Sunday, March 29, 2020

क्लोजआउट, सर्टसेल र नेपाली सेयरबजार

विश्व कोरोना भाइरसबाट आतंकित हुँदा कोरोनाकै बहानामा सेयर मूल्य घटबढ मानिएको नेपाली सेयर (धितोपत्र) बजार फागुनको अन्तिमतिर क्लोजआउट र सर्टसेल नामक भाइरस बल्झिएर तरंगित भयो । खातामा नभएको धितोपत्र (सेयर, म्युचुअल फन्ड, डिबेन्चर) बेचेर अनैतिक र गैरजिम्मेवारीपूर्वक पुँजीगत लाभका लिन पल्केका टाठाबाठाहरूको मूल्यान्तरको खेलमा सम्भवतः कसैबाट झेल भएर विवाद सतहमा पोखिएको लाग्ने क्लोजआउट बल्झनु र बजार अल्पकालीन उच्च बिन्दुबाट क्रमशः ओरालो लाग्नु संयोग मात्र हुन सक्दैन । अनलाइन समाचारअनुसार करिब तीन वर्षमा पुनः बल्झिएको यस समस्यालाई सामाजिक सञ्जालमा केही नेतृ लगानीकर्ताको टिप्पणीले आगोमा घ्यू थप्ने काम ग-यो ।

क्लोजआउट र आंशिक क्लोजआउट

‘धितोपत्र बजारका लगानीकर्ताले कारोबार राफसाफ तथा फछ्र्योटबारे जान्नुपर्ने कुराहरू’ पुस्तिका अनुसार क्लोजआउट भन्नाले ‘खरिदकर्ताले र बिक्रीकर्ताले बुझाउनु पर्ने रकम तथा धितोपत्र फछ्र्योट अवधिभित्र हस्तान्तरण नगरेमा सो बापत लिनु/दिनुपर्ने रकम तथा धितोपत्र हिसाब मिलान गर्ने कार्य हो ।’ यस्तै, ‘ग्राहकको खाताबाट धितोपत्र बिक्री गर्दा बिक्री गरेको परिमाणभन्दा कम संख्यामा धितोपत्र उपलब्ध भएमा सो बराबरको धितोपत्र राफसाफ तथा फछ्र्योट गरी नपुग संख्या बराबरको धितोपत्र क्लोजआउट गर्नुपर्छ’, जसलाई आंशिक क्लोजआउट भनिन्छ । क्लोजआउटमा राफसाफ सदस्यले क्लोजआउट भएका कारोबार मूल्यको २० प्रतिशत रकम थप गरी बुझाउनुपर्छ ।

‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९’ को विनियम १९ मा समयमा राफसाफसम्बन्धी कार्य सम्पन्न नगरेमा क्लोजआउट गर्न सक्ने, २० मा आंशिक मौज्दात भएमा क्लोजआउट गर्नुपर्ने, २१ मा क्लोजआउटसम्बन्धी व्यवस्था सीडीएससीले निर्धारण गर्न सक्ने र क्लोजआउट गर्दा राफसाफ सदस्यले क्लोजआउट भएको कारोबार मूल्यको २० प्रतिशत रकम थप गरी सीडीएससीमा बुझाउनुपर्ने र २३ मा ग्राहकले राफसाफ गर्न नसकेमा राफसाफ सदस्यले सोको जानकारी सीडीएससीलाई गराउनुपर्नेछ ।
  • प्रचलनमा कुनै लगानीकर्ताले बिक्रि गरेकाे धिताेपत्र ताेकिएकाे समय (टि प्लस वन T1) भित्र दलाललाइ हस्तान्तरण गर्न नसकेकाे अवस्थामा क्लाेजअाउट मानिन्छ र बिक्री मूल्यकाे २० प्रतिशत क्लाेजअाउट जरिवना उक्त बिक्रेताबाट असुल गरिन्छ । यसरी असुल भएकाे रकम क्लाेजअाउटमा परेका कारणा किनेर शेयर नपाउने क्रेतालाइ दिइन्छ । हाल महालेखाकाे दवाव पछि त्यस्ताे रकममा २५ प्रतिशत अाकस्मिक लाभकर (Windfall gain tax @ 25%) कटाएर दिइन्छ । कतिपय ब्राेकर र किन्नेकाे अापसी सहमतिमा उक्त दिनकै शेयर किनेर केहि दिनपछि दिने चलन पनि छ । यस्ताे अवस्थामा मूल्यगत फरक भएमा २० प्रतिशतबाटै समायाेजन गरी अाउने केहि रकम क्रेतालाइ दिन्छन् । त्यसैले शेयर किनेकाे ४–५ दिनसम्म पनि खातामा नअाएकाे अवस्थामा कतै क्लाेजअाउटमा त परेन भनेर साेधखाेज र बुझ्नुपर्छ । यदि क्लाेजअाउटका कारण शेयर प्राप्त नभएकाे अवस्थामा नगद लिने भए ब्राेकरलाइ शेयर नकिनी जरिवना रकम नै दिन भन्नुपर्छ ।
कानुनतः क्लोजआउट व्यवस्थापनको जिम्मा राफसाफ सदस्यको भए पनि उल्लिखित पुस्तिकाअनुसार “बिक्रीकर्ताले खातामा धितोपत्रको मौज्दात नभई कारोबार गर्नु हुँदैन र यस्तो कारोबारको राफसाफ तथा फछ्र्योट कार्य राफसाफ सदस्यले पनि गर्नु हुँदैन । यदि राफसाफ प्रक्रिया अगाडि बढाएमा सीडीएससीले त्यस्तो राफसाफ सदस्यलाई कारवाही गर्न सक्छ ।”

