Sunday, January 15, 2017

न्यूरोडको जग्गा सरकारी रेटमा खोजेर पाईन्छ ? सन्दर्भ :एफपिओको


पछिल्ला दिनमा नेपाली शेयर बजारमा फर्दर पब्लिक अफरिङ (एफपीओ) को चर्चा बढ्दोछ । केहि आकर्षक कम्पनीहरुले एफपीओ निष्कासन गरेपछि यस्तो शेयरको मूल्यका बारेमा बिभिन्न कोणबाट लगानीकर्ताहरुले विचार पोख्नु स्वाभाविक पनि हो । यो आलेख यहि बिषयमा केन्द्रित छ र एफपीओको मूल्यका सन्दर्भमा यसमा विमर्श गरिएको छ ।

एफपिओ निष्काशनको लहर

एफपीओ माथिको चर्चाको थालनी इनिसियल पब्लिक अफरिङ (आईपीओ) अर्थात् प्राथमिक सार्वजनिक निष्कासनको परिभाषाबाट थालनी गर्नुपर्छ । सार्वजनिक कम्पनीहरुको स्थापना संस्थापक शेयरधनीहरुबाट हुन्छ र उनीहरुले नै पहिलो लगानी गरेर कम्पनीको शुरु गर्दछन् । व्यवसायको विस्तार वा कानुनी आधारमा कम्पनीहरुले त्यसपछि सर्वसाधारणलाई पनि कम्पनीमा शेयरधनी बनाउन सार्वजनिक निष्कासन मार्फत लगानीको आव्हान गर्दछन् । यसलाई आइपिओ अर्थात् इनिसियल पब्लिक अफरिङ र नेपालीमा प्राथमिक सार्वजनिक निष्कासन भनिन्छ । विभिन्न क्षेत्रका सार्वजनिक कम्पन अनुसार यस्तो आइपिओ ल्याउने आधार, प्रतिशत र समय फरकफरक छन् र सबै सार्वजनिक कम्पनीहरुले निष्कासन गर्नेपर्ने कानुनी बाध्यता पनि छैन ।

हो, यहि आईपीओ मार्फत पुँजी जम्मा पारेर व्यापार गर्ने क्रममा नाफा कमाएको कम्पनीले थप पुँजी संकलन गर्नुपर्यो भने एफपीओ निष्कासन गर्छन् । यस्तो एफपिओको दरमा दुईवटा मूल्य जोडिएको हुन्छ एउटा अंकित मूल्य र अर्को प्रिमियम । एफपिओबाट संकलित लगानीबाट अंकित मूल्य सिधै पुँजीकरण हुन्छ अर्थात् चुक्ता पुँजीमा जोडिन्छ भने प्रिमियम रकम शेयर प्रिमियम वा जगेडा कोषहरुमा राखिन्छ । यस्तो प्रिमियम रकमको उपयोग कहाँ, कसरी र कहिले गर्ने भन्ने सम्बन्धमा कम्पनी, कानुन र नियामको व्यवस्था अनुसार फरक हुनसक्छ । बैंक तथा वित्तिय संस्थाहरुको हकमा हालको व्यवस्था अनुसार संकलित प्रिमियम रकम कम्पनीको पुँजी बढाउने प्रयोजन अर्थात् बोनस शेयर दिने बाहेक अन्य काम जस्तो नगद लाभांश वितरणमा प्रयोग गर्न पाइदैन ।

हालैका वर्षहरुमा पहिले सार्वजनिक निष्कासन मार्फत पुँजी संकलन गरिसकेको सूचिकृत कम्पनीहरुले एफपिओ मार्फत थप पुँजी संकलन गर्न बहार नै चलेको छ । विगत केही वर्षको अवस्था हेर्ने हो भने रिलायन्स फाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स र नेपाल एसबिआई बैंकले एफपिओ जारी गरेका छन् भने नेपाल लाइफको भर्खर निष्काशन भएको छ । अझै पनि स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लगायत केही कम्पनीहरु एफपिओ मार्फत पुँजी संकलनको प्रतिक्षामा छन् ।

