Showing posts with label हकप्रद र बोनस. Show all posts
Showing posts with label हकप्रद र बोनस. Show all posts

Sunday, May 8, 2022

‘एफपीओ’ : लालसा कि बाध्यता ?

‘एफपीओ’को प्रिमियमको लालसामा गरिने मर्ज वा प्राप्तिलाई निरुत्साहन गर्दै व्यावसायिक आवश्यकताको आधारमा पुँजीगत क्षमता बढाउन ‘एफपीओ’ वा अन्य उपयुक्त विकल्पबारेमा सोच्नुपर्छ ।


‘एफपीओ’ अर्थात् फर्दर पब्लिक वा फलोअन पब्लिक अफरिङ, जसलाई थप सार्वजनिक निष्कासन भनिन्छ, एकपटक सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले नयाँ सेयरधनीमार्फत थप पुँजी संकलन गर्न थप सेयर निष्कासन विधि नै ‘एफपीओ’ हो । यसमा अंकित वा प्रिमियमसहितको तोकिएको निश्चित मूल्यमा सेयर बिक्री गरिन्छ । निष्कासित सेयरमा निषेधितबाहेक सबै इच्छुक लगानीकर्ताले आवेदन दिन सक्छन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको नियम १४ मा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गरी सूचीकरण भइसकेको कम्पनीले पुँजी वृद्धि गर्नुपरेमा धितोपत्रको थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यु—‘एफपीओ’) गर्न सक्ने उल्लेख छ । यसले थप पुँजी संकलनका लागि थप सार्वजनिक निष्कासनलाई मात्र ‘एफपीओ’ मानेको छ । नेपालमा प्रचलित ‘एफपीओ’ले कम्पनीमा सेयरको संख्या बढाउनुका साथै प्रतिसेयर मुनाफा र नेटवर्थमा प्रभाव पार्छ, जसलाई डाइलुटेड ‘एफपीओ’का रूपमा बुझिन्छ ।

अन्तर्राष्ट्रिय धितोपत्र बजारमा भने फलोअन पब्लिक अफरिङलाई पनि ‘एफपीओ’ बुझिन्छ, जसमा थप सार्वजनिक निष्कासन वा विद्यमान संस्थापक, प्रि–आईपीओमा किनेका, सञ्चालकजस्ता ठूला वा कारोबार रोकिएका सेयरधारकहरूले सर्वसाधारणलाई बेचिन्छ । यसमा (क) थप सेयर निष्कासनमा कित्ता बढ्ने ‘डाइलुटेड एफपीओ’ र (ख) निश्चित समूहको सेयर सर्वसाधारणलाई बिक्रीमा कम्पनीको सेयर कित्ता नबढ्ने ‘ननडाइलुटेड एफपीओ’ वा ‘अफर सेल’ हुन सक्छ । डाइलुटेडमा प्राप्त रकम कम्पनीमा रहन्छ भने ननडाइलुटेडमा विक्रेता सेयरधनीले रकम प्राप्त गर्छ र कम्पनीको हिसाबकिताबमा कुनै प्रभाव रहँदैन । यस आधारमा नेपाल टेलिकमको सार्वजनिक निष्कासन ननडाइलुटेड अफर सेल पनि मान्न सकिन्छ ।

नेपालमा सामान्यतः प्रिमियममा थप कित्ता निष्कासन गर्दै सेयर प्रिमियम संकलन गर्ने र त्यसबाट सेयर लाभांश (बोनस सेयर) बाँड्ने लालसामा कतिपय सूचीकृत कम्पनीले ‘एफपीओ’लाई प्राथमिकता दिने गरेका छन् । गैरव्यावसायिक आय (सहज रकम– इजी मनि)को लोभमा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरू ‘एफपीओ’ निष्कासनका लागि लालायित हुने गरेको सुनिन्छ । हुन त विगतमा जस्तो उच्च प्रिमियममा ‘एफपीओ’ जारी गर्न रोक्दै प्रतिसेयर नेटवर्थको अंकुस लगाएको छ र प्राप्त सेयर प्रिमियम सेयर लाभांशबाहेक अन्य रूपमा सेयरधनीलाई वितरण गर्न रोकेको छ । यस्तो सेयर प्रिमियमलाई लाभांशका रूपमा वितरणमा महालेखाले निरन्तर करको प्रश्न उठाउँदै आएको छ । चतुरहरूले विगतमा सेयर प्रिमियमका लागि हकप्रदको खेती गर्दै आएकोमा नियामकीय नियन्त्रणपछाडि ‘एफपीओ’को छिद्र समाउँदै सूचीकृत कम्पनीले विशेष गरी प्राथमिक सार्वजनिक निष्कासन नगरेका (असूचीकृत) कम्पनी गाभ्दै संस्थापक र सर्वसाधारण सेयरको हिस्सा बिगार्ने र कानुनी प्रावधानको टेको टेकेर प्रिमियममा थप सार्वजनिक निष्कासन गर्ने लालसा बढेको सुनिन्छ ।

