Sunday, April 26, 2020

सेयर बजारमा करको करकर कहिलेसम्म ?

सेयर बजारमा करको करकर कहिलेसम्म ?

सेयर (धितोपत्र) बजारमा करको करकर र छलफल सुरु भएको करिब तीन वर्ष हुन लागिसक्यो । यसबीचमा पुँजीगत लाभकर, लाभांश कर, प्यान र भ्याटका अनेक बहसदेखि आन्दोलन अनि छलफल भएर कतिपय समस्याको समधान पनि भए । लाभांश करमा पुनरावलोकन भई ५ प्रतिशत नै कायम भयो भने भ्याटको समस्या सदाका लागि समाधान भयो । प्यानमा केही समाधान र केही अन्योलता छ । लाभांशमा दोहोरो करको निरुपण हुन सकेको छैन । सबैभन्दा टड्कारो लाभकरमा दरभन्दा लागतसम्बन्धी अवधारणा, गणना विधि र सफ्टवेयर, काटिएको करको यथार्थता र आधिकारिक मान्यताजस्ता सवालहरू विशेष गरी दीर्घकालीन लगानीकर्ताहरूले उठाउँदै आएका छन् । सरकार, नियामक र लगानीकर्ताहरूबीच विश्वसनीयता बढाउँदै सहकार्यबाट सेयर बजारको विकास र विस्तारका लागि पनि अबको बजेट तथा आर्थिक नीतिमार्फत करको करकर बन्द हुने कानुनी व्यवस्था गरिनुपर्छ ।

करको प्रावधान र अन्योलता
हाल धितोपत्र बजारमा क) धितोपत्र निसर्गबाट प्राप्त लाभमा बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ५ प्रतिशत, निकायको हकमा १० प्रतिशत र अन्यको हकमा २५ प्रतिशतको दरले अग्र्रिम लाभकर, तथा ख) लाभांश आयमा ५ प्रतिशत लाभांश कर लाग्छ । सरसर्ती हेर्दा सामान्य देखिने करका प्रावधानहरू केलाएर हेर्ने हो भने लागत र लाभ, कर गणना, कर निर्धारण र जोखिमजस्ता अनेक झन्झट र अन्योलता वर्षौं बित्दा पनि समाधान हुन सकेको छैन । संघसंस्था (निकाय) ले बुझाउने कर अन्तिम करमा मिलान हुने हुँदा छुट्टै बहसको विषय होला ।

क) करको दर : हाल अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबै प्रकारका लगानीकर्ता र कारोबारीलाई समान ५ प्रतिशतका दरले पुँजीगत लाभकर लाग्छ । यसले सरकारले सेयर बजारमा लगानी प्रोत्साहनको कुरा गरे पनि अप्रत्यक्ष रूपमा सट्टेबाजीलाई नै प्रोत्साहत गर्नेछ । मध्य वा दीर्घकालीन लगानीकर्ताहरूले लामो समय सेयरधारण (होल्ड) गर्दा थप मूल्यगत जोखिमसहित मुद्रास्फीतिको समेत मार भोग्नुपर्ने हुँदा क्षमता र चाहना भएका लगानीकर्ताहरूसमेत अल्पकालीन लगानी र कारोबारमा प्रोत्साहित भएका छन् ।

ख) लागत र लाभको गणना : सरकार र लगानीकर्ताहरूबीच सेयरको वास्तविक लागत र लाभ गणना विधिसम्बन्धी वर्षौंदेखिको विवाद भारित औसत लागत गणना विधि र स्वचालित सफ्टवेयरको प्रयोगपछि पनि समाधान हुन सकेको छैन । सरकार प्राथमिक निष्कासन, हकप्रद र बोनसमा अंकित मूल्य; एफपीओ र लिलामीको खरिदमा चुक्ता मूल्य तथा बजारबाट खरिदमा कमिसन तथा शुल्कसहितको कुल रकमलाई लागत मान्दै सोभन्दा बढी मूल्यमा बिक्रीबाट प्राप्त आयमा अग्रिम लाभकर तिर्ने दायित्व लगानीकर्ताको मान्छ । लगानीकर्ताहरू भने सरकारले भनेको लागतमा धारित (होल्ड) समयको लागत, ऋणको ब्याज तथा अन्य लागतलाई आधार बनाउँदै कारोबारको आधारमा नभई वार्षिक रूपमा कम्पनीगत वा कुल कारोबारमा हुने कुल लाभका आधारमा मात्र लाभकर गणना गरिनुपर्ने बताउँछन् ।

स्वचालित लागत–लाभ गणनाका लागि प्रयोगमा आएको भारित औसत लागत गणना विधिले अन्योलता बढाउनुका साथै लागत स्वघोषणा मात्र लगानीकर्तालाई लागत गणना र अनिश्चित करको दायित्व थोपरिएको छ । एकातिर आमलगानीकर्ताहरूको खरिदबिक्रीको स्रेस्ता राख्ने र प्रमाणको अभिलेख राख्ने प्रचलन छैन भने अर्कातिर त्यस्तो प्रमाण कति समय राख्ने र स्रेस्ताको प्रामाणिकता केकसरी हुने अन्योलपूर्ण छ । अझ नेप्से कारोबार प्रणालीमा उपलब्ध सम्पूर्ण तथ्यांकलाई लागत गणना प्रणालीमा समावेश नगरी आफ्नै प्रणालीअन्तर्गतका एक डिपीबाट अर्को डिपीमा स्थानान्तरण गरिएको एकै कम्पनीको कारोबार लगतसमेत बिओ ट्रान्सफर:फ्यामिलि ट्रान्सफर भन्दै लागतलाई अंकित मूल्य उल्लेख गरिएको छ । यसले पुन: लागत गणनाको जटिलता र त्रुटि निम्त्याएको मात्र होइन, लगानीकर्ताको सम्भावित गलत लागत गणनाले थप करको जोखिमसमेत लिन बाध्य पारिएको छ ।

लागतकै अर्को जटिल पाटो, मर्ज तथा प्राप्तिपछिको लागतमा देखिएको छ । मर्जको सन्दर्भमा कार्यान्वयनमा ल्याइएको नयाँ औसत मूल्यले अन्योलता बढाएर विवाद निम्त्याउँदै लगानीकर्तालाई वास्तविक लागतको पुन:स्वघोषणाको अनावश्यक भार बोकाएको छ । यस्तै मर्ज तथा प्राप्तिपछिको संयुक्त कारोबार अगाडि होल्ड सेयरको बिक्री हुँदा दुई वर्षसम्म लाभकर नलाग्ने कानुनी प्रावधान भए तापनि विद्यमान सफ्टवेयरले लाभकर लाग्ने र नलाग्ने कारोबार छुट्याउन नसक्दा वा नहुँदा लगानीकर्ताहरू नलाग्ने लाभकर तिर्ने वा ब्रोकरकहाँ गए म्यानुअल फारम भरेर लागत घोषणा गर्न बाध्य छन् । अहिलेको लागत गणना सफ्टवेयर ‘नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार’ भएको छ । यो सफ्टवेयरमा देखिएका अनेक व्यावहारिक समस्याहरूले स्वचालित प्रणालीकै धज्जी उडाएको मात्र होइन, लगानीकर्ताहरूलाई लागत स्वघोषणा गरिरहनुपर्ने दायित्व र कतिपय अवस्थामा गलत लागत गणनाले तिर्नु नपर्ने वा घाटामा समेत लाभकर तिर्न बाध्य बनाएको छ ।

ग) बोनस सेयरको लागत र लाभ : सरकारले लगानीकर्तासँगको बोनस सेयरको लागतलाई केहि सुधार गर्दै यस आवदेखि कार्यान्वयनमा आएको भारित औसत लागत गणना विधिसँगै बोनस सेयरको लागत अंकित मूल्य मानेको छ र सोहीअनुरूप लाभांश कर लिन्छ । लगानीकर्ताहरूले एकातिर बजारबाट खरिद गरिएको सेयरमा प्राप्त हुने बोनस सेयरको वास्तविक लागत अंकित मूल्यभन्दा बढी हुँदा लागत गणना विधि गलत भएको तर्क गरिरहेका छन् भने अर्कातिर बोनसबाट केवल कम्पनीको आन्तरिक कोष व्यवस्थापन हुने र सेयरधनीले कुनै भुक्तानी वा थप लाभ प्राप्त नगर्ने हुँदा यसमा लाभांश कर गलत भएको जिक्र गरिरहेका छन् ।

