Showing posts with label वचत परिचालन. Show all posts
Showing posts with label वचत परिचालन. Show all posts

Sunday, June 30, 2019

डिबेन्चर कारोबारका व्यावहारिक समस्या र समाधान

मुद्दती बचतकै जस्तो सुनिश्चित आम्दानी (ब्याज) र सेयरको जस्तो पुँजीगत लाभको सम्भावना रहेको डिबेन्चर जोखिम र प्रतिफलको सन्तुलनका हिसाबले जति आकर्षक देखिन्छ, लगानी सहजता र तरलताको हिसाबले त्यत्तिकै अव्यावहारिक महसुस हुन्छ । उद्योग, व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरूको स्वपुँजी (इक्विटी) र ऋण पुँजी (डेब्थ)को सन्तुलन कायम गर्न मात्र होइन, धितोपत्र लगानीकर्ता र कारोबारीहरूका लागिसमेत लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को उपयोगी साधनका रूपमा रहेको डिबेन्चर नेपाली धितोपत्र बजारमा गुमनामजस्तै बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी पर्याप्तता कोष व्यवस्थापनमा ऋण पुँजीको हिस्सा बढाउने र प्रोत्साहित गर्ने नीतिसँगै बैंकहरूको डिबेन्चर जारी हुने क्रम बढे तापनि धितोपत्र बजारमा कारोबारको असहजता र व्यावहारिक कठिनाइले गर्दा डिबेन्चर केवल संस्थागत लगानीकर्ताहरूका लागि बिनाब्याजदर प्रतिस्पर्धा मुद्दती निक्षेप राखेजस्तो मात्र भएको छ ।

व्यक्तिगत लगानीकर्ताहरू त डिबेन्चरमा लगानी त परको कुरा, नामसमेत लिन रुचाउँदैनन् भन्ने डिबेन्चर निष्कासनमा हुने न्यून आवेदनले पनि देखिएको छ । यसले एकातिर ठूलो रकम पुँजीबजारबाट मुद्दती निक्षेपका रूपमा थन्किन बाध्य छ भने अर्कातिर डिबेन्चरका खरिदकर्ताहरूले चाहेर वा नचाहेर पनि आइपिओमा निष्कासनमा खरिद गरिएका डिबेन्चरहरू धारण गरेर बस्न बाध्य भएका छन् । यसका साथै मुद्रा बजारमा मुद्दती वा बचतमा ब्याजदर कम भएको अवस्थामा बढी ब्याजदरका डिबेन्चर किन्ने अवसर र विक्रेताले पनि पुँजीगत लाभको अवसर गुमाएका छन् । लगानीकर्ताहरूले पनि जोखिम व्यवस्थापनका लागि वैकल्पिक वित्तीय उपकरणका रूपमा प्रचलित र रुचाइएको डिबेन्चर किनबेच गर्ने र लगानी व्यवस्थापनको अवसरबाट वञ्चित हुनपुगेका छन् । अझ नेपालको धितोपत्र बजार ऋणपत्रविहीन केवल सेयर बजार (इक्विटी मार्केट) मा सीमित हुनुका साथै बजारको दायरासमेत साँघुरो हुन पुगेको छ । डिबेन्चरमा लगानी बन्द डब्बामा थन्किन पुग्दा डिबेन्चर मार्केट गतिशील र चलायमान हुन सकेको छैन ।

डिबेन्चरमा लगानीका उपायहरू

हाल डिबेन्चरमा लगानीको एउटै उपाय भनेको प्राथमिक निष्कासन (आइपिओ) को समयमा आवेदन गर्ने मात्र हो । विगतमा आमलगानीकर्ताका लागि २० र निजी तवरमा (संस्थागत समेत) ८० प्रतिशत निष्कासन हुँदै आएको डिबेन्चर हाल आमलगानीकर्ताका लागि ४० प्रतिशत छुट्ट्याइएको छ । यसरी निष्कासन हुने डिबेन्चरमा डिम्याट खाता, बैंक खाता र सि–आस्बा भएका लगानीकर्ताहरूले ‘मेरो सेयर’ वा ‘सी–आस्बा’ सेवाप्रदायक बैंक तथा वित्तीय संस्थाहरूबाट ‘सेयर’मा जस्तै गरेर तोकिएको अवधिमा आवेदन गर्न सकिन्छ ।

डिबेन्चरको निष्कासन गर्दाको विवरणपत्रमा धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिने भनिए पनि हालसम्म १५ बैंकहरूबाट जारी भएका २९ वटा डिबेन्चरको एउटा परीक्षण कारोबारबाहेक न त धितोपत्रको सूचीमा नै देखिन्छ, न त कारोबार नै हुन सकेको छ । कानुनी र व्यावहारिक समस्याले धितोपत्र बजारमा डिबेन्चरमा लगानी र कारोबार हाल असम्भवजस्तै छ ।

डिबेन्चर कारोबारका कानुनी प्रावधान र व्यावहारिक समस्या

ऋणपत्रको कारोबारलाई व्यवस्थित गर्न ‘सरकारी ऋणपत्रको प्राथमिक निष्कासन तथा दोस्रो बजार कारोबार नियमावली, २०६१’ कार्यान्वयन जरुरी छ । यसै कानुनका आधारमा विगतमा केही ऋणपत्रको कारोबार भएको सुनिन आएको छ । तर, धितोपत्र बजारमा सूचीकृत व्यवसायिक संस्थाका डिबेन्चर (कर्पोरेट डिबेन्चर) को कारोबारका लागि छुटै कानुन नभएको अवस्थामा यसै कानुनअन्तर्गत दोस्रो बजारमा किनबेच गर्न वा नयाँ कानुन बनाउन सकिन्छ । डिबेन्चर कारोबारमा कानुनसँगै निम्न व्यावहारिक समस्या देखिएका छन् :

१. ब्याज : अन्य धितोपत्रभन्दा फरक विशेषता रहने डिबेन्चरमा धारण गरेको दिनसम्मको ब्याज प्राप्त हुन्छ । धितोपत्र बजारबाट कारोबार गर्दै गर्दा डिबेन्चरसँगसँगै ब्याजमा अधिकारसमेत विक्रेताबाट क्रेतामा हस्तान्तरण गरिनुपर्ने हुन्छ । यसको लागि डिबेन्चरको किनबेचसँगै हकसमेत एकैदिनमा हस्तान्तरण गरिसक्नुपर्छ । यो भनेको सेयरकारोबारमा हाल प्रचलित‘टिप्लस थ्री’ को हकहस्तान्तरण ‘टी जिरो’ मा हुनुपर्नेछ । बिहान किनेबेच भएको डिबेन्चरको लेनदेन दिउँसो नै राफसाफ गरी ब्याजको हकसमेत क्रेतामा सोही दिन हस्तान्तरण गरिसक्नुपर्ने हुन्छ । अन्यथा उक्त दिनको ब्याज मुल्तबी हुने वा किन्ने वा बेच्ने कसलाई र कुन आधारमा दिने व्यावहारिक र कानुनी जटिलता आउनेछ ।

२. ब्याजकर र लाभकर : डिबेन्चरको ब्याज आयमा प्राकृतिक व्यक्ति र संस्थालाई फरक दरमा कर लाग्छ । तर, पुँजीगत लाभका सम्बन्धमा स्पष्ट छैन । हालको व्यवस्था अनुसार व्यक्तिलाई ब्याज आयमा ५ प्रतिशत र पुँजीगत लाभमा ७.५ प्रतिशत (२०७६ साउन १ गतेपछि ५ प्रतिशत) तथा संस्थागतलाई ब्याजमा १५ र लाभमा १० प्रतिशतको दरमा स्रोतमा नै कर कट्टी हुने देखिन्छ । करका कारण संस्थागत लगानीकर्ताहरू डिबेन्चर किनबेचमा हतोत्साहित महसुस गरिएको छ ।

३. राफसाफ : नियमावलीको परिच्छेद ३, नियम १५ अनुसार क) किनबेच गर्ने ग्राहकले धितोपत्र बोर्डले स्वीकृत गरेको ढाँचामा दलाललाई खरिद वा बिक्रीको आदेश दिनुपर्ने, ख) आदेशमा ऋणपत्रको नाम, किसिम, संख्या र मूल्यसहित आदेश बहाल रहने अवधि खुलाउनुपर्ने, ग) आदेशमा निश्चित मूल्य, न्यूनतम वा अधिकतम मूल्य वा बजारको स्थिति हेरी दलालले उपयुक्त ठहर्याएको मूल्य खुलाउनुपर्ने, घ) आदेशको अवधि उल्लेख नभएको अवस्थामा त्यस्तो आदेश तीन दिनसम्म बहाल रहने, ङ) बिक्री गर्न चाहेको ऋणपत्रको प्रमाणपत्र पेस गर्नुपर्ने र खण्डी अवधिबाहेक ब्याज भुक्तानी मितिसम्म पाकेको ब्याज भुक्तानी लिइसकेको हुनुपर्ने, च) बिक्रीका लागि ऋणपत्र बुझिलिने दलालले तत्कालै सोको निस्सा ग्राहकलाई दिनुपर्ने उल्लेख छ । यसअनुसार कारोबार गर्दैगर्दा ‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९’ को धितोपत्रको राफसाफ तथा फछ्र्यौटसम्बन्धी व्यवस्थाले कानुनी व्यवधान आउन सक्ने देखिन्छ । उक्त नियमावलीको नियम १३ बमोजिम ‘धितोपत्रको राफसाफ तथा फछ्र्योट कार्य कारोबार भएको दिनबाहेक तीन कार्य दिन (टी प्लस थ्री) भित्र गर्नुपर्ने’ व्यवस्था गरेको छ ।

