Sunday, January 24, 2021

बढेको परिसूचक घटेको सेयर सम्पत्ति

सूचीकृत कम्पनीहरूको मूल्यमा घटबढसँगै परिवर्तन हुने सेयर बजार (इक्विटी मार्केट) को अवस्था मापक ‘नेप्से परिसूचक’ (नेप्से इन्डेक्स) ले नयाँ बिन्दुगत उचाइ कायम गर्दै २०७३ साउन १३ को उच्चतम बिन्दु १८८१ पार गरेर २३७५ पुगेको छ । बजारमा प्रायः कम्पनीका सेयर माग र मूल्यसँगै कारोबार अनि इन्डेक्स र पुँजीकरण बढेको छ । बजार सञ्चालक र धितोपत्र दलाल, सीडीएससी, मर्चेन्ट बैंकर, नियामक, सरकार र कारोबारी बजारसँगै रमाइरहँदा नेप्से परिसूचक १८८१ वरपर किनिएका कतिपय सेयर सम्पत्ति बढ्नु त परको कुरा, घाटापूर्ति समेत हुन सकेको छैन । बजारको मेरुदण्ड मानिने बैंकिङ क्षेत्रको सेयर सम्पत्ति, उपसूचक निकै निराशाजनक देखिन्छ ? जसले सूचक बढ्नु र लगानी गरेर कमाउनु फरक भएको सन्देश मात्र दिएको छैन, सूचक र पुँजीकरणको गणना र शुद्धतामा सवाल उठाउन बाध्य पारेको छ । सूचककै आधारमा किनबेच र लगानी गर्नेहरूलाई झस्काएको छ ।

परिसूचक र पुँजीकरण

बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिभाषामा “स्टक एक्सचेन्जमा सूचीकृत धितोपत्रहरूको कारोबार भएको दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्यबीचको अनुपात नै बजार परिसूचक हो । सूचीकृत धितोपत्रको मूल्य बढेमा यो परिसूचक बढ्ने र मूल्य घटेमा घट्ने गर्छ । नेप्सेले प्रत्येक कारोबार भएको दिन कायम यस प्रकारको परिसूचक गणना गर्दछ । यसलाई ‘नेप्से परिसूचक’ (इन्डेक्स) भनिन्छ । यसले समग्र बजारको प्रतिनिधित्व गर्छ ।”

नेप्सेमा सूचीकृत कम्पनीहरूलाई वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन बिमा, निर्जीवन बिमा, जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल, व्यापार र अन्य गरी ११ समूहमा विभाजन गरिएका छन् । ती सबै समूहका अलगअलग ‘उपसूचक’ (सव–इन्डेक्स) छन् ।

धितोपत्र सूचीकरण विनियमावली, २०५३ मा व्यवस्था भएका सर्तहरू पूरा गर्ने कम्पनीलाई नेप्सेले ‘क’ वर्गमा वर्गीकृत गर्दै आएको छ । ‘क’ वर्गमा रहेका कम्पनीहरूलाई मात्र समेटेर गणना गरिने परिसूचक ‘सेन्सेटिभ परिसूचक’ हो । यसैगरी सूचीकृत कम्पनीहरूबाट सर्वसाधारणमा जारी भएका सेयरहरूलाई मात्रै समावेश गरेर गणना गरिएको परिसूचक ‘फ्लोट परिसूचक’ हो ।

कुल सूचीकृत सेयर कित्तालाई अन्तिम कारोबार मूल्यले गुणन गरेर उक्त कम्पनीको बजार पुँजीकरण गणना र कम्पनीगत पुँजीकरणको योगबाट ‘बजार पुँजीकरण’ निकालिन्छ । तसर्थ ‘नेप्से परिसूचक’ कम्पनीहरूको मूल्यगत अवस्था र पुँजीकरण प्रचलित मूल्यका आधारमा सूचीकृत कम्पनीको बजारले आकलन गरेको मूल्यगत सम्पत्ति मान्न सकिन्छ । समग्र धितोपत्र बजारको मापक भनिए पनि ‘नेप्से परिसूचक’ले सूचीकृत सेयरको मूल्यगत अवस्था मात्र मापन गर्ने हुँदा यो ‘इक्विटी इन्डेक्स’ र बजार पुँजीकरण पनि ‘इक्विटी मार्केट क्यापिटालाइजेसन’ मात्र हो । अहिले परिसूचक र पुँजीकरणमा ऋणपत्र (डिबेन्चर), बन्ड, बचतपत्र, म्युचुअल फन्ड समावेश गरिएको छैन ।