घ) कर निर्धारण : सेयर बजारको सबैभन्दा जटिल समस्या भनेको निर्धारित लाभकरको पुष्ट्याइँ, प्रमाण र आधिकारिकतामा रहँदै आएको छ । माथि उल्लेख गरेअनुसार यथार्थपरक लागतको गणना मात्र होइन, स्वचालित समेत नहुँदा लगानीकर्ताहरू लागतको म्यानुअल गणना र स्वघोषणाको बाध्यताले सम्भावित मानवीय त्रुटिको समेत सिकार हुँदै आएका छन् । यसको साथै निर्धारित लाभकर अग्रिम वा अन्तिम भन्ने कानुनी अन्योलता, कट्टा करहरूको प्रमाण संकलन र अभिलेखको जटिलता, प्यानमा समेत कट्टा करको एकीकृत अभिलेख नआउनु, निर्धारित करको आधिकारिकता र चित्त नबुझेको अवस्थामा गुनासोको प्रावधान अन्योलपूर्ण छ । सरसर्ती हेर्दा लगानीकर्ताले लागतको स्वघोषणाको ललिपप देखिए तापनि अन्तिम कर निर्धारण र फरफारकको जटिलताले गर्दा लगानीकर्ताले अनिश्चितकालसम्म थप कर निर्धारण वा कर कार्यालयबाट सोधपुछको दायित्व बोकिरहनुपर्नेछ ।

यसका अतिरिक्त एउटै बजारमा व्यक्तिगत लगानीकर्ताहरूले आपसमा कारोबारी र लगानीकर्ता भएर प्रतिस्पर्धा गर्नुपरेको मात्र होइन, व्यवस्थित आयकरमा कर मिलान गर्ने निकाय तथा लाभकर र लाभांश कर छुट पाउने सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूसँग समेत प्रतिस्पिर्धा गर्नुपरेको छ ।

कर नीतिमा अपेक्षित परिमार्जन

करगत विभेद र अन्योलता हटाउन सके कोभिड–१९ का कारण बन्द र दोहोरो मारमा परेका लगानीकर्ताहरूलाई केही राहत हुनुका साथै करको करकर कम हुँदा धितोपत्र बजारको विकास र विस्तार तथा राष्ट्रिय पुँजी निर्माण र परिचालनमा ठूलो योगदान पुग्नेछ ।

१. उच्चदरको अनपेक्षित सट्टेबाजीलाई निरुत्साहन र दीर्घकालीन लगानी प्रोत्साहन गर्न सेयरधारण अवधिका आधारमा क) अल्पकालीन (एक वर्षसम्म) मा १०, मध्यकालीन (१–३ वर्ष) मा ५ र दीर्घकालीनमा ३ प्रतिशत; वा ख) एक वर्षसम्ममा १० र एक वर्षभन्दा बढीमा ३ प्रतिशत; वा ग) एक वर्षसम्ममा १५ र एक वर्षभन्दा बढीमा शून्य प्रतिशतका दरले लाभकरको विकल्पमा जाने ।

२. धेरै कम्पनीहरूलाई सूचीकरणमा प्रोत्साहन, बजार विविधीकरण र सन्तुलन कायम गर्न तथा सेयरधनीहरूले प्रतिफल हात पार्न ४० प्रतिशत हाराहारी कर तिर्दै करछुट पाएका म्युचुअल फन्डहरूसँग प्रतिस्पर्धा गर्नुपरेको परिप्रेक्ष्यमा कम्तीमा धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई लाभांश कर छुट गरी व्यक्तिगत लगानीकर्ता र म्युचुअल फन्डलाई लाभांश करमा समान व्यवहार गर्ने । सबै लाभांशमा कर छुट सम्भव नभए कम्तीमा अन्तर्राष्ट्रिय प्रचलन विपरीत लिइँदै आएको बोनस सेयरमा लाभांश कर छुट गर्ने ।

३. बासिन्दा प्राकृतिक व्यक्तिको हकमा आयकर ऐन दफा ९५ (क) बमोजिम अग्रिम कट्टी हुँदै आएको पुँजीगत लाभकरलाई दफा ९२ बमोजिम कट्टी गरी अन्तिम हुने कानुनी सुनिश्चिता प्रदान गर्ने ।

४. भारित औसत लागत गणना गर्दा कम्तीमा होल्ड अवधिअनुसार मुद्रास्फीतिका दरमा मूल्य समायोजन गर्ने । लगानीकर्ताहरूको अन्य लागतको क्षतिपूर्तिस्वरूप मुद्रास्फीति समायोजन गरी गणना गरिएको लागतका आधारमा हुने लाभमध्ये ५० प्रतिशत पुँजीगत लाभमा मात्र कर लिने ।

५. मर्ज तथा प्राप्ति गरेका बैंक तथा वित्तीय संस्थाका सेयरधनीलाई दिइएको लाभांश र लाभकरमा दुई वर्ष छुटको सट्टा मर्ज वा प्राप्ति गरी बनेको कम्पनीलाई नै आयकरमा निश्चित प्रतिशत छुट दिने ।

६. लाभकर गणनाको विवाद दीर्घकालीन समाधानका लागि स्वघोषित नेताभन्दा आमलगानीकर्ता, सम्बन्धित निकाय र सरोकारवालाहरूको सहभागितामा व्यापक छलफल गर्दै विद्यमान लागत गणना प्रणाली:सफ्टवेयरमा परिमार्जन गर्ने, लाभ गणनालाई पूर्ण स्वचालित बनाउने र निर्धारित कर नै आधिकारिक र अन्तिम हुने कानुनी व्यवस्था गर्दै लगानीकर्ताको अनिश्चित करको दायित्वबाट छुटकारा दिने ।

७. विद्यमान प्रत्येक कारोबारमा लाभ गणना र लाभकरको सट्टा वार्षिक कम्पनीगत वा कुल वार्षिक लाभ वा घाटाका आधारमा मात्र पुँजीगत लाभकर असुल गर्ने ।

८. सेयर बजारका लगानीकर्ताहरूको लाभकर कर गणना, आधिकारिता, पुनरावलोकन र अन्तिम हुने सुनिश्चितताका लागि नेप्से वा सिडिएससीलाई कर अधिकारी तोक्ने वा ती निकायमा कर अधिकृत नियुक्ति गर्ने ।

काराेवार दैनिकमा २०७७ बैशाख १४ गते प्रकाशित
https://www.karobardaily.com/news/idea/31476

Monday, April 20, 2020

लकडाउनमा सेयरबजारसम्बन्धी बेमौसमी बहस


अन्तिमपटक २०७६ चैत ९ गते खुलेको नेपालको शेयरबजार (धितोपत्र वा पूँजी बजार) बन्द भएको आज अठाइसौं दिन भएको छ । अझै कहिले खुल्ने निश्चित पनि छैन । केही वर्षको छोटो अन्तरालमा नेपाली शेयरबजार पुनः अनिश्चितकालीन बन्दको अवस्थामा छ । बजार संचालन नहुँदा निकै तरल सम्पत्ति मानिने शेयर बन्धक भएको छ । कतिले अप्ठेरो अवस्थामा सम्पत्ति बिक्री गर्न, आर्थिक गर्जो टार्न र जोखिम र लगानी व्यवस्थापन गर्न सकेका छैनन् । बजार बन्द हुनुका मुख्यकारण सरकारद्वारा घोषित लकडाउन (बन्दाबन्दी) र निषेधित आवागमन देखिए पनि लगानीकर्ताहरुको विभिन्न समूह बजार बन्द र खुलाउन भूमिका खेलेको आरोप लगाइरहेका छन् ।

अहिलेको अवस्था

संसार नै कोभिड–१९ को महामारीबाट त्रसित भएर सम्भावित संक्रमणबाट बच्ने अचूक उपायका रुपमा बन्दाबन्दी (लकडाउन)लाई अपनाए जस्तै नेपालले पनि सीमा बन्द र हवाई सम्पर्क विच्छेद गरी २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गर्दै नागरिकको आवागमन र सम्पूर्ण क्रियाकलापलाई घरभित्र सिमित गरेको छ । सरकारको स्वीकृति बिना घरबाहिर निस्कन निषेध गरेको छ । लादिएको बन्दी जीवनले मानसिक स्वास्थ्य समेत प्रभावित हुने कुरा आउन थालेको छ । अनिश्चितता र त्रसित भएर सबै कुरा छोडेर जीवनरक्षार्थ लागेका छन् । अत्यावश्यक काममा लागेका समेत निकै सुरक्षित र सतर्क भएर काम गरिरहेका छन् । निश्चित स्वास्थ्योपचारको विकल्परहित भनिएको कोभिड–१९ को संक्रमणबाट बचाउन सरकारहरु अत्यावश्यक सेवालाई सुचारु राखेर अरुलाई बन्द गर्दै नागरिकलाई घरबन्दी बनाइरहेका छन् ।