४. कारोबार मूल्य : डिबेन्चरको कारोबार सामान्यत: अंकित मूल्यमा नै हुन्छ र उक्त दिनसम्मको ब्याज छुटै गणना गरिँदै आएको छ, तर कानुनत: यसको स्पष्ट व्यवस्था र व्यावहारिक प्रयोग नभएको अवस्थामा डिबेन्चर खरिद–बिक्री मूल्यलाई ब्याजसहित वा ब्याजबाहेक मान्ने भन्ने स्पष्टता आवश्यक छ ।

५. कारोबार शुल्क : हाल सरकारी ऋणपत्रको खरिद–बिक्रीमा रु. ५ लाखसम्मको कारोबारमा ०.२०, रु. ५ देखि ५० लाखसम्ममा ०.१० तथा रु. ५० लाखमाथिको कारोबारमा ०.०५ प्रतिशत कारोबार शुल्क लाग्छ । यस्तै अन्य धितोपत्रअन्तर्गत पर्ने कर्पोरेट डिबेन्चरको खरिद–बिक्रीमा रु. ५ लाखसम्मको कारोबारमा ०.३०, रु. ५ देखि ५० लाखसम्ममा ०.२५ तथा रु. ५० लाखमाथिको कारोबारमा ०.२९ प्रतिशतकारोबार शुल्क लाग्छ । यस आधारमा न्यूनतम २५ किता अंकित मूल्य रु. १ हजारमा कारोबार गर्दासमेत कारोबार शुल्कबापत किन्नेले रु. ७५ र बेच्नेले रु. ७५ तिर्नुपर्ने हुन्छ । निकै कम पुँजीगत लाभ हुने निश्चित ब्याज आयको धितोपत्रमा कायम कारोबार शुल्क बढी भएकाले पनि कारोबार निरुत्साहित भएको हुन सक्छ ।

केही सुझाव

१. राफसाफ नियमावलीमा सुधार : सरकारी ऋणपत्र कारोबार सम्बन्धी नियमावलीअनुरूप नै कर्पोरेट डिबेन्चरको पनि कारोबार गर्ने व्यवस्था वा छुटै कारोबार नियमावली तयारी गरिनुपर्छ । यसका साथै डिबेन्चरको विशेषतालाई ध्यान दिई ‘टी जिरो’ राफसाफ प्रणाली प्रयोगमा नआउँदासम्म डिबेन्चर कारोबारको राफसाफ ‘टी जिरो’ मा हुने गरी विशेष व्यवस्था गर्ने वा राफसाफ नियमावलीमा उपनियम थप वा परिमार्जन आवश्यक हुनेछ ।

२. कारोबार समय : डिबेन्चर कारोबार दिनमै राफसाफ गरिसक्नुपर्ने अवस्थामा हालको सेयर कारोबार समयमा त्यो सम्भव नहुन सक्छ । त्यसैले दलालले बिहान १० देखि ११ वा १२ बजेसम्म कारोबार गरी सोही दिन चार बजेभित्र राफसाफ गर्ने प्रणाली र कानुनी व्यवस्था गरिनुपर्छ ।

३. ब्याज र मूल्य : डिबेन्चरको मूल्य र ब्याजको समस्या समाधान गर्न पहिलो विकल्प दलालमार्फत नै ब्याज गणना र मिलान हुने तथा अंकित वा कारोबार मूल्य नै मूल्य कायम हुने व्यवस्था गर्न सकिन्छ भने दोस्रो विकल्पमा कारोबार दिनसम्मको पाकेको खण्डित ब्याजसहितको ब्याज र मूल्य जोडेर कारोबार मूल्य कायम गर्न सकिन्छ । दोस्रो विकल्प अपनाउँदा हस्तान्तरणमा सहज भए तापनि पुँजीगत लाभको समस्या आउन सक्ने हुँदा डिबेन्चरमा लाभकर नलाग्ने व्यवस्था गरिनुपर्छ । यसको साथै नेप्सेले प्रत्येक दिन बजार खुल्नुअगाडि वा बन्द गर्दा प्रत्येक डिबेन्चरको अंकित मूल्य र पाकेको खण्डित ब्याज जोडेर आधार मूल्य प्रकाशन गर्न सकिन्छ ।

४. सूचीकरण र मार्केट डेब्थ : सेयर कारोबार हुने प्रणालीमा नै डिबेन्चरलाई समाहित गरी सूचीकृत धितोपत्र र मार्केट डेब्थमा देखिने व्यवस्था गरिनुपर्छ । डिबेन्चरको हकमा बाँकी अवधि (म्याचुरिटी डेट) र यसको यिल्ड कर्भ समेत गणना र जानकारीको दिइनुपर्छ ।
नाेटः सबै  डिबेन्चर काराेवारका लागि नेप्समा सूचीकृत भएता पनि हाल निश्चित डिबेन्चरकाे मात्र काराेवार भइरहेकाे छ, त्यसैले यसकाे व्यवहारिक रूपमा काराेवार सहज छैन । काराेवार गर्दा पनि ब्याज गणना र हस्तान्तरणकाे प्रकृयाले गर्दा बेच्नेले अघिल्लाे ब्याज (असार र पुस मसान्त) पछिकाे ब्याज समेत गुमाउनु परेकाे छ ।

निश्कर्ष

डिबेन्चरबिनाको धितोपत्र बजार अपूर्ण र असन्तुलित हुने ध्यानमा राख्दै लगानी र बचतको एउटा महत्वपूर्ण उपकरण डिबेन्चरमा लगानी प्रोत्साहित गर्दै नेपाली धितोपत्र बजारमा डिबेन्चरको उपस्थिति र कारोबारसमेतलाई प्रवद्र्धन गर्न मूल्य, ब्याज र राफसाफ समस्याको समाधान निकाल्दै गर्दा कारोबार शुल्कमा पनिउल्लेख्य कमी ल्याउन पहल गरिनुपर्छ । अन्यथा, डिबेन्चरले धितोपत्र बजारको गतिशीलता बढाउने भन्दा बजारको रकम डब्बामा बन्द गरी निष्क्रियता बनाउनेछ ।

काराेवार दैनिकमा २०७६ असार १५ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/21344

Sunday, June 16, 2019

डिबेन्चर कि मुद्दती निक्षेप : पैसा कहाँ लगाउने ?

पुँजीबजारमा लगानीको मुख्य उपकरण सेयर र ऋणपत्र (डिबेन्चर) मध्ये नेपालमा सेयरको दबदबा रहेको छ । एक हिसाबले नेपाली पुँजीबजार भनेको सेयर बजार (इक्विटी मार्केट) मात्रै हो । उद्योग, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका लागि पुँजी व्यवस्थापनको वैकल्पिक उपायका रूपमा विश्वभरि प्रचलित डिबेन्चर नेपालमा भने त्यति प्रचलनमा छैन । विगतमा केही उद्योग तथा नेपाल विद्युत् प्राधिकरणले पुँजी व्यवस्थापनका लागि प्रयोगमा ल्याएको डिबेन्चर हाल आएर बैंक तथा वित्तीय संस्थाहरूले पुँजी व्यवस्थापनको राम्रो उपकरणका रूपमा अपनाउन थालेका छन् । प्राधिकरणले ऋणपत्रकै अर्को स्वरूप बन्ड जारी गरेको थियो । गत वर्षदेखि नेपाल राष्ट्र बैंकले ऋणपत्र जारीमा सहजीकरण र प्रोत्साहित गरेसँगै बैंकहरूले डिबेन्चर जारी गर्ने क्रम पनि बढेको छ । हाल १५ बैंकहरूबाट २७ अर्ब ६५ करोड हाराहारीको विभिन्न अवधिको २९ वटा डिबेन्चर जारी भएका छन् । यसमध्ये नेपाल बंगलादेश बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री भइरहेको छ । कृषि विकास बैंकको ४६ करोड र ग्लोबल आईएमई बैंकको ४० करोडको डिबेन्चरको अवधि सकिने लागेको छ । एनआईसी एसिया, प्रभु, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे र हिमालयन बैंकले पनि ऋणपत्र जारी गर्न गइरहेका छन् । यसले डिबेन्चरको आपूर्ति बढाउनुका साथै लगानी वा बचत परिचालनको विकल्प पनि बढाएको छ । 

मुद्दती निक्षेपमा जस्तै निश्चित अवधि र दरमा ब्याज पाइने डिबेन्चर धेरैका लागि बचत परिचालनको विकल्प पनि हो । यहाँ डिबेन्चरका अन्य पक्षहरूभन्दा र मुद्दती निक्षेपको विकल्प हुन सक्छ वा सक्दैन् भन्ने पक्षबाट चर्चा गर्ने प्रयास गरिएको छ ।

डिबेन्चर के हो ?