प्रचलित कारोबार विधिमा धितोपत्र बेचेपछि भौतिक डीआईएस (डेबिट इन्स्ट्रक्सन स्लिप) मार्फत भोलिपल्ट (टी प्लस वान) र विद्युतीय डीआईएसबाट पर्सिपल्ट (टी प्लस वान टु) सम्ममा बेचिएको धितोपत्र ब्रोकरलाई हस्तान्तरण गर्नैपर्छ । तर, केही अल्पकालीन लगानीकर्ता र सट्टेबाज (कारोबारी) हरूले समयमै धितोपत्र हस्तान्तरण नगरेको वा गर्न नसकेको भन्दै क्लोजआउटको व्यापक चर्चापछि सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले लगानीकर्तालाई पर्सिपल्ट (टी प्लस टु) भित्र निर्देशन पुर्जी बुझाउन २०७६ फागुन २२ गते सूचना जारी गरी सम्झायो । 

यसरी कानुनतः वर्जित र स्वस्थ कारोबार पद्धतिविपरीत केही सट्टेबाज (कारोबारी) हरूले आफूसँग भएको भन्दा बढी कित्ता र डिम्याट खाता (हितग्राही खाता) मा नआइसकेको सेयर मात्र होइन, पछि किनेर दिने आधारमा हुँदै नभएको धितोपत्र समेत बेचेको चर्चा भयो । प्रकाशित समाचारहरूअनुसार निर्धारित समयमा सेयर दिन नसक्दा क्लोजआउटको २० प्रतिशत जरिवानास्वरूप चालू आर्थिक वर्षको आठ महिनामै लगानीकर्ताले १३ हजार ३ सय ४४ वटा कारोबारमा १७ लाख ६७ हजार ३ सय ८६ कित्ता सेयर बिक्री गर्दा ११ करोड ८२ लाख ७४ हजार १ सय ५६ रुपैयाँ क्लोजआउट जरिवाना तिरेका छन् । जुन गत आवको तुलनामा १७ प्रतिशत बढी हो (मेरो लगानी, ३ फागुन २०७६) ।

एक लगानीकर्ताले सामाजिक सञ्जालमा ‘केही ठूलो पर्दापछाडिका समूहहरू मिलेर आफूसँग नभएको सेयर पनि नेप्से १६५० माथि पुगेको बेला लाखौं कित्ता बेचेर अहिले बजारलाई जतिसक्दो तल झार्दै किन्दै गरेको, .... सेटलमेन्टको मिति सार्ने काम गरेको, .... अनि सीमित समूहलाई मात्र ‘सर्टसेल’ सुबिधा किन ?’ भन्दै आक्रोश पोखिन् । यसले विगतदेखि अनैतिक रूपमा मौलाइरहेको भाइरसरूपी क्लोजआउट र सर्टसेललाई लगानीकर्ता र कारोबारीमाझ व्यापक बहसमा ल्यायो ।
  • पुरा टिप्पणी “केहि ठूलो पर्दा पछाडिका समूहहरु मिलेर आफुसँग नभएको सेयर पनि नेप्से १६५० माथि पुगेको बेला लाखौं कित्ता बेचेर अहिले बजारलाई जतिसक्दो तल झार्दै किन्दै गरेको कुरा सुन्नमा आएको र उनीहरुले सर्वसाधारण लगानीकर्ताहरुको सेयर यो प्रयोगको लागि सेटलमेण्ट गर्ने अनि लगानीकर्ताहरुको खातामा धेरै दिनपछि मात्र सेयर हाल्ने र सेटलमेण्टको मिति सार्ने काम गरेको भन्ने कुराहरू पनि सुन्नमा आयो । यदि त्यसो हो भने अहिले सस्तोमा सेयर बेच्ने सर्बसाधरण लगानीकर्ताहरु बियरिस ट्रापमा पर्ने सम्भावना हुन्छ । बियरिस ट्राप भनेको नाटकीय रूपमा घटाएको बजारमा आफुले सेयर सस्तोमा बेचेको केहि दिनपछि बजार फेरि बुलमा फर्कनु हो । आफुसँग नभएको सेयर महङ्गोमा बेचेर फेरी सस्तो बजारमा किनेर सेटलमेन्ट मिलाउने कामलाई सर्ट सेल भन्छन्, यो सुबिधा कि सबै लगानीकर्ताहरुलाई दिनुपर्यो, नभए सिमित समुहलाई मात्र यो सुबिधा किन? सरकार ?”
हुन त भौतिक कारोबारको समयमा केही कारोबारीहरूले ब्ल्यांक ट्रान्सफरका रूपमा आफ्नो नाममा पूरै हस्तान्तरण नभएको सेयर किनबेच गर्ने प्रचलन भए पनि अभौतिक कारोबार र प्रविधिको प्रयोगसँगै छोटो समयमा अधिक कारोबारबाट पुँजीगत लाभको लोभमा सट्टेबाजहरूले खातामा नभएको सेयर बेच्ने अनैतिक र गैरजिम्मेवारपूर्ण कार्यले व्यापकता पाएको देखिन्छ । विश्व धितोपत्र बजारमा प्रचलित अप्सन ट्रेडिङ, इन्ट्रा–डे ट्रेडिङ, फ्युचर ट्रेडिङजस्ता अल्पकालीन लगानीका विकल्प नहुँदा अत्यधिक जोखिम मोल्ने सट्टेबाजहरूले हिजो किनेको सेयर आजै बेच्ने गैरकानुनी सर्टसेलको विधि अपनाए । अनलाइन कारोबार प्रणाली, बहुडिम्याट खाता र भौतिक वा अभौतिक रूपमा धितोपत्र हस्तान्तरणको छनोट सुविधाले अनैतिक बिक्रीलाई थप सहजता मिल्यो ।