लालसा कि बाध्यता ?

विगतमा कतिपय बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले तोकिएको पुँजी पु-याउने बाध्यकारी नियामकीय प्रावधानमा टेकेर वा उपलब्ध अवसरको सदुपयोग गर्दै थप सार्वजनिक निष्कासन गरे । नेपाल लाइफ, शिखर, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट, एनएमबी, नेपाल बैंकले यही प्रिमियमबाट बोनस सेयर वितरण गर्दै चुक्ता पुँजी उल्लेख्य बढाए । अंकित मूल्यमा हकप्रद जारी गर्न नचाहेका केही कम्पनीका लागि थप पुँजी जुटाउने बाध्यता र प्रिमियमको लालसामा तत्कालीन अवस्थामा ‘एफपीओ’ जारी गरिएका थिए ।

हाल चुक्ता पुँजीकै लागि थप सेयर निष्कासन अप्रत्यक्ष रोक छ, तर मर्ज वा प्राप्ति प्रोत्साहनका नाममा चुक्ता पुँजी बढाउन अप्रत्यक्ष दबाब पनि बढेकै छ । पुँजी पनि बढाउन पाइने र कानुनी बाध्यताका नाममा ‘एफपीओ’ पनि ल्याउने अवसरको रूपमा उपयोग गर्न केही बाठा लघुवित्तहरूले सूचीकृत नभएका अर्थात् आईपीओ जारी नगरेका कम्पनी मर्ज गर्दै संस्थापक र सर्वसाधारणको सेयर हिस्सालाई कानुनी प्रावधानभन्दा फरक बनाउने प्रयासमा लागेको आभास दिएका छन्, जसले बाहिरबाट हेर्दा कानुनी बाध्यता देखिए तापनि वास्तवमा पुँजी र सेयर प्रिमियमको लालसामा गाभ्न वा गाभिन तयार भएका छन् ।

कानुनी प्रावधान

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९ अनुसार इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याउनुपर्ने व्यवस्था गरेको छ । यही कानुनी प्रावधानका कारण संस्थापकको हिस्सा बढाउँदै सर्वसाधारणको हिस्सा घटाउने र ‘एफपीओ’को छिद्रको उपयोग गर्ने बदनियतका साथ मर्ज वा प्राप्तिलाई उपयोग हुने गरेको अनौपचारिक भनाइ सुनिन्छ ।

‘एफपीओ’ जारी गर्ने सम्बन्धमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७ को नियम १४(१) मा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गरी सूचीकरण भइसकेको संगठित संस्थाले आफ्नो पुँजी वृद्धि गर्नुपरेमा धितोपत्रको थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यु) गर्न सक्ने व्यवस्था छ । तर, त्यस्ता कम्पनीको (क) विगत पाँच वर्षमा कम्तीमा पछिल्लो तीन वर्ष खुद मुनाफामा सञ्चालन भई प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीभन्दा बढी भएको, (ख) धितोपत्रको सार्वजनिक निष्कासन भएको तीन वर्ष पूरा भएको, (ग) धितोपत्रको थप सार्वजनिक निष्कासन गर्ने सम्बन्धमा वार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएको, (घ) अंकित मूल्यभन्दा बढी मूल्य तोकी निष्कासन गर्ने भएमा मूल्य निर्धारण गरिएको विधि र सोको औचित्य पुष्टि गर्ने आधार उल्लेख भएको सर्त पूरा गर्नुपर्नेछ । थप सार्वजनिक निष्कासन गर्दा नियम १३ बमोजिम स्वीकृति लिई विवरणपत्र प्रकाशन गर्नुपर्नेछ ।