बजार खुल्ला कि बन्दः तर्कहरु

सरकारले पनि अत्यावश्यकको पनि सकेसम्म कम सेवा सुचार गर्दै अरु पूर्णत बन्द गरे अनुरुप अत्यावश्यक सेवामा नपरेको शेयरबजार पनि बन्द छ । यसैकारण लगानीका हिसावले तरल सम्पति (लिक्विड एसेटस्) मानिने शेयर आवश्यक पर्दा बेच्न नपाएको वा तरल नभएको भन्दै कतिपय व्यक्ति सरकारले बजार जसरी पनि संचालन गर्नुपर्छ भन्ने आवाज उठाइरहेका छन् । अर्को पक्ष विषम परिस्थितिमा बजार संचालन हुननसक्ने तर्क गरिरहेका छन् ।

बजार खोल्ने र बन्दका सम्बन्धमा दुवै पक्ष बलिया तर्क प्रस्तुत गरिरहेका छन् । तर केही लगानीकर्ताहरु भने दुवै तर्क विपरित अहिले आफू सुरक्षित रहँदै बन्दाबन्दी नखुल्दासम्म बजारको बहस बेमौसमी बाजाका रुपमा बुझिरहेका छन् । उनीहरुको प्रश्न छ, के अहिले बजारको चिन्तन गर्ने समय हो ?, के जीवनभन्दा सम्पत्ति महत्वपूर्ण हुन्छ ?, के पैसाले स्वास्थ्योपचार नभएको संक्रमण रोक्न सकिन्छ ?, अनि त्रसित र अनिश्चित मानसिकता बोकेको व्यक्तिले स्वस्थ लगानी वा कारोवार निर्णय गर्न सक्छ ?, र हाम्रो प्राथमिकता शेयरबजार कि संक्रमण रोकथाम ?

यस्तै, बन्दाबन्दीको छबिसौं दिनसम्म पनि नेपालमा केवल ३० जना संक्रमित देखिएका मध्ये एकजना निको भएको र कसैको मृत्यु नभएको आधारमा संक्रमणको जोखिम न्यून मान्न सकिन्छ त ? सरकारले संक्रमणको सम्भावना स्वीकार गर्दै घरबन्दी बनाएको अवस्थामा शेयरबजार संचालनको आवश्यकता र सम्भावनामा बहस, कतै ‘ल्हासाजान कुटिको बाटो’ वा ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भनेजस्तो ‘बेमौसमी बाजा (बहस)’ त होइन भन्नेमा सबैले ध्यान दिनुपर्नेछ । हामी – शेयरबजारका सरोकारवाला– पनि यहि समाजका हिस्सा भएको र हाम्रा सबै गतिविधि यहि समाज र समयमा निर्भर हुने अवस्थामा सरकारको आदेश र परिस्थिति विपरित सम्भव होला त ?

मानौं, सरकारले अहिलेकै परिस्थितिमा शेयरबजार संचालन गर्न स्वीकृति दियो । के हामी शेयर कारोवार गर्न तयार छौं ?, के बहुसंख्यक लगानीकर्ता र कारोवारीको बजार प्रणालीमा न्यायोचित पहुँच दिन सकिन्छ ?, के विद्यमान बजार प्रणाली र पूर्वाधारले भौतिक उपस्थिति विना यान्त्रिक र स्वचालित रुपमा स्वस्थ कारोवार र राफसाफ गर्न सक्छ ? थप प्रश्नहरुको सिर्जना हुने निश्चित छ । सायद धेरैको उत्तर नकारात्मक नै आउनेछ । हामी सबैलाई हाल उपलब्ध स्वचालित भनिएको अनलाइन कारोवार र राफसाफ प्रणालीको सीमा र क्षमता थाहा छ । भर्खर प्रविधि अपनाउँदै गरेको नेपालको शेयर कारोवार प्रणालीमा सुधारका धेरै काम गर्न बाँकी छन् भन्ने यथार्थ थाहाहुँदाहुँदै हामी बजार संचालनको कुरा कतिको व्यवहारिक हुनसक्छ ? हो, अहिलेको अवस्थाबाट सरकार, नियामक, बजार संचालक, ब्रोकर र लगानीकर्ता/कारोवारी सबैले पाठ भने सिक्नैपर्छ । यदि यस्तो विषम परिस्थितिमा पनि शेयरबजार नियमित संचालन गर्ने हो भने चुस्त प्रणाली र प्रविधिमा पहुँच र प्रयोगका ज्ञान हासिल गर्नैपर्ने छ । स्वचालित भनिएको अनलाइन कारोवार, रकम भुक्तानी र शेयर राफसाफका प्रणालीगत, व्यवहारिक र कानुनी समस्या समाधान गरिएको अवस्थामा मात्र बजार संचालनको आवश्यकता र सम्भावनाको बहस बढी सार्थक हुनेछ ।

अन्यथा, विदेशमा बजार खुल्दा नेपालमा किन नखुल्ने, अनलाइनमा कारोवार गर्नेले मात्र बजारमा कारोवार गर्छन्, मन नलाग्नेले कारोवार नगरे हुन्छ भन्ने तर्कहरु स्वार्थपरक र अपरिपक्व तर्क हुनेछ । एकजनाको कारोवारले बाँकी सबैको सम्पत्ति प्रभावित हुने अवस्थामा बहुसंख्यक लगानीकर्ताहरुलाई बजार पहुँचबाट बञ्चित गरेर केही व्यक्तिको स्वार्थमा बजार संचालन गर्नुभनेको प्रविधिको आडमा अन्याय र लुट त हुँदैन? सोचनीय छ । हो, शेयरमा लगानी सबैभन्दा जोखिमपूर्ण छ र बजारमा जोखिम लिन सक्नेले जित्छ, तर जोखिम व्यवस्थापनको न्यायोचित आधार पनि दिनुपर्छ । यसोभन्दैमा बजारमा मूल्यान्तरको सम्भावना र मार्जिन कलको त्रासमा बजार बन्द गर्नुपर्छ भन्दै केही स्वघोषित नेताहरुले बजार संचालक (नेप्से) र नियामक (धितोपत्र बोर्ड)मा दवाव दिनजानु पनि गलत भन्ने भुल्नु हुन्न । लगानी तथा कारोवार गर्दा सिर्जना हुने मूल्यगत जोखिम लिन तयार नहुने व्यक्तिका लागि शेयरबजार हुँदैहोइन भन्न कुनै विद्यावारिधी चाहिन्न ।

सबैकुरा हुँदाहुँदै पनि नेपाली लगानीकर्ता र कारोवारीको विशिष्ट आवश्यकता, क्षमता र चरित्रलाई बेवास्ता गरिनुहुन्न । नेपाल अहिले पनि संसारसँग सोझो मुद्रागत सम्बन्ध नभएको र विदेशी मुद्रा प्रवाहमा नियन्त्रित प्रणाली भएको मुलुक हो । हाम्रो शेयरबजारको मात्र होइन, अर्थतन्त्रको प्रणाली समेत सोझै विश्वसँग जोडिएको छैन । नेपालको अर्थतन्त्र र शेयरबजार समेत एक प्रकारको आइसोलेसनमा रहेको छ । त्यसैले पूर्ण स्वचालित र प्रविधिमैत्री नै हुँदा समेत विश्वबजारसँग सोझै नजोडिएको अवस्थामा नेपाली शेयरबजारलाई भारत वा अन्य मुलुकको शेयरबजार जस्तो नियमित संचालनको बाध्यता हुनेछैन, उसँग नेपाली लगानीकर्ता वा कारोवारीको हितमा बजार व्यवस्थापन गर्ने विकल्प सदैव निहित हुनेछ । विश्वबजारमा जोडिएको अवस्थामा अहिले पनि बजार बन्दगर्ने विकल्प नेपालले पाउने थिएन ।

