Sunday, April 21, 2019

लाभकरमा अनिर्णित सरकार र महालेखा

सेयर बजारमा लाभकरको विवाद पुनः बल्झेको छ । विगत केही वर्षदेखि महालेखा परीक्षक कार्यालय (मलेप) ले सेयरको हक निसर्ग गरेवापत सिर्जित लाभकर गणना विधीमा त्रुटी औंल्याउने क्रममा ५६औँ वार्षिक प्रतिवेदनमा पनि न्यून लाभकरसँगै संस्थापक सेयरको कारोवार मूल्यमा भएको विभेदबाट घटी कर संकलन भएको विषय पनि उठान गरेको छ ।सेयर बजारमा लाभकरको विवाद पुनः बल्झेको छ । विगत केही वर्षदेखि महालेखा परीक्षक कार्यालय (मलेप) ले सेयरको हक निसर्ग गरेवापत सिर्जित लाभकर गणना विधीमा त्रुटी औंल्याउने क्रममा ५६औँ वार्षिक प्रतिवेदनमा पनि न्यून लाभकरसँगै संस्थापक सेयरको कारोवार मूल्यमा भएको विभेदबाट घटी कर संकलन भएको विषय पनि उठान गरेको छ ।

महालेखाको टिप्पणी

प्रतिवेदनमा सेयरको पुँजीगत लाभकरसम्बन्धमा टिप्पणी गर्दै २०६५ मंसिर २२ को अर्थमन्त्रीस्तर निर्णयमा बास्तविक तिरेको लागत नभई बजार मूल्यको आधारमा समायोजन गर्दा लागत खर्च बढी दाबी हुने गरेको उल्लेख छ । उसले अंकित मूल्यभन्दा बोनस तथा हकप्रद सेयरको वास्तविक लागत बढी समायोजन भई यस आर्थिक वर्षमा आयकर ऐन, २०५८ को अनुसूची १(४)ख३ बमोजिम हुने कर ६२ करोड ४८ लाख ८१ हजार रुपैयाँ असुल हुनुपर्नेमा ४ करोड ९० लाख १० हजार रुपैयाँ मात्र असुल भएकोले ५७ करोड ५८ लाख ७१ हजार रुपैयाँ छुट भएको औंल्याएको छ । यो विगतदेखिको विवादित विषय हो ।

यस्तै बिनाआधार संस्थापक र सर्वसाधारण सेयरको फरक मूल्य कायम हुने सूत्र सहित संस्थापक सेयरको मूल्य साधारण सेयरको ५० प्रतिशत कायम गर्न सकिने २०६४ चैत ५ को मन्त्रीस्तरीय निर्णयका कारण २०७४÷७५ मा विभिन्न कम्पनीको २ करोड ५५ लाख २० हजार ३२२ कित्ता संस्थापक सेयरसाधारण सेयरको तुलनामा रु. ५ अर्ब २ करोड ७२ लाख रुपैयाँ न्यून मूल्यमा किनबेच भई रु. २५ करोड १३ लाख घटी पूँजीगत लाभकर असुल भएको जनाउँदै विगतको निर्णयमा पुनरावलोकन हुनुपर्ने जनाएको छ ।

लाभकर गणना विवाद

लाभकरको अहिलेको मुख्य विवाद भनेको बोनस र हकप्रद सेयरको लागतको सम्बन्धमा देखिए पनि लगानीकर्ताले प्रत्येक पटक बिक्री गरेको सेयरको वास्तविक लागत र लाभको गणना दुरुस्त भएको सुनिश्चित गर्न सकिने अवस्था पनि छैन । यसमा मलेपले संस्थापक र सर्वसाधारण सेयरको मूल्यबाट सिर्जित लाभकरसम्बन्धी थप विवाद उठान गरेको छ । यसको लागि एउटा उदाहरण हेरौं ।

सेयर खरिद
कित्ता
लागत (रु.)
सेयर विक्री
कित्ता
बिक्री रकम (रु.)
आईपिओ
१००
१०,०००



बोनस सेयर
२०
??



खरिद
२००
३०,०००
बिक्री
११०
१३,२००
बोनस सेयर
१६
??