यस्तै धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार (१) धितोपत्रको थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यु) गर्न चाहने कम्पनीको प्रबन्धपत्र, नियमावली वा सम्बन्धित संस्थाको चार्टरमा थप सार्वजनिक निष्कासन गर्न सकिने सम्बन्धमा स्पष्ट व्यवस्था; (२) धितोपत्रको थप सार्वजनिक निष्कासन भएपश्चात् कम्पनीको पुँजी संरचना तथा सञ्चालक समितिमा हुने परिवर्तन सम्बन्धमा त्यस्तो सङ्गठित संस्थाको प्रबन्धपत्र, नियमावली तथा सम्बन्धित संस्थाको चार्टरमा स्पष्ट व्यवस्था; (३) कम्पनीले साधारणसभाबाट निर्णय भएको दुई महिनाभित्र धितोपत्रको थप सार्वजनिक निष्कासनको लागि बोर्डमा निवेदन दिनुपर्ने; (४) निवेदनमा (क) धितोपत्रको थप सार्वजनिक निष्कासन गर्ने सम्बन्धमा सञ्चालक, समिति तथा साधारणसभाको निर्णय, (ख) पछिल्लो पाँच वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण, (ग) धितोपत्रको थप सार्वजनिक निष्कासनका लागि नियुक्त गरिएको निष्कासन तथा बिक्री प्रबन्धकसँग गरिएको सम्झौता, (घ) निष्कासन गरिने धितोपत्र प्रत्याभूत (अन्डरराइट) गरिएको भए प्रत्याभूतिकर्तासँग गरिएको सम्झौता संलग्न गर्नुपर्नेछ । यस्तै थप सार्वजनिक निष्कासन गरेको मितिले पाँच वर्ष पूरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्कासन गर्न सक्नेछैन ।

यस्तै प्रिमियममा ‘एफपीओ’ जारी गर्ने कम्पनीले नियम २५ख. अनुसार सूचीकृत सङ्गठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्कासन गर्न आवश्यक परेमा त्यस्तो संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको ‘प्रतिसेयर नेटवर्थ’ भन्दा बढी नहुने गरी प्रिमियमसहितको निष्कासन मूल्य निर्धारण गर्नुपर्नेछ ।

थप टिप्पणी १ ः बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे नियम ४, याेग्यतामा “सर्वसाधारणमा शेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्रप्राप्त संस्थाहरु समेत एक आपसमा गाभ्न गाभिन वा प्राप्ति (एक्विजिशन) का लागि योग्य मानिनेछन् । तर गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात् कायम हुने संस्थाको कूल जारी पूँजीको कम्तीमा तीस प्रतिशत शेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्था सम्बन्धित संस्थाले मिलाउनु पर्नेछ ।”

विगत र वर्तमान

शिखर इन्स्योरेन्सले २०७२ पुसमा ५ लाख १० हजार ९ सय ८८ कित्ता प्रतिकित्ता ६ सय ५० रुपैयाँका दरले पहिलो पटक ‘एफपीओ’ निष्कासन गरेको देखिन्छ । तालिका १ अनुसार हालसम्म ‘एफपीओ’ जारी गरेका १३ कम्पनीमध्ये केवल रिलायन्स फाइनान्स र ग्रामीण विकास लघुवित्तले मात्र अंकित मूल्य रु. १ सयमा निष्कासन गरेका छन् भने अन्यले १ सयदेखि १ हजार ३ सय २५ रुपैयाँ प्रिमियम थपेर एफपीओ जारी गरेका थिए ।

तालिका १ः हालम्म ‘एफपिओ’ जारी गरेका कम्पनी, कित्ता र दर

कम्पनी

जारी किता

दर (रु)

सूचीकृत मिति

सिटिजन्स बैक इन्टरनेसनल

,६३,२८६

२००

२०७५ भदौ १७

नेपाल बैंक

,७६,८४,८५८

२८०

२०७५ कातिक २५

एनएमबी बैक

,१४,१५,१६३

३३३

२०७५ भदौ ६

बुटवल पावर कम्पनी

४०,८१,०००

५०१

२०७५ बैशाख १३

प्रिमियर इन्सुरेन्स कम्पनी (नेपाल)