यसमध्ये रिलायन्सले ५,१४,२८६ कित्ता शेयर अंकित मूल्य रु १०० मा नै प्रिमियम नजोडि एफपिओ निकालेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंकले ९०,६९,३८८ कित्ता शेयर रु. ५०१ प्रिमियम सहित रु. ६०१, शिखर इन्स्योरेन्सले ५,१०,९८८ कित्ता शेयर रु. ५५० प्रिमियम सहित रु. ६५० मा; नेपाल एसविआई बैंकले ६७,७६८ कित्ता शेयर रु. ८७१ प्रिमियम सहित रु. ९७१ मा र नेपाल लाईफले ३०,९६,४२९ कित्ता शेयर रु. १३२५ प्रिमियम सहित रु. १४२५ मा निष्कासन गरेको हो । यस्तै स्ट्याण्डर्ड चार्टडले २५,५८,१४० कित्ता शेयर रु. ११९० प्रिमियम सहित रु. १२९० मा एफपिओ निष्कासन गर्ने सूचना जारी गरेको छ, उसको प्रिमियम र नियामक निकायहरुबाट स्वीकृति हुन बाँकी रहेको हुँदा अन्तिम मूल्य फरक पर्ने सम्भावना पनि रहेको छ ।

उक्त निष्काशनहरु मध्ये नेपाल एसविआई र नेपाल लाइफको प्रिमियम नेपाल धितोपत्र बोर्डले तय गरेको सूत्रगत आधारमा पुनरावलोकन सहित भएको हो ।

एफपिओसम्बन्धी केही मुद्दाहरु

केही अगाडिसम्म शेयर लगानीकर्ता र कारोवारीहरु कम्पनीहरुले एफपिओ मार्फत थप शेयर निष्कासन गरेकोमा निकै उत्साहित थिए । केही कम्पनीले एफपिओबाट संकलित प्रिमियमबाट बोनससमेत वितरण गरेपछि विद्यमान लगानीकर्ता र एफपिओ मार्फत लगानी गरेका लगानीकर्ताहरु समेत खुसी भएका थिए । तर बजारमा हालको अवस्थामा कम्पनीहरुले ठूलो परिमणमा हकप्रद र बोनस शेयर जारी गरिरहेको अवस्थामा बढ्दो एफपिओले पनि शेयर संख्या बढ्ने र यसले बजारमूल्य थप प्रभावित हुने आशंका अनि गरिएको छ । कम्पनीहरुले एफपिओ मार्फत नयाँ लगानीकर्ताहरुबाट मोटो प्रिमियम असुलेर विद्यमान शेयरधनिलाई अवाञ्छित लाभ पु¥याएको जस्ता मानसिकताले यसमा नयाँ विवाद र बहस शुरु भएको छ ।

कतिपय कम्पनीहरुले कानुनी बाध्यता, पुँजीगत मापदण्डको पालना वा तोकिएको पुँजी पु¥याउने उपायका जुन रुपमा एफपिओ जारी गरेता पनि उल्लेख्य प्रिमियम सहित एफपिओ जारी गरिनु र यसले पुँजी वृद्धिका अन्य उपायहरु हकप्रद र बोनस शेयरलाई निरुत्साहित गर्छ भन्ने मानसिकताले ठाउँ पाएको देखिन्छ । यस्तै एफपिओलाई कम्पनीहरुले गैरव्यवसायिक सहज आयको आधार बनाउन थालेको र यसले व्यवसायिक क्रियाकलापमा नै असर पु¥याइ कम्पनीहरुलाई अल्छि बनाउँछ कि भन्ने आम चासोको विषय हो ।

हालसम्म एफपिओ जारी गरेका कम्पनीहरुको पुँजीगत संरचना अर्थात् संस्थापक र सर्वसाधारणको प्रतिशत मिलाउन थप शेयर जारी गर्नुपरेको तर्क गरेका छन् भने स्ट्याण्डर्ड चार्टडले नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पु¥याउन र संस्थापक तथा सर्वसाधारणको पुँजीगत संरचना ७०ः३० मिलाउन थप शेयर जारी गर्न लागेको बताएको छ ।