खरिद
१४०
२१,०००



हकप्रद
१२४
१२,४००



खरिद
१००
१२,६००
बिक्री
५०
,३००
कुल
७००
८६,०००
कुल बिक्री
१६०
२०,५००
प्रति कित्ता औसत लागत

१२२.८६
प्रति कित्ता औसत बिक्री मूल्य

१२८.१२

उदाहरण अनुसार लगानीकर्ताले विभिन्न मूल्यमा ५ सय ४०, बोनस सेयर ३६ र हकप्रद १२४ सहित ७ सयकित्तासेयरकिनेर दुई पटकमा १ सय ६० कित्ता बेचेपछि अझै ५ सय ४०कित्ता धारण गरेको छ, जसको औसत लागत रु. १ सय २२ रुपैयाँ ८६ पैसा छ । यहाँ लगानीकर्ता र सरकारबीच लागत र लाभ गणनाका सम्बन्धमा निम्न पक्षमा विवाद रहँदै आएको छ :

१) बोनस सेयरको लागत : मलेपको अनुसारवास्तविक लागत जाँदा पनि (क) कुनै रकम तिर्नु नपरेको हुँदा शून्य, (ख) सरकारले ५ प्रतिशत लाभांस कर लिएको हुँदा १ सय रुपैयाँ वा (ग) सेयरधनीको तर्फबाट कम्पनीले लाभकर समेत तिर्ने गरी दिएको प्रति कित्ता लाभांस १ सय पाँच रुपैयाँ २६ पैसा मान्ने वा लगानीकर्ताले भनेजस्तो बोनस सेयर प्राप्त गर्न उच्च मूल्यमा बजारबाट खरिद गरिएको लागत, उदाहरण अनुसार १ सय ४३ रुपैयाँ वा बुक क्लोज पछि बोनस सेयरको अनुपातमा नेप्सेले समायोजन गरेको मूल्यको आधारमा लागत गणना गर्ने भन्ने विवाद रहँदै आएको छ ।

२) हकप्रद सेयरको लागत : लगानीकर्ताले हकप्रद सेयर खरिदका लागि प्रत्यक्ष भुक्तानी गरेको रु. १ सय वा उक्त हकप्रदको हक कायम गर्न बजारबाट सेयर खरिद गर्दा तिरेको मूल्य र हकप्रदको आधारमा बुक क्लोज पछि समायोजित हुने मूल्यले सिर्जना हुने लागत मध्ये कुन चाहिँ लगानीकर्ताको वास्तविक लागत हो र कुन आधारमा लाभ गणना गरेर कर लगाउने भन्ने विवाद रहँदै आएको छ ।

३) कुल सेयरको लागत र लाभ : प्रत्येक लटको सबै सेयर किनबेचमा लागत र लाभ गणना समस्या नहोला, तर नियमित लगानीकर्ताले कुनै कम्पनीको सेयरनियमित किनबेच गरि पुरै सेयर विक्री नगरेको अवस्थामा यथार्थ लाभ वा हानी सुनिश्चित हुन्न । तर प्रचलित विधीमा उदाहरण अनुसार लगानीकर्ताले विक्री गरेको १ सय ६० कित्ताको लागतका आधारमा ७.५ प्रतिशतका दरले लाभकर लिँदै आएको छ । जबकी औसत लागतका आधारमा प्रति कित्ता रु. १ सय २० का दरमा बेचिएको १ सय १० कित्तामा समेत लगानीकर्ता नोक्सानीमा छ । यस्तै बेचिएको सेयर वास्तवमा बोनस, बजारबाट खरिद वा हकप्रदबाट प्राप्त मध्येको कुनकुन हो ? त्यसको वास्तविक लागत कति हो ? भन्ने प्रमाणित गर्ने बैज्ञानिक आधार र क्षमता व्यक्तिगत लगानीकर्ताहरूसँग नहुने वा व्यवहारिक रुपमा सम्भव नहुने अवस्थामा हालको लाभकरको गणनामा स्वाभाविक रुपमा प्रश्न उठने छ ।