,५९,५६५

७९९

२०७४ चैत ९

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था

,७५,०००

१००

२०७४ कातिक १४

पोखरा फाइनान्स

,८३,६८२

२२०

२०७४ असोज ६

स्ट्यान्डर्ड चार्टड बैक नेपाल

२५,५८,१४०

१२९०

२०७४ जेठ २

नेपाल लाइफ इन्सुरेन्स कम्पनी

३०,९६,४२९

१४२५

२०७४ बैशाख ७

नेपाल एसबिआई बैंक

६७,७६७

९७१

२०७३ फागुन २३

नेपाल इन्भेष्टमेन्ट बैक

९०,६९,३८८

६०१

२०७३ असार १३

रिलायन्स फाइनान्स

,१४,२८६

१००

२०७३ बैशाख १४

शिखर इन्सुरेन्स कम्पनी

,१०,९८८

६५०

२०७२ माघ १०


यसबाहेक बैंक अफ काठमान्डुले करिब ६१.५८ लाख कित्ता संस्थापक सेयर थप सार्वजनिक निष्कासन गरेको थियो ।

हाल कानुनले नै ‘प्रतिसेयर नेटवर्थ’ भन्दा बढी नहुने गरी प्रिमियमसहितको निष्कासन मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था गरेअनुसार निम्नानुसार ६ लघुवित्त कम्पनीहरूमध्ये ५ ले प्रिमियम मूल्य र एउटाले अंकित मूल्यमा ‘एफपीओ’ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एउटा आवेदन पुनरावलोकनका लागि सम्बन्धित कम्पनीलाई फिर्ता पठाए पनि महिनौं अगाडिका आवेदन अनिश्चितताको भुमरीमा रुमल्लिरहेका छन् ।

तालिका २ ‘एफपिओ’का लागि आवेदन दिएर स्वीकृतिको पर्खाइमा रहेका कम्पनी, कित्ता र दर

कम्पनी

जारी किता

प्रस्तावित दर (रु)

आवेदन मिति

किसान लघुवित्त वित्तीय संस्था

१२,९८,२५९

१२५

२०७८ असार २९

मिर्मिरे लघुवित्त वित्तीय संस्था

५१,३१६

१७७.८

२०७८ कातिक २३

युनिक नेपाल लघुवित्त वित्तीय संस्था

,७९,४२५

१००

२०७८ चैत १७

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था

,७८,४५१

१५९

२०७८ चैत २५

समता घरेलु लघुवित्त वित्तीय संस्था

,८९,४४०

१५९.०७

२०७८ चैत २९

नयाँ सारथी लघुवित्त वित्तीय संस्था

,२९,६४९

११६

२०७८ भदौ ९


अन्त्यमा, व्यावसायिक आवश्यकताका आधारमा थप पुँजी संकलनका लागि ‘एफपीओ’ एउटा विकल्प हुन सक्छ । कम्पनीको व्यावसायिक आवश्यकताअनुसार ‘एफपीओ’ उपयोग गर्नु गलत होइन । तर मर्ज वा प्राप्तिको छिद्रबाट छिरेर ‘एफपीओ’मा सफा नियत देखिन्न । ‘एफपीओ’कै लागि असूचीकृत कम्पनी गाभ्ने गलत प्रवृत्तिलाई प्रोत्साहित गरिनु हुन्न । नियामकले पनि ‘एफपीओ’को प्रिमियमको लालसामा गरिने मर्ज वा प्राप्तिलाई निरुत्साहन गर्दै व्यावसायिक आवश्यकताको आधारमा पुँजीगत क्षमता बढाउन ‘एफपीओ’ वा अन्य उपयुक्त विकल्पबारेमा सोच्नुपर्छ ।

थप सामग्री

काराेवार दैनिकमा २०७९ बैशाख २५ गते प्रकाशित, ‘एफपीओ’ : लालसा कि बाध्यता ? « (karobardaily.com)