जहाँसम्म सम्पतिगत तरलताको कुरा छ, सामान्य र सम्भव्यता रहँदाको अवस्थामा यसमा कसैले विमित राख्नसक्दैन । तर राज्य र विश्वले नै विषम भनेको अवस्थामा विश्वका शक्तिशाली राष्ट्रले समेत सबै सिद्धान्तलाई थाति राखेर जीवनलाई प्राथमिकता राखेबाट वर्तमानमा तरलताको सिद्धान्तमा पनि थप बहस आवश्यक नपर्ला ।

बन्दको प्रभाव

बजार संचालन नहुँदा निकै तरल सम्पत्ति मानिने शेयर बन्धक भएको छ । कतिले अप्ठेरो अवस्थामा सम्पत्ति बिक्री गर्न, आर्थिक गर्जो टार्न र जोखिम र लगानी व्यवस्थापन गर्न सकेका छैनन् । विशेषगरी बजारको अनपेक्षित बन्दले शेयर कारोवारलाई व्यवसाय वा पेशा बनाएका र यसैमा आश्रितहरुको आर्थिक वा व्यवहारिक समस्यालाई सरोकारवालाहरुले स्वीकार्नै पर्छ । कारोवारी र अल्पकालीन लगाीकर्ताहरुको व्यवहारिक वा आर्थिक समस्या मात्र होइन, कारोवार गर्न नपाउँदाको छटपटाहत र मानसिक तनाव कम गर्ने सम्बन्धमा सरकार वा नियामकले केही उपाय सुझाउनु राम्रो हुनेछ ।

यदि बजारलाई नियमित संचालन गर्न सकेको भए घरमा निस्सासिएका लगानीकर्ताहरु केहि व्यस्त हुने र मानसिक व्यायामले विषम परिस्थितिमा केहि तनाव कम गर्न सघाउ पुग्न सक्थ्यो । सरकारले धेरथोर राजश्व प्राप्त गर्दथ्यो । विश्वलाई नेपाली बजारको पूर्वाधारगत सक्षमता प्रस्तुत गर्न सक्थ्यो । सँगसँगै त्रसित र उत्तेजित मानसिकतामा असन्तुलित कारोवारले लगानीकर्ताको सम्पत्ति प्रभावित हुनुका साथै विशेषगरी शेयरधितो कर्जा लिएका लगानीकर्ताहरु सम्भावित मार्जिन कलबाट थप तनावग्रस्त हुने सम्भावना रहन्थ्यो । परिस्थितिजन्य त्रासलाई आधार बनाएर अति न्यून मूल्यमा अरुको सम्पत्ति कब्जा हुनसक्थ्यो ।

के सिक्ने र के गर्ने ?

हाल सिर्जित विषम परिस्थितिले नेपालको शेयरबजारको प्रविधिगत खाडलमात्र उदाङगो पारेको छैन्, कारोवारी र लगानीकर्ताहरुलाई लगानी तथा कारोवार गर्दा क) कम्पनी, बजारका आधारभूत तथा प्राविधिक विश्लेषणसँगै सम्भावित अनिश्चितता र पूर्वानुमान गर्न नसकिने जोखिमहरुका लागि समेत तयार हुनपर्ने, ख) लगानी गर्दा वचतबाट मात्र गर्नुपर्ने, ग) ऋणबाट लगानी गर्दा सम्भावित मार्जिन कल, ब्याज र तत्कालिन मूल्यान्तर सिर्जिना हुनसक्ने जोखिम व्यवस्थापन गर्नसक्ने हदसम्ममात्र लगानी र जोखिम लिनुपर्ने, घ) जति नै राम्रो प्रतिफलको अवस्थामा पनि केहि नगद साथमा राख्नुपर्ने (उपलब्ध सबै रकम बजारमा लगानी गर्नु नहुने), ङ) कारोवार र लगानीमा जोखिमवहन क्षमता र रणनीति पुनरावलोकन गरि समयमा नै रणनीति अनुरुप किनबेच वा होल्डको निर्णय कार्यान्वय गरिहाल्नुपर्ने पाठ सिकाएको छ । हुनतः लगानीकर्ताहरु शेयर किन्दा नै बेच्न होइन, लाभांस र दीर्घकालीन सम्पत्तिमा वृद्धिको लक्ष्य राख्नुपर्ने मान्यता राखिन्छ । त्यसैले पनि शेयर किनेको भोलीपल्टदेखि पाँच वर्ष बजार बन्द हुन्छ भन्ने सोच र व्यवस्थापन क्षमता सहित मात्र शेयरमा लगानी गर्नुपर्ने मान्यता राखिन्छ ।

अन्तमा, तत्कालको वहस बजार खोल्ने वा बन्दभन्दै लगानीकर्ता र कारोवारी आपसमा द्वन्द्व गर्दै जग हँसाउनु भन्दा विषम परिस्थितिको अन्त नहुँदा वा बजार प्रणालीले काम गर्न नसक्दासम्म सबैले तनावरहित ढंगले घरमा सुरक्षित रहनु उत्तम हुनेछ । भविष्यमा पूर्वाधारको अभावमा सम्भावत कठिन परिस्थितिमा बजार बन्द गर्नुपर्ने बाध्यता नआओस् भन्नका लागि सबै सरोकारवालाहरुले पाठ सिक्दै प्रणालीगत समस्याहरु पहिचान र समाधानका लागि तत्काल लाग्नुपर्छ । यदि सबै सरोकारवालाहरुले शेयरबजार खोल्नैपर्ने आवश्यकता महसुस गरेको हो भने सरकारलाई दवाव दिएर शेयर कारोवारलाई अत्यावश्यक सेवामा राख्न लगाउँदै बजार संचालक, ब्रोकर र लगानीकर्ताहरुको बजार प्रणाली (कारोवार र राफसाफ)सम्म सहज पहुँच कायम गराउनु पर्नेछ ।

बिजपाटी डटकममा २०७७ बैशाख ७ गते प्रकिशत

Thursday, April 16, 2020

लक डाउनपछि अब सेयर बजारमा यसरी बनाउनुपर्छ रणनीति

काठमाडौं : सूर्यको ३६० डिग्रीको परिक्रमा पूरा भएर सोमबारबाट नयाँ चक्र सुरु भएको छ । हामी त्यही भएर नयाँ वर्षसँगै नयाँ दिनको सुरुवात गरिरहेका छौं । हुन त गत वर्षको अन्त्य त्यति सुखद् रहन सकेन । तै पनि सेयर बजारमा लागत लाभ गणना परिवर्तन भएर लगानीकर्तालाई लागत घोषणाको जिम्मेवारी र करको अनिश्चित दायित्व सहितको भारित औसत विधिको सुरुवात भएको छ । केही असहज र अव्यवहारिक लागे पनि म्यानुअल रुपमा गणना विधिलाई प्रविधिमा मिसाएर सफ्टवेयरले गणना प्रकृया सुरु भएको छ । धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ । पुस मसान्तदेखि वर्षान्तसम्ममा बजारमा सेयरका मूल्यान्तरको राम्रै सुधार पनि देखिएको हो । तर यति हुँदा पनि वर्षान्तमा कोरोना कहरले बन्दाबन्दीको अवस्थामा ल्यायो । २० दिन लक डाउनमै बसेर २०७६ लाई विदा गर्न हामी बाध्य भयौं । लगानीकर्ताहरुका लागि कारोबार गर्ने समय रोकिएको पनि लामो समय भइसक्यो ।

बन्दाबन्दी बीच क्यालेन्डर फेरिएर आएको नयाँ वर्ष केबल समय परिवर्तनशीलताको घोतक मात्र हो । नभए सबै नेपाली जस्तै लगानीकर्ता त पुरानै वर्षमा छन्, उनीहरुको वास्तविक नयाँ वर्ष त कोरोना कष्ट सकिएर बजारले सामान्यरुप लिएपछि मात्र सुरु हुनेछ । आशा गरौं, समयको परिवर्तनसँगै अहिलेको विषम र असहज अवस्थामा परिवर्तन आउनेछ । सबै लगानीकर्ता र कारोबारीलाई अपेक्षाकृत कम नोक्सानी व्यहोर्ने र अधिक लाभको अवसर जुर्नेछ ।

