सामान्य अर्थमा सेयर भनेको कुनै कम्पनीको हिस्सेदारी हो । नेपाली बृहत् शब्दकोशअनुसार ‘सेयर’ भनेको कुनै साझा व्यापारमा लगाइएकाे सम्पत्तिको भाग वा हिस्सा हो । सेयर किन्नु भनेको त्यस्तो हिस्सेदारी लिनु हो । त्यसैले सेयर किन्नु भनेको उक्त संस्थाको व्यापार, व्यवसाय, उद्योग सञ्चालन र व्यवस्थापनको जिम्मेवारीसहित लाभ र हानिमा साझेदारी हो ।
सेयर भनेर यो आलेखमा साधारण सेयरका बारेमा जानकारी दिन खोजिएको छ । धितोपत्र (सेयर) बजारलाई नेपाल धितोपत्र बोर्डले नियमन गर्छ । बोर्डले पनि साधारण सेयरका बारेमा ब्याख्या गरेको छ । बोर्डले गरेको साधारण सेयरको चर्चा गर्नुअघि अग्राधिकार सेयरका बारेमा केही चर्चा गर्नैपर्ने भयो । अग्राधिकार सेयर भनेको पहिला नै तोकिएको दरमा सबैभन्दा पहिला लाभांश पाउने सेयरधनी हुन् । अग्राधिकार सेयरका बारेमा अर्काे प्रसंगमा थप चर्चा गरौंला ।
अब फेरि साधारण सेयरकै कुरा गरौं ।
नेपाल धितोपत्र बोर्डका अनुसार साधारण सेयर भनेको अग्राधिकार सेयरवालालाई तोकिएको लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गर्ने गरी जारी गरिएको धितोपत्र हो । साधारण सेयरमा लगानी गर्ने लगानीकर्तालाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ । र, उनीहरूलाई कम्पनीको स्वामी मानिन्छ । कम्पनीको स्वामीकाे हैसियतले साधारण सेयरवालाले बढी जोखिम उठाउनुपर्छ ।
साधारण सेयरमा दिइने लाभांशको दर निश्चित हुँदैन । कम्पनीले आर्जन गर्ने नाफाको घटबढअनुसार लाभांश पनि घटीबढी हुन सक्छ । अर्काेतर्फ कम्पनीले नाफा आर्जन गर्दैमा साधारण सेयरवालालाई लाभांश प्राप्त हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । अर्थात् साधारण सेयरमा लाभांश दिनैपर्ने बाध्यात्मक अवस्था हुँदैन । तर, कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना भने रहन्छ ।
लाभांशका रूपमा कम्पनीले साधारण सेयरवालालाई कम्पनीको आवश्यकता र संचालकको प्रस्तावमा साधारणसभाले पारित गरेर नगद र बोनस सेयर पनि वितरण गर्न सक्छ । बोनस सेयर भनेको कम्पनीले मुनाफालाई पुँजीकृत गर्न सेयरधनीले धारण गरेको सेयरका आधारमा थप रकम नलिई (करबाहेक) दिइने थप सेयर हो । बोनस सेयरबारे पनि यतिमै बिट मारौं ।
अब अलिकति कुरा डिबेन्चरको गर्नुपर्ने भयो ।
डिबेन्चरलाई नेपालीमा ऋणपत्र भनिन्छ । सोझो अर्थमा डिबेन्चर भन्नाले कम्पनीले ऋण लिएको भनेर बुझ्दा हुन्छ । कम्पनी वा व्यावसायिक संस्था वा सरकारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुँजी व्यवस्थापनका लागि रकम संकलन गर्न ऋणदाता वा साहू–महाजनसँग गरिने कबुलियत वा तमसुक नै डिबेन्चर हो । यो व्यक्ति–व्यक्ति वा व्यक्ति–बैंक वा कम्पनी र बैंकबीच ऋण लिएजस्तै हो ।
डिबेन्चरमा ऋणको अवधि, ब्याजदर, ब्याज गणना र भुक्तानीको तरिका र समय उल्लेख गरिएको हुन्छ, । यसको कार्यान्वयन कानुनतः बाध्यकारी हुन्छ । त्यसैले डिबेन्चर जारी गर्ने र किन्नेबीचको सर्तसहितको लिखित करार नै डिबेन्चर हो । यसमा तोकिएको दर र अवधिमा ब्याजका साथै समयावधि पछि सावाँ भुक्तानी हुने वा सर्तअनुसार हुने कानुनी सुनिश्चितता गरिएको हुन्छ ।