४) संस्थापक सेयरको बिक्री मूल्य र लाभ : हाल बजारमा एउटै कम्पनीको समान दायित्व र अधिकार भएकोसेयरको बजार मूल्य भने थरिथरिको छ । उदाहरणको लागि नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वसाधारण सेयर (एनआइबि) को रु. ५ सय ५४, कारोवारयोग्य संस्थापक (एनआइबिपिओ) को रु. ५ सय १० छ भने सामान्य संस्थापक सेयरको बजार मूल्य हालको विधीले रु. २ सय ७७ मान्छ । यस्तै मेगा बैंक नेपालको संस्थापक सेयर रु. १ सय ८ र सर्वसाधारण सेयर रु. १ सय ७७ मा कारोवार भईरहेको छ । हो, एउटै कम्पनीको सेयर फरक मूल्यमा कारोवार नहुनुपर्ने तर भईरहेको अवस्थामा मलेपले भनेजस्तो लाभकरको छलि कसरी हुन्छ ?यसले लाभकरको नयाँ विवाद जन्माएको छ ।

लाभकर विवाद समाधानका प्रयास

मलेप र लगानीकर्ताहरूले विद्यमान लाभकर गणना विधीमा पटकपटक प्रश्न उठाउँदै पुनरावलोकन गरी औसत लागत मोडेलमा जान वा बैज्ञानिक सूत्रवत निरुपणका लागि आवाज उठाउँदै आएका छन् । करिव एक वर्ष पहिले पनि मलेप प्रतिवेदनलाई आधार बनाएर आन्तरिक राजश्व विभागको पत्रको आधारमा बोनस सेयर र हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरी अग्रिम कर असुल गर्नु गराउनु भन्ने परिपत्रसँगै आधारमूल्य र वास्तविक लागत सम्बन्धी विवाद चुलिएर २०७५ जेठ २२ गते कारोवार नै बन्द भएको थियो ।

आन्दोलनको दवाव पछि सेयरबजारमा देखिएको द्विविधाहरूमा स्पष्टता ल्याउन र लाभकर गणना विधीमा सुधारका लागि आवश्यकता अनुसार विज्ञ/विशेषज्ञसँग राय÷सुझाव लिई सुझाव सहितको प्रतिवेदन पेश गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त कार्यदलको प्रतिवेदन प्राप्त नभएसम्मका लागि प्रचलित विधी अनुसार नै लाभकर गणना हुने निर्णय अनुसार हालसम्म पुरानै विधीबाट लाभकर गणना हुँदै आएको छ । कार्यदलले महिनौंसम्म लाभकर सम्बन्धी विवादमा समाधानका उपाय नदिँदा एकातिर महालेखाले लाभकरको विवाद पुनःउठान गरेको छ भने अर्र्काितर लगानीकर्ताहरूअनिश्चित लाभमा कर तिर्न बाध्य भईरहेका छन् ।

समाधानको विकल्प

लाभकरसम्बन्धी विद्यमान विवादको दीर्घकालीन समाधान लागि कार्यदलले लगानीकर्ताको वास्तविक लागत, सेयर धारण गरेको अवधि र मुद्रास्फीति समेत समेट्ने बैज्ञानिक लागत र लाभ गणना सूत्र र सफ्टवेयर सहितको समाधान तत्काल दिन सके महालेखाले औंल्याएको कैफियत सम्बोधन हुुनका साथै सेयरबजारमा सरकार र लगानीकर्ता बीच विश्वासको वातावरण बन्ने छ ।