कम्पनी वा व्यावसायिक संस्था वा सरकारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुँजी व्यवस्थापनका लागि रकम संकलन गर्न ऋणदाता वा साहू–महाजनसँग गरिने कबुलियत वा तमसुक नै डिबेन्चर हो । यो व्यक्ति–व्यक्ति वा व्यक्ति–बैंक वा कम्पनी र बैंक बीच ऋण लिए जस्तै हो । यसमा ऋणको अवधि, ब्याजदर, ब्याज गणना र भुक्तानीको तरिका र समय उल्लेख गरिएको हुन्छ, जसको कार्यान्वयन कानुनतः बाध्यकारी हुन्छ । त्यसैले डिबेन्चर जारी गर्ने र किन्ने बीचको सर्तसहितको लिखित करार नै डिबेन्चर हो । यसमा तोकिएको दर र अवधिमा ब्याजका साथै समयावधि पछि सावाँ भुक्तानी हुने वा शर्त अनुसार हुने कानुनी सुनिश्चितता गरिएको हुन्छ ।

शब्दकोषका अनुसार १) आसामीले ऋण लिएको प्रमाणस्वरूप साहूलाई लेखिदिने तमसुक, र २) राष्ट्र बैंकद्वारा निर्धारित समयमा साँवा–ब्याज फर्काउने गरी समयसमयमा जारी गरिने वा खरिद–बिक्री हुने विभिन्न रकमको पत्रलाई ऋणपत्र भनिन्छ । यस अनुसार डिबेन्चर सरकार वा व्यावसायिक संस्थाद्वारा जारी हुनसक्छ । सरकारी ऋणपत्रलाई सामान्यतः बन्ड भनिन्छ र यसको अवधि निजी व्यावसायिक संस्थाद्वारा जारी हुने कर्पोरेट डिबेन्चरभन्दा लामो अवधिको हुन्छ । तुलनात्मक रूपमा बनड ऋणपत्रभन्दा बढी सुरक्षित मानिन्छ ।

मुद्दती निक्षेप के हो ? 

कानुनी परिभाषा अनुसार ‘मुद्दती खाता’ भन्नाले ग्राहकले बैंक वा वित्तीय संस्थामा निश्चित अवधिसम्म सामान्यतयाः निक्षेप झिक्न नपाउने गरी जम्मा गरिराखेको रकमको हरहिसाब लेखिएको आवधिक खाता सम्झनुपर्छ । आमरूपमा बैंक तथा वित्तीय संस्थामा निश्चित अवधिसम्म रकम राख्ने गरी संचालित निक्षेप खाता नै ‘मुद्दती निक्षेप’ हो । यसमा तोकिएको अवधिभन्दा अगाडि रकम निकाल्न पाइँदैन र रकम जम्मा गर्दा सम्झौता भएको दर र समयमा ब्याज प्राप्त हुन्छ । यस्तो ब्याजदर सम्झौता अवधिभर परिवर्तन समेत हुँदैन् । सामान्यतः ३ महिनादेखि ५ वर्षसम्मको मुद्दती निक्षेप प्रचलनमा रहेको छ ।

मुद्दती कि डिबेन्चर ?

निश्चित अवधि र तोकिएको ब्याजदर पाइने समान प्रकृतिको मुद्दती खाता वा डिबेन्चरमध्ये कुन लाभदायक भन्ने उपलब्ध रकम, प्रचलित ब्याजदर, अवधिमा निर्भर हुन्छ । बचत प्रकृतिको मुद्दती निक्षेपमा आफूसँग पैसा हुँदा बैंक तथा वित्तीय संस्थामा गएर रकम जम्मा गर्न सकिन्छ भने डिबेन्चर जारी भएको बखत वा धितोपत्र बजारमा कसैले विक्री गरेको अवस्थामा मात्र खरिद गरी लगानी गर्न सकिन्छ । त्यसैले कतिपय अवस्थामा बढी ब्याजदर पाइने डिबेन्चरमा पैसा हुँदैमा लगानीको अवसर नपाइन सक्छ भने मुद्दतीमा सहजै पैसा बचत गर्न सकिन्छ । प्रकाशित लेखकाे दुवैलाइ विभिन्न अाधारमा तुलनात्मक अवस्थाकाे तालिकालाइ यहाँ बुँदागत प्रस्तुत गरिएकाे छ ।

क) प्रकृति
  • मुद्दति — वचत निक्षेप
  • डिबेन्चर — लगानी
  • प्रतिफलको हिसावले त्यति फरक देखिन्न ।
ख) वचत वा लगानी
  • मुद्दति — आफूसँग वचत रकम भएको समयमा बैंक तथा वित्तीय संस्थामा गएर सहजै मुद्दति खाता खोलेर तोकिएको अवधिको लागि रकम वचत गर्न सकिन्छ ।
  • डिबेन्चर — डिबेन्चरमा लगानी गर्न निष्कासनको समयमा शेयरमा जस्तै तोकिएको अवधिभित्र आवेदन गर्नुपर्छ । यसको लागि डिम्याट खाता, बैंक खाता, सि–आस्वा चाहिन्छ । धितोपत्रको दोस्रो बजारबाट पनि डिबेन्चर खरिद गर्न सकिने विकल्प भएपनि व्यवहारिक झन्झट र बढी लागत पर्न सक्छ ।
  • मुद्दतिमा वचत भन्दा डिबेन्चरमा लगानी गर्न प्रकृयागत झन्झट बढी हुन्छ ।
ग) प्रतिफल
  • मुद्दति — तोकिएको दर र अन्तरालमा ब्याज पाइन्छ । हाल व्यक्तिगत मुद्दति निक्षेपमा अवधि र संस्था अनुसार ताेकिएकाे दर (हाल ६-८.७५%) मा ब्याज पाइन्छ । सामान्यतः मासिक वा त्रैमासिक रुपमा ब्याज पाइन्छ ।
  • डिबेन्चर — संस्थागत र व्यक्तिले जारी हुँदा तोकिएको दर र अन्तरालमा ब्याज पाइन्छ । हाल १०–११ प्रतिशत हाराहारीको ब्याजदरका डिबेन्चर जारी भइरहेका छन् भने विगतमा ६ देखि १२.५ प्रतिशतसम्म ब्याजदरका डिबेन्चर जारी भएका छन् । सामान्यतः छ महिनाको अन्तराल (असार र पुस मसान्त) मा ब्याज पाइन्छ ।
  • बजारमा पैसाको माग र आपूर्तिको आधारमा ब्याजदर तलमाथि हुने भएपनि मुद्दतिको भन्दा डिबेन्चरमा केही ब्याज बढी हुन्छ ।
घ) सावाँ फिर्ता
  • मुद्दति — तोकिएको अवधी पछि सावाँ फिर्ता हुन्छ ।
  • डिबेन्चर — तोकिएको अवधी पछि सावाँ फिर्ता हुन्छ ।
ङ) अवधि
  • मुद्दति — बैंक तथा वित्तीय संस्था अनुसार सामान्यतः ३ महिनादेखि १० वर्षको निक्षेप राख्न सकिने भएपनि ५ वर्षभन्दा लामो मुद्दति त्यति प्रचलनमा छैन । कति अवधी र कहिले मुद्दति निक्षेप राख्ने वचतकर्तासँग छनौटको अधिकार हुन्छ ।
  • डिबेन्चर — सामान्यतः ५ वर्षदेखि १० वर्ष अवधीको हुन्छ । डिबेन्चरको अवधी जारी हुँदा नै निर्धारण हुन्छ, यसमा लगानीकर्ताको अवधी छनौटको अधिकार हुँदैन् ।
  • मुद्दतिको अवधी तुलनात्मक रुपमा डिबेन्चरभन्दा छोटो देखिन्छ । मुद्दतिमा जस्तो डिबेन्चरमा अवधी छनौटको अधिकार हुन्न ।
च) जोखिम
  • मुद्दति — मुद्दतिलाई सामान्यतः जोखिमरहित मानिन्छ ।
  • डिबेन्चर — डिबेन्चरलाई जोखिमरहित वा तुलनात्मक रुपमा निकै कम जोखिम भएको लगानी उपकरणको रुपमा लिइन्छ । बण्ड अझ ऋणपत्रभन्दा बढी सुरक्षित मानिन्छ । बजारबाट गरिने किनबेचमा मूल्यगत जेखिम हुन्छ ।
छ) आपतकालीन अवस्थामा
  • मुद्दति — मुद्दति रसिद धितोमा केही थप ब्याज तिरेर बैंक तथा वित्तीय संस्थाबाट सहजै ऋण लिन सकिन्छ । विशेष अवस्थामा निश्चित शर्तमा मुद्दति निक्षेप तोड्न पनि सकिन्छ ।
  • डिबेन्चर — डिबेन्चर धितोमा ऋण लिएर आवश्यक रकमको जोहो गर्न सकिन्छ । धितोपत्र बजारमा बिक्री गरी लगानी फिर्ता गर्न पनि सकिने व्यवस्था छ, तर हाल व्यवहारिक रुपमा किनबेच भएको छैन । सबै डिबन्चर काराेवारका लागि नेप्सेमा सूचीकृत भएता पनि हाल निश्चित डिबेन्चरहरू मात्र काराेवार भइरहेका छन् र काराेवार गर्दा पनि ब्याज गणना र हस्तान्तरणकाे प्रकृयाले गर्दा बेच्नेले पाकेकाे ब्याज गुमाउनु पर्ने अवस्था छ ।
  • रकम आवश्यक पर्दा मुद्दति र डिबेन्चर धितोमा सहजै ऋण प्राप्त गर्न सकिन्छ । डिबेन्चर दाेश्राे बजारमा बेचेर रकम पाउन सकिन्छ ।
ज) कर
  • मुद्दति — प्राप्त ब्याजमा व्यक्तिलाइ ५ प्रतिशत र संस्थालाइ १५ प्रतिशतले ब्याज कर लाग्छ ।
  • डिबेन्चर — प्राप्त ब्याजमा व्यक्तिलाइ ५ प्रतिशत र संस्थालाइ १५ प्रतिशतले ब्याज कर लाग्छ । यस्तै बजारमा बिक्रीमा पूँजीगत लाभ भएमा व्यक्तिलाइ ५ तथा संस्थालाइ १० प्रतिशत लाभकर लाग्छ ।
झ) निस्सा
  • मुद्दति — मुद्दति वचतको निस्सा स्वरुप मुद्दति प्रमाणपत्र वा रसिद पाइन्छ ।
  • डिबेन्चर — हाल शेयर जस्तै डिबेन्चर डिम्याट खातामा जम्मा हुन्छ ।