शब्दकोषका अनुसार (१) आसामीले ऋण लिएको प्रमाणस्वरूप साहूलाई लेखिदिने तमसुक, र (२) राष्ट्र बैंकद्वारा निर्धारित समयमा साँवा–ब्याज फर्काउने गरी समयसमयमा जारी गरिने वा खरिद–बिक्री हुने विभिन्न रकमको पत्रलाई ऋणपत्र भनिन्छ ।
डिबेन्चर सरकार वा व्यावसायिक संस्थाद्वारा जारी हुनसक्छ । सरकारी ऋणपत्रलाई सामान्यतः बन्ड भनिन्छ । यसको अवधि निजी व्यावसायिक संस्थाद्वारा जारी हुने कर्पोरेट डिबेन्चरभन्दा लामो अवधिको हुन्छ । तुलनात्मक रूपमा बन्ड ऋणपत्रभन्दा बढी सुरक्षित मानिन्छ ।
डिबेन्चरबारे पनि यति नै चर्चा गरौं ।
फेरि साधारण सेयरधनीकै कुरा गरौं । सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिबेन्चरवाला र अग्राधिकार सेयरवालालाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेपछि बाँकी रकम मात्र साधारण सेयरवालाले दाबी गर्न सक्छन् । यसकारण साधारण सेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको हो । बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम पनि उठाउन तयार हुने लगानीकर्ता (एग्रेसिभ इन्भेष्टर) का लागि मात्र साधारण सेयर उपयुक्त मानिन्छ ।
हालको प्रचलित व्यवस्थाअनुसार साधारण सेयरको अंकित मूल्य साधारणतः प्रतिकित्ता सय रूपैयाँ छ । कथंकदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठूलो दायित्व ब्यहोर्नुपर्ने भएमा पनि साधारण सेयरवालाको दायित्व उनीहरूले लगानी गरेको रकमसम्ममै सीमित हुन्छ । अर्थात् आफूले सेयर किनेको कम्पनी कुनै कारणवश ठूलो नोक्सानीमा गएर कसैलाई कुनै प्रकारको रकम तिर्नु बुझाउनुपर्ने अवस्था आयो भने पनि साधारण सेयरवालाले थप रकम तिर्नु पर्दैन । धेरै जाने भनेको आफूले किनेको सेयर भुस हुने मात्रै हो । आफ्नो घरघरानाबाट तिर्नु बुझाउनु पर्दैन ।
सेयर किनबेच हुने बजारलाई स्टक एक्सचेन्ज भनिन्छ । यस्ता एक्सचेन्ज एक वा सोभन्दा बढी पनि हुन सक्छन् । नेपालमा भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मात्रै छ । नेप्सेले तयार गरेको सचेतना सामग्रीमा पनि साधारण सेयरको चर्चा गरिएको छ । नेप्सेका अनुसार ‘साधारण सेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानीभन्दा बढी जोखिमपूर्ण मानिन्छ । किनभने यसमा लाभांशको ग्यारेन्टी गरिएको हुँदैन । त्यसैगरी सेयरको बजार मूल्य सधैं बढिरहन्छ भन्ने पनि निश्चित हुँदैन ।’
अब कुरा के प्रष्ट भयो भने सेयरमा लगानी भनेको नाफा मात्र होइन । कम्पनीको व्यावसायिक सफलता र असफलताको जिम्मेवारी एवम् त्यसबाट सिर्जित नाफाघाटामा हिस्सेदारी पनि हो । कुनै पनि व्यवसाय जोखिमपूर्ण हुन्छ । लगानीकर्ता अर्थात् सेयरधनीले सोही जोखिम वहन र व्यवस्थापन गरेबापत प्रतिफलका रूपमा लाभांश प्राप्त गर्दछन् ।
कानुनतः कुनै व्यक्तिले कम्पनीको एक कित्ता सेयरधारण गरेको अवधिसम्म निजलाई कम्पनीको सेयरधनीका रूपमा चिनिन्छ । सोहीअनुरुप कानुनी व्यवहार अपनाइन्छ । तर, व्यवहारमा धेरैले (क) निश्चित नाफा लिएर वस्तुका रूपमा विक्री गर्न, वा (ख) केही लाभांश हासिल गर्न सेयर किनिरहेका हुन्छन् । तर, सेयरधनीको रूपमा कम्पनी संचालन, व्यवस्थापन र नीतिगत निर्णयमा सहभागिताको जिम्मेवारी लिन तयार हुन्नन् । उनीहरूको व्यवहार जेजस्तो भए तापनि कम्पनीले कारोबारी, लगानीकर्ता वा सेयरधनी सबैलाई सेयरधनीको रूपमा नै चिन्दछ ।