१. लाभकर गणनाको सफ्टवेयर : लाभकर गणनाको मुख्य विवादको रुपमा रहँदै आएको लागत र लाभलाई सँधैको लागि निरुपण गर्न अनेक लागतका आधारमा लाभगणनाको वर्तमान प्रणाली सुधारेर औसत लागतका आधारमा लाभ र कर गणना हुने व्यवस्था हुनुपर्छ । यसले आइपीओ, एफपिओ, बजार, बोनस, हकप्रदको लागत कति र कहिले किनेको, कुन बेचेको भन्ने विवाद र द्विविधाबाट लगानीकर्ता र सरकारले उन्मुक्ति पाउने छ । व्यक्तिगत तवरमा औसत लागत गणना र प्रमाणीकरण व्यवहारिक नहुनसक्छ, त्यसैले कारोवार र सेयरसम्बन्धी पूर्ण विवरण हुने नेप्से वा सिडिएससीबाट संचालन हुने गरी एउटा प्रभावकारी सफ्टवेयर निर्माण गर्दै सो सफ्टवेयर मार्फत औसत लागत, खुद लाभ रकम र कर गणना एवम् प्रमाणीकरण गर्ने प्रणालीको विकास र कार्यान्वयन गरिनुपर्छ । यस्तो लाभकर लगानीकर्ताले सेयरधारण गरेको अवधिको आधारमा फरकदरमा हुनुपर्छ ।

२. लाभकर अग्रिम नभई अन्तिम हुने : कट्टा गरिएको लाभकर नै कानुनतः अन्तिम कर हुने व्यवस्था गरेर लाभकर र आयकरको विवाद पनिनिरुपण गरिनुपर्छ, यसले प्यान सम्बन्धी विवाद समाधान गरी सेयर कारोवारलाई प्यानमा समाहित गर्न सहज हुनेछ ।

३. सेयरको मूल्य : महालेखाले उठाएको संस्थापक सेयरको लाभकरको विवाद सम्बोधन गर्न २०६४ चैत ५ को निर्णय खारेज गरी एकै कम्पनीको सेयरको एउटै बजार मूल्य हुने र निश्चित अवधिपछि कम्पनीमा संस्थापक तथा सर्वसाधारणमा विभाजित नभई केवल सेयरधनी मात्र हुने व्यवस्था गरिनुपर्छ । संस्थापक सेयरधनीको सट्टा अन्तर्राष्ट्रिय रुपमा प्रचलित व्यवस्थापनसेयरको अवधारणा कार्यान्वयन गर्न सकिन्छ ।

काराेवार दैनिकमा २०७६ बैशाख ८ गते प्रकाशित

Wednesday, April 10, 2019

विश्लेषणः नविल बैंक र एनआइसी एशियाको तुलना गर्न मिल्छ ? किन गरे अनिल शाहले ?

चैतको मध्य । तेस्माथि घट्दो सेयर बजार । र, बजार घटेको झोँकमा तातिएका लगानीकर्ता । यही समय नेपालको सबैन्दा धेरै नाफा कमाउने नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको एउटा भनाई, ‘एनआइसी एशिया बैंकले चमत्कार गर्यो, अब नविलको प्रतिस्पर्धा एनआइसी एशियासँग हो ।’

शंकै छैन । नविल बैंक नम्बर वान बैंक हो भने अनिल शाह ग्ल्यामर बैंकर । त्यतिमात्रै होइन, बैंकर शाह मोटिभेसनल स्पिकरको रुपमा युवा पुस्तामा चर्चित छन् .

उनै शाहको एनआइसी एशिया नविल बैंकको प्रतिस्पर्धी बन्यो भन्ने भनाई सार्वजानिक भएपछि लगानीकर्ता र सेयर बजार थप तात्यो ।

यो भनाइ अनिल शाहको मात्रै भैदिएको भए यतिको टिकाटिप्पणी र महत्व पक्कै राख्दैनथ्यो । तर, निजी क्षेत्रमात्र होइन, बैकिङ क्षेत्रकै अग्रिणी नविल बैंकको सीइओले अर्को बैंकको बारेमा गरिएको टिप्पणीका कारण अनिल शाहको उक्त भनाइ बहसको विषय बनेको छ ।

कतिपयले यसलाई ‘म्याच फिक्सिङ’को रुपमा समेत व्याख्या गर्न भ्याए । कतिपयले भने एनआइसी एशियाको बारेमा सही टिप्पणी गरेको माने ।

अनिल शाहको भनाईलाई लिएर लगानीकर्ताहरु पक्ष र विपक्षमा चर्को बहसमा उत्रिँदै गर्दा एनआईसी एशिया बैंकको शेयर मूल्य उच्चदरमा बढ्न थाल्यो । शाहको भनाइ बाहिर आएको दिन चैत १४ गते ४०० रुपैयाँको हाराहारी रहेको एनआइसी एशियाको प्रतिसेयर मूल्य चैत २५ गते ४ सय ७८ पुगेर ४ सय ६६ रुपैयाँमा झरेको छ ।