सीडीएससीको पुस्तिकाअनुसार सर्ट सेल भनिने आफूसँग उपलब्ध नभएको धितोपत्र बिक्री गर्ने कार्य र कारोबार अवैधानिक हुन्छ ।

जानाजान वा भूलवश खातामा नभएको धितोपत्र बिक्री सिर्जित क्लोजआउट वा सर्टसेलको समस्या समाधानका लागि केही समयदेखि अक्सन कारोबारको चर्चा भए पनि हालसम्म त्यसलाई व्यावहारिक रूपमा सञ्चालनमा ल्याइएको छैन । ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को परिच्छेद ६ मा अक्सन कारोबार सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ । विनियम ३४ (१) मा ‘नेप्सेले कारोबार सदस्यको उपस्थितिमा बोलकबोलको माध्यमबाट वा कारोबार प्रणालीमार्फत अक्सन कारोबार सञ्चाल गर्न’ र (२) मा ‘अदालत वा नेपाल सरकार वा नियामक निकाय वा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्न अधिकार प्राप्त निकायको आदेश वा कारोबार र राफसाफ प्रणालीमा हुनसक्ने प्राविधिक त्रुटि वा त्यस्तै अन्य कारणले धितोपत्र बिक्रीकर्ताको मौज्दातमा धितोपत्र उपलब्ध हुन नसकेमा नेप्सेले सञ्चालन गर्ने अक्सन कारोबारमार्फत धितोपत्र खरिद गरी राफसाफ गर्न’ सक्ने उल्लेख छ ।

यसै विनियम ३५ मा समय तोकेर अक्सन कारोबार सञ्चालन गर्न सक्ने, नियमित राफसाफ समय भित्र विक्रेताले आवश्यक संख्यामा धितोपत्र उपलब्ध गराउन नसकेमा सीडीएसले सोको जानकारी नेप्से र सम्बद्ध कारोबार सदस्यलाई तत्काल उपलब्ध गराउनुपर्ने, जानकारीका आधारमा नियमित राफसाफ समयपश्चात्को कार्यालय खुलेको दिन अक्सन कारोबार सञ्चालन हुने, उक्त अक्सन कारोबारको राफसाफ त्यस्तो कारोबार भएको भोलिपल्ट गर्नुपर्ने, अक्सन कारोबारमा आवश्यक संख्यामा धितोपत्र उपलब्ध नभएमा उपलब्ध भएजतिको धितोपत्र राफसाफ गर्नुपर्ने र बाँकी राफसाफ विनियमावली बमोजिम हुने उल्लेख छ । विनियमअनुसार धितोपत्रको सुरु कारोबार हुँदा कायम मूल्यभन्दा कम मूल्यमा अक्सन कारोबार धितोपत्र उपलब्ध भएमा त्यसरी फरक हुन आउने रकम कारोबार सदस्यले कारोबार राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड) मा जम्मा गर्नुपर्ने, तर सुरुवाती मूल्यभन्दा बढीमा कारोबार भएमा फरक हुन आउने रकम कारोबार सदस्यले सम्बन्धित ग्राहकबाट असुलउपर गरी लिने उल्लेख छ । विनियमअनुसार अक्सन कारोबारमा कायम मूल्यलाई अन्तिम मूल्य वा बजार परिसूचक गणनामा समावेश हुनेछैन ।

तर सर्टसेल पनि नरोकिएको र अक्सन कारोबार सुरु नभएको अवस्थामा राफसाफ व्यवस्थापनको छिद्र प्रयोग गर्दै केही ब्रोकरले समझदारीको नाममा सेयर किन्नेलाई आर्थिक क्षतिपूर्ति पनि नदिने बरु आफूसँग भएको पुल एकाउन्ट दुरुपयोग गरी मिलेमतोमा गैरजिम्मेवार विक्रेताको पक्ष र नाजायज फाइदाका लागि लागेको देखिन्छ ।

व्यवहारिक समस्या र समाधान

१. क्रेता र विक्रेताको धितोपत्र व्यवस्थापन क्षमता बढाउने, आचारसंहिता जारी गर्ने, क्लोजआउट वा सर्टसेलसम्बन्धी कानुनी व्यवस्थाको स्पष्ट जानकारी दिने र चुस्त नियमन गर्ने ।

२. क्रेता र विक्रेतालाई कानुनतः जिम्मेवार बनाउने र बदनियपूर्वक खातामा नभएको सेयर बेचेर क्लोजआउट गर्ने कार्यलाई गैरकानुनी र आपराधिक कार्यका रुपमा परिभाषित गरी हालको २० प्रतिशत जरिवाना बढाएर कम्तीमा ५० प्रतिशत पु-याउँदै समयमा राफसाफ नगर्नेलाई निश्चित दिन कुनै पनि ब्रोकरबाट कुनै पनि धितोपत्र कारोबार गर्न नपाउने प्रतिबन्धसहित कालोसूचीमा राख्न कानुन तयार गर्ने ।

