी उपयोग गर्ने रणनीति बनाउनुपर्छ ।
‘कम्पनीमा लगानी’ गर्दा एकैपटक चाहेजति सेयर नपाउने र नसकिने हुँदा उपलब्धताअनुसार किन्दै औसत लागत घटाउँदै ‘लगानीमा प्रतिफल (आरओआई)’ बढाउने नै हो । ‘कम्पनीमा लगानी’ गर्दा सेयर लाभांश, हकप्रद र सस्तोमा थप कित्ता किनेर औसत लागत घटाउँदै प्रतिफल बढाउने अवसर रहन्छ, जुन कारोबारमा सामान्यतः असम्भव हुन्छ । जस्तै, एक लगानीकर्ताले सस्तोमा किन्दै, सेयर लाभांश र हकप्रदबाट लागत व्यवस्थापन गर्दै निकै वर्षपहिले रु. १२ सय ८० मा किनेको एक बैंकको सेयरको भारित औसत लागत रु. ३ सय १७ मा झारेको छ, अझ नगद भुक्तानीका आधारमा खुद लागत त रु. २०० हाराहारी छ । कम्पनीले हालै घोषित लाभांशकै आधारमा हाल बजारबाट किन्नेको लाभांश प्रतिफल दर ३.२८ हुँदा उसको ४.७५ प्रतिशत हुन्छ । लागतमा आधारित हुँदै लगानी व्यवस्थापन गर्न सके बढी कमाउन सकिन्छ ।
बेचेर कि किनेर ?
सबैभन्दा पहिले बजार र कम्पनीमा लगानीको फरक बुझेर लगानी वा कारोबारसम्बन्धी ज्ञान र सीप हासिल गर्दै अवसर उपयोग र चुनौतीको सामनाको विकल्प र रणनीति बनाउने । ‘बजारको लगानी’मा अवस्थाअनुसार माग र आपूर्तिमा खेल्दै पुँजीगत लाभ अनि ‘कम्पनीको लगानी’मा लागत र जोखिम व्यवस्थापन गर्दै प्रतिफलमा केन्द्रित हुने । व्यापार र लगानी सिद्धान्त र रणनीति नमिसाउने, तर परिस्थितिअनुरूप लगानी संरक्षणका लागि सदैव तयारीमा रहने ।
बजारमा लगानी गर्दा माग र आपूर्ति, मूल्य अनि पुँजीगत लाभमा केन्द्रित हुँदै कति नाफा र घाटा सहने स्पष्ट भएर किनबेच गर्नैपर्छ । कारोबारीले बेचेरै कमाउने हो । कम्पनीको व्यवसाय, मुनाफा, लाभांश र प्रतिफलले सेयर मूल्य प्रभावित हुन्छ, तर कारोबारीको कम्पनीप्रति आशक्ति हानिकारक हुन सक्छ ।
‘कम्पनीमा लगानी’ गर्ने लगानीकर्ता बेचेर भन्दा प्रत्येक न्यून मूल्यमा सेयर किनेर लागत घटाउँदै लगानीमा प्रतिफल बढाउन अर्थात् कमाउन केन्द्रित हुनैपर्छ । कम्पनीको स्थायित्व र सबलतामा रमाउन अनि व्यवसाय र मुनाफामा समृद्धि र सन्तुष्टि खोज्नुपर्छ न कि बजारको तत्कालीन मूल्यगत लाभ–हानिमा उत्तेजित र निराश भएर लगानी निर्णय र व्यवस्थापन गर्न हतारो । बजारको उतारचढावभन्दा कम्पनीको व्यावसायिक अवस्था, मुनाफा, अनुपालन, सुशासनमा चिन्तित हुँदै प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता र सुझावबाट कम्पनीको प्रगतिमा सघाउनुपर्छ ।
हुन त समयअनुसार बेचेर र किनेर कमाउने मिश्रित विकल्प पनि रहन्छ । बेचेर तत्कालीन नाफा वा किनेर लागत घटाउँदै दीर्घकालीन प्रतिफल के र किन स्पष्ट हुँदै अवसर र चुनौतीको सामनाका लागि तत्पर रहनुपर्छ । सेयर कारोबार र लगानी दुवै उच्च जोखिमपूर्ण हुन्छ । जोखिम व्यवस्थापनको विकल्प र लागत फरक हुन्छ । जोखिमवहन र व्यवस्थापन गर्दै कारोबारीले पुँजीगत लाभ र लगानीकर्ताले लगानीमा प्रतिफल हासिल गर्छ । जोखिम क्षमताअनुसार मात्र लिनुपर्छ, अर्थात् घाँटी हेरर मात्र हाड निल्नुपर्छ ।
थप सम्बन्धित सामग्री