नयाँ वर्षमा पनि कति दिन बन्दाबन्दीमा बिताउने र त्यसपछिको आर्थिक गतिविधि कस्तो हुन्छ ? कुनकुन क्षेत्रमा कस्तो प्रभाव कति पर्छ भनेर कुनै पूर्वानुमान गर्न सकिने अवस्था अझै छैन् । सबैले आ–आफ्नै अनुमान पस्कने, त्रसितलाई अझै तर्साउने काम विश्वभरी र नेपालमा पनि भइरहेको छ । ढुक्क हुनुस्, ती सबै अनु्मान हुन् । र, यथार्थता त्यो भन्दा निकै फरक हुने सम्भावना त्यतिकै बढि छ, जति फरक सेयर बजारमा अनुमानित मूल्य र वास्तविक किनबेच मूल्यबीच हुन्छ । त्यसैले, आजकै अवस्थामा २०७७ मा सेयर बजार कस्तो हुन्छ, के गर्ने, बजार परिसूचक र पुँजीकरण कति बढ्छ वा घट्छ, कुन उपसूचकका कम्पनी कस्तो हुन्छ सबै अनुमान मात्रै हुनेछन् । सूचीकृत कम्पनीको व्यवसायमा परेको प्रभावका आधारमा मुनाफामा कति प्रभाव पर्छ भन्ने सही अनुमान वा सूचनामा पहुँचका आधारमा बजार मूल्य प्रभावित हुनेछ । यस्तै, सरकारको ती कम्पनीहरुप्रतिको दृष्टिकोण र सहयोगले आम लगानीकर्ताको सोचमा परिवर्तन ल्याउनेछ । आज नभए पनि भोली अवश्य पनि कोरोना कष्ट सकिने छ । विस्तारै बन्दाबन्दी खुल्नेछ र सेयर बजार पनि सामान्य बन्नेछ । त्यो बेलासम्म लगानीकर्ता र कारोबारीसँग घरभित्रै बस्ने, लगानी पुनरावलोकन गर्ने, सम्भावित प्रभाव र अवस्थाको विश्लेषण गर्दै रणनीति बनाउने बाहेकको विकल्प छैन् ।

अहिलेको सही विश्लेषण र रणनीतिले भविष्यको प्रतिफल व्यवस्थापनमा भने सहज हुनेछ । अनिश्चित भविष्यको सम्भावित अवस्थाको सटिक विश्लेषण गर्न सक्ने लगानीकर्ता र कारोबारी पक्कै २०७७ को विजेता भने बन्नेछन् । विश्लेषण गर्दा सम्भावित न्यून, मध्यम र अधिक प्रभावको नकारात्मक र सकारात्मक अवस्थालाई ध्यान दिनुपर्छ ।

१. २०७७ मा देशको अर्थतन्त्र, उद्योग, व्यवसाय र जनजीविकाको सबै क्षेत्रमा केही न केही प्रभाव पर्नेछ । सबै क्षेत्र र कम्पनीहरुलाई नकारात्मक नै असर भन्ने हुन्न् । कतिपय कम्पनीलाई अवसर र सम्भावनाका ढोका पनि खुल्नेछन् । सेयर बजारमा कारोबार हुने सूचीकृत कम्पनीहरु मध्ये केहीमा अधिक नकारात्मक असर पर्न सक्छ भने केहीमा कम पर्नेछ । अनि, केही क्षेत्रका कम्पनीले असरका बीचमा अवसर खोज्नेछन् । सम्बन्धित क्षेत्र र कम्पनीमा बन्दको प्रभाव र त्यस्तो प्रभाव थेग्ने क्षमता अनि आउने अवसर र त्यसको सदुपयोग गर्ने क्षमतामा मुनाफा निर्भर हुनेछ । तर आत्तिने र मात्तिने भन्दा यथार्थतालाई हेरौं । समयसँगै नयाँ कुराहरु पनि बजारमा आउने छ र यसले केही नयाँ अवसर पनि आउन सक्छ ।

२. नयाँ रणनीति बनाउने कामको सुरुवात आफ्नो लगानी उद्देश्यको पुनरावलोकनबाट गरौं । कारोबार गर्ने वा लगानी गर्ने ? पुँजीगत लाभ कि लाभांश अनि कति प्रतिफल ? कारोबार गर्ने भए कति नाफा घाटासम्म सेयर किनेबेच गर्ने यसमा निश्चित योजना बनाऊँ । यसैगरी, माग र आपूर्ति विश्लेषण कसरी ? सूचनाको स्रोत निक्र्यौल गर्ने, सेयरको बजार मूल्य प्रभावित वा नियन्त्रण क्षमताको विकास गर्ने । लगानीकर्ता हो भने कति अवधिका लागि ? जोखिम कति लिने र लागत कसरी व्यवस्थापन गर्ने ? लगानीको रकम कसरी जुटाउने ? ऋण पुँजी परिचालन गर्ने भए बजार मूल्यमा आउने उतारचढावको मूल्यगत जोखिम कसरी व्यवस्थापन गर्ने ? ऋणको ब्याज र मार्जिन कल आएमा कसरी भुक्तान गर्ने ? यी महत्वपूर्ण पक्ष र विषयहरु निर्धारण गरौं ।

३. लगानी भएका कम्पनीहरुमा सम्भावित असर र आफ्नो जोखिम लिने क्षमता केलाऔं । कम्पनीमा धेरै नै नकारात्मक असर पर्ने सम्भावना भए तुलनात्मकरुपमा कम असर पर्ने क्षेत्र वा कम्पनीमा लगानी सार्न आवश्यक कार्य गरौं । लगानी व्यवस्थापन गर्दैगर्दा लागत र लाभ पनि हेरौं अनि जोखिम र प्रतिफल अन्तरनिर्भर हुने नबिर्सौं । जोखिम लिने क्षमता र जोखिमको तादम्य राख्दै सकेसम्म बढी जोखिम बहन गरौं, यसले बिस्तारै जोखिम लिन र प्रतिफल बढाउन मद्दत गर्छ ।

४. कारोबारीले आफ्नो लागत, लगानी भएको वा चाहेको कम्पनीका सम्भावित माग–आपूर्ति अनि नाफाघाटा हेरौं । आफ्नो जोखिम क्षमता वा नाफाघाटाको बिन्दु नजिक पुगेको अवस्थामा नाफा वा घाटा बुक गरौं । अल्पकालीन लगानीकर्ता हुने सम्भावना र तुलनात्मक प्रतिफल पनि हेरौं ।

५. लगानीकर्ताहरुले विद्यमान लगानी रणनीति र सम्भावित अवस्थाको विश्लेषण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लगानीका कम्पनी छुट्याऔं । सबैभन्दा पहिले दीर्घकालीन त्यसपछि मध्यकालीन कम्पनीहरुको सम्भावित अवस्था र बजार मूल्य हेरी तुलनात्मक अवसर र जोखिम हेरौं । तुलनात्मक लाभ हुने अवस्थामा अल्पकालीन वा कारोबारका लागि गरिएको लगानीमा केही घाटा बुक गरेर भए पनि लागत व्यवस्थापन गरौं, जसले मध्यकालीन र दीर्घकालीन मुनाफा बढाउन सहयोग पुगोस् ।

६. कारोबारीहरु लगानीकर्ता र लगानीकर्ता सेयरधनी बन्ने प्रयास गरौं । हाम्रा कम्पनीहरु जोगाउन सक्यौं भने भोलि राम्रो मुनाफाको अवसर पनि हुन सक्छ, त्यसैले सेयर बजार र कम्पनीको हितेषि बनौं, न कि मौकापरस्त वा अवसरवादी । ३–४ वर्ष बियरिसको अवस्था सहन गरिसकेको अवस्थामा अहिलेको अवस्थालाई मात्र हेरेर नकारात्मक नबनौं । केही थप समय धैर्यता कायम गरौं ।

७.  कारोबारी र लगानीकर्ताबीच द्वन्द्व होइन सहकार्य गरौं, आपसी हित प्रवर्धन गरौं । जुनसुकै अवस्थामा पनि आफ्नो क्षमता र व्यवहार अनुसार कमाउने र गुमाउने हो । कारोबारीले किनबेच नगर्ने र लगानीकर्ताले लगानी नगर्ने हो भने सेयर बजार केबल मृत बजारका रुपमा रहनेछ ।