३. विक्रेताको गैरजिम्मेवारी र लापरवाही सिर्जित क्लोजआउटबाट क्रेतालाई पुग्न गएको हानिका लागि अनिवार्य आर्थिक क्षतिपूर्तिको व्यवस्था र कार्यान्वयन गर्ने ।

४. सुविधाको दुरुपयोग गरी हुनसक्ने सर्टसेल नियन्त्रणका लागि क) अनलाइनबाट बिक्री आदेश राख्दा नै स्वचालित रूपमा तत्काल डिम्याट खातामा बिक्रीयोग्य धितोपत्र भेरिफाइ गरी (रियल टाइम डिम्याट चेक) सोही संख्यासम्म मात्र बिक्री आदेश दिन सकिने व्यवस्था गर्ने, र ख) कसैले अर्को खाताबाट समेत हस्तान्तरण हुने गरी उक्त धितोपत्र बेच्न चाहेमा ब्रोकरको जानकारीमा (अफलाइन) मात्र बिक्रीको व्यवस्था गर्ने ।

५. बहुडिम्याट खाता र भौतिक वा अभौतिक निर्देशन पुर्जीको विकल्पलाई निश्चित समयभित्र एकद्वार हस्तान्तरण प्रणालीमा ल्याउन ‘एक लगानीकर्ता एक डिम्याट’ कायम गर्दै बहुडिम्याट खाता बन्द गराउन अनलाइन नै निःशुल्क वा न्यून शुल्कमा सहजै एक डिपीबाट अर्कोमा डिम्याट खाता सार्ने र खाता सार्दा फ्राक्सन सेयर (पूर्ण किताभन्दा कम) समेत सर्ने व्यवस्था गर्ने । कागजी डीआईएसलाई निरुत्साहित गर्न ‘मेरो सेयर’ सेवालाई केही वर्ष निःशुल्क र अनिवार्य गर्दै एप र अनलाइनबाट सहज सेवा उपलब्ध गराउँदै एक वर्षभित्र भौतिक डीआईएस र बहुडिम्याटको विकल्प हटाउने ।

ठाटाबाठा र पहुँचवाला कारोबारीको पुँजीगत लाभ, ब्रोकर र नेप्सेको कमिसन तथा सरकारको लाभकरको लालसाले बजारको दीर्घरोग क्लोजआउट वा सर्टसेल समस्याको समाधान जटिल र कठिन देखिएको छ । केही व्यक्तिको बदनियतपूर्ण कार्यले बजारलाई आक्रान्त बनाउँदा समेत कतैबाट समाधानको ठोस पहल नहुनु झन् दुःखद छ । तत्काल निमिट्यान्न र नियमन नगर्ने हो भने थप लगानीकर्ताहरू बदमास कारोबारी बन्नेछन्, जसले क्लोजआउटको समस्या झन् विकराल बन्नेछ । अक्सन कारोबार कार्यान्वयनमा ल्याउँदै गर्दा विक्रेतालाई दण्ड र जरिवानासँगै नभएको सेयर बिक्रीमा रोकथाम र क्रेतालाई यथोचित क्षतिपूर्तिमा ध्यान जानैपर्छ ।

२०७६ चैत १६ गते काराेवार दैनिकमा प्रकाशित
https://www.karobardaily.com/news/idea/30524
Last revised/updated 25 May 2021, 11:47 NST

Monday, March 16, 2020

सेयर बजारमा मूल्यगत जोखिम र अवसर

सेयर मूल्य र मूल्यान्तर

धितोपत्र (सेयर, डिबेन्चर वा म्युचुअल फन्डका एकाइ) प्राथमिक बजारमा किन्न र दोस्रो बजारमा किन्न तथा बेच्न सकिन्छ । प्राथमिक बजारमा धितोपत्रको मूल्य स्थिर हुन्छ, अर्थात् अंकित मूल्य वा प्रिमियम सहित निश्चित वा लिलामीको हकमा क्रेताले कबोल गरेबमोजिम हुन्छ । दोस्रो बजार (सेयर बजार) मा किनबेच हुने धितोपत्रको मूल्य स्टक ब्रोकरमार्फत क्रेता र विक्रेताले आपसी मोलमोलाइ र सहमतिमा तय हुन्छ, त्यसैले प्रत्येक कारोबारमा एउटै धितोपत्रको फरक मूल्य कायम हुन सक्छ । तोकिएको कानुनी सीमाभित्र रहेर स्वस्थ मोलमोलाइबाट कायम फरक मूल्यलाई नै मूल्यान्तर भनिन्छ, जुन कानुनत: वैधानिक मानिन्छ । सेयर बजारमा सबैभन्दा जटिल र विवादस्पद भनेकै मूल्य हो ।

विद्यमान नियमानुसार कम्पनीको हकमा बिहान कारोबार सुरुअगाडि (प्रिओपनिङ) मा अघिल्लो कारोबार मूल्यको ५ प्रतिशतसम्म तथा नियमित कारोबार समयमा अन्तिम कारोबार मूल्यको २ प्रतिशत र दैनिक अधिकतम १० प्रतिशतको मूल्यान्तर हुन सक्छ । सूचीकृत कम्पनीहरूको सेयरको समग्र मूल्य सूचकांक जनाउने नेप्से परिसूचकको हकमा सर्किट भनिने मूल्यान्तर कारोबार सुरु भएको पहिलो घण्टा ४ प्रतिशतमा २० मिनेट, दोस्रो घण्टा ५ प्रतिशतमा ४० मिनेट र त्यसपछि ६ प्रतिशत भएमा दिनभरिलाई कारोवार नै रोकिने व्यवस्था छ ।