Revised/updated 2022 May 17, nst 1.03 pm

Sunday, October 13, 2019

हकप्रद नियन्त्रण र नियमनको आवश्यकता


नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिले बैंकलाई पूँजी वृद्धि गर्न निर्देशन दिएपछि पूँजीबजार हकप्रदमय भयो । पूँजी प्रवन्ध गर्न बैंकहरूले मर्ज वा प्राप्ति भन्दा सेयरधनीहरूलाई थप लगानी गराउने वित्तीय उपकरण हकप्रदलाई बैंकले बढी प्राथमिकता दिए । नेपाली लगानीकर्ताहरूको हकप्रदमोह यसको प्रवद्र्धनमा सहयोगी बन्यो । कम्पनीको व्यवसायिक अवसर, व्यवस्थापन र नाफा भन्दा बढी हकप्रद दिने कम्पनी लगानीकर्ताको प्राथमिकता र हकप्रद लगानी निर्णयको आधार हुनथाल्यो । वर्षमा नै दुई–तीनपटक वा एकैपटक धेरैगुणा हकप्रद जारी गर्दै बैंकहरू तोकिएको पूँजी व्यवस्थापन गर्न त सफल भए । तर व्यवसायिक आवश्यकता र धितोपत्र बजारको क्षमता भन्दा अत्यधिक बढी शेयर जारी हुँदा केही कम्पनीहरूको आधारभूत सूचकहरू र बजारमा नकारात्मक असर पर्यो । लगानीकर्ताहरूको भर्चुअल सम्पत्तिमा अत्यधिक ह्रास आयो । यति हुँदा पनि हकप्रद मोह घट्नुको सट्टा बैंकबाट लघुवित्त र बिमातिर सरेको छ ।

नेपाल धितोपत्र बोर्डले आव २०७५/७६ मा १९ कम्पनीलाई ५ करोड ८७ लाख ७१ हजार ८४ किता तथा २०७६÷७७ को तीन महिनामा १ करोड ४६ लाख १२ हजार २ सय २८ किता हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ । आधिकारिक तथ्यांक उपलब्ध नभएपनि जारी हकप्रद मध्ये आव ७५÷७६ देखि हालसम्ममा २ करोड १७ लाख ३२ हजार ९ सय ५४ किता सेयर लिलामी आएको देखिन्छ । अहिले पनि सिर्जना फाइनान्सको २० प्रतिशत हकप्रद बिक्री भईरहेको छ भने तत्कालै समता लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स र एनएमबी लघुवित्तको हकप्रद बिक्रीमा आउँदै छ । तर वास्तवमा हकप्रदले लगानीकर्ता र कम्पनीको हित वा बरवाद के हुन्छ सोच्ने बेला आएको छ ।

हकप्रद सेयर र लिलामी


धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को परिच्छेद ३ मा हकप्रद सेयर जारी र नबिकेको सेयर लिलामी सम्बन्धी व्यवस्था छ । निर्देशिकाको दफा १२ मा अन्य कुराको अतिरिक्त क) हकप्रद सेयर निष्काशन गर्नु अघि निष्काशन भैसकेको सेयरको अङ्कित मूल्य पूरा चुक्ता हुनुपर्ने, (ख) नियमन निकायको निर्देशन बमोजिम पूँजी बृद्धि गर्नुपर्ने अवस्थामा बाहेक एक आर्थिक वर्षमा एकपटक मात्र हकप्रद सेयर निष्काशन गर्नसक्ने अनि पछिल्लो पटक निष्काशन गरेको सेयरहरू धितोपत्र बजारमा सूचीकरण भएको मितिबाट एक सय असी दिन पूरा भएको हुनुपर्ने, (ग) साधारणसभाबाट हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हुनुपर्ने, (घ) सञ्चालक लगायत आधारभूत सेयरधनीहरूले लिनुपर्ने हकप्रद सेयर बराबरको रकम जम्मा गरिसकेपछि मात्र सर्वसाधारण समूहका सेयरधनीका लागि हकप्रद सेयरको दरखास्त खुला गर्नुपर्ने, (ङ) साधारणसभाबाट हकप्रद सेयरको निष्काशन गर्ने निर्णय गरेको दुई महिना भित्र बोर्डमा निवेदन दिनुपर्ने र (छ) साधारणसभाको हकप्रद सेयर निष्काशन निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ ।

निर्देशिकाको दफा १५ मा उल्लेखित हकप्रद सेयर लिलाम बढाबढ गर्ने प्रकृया’ अनुसार (क) हकप्रद सेयर बिक्री नभई बाँकी रहन गएमा बाँकी रहेको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमार्फत बोर्डलाई जानकारी गराई लिलाम बढाबढमा बिक्री गर्नुपर्ने, (ख) बिक्री गर्दा खरिद गर्न चाहने लगानीकर्ता सबैलाई समान अवसर दिनुपर्ने, (ग) सबै समूहकको (संस्थापक, सर्वसाधारण र अन्य) लिलाम प्रकृया एकैपटक गर्नुपर्ने, र (घ) अङ्कित मूल्यमा बढावढ गर्नुपर्ने व्यवस्था छ ।