यहाँसम्म आइपुग्दा कारोबारी र लगानीकर्ता भेटियो । अब कारोबारी को हुन् भन्नेबारेमा पनि चर्चा गरौं ।
केही नाफाका लागि वस्तु तथा सेवाको किनबेच वा कारोबार गर्ने व्यक्ति वा संस्थालाई नै कारोबारी भनेर बुझ्न सकिन्छ । धितोपत्र बजारमा पनि कानुनतः सेयरधनी भनेर चिनिएको एउटा तप्का सेयरलाई केवल वस्तुका रूपमा किनबेच गर्दछ । निकै अल्पकालीन अवधिका लागि लगानी गर्ने र पुँजीगत लाभ अर्थात् मूल्यान्तरको लाभका लागि सेयरको किनबेच गर्ने यस्ता सेयरधारकको चासो कम्पनीको व्यवसाय, व्यवस्थापन, नाफाभन्दा बजार मूल्य, माग र आपूर्तिमा रहन्छ । उनीहरूको रणनीति नै सस्तोमा किनेर महँगोमा बेच्ने वा आज किनेर केही दिनमा बेच्ने हुन्छ । यिनीहरू सेयरधारण गरेर बस्दैनन् । निश्चित अवधिमा नाफा हात पार्ने (प्रोफिट बुक) वा नोक्सानी अब नबेहोर्ने (स्टपलस) विधि अपनाउँछन् । यिनीहरूले बजारलाई चलायमान गराउन र मूल्यगत अवसर एवम् जोखिम सिर्जना गर्नुका साथै सेयरलाई तरलता प्रदान गरिरहेका हुन्छन् ।
कारोबारीले कम्पनीको आधारभूत पक्ष, वित्तीय विवरण र सम्भावित लाभांसको आधारमा नभई मूलतः प्राविधिक विश्लेषण (टेक्निकल एनालाइसिस) का आधारमा किनबेच गर्ने वा माग र आपूर्ति व्यवस्थापन गर्दै सेयर किनबेच गर्नुपर्छ । बजार अनुसार चल्न वा किनबेच गर्न नसकेको अवस्थामा मूल्यगत पासो (बुल वा बियर ट्रयाप) मा फस्ने वा ठूलो नोक्सानी ब्यहोर्न बाध्य हुने सम्भावना रहन्छ ।
अब लगानीकर्ताबारे चर्चा गरौं ।
सेयर कारोबारीको तुलनामा केही लामो अवधि (मध्यकालीन)का लागि सेयरधारण (होल्ड) गर्ने क्षमता र रणनीति अपनाउने सेयरधारकलाई लगानीकर्ता भन्न सकिन्छ । यिनीहरूको सेयर किन्नुको मूल उद्देश्य लाभांश हुन्छ । लगानीकर्ताले केही अवस्थामा पुँजीगत लाभ र हानि पनि स्वीकार्छन् । यिनीहरूले कम्पनीको सेयरमा लगानी गर्दा मूलतः कम्पनीको व्यवसाय, व्यवस्थापन, संचालक, नाफा, लाभांश क्षमता र विगतको लाभांश प्रवृत्तिजस्ता आधारभूत पक्षहरू (फन्डामेन्टल एनालाइसिस)को विश्लेषण गर्दै लगानी निर्णय गर्छन् ।
लगानी गर्दा जोखिम लिने क्षमता, लगानी रकमको स्रोत र अवधि तथा अपेक्षित नाफाजस्ता विषयलाई ध्यान दिइन्छ । केही हदसम्म सम्भावित मूल्यगत नाफाको सम्भावना पनि खोजिन्छ । लगानीकर्ताहरू कम्पनीको त्रैमासिक वा वार्षिक वित्तीय विवरणका आधारमा लगानी व्यवस्थापन अर्थात् एउटा कम्पनीबाट तुलनात्मक बढी लाभको अर्को कम्पनीमा लगानी सार्न पछि हट्दैनन् ।
कानुनी रूपमा हेर्दा साधारण सेयर धारण गर्ने व्यक्ति पनि कम्पनीको सेयरधनी नै हो । तर, नेपालको सन्दर्भमा फरक परिवेश छ । नेपाली सन्दर्भमा सेयरधनी भनेका को हुन् भनेर चर्चा गर्नुपर्ने भयो ।
नेपाली धितोपत्र बजारको सन्दर्भमा कम्पनीको संस्थापक वा ठूला (आधारभूत) सेयरधनीलाई मात्र वास्तविक सेयरधनीको रूपमा बुझ्नु उपयुक्त हुन्छ । सेयरधनीले कम्पनीको लाभ र हानिका लागि जिम्मेवारी लिँदै कानुनी दायरामा रहेर कम्पनीको संचालन र व्यवस्थापनको जिम्मेवारी समेत उठाउँछन् । सेयर किन्दा नै दीर्घकालीन अवधिलाई ध्यानमा राखेर किन्छन् ।