८. बजारमा किनबेच वा लगानीबाट सबैले क्षमता अनुसार कमाउने र गुमाउने हो अनि सबै एक्लै कमाउन वा सबै आफैंले सँधै गुमाउने भन्ने हुन्न् । किनबेच गर्दै गर्दा फेयर प्राइस र सर्वजनहिताय, सर्वजन सुखायलाई पनि मनन् गरौं ताकि बजारका सबै सरोकारवालाहरु सदैव सहकार्य र भलो चिताउन सकौं ।

उल्लेखित कार्यले २०७७ र बन्दाबन्दी पछिको अवस्थामा मात्र होइन, तपाईंको सम्पत्ति र प्रतिफल वृद्धिमा सदैव सहयोग गर्नेछ । अन्तमा, अहिलेको अवस्थामा थप सजग बनौं, लगानी व्यवस्थापनको गृहकार्य गरौं । धैर्य गरौं, नआत्तिऔं । समय परिवर्तशील छ, भोलीको उज्यालो कुरौं ।

नेपाली पैसा अनलाइनमा २०७७ बैशाख २ गते प्रकाशित, http://www.nepalipaisa.com/NewsDetail.aspx/NEPSE/Nepal-Stock-Exchange-Limited/id/31849

Sunday, April 12, 2020

प्रविधिगत जोखिम र डाटा सुरक्षा

प्रविधिगत जोखिम र  डाटा सुरक्षा
वर्तमानमा मानिस र सूचना प्रविधिबीचको सम्बन्ध ‘नङ र मासु’ जस्तै अन्तर्निर्भरसँगै ‘नखाउँ भने दिनभरीको सिकार र खाउँ भने कान्छो बाउको अनुहार’ जस्तै द्वन्द्वात्मक पनि छ । मानिस न तः प्रविधिप्रति पूर्ण विश्वस्त, न बहिष्कार गरेर सहज जीवनयापन गर्न सक्छ । प्रविधिको सहयोगमा कम समयमा सहजै जटिलभन्दा जटिल कार्य कुशलतापूर्वक सम्पन्न गर्न केही व्यक्तिहरूले ठूला लगानीमा नयाँ–नयाँ प्रविधिको विकास र प्रसार गरिरहँदा अर्को समूह प्रविधिको अनैतिक व्यापारसँगै दुरूपयोग गरेर आम तथा संवेदनशील सूचना (डाटा)मा पहुँच कायम गर्दै स्वार्थ सिद्धमा व्यस्त छ । प्रविधि अब जीवनोपयोगी साधन मात्र रहेन बम वा भाइरसभन्दा खतरनाक हतियार भईरहेको छ ।

गरिबी र विकासका लागि संघर्षरत नेपालमा प्रविधि सरकारी प्राथमिकतामा नपरे पनि सामाजिक सम्बन्ध, सूचना र सञ्चार, वित्तीय क्षेत्र, प्रविधि कम्पनीहरू प्रविधिलाई आत्मसात गर्दै व्यापक प्रयोग र प्रवद्र्धनमा जुटेको छ । त्यसैले सरकार पनि डिजिटल नेपाल तथा नागरिक डिजिटल सुविधाको कुरा गरिरहेका छन् । प्रविधिलाई आत्मसात् गर्दैगर्दा नेपाल स्वयम् सूचना प्रविधिको उत्पादक वा आविस्कारक नभई केवल उपभोक्ता भएकोले कुनैपनि किसिमको प्रविधिगत समस्या वा जोखिमको दीगो समाधान वा विकल्प नेपालसँग नभएको बिर्सनु हुन्न । तर हाम्रो सूचना प्रविधि प्रतिको दृष्टिकोण, हार्डवेयर र सफ्टवेयरमा लगानी, संचालन र व्यवस्थापनका साथै जोखिम पहिचान र व्यवस्थापनको आन्तरिक क्षमता निकै कमजोर छ ।

गैरकानुनी ढंगबाट कल बाइपास, फोन र सामाजिक संजालबाट धम्की र चरित्रहत्या, वेबसाइट ह्याकिङ, संवेदनशील डाटा र व्यक्तिगत विवरणको दुरूपयोगलाई सामान्य घटना मानिने नेपालमा सरकारी र कमजोर निकायसँगै प्रविधिगत रूपमा निकै बलियो र लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरू, पूँजीबजार, प्रविधि सेवाप्रदायक समेत ठूलो जोखिममा रहेको तथ्य बेलाबेलामा बाहिरिएकै हो । बैंकिङ क्षेत्रका क्लियरिङ र गेटवे प्रणाली ध्वस्त बनाएर एटिएमबाट लुट, स्वीफ्ट प्रणालीबाट रकम स्थानान्तरण, एटिएम प्रणाली र व्यक्तिगत खातामा अनधिकृत पहुँचबाट रकम हिनामिनाका घटनाले प्रविधिगत जोखिम र चुनौति प्रस्ट्याएको छ । हालैको इन्टरनेट र खाना आपूर्ति (डेलिभरी) सेवा प्रदायकहरूबाट डाटाब्रीच (डाटा चोरी) ले कम्पनीहरूको डाटा सेक्युरिटी (व्यक्तिगत विवरणको सुरक्षा) क्षमता र गैरजिम्मेवारी उदांगिएको छ । प्रविधि प्रति सशंकित बनाएको र सेवाप्रदायक प्रति विश्वासको जग धरमराएको छ ।

हालै एक अनलाइनमा प्रकाशित समाचार विशेष पहुँचको दुरूपयोग गरी हटाइएको वा विश्वासघात वा ह्याक भएको र त्यसमा बैंकिङ र सरकारी सूचनामा विशेष पहुँच भएका व्यक्तिहरूको संलग्नताको समाचार र आशंकाले सूचनाको महत्व र जोखिमसम्बन्धी बहसमा आगोमा घ्यू थप्ने काम गरेको छ । अझ देश कोभिड–१९ का कारण लकडाउनको अवस्थामा  सरोकारवालाहरूले विद्युतीय भुक्तानी प्रणाली र प्रविधिगत सेवामा जोडदिईरहँदा प्रविधि र पहुँचको दुरूपयोगसम्बन्धी विवादले प्रविधिका उपभोक्ताहरू प्रविधि र सेवाप्रदायक माथि नै विश्वासनीयताको प्रश्न र आशंका गर्न बाध्य भए ।

समाचार हटाउने कम्पनी र कतिपय बैंकहरूलाई वेबसाइट डेभलपमेन्ट र होस्टिङ तथा भुक्तानी प्रणालीको सेवा प्रदान गर्दै आएको कम्पनीबीचको व्यवसायिक सम्बन्धका कारण समेत अनधिकृत-अनैतिक पहुँच तथा सूचना (डाटा)को दुरूपयोगको सम्भावनालाई लिएर अनेक आशंका व्यक्त भए । आशंकाकै भरमा आरोपित व्यक्तिको संलग्नता भनिएको भुक्तानी प्रणाली (पेमेन्ट गेटवे)को सेवा बहिष्कार गरी अन्य प्रतिस्पर्धी कम्पनीका सेवा उपभोग गर्न चर्कै आवाज उठाए । तर अन्य सेवाप्रदायको प्रविधि र विश्वसनीयता पनि अनुत्तरित नै छ ।

हालै प्रकाशित ‘अनलाइन भुक्तानी पूर्वाधार’, ‘अनलाइनमा अनइथिकल एक्सेस लिने समूहको कब्जामा अर्बौंको विवरण’, ‘न्यूजसाइट ह्याक गर्नेकै पहुँचमा बैंकिङ प्रणाली’, ‘लकडाउन डिजिटल बैंकिङ प्रवर्धनका लागि अवसरः कसरी बढाउने’, र ‘बैंकर भन्छन्, भ्रमको पछि नलागौं, ग्राहकखातामा इसेवाको पहुँच हुँदैन्’ जस्ता केही प्रतिनिधिमूलक लेख तथा सम्पादकीयहरूसँगै ‘इमेलका लागि जिमेलमा निर्भरहरूबाट जोखिमको कुरा’ जस्ता तर्कले प्रविधिको महत्व, विश्वसनियता र जोखिमको बहसलाई बुझ्न, धरातल छाम्न र घोत्लिन बाध्य बनायो ।