निष्कर्ष

सरसर्ती हेर्दा बचत र लगानीका उपकरणजस्तो देखिने मुद्दती र डिबेन्चरमध्ये कुनमा बचत रकम परिचालन गर्ने र बढी लाभदायक भन्ने रकम, अवधि, ब्याजदर, अवसरको उपलब्धता, भविष्यमा रकम आवश्यक पर्ने सम्भावना र जोखिम लिने क्षमता, धितोपत्र बजारमा पहुँचमा निर्भर गर्नेछ । निश्चित अवधिसम्म सुनिश्चित ब्याज आम्दानीको अवसर सहितका मुद्दती र डिबेन्चरमध्ये लामो अवधि रकम परिचालन गर्न सक्ने तरलता भएका व्यक्ति तथा संस्थाहरूका लागि मुद्दतीभन्दा डिबेन्चर केही फाइदाजनक हुन सक्छ । संस्थागत निकायहरूले मुद्दती निक्षेप राख्न कोटेसन वा सिलबन्दी प्रस्ताव आह्वान गर्नुपर्ने र लामो अवधिको रकम मुद्दतीमा प्रचलनमा नरहेको अवस्थामा निश्चित अवधि र ब्याजदरसहितको डिबेन्चर लगानीको लागि सहज र प्राथमिकता रहन सक्छ ।

त्यस्तै छोटो तथा पाँच वर्षको अवधिसम्म रकम परिचालन गर्ने व्यक्तिहरूका लागि मुद्दती निक्षेप सहज हुन सक्छ । अनि बजारमा ब्याजदर बढिरहेको समयमा केही वर्षको मुद्दती तथा ब्याजदर घटिरहँदा डिबेन्चर तुलनात्मक रूपमा बढी फाइदाजनक हुन सक्छ । ब्याजदर परिवर्तनको लाभ र कुल प्रतिफलको सन्तुलन कायम गर्दै उपलब्ध कुल रकमको एक हिस्सा मध्यम अवधि (२–३ वर्ष) को मुद्दती र केही रकम उपलब्धमध्ये बढी ब्याज पाइने डिबेन्चरमा लगानी गर्नु बुद्दिमानी हुनेछ ।

समान प्रकृतिको लाभ र निश्चित अवधिको बचत र लगानी उपकरणहरू मुद्दती र डिबेन्चरमध्ये धितोपत्र बजारमा खरिद–बिक्री, बचत र ऋण पुँजीको समेत विशेषता हुने डिबेन्चरको बजार भने उलेख्य विस्तार हुन सकेको छैन् । पुँजी परिचालन र बचतको विशेषतायुक्त डिबेन्चरको प्रवद्र्धनमार्फत धितोपत्र बजारमा वैकल्पिक लगानी तथा बचत परिचालनको अवसर सिर्जना गर्न क) मार्केटको व्यावहारिक तथा कानुनी समस्याको अध्ययन, ख) सहज कारोबारका लागि शुल्क, मार्केट मेकर वा डिलरको व्यवस्था, ग) कारोबार शुल्क र बजार मूल्यमा निर्धारणमा सहजीकरण, घ) ब्याजमा कर छुट, ङ) ब्याज भुक्तानीको अन्तराल मुद्दतीको जस्तै मासिक वा त्रैमासिक गरिनु उपयुक्त हुन्छ ।

नाेटः डिबेन्चर र मुदतिसम्बन्धी याे सामान्य तुलनात्मक विषय उठान हाे र यसकाे अाधारमा लगानी निर्णय लिनु अगाडि थप अध्ययन अावश्यक हुनेछ ।


काराेवार दैनिकमा २०७६ असार १ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/20751
Revision-update: 27 March 2021, 1:04 pm

Wednesday, October 10, 2018

दशैंकाे दक्षिणालाइ वचत वा लगानीमा बदलाैं

हामी नेपालीहरू चाडपर्व र सामाजिक संस्कारका धनी छौं । चाडपर्व हाम्रो जीवनका अभिन्न हिस्सा हुन् । चाडपर्व मनाउनसमेत हामी निकै अगाडि छौं । असोज-कात्तिक नेपालीहरूका ठूला चाड दशैं र तिहारको मौसम हुन् । यो वर्षको दशैं पनि दैलोमै आइपुगेको छ ।

दशैं र तिहार सामाजिक जीवनका हिस्सासँगै अर्थतन्त्र र आर्थिक गतिविधिका पनि महत्वपूर्ण हिस्सा बनेका छन् । मानिसहरूले दशैं र तिहार मनाउनकै लागि भए पनि आर्थिक उपार्जनका काममा सरिक हुने र केही बचत गर्ने प्रचलन रहिआएको छ । दशैं-तिहारमा त्यही बचत परिचालित भएर अर्थतन्त्र थप चलायमान हुन्छ । त्यसैले दशैं-तिहार मानिसलाई बचत र खर्च गर्न क्रियाशील बनाउने र उत्प्रेरित गर्ने आर्थिक-सामाजिक पर्वसमेत हुन् ।

राज्य, समाज, अर्थतन्त्र सबै क्षेत्रले दशैंलाई खर्च र खर्चको जोहो गर्न सघाउने र उत्प्रेरित गर्छन् । विशेषगरी घरमुली वा घरका जिम्मेवार व्यक्तिहरू खर्चको जोहो गर्न र व्यवहार मिलाउन निकै मिहिनेत गर्छन् । चाडबाडमा परिवार र पाहुनाका लागि आवश्यक सामग्रीहरू व्यवस्थापनका लागि महिनौं पहिलेको बचत खर्च गर्छन् भने नहुनेले समेत ऋणधन गरेर भए पनि खर्च धान्ने गर्छन् । त्यसैले, हुनेलाई दशैं र नहुनेलाई दशा पनि भन्ने गरिएको छ ।

दशैं धेरैका लागि खर्चको समय हो भने खासगरी बालबालिकाका लागि दक्षिणा पाउने, रमाउने र फुर्माइस (खर्च) गर्ने समय । आउनूस्, यो खर्च र दक्षिणालाई बचतमा बदल्दै आ-आफ्ना नानीहरूमा बचत र खर्च नियन्त्रण गर्ने बानीको विकास गरौं/गराऔं । दशैंलगत्तै आउने तिहारमा समेत दाजुभाइले दिदीबहिनीहरूलाई दक्षिणा दिने प्रचलन छ । यसरी दशैं र तिहारको रकम जम्मा गरेर बैंक तथा वित्तिय संस्थामा बचत वा सेयरमा लगानी गर्ने शुभकार्यको शुरुवात गरौं/गराऔं ।

हुन त, यस्तो दक्षिणाको परिमाण स-सानो हुन्छ र व्यक्तिहरूले केही चिजबिज किनेर सक्ने प्रचलन रहिआएको छ । तर, यस्तो स-सानो रकमलाई बचतका रूपमा परिचालन गर्न सकिएमा व्यक्तिगत र राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने कुरामा दुई मत नहोला । यसले बालबालिकामा बचत गर्ने बानीको विकास हुने मात्र होइन, भविष्यको आर्थिक गर्जो टार्न खर्च व्यवस्थापन गर्न सिक्नेछन् ।

बचत कसरी गर्ने?

आम बुझाइमा बचत गर्ने भनेको खर्चभन्दा आम्दानी बढी हुँदा हो । आम्दानीले दैनिक खर्च धान्न मुस्किल अवस्थामा ‘बचत ?’ भनेर प्रश्न गर्ने गरिन्छ । त्यसमाथि दक्षिणाको रकम निकै सानो हुन्छ के बचत गर्नु ? तर, थोपाथोपा मिलेर समुद्र बनेजस्तै स-सानो रकम बचत गर्दै जाँदा ठूलो रकम बन्छ ।

यस्तै, बचत कम आम्दानीको अवस्थामा खर्च व्यवस्थापन गरेर पनि गर्न सकिन्छ । दक्षिणा सानो रकम भए पनि बचत नगरिएको अवस्थामा यो आवश्यक वा अनावश्यक वस्तु तथा सेवामा खर्च हुने नै हो । त्यसैले बचतका लागि रकमभन्दा इच्छाशक्ति र आदत भए पुग्छ ।

बालबालिकालाई बचत सिकाउन र अनावश्यक खर्च जोगाउनुपर्छ भन्न दक्षिणाको सानो रकम पनि काफी हुन्छ । आजकाल विगतको तुलनामा दक्षिणा पनि बढी हुन्छ । रकम धेरै सानो भएको अवस्थामा घरपरिवारमै बालबालिकाका लागि खुत्रुक्के दिएर जम्मा गराउन सकिन्छ । यस्तै, कतिपय सहकारी र वित्तिय संस्थाहरूले यस्तै स-सानो रकमलाई बचतमा परिणत गर्न खुत्रुक्के बचत खातासमेत सञ्चालन गरेका हुन्छन् । यस्तो सुविधा भएका संस्थाहरू नजिकै उपलब्ध भएको अवस्थामा बालबालिकासँग उपलब्ध रकमलाई खातामा जम्मा गर्ने व्यवस्था गर्नु उपयुक्त हुनेछ । बचत रकमले एउटा आकार लिएपछि त्यसलाई लगानीमा परिणत गर्न सकिन्छ ।