थप टिप्पणी, २०७८ असार १० गते नियामकबाट (क) प्रिअाेपन सेसनमा विगतकाे ५ प्रतिशतकाे सट्टा ‘२ प्रतिशत घटी वा बढीको मूल्य सीमा’ (±२ प्रतिशत) कायम कायम गर्न, र (ख) खरिदबिक्रि अादेश प्रविष्टिमा हाल कायम रू १ काे व्यवस्थालाइ परिवर्तन गर्दै १० पैसा घटि वा बढिकाे अन्तरमा मूल्यमा अादेश दिन सकिने (माेलमाेलाइ) काे व्यवस्था गर्न निर्देशन भएकाे छ। नियामककाे २०७८ असार १० काे निर्देशन । 

मूल्यान्तर र सर्किटसम्बन्धी कानुनी व्यवस्था र प्रचलित विधीबीच केहि भिन्नता देख्न सकिन्छ । प्रत्येक धिताेपत्रकाे सम्बन्धमा कानुनले प्रिअाेपनमा कायम मूल्यकाे ±१० प्रतिशत भनेपनि प्रचलनमा अघिल्लाे दिन कायम अन्तिम काराेवार मूल्यकाे ±१० प्रतिशतमा सर्किटकाे व्यवस्था छ । यसले एक दिनमा एक धिताेपत्रकाे मूल्य अघिल्लाे दिनमा कायम मूल्यकाे अाधारमा कुल २० प्रतिशत र एकै दिन कायम हुनसक्ने न्यून्तम मूल्यकाे अाधार २२.२२ प्रतिशत वा अधिकतम मूल्यका अाधारमा १८.१८ प्रतिशतकाे मूल्यान्तरकाे सम्भावना रहन्छ । मूल्य प्रविष्टिकाे सम्बन्धमा समेत टिएमएसमा उपलब्ध एमकेटि (मार्केट) विकल्पबाट खरिदबिक्री अादेश प्रविष्ट गरिएकाे अवस्थामा २ प्रतिशतकाे मूल्य सीमा सहजै ताेडिन सक्छ । यसरी व्यवहारमा मूल्यान्तर किनबेच अादेशमा ±२ प्रतिशत र दिनकाे ±१० प्रतिशत (कुल २० प्रतिशत) भएपनि कानुनमा केहि विवाद (±१५% अब ±१२%) हाे कि भन्ने विवाद देखिएकाे छ । यससम्बन्धी थप जानकारीका लागि एकैचोटी १८% तल र २२% माथिसम्म जानसक्छ सेयर मूल्य, के सर्किट रेन्ज घटाउन आवश्यक हो? (bizmandu.com) पढ्न सकिन्छ ।


सर्किट ब्रेकर (नेप्सेकाे परिभाषा)

स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन् । बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो । प्रत्येक दिन सेयरको प्रथम कारोबार हुँदा उक्त सेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ । डिवेन्चर भएमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०.१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ ।

यसैगरी कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र  तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ ।

http://nepalstock.com.np/education/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%9f-%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%b0/


क्रेता र विक्रेतामा अन्तर्निहित वैधानिक मूल्यान्तरको अधिकार र सम्भावना नै सेयर बजारको चरित्र र विशिष्टता हो, जसले बजारलाई जीवन्तता दिइरहेको छ । यहि मूल्यान्तरका लागि किन्ने र बेच्नेले स्वार्थ अनुकूल विभिन्न रणनीति अपनाउँछन् । विशेषत: अल्पकालीन लगानीकर्ता (सेयर कारोबारी) हरू मूल्यान्तरले सिर्जना गर्ने मुनाफा (पुँजीगत लाभ)का लागि लगानी र कारोबार गरिरहेका हुन्छन् । मूल्यान्तरले नै कारोबारीको नाफा–घाटा र लगानीकर्ताको अदृश्य सम्पति (भर्चुअल प्रोपर्टी) निर्धारण हुने हुँदा किन्ने, बेच्ने वा धारक (होल्ड) गर्ने सबै मूल्यप्रति सचेत र स्वार्थअनुकूल मूल्य प्रभावित गर्ने प्रयास गर्छन् ।

किन्नेले माग घटाएर, आपूर्ति बढाएर, तर्साएर सस्तोमा बेच्न विक्रेतालाई तथा विक्रेताले पनि अनेक लोभलालच वा आशा देखाएर, प्राकृतिक वा अप्राकृतिक मागको सिर्जना गरेर वा आपूर्ति नियन्त्रण गरेर मूल्यमा प्रभाव पार्दै किनबेचमा उक्साउन सक्छन् । केही समयपहिले मूल्य बढाउन अर्थमन्त्रीको बहिर्गमन, ब्याजदरमा गिरावट, सुलभ कर्जादेखि चिनियाँ व्यापारीको लगानी, बियरिसको समाप्ति, नेप्से ३५ सय र ५४ सय बिन्दु पुग्ने सूचना प्रवाह भयो । पुन: मूल्य घटाउन मुनाफा बुक गरेर ठूला कारोबारी र चिनियाँ व्यापारी बाहिरिएको, कोरोना भाइरसले अर्थतन्त्रमा नकारात्मक प्रभाव, विश्व सेयर बजार ध्वस्तजस्ता अनेक सूचना प्रवाह गरियो । नतिजास्वरूप एक हप्तामा करिब १९७ बिन्दुको उच्च दरमा बढेको बजार मूल्य परिसूचक (नेप्से) अर्को हप्ता १९६ बिन्दु हाराहारी झ-यो । एकै दिन ४, ५ र ६ प्रतिशतको मूल्य गिरावटले बजारमा कारोबार समेत रोकियो ।