नेप्सेको तथ्यांक अनुसार २०७७ माघ ८ गतेको नेप्से इन्डेक्स २३७४.६४, सेन्सिटिभ इन्डेक्स ४४५.५९, फ्लोट इन्डेक्स १६२.४४ तथा बजार पुँजीकरण ३१.८९ खर्ब छ । उपसूचकतर्फ बाणिज्य बैंक १७२४.०६, विकास बैंक २५५५.९७, वित्त कम्पनी ११५६.५७, लघुवित्त ४००८.४५, जीवन बिमा १६७८२.९७, निर्जीवन बिमा ११४८२.३१, जलविद्युत १८७८.३६, उत्पादन तथा प्रशोधन ५९६९.२९, होटल २०१९.५२, व्यापार २९६७.५२, र अन्य १८३९.३९ छ ।

बैंकिङ समूहको अवस्था

नेप्सेमा बैंकिङ समूहको हिस्सा अहिले पनि उल्लेख्य मानिन्छ । २०७७ माघ ८ गतेको तथ्यांक हेर्दा २६ बैंकहरूको मात्र ३.०१९ अर्ब कित्ता सेयर सूचीकृत र बजार पुँजीकरण १३.२० खर्ब रुपैयाँ हाराहारी पुगेको छ । तर, नेप्से १८८१ हुँदा नै १७७९.०८ बिन्दु रहेको बैंकिङ उपसूचक ‘नेप्से परिसूचक’ २३७४.६४ पुग्दा बल्ल १७२४.०६ बिन्दुमा छ । पुँजी वृद्धिका लागि बोनस सेयर, हकप्रद सेयर र थप निष्कासन (एफपीओ)सँगै कैयौं विकास बैंक र वित्त कम्पनीहरू गाभिँदा समेत बैंकिङ उपसूचकमा गिरावटका बाबजुद बजार पुँजीकरण भने तत्कालीन ११.४७ खर्बबाट बढेर १३.२० खर्ब रुपैयाँ पुगेको छ । यस्तै, तत्कालीन एक कित्ता सेयरधारकले निष्कासित हकप्रद र बोनस सेयरसमेत प्राप्त गरी किनबेच र लागत व्यवस्थापन नगरेको अवस्थामा कायम सेयर कित्ता र सेयर सम्पत्तिले १३ बैंकका लगानीकर्ताहरू नाफामा देखिँदा १३ बैंकका लगानीकर्ता नोक्सानीमा छन् ।

बैक

तत्कालिन १ किताको हाल हुने किता

प्रति किता बजार मूल्य (रु)

२०७७ माघ ८ को मूल्यको आधारमा प्रति किता सम्पत्ति (रु)

प्रति किता मूल्यगत नाफा वा (नोक्सान) (रु)