विगतका केही लिलामी


जारी हकप्रद पूर्णरूपमा बिक्री नभएको अवस्थामा लिलामीमार्फत बिक्री गर्नुपर्ने कानुनी व्यवस्थाको माथि नै उल्लेख भईसकेको छ । प्रस्तुत तालिकाले पनि लिलामीबाट सेयर बिक्री गर्दा प्राप्त हुने वा हुनसक्ने प्रिमियम रकम र लाभांसको लोभमा पनि कम्पनीहरू एउटा हकप्रदबाट संकलित पूँजीको प्रभावकारी उपयोग र सूचीकृत गर्न नभ्याउँदै पुनः हकप्रद जारी गर्न लालायित भएको होकी भन्ने आशंका गर्न बाध्य गराएको छ ।

कम्पनी
जारी हकप्रद कित्ता
लिलामी
कित्ता
लिलामीमा कट अफ मूल्यका आधारमा अनुमानित प्रिमियम रकम (रु हजार)
लिलामी कित्ता (%)
कैफियत (बिक्री नदेखिएको कित्ता)
प्रोगेसिभ फाइनान्स
५९,०१,०००
४१,१८,१६४
६९.७९
३०,०२,२१०
जेविल्स फाइनान्स
२३,११,६५०
१३,३८,५८५
,३९९.६५
५७.९१
,४०,९५६ (पुनः लिलाम)
सहारा विकास बैंक
१८,२४,८७०
१०,४४,२५६
९६३.५६
५७.२२
,२१,१४९
नेपाल क्रेडिट एण्ड कमर्स बैंक
,३३,९५,२९२
७९,१०,९९३
,४७,३३०.७९
३३.८१

सिटी एक्सप्रेस फाइनान्स
२५,००,०००
,३६,०८७
६०७.२७
२९.४४

ग्रामीण विकास लघुवित्त
३२,७५,०००
,८२,८२६
४२,३७७.२५
२६.९६
,९९,९८२
नयाँ नेपाल लघुवित्त
,००,०००
,५१,११६
,८२१.४३
२५.१९
४७,७६३
गुँरास लाइफ इन्स्योरेन्स
२९,७०,०००
,१३,१४७
२५,३७७.६५
१३.९१
,३३,४४६
आरएसडिसी लघुवित्त
२१,५९,७००
,९१,४९०
२९,१९५.६५
१३.५०

वोमी माइक्रोफाइनान्स
१२,४४,१६०
,३४,७५८

१०.८३
दुईपटक हकप्रद
समता लघुवित्त
,८९,६००
१६,५६८
१५,५६२.०४
८.७४

उन्नति माइक्रोफाइनान्स
,१०,०००
,८९५
,८१४.५३
८.०९

एभरेष्ट इन्स्योरेन्स
९६,२२,०००
,२७,४९७
६५,०९४.०९
७.५६

मिथिला लघुवित्त
,२९,८९०
२१,६४३
,९२३.३९
६.५६

जनउत्थान सामुदायिक लघुवित्त
,८८,०००
१८,५०३
१२,९७०.६०
६.४२

मेरो माइक्रोफाइनान्स
३२,८९,०००
,०९,६४९
८५,९५६.०९
६.३७

स्वदेशी लघुवित्त
११,५०,०००
६२,००५
२२,९४१.८५
५.३९

प्रभु इन्स्योरेन्स
३१,६६,६७८
,३७,०१७
४३,६३५.७५
४.३३

नाडेप लघुवित्त
१६,००,०००
६१,२३६
२९,६९९.४६
३.८३

नेपाल इन्स्योरेन्स
४०,१४,६५२
,४७,१०३
३७,०१५.३०
३.६६
,५१२
माहुली सामुदायिक लघुवित्त
,००,०००
,४५३
१०,०५७.९९
३.१५