वैधानिक रूपमा खेलिएको मूल्यगत खेलमा पहिले हावी भएका विक्रेताहरू एकै हप्ता क्रेताहरूको दबाबमा मूल्य घटाएर बेच्न बाध्य भए । मूल्य पासोमा पालैपालो फसेकाहरू आपसी आरोप–प्रत्यारोपसँगै नियामकलाई समेत नियमन र नियन्त्रणको प्रयास नगरेको भन्दै मूल्यान्तरको खेलमा तान्ने प्रयास भयो, जुन मूल्यगत खेलमा सहभागी क्रेता र विक्रेताले स्वार्थअनुकूल मूल्य पासो खेलाउन नसक्दा पराजित मानसिकता सिर्जित आक्रोसजस्तै हो ।

मूल्यगत जोखिम र अवसर

किन्नेले सस्तोमा किन्न र बेच्नेले महँगोमा बेच्न रणनीतिअनुरुप खेलिएको मूल्यान्तरको खेलबाट कायम मूल्यले हुने पुँजीगत नाफाघाटा र सेयर सम्पत्तिको वृद्धि वा नोक्सानी नै मूल्यगत जोखिम र अवसर हो । रमाइलोचाहिँ, सेयर बजारको मूल्य पासो फ्याँकेर खेलिने मूल्यान्तरको खेलमा एउटै धितोपत्रमा किन्न चाहनेले अवसर र बेच्न खोज्नेले जोखिम देख्छ । त्यसैले विक्रेता अनेक अवसरको देखाउँदै महँगोमा किन्न क्रेतालाई उक्साउँछ भने क्रेता पनि सम्भावित जोखिम र नोक्सानी देखाएर तसाउँदै विक्रेतालाई सस्तोमा बेच्न बाध्य पार्छ । क्रेता र विक्रेताबीचको मोलमोलाइबाट तय मूल्यमा सम्बन्धित पक्षहरूबीच तोकिएको धितोपत्रको किनबेच हुनुका साथै सम्बन्धित कम्पनीका सबै सेयरधारकहरूको खुद सम्पत्तिमा बृद्धि वा हानि पु-याइरहेको अनि अर्को मोलमोलाइको सीमा तय गरिरहेको हुन्छ; अर्थात् केही व्यक्तिको मूल्यगत खेलले त्यसमा सहभागी नभएका अन्य सेयरधनीलाई जोखिम र अवसरको सिर्जना गर्ने हुँदा यसमा कानुनी सीमा र उच्च नियमनको व्यवस्था हुन्छ । भित्री सूचनाको आधारमा मूल्य पासोमा फसाउन र कारोबार त दण्डनीय नै हुन्छ ।

अति मूल्य संवेदनशिल र जोखिमपूर्ण मूल्यान्तरको खेलमा कारोबार र लगानीकर्ताले सम्भावित जोखिम र अवसरको सूक्ष्म विश्लेषण गर्दै कतिसम्म घाटा बेहोर्ने ? कति र कुन नाफा कमाउने ? मूल्य परिवर्तनका कारण हुन सक्ने जोखिम र अवसरको व्यवस्थापन कसरी गर्ने ? जस्ता अनेक पक्षलाई ध्यान दिएर किन्ने, बेच्ने वा धारण गर्ने स्वार्थअनुरूप आफूले वहन र व्यवस्थापन गर्न सक्ने सीमासम्मको मात्र जोखिम लिनु र अवसरको सदुपयोग गर्नुपर्छ ।

जोखिम मापन र विश्लेषण

दोस्रोबजारमा कारोबारी र लगानीकर्ताले सही मूल्यगत जोखिम मापन र विश्लेषण गर्न सके मात्र स्वार्थ अनुकूल मूल्य कायम गर्दै अवसरको सिर्जना गर्न सक्छ । यहाँ क्रेता र विक्रेताले आफूलाई निकै चतुर ठानेर एकले अर्कोलाई मूल्य पासो थापेर किनबेचका लागि उक्साउने हुँदा धितोपत्रको वास्तविक जोखिम कति वा उचित मूल्य (फेयर प्राइस) कति गणना गर्न निकै जटिल हुन्छ । किनबेचको उद्देश्य र स्वार्थअनुरूप मूल्यगत जोखिम मापन गर्न कारोबारीले प्राविधिक विश्लेषणको रेसिस्टेन्स र सपोर्ट विधि पछ्याउन तथा लगानीकर्ताले मुख्य वित्तीय सूचकहरूको आधारमा मूल्य अनुपातको सहयोग लिन सकिन्छ ।