२०७३ साउन १२

२०७७ माघ ८

एनआईसी एसिया

२.५०

९१४

८८७

२२२१

१३०७

नविल

२.८३

२४६६

११०९

३१३९

६७३

कुमारी

३.२५

३८५

२८३

९१९

५३४

प्रभु

१.९३

४१५

४५२

८७२

४५७

प्राइम कमर्सियल

३.०६

९१४

४३८

१३४२

४२८

नेपाल क्रेडिट एण्ड कमर्स

२.२०

३६३

३३१

७३०

३६७

मेगा

२.८७

५३६

३००

८६२

३२६

कृषि विकास

२.७९

१०८१

४४४

१२३९

१५८

सिभिल

१.७२

२५५

२२३

३८२

१२७

सिद्धार्थ

३.६६

१३८४

३९६

१४५१

६७

ग्लोबल आइएमई

१.९०

६००

३३२

६३२

३२

बैंक अफ काठमान्डू

१.९०

५८५

३२१

६११

२६

एनएमबी

२.०६

८८६

४३५

८९५

लक्ष्मी

३.३९

९५६

२८१

९५१

–५

सानिमा

२.१०

८२७

३५८

७५१

–७६

सेञ्चुरी

२.३०

६०१

२१७

४९९

–१०२

नेपाल

१.२९

५७९

३५८

४६१

–११८

नेपाल बंगलादेश

२.९६

१०२२

३००

८८९

–१३३

माछापुच्छ्रे

२.४४

९०५

२९९

७३०

–१७५

नेपाल इन्भेष्टमेन्ट

२.०३

११५०

४७८

९७२

–१७८

सिटिजन्स

१.९४

७७१

२९५

५७१

–२००

सनराइज

२.३२

८८०

२७९

६४७

–२३३

हिमालयन

२.४६

१६९०

५६३

१३८५

–३०५

एभरेष्ट

३.३२

३४९०

८०५

२६६९

–८२१

नेपाल एसबिआई

२.४४

२०८८

४४०

१०७४

–१०१४

स्ट्याण्डर्ड चार्टड

२.८५

३७७६

६५६

१८७२

–१९०४

औसत

२.४८

११३३.३५

४३३.८५

११०६.४०

–२८.९४

* प्रति किता सम्पति गणनामा हकप्रदकाे लागत समावेश नगरिएकाे हुँदा केहि फरक पर्नेछ ।

तालिकाअनुसार औसतमा १ कित्ताको २.४८ कित्ता र सबैभन्दा बढी सिद्धार्थको ३.६६ तथा कम सिभिलको भएको छ । तत्कालीन प्रतिकित्ता मूल्यका आधारमा कायम कित्तालाई हालको बजार मूल्यमा हिसाब गर्दा सबैभन्दा बढी मुनाफा एनआईसी एसिया बैंकमा प्रतिकित्ता रु. १ हजार ३ सय ७ नाफा र स्ट्यान्डर्ड चार्टड बैंकमा रु. १ हजार ९ सय ४ घाटा छ ।

सूचक र सवाल

नेप्सेले सूचकको गणना विश्वव्यापी स्वीकार्य र प्रचलित गणितीय सूत्रगत रूपमा गरिएको हुँदा पूर्ण शुद्धताको दाबी गर्दैगर्दा पारदर्शिता र पर्याप्त जानकारीको अभावमा लगानीकर्ताहरू भने आश्वस्त हुन सकेका छैनन् । विशेष गरी क) बैंकिङ उपसूचक र अन्य उपसूचकमा देखिने परिवर्तनको अंक; ख) विभिन्न समयमा हुनुपर्ने वा भएका मूल्यगत समायोजन र सम्भावित त्रुटि; ग) मर्ज तथा प्राप्तिमा संलग्न कम्पनीहरूको सूचक समायोजन; घ) मर्ज तथा प्राप्तिमा अपनाइने फरक मूल्य समायोजन नीति र सूचकमा असर; ङ) बोनस, हकप्रद र एफपीओबाट हुने पुँजी वृद्धिमा फरक विधिबाट मूल्य समायोजन र सूचकमा असर; च) विकास बैंक र लघुवित्त तथा जीवन र निर्जीवन बिमा उपसमूह विभाजन विधि र सूचक समायोजन; छ) कारोबारमा नरहेका वा विघटित कम्पनीहरू सूचकबाट हट्ने वा नहट्ने अन्योलता; ज) अनलाइन कारोबार प्रणालीमा जाँदा भोगिएका प्राविधिक र व्यावहारिक त्रुटिजस्ता कारणले सूचकको शुद्धतामा सवाल उठेका हुन् । हुनत: २०७३ साउनयता ६० भन्दा बढी कम्पनीका ७० करोडभन्दा बढी कित्ता सेयर सूचीकृत भएका छन् । नयाँ सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण नै करिब ५ खर्ब हाराहारी रहेको अवस्थामा तिनले सूचक बढाउनमा पुर्‍‍‍‍‍‍‍याएकाे योगदान बिर्सनु हुन्न । अझ नेपाल पुनर्बिमा कम्पनी, शिभम् सिमेन्ट, अप्पर तामाकोसी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत्ले सूचक बढाउन उल्लेख्य योगदान गरेको मानिन्छ । यसले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सूचीकरणपछि परिसूचक थप चलायमान हुन सक्नेछ । बजार पुँजीकरणमा नेपाल टेलिकम, नेपाल लाइफ, नेपाल पुनर्बिमा, नबिल र सीआइटीको दबदबा देखिँदा सूचक परिवर्तनमा भने धेरै कित्ता सूचीकृत ग्लोबल आईएमई, नेपाल इन्फ्रास्ट्रक्चर, एनएमबी, नेपाल इन्भेस्टमेन्ट, प्राइम, नेपाल टेलिकम, मेगा, कुमारी र नबिलको भूमिका रहनेछ ।