सेयरमा लगानी

धेरैलाई दक्षिणा र आफूसँग भएको सानो बचत कसरी र कहाँ लगानीमा परिणत गर्न सकिन्छ भन्ने अन्योल रहेको पाइन्छ । आम मानिसको बुझाइमा धनी र धेरै पैसा भएकाले मात्र उद्योगधन्दा, व्यापार-व्यवसाय, सुन, घरजग्गा र सेयरमा लगानी गर्छन् ।

छरिएर रहेको र स-सानो रकमलाई पुँजी निर्माण र लगानीमा परिवर्तन गर्न आजकाल विभिन्न धितोपत्रसम्बन्धी उपकरणहरू जस्तै सेयर, डिबेन्चर, म्युचुअल फन्ड आदि लगानीका वैकल्पिक वित्तीय उपकरणहरू उपलब्ध हुन थालेका छन् । यी धितोपत्रमा एक हजारदेखि लगानी गर्न सकिन्छ । दशैं-तिहारमा जम्मा भएको दक्षिणा वा सानो बचतलाई निम्न तरिकाले धितोपत्र बजारमार्फत लगानीमा परिणत गर्न सकिन्छ ।

१) सामूहिक लगानी कोष (म्युचुअल फन्ड)

विभिन्न बैंकहरूबाट प्रबद्र्धित मर्चेन्ट बैंकहरूले सञ्चालन तथा व्यवस्थापन गरेका सामूहिक लगानी कोषका एकाइहरू मार्फत लगानी गर्न सकिन्छ । यिनीहरूले धेरै मानिसबाट थोरै-थोरै रूपमा संकलित रकम जोखिम र प्रतिफलको विश्लेषण र व्यवस्थापन गर्दै सेयर, डिबेन्चर, मुद्दति निक्षेपजस्ता विभिन्न वित्तीय उपकरणमा मात्र लगानी व्यवस्थापन गर्छन् ।

हाल बजारमा १३ वटा यस्ता म्युचुअल फन्ड सञ्चालनमा छन् । यसका एकाइहरू सार्वजनिक निष्कासन भएको समयमा सीधै निष्कासन गर्ने संस्थाबाट किन्न सकिन्छ, जसको अंकित मूल्य १० रुपैयाँ हुन्छ । अहिले म्युचुअल फन्डको एकाइ सार्वजनिक निष्कासनमा नरहे पनि धितोपत्र बजारमा अंकित मूल्य हाराहारी वा त्यसभन्दा कम मूल्य (केही त ८ रूपैया हाराहारी)मा समेत किन्न पाइन्छ । सामान्यतया एकाइहरूको किनबेच कम्तिमा एक सय युनिटको हुने हुँदा लगानीको शुरुवात गर्न एक हजार हाराहारी रूपैयाँ भने आवश्यक पर्नेछ ।

सेयरसम्बन्धी जानकारी र सीप कम राख्ने तर सेयरबजारको लाभ लिन चाहनेहरूका लागि यस्ता म्युचुअल फन्ड उपयुक्त विकल्प मानिन्छन् । धितोपत्र (पुँजी वा सेयर) बजारबाट यस्ता युनिट किनेर लगानी गर्ने प्रकृया अन्य कम्पनीको सेयर किन्दाजस्तै हो । अाफूले लगानी गर्न चाहेकाे म्युचुअल फण्ड, कति युनिट, कति मूल्य वा चलनचल्तिकाे मूल्य सहित खरिद अादेश दिनुपर्छ । युनिट छान्दा व्यवस्थापक (फण्ड म्यानेजर), काेष परिचालनकाे अवस्था, विगतकाे लाभांस दर, अवधि, काेष सुपरिवेक्षक (फण्ड सुपरभाईजर) र प्रवर्धकबारेमा ध्यान दिनुपर्छ ।

यसमा पनि सेयर बजारको मूल्य परिवर्तनको जोखिम र लाभ गाँसिएको हुन्छ । यदि दक्षिणाको रकम निकै थोरै भए खुत्रुकेमा जम्मा गर्दै वा अभिभावकले थपथाप गरेर कम्तिमा एक हजार रुपैयाँको जोहो गर्न सकिएमा धेरै नभए पनि एक सय युनिट म्युचुअल फन्डबाट लगानीको शुरुवात गर्न सकिन्छ ।

२) प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)

अहिले कम्पनीहरूले सर्वसाधारणका लागि निष्कासन गर्ने सेयरमा लगानी गर्न सहज भएको छ । डिम्याट खाता र ‘मेरो सेयर’मार्फत डिम्याट खातामा ‘लग इन’ गर्ने सुविधा, बैंक खाता र सीआरएन नम्बर भएमा घरबाट सहजै आईपीओमा आवेदन गर्न सकिन्छ ।

यदि छोराछोरीका नाममा डिम्याट र बैंक खाता नभए पनि उनीहरूका लागि आफैंले सेयर खरिद गरेर राखिदिन सकिन्छ । अहिले पनि केही कम्पनीको आईपीओ जारी हुने अवस्थामा छ भने केही स्वीकृतिको पर्खाइमा छन् । आईपीओमा आवेदन कम्पनीअनुसार न्यूनतम १० देखि ५० कित्ता गर्नुपर्ने हुन्छ । सामान्यतया बिक्रीमा राखिएको सेयर कित्ताभन्दा कैयौं गुणा बढी आवेदन पर्ने गरेको अवस्थामा पाउने त्यही १०-२० कित्ता नै हो ।

त्यसैले करिब १/२ हजार रुपैयाँ भएमा आईपीओमार्फत सेयरमा लगानी गर्न सकिन्छ । त्यसैले, दशैं-तिहारको दक्षिणा वा नपुग केही रकम थपेर आगामी आईपीओ कित्ता सेयर किनेर लगानीको शुरुवात गर्न वा गराउन सकिन्छ ।

३) धितोपत्र बजार (सेयर वा पुँजी बजार)

अहिले नेपालको सेयर बजारमा प्रायः कम्पनीका सेयरमूल्य विगत केही वर्ष अगाडिभन्दा सस्तो छ । केही विकास बैंक, जलविद्युत कम्पनीको सेयर प्रतिकित्ता एक सय रुपैयाँको हाराहारीमा पाइन्छ भने बैंकको सेयर नै पनि एक सय ७५ रुपैयाँ हाराहारीमा पाइन्छ ।

सामान्यतः सेयर बजार वा दोस्रो बजारमा सेयर किन्न कम्तिमा १० कित्ता किन्नुपर्ने हुँदा सेयर बजारमा लगानीको शुरुवात गर्न घटीमा एक हजार रुपैयाँको चाहिन्छ । यसका लागि (क) डीपी सेवाप्रदायक बैंक वा अन्य संस्थामा गएर डिम्याट खाता खोल्ने, (ख) डिम्याट नम्बरसहित नागरिकताको फोटोकपी र केही प्रति फोटोसहित आफूलाई पायक पर्ने वा सजिलो नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सेयर दलाल (ब्रोकर) कम्पनीकहाँ सम्पर्क गरेर ग्राहक पहिचान नम्बर लिने, (ग) किन्न चाहेको कम्पनीको सेयर संख्या र मूल्यसहित दलाललाई खरिद आदेश दिनुपर्छ ।

अहिले ५० वटा सेयर दलाल र तिनका शाखाहरू विभिन्न शहरमा छन् । सेयरमा लगानी गर्न पनि डिम्याट र बैंक खाता अनिवार्य चाहिन्छ ।

बचतमा निकै कम जोखिम र सुनिश्चित प्रतिफलका रूपमा ब्याज हुन्छ भने लगानीमा उच्च जोखिम र अनिश्चित तर लाभांश र पुँजीगत लाभको दोहोरो प्रतिफलको सम्भावना रहने हुँदा दक्षिणालाई बचत वा लगानी के गर्ने त्यो परिवार र व्यक्तिगत इच्छा, जोखिम बहन क्षमता, अपेक्षित लाभ आदिमा निर्भर रहन्छ । तैपनि दक्षिणालाई अनावश्यक वा नभए पनि हुने वस्तु तथा सेवामा खर्च हुन दिनुभन्दा सानो बचत वा लगानीमा परिणत गर्न सके बालबालिकाको खर्च गर्ने बानीमा सुधार हुनुका साथै भविष्यको आर्थिक गर्जो टार्ने आधार, लगानीको व्यावहारिक सिकाइ हुने निश्चित छ । बचत नै गरिदिए पनि बालबालिकाले पैसा जोहो गर्न सिक्नेछन्, लगानी गरिएको अवस्थामा केही जोखिम र प्रतिफल बुझ्न केही भए पनि सघाउनेछ ।

नेपाल समय अनलाइनमा दशैंले तताउला त सेयर बजार ? शिर्षकमा २०७५ असाेज २१ गते प्रकाशित, https://nepalsamaya.com/news/5328