सेयरधनीको उद्देश्य कम्पनीको व्यवसाय विस्तार र चुस्त व्यवस्थापनबाट वस्तु तथा सेवा विक्रीबाट प्राप्त नाफामा वृद्धि गर्दै उच्चतम नाफा र लाभांश हासिल गर्ने रहन्छ । सेयरधनीहरू कम्पनीमा देखिने कुनै पनि जोखिमसँग डराएर भाग्नेभन्दा त्यस्ता जोखिम व्यवस्थापन र संचालनमा आफैं अगाडि सर्छन् वा संचालक र व्यवस्थापनसँग सहकार्य गर्दछन् । यिनीहरूले विशेष परिस्थितिमा बाहेक सामान्यतः आफूले धारण गरेको कम्पनीको सेयर बिक्रीबाट नाफाको अपेक्षा गर्दैनन् ।
यसरी कानुनी रूपमा कारोबारी, लगानीकर्ता र सेयरधनीलाई एकै रूपमा बुझिँदै गर्दा व्यावहारिक रूपमा लगानीको उद्देश्य, अवधि, जोखिमवहन क्षमता, जिम्मेवारी जस्ता विभिन्न पक्षमा फरक देख्न सकिन्छ । सामान्यतः कारोबारीलाई कम्पनीको खासै मतलब हुन्न भने लगानीकर्ताले केही हदसम्म कम्पनीको स्थायित्व, व्यवसाय र नाफालाई आत्मसात गरेको हुन्छ । सेयरधनीले भने कम्पनीलाई आत्मसात् गर्दै त्यसको पूर्ण स्वामित्व र उत्तरदायित्वसमेत लिएको हुन्छ ।
सेयरमा लगानीको पहिलो चरणमा लगानीकर्ता वा सेयरधनी बन्न त्यति सहज नहुन सक्छ । तर, कारोबार गर्दै सेयरको जोखिम रनाफा बुझ्दै क्रमिक रूपमा लगानीकर्ता र सेयरधनी भने बन्न सकिन्छ । अल्पकालीन रूपमा कारोबारमा देखिने तत्कालीन नाफा धेरैजस्तो देखिए पनि लगानीकर्ताले गर्ने धनको संग्रह/वृद्धि (वेल्थ एक्युमुलेसन) र नियमित आय निकै बढी हुन्छ । अझ सेयरधनी भएर कम्पनी संचालन र नाफा प्राप्त गर्दाको आत्मसन्तुष्टिलाई रुपैयाँमा तुलना गर्न सकिन्न । कारोबारी र लगानीकर्ताको नाफा र जोखिम कम्पनीको वास्तविक सेयरधनीमा निर्भर रहन्छ । सेयरधनीले आफैं कम्पनी संचालन वा स्वामित्व लिएर आफैं संचालन र नाफा वितरण गर्दछ ।
सूचीकृत (स्टक एक्सचेन्जमा सेयर खरिद विक्री हुने) कम्पनीको सेयर खरिद गर्दासमेत आफू कारोबारी, लगानीकर्ता वा सेयरधनी के बन्ने भन्ने निर्क्याेल गरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । यहाँ सेयरधनी भन्नेबित्तिकै कम्पनीका संचालक वा प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्ने होइन । सेयर किनबेचको प्रवृत्ति, लगानी अवधि, नाफा लिने तरिकाले पनि सेयरधनी बन्न सकिन्छ । सेयरधनीले कम्पनीमा हरदम समय दिन नसके पनि आवश्यक अवस्थामा सहकार्य र सुझाव दिन तथा कम्तिमा साधारणसभाको समयमा एजेण्डाहरूमा छलफल तथा संचालक र व्यवस्थापनलाई सुझाव दिन सकिन्छ ।
अन्त्यमा, सेयर लगानी मनचिन्ते झोलाजस्तो हो, जसमा आफ्नो क्षमता र आवश्यकताअनुसार अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन लगानी गर्न सकिन्छ । र, लाभांश तथा पुँजीगत लाभ लिन सकिन्छ । यसबाट मुद्दती बचतको जसरी ब्याज खाएर बस्न वा वस्तु तथा सेवाको जसरी किनबेच गर्न गरेर नाफा कमाउन सकिन्छ । यस्तै, आफ्नै कम्पनी हुँदा आफैं वा कर्मचारी राखेर संचालन गर्न पनि सकिन्छ । यति लचकतापूर्ण सेयर लगानीको बुद्धि पुर्याउँदा लगानीको भरपर्दो विकल्प हो भने लहलहैमा लाग्दा जुवाजस्तो पनि हो ।
अनलाईन पत्रिका शिलापत्र डटकममा २०७६ मंसिर १२ गते
https://shilapatra.com/detail/15453
No comments:
Post a Comment