(क) मूल्य आम्दानी अनुपात : मूल्यगत जोखिम र अवसर मापनको सबैभन्दा सहज र आमरूपमा प्रचलित विधि मूल्य आम्दानी अनुपात (पीई रेसियो) हो । परल वा प्रचलित मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर पीई निकालिन्छ । लगानीकर्ताहरूको कम्पनीप्रतिको विश्वास र मनोविज्ञानसँगै जोखिमलाई मूल्यमा व्यक्त गर्ने र प्रत्येक कारोबारको मूल्यसँगै परिवर्तन हुने पीई रेसियो धेरैले कम भएको कम्पनीमा लगानी सुरक्षित र कम जोखिमको मान्यतामा लगानीको प्राथमिकतामा राख्छन् । सामान्यत: पीई रेसियो १० गुनासम्म सस्तो र कम जोखिम, १५ गुनासम्म किन्न उपयुक्त र मध्यम जोखिम, २० गुनासम्म जोखिमयुक्त (थोरै बढी मूल्य) र २० भन्दा बढी हुँदा महँगो वा अति जोखिमपूर्ण मानिन्छ । पीई रेसियोको आधारमा लगानी निर्णय गर्दा जोखिम र प्रतिफल अन्तरसम्बन्ध, अन्य वित्तीयसूचक, व्यवसायिक विस्तारको अवस्था र समान व्यवसाय गर्ने वा एउटै इन्डस्ट्रीको पीई रेसियोलाई ध्यान दिँदै आफ्नो जोखिमवहन र व्यवस्थापन क्षमताका आधारमा उपयुक्त पिई आफै निर्धारण गर्नुपर्छ ।

(ख) किताबी बजार मूल्य अनुपात : बजारको प्रचलित वा परल मूल्यलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएर आउने खुद सम्पत्तिको आधारमा गणना गरिएको किताबी मूल्य (बुक भ्याल्यु) लेभाग गरेर किताबी र बजार मूल्य अनुपात (प्राइस टु बुक अर्थात् पिबी रेसियो) निकालिन्छ । यसले वास्तविक प्रतिकित्ता सम्पत्तिका लागि कति गुना मूल्य भन्ने देखाउँछ । यो पनि मूल्यसँगै परिवर्तन हुन्छ र कम रेसियोले बुक भ्याल्युको तुलनामा सस्तो वा महँगो अर्थात् मूल्यगत रुपमा कति जोखिम र अवसर देखाउँछ । सामान्यत: पिबी रेसियो २ गुनासम्म कम जोखिमपूर्ण र लगानीयुकतमानिन्छ, तर कति गुनासम्मको मूल्य उचित र कति जोखिम लिने आफैंले निर्णय गर्नुपर्छ ।

(ग) ग्राहम भ्याल्यु : उचित मूल्य र मूल्यगत जोखिम मापन गर्न प्रयोग गरिने अर्को औजार ग्राहम भ्याल्यु पनि हो । बेन्जामिन ग्राहमद्वारा प्रतिपादित यस सिद्धान्तमा कम्पनीको दीर्घकालीन विकास दर, आम्दानी, खुद सम्पति र लाभांस दर (डिभिडेन्ड पेआउट) जस्ता विभिन्न आधारभूत पक्षहरूको सूत्रगत विश्लेषण गरेर उक्त कम्पनीको सेयरको अन्तर्य मूल्य (सैद्धान्तिक वा उचित मूल्य) गणना गरी प्रचलित मूल्यसँग तुलना गरिन्छ । प्रचलित वा परल मूल्यभन्दा अन्तर्य मूल्य (इन्ट्रिन्जिक भ्याल्यु) बढी भएको कम्पनी लगानीको लागि उपयुक्त मानिन्छ । भ्याल्यु इन्भेस्टरसमेत भनिने दीर्घकालीन लगानीकर्ताले ग्राहम सिद्धान्तलाई लगानी निर्णयको मुख्य आधार बनाउँछन् ।