वित्तीय क्षेत्रमा प्रविधि र जोखिम

प्रविधिलाई व्यापक अंगालेको बैंक तथा वित्तीय संस्था, विमा, धितोपत्र बजार, रेमिट्यान्सले सूचना संकलन, प्रशोधन, भण्डारण, सञ्चार र सेवा प्रवाहमा नवीन प्रविधिको प्रयोग गरिरहेका छन् । अझ जति नै प्रविधिगत जोखिम भएपनि आन्तरिक प्रणालीको संचालनसँगै वित्तीय स्वतन्त्रता र पहुँच, प्रविधिगत सेवा प्रवाह र विस्तारका लागि बैंक तथा वित्तीय संस्थाहरू बहुपक्षिय भुक्तानी व्यवस्थापन संजाल (प्रणाली) मा आवद्ध हुन बाध्य छन् । उनीहरूले सजगतापूर्वक क) बैंक खातासँग सिधै आन्तरिक प्रणालीमै जोडिएको इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ, ख) बैंक खातासँग जोडिएको डेविट कार्ड (एटीएम कार्ड), ग) क्रेडिट कार्ड, घ) खातासँग सिधै नजोडिएको तर बैंक खाताबाट पैसा सार्न मिल्ने मोबाइल वालेटहरू, ङ) बैंकमा भएको खाताहरूलाई एकै ठाउँबाट सञ्चालन गर्न मिल्ने मोबाइल एप र इन्टरनेट प्रविधिबाट वित्तीय सेवा र पहुँच प्रदान गरिरहेका छन् ।

बहुपक्षीय भुक्तानी प्रणाली चलायमान राख्न आवद्ध वित्तीय संस्थाका अलावा थुप्रै प्रविधि कम्पनीहरू र नेटवर्कहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ति कम्पनीहरूले अन्तर बैंक कारोबार सम्पन्न गर्ने, हिसाबमिलान गर्ने अनि विविध सेवा प्रदायकहरूलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्द गराउँछन् । प्रविधिमा दख्खल र लगानी क्षमता भएको बैंकले आफ्नै भुक्तानी प्रणाली संचालन र प्रविधिगत कामहरू आफैँ गर्छन् भने अरुले सेवाप्रदायक-मध्यस्तता मार्फत भुक्तानी प्रणालीमा आवद्ध र पहुँच व्यवस्थापन गर्छन् । भुक्तानी प्रणाली संचालक वा व्यवस्थापकबाट हुनसक्ने बदमासी रोक्न, निश्चित मापदण्ड पुरा गरेको निकायले मात्र केन्द्रिय बैंकबाट अनुमति पाउने एवम् कारोवार र राफसाफको नियमित नियमन र नियन्त्रणको भइरहेको हुन्छ । सम्बन्धित कम्पनीबाट जोखिम न्यूनीकरण गर्न आन्तरिक जोखिम व्यवस्थापन, कार्य सञ्चालनको विधि अनि कारोबारको सीमा निर्धारण, डाटा र कोर प्रणालीमा पहुँच नियन्त्रण र नियमन पनि हुन्छ । सेवाप्रदायकबाट पर्याप्त सुरक्षा सतर्कता भएपनि प्राविधिक र सेवाग्राहीको अज्ञानता र लापरवाहीबाट निम्तिने सम्भावित जोखिम व्यवस्थापनमा सबैको ध्यान जानैपर्छ ।

आन्तरिक बैंकिङ प्रणाली (कोर सिष्टम) संचालन र व्यवस्थापनका लागि हार्डवेयर र सफ्टवेयरका साथै डाटा व्याकअप र वैकल्पिक भण्डारण, वेबसाइट डेभलपमेन्ट र होस्टिङ, सूचना प्रविधिको लेखाजोखा (आइटी अडिट) आदिका लागि वाह्यपक्षको सेवा लिने बाध्यताले भुक्तानी प्रणालीमा आवद्धता मात्र होइन, अन्य कारण पनि बैक तथा वित्तीय संस्थाहरू प्रविधिगत जोखिममुक्त हुनसक्दैन । जतिसुकै गुणस्तरिय हार्डवेयर, सुरक्षित सफ्टवेयर र चुस्ता प्रणाली भएता पनि संचालन र व्यवस्थापनमा बाध्यकारी मानवीय संलग्नताले सम्भावित मानवीय त्रुटी (ह्युमन इरर) सँगै निहित स्वार्थमा पहुँचको दुरूपयोग र विश्वासघाटबाट निम्तिने जोखिम निमिट्यान्नै हुनसक्दैन् ।

बैंकिङका अतिरिक्त धितोपत्र बजारमा कारोवार र राफसाफमा बढ्दो प्रविधिको उपयोगसँगै सहजतमात्र होइन जोखिम समेत बढेकोमा दुईमत नहोला । बीमा र रेमिट्यान्स क्षेत्र पनि प्रविधिगत जोखिमबाट टाढा नहोला । यसमा छुटै चिन्तन गर्न सकिन्छ ।

जोखिम निरूपणका केही विकल्प

निजी सेवाप्रदायकहरू नाफामुखी हुँदै चर्को शुल्क लिने तर सेवाग्राहीको गोपनियता, सुरक्षित कारोवार, सेवाप्रवाहमा लापरवाही र गैरजिम्मेवारीको जोखिम कम गर्दैे आमजनताको हितमा सुरक्षित, सुलभ र विश्वसनीय प्रविधिगत सेवाहरूको पहुँच विस्तारमा राज्य वा गैरनाफामूलक निकायहरूको लगानी, नियन्त्रण, नियमन र व्यवस्थापन जरुरी देखिएको हुँदा,

१. सुरक्षित डाटा संकलन र उपयोग, भण्डारण र पहुँचको बलियो कानुनी आधार तयार गर्न विद्यमान कानुनी पूर्वाधारको पुनरावलोकन गर्दै अतिसंवेदनशील डाटामा बहुतह निगरानी र पहुँच नियन्त्रण, पहुँचवालालाई जिम्मेवार र दुरूपयोगमा सशक्त कानुनी कारवाहीको व्यवस्था गर्ने ।

२. सुदृढ प्रविधिगत पूर्वाधार सहितको राष्ट्रिय सूचना प्रणाली र गेटवे, यथेष्ट क्षमताको राष्ट्रिय डाटा सेन्टर, विद्युतीय सञ्चारका लागि राष्ट्रिय सार्वजनिक इमेल प्रणाली, राष्ट्रिय प्रविधि नीति र सेवा केन्द्र बनाउने ।

३. वित्तीय क्षेत्रको अति संवेदनशीलता मनन् गर्दै सकभर केन्द्रिय बैंक, धितोपत्र बोर्ड र बिमा समितिजस्ता नियामककोे लगानी, नियमन र व्यवस्थापनमा एकीकृत वित्तीय प्रविधि सेवा निकाय मार्फत् एकद्वारबाट प्रविधिगत वित्तीय सेवा प्रवाह र नियन्त्रण गर्ने । विकल्पमा बैंकिङ क्षेत्रका लागि केन्द्रिय बैंकको नेतृत्व र नियन्त्रणमा सबै बैंक तथा वित्तीय संस्थाको लगानीमा वेब सर्भिस, इमेल, डाटा सेन्टर, राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे), राफसाफ (क्लियरिङ), सिष्टम अडिट गर्ने एकीकृत प्रविधिगत वित्तीय सेवा निकाय स्थापना गरी क) बैंकिङ सूचना–सञ्चार, सेवा प्रवाहलाई एकद्वारबाट व्यवस्थित गर्ने, ख) प्रविधिगत वित्तीय सेवालाई नाफामुखी हुनबाट बचाउँदै सुरक्षित, विश्वासनीय, सहज र सर्वसुलभ बनाउने, ग) बैंकिङ प्रणालीमा अनेक पेमेन्ट प्लेटफर्म र अन्तर्राष्ट्रिय गेटवेहरूको सोझो पहुँच र डाटा सेयरिङ नियन्त्रण र व्यवस्थित गर्ने । विकल्पमा कम्तिमा बैंक तथा वित्तीय संस्थाका एसोसियसनहरूले सदस्यहरूको लगानीमा सहायक कम्पनी मार्फत प्रविधिगत सेवा संचालन र व्यवस्थापन गर्ने । धितोपत्र र विमा क्षेत्रमा सम्बन्धित सरोकारवालाहरूको लगानी र नियन्त्रणमा सहायक कम्पनी मार्फत सेवा व्यवस्थापन गर्ने । वाह्य पक्षको पहुँच नियन्त्रण गर्ने ।