Monday, October 8, 2018

सेयरमा लगानी कि बैंकमा बचत

बचत र लगानी दुवैको उद्देश्य भविष्यको आर्थिक आवश्यकता पूरा गर्नु र सम्भावित जोखिमबाट आफू र परिवारलाई सुरक्षित गर्नु हो । यिनले आर्थिक शक्ति र जोखिमवहन क्षमता प्रदान गर्छ । सामान्यतः बचत र लगानीको सम्बन्ध (क) बचत लगानीको स्रोत तथा लगानीको प्रतिफल बचतको आधारमा परिपूरक, (ख) प्रतिफलका हिसाबले प्रतिस्पर्धी र (ग) ब्याजदर बढ्दा लगानी निरुत्साहित हुने र लगानीको प्रतिफल बढ्दा बचत निरुत्साहित अर्थमा विपरीत सम्बधका हुन् ।

बचत

यहाँ बचत भन्नाले आम्दानीबाट खर्च कटाएर बाँकी रकम भन्दा बैंक तथा वित्तीय संस्था, सहकारीजस्ता पैसाको कारोबार गर्ने संस्थाहरूमा निश्चित वा तोकिएको प्रतिशत ब्याज आउने गरी जम्मा गरिने रकमलाई उल्लेख गरिएको हो । हुनत आमनेपालीहरूमा बचत भन्नेबित्तिकै ‘खर्चै धान्न मुस्किल छ, कसरी बचत गर्नु ? पछि गरौंला’ भन्ने जवाफ आउँछ । पक्कै, असीमित आवश्यकता र सीमित आम्दानीको अवस्थामा बचत असम्भव नै हुन्छ । तर, वास्तवमा बचतको आवश्यकता महसुस गरी प्रतिबद्ध भएमा आम्दानी जति नै हुँदा पनि खर्च व्यवस्थापन गर्दै केही न केही रकम बचाउन सकिन्छ । त्यसैले त भनिन्छ नि, घाँटी हेरेर हाड निल्नु । हामी आम्दानी गर्न नसकेर मात्र होइन, खर्च व्यवस्थापन गर्न नसकेरै ऋणको धरापमा फस्दै बचतबाट टाढिन्छौं ।

मानिसले जबसम्म भविष्यको आर्थिक आवश्यकता वा जीवनमा आइपर्ने जोखिमको आकलन गर्दैन, त्यस बेलासम्म ऊ बचत गर्न अग्रसर हुँदैन । बचत भविष्यमुखी हुने हुँदा बचतकर्ताले बचतको सुरक्षासँगै त्यसबाट केही प्रतिफलको अपेक्षा गरेको हुन्छ । त्यसैले बचतको सुरक्षा, ब्याजदर, कर छुटजस्ता उपायबाट आममानिसलाई बचत गर्न प्रेरित गर्नुका साथै खर्च नियन्त्रणमा प्रोत्साहित गर्न सके बचत सिर्जना गर्न सम्भव हुन्छ ।

सुरुवातमा केही खर्च कटाएर स–सानो रकमको बचत गर्दै आम्दानी बढाउन वा खर्च नियन्त्रण गर्दै जानुपर्छ । मध्यम वा नियमति बचत क्षमता विकास भएसँगै आफू अनुकूल वित्तीय कारोबार गर्ने संस्थामा आवधिक, साधारण, मुद्दतजस्ता बचतको प्रकार र अवधि छानेर व्यवस्थित बचत गर्नुपर्छ । यस्ता संस्थाले बचत रकमको सुरक्षा, तोकिएको वा कबुल मितिमा फिर्ता गर्ने र निश्चित प्रतिशत ब्याज दिने प्रतिबद्धता पनि गरेका हुन्छन् । बचतले आर्जन गर्न थालेसँगै बचत सिर्जनाको चक्रमा प्रवेश र धनवृद्धि हुँदै जानेछ ।

सेयरमा लगानी

सेयरमा लगानी कुल प्रतिफलको हिसाबले बैंक तथा वित्तीय संस्थाभन्दा बढी आकर्षक तर जोखिमपूर्ण मानिन्छ । नेपालमा भने सेयरमा लगानीको जोखिमलाई ढाकछोप गर्दै मुनाफाको लालसा देखाएर स्थानीय र आयोजना प्रभावितका लागि सेयरको आरक्षण र खरिदमा प्रोत्साहित गर्दै आएको छ । जोखिमका कारण नै सेयरमा लाभ–हानिको सम्भावना उच्च हुने मान्यता राखिन्छ । कुनै कम्पनीको सेयरमा लगानी गर्नु भनेको उक्त कम्पनीको नाफा–घाटासहितको हिस्सेदारी र जिम्मेवारी ग्रहण हो । कम्पनीको मुनाफा र लगानीका आधारमा लाभांशमा अधिकार रहन्छ, तर ब्याजजस्तो लाभांश सुनिश्चित हुँदैन । कम्पनीमा घाटा हुँदा वा अन्य केही अवस्थामा लाभांश शून्य हुन सक्छ । यो भनेको लाभांशको जोखिम हो । यसका साथै धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरको बजारमूल्य विविध कारण परिवर्तन हुन सक्छ । लागत मूल्यभन्दा बजारमूल्य बढी भएको अवस्थामा नाफा र बिक्री गर्दा पुँजीगत लाभ हुन्छ भने बजारमूल्य घटेको अवस्थामा नोक्सानीसमेत बेहोर्नुपर्ने हुन्छ । यसरी सेयर लगानीमा लाभांश र पुँजीगत लाभ–हानिको दोहोरो अवसर र जोखिम जोडिएको हुन्छ ।

केही जोखिम लिन सक्ने, सम्पत्ति वृद्धि (वेल्थ एकुमुलेसन वा म्याक्सिमाइजेसन) गर्न चाहने, बचतभन्दा वैकल्पिक लगानीको क्षेत्रको खोजीमा रहेका व्यक्तिका लागि सेयरमा लगानी अवसर हुन सक्छ । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को अवस्था डिम्याट खाता, मेरो सेयरमार्फत डिम्याट खातामा लग–इन गर्ने सुविधा, बैंक खाता र सीआरएन नम्बर भएमा घरबाट सहजै सेयरका लागि आवेदन गर्न सकिन्छ । धितोपत्र बजार (सेयरबजार) बाट किन्नको लागि डिम्याट नम्बरसहित नागरिकताको फोटोकपी र केही प्रति फोटोसहित आफूलाई पायक पर्ने वा सजिलो सेयर दलाल (ब्रोकर) कम्पनीकहाँ सम्पर्क गरेर ग्राहक पहिचान नम्बर लिई किन्ने चाहेको कम्पनीको सेयर संख्या र मूल्यसहित दलाललाई खरिद आदेश दिनुपर्छ ।
थप टिप्पणीः हाल अनलाइन काराेवारकाे विकल्प समेत उपलब्ध हुनुकाे साथै काराेवार व्यवस्थामा सुधार भैसकेकाे छ । अनलाइन काराेवारका लागि अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण (dilipmuna.blogspot.com), र दाेस्राे बजारमा काराेवारका लागि सेयर (दोश्रो) बजारमा सेयर किनबेच, शुल्क र कर (dilipmuna.blogspot.com) लेखहरू अध्ययन गर्नसक्नु हुन्छ ।

बचत कि सेयर लगानी

बचत र सेयर लगानी परिपूरक तथा प्रतिस्पर्धी क्षेत्र भएकैले मानिस बचत कि सेयरमा लगानी भन्नेमा द्विविधा र अनिर्णयको बन्दी बन्छन् । बचत वा लगानीमध्ये कुनबाट बढी प्रतिफल पाउन सकिन्छ त्यो भने समय, मुद्रा तथा धितोपत्र बजारको अवस्था, व्यक्तिगत जोखिम वहन क्षमता, बचत तथा लगानीको स्रोत र अवधि आदिमा निर्भर रहन्छ । कतिपयलाई निश्चित ब्याज नै सर्वोपरि हुन्छ र सेयरमा तुलनात्मक रूपमा निकै लाभ देखिए पनि जोखिम लिन चाहँदैनन् भने कोही उच्च जोखिम भए पनि असिमित प्रतिफलका लागि सेयरमा लगानी गर्न प्रतिवद्ध हुन्छन् । बचत र लगानीका आ–आफ्नै विशेषता र नाफा–घाटा हुन्छन्, निर्णय गर्नुअघि आफ्नो कम्तीमा निम्न पक्षहरूमा मनन गर्न उपयुक्त हुनेछ ।