त्यसो त यसबीचमा नेप्से परिसूचक पनि ११ सय ४४ बाट ११ सय ९१ विन्दु र बैकिङ उपसूचक ९ सय ८९ बाट १ हजार ५८ पुगेको छ । तर तुलनात्मक रुपमा एनआईसी एसिया बैंकको शेयरमा देखिएको उछाललाई धेरैले शाहको अभिव्यक्तिको प्रभावका रुपमा व्याख्या गर्ने प्रयास पनि गरे ।

अनिल प्रभाव नै हो त ?

विगत केही समयदेखि कारोवारका लागि निकै रुचाइएको एनआइसी एशिया बैंकको सेयरको मूल्यमा आएको उछाल शाहकै कारण हो वा कारोवारी र लगानीकर्ताको मनोविज्ञानका कारण त्यो समयले बताउला ।

एनआइसीको वृद्धिदर र वासलातको आकारलाई पछ्याइरहेका लगानीकर्ता र कारोवारीहरुले पहिलेदेखि नै यो बैंक माथिल्लो वर्गमा छिर्ने र यसले बैंकिङ क्षेत्रमा हलचल ल्याउनेमा आसावादी हुँदै सूक्ष्म तरिकाले नियालिरहेका थिए । लगानीकर्ताहरुले उसको वित्तीय विवरण र वृद्धिदरलाई आधार बनाएर कारोवारको प्राथमिकतामा राख्न थालिसकेका थिए ।

गत पुसको वित्तीय विवरणले राष्ट्रिय बाणिज्य बैंक पछाडि केही सूचकमा एनआइसी एशियाले नेतृत्व गरेपछि एनआइसीप्रति झुकाव बढेकै थियो । यस आर्थिक वर्षको तेस्रो त्रैमास सकिन केही हप्ता बाँकी हुँदा बाहिरिएको अनिल शाहको भनाइ र बजारमा मूल्य वृद्धि केवल संयोग मात्रै पनि हुनसक्थ्यो ।

अझ नविल बैंकद्वारा प्रवर्धित नविल इक्विटी फण्डसँग एनआइसी एशियाको केही हजार कित्ता शेयर हुनु र नविलले नै नयाँ म्युचुअल फण्ड ल्याउन लागेको समयमा शाहको भनाइले ‘स्याल कराउनु र कुखुरा हराउनु’ वा ‘म्याच फिक्सिङ’ लाई मलजल गरेको पक्कै हो ।

यति हुँदा पनि अनिलकै कारण मात्र एनआइसीको शेयरको मूल्य बढेको वा घटेको भन्नु गलत हुनेछ । अहिलेको मुख्य प्रश्न चाहीँ अनिल शाहले आफ्नो बैंकको भन्दा अर्को बैंकको वकालत गर्नु हुन्थ्यो वा हुदैनथ्यो ? भन्ने पनि हो ।

अनिल र विवाद

विगतमा नविल बैंकको सिइओ रहेका अनिल शाह जगदेखि बैंकको काम गर्ने भन्दै मेगा बैंक नेपालको स्थापनादेखि सिइओको रुपमा काम गर्न पुगेका थिए । मेगाको स्थापना र व्यवसायीक विस्तारमा उनको व्यक्तित्वले निकै सकारात्मक पनि भूमिका खेलेको थियो । सफल र भाग्यमानी बैंकर र युवाहरुको समेत रोल मोडेल अनिल शाह विवादमुक्त भने हुन सकेनन् ।

मेगा बैंक नेपालको सिइओमा आफ्नो निरन्तरता नहुने अवस्थामा समकालीन सेञ्चुरी बैंकमा जान गरिएको हतारो र नियामक निकायको सिइओलाई कुलिङ पिरियड छल्न नविल बैंकको डेपुटी सिइओमा स्वीकारिएको नियुयक्तिले उनलाई पछिल्लो पटक विवादमा तानेको थियो ।