एसियन लाइफ इन्स्योरेन्स
७५,४०,३५३
,२१,३६०
५४,१४१.४३
२.९४

नेसनल लाइफ इन्स्योरेन्स
९९,३६,४७८
,७८,११९
,४६,०१२.४८
२.८०

सूर्य लाइफ इन्स्योरेन्स
२८,८७,५००
७४,३८४
३०,२०४.४२
२.५८

आइएमई जनरल इन्स्योरेन्स
४३,,२०,०००
,०२,३६४
२६,५११.७१
२.३७

मिरमिरे लघुवित्त
,५०,०००
,७५३
१२,९४२.२३
२.१७

किसान लघुवित्त
,४०,२५०
,२८०
,५३६.९९
१.७८

सिदार्थ इन्स्योरेन्स
२२,४४,९७४
३७,१२७
१८,८४०.७७
१.६६

नागवेली लघुवित्त
,६६,४६३
,५१८
,३८७.१९
१.२४

स्वरोजगार लघुवित्त
१२,२४,९७८
११,२१९
,३६२.५७
०.९१

लिलामी सम्पन्न कुल
,९८,५३,२८८
,९१,८९,११५
,८८,६८४.११


मल्टिपर्पोज फाइनान्स
३५,८५,२६४
२४८७२७८

६९.३८
लिलामी प्रकृयामा
ग्लोवल आइएमई लघुवित्त
११,०४,५७५
५६५६१

५.१२
लिलामी प्रकृयामा
तथ्यांक स्राेतः सेयरसंसार डटकम


हकप्रद मोह र व्यथिति


नियामकीय प्रावधानका कारण बाध्यात्मक पूँजी वृद्धि, आवेदन नपरेको सेयर लिलामीमा बेच्दा पाइने प्रिमियमलाई लाभांसमा बाँड्न पाइने र लिलामीमा केही सस्तोमा सेयर पाइन्छ भन्ने लगानीकर्ताको मोहले हकप्रदलाई मलजल पुगेको छ । मोहैमोहको हकप्रदले व्यथिति र सेयरको आपूर्ति बढाउनुको साथै (क) बिक्रीबाट प्राप्त गरेको वास्तविक रकम र प्रिमियमको कुनै जानकारी सार्वजनिक नभए पनि तालिकामा उल्लेखित कम्पनीले लिलामी कित्ता र कट अफ मूल्यको आधारमा ८८ करोड रुपैयाँभन्दा बढी प्रिमियम आर्जन गरेको अनुमान गर्न सकिन्छ । (ख) लिलामीबाट आर्जित प्रिमियमबाट कम्पनीहरूले बोनससहितको उच्च लाभांसको आधार बनाएको हुँदा विशेषत साना तर, उच्च बजार मूल्यका कम्पनी वर्र्षैिपच्छे अधिक प्रतिशत हकप्रद जारी गर्न लालायित देखिएका छन् । उनीहरूले नयाँ हकप्रद जारी गर्दा अघिल्लो हकप्रद निष्कासन गर्दा उल्लेखित पूँजी, व्यवसाय, मुनाफाको तथ्यांकलाई पूर्णत बेवास्ता गरेका छन् । यसले उनीहरूको व्यवसायिक र पूँजीगत आवश्यकता आंकलन गर्न असक्षम र विवरणपत्र प्रति गैरजिम्मेवार भएको देखिन्छ । (ग) जारी हकप्रदको करिव सत्तरी प्रतिशतसम्म लिलामीमा आउनुले कम्पनीको आवश्यकता र विद्यमान सेयरधनीको लगानी क्षमताभन्दा कैयौं गुना बढी हकप्रद जारी भएको देखिन्छ । (घ) हकप्रदले सेयरको आपूर्ति उल्लेख्य बढ्दा बजारमूल्य, प्रतिसेयर नेटवर्थ र आय, प्रतिफल दर आदिमा नकारात्मक असर परेको छ ।