आधार
वचत
शेयर लगानी
कैफियत
स्रोत
खर्च कटाएर वा आम्दानी बढाएर । व्यक्ति वा परिवारले आम्दानी–खर्च व्यवस्थापन गरेर सिर्जना गरेको रकम वचतमा परिचालन गर्न सकिन्छ । सामान्यतः ऋण वा सापट लिएर वचत गरिँदैन् ।
वचत रकम र अन्य स्रोतबाट । जोखिम व्यवस्थापन गर्न सक्ने व्यक्तिले आफूसँग उपलब्ध वचत रकम र ऋण वा सापटी लिएर पनि शेयरमा लगानी गर्न सक्छ । ऋणबाट लगानी गर्दा थप जोखिम र ऋण र ब्याज भुक्तानीमा चनाखो हुनुपर्छ ।
स–सानो रकम जोहो गरेका र वचत सिर्जनाको पहिलो चरणमा रहेका व्यक्तिहरुका लागि वचत र केही वचत गरेकाजोखिम लिनसक्नेका लागि शेयर उपयुक्त हुनसक्छ ।
जोखिम
न्यून वा नगण्य जोखिम । वचत गरिने संस्थाको संचालन जोखिम बाहेक वचतकर्ताले अन्य जोखिम उठाउनु पर्दैन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा हाल तीन लाखसम्मको वचतको सुरक्षण समेत गरिएको हुन्छ ।
उच्च वा अत्यधिक । कम्पनीको व्यवसायिक कारण हुनसक्ने नाफाघाटाको कारण हुने लाभांसको अनिश्चिततासँगै सूचीकृत कम्पनीको बजारमूल्यमा हुने उतारचढावबाट सिर्जित पूँजीगत जोखिम समेत हुन्छ ।
जोखिमवहन क्षमता भएकाहरुका लागि शेयरमा लगानी र जोखिम नचाहनेका लागि बैंक तथा वित्तीय संस्थामा वचत उपयुक्त हुन्छ ।
प्रतिफल
निश्चित एकल प्रतिफल । वचत गरिने वित्तिय संस्थाले वचत स्वीकार गर्दा नै वचतको प्रकृति र अवधिको आधारमा ब्याजदर सुनिश्चित गरेको हुन्छ ।
अनिश्चित दोहोरो प्रतिफल । लगानीमा लाभांस र पूँजीगत लाभको दोहोरो प्रतिफलको अवसर हुन्छ । साथै बजारमूल्यका कारण हुनसक्ने पूँजीगत लाभहानी र लाभांस दुवै अनिश्चित हुन्छ ।
निश्चित एकल प्रतिफलका लागि वचत र जोखिम लिएर दोहोरो प्रतिफलका लागि शेयरमा लगानी लाभदायक हुनसक्छ ।
अवधी
निश्चितअल्पकालीन वा मध्यकालीन । कुनैपनि समयमा रकम राख्न र झिक्न सकिने साधारण वचतदैनिक वा मासिक रुपमा निश्चित अवधि जम्मा गरिने आवधिक वचततथा ३//९ महिना वा १/२ वर्ष गरी निश्चित समय रकम जम्मा गरिने मुदति वचत गर्न सकिन्छ ।
अल्पकालीनमध्यकालीन वा दीर्घकालीन । भन्न त मानिसले १–२ हप्ता लगानी गरेर केही नाफा गर्न कुन शेयर किनौं भन्छन्तर शेयरमा गरिने वास्तविक लगानी छोटो वा निश्चित अवधीको हुँदैन् । यहाँ मध्य वा दीर्घकालीन लगानी हुन्छ । किनबेच गर्न सकिन्छतर बजारको प्रवृत्तिमा निर्भर गर्दछ ।
छोटो र निश्चित समय पैसाको व्यवस्थापन गर्न वचत तथा दीर्घकालीन लगानीका लागि शेयर उपयुक्त विकल्प हुनसक्छ ।
सम्पत्ति   वृद्धि
ब्याजदरको आधारमा सम्पत्ति बढ्ने सुनिश्चित । वचतको प्रकृति र वचत गर्दाका सम्झौताको आधारमा तोकिएका ब्याज सावाँमा गाभिने र थप ब्याज आर्जन हुँदैजाँदा निश्चित   अवधीमा नगद सम्पत्ति बढ्ने सुनिश्चित हुन्छ ।
अनिश्चित तर संभावना उच्च । कम्पनीको मुनाफा र व्यवसायिक आवश्यकता आधारमा बोनस तथा हकप्रद   शेयर मार्फत कित्ता र बजारमा शेयरको मूल्य वृद्धिसमेत दोहोरो तरिकाले सम्पत्ति बढ्ने उच्च संभावना रहन्छ । कम्पनी बन्द वा दिवालीयापन, बजारमूल्य घटेर सम्पत्ति घट्न पनि सक्छ ।
सम्पत्तिमा सुनिश्चित वृद्धिका लागि वचत र अनिश्चित तर उच्च वृद्धिको जोखिम लिनको लागि शेयर उपयुक्त विकल्प हुनसक्छ ।


निष्कर्ष

प्रत्येक व्यक्तिसँग उपलब्ध पैसा, जोखिमवहन क्षमता, लगानी वा बचतमा पहुँच फरक हुने हुँदा बचत वा सेयरमा लगानी छनौट समय र परिस्थितिका साथै बचतको ब्याजदर र धितापत्र बजारमा सेयरको मूल्यले पनि बचत की लगानी निर्भर रहन्छ । पैसा र सम्पत्ति आर्जनमा निपुण व्यक्तिले जोखिम र प्रतिफलको सामन्जस्य कायम गर्दै मिश्रित रूपमा उपलब्ध स्रोतको सन्तुलित परिचालन गर्दै उच्चतम लाभ हासिल गर्नु सबैभन्दा बुद्धिमानी हुनेछ । पैसा बचाउनु र काममा लगाउनु भने त्यति सहज हुँदैन ।

काराेवार दैनिकमा २०७५ असाेज २१ गते प्रकाशित, https://karobardaily.com/news/idea/11413

Saturday, August 26, 2017

पैसा कहाँ लगानी गर्ने ? सेयर कि घरजग्गा ?

वचत तथा लगानीका विभिन्न औजारहरु शेयर, घरजग्गा, सुन, ऋण वा वचतपत्र, वचत तथा मुद्धति आदि मध्ये अहिले धेरैको रोजाइमा शेयर वा घरजग्गा प्राथमिकतामा रहेको देखिन्छ । मानिसहरुले प्रतिफल वा विकल्पको तुलना गर्दा समेत जग्गामा लगाउँदा यति मुनाफा हुन्छ र शेयरबाट यति मुनाफा आउँछ भन्ने हिसाव गर्ने प्रचलन रहेको छ । तसर्थ शेयर र घरजग्गा लगानीका परिपूरक अनि प्रतिश्पर्धी पनि हुन्। यसो भन्दैमा शेयर र घरजग्गाको लगानी एउटाबाट अर्कोमा सहजै सर्ने अवस्था नभएता पनि शेयर र घरजग्गामा लगानी केहीहदसम्म सर्न शुरु भएको पनि छ । यस अवस्थामा शेयर वा घरजग्गा लगानीका लागि कुन उपयुक्त हुन्छ भन्ने विश्लेषणका लागि निम्न पक्षहरुलाई केलाउनु बुद्धिमानी हुनेछ ।

लगानी र स्रोत व्यवस्थापन 

लगानीका दृष्टिकोणले घरजग्गामा केही ठूलो रकम एकैपटक आवश्यक पर्दछ । उदाहरणको लागि २.५ आना जग्गा किन्दा नै लाखौं रुपैयाँ आवश्यक पर्ने हुन्छ । यसको विपरित शेयरमा केहि हजार र त्यो पनि आफूसँग उपलब्ध भए अनुसार लगानी गर्न सकिन्छ । यसको साथै शेयर बजारमा विभिन्न मूल्यका शेयरहरु उपलब्ध हुनुका साथै सामूहिक लगानी कोष (म्युचुअल फण्ड) मार्फत निकै सानो रकम समेत लगानी गर्न सकिन्छ । यस हिसावले घरजग्गाको तुलनामा शेयर लगानी सहज देखिन्छ ।

लगानीको लागि रकम व्यवस्थापनमा भने शेयरको तुलनामा घरजग्गामा केही सहज हुनसक्छ । बैंक तथा वित्तिय संस्थाहरुले तुलनात्मक रुपमा घरजग्गालाई प्राथमिकता दिने हुँदा आफूसँग उपलब्ध स्रोत बाहेक ऋण भुक्तानीको भरपर्दो माध्यम भएको अवस्थामा घरजग्गामा ऋण सहज हुन्छ । हुनतः बैंक तथा वित्तिय संस्थाहरुले शेयर धितो कर्जा उपलब्ध गराउन थालेका छन्, तर तुलनात्मक रुपमा केही बढि व्याज तिर्नुपर्ने र निश्चित शेयरमा बाहेक ऋण नपाइने संभावना रहन्छ ।

लगानीको उद्देश्य

दुवै क्षेत्रमा लगानीको उद्देश्य मुनाफा नै हो । घरजग्गा वा शेयर दुवैदीर्घकालीन लगानी वा कारोवर गर्ने उद्देश्यले लगानी गर्न सकिन्छ । घरजग्गामा लगानी आफ्नै प्रयोग, दीर्घकालीन पुँजीगत लाभ वा कारोवारको उद्देश्यले गरिन्छ भने नियमित आय (पेन्सन), केही वर्षमा मुनाफा लिएर विक्री गर्न मध्यकालीन वा दीर्घकालीन लगानी तथा छोटो अवधिमा कारोवार गर्न शेयरमा लगानी गरिन्छ । उद्देश्यका हिसावले दुवैको उस्तै देखिएतापनि घरजग्गाको तुलनामा शेयरमा निकै छोटो अवधिका लागि समेत लगानी गरी पुँजीगत लाभ लिन सकिने सम्भवना बढिरहन्छ ।

जोखिम

घरजग्गाको तुलनामा शेयरको मूल्य, आपूर्ति, नियम कानुन धेरै परिर्वतन भईरहने हुँदा पक्कै शेयरमा केही बढी जोखिम रहन्छ । घरजग्गाको जोखिम भनेको कुनै बदमासले झुक्याएर विक्री गर्ने, समयपरिस्थिति र उक्त क्षेत्रको जग्गाको मागका कारण मूल्यमा हुने सामान्य घटबढ मात्र हो । घरजग्गा थप आपूर्तिको नहुने हुँदा आपूर्तिको जोखिम हुँदैन । घरको सम्बन्धमा त विमा गरेर धेरै हदसम्म जोखिम न्यूनीकरण समेत गर्न सकिन्छ ।