एफपिओ र आइपिओको मूल्य एउटै हुनुपर्ने आवाज

एफपिओको मूल्य कसरी निर्धारण हुन्छ भन्ने अव बहसको विषय बनाउनु आवश्यक देखिँदैन तर सम्भावित लगानीकर्ताहरुले कम्पनीले एफपिओ मार्फत पनि पुँजी संकलन गर्ने भएकोले यसको मूल्य पनि आइपिओको जस्तै अंकित मूल्य रु. १०० नै हुनुपर्दछ भन्ने आवाजहरु पनि उठेका छन् । एउटा क्रेताको दृष्टिकोणले यो तर्क सहि होला । किनभने प्रिमियम सहित निष्कासित शेयरको अंकित मूल्य त त्यहि रु. १०० नै हुन्छ र कितावी मूल्य पनि नेटवर्थ बराबर हुन्छ जुन सामान्यत बजार मूल्यभन्दा कम नै हुन्छ ।

जहाँसम्म बजारमूल्यको कुरा आउँछ, एफपिओको मूल्य प्रचलित बजारमूल्य भन्दा सामान्यत कम नै हुने गरेको छ तर बजारमूल्य गतिशिल हुने र बजारमूल्य निर्धारणमा कम्पनीको प्रत्यक्ष नियन्त्रण नहुने हुँदा महंगोमा एफपिओमा किनेको शेयरको बजारमूल्य कम भएमा के गर्ने भन्ने आधारमा समेत अंकित मूल्यमा नै एफपिओ पाउनुपर्छ भन्ने पनि हो ।

विवेकशिल लगानीकर्ताको हिसावले हामीले के लगानी गर्न खोजेको कम्पनीको तर्फबाट पनि केही विचार गर्नपर्दछ कि जस्तो लाग्छ । हामीले एफपिओ, आइपिओ वा दोस्रो बजारबाट शेयर खरिद गरेर लगानी गरेपछि हामी उक्त कम्पनिको बैधानिक लगानीकर्ता र नाफानोक्सानका भागिदार हुन्छौं । यस्तै यहाँनेर के पनि बिर्सनु हुँदैन भने कम्पनीले विगतदेखि लगानी, व्यवसायिक कार्यकुशलता, बजार हिस्सा, आदिका माध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष सम्पत्ति जोडेको हुन्छ । यस्ता दृष्य र अदृष्य सम्पत्तिहरु जोडन गरेको लगानी र त्यसको केही मूल्य पनि हुन्छ । यसै आधारमा पनि कम्पनीहरुले एफपिओमा प्रिमियम लिएको कुरालाई आत्मसात गर्नु उपयुक्त हुन्छ कि ।

एउटा जग्गाको उदाहरणबाट हुन सकिएला कि । कसैले १० वर्ष पहिले १ आना जग्गा १,००,००० रुपियाँमा किनेको थियो, तर अहिले त्यहाँको विकास र जग्गाको मागले गर्दा सो क्षेत्रमा आनाको १२,००,००० रुपियाँ कारोवार भईरहेको छ । उक्त जग्गाधनिले विविध बाध्यात्मक अवस्थाले सो जग्गा ८,००,००० मा बेच्छु भन्यो भने हामी सम्भावित खरिदकर्ताको दृष्टिकोणले कसरी हेर्ने भन्ने नै हो । जसलाई त्यो जग्गा १,००,००० रुपियामा किनेको थाहा छ उसले त त्यतिमा नै किन्न खोज्छ भने विक्रेताले समयको अन्तराल अनुसार मुद्रास्फिति, व्याज, वैकल्पिक लगानीबाट सम्भावित मुनाफा जस्ता विभिन्न कुरा जोडेर मेरो जग्गाको मूल्य यति हो त भनिहाल्छ । त्यसैले एकजना एफपिओलाई पनि तर्कसंगत र तथ्यगत विश्लेषण गरेर लगानीको निर्णय गर्नुपर्दछ ।