 नयाँ व्यवस्था र सुधार


हकप्रदको सामान्य सिद्धान्त विपरित कम्पनीहरूले विभिन्न बहानामा हकप्रद निष्कासन र लिलामीमा आकर्षित हुनथाले पछि हालै नेपाल धितोपत्र बोर्डले २०७६ असोज १४ गते विज्ञप्ति प्रकाशित गर्दै ‘हकप्रद सेयर निष्काशनसम्बन्धी निर्णय भएको बढीमा दुई महिनाभित्र उक्त प्रस्ताव साधारणसभामा पेश गरी सक्नुपर्ने, साविक सेयरधनीहरूले हकप्रद सेयरका लागि शतप्रतिशत बढी आवेदन गर्नसक्ने, बाँकी रहेको हकप्रद सेयरको लागि बाँडफाँड भएको मितिले ७ दिन भित्र लिलाम बढाबढको लागि सूचना प्रकाशित गर्नुपर्ने, लिलाम बढाबढको सूचना दिँदा बोलकबोलका लागि बढीमा पन्ध्र दिनको सूचना प्रकाशित गर्नुपर्ने, लिलाम बढाबढ बाँडफाँड भएको ७ कार्य दिन भित्र लगानीकर्तालाई बाँडफाँडपत्र सहित रकम फिर्ता गर्नुपर्ने ।’ केही सुधारको प्रयास भएको छ । यसका अतिरिक्त,
क)  प्रस्तावित शतप्रतिशत बढी आवेदनको व्यवस्थाले लिलामीलाई केही नियन्त्रण गर्दै कम्पनीहरूको ध्यान गैरव्यवसायिक आयबाट हटाउन मदत गरेता पनि बुक क्लोज अगाडिको मूल्यमा थप चलखेल हुने सम्भावनालाई ध्यानदिएर बढीमा ‘२५ प्रतिशत’ सम्ममात्र थप सेयरका लागि आवदेन गर्न सकिने व्यवस्था हुनुपर्छ ।
ख)  छोटो अवधिमा हकप्रद निष्कासनलाई निरुत्साहित गर्दै कम्तिमा एकवर्ष पुरा गरी अघिल्लो निष्कासनबाट संकलित पूँजीको यथोचित उपयोग र प्रक्षेपित मुनाफा आर्जन गर्न सफल भई व्यवसायिक आवश्यकताका आधारमा थप पुँजी आवश्यक भएको र विद्यमान मुनाफालाई बोनसबाट पूँजीकरण गर्दासमेत पूँजीगत क्षमता नपुग्ने अवस्थामा मात्र हकप्रद जारी गर्न पाइने व्यवस्था हुनुपर्छ ।
ग)  निष्कासनको समयमा तोकिए अनुसार हकप्रदबाट संकलित रकमको उपयोग नगरेको तथा प्रक्षेपित वित्तीय सूचांक हासिल गर्न असमर्थ भएको अवस्थामा निश्चित अवधिका लागि थप हकप्रद निष्कासनमा प्रतिवन्ध, संचालक समिति र व्यवस्थापनलाई स्पष्टिकरण वा उचित कारवाहीको व्यवस्था हुनुपर्छ ।
घ)   प्रिमियम रकम कम्तिमा दुई आर्थिक वर्ष वा निश्चित अवधी पूरा नभएसम्म पूँजीकरण गर्न रोक लगाइनु पर्छ ।
ङ)  संचालक समितिका सदस्यहरूले हक हस्तान्तरण गर्न नपाउने र तोकिएको हक बराबरको शतप्रतिशत सेयर लिनैपर्ने तथा आधारभूत सेयरधनीहरूले तोकिएको हकप्रद निष्कासन र लिन लिखित स्वीकृति दिनुपर्ने व्यवस्था हुनुपर्छ ।
च)  हकप्रदको लिलामी निकाल्दा र सम्पन्न गर्दा कुल जारी किता (संस्थापक र सर्वसाधारणको हिस्सा), कट अफ मूल्य, कुल प्रिमियम रकम समेतको जानकारी सहित सूचना सार्वजनिक गर्ने व्यवस्था हुनुपर्छ ।

अन्त्यमा, हकप्रदको लिलामी र प्रिमियम सम्बन्धी आधिकारिक तथ्यांकको अभावमा अनलाईन वेबसाइटबाट लिईएका तथ्यांकहरूको आधारमा वास्तविक प्रिमियम रकम सुनिश्चित गर्न नसकिएता पनि कम्पनीहरूका हकप्रद मोहलाई केही हदसम्म पुष्ट्याँइ गर्न सकिन्छ । प्रस्तावित संसोधनले केही हदसम्म हकप्रदलाई नियमन गर्न खोजे पनि बुक क्लोज अगाडिको मूल्यमा चलखेल गर्ने अवसर दिने हुँदा कम्तिमा संचालकले हकहस्तान्तरण गर्न नपाउने र माथि उल्लिखित अन्य सुधार गर्दै नियन्त्रण र प्रभावकारी नियमनको आवश्यकता देखिन्छ ।

काराेवार दैनिकमा २०७६ असाेज २६ गते प्रकाशित