शेयरमा तुलनात्मक रुपमा धेरै जोखिम रहन्छ । जस्तो कम्पनीको संख्या र पुँजीको अवस्था, विद्यमान लगानीकर्ताको प्रवृति, नियामक निकायको निर्देशन र कानुनी व्यवस्था आदिका कारण बजारमा उपलब्ध हुने शेयरको संख्या, सम्बन्धित कम्पनीको व्यवसाय, मुनाफा, व्यवस्थापन, आर्थिक राजनीतिक अवस्था, कानुनी प्रावधान, आदि विविध कारणले शेयरको माग तथा आपूर्ति, मूल्य, मुनाफामा प्रभावित हुन्छ । यसको सम्पूर्ण जोखिम लगानीकर्ता वा कारोवारीले उठाउन पर्ने हुन्छ, यहाँ विमाको विकल्प उपलब्ध हुँदैन ।

मुनाफा वा प्रतिफल

घरजग्गा वा शेयरमा निहित विभिन्न किसिमका जोखिम वहन गरे वापत लगानीकर्ताहरुले खोज्ने मुनाफा नै हो ।घरजग्गाबाट बहालको रुपमा नियमित आम्दानीका साथै लागतभन्दा बढी मूल्यमा विक्री हुँदा एकमुष्ट पुँजीगत लाभ प्राप्त हुन्छ ।सामान्यतः घरजग्गामा बहालभन्दा पुँजीगत लाभ प्रधान हुन्छ ।

शेयरमा भने लगानी गरिएको कम्पनीको मुनाफाको आधारमा लाभांस (नगद वा शेयर)का साथै पुँजीगत लाभ वा हानीको संभावना रहन्छ । शेयरको एउटा राम्रो पक्ष भनेको गुणात्मक वृद्धि (मल्पिप्लाएर इफेक्ट) पनि हो, जसले मूलतः दीर्घकालीन लगानीकर्ताहरुको शेयर संख्या र लाभांस दुवै वृद्धिको गुञ्जायस राख्दछ ।घरजग्गामा तुलनात्मक जोखिम कम हुँदा नकारात्मक प्रतिफल वा नोक्सानीको संभावना पनि कम हुन्छ भने शेयरमा यो उच्च रहन्छ ।

खरिदविक्रीको सहजता र पारदर्शिता

नेपालको सन्दर्भमा घरजग्गाको खरिदविक्रीको लागि निश्चित बजार छैन र व्यक्तिगत वा सामुहिक वा संस्थागत रुपमा विद्यमान दलाल वा सिधै खरिदविक्री गर्नुपर्ने बाध्यता रहेको छ । यसको साथै कानुनी रुपमा समेत निश्चित क्षेत्रफलभन्दा सानो आकारमा जग्गा टुक्र्याउन नपाइने नियमले गर्दा पनि खरिद वा विक्री गर्दा उक्त आकार भन्दा सानो जग्गा खरिदविक्री हुन गाह्रो छ । अहिलेको अवस्थामा किन्दा पनि निकै ठूलो रकमको जोहो गर्नुपर्ने हुन्छ भने विक्री गर्दा पनि आवश्यकता अनुसार विक्री गर्न सहज छैन ।

यसको तुलनामा शेयर आफूसँग उपलब्ध रकम, आफ्नो जोखिमवहन क्षमता, आसातित प्रतिफलको आधारमा विभिन्न विकल्पहरु मध्ये छानेर सानो आकारमा समेत खरिदविक्री गर्न सकिन्छ । उदाहरणको लागि आफूसँग १०,००० छ भने सोही मूल्यको शेयर किन्न सकिन्छ भने आफूलाई २५,००० मात्र चाहिएको छ भने सोही मूल्य हाराहारीको शेयर विक्री गर्न सकिन्छ । जुन घरजग्गामा संभव हुँदैन ।सहज खरिदविक्रीले गर्दा घरजग्गाको तुलनामा शेयरमा तरलताको फाइदा रहन्छ ।

यस्तै घरजग्गामा खरिद र विक्रीको आधिकारिक मूल्य, दलालको कसिन जस्ता कुराहरु पारदर्शी हुँदैनन् र क्रेता र विक्रेता दुवै तेस्रो पक्ष अर्थात् दलालबाट शोषित हुने संभावना निकै उच्च रहन्छ । यसको साथै सरकारी दस्तुरका लागि तोकिएको मूल्य र वास्तविक कारोवार मूल्यमा समेत आपसी समझदारीमा फरक मूल्य कायम हुने हुँदा संस्थागत रुपमा भएको खरिदविक्री बाहेक कुन घरजग्गा कति मूल्यमा किनबेच भयो यकिन भन्न सकिने अवस्था रहन्न । अर्कोतिर एउटै क्षेत्रमा समान प्रकृतिको घरजग्गा समेत धेरै फरकमूल्यमा कारोवार हुने संभावनाले गर्दा घरजग्गाको मूल्य आंकलन गर्न असम्भव नै हुन्छ ।

शेयर कारोवारका लागि सरकारले नेपाल स्टक एक्सचेन्ज, मान्यताप्राप्त दलाल तथा सोमा लाग्ने शुल्क तथा कमिसनहरु समेत सुनिश्चित गरिएको हुँदा यहाँ क्रेता र विक्रेता बीच प्रत्यक्ष भेट नभएता पनि किनबेच भएको शेयर कति मूल्यमा भयो र सोको कति भुक्तानी हुन्छ थाहा हुन्छ । क्रेताले कुन शेयरको लागि कति मूल्य र शुल्क तिर्दैछु र विक्रेताले कति मूल्यमा बेचे वापत कति भुक्तानी आउछ र सोको पुँजीगत लाभ वा हानी पारदर्शी रुपमा जानकारी पाउन सक्छ । विद्यमान अवस्थामा कुन शेयर कतिसम्ममा खरिद वा विक्री हुनसक्छ भन्ने आंकलन गर्न सकिन्छ ।

तसर्थ पारदर्शिता र कारोवारको सन्दर्भमा शेयरको तुलनामा घरजग्गा निकै अपारदर्शि र मूल्य आंकलन गर्न कठिन हुन्छ । चाहेको समयमा किनबेच गर्न समेत घरजग्गामा अलि कठिन नै हुन्छ । घरजग्गाको अर्को अभाव भनेको प्रत्यक्ष नियामक हो, जसले थप जटिलता र अपारदर्शितालाई बढवा दिएको छ ।

यसको साथै घरजग्गा र शेयरमा पुँजीगत लाभमा कर समान दर भएता पनि कारोवारमा हुने पारदर्शिताले गर्दा घरजग्गामा पुँजीगत लाभ छल्न जति सजिलो छ, त्यो शेयरमा हुँदैन ।

शेयर कि घरजग्गा ?

उल्लिखित पक्षहरुको आधारमा लगानीको उद्देश्य, जोखिमवहन क्षमता, आफूसँगको ज्ञान र सीप, लगानी अवधि, आसातित प्रतिफल आदिलाई मनन् गरेर शेयर वा घरजग्गामा भन्ने निर्धारण गर्नुपर्ने हुन्छ । स्वप्रयोजनको अवस्थामा बाहेक घरजग्गा र शेयरको तुलनात्मक विश्लेषण गरी खरिदविक्री गर्न संभव हुन्छ । कुनै ठाउँमा चलनचल्तीको भन्दा निकै कममूल्य वा ठूला पूर्वाधार विकासका कारण भविष्यमा घरजग्गाको मागमा निकै उछाल आएर मूल्य वृद्धि हुने संभावना छ, आफूसँग ठूलो रकम वचत छ, र तत्काल रकम आवश्यक हुने अवस्था छैन, बजारमा व्याजदर कम छ भने घरजग्गा लगानीको प्राथमिकतामा राख्न सकिन्छ । तर आफूसँग थोरै मात्र रकम वचत छ, त्यो पनि केही समयको लागि हो भने शेयर उपयुक्त विकल्प हुनसक्छ ।

यसको साथै आफूलाई नियमित आम्दानी चाहिन्छ वा एकमुष्ट लाभ, आफ्नो सम्पति कतिको तरल राख्ने आदि पक्षले समेत शेयर वा घरजग्गाको छनौट प्रभावित हुन्छ ।घरजग्गाको तुलनामा शेयरमा लगानी गर्ने हो भने अलि बढि चनाखो भई सम्बन्धित कम्पनीको वित्तिय, व्यवसायिक र व्यवस्थापकिय अवस्था, राष्ट्रिष्य–अन्तर्राष्ट्रिय आर्थिक–राजनीतिक अवस्था, बजारमा प्रचलित व्याजदर, वैकल्पिक अवसरहरु, बजारमा सम्बन्धित कम्पनीको शेयरको माग र आपूर्तिको अवस्थामा, नियामक र कानुनी प्रावधानलाई नियाल्नु जरुरी हुन्छ ।

यदि सम्पत्ति व्यवस्थापन वा लगानी विविधीकरण(पोर्टफोलियो म्यानेजमेन्ट)को लागि घरजग्गा वा शेयरको विकल्प खोजिएको हो भने उपलब्ध स्रोत बाँडफाँड गरी दुवैमा लगानी गर्नु बुद्धिमानी हुनसक्छ, जसले गर्दा शेयरबाट पाइने गुणात्मक वृद्धि, नियमित लाभांस र पुँजीगत लाभको साथै घरजग्गाको एकमुष्ट पुँजीगत लाभको मिश्रणबाट खुद मुनाफा केही वृद्धि हुन सक्नेछ ।

नेपाली तारा अनलाइनमा प्रकाशित http://nepaltara.com/News/13106-2/