निचोड

मूल्यसँगै परिसूचक वा उपसूचकमा हुने परिवर्तनअनुरूप नै सबै लगानीकर्ताहरूको नाफाघाटा अनि सेयर सम्पत्तिमा समान दरमा परिवर्तन सुनिश्चित हुन्न । ‘नेप्से परिसूचक’ले समग्र बजार र ‘उपसूचक’ले उक्त समूहको मूल्यगत अवस्था अनि किन्नेबेच्नेको मूल्यगत मनोविज्ञान मात्र चित्रण गर्छ । अझ परिसूचक नै त्रुटिपूर्ण भएको वा नयाँ कम्पनीहरूको योगदानबाट बढेको अवस्थामा विगतको लगानी नयाँ परिसूचकअनुरूप नै बढ्दैन भन्ने बैंकिङ क्षेत्रले देखाएको छ । यसको मतलब बैंकका सबै लगानीकर्ता पुँजीगत नोक्सानीमा पनि हुन्नन् । सक्षम लगानीकर्ताले लागत व्यवस्थापन गर्दै सेयर कित्ता र हालको मूल्यगत सम्पत्तिसँगै प्रतिफल बढाएका हुन सक्छन् । लगानीकर्ताको मूल्यगत सेयर सम्पत्ति नितान्त रूपमा धारित (होल्ड) सेयरको बजार मूल्यले निर्धारण गर्दा लाभांश कम्पनीको मुनाफामा र प्रतिफल व्यक्तिगत लागत व्यवस्थापन क्षमतामा निर्भर रहन्छ ।

बजारको एकीकृत र शुद्ध सूचनाको अभावमा सटिक तथ्यांकीय अवस्था र विश्लेषण प्रस्तुत गर्न सम्भव नभए पनि उपलब्ध तथ्यांकले बजार, सूचक र लगानी गर्दा घोत्लिन बाध्य पारेको छ । यहाँ चर्चा गरिएका कारणहरू मात्र होइन, एकै कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको फरक मूल्यको प्रचलन, प्राप्तिमा नहुने र मर्ज हुने अनावश्यक मूल्य समायोजन, कारोबारमा नभएका कम्पनीहरूको सूचीकरण खारेज नहुनु जस्ता अनेक कारण पनि परिसूचक र बजार पुँजीकरण गणनामा पुनरावलोकन र शुद्धीकरण गर्न घचघच्याएको छ । बजार पुँजीकरण शुद्धीकरणबिना जीडीपीसँग तुलना अनावश्यक टिप्पणी हुनेछ ।

काराेवार दैनिकमा २०७७ माघ ११ गते प्रकाशित, बढेको परिसूचक घटेको सेयर सम्पत्ति « (karobardaily.com)