बजार मूल्य र एफपिओको मूल्य

विगतमा निष्कासित, हाल निष्कासन भएका र निष्कासनको पर्खाइमा रहेका कम्पनीहरुको एफपिओको मूल्य वा प्रस्तावित मूल्य बजारमा प्रचलित मूल्यमा कम नै रहने गरेको छ । तर बजारको प्राकृतिक वा माग र आपूर्तिको अवस्था, लगानीकर्ता र कारोवारीहरुको मानसिकता, कम्पनीहरुको लाभांस तथा अन्य मुनाफा, वित्तिय अवस्था जस्ता विविध पक्षहरुले गर्दा एफपिओको मूल्यभन्दा बजारमूल्य सँधै माथि रहन्छ भन्ने ग्यारेण्टी भने गर्न सकिने अवस्था छैन ।

रिलायन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स, नेपाल एसविआई बैकहरुले निष्कासन गरेको एफपिओको मूल्य बजारमूल्य भन्दा तुलनात्मकरुपमा कमी नै थियो । हुनतः हालै निष्कासन भएको नेपाल लाईफको निर्धारित मूल्य पनि बजारमूल्य भन्दा निकै सस्तो छ भने स्ट्याण्डर्ड चार्टडले प्रस्ताव गरेको मूल्य हाल कायम बजारमूल्य भन्दा केही कम हो ।

बजारमा उक्त कम्पनीको शेयर खरिदकर्ताले तिरेको वा तिर्नचाहेको मूल्यसँग तुलना गर्ने हो भने एफपिओ मार्फत सस्तोमा शेयर खरिद गर्ने अवसर पनि हुन सक्छ । अर्कोतर्फबाट बजारमा रु. २८०० हाराहारीमा विक्री भईरहेको वस्तु कम्पनीले १४२५ रुपियामा बेच्न राखेको छ । यसलाई अवसर वा ठगी कुन रुपमा लिने सम्बन्धित लगानीकर्ताको स्वविवेक र विश्लेषणको कुरा हो ।

जतिसुकै तर्कविर्तक बीच पनि एफपिओ मार्फत केही सहुलियत दरमा कम्पनीको शेयर खरिद गर्ने अवसर पाएको बुझाइ राखेर लगानी गर्नेको संख्या पनि उत्तिकै छ । त्यसैले त एफपिओमा कम्पनीले माग गरेभन्दा दसौं गुणा बढी शेयरको लागि माग पर्ने गरेको छ । गलत समय र बढी मूल्य भनेर आलोचित नेपाल लाइफमा समेत १०–१२ गुणा माग आउने आंकलनबाट शेयरको माग रहेको कुरामा भने कुनै विवाद देखिँदैन । तर यसैलाई आधार बनाएर कम्पनीहरुलाई सहज आयको बाटो बनाउन सक्ने कुरामा सचेत भने हुनै पर्दछ ।

अन्तमा, कम्पनीहरुको पनि कानुनी, पुँजीगत संरचना र नियामक निकायहरुले तोकेको मापदण्ड पुरा गर्नुपर्ने बाध्यात्मक अवस्था होला तर विद्यमान शेयरबजार, सम्भावित लगानीकर्ता र कारोवारी, र शुभचिन्तकहरुको चासोलाई ध्यान दिनुपर्छ भन्ने हो । हुनतः विगतमा भन्दा अहिले प्रिमियम निर्धारणको लागि सूत्रगत आधार तय हुँदा एफपिओको मूल्य निर्धारण केही व्यवस्थित र लगानीकर्तामैत्री भएका छन् तर यसैलाई कम्पनीको सहज आयको माध्यम बनाउन दिनुभने हुँदैन । नेपाल जस्तो नियामक निकायहरुको दरिलो उपस्थिति र नियमन हुन नसकेको बजारमा भोलिका दिनमा विभिन्न बहानामा कम्पनीहरुले एफपिओ जारी गरेर केही शेयरधनी पोस्ने काम मात्रै नगरोस् भन्ने चासो र चिन्तालाई कम्पनीहरु, नियामक निकाय, स्वीकृति दिने निकायहरुले मनन् गर्नै पर्दछ ।
Published on Aarthiknews online on 15 Jan 2017
http://aarthiknews.com/2017/01/15/77834

No comments:

Post a Comment