बैंकहरुको हालैको मूल्यान्तर, पिई रेसियो, पिबी रेसियो, ग्राहम भ्यालू र छुट वा प्रिमियम
बैंक
प्रतिशेयर आय (रु.)
नेटवर्थ (बुकभ्यालू) (रु.)
०७६ फागुन १ को अन्तिम मूल्य (रु.)
२०७६ फागुन १५ को अन्तिम मूल्य (रु.)
२०७६ फागुन २९ को अन्तिम मूल्य (रु.)
१–१५ गते मूल्यान्तर रु. (%)
१५–२९ गते मूल्यान्तर रु. (%)
१–२९ गते मूल्यान्तर रु. (%)
२९ फागुनको पिई रेसियो
२९ फागुनको पिबी रेसियो
ग्राहम भ्यालू
ग्राहम भ्यालूको आधारमा २९ फागुन मूल्यमा छुट वा प्रिमियम
नेपाल बंगलादेश
१९.०२
१४२.३०
२०४
२६२
२१५
५८ (२८)
–४७ (१८)
११ (५)
११.३०
१.५१
२४६.७७
–३१.७७
नेपाल
२३.९७
२५०.०५
२६७
३१५
२७३
४८ (१८)
–४२ (१३)
६ (२)
११.३९
१.०९
३६७.२३
–९४.२३
बैंक अफ काठमान्डू
२०.६८
१५९.८५
२३२
२८४
२३९
५२ (२२)
–४५ (१६)
७ (३)
११.५६
१.५०
२७२.७२
–३३.७२
प्रभु
२१.०५
१४७.६१
२४१
२८४
२४४
४३ (१८)
–४० (१४)
३ (१)
११.५९
१.६५
२६४.४१
–२०.४१
सेञ्चुरी
१५.४५
१२७.००
१८३
२०२
१८१
१९ (१०)
–२१ (१०)
–२ (–१)
११.७२
१.४३
२१०.१२
–२९.१२
नेपाल क्रेडिट एण्ड कमर्स
१६.१७
१३५.१२
१९३
२२४
१९१
३१ (१६)
–३३ (१५)
–२ (–१)
११.८१
१.४१
२२१.७२
–३०.७२
कुमारी
१६.८१
१३०.६४
१९३
२२८
२००
३५ (१८)
–२८ (१२)
७ (४)
११.९०
१.५३
२२२.२९
–२२.२९
लक्ष्मी
१८.४१
१३३.९०
२२४
२६७
२२१
४३ (१९)
–४६ (१७)
–२ (–१)
१२.००
१.६५
२३५.५१
–१४.५१
माछापुच्छ्रे
१९.४३
१३१.८८
२३१
२८३
२३५
५२ (२३)
–४८ (१७)
४ (२)
१२.०९
१.७८
२४०.११
–५.११
सनराइज
२१.०६
१४२.२६
२४४
२९९
२२५
५५ (२३)
–४४ (१५)
११ (५)
१२.११
१.७९
२५९.६३
–४.६३
ग्लोबल आइएमई
२२.५३
१४५.२३
२७६
३०६
२७४
३० (११)
–३२ (१०)
–२ (–१)
१२.१६
१.८९
२७१.३३
+२.६७
मेगा
१८.२९
१२७.२५
२०४
२६५
२२३
६१ (३०)
–४२ (१६)
१९ (९)
१२.१९
१.७५
२२८.८४
–५.८४
सिटिजन्स
१५.९५
१४१.१३
१९४
२३०
१९५
३६ (१९)
–३५ (१५)
१ (१)
१२.२३
१.३८
२२५.०५
–३०.०५
प्राइम कमर्सियल
२३.१५
१३६.५६
२७७
३३५
२८७
५८ (२१)
–४८ (१४)
१० (४)
१२.४०
२.१०
२६६.७०
+२०.३०
एनआईसी एसिया
४१.५०
१६४.८७
५०३
६६०
५५०
१५७ (३१)
–११० (१७)
४७ (९)
१३.२५
३.३४
३९२.३६
+१५७.६४
कृषि विकास
२९.६९
२५५.७२
३८४
४६७
३९७
८३ (२२)
–७० (१५)
१३ (३)
१३.३७
१.५५
४१३.३१
–१६.३१
सानिमा
२६.०७
१३९.०६
३४४
४२४
३४९
८० (२३)
–७५ (१८)
५ (१)
१३.३९
२.५१
२८५ं६०
+६३.४०
सिद्धार्थ
२०.९८
१५०.७२
३०९
३८१
३११
७२ (२३)
–७० (१८)
२ (१)
१४.८२
२.०६
२६६.७३
+४४.२७
हिमालयन
३७.१८
१७८.३६
५२८
६९८
५८४
१७० (३२)
–११४ (१६)
५६ (११)
१५.७१
३.२७
३८६.२७
+१९७.७३
नेपाल इन्भेष्टमेन्ट
२३.४३
१८४.०३
३७५
४८४
४०२
१०९ (२९)
–८२ (१७)
२७ (७)
१७.६१
२.१८
३११.४७
+९०.५३
सिभिल
७.९०
१२४.२२
१५१
१६२
१४४
११ (७)
–१८ (११)
–७ (–५)
१८.२३
१.१६
१४८.५९
–४.५९
एनएमबी
२३.४५
१४४.२६
३८०
४९८
४३७
११८ (३१)
–६१ (१२)
५७ (१५)
१८.६४
३.०३
२७५.८९
+१६१.११
नविल
४०.४४
२३६.६८
७२३
९५५
७९०
२३२ (३२)
–१६५ (१७)
६७ (९)
१९.५४
३.३४
४६४.०६
+३२५.९४
नेपाल एसबिआई
२२.३५
१४८.६४
४०४
५४२
४४०
१३८ (३४)
–१०२ (१९)
३६ (९)
१९.६९
२.९६
२७३.४०
+१६६.६०
एभरेष्ट
३५.६२
२०७.०४
६३९
८८०
७०६
२४१ (३८)
–१७४ (२०)
६७ (१०)
१९.८२
३.४१
४०७.३५
+२९८.६५
स्ट्याण्डर्ड चार्टड
३०.६३
१७९.०३
६०७
८३७
६६७
२३० (३८)
–१७० (२०)
६० (१०)
२१.७८
३.७३
३५१.२६
+३१५.७४
औसत
२३.५१
१६०.१३
३२७.३१
४१४.३१
३४६.५४
८७ (२४)
६८ (१६)
१९ (४)
१४.३०
२.१२
२८८.८०
+५७.७४
नोटः तथ्यांकहरु दिपक दाहालको सहयोगमा समायोजित इपिएस र नेटवर्थका आधारमा गणना गरिएको । कैलासको प्राप्तिले प्राइम तथा लाभांसले सेञ्चुरीको तथ्यांक प्रभावित हुनेछ ।

अन्त्यमा, विभिन्न आधारमा बजार मूल्यको विश्लेषण गर्न र केही हदसम्म प्रभावित गर्न सकिए पनि पूर्ण नियन्त्रण गर्न सकिँदैन । तथ्यांकीय शुद्धतामा निर्भर उल्लिखित विश्लेषण नेपालको सन्दर्भमा त्रुटिपूर्ण र थप जोखिमपूर्ण हुने देखिन्छ । तसर्थ, धितोपत्रको मूल्यगत जोखिम लिँदा विश्लेषणसँगै बजारको वर्तमान अवस्था, आर्थिक–राजनीतिक, नीतिनियम, कम्पनीको विगत र विर्तमान अवस्थाका साथै जोखिमवहन र व्यवस्थापन क्षमतामा निकै सजग र सतर्क रहनुपर्छ । 

काराेवाद दैनिकमा प्रकाशित लेख
Revised/updated 1 July 2021, NST 11.33