Sunday, November 25, 2018

बैैंकहरूको जगेडा कोष : सुन्निएको कि मोटाएको ?

बैंकहरूले आव ७४/७५ को अन्तिम त्रैमासिक वित्तीय विवरण एनएफआरएस विधिबाट प्रकाशन सुरु गरेसँगै प्राय: बैंकहरूको जगेडा कोषमा उल्लेख्य वृद्धि देखिएको छ । बलियो जगेडा कोषसँगै बैंक र लगानीकर्तामख्ख परे । कमाएर भन्दा नयाँ लेखामापदण्ड (नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम— एनएफआरएस) अनुसार सम्पत्ति र लगानीको पुन:मूल्यांकन हुँदा करिब ५७ अर्व ३६ करोडले बढेको बैंकहरूको जगेडा कोष तीन महिनामा नै ७ अर्ब ८३ करोडले खुम्चिएको छ । यसले जगेडा कोष केवल सुन्निएर बढेको वा साँच्चिकै मोटाएको भन्ने आशंकासँगै नेटवर्थको विश्वसनीयतामा प्रश्न उठेको छ । 

जगेडा कोषभित्रका काेषहरू 

‘बैंकतथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया)को दफा ४४ मा ‘साधारण जगेडा कोष’ र दफा ४५ मा ‘सटही समीकरण कोष’को व्यवस्था गरिएको छ । यस्तै नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त संस्थाहरूलाई जारी गरिएको ‘एकीकृत निर्देशन २०७५’ को लेखानीति तथा वित्तीय विवरण ढाँचा सम्बन्धी व्यवस्थामा जगेडा कोषर सो अन्तर्गतका निम्न कोषसम्बन्धी प्रस्ट्याइएको छ । 

क) साधारण जगेडा कोष : बाफियाको दफा ४४ बमोजिम बैंक वा वित्तीय संस्थाले एकसाधारण जगेडा कोष कायम राख्नुपर्नेछ । त्यस्तो जगेडा कोषमा चुक्ता पुँजीको दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तीमा २० प्रतिशत र त्यसपछि कम्तीमा १० प्रतिशत रकम थप्दै जानुपर्नेछ । यसमा जम्मा रकमबाट बोनस सेयर वा नगद लाभांश दिन मिल्दैन । जम्मा रकम राष्ट्र बैंकको पूर्वस्वीकृति नलिई अन्य शीर्षकमा रकमान्तर गर्न वा खर्च गर्न पाइने छैन । 

ख) सटही समीकरण कोष: यो पनि बैधानिक कोष हो । विदेशी विनिमय कारोबार गर्ने बैंकवा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षमा भारतीय रुपैयाँ बाहेकअन्य विदेशी मुद्राको विनिमय दरमा परिवर्तन भएको कारणबाट आर्जन गरेको पुनर्मूल्याङ्कन मुनाफाको कम्तीमा २५ प्रतिशत रकम सटही समीकरण कोषमा जम्मा गर्नुपर्नेछ । 

ग) यथोचित मूल्य (फेयर भ्यालु) कोष: वित्तीय सम्पत्तिको फेयर भ्यालुमा मूल्यांकनबाट सिर्जित रकम र त्यसमा भएको परिवर्तन यस कोषमा देखाउनुपर्नेछ । 

घ) सम्पत्ति पुन:मूल्यांकन कोष: इन्भेस्टमेन्ट प्रपर्टी, इन्ट्यान्जिवल एसेट्स, धनसम्पत्ति र मेसिन औजार आदिको पुन:मूल्यांकनबाट सिर्जित रकम यस कोषमा रहनेछ । 

ङ) पुँजीगत जगेडा कोष : पुँजीबाहेकका पुँजीका रुपमा गणना गर्न मिल्ने तर नगद लाभांशका रुपमा वितरण गर्न नमिल्ने रकम यस कोषमा रहनेछ । 

च) पुँजीगत जगेडा कोष : पुँजीबाहेकका पुँजीका रुपमा गणना गर्न मिल्ने तर नगद लाभांशका रुपमा वितरण गर्न नमिल्ने रकम यस कोषमा रहनेछ । 