अझ मेगा बैंकको सिइओ हुँदा नै मर्ज हुन आईरहेको टुरिजम विकास बैंकको सम्बन्धमा उनको टिप्पणीलाई धेरै अस्वभाविक मानेका थिए । बजारमा यतिसम्म हल्ला चल्थ्यो कि नियामकले सिइओसम्बन्धी बनाउने कतिपय नियमहरु अनिल शाहका कारण बन्छन् । समय समयमा विवादमा आइरहने अनिल शाहको एनआइसी एसिया सम्बन्धी टिप्पणीले अन्तत विवाद र बहस नै जन्मायो ।

यो उनको व्यक्तिगत विषय भएकाले यसमा यो भन्दा बढी लेख्नु उपयुक्त नहोला ।

एनआइसी एशिया बाहिरबाट नियाल्दा

यति हुँदाहुँदै पनि अनिलको पक्षमा वा विपक्षमा टिप्पणी गर्ने सबैले बैंकिङ क्षेत्रका साथै सेयर बाजरमा एनआइसी एशियाको बढ्दो प्रभावलाई भने चाहेर वा नचाहेरै पनि स्वीकार गरेको देखिन्छ । बैंकहरुको व्यवस्थापन मात्र होइन, संचालक र लगानीकर्ताहरु समेत एनआइसीको प्रगति र कार्यशैलीमा चियोचर्चा मात्र होइन, त्यसैको आधारमा तुलना र दवाव दिन समेत थालेका सुनिन आएको छ ।

मूलतः बैंकहरुको चुक्ता पूँजी ८ अर्ब पुर्याउने नेपाल राष्ट्र बैंकको निर्णयसँगै अरु बैंकहरु पूँजी व्यवस्थापनको लागि मर्ज वा अन्य विकल्प खोज्दै गर्दा एनआईसीले हकप्रद र बोनसबाट आवश्यक पूँजी पुर्याउँदै व्यवसाय विस्तारमा केन्द्रित भयो ।

नयाँ वा मध्यम वर्गका बैंकहरु मात्र होइन, माथिल्लो वर्गका बैंकका रुपमा परिचत बैंकहरु समेत पूँजी व्यवस्थापनको नियमित कार्यतालिकामा अल्झिरहेका थिए । यही मौकामा एनआइसी एसियाले आक्रमक बजार विस्तार रणनीतिलाई पछ्याउन थालेको थियो भने बजारमा आफनो दबदबा बढाउन अनेक हतकण्डाहरुको उपयोग गर्दै थियो ।

यस क्रममा उसले कतिपय बैंकिङ क्षेत्रको प्रचलित विधि र प्रणालीलाई घोच्ने र मिच्ने काम मात्र गरेन । शाखा विस्तार, व्याजदर, डिबेन्चर निष्कासन, नीति निर्माण, आदि क्षेत्रमा डोर्याउने काम पनि गर्यो । यसरी धकेल्दै, उफ्रिँदै अगाडि बढ्दा उसले उपद्रो र अनैतिक बैंकिङ व्यवहार अपनाएको दोषमात्रै लिएन । बैंकिग क्षेत्रका दिग्गज व्यक्तित्व सशिन जोशी र उनी पछिका खारिएका बैंकर लक्ष्मण रिसाललाई समेत गुमाउन तयार भयो ।

तर परम्परागत बैंकरहरुलाई चुनौति दिँदै शाखा विस्तार र उच्चदरमा भएपनि निक्षेप संकलन गर्ने रणनीतिमा टसको मस भएन । जस्तोसुकै जोखिम लिन उ पछि परेन । जसको नतिजास्वरुप २/३ वर्षको अन्तरालमा निजी क्षेत्रका बैंकहरु मध्ये शाखा संजाल, निक्षेप र कर्जा तथा सापटमा पहिलो बन्न सफल भयो । उसको वार्षिक व्यवसायिक वृद्धिदर अन्य बैंकहरुका लागि चुनौतिका रुपमा देखिन पुग्यो । गत पुस मसान्तसम्मको वित्तीय विवरणलाई हेर्ने हो भने पनि उसको वृद्धिदर भ्यागुतो उफ्राइ नै देखिन्छ ।