४. आफ्नै भुक्तानी प्रणाली, वेब साइट वा इन्टरनेट बैंकिङ संचालन गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाले त्यस्तो प्रणालीमा आवद्ध वा वाह्यपक्षको सेवा लिँदा सिधै कोर सिष्टममा पहुँच नदिइ मिडिलवेयर वा अन्य तरिकाले डाटामा पहुँच नियन्त्रण र व्यस्थापनमा थप सजगता अपनाउने ।

५. मानवीय जोखिम न्यूनीकरण गर्न बहुतह पहुँच र निगरानी प्रणाली तथा वैकल्पिक मानवीय संशाधानको जोहो गर्ने ।

६. सेवा प्रदायकहरूले आन्तरिक जोखिम र व्यवस्थापनमा अपनाइएको सजगता, डाटा उपयोग र गोपनियता नीतिलाई स्पष्ट पार्दैै विश्वास र भरोसा कायम राख्ने । साथै, सेवाग्राहीबाट सुरक्षित सेवा प्रयोग र जोखिम सचेतनामा लगानी बढाउने ।

काराेवार दैनिकमा २०७६ चैत ३० गते प्रकाशित
https://www.karobardaily.com/news/idea/31020

सामाजिक संजालमा भुक्तानी प्रणाालीकाे जाेखिम सम्बन्धी प्रविण अाचार्यकाे निम्न भनाइ मननीय भएकाेले यहाँ साभार उल्लेख छ ।

१-२ दिन अघिबाट eSewaको बारेमा मानिसहरुले जसरी टीकाटिप्पणी गरी रहनु भएको छ, त्यो सारमा भन्नुपर्दा “Collateral Damage”को उपज हो न कि विद्दमान भुक्तानी प्रणालीलाई सबल, सरलीकृत र गुणस्तरीय बनाउँ भन्ने मनसायले शुरु गरिएको बहस। पक्कै पनि घटनाक्रमहरु हेरेर सबै सरोकारवाला निकायहरु चनाखो हुनु नै पर्छ तर यसो भन्दैमा नेपालमा विद्दुतिय भुक्तानी प्रणालीको उपलब्धता अनि त्यसको वर्तमान प्रयोगलाई नदरअन्दाज गर्न भने पक्कै मिल्दैन ।

बैंक/सेवा प्रदायकको शाखा/कार्यालयमा गई लाइनमा लागेर गर्नुपर्ने कारोबार राम्रो कि आफूलाई पायक पर्ने स्थान / माध्यमबाट कारोबार गर्न सकेको राम्रो। सबैजनाले सजिलो माध्यम नै रोज्नुहुन्छ। प्रश्न आउँला सजिलो भन्दैमा जे पनि गर्ने त? होइन जे पनि गर्ने भनेको होइन, हामीले बनाएको नियम/कानुन, सञ्चालन प्रकृया आदिमा विश्वास गरौं, केहि कुरालाई परिमार्जन गर्नुपर्ने छ भने स्वस्थ बहस गरौं अनि प्रणाली/ पद्दतिमा समयसापेक्ष परिवर्तन गरौं, प्रणालीमा निहित जोखिमलाई कसरी कम गर्न सकिन्छ त्यतापट्टि ध्यान दिऔं न कि अतिरञ्जित पार्ने कोशिश ।
नेपालमा हाल विद्दुतिय भुक्तानीको निम्न माध्यमहरु उपलब्ध छन्:
  • बैंक खातासंग जोडिएको डेविट कार्ड(जसलाई हामी धेरैले एटिएम कार्डको नामले जान्दछौं),
  • बैंकले जारी गर्ने क्रेडिट कार्ड,
  • बैंक खातासंग जोडिएको इन्टरनेट बैंकिड्ग वा मोबाइल बैंकिङ्ग
  • बैंक खातासंग सिधै नजोडिएको तर बैंक खाताबाट पैसा सार्न मिल्ने मोबाइल वालेटहरु,
  • विभिन्न बैंकमा भएको खाताहरुलाई एकै ठाऊँबाट संञ्चालन गर्न मिल्ने मोबाइल App / इन्टरनेट प्रविधि
यी सबै माध्यमहरुलाई चलायमान राख्न विभिन्न बैंकका अलावा थुप्रै प्रविधि कम्पनीहरु / नेटवर्कहरु पर्दा पछाडि सकृय हुन्छन। यस्ता कम्पनीहरुको काम भनेको अन्तर बैंक कारोबार सम्पन्न गर्ने, सो को हिसाबमिलान गर्ने अनि विविध सेवा प्रदायकहरुलाई विद्दुतिय भुक्तानी प्रणालीमा आबद्द गराउने हो। प्रविधिमा दख्खल भएको कुनै बैंकले यी पर्दा पछाडीका कम्पनीहरुले गर्ने कतिपय काम सबै आफैँ गर्न सक्छ भने धैरैले सोका निम्ति बजारमा उपलब्ध यस्ता प्रविधि कम्पनीहरुको साहयता लिन्छन्। तर भुक्तानी प्रणालीको सबै काम भने एउटा बैंकले म मात्र गर्छु भनेर संम्भब हुन्न ,बरु प्रणालीमा आबद्द सबैको आआफ्नो दायित्व हुन्छ। प्रणालीमा आबद्द कुनै एकले आफ्नो दायित्व पुरा नगरेको खण्डमा वा सम्बन्धित कम्पनीमा विचलन भएमा पुरा प्रणालीमा नै जोखिम उत्पन्न भने हुनसक्छ।

नेपालमा विद्दुतिय भुक्तानीलाई नियमन गर्ने सरोकारवाला निकाय नेपाल राष्ट्र बैंक अन्तर्गतको भुक्तानी प्रणाली विभाग(Payment Systems Department) हो। यसका अतिरिक्त नेपाल राष्ट्र बैंकका विभिन्न विभागहरुको पनि प्रत्यक्ष / अप्रत्यक्ष निगरानी/नियमन भुक्तानी प्रणाली सम्बद्द सबैमा रहिरहेको हुन्छ। यी सरोकारवाला निकायहरुले समयसमयमा विभिन्न नियम/निर्देशन जारी गरेर विद्दुतिय भुक्तानी प्रणालीलाई सबल, सरलिकृत बनाउनुका साथै प्रणालीमा निहित जोखिमलाई न्यूनिकरण गर्ने उपाय पनि अबलम्बन गरिरहेका हुन्छन्। नियमक निकायको निर्देशन संगसंगै भुक्तानी प्रणालीमा आबद्द सबैले आआफ्नो आन्तरिक हिसाबले जोखिम व्यवस्थापन, कार्य सञ्चालनको विधि अनि कारोबारको सीमा निर्धारण पनि गरेका हुन्छन्। यसले गर्दा कुनै एक व्यक्ति वा संस्थाले बदमासी गर्न चाहँदैमा सो व्यक्ति/संस्था सफल हुन्छ भन्ने होइन। हो प्रणालीमा रहेको कुनै संस्थामा समस्या देखापरेमा त्यसले निम्ताउने समस्या भने गम्भिर हुनसक्छ।

म तल केहि प्रश्नहरुको जवाफ दिन चाह्नछु, आशा छ भुक्तानी प्रणालीमा लागेको शंका वा कैफियत केहि हदसम्म निराकरण गर्न सक्नेछुः

१. मैले eSewa / Khalti / IMEPay / CellPay/ Prahu pay / QPay / Moru / connectIPS आदि चलाउँछु, के कसैले चाँहदैमा त्यसमा रहेको पैसा अपचलन हुनसक्छ?
पक्कै पनि हुँदैन, उल्लेखित सबै सेवा प्रदायकहरुले कारोबार गर्नको लागि निश्चित प्रकृया मिलाएका हुन्छन् त्यसको अतिरिक्त कसैले पनि तपाईंको जानकारी बेगर तपाईंको पैसालाई अपचलन गर्न सक्दैन।

२. अनि eSewa / Khalti / IMEPay / CellPay/ Prahu pay / QPay / Moru / connectIPS आदिले चाहेमा मेरो वालेटबाट सुटुक्क १-२रुपैँया गर्दै अनि नेपालभरीबाट लाखौं/करोडौं चोरे भने नि?
यी वालेटमा रहेको १-१ पैसाको जवाफदेहिता वालेट सञ्चालक कम्पनी हो। अनि वालेट सञ्चालन गर्न जो कोहिले पाउन्न, नेपाल राष्ट्र