छ) विशेष कोष : नेपाल राष्ट्र बैंकबाट तोकिएबमोजिम वा निर्देशनमा सिर्जित रकम यस कोषमा रहनेछ । 

ज) पुँजी फिर्ता कोष : अपरिवर्तनीय अग्राधिकार सेयरको भुक्तानीका लागि सिर्जित वैधानिक रकमहरू यस कोषमा रहनेछ ।

झ) लाभांश समीकरण कोष : लाभांशलाई सन्तुलित बनाउन वार्षिक मुनाफाबाट केही रकम यस कोषमा सार्न सकिनेछ । संचालक समिति र साधारण सभाको स्वीकृतिमा यस कोषको रकमबाट लाभांश बाँड्न पाइनेछ ।

ञ) पुँजी समायोजन/समीकरण कोष : पुँजी वृद्धि गर्ने प्रयोजनका लागि मुनाफाबाट छुट्याइएको वा अग्रिम भुक्तानी प्राप्त रकम यस कोषमा रहने छ ।

ट) सामाजिक उत्तरदायित्व कोष: मुनाफाबाट तोकिएको दरमा सामाजिक कार्यका लागि छुट्याइएको रकम यस कोषमा रहनेछ ।

ठ) लगानी समायोजन कोष: यो नियामकीय कोष हो । बैंकको लगानीमा मूल्य घटबढका कारण नकारात्मक असर पर्न नदिन नेपाल राष्ट्र बैंकको निर्देशनमा छुट्याइएको रकम यस कोषमा रहने छ ।

ड) एक्च्युरियल नाफा/घाटा कोष: एक्च्युरी मूल्यांकनका आधारमा कर्मचारीको दायित्वमा सिर्जित नाफा वा घाटा यस कोषमा रहनेछ ।

ढ) नियामकीय कोष : नेपाल राष्ट्र बैंकबाट एनएफआरएस कार्यान्वयनको सिलसिलामा मुनाफा वा संचित कोषबाट रकमान्तर गरिएको रकम यस कोषमा रहनेछ । यसमा प्राप्त हुन बाँकी ब्याज आम्दानी, नेपाल राष्ट्र बैंकको प्रचलित गणना विधि बमोजिमको खराब कर्जा र एनएफआरएसमा इम्पेरिमेन्ट बमोजिमको ऋण वा अग्रिम भुक्तानीको फरक रकम, करको फरक रकम, कम्प्रेहेन्सिभ आम्दानीको वास्तविक घाटा, एनएफआरएस अनुसार स्वीकारिएको साख (गुडविल) बापतको रकम रहनेछ । कोषको रकमलाई बोनस सेयर वा नगद लाभांश वितरणका लागि उपलब्ध मानिने छैन् ।

ण) अन्य जगेडा कोष: माथि उल्लेखितबाहेक कुनै विशेष कार्यका लागि उल्लेख गरी वा नगरी सिर्जित कोष अन्य कोषका रुपमा रहनेछ । यसका अतिरिक्त सामान्यत : अपरिष्कृत वित्तीय विवरणअनुसारको मुनाफारकमसमेत बाँडफाँड नहुँदासम्म जगेडा कोषमा नै समावेश गरिएको हुन्छ । 

जगेडा कोषकाे घटबढ 

तत्कालीन लेखा विधिअनुसार नेपाल इन्भेस्टमेन्ट बैंकसँग सबैभन्दा बढी ११ अर्ब ६६ करोड रुपैयाँको जगेडा कोष देखाएकोमा एनएफआरएसले नेपाल बैंकसँग सबैभन्दा बढी २४ अर्ब ७ करोड रुपैयाँको जगेडा कोष देखायो । नेपाल बैंकको जगेडा कोष २५४ प्रतिशतले बढ्दा समग्र बैंकहरूको जगेडा कोष औसतमा ४३ प्रतिशत अर्थात् करिब ५७ अर्ब ३६ करोडले बढ्यो । सेञ्चुरी कमर्सियल बैंकको भने करिव ३६ करोड अर्थात् २४ प्रतिशतले जगेडा कोष घट्यो । आधिकारिक रूपमा नबताइए पनि एनएफआरएस अनुसार सम्पत्ति र लगानीको पुन:मूल्यांकन हुँदा बैंकहरूको जगेडा कोष बढेको स्पष्ट थियो । 