त्यसो भए एनआइसी एशिया माथिल्लो बैंकहरुलाई पछाडि छोड्दै निकै अगाडि बढेको हो त ? यसको तुलना र प्रतिस्पर्धा नविल बैंकसँग हुनसक्छ वा सक्दैन ? पैसाको व्यापारमा पहिलेदेखि नेतृत्व गर्दै आएको नविल बैंकको भन्दा व्यवसायको आकारमा एनआइसी एसिया केही अगाडि देखिएको पक्कै हो ।

तर सँगसँगै व्यवसायको आधारभूत नतिजाको रुपमा रहने मुनाफा, प्रतिशेयर आय, नेटवर्थमा नविलको हाराहारी पुग्न एनआइसी एसियाले अहिले कै गतिमा वृद्धिदर कायम गरेको अवस्थामा समेत केही वर्ष लाग्ने निश्चित छ ।

दुवै बैंकहरुको गत पुसमसान्त र फागुनको नतिजालाई सरसर्ति हेर्दा पनि पूँजी र अन्य कोषमा उस्तै देखिएता पनि वैधानिक जगेडा कोषमा नविलसँग एनआइसीको भन्दा ४ गुणा बढी रकम छ भने संचित मुनाफा पनि निकै बढी छ । पुँजी कोषमा नविलको १८ अर्ब हुँदा एनआइसीको केवल ११ अर्ब हाराहारी मात्र छ, जुन नविल त के अन्य माथिल्लो वर्गका बैंकहरुको भन्दा निकै कम हो ।

हो, निक्षेप र कर्जा तथा सापटमा एनआइसी एसिया बैंकले नविललाई पछाडि छोडेको छ । तर यहाँ एनआइसीको २ महिनामा करिव ६ अर्ब रुपैयाँले निक्षेप घटेका र नविलको ७ अर्बले बढेको पनि मनन गर्नुपर्छ । यस्तै मुनाफा, नेटवर्थ र प्रतिशेयर आयमा एनआइसी निकै पछाडि रहेको छ ।
तालिकाः नविल र एनआइसी एसिया बैंकको सामान्य तथ्यांक

नविल बैक
एनआईसी एसिया
पुस मसान्त
फागुन
पुस मसान्त
फागुन
चुक्ता पुँजी (रु. अर्बमा)
८.०४
८.०४
८.०३
८.८३
जगेडा कोष (रु. अर्बमा)
४.७९
४.७९
१.८२
१.८२
शेयर प्रिमियम (रु हजारमा)
७०
७०
संचित मुनाफा (रु. अर्बमा)
४.३३
४.३३
०.९४
०.०९९
अन्य कोष (रु. अर्बमा)
०.८९
०.८९
०.८९
०.८५
कुल पुँजी कोष
१८.०६
१८.०६
११.६९
११.६०
निक्षेप (रु. अर्बमा)
१४९.३८
१५६.२६
१७५.७६
१६९.९२
कर्जा तथा सापट (रु. अर्बमा)
१२८.०८
१२८.२५
१४८.९९
१४८.६४
खुद मुनाफा (रु. अर्बमा)
२.०९
२.९३
१.५१
१.५४
प्रति शेयर आम्दानी (रु.)
५४.२८

३४.३१

नेटवर्थ प्रति शेयर (रु.)
२८०.५७

१४९.९३

लाभांस २०७४÷७५ (प्रतिशतमा)
३४

१०.५३

बुक क्लोजको आधारमा २०७४÷७५ को लगानीमा प्रतिफल (प्रतिशतमा)
४.२८

२.५७

नोटः नविल बैंकले वितरण गरेको आव ०७४÷७५ १२ प्रतिशत बोनस शेयर पूँजीकृत गर्न बाँकी छ । यसले संचित मुनाफा, प्रतिशेयर आय र नेटवर्थमा असर पर्नेछ । तलिकामा प्रस्तुत तथ्यांकहरु नेपाल राष्ट्र बैंकबाट प्रकाशित मासिक विवरण र सम्बन्धित बैंकको त्रैमासिक विवरणबाट लिइएका हुन् ।
एनआइसीका चुनौति र भविष्य

आधारभूत तथ्यांकलाई एकातिर छोडर एनआइसीको व्यवसायिक वृद्धिदर मात्र हेर्ने हो भने एनआइसी एशियाले नविल मात्र होइन सबै बैंकहरुभन्दा उत्कृष्ट हुनसक्छ । तर एनआइसी भर्खर मध्यम वर्गबाट माथि उठ्दै माथिल्लो वर्गमा छिरेर स्थापित हुने प्रयासमा रहेको बैंक हो भने नविल बैंकिग क्षेत्रमा खारिएको बैंक हो । बुढापाकाको भाषामा नविलले बैंकिङ क्षेत्रमा बढी नै चन्द्रमा देखेको छ । र, भोटो पनि बढी नै फटाएको छ ।

यससँगै आक्रमक व्यवसाय विस्तारको पहिलो खुड्किलो पार गर्दै दीगो बैंकिगका लागि अग्रसर हुने क्रममा रहेको एनआइसीको पहिलो चुनौति नै आफैंले स्थापित वृद्धिदरको निरन्तरता, मानव संसाधानको व्यवस्थापन, लागत व्यवस्थापन, ठूलो संगठन र संजालको प्रभावकारी व्यवस्थापन र व्यवसायलाई संस्थागत गर्नुमा हुनेछ ।

हालका सिईओको आडमा फैलाइएको व्यवसायिक संजाललाई संस्थागत गर्न नसकेको अवस्थामा आउनसक्ने जोखिम अहिले नै मूल्यांकन र टिप्पणी गर्नु हतारो नै हुनेछ । यसको साथै विस्तारित संजालको स्थायित्वका लागि मानव संसाधनको व्यवस्थापन र प्रणालीगत जोखिमको चतुर्याँइपूर्ण संवोधन हुन नसकेमा एनआइसीले नविलसँगको प्रतिस्पर्धा गर्न निकै कठिन हुनेछ ।

फैलिएको संजालले सिर्जना गर्ने व्यवसायिक अवसरहरुको उपयोग र चुनौतिको सामना गर्दै अगाडि बढ्ने संस्थागत संरचना बनाउन सकेमा एनआइसी एशियाले बैंकिङ क्षेत्रको नेतृत्व गर्ने मात्र होइन, राम्रो पाठ पनि सिकाउनेमा द्विविधा छैन ।

लगानी निर्णय

प्रतिफल र आधारभूत पक्षहरुले नविललाई भेटाउन एनआइसी एसियाले निकै मेहेनत गर्नुपर्ने देखाउँदै गर्दा प्रतिफलको लागि लगानी गर्नेहरु र कम जोखिम लिन चाहनेहरुको रोजाइमा नविल पर्न सक्छ ।

तर वृद्धिदरको गहन अध्ययन गरी जोखिम लिन चाहने दीर्घकालीन लगानीकर्ताहरुले अहिलेदेखि एनआइसी एसियामा लगानी शुरु गर्नपनि सक्छन् । तत्काल कारोबार गरेर पूँजीगत लाभका लागि लगानी गर्नेहरुको रोजाइमा केही समयदेखि रहँदै आएको एनआइसी एसियाको दवदवा अझै रहनसक्ने देखिन्छ ।

अनिल शाह, लेखक वा अन्यको टिप्पणीको आधारमा लगानी निर्णय नै गरेपनि त्यसको लाभहानीको अधिकार र जिम्मेवार स्वयं लगानीकर्ता हुनुपर्ने यथार्थता लागि विचार गरी आफ्नो लगानी रणनीति, जोखिम लिने क्षमता, अपेक्षित प्रतिफल (लाभांस वा पूँजीगत लाभ), लगानी रकमको स्रोत, लगानी अवधि आदिको मनन् गरेर नविल, एनआइसी वा अन्य धितोपत्रमा लगानी गर्ने वा नगर्ने निणर्य लिनु उपयुक्त हुनेछ ।

क्लिकमाण्डु अनलाइनमा २०७५ चैत २६ गते १२:०४ मा प्रकाशित
https://clickmandu.com/2019/04/79419.html