तर हालै प्रकाशित असोज मसान्तको वित्तीय विवरणअनुसार नेपाल, कृषि विकास, प्रभु र सिटिजन्सको जगेडा कोष असार मसान्तभन्दा १ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ जबकि बैंकहरूले प्रथम त्रैमासमा करोडौं कमाए छन् । अझ नेपाल बैंकले एफपिओको प्रिमियमबाट थप ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रकम कमाएको छ । सबै बैंक नाफामा रहँदा र एनएमबीबाहेक अरुले लाभांश वितरण नगर्दा पनि १७ बैंकहरूको जगेडा कोष गत असारमसान्तको भन्दा घटेको छ । जसरी बैंकहरूले असारमा जगेडा कोष बढ्नुको कारण बताएनन्, अहिलेको घट्नुको कारण पनि बताउनु आवश्यक ठानेनन् । लगानीकर्ताहरूले पनि चासो राखेनन् । 

तालिकाः बैंकहरूकाे जगेडाकाेषमा देखिएकाे घटबढ
बैंक
जगेडाकोषको अवस्था
नेटवर्थको अवस्था
७४/७५ चौथो त्रैमास (विगत विधी, रु. अर्बमा)
७४/७५ चौथो त्रैमास (एनएफआरएस  विधी, रु. अर्बमा)
घटबढ
(प्रतिशतमा)
७५/७६
प्रथम त्रैमास
(रु. अर्बमा)
चौथोबाट प्रथम त्रैमासमा घटबढ (रु. अर्बमा)
७४/७५ चौथो त्रैमास (विगत विधी, रु. मा)
७५/७६
प्रथम त्रैमास (रु.)
नेपाल
६.८०
२४.०७
२५३.८१
१९.६१
(४.४७)
१८५
३००
नेपाल इन्भेष्टमेन्ट
११.६६
१४.८६
२७.४१
१५.६४
०.७९
२१०
२४७
कृषि विकास
११.५४
१६.७३
४५.००
१४.७०
(२.०४)
२३२
२७३
नविल
१०.०७
१२.८३
२७.३९
१३.८८
१.०५
२२५
२७२
राष्ट्रिय बाणिज्य
८.०५
१३.१०
६२.७९
१२.५५
(०.५५)
२३९
एनएमबी
८.७०
९.१९
५.७१
८.७२
(०.४७)
२१४
२००
एभरेष्ट
६.३०
७.८१
२३.९८
८.६३
०.८३
१७८
२०७
हिमालयन
६.०९
७.३३
२०.४४
६.८९
(०.४४)
१७५
१८५
स्ट्याण्डर्ड चार्टड
५.८९
६.२४
५.९९
६.७९
०.५५
१७३
१८५
बैंक अफ काठमाण्डू
५.०६
६.३५
२५.६६
५.९६
०.३९
१९०
१८४
ग्लोवल आईएमई
४.५७
५.८६
२८.२५
५.७४
(०.१३)
१५१
१६५
सिद्धार्थ
४.२७
५.८५
३६.९१
५.६३
(०.२२)
१५१
१६६
नेपाल एसबिआई
४.७२
४.७५
०.६१
५.२६
०.५१
१५९
१६५
एनआईसी एसिया
३.२३
४.१९
२९.६४
५.१०
०.९०
१६२
नेपाल क्रेडिट एण्ड कमर्स
२.८६
५.१६
८०.१६
४.९१
(०.२५)
१६१
२०५
प्रभु
३.४२
५.८७
७१.४८
४.८६
(१.०१)
१७१
१५९
लक्ष्मी
२.५३
३.५७
४१.२८
४.११
०.५४
१४३
१४३
नेपाल बंगलादेश
३.४७
३.८६
११.२६
४.०६
०.२१
१४३
१४६
प्राइम कमर्सियल
३.२९
३.७१
१२.७२
३.९८
०.२६
१४१
१४९
कुमारी
३.१६
४.५३
४३.२९
३.९५
(०.५८)
१४४
१५५
सनराइज
३.०५
४.६९
५३.८३
३.७३
(०.९६)
१३७
१४६
सिटिजन्स इन्टरनेसनल
२.७७
४.६२
६६.८९
३.३३
(१.२९)
१३४
१४१
सानिमा
२.७५
३.२९
१९.७९
३.३०
०.०२
१३४
१४१
मेगा
२.११
२.८३
३४.२८
२.८१
(०.०२)
१२०
१२७
माछापुच्छ्रे
२.१९
२.७३
२४.५६
२.६९
०.०३
१२७
१३३
जनता
१.७३
३.१४
८१.८५
२.३५
(०.७९)
१२२
१२९
सिभिल
१.४१
२.२३
५८.१४
२.०५
(०.१७)
१६४
१२६
सेञ्चुरी कमर्सियल
१.४६
१.१०
(२४.४२)
१.३८
०.२८
११८
११७
कुल
१३३.१३
१९०.४९
४३.०९
१८२.६६
(७.८३)



ध्यान दिनुपर्ने कुरा
१.
बलियो जगेडा कोषले वित्तीय सवलतासँगै आपत्कालीन जोखिमवहनका लागि सक्षमता प्रस्तुत गर्नुका साथै प्रतिसेयर नेटवर्थ बढाउँछ ।

२. जगेडा कोषको आधारमा नै प्रतिसेयर विद्यमान वित्तीय अवस्था वा किताबी मूल्य वा सेयरधनीको इक्विटी दर्साउने नेटवर्थको गणना हुन्छ । कम्पनीको बजारमूल्यसँग नेटवर्थको तुलना गरी किनबेचको उपयुक्तता र प्राथमिकता निर्धारण तथा लगानी निर्णय गर्ने चलन भएपनि जगेडा कोष र नेटवर्थको शुद्धतामा थप सचेत हुनुपर्ने देखिन्छ ।

३. नयाँ लेखा विधि (एनएफआरएस) कार्यान्वयनको सिलसिलामा यथोचित मूल्य (फेयर भ्यालु), सम्पत्ति पुन:मूल्यांकन, एक्च्युरियल नाफा/घाटा, नियामकीय कोषजस्ता कोषहरू थपिएर पनि जगेडा कोष आकार बढे पनि सबै रकम सेयरधनीको इक्विटी नहुन पनि सक्छ ।

४. जगेडा कोषको आकारसँगै साधारण जगेडा, संचित नाफा वा घाटा, लाभांश समीकरण, पुँजीगत जगेडा, पुँजी फिर्ता, सेयर प्रिमियमजस्ता कोषहरू लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ ।यि विवरण बैंकहरूले वेबसाइटमार्फत प्रकाशित गर्ने वासेल रिपोर्टमा हुन्छ ।

५. नियामकले प्रकासित वित्तीय विवरणको शुद्धता कायम गर्नेतर्फ थप सचेत गराउँदै जगेडा कोष, नेटवर्थ, प्रतिसेयर आम्दानी, प्रतिसेयर सम्पत्तिमा प्रतिफल (आरओए), इक्विटीमा प्रतिफल (आरओई) जस्ता आधारभूत सूचकमा कम्पनीहरूलाई थप जिम्मेवार बनाउनुपर्छ । त्रैमासिक विवरणमा उल्लेख्य रूपमा जगेडा कोष घट्नुको कारणमात्र होइन, नेपाल, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैंकले नेटवर्थको जानकारी दिन आवश्यक ठानेनन् । कृषि विकास बैंकले केही दिनपछि प्रकासित गरेको नेटवर्थ समेत गलत थियो । प्राय: बैंकले आरओए र आरओई नै उल्लेख गरेनन् ।

अन्त्यमा, जगेडा कोष र नेटवर्थको रकमसँगै विवरणको प्रकाशन र शुद्धता निकै महत्वपूर्ण हुन्छ । गलत विवरणको आधारमा निस्कने नतिजा र निर्णयले ठूलो नोक्सानीको सम्भावनातर्फ लगानीकर्ता र नियामक समयमा नै सचेत र सजग हुनुपर्छ ।

काराेवार राष्ट्रिय दैनिकमा २०७५ मंसिर ९ गते प्रकाशित, https://karobardaily.com/news/idea/12997

No comments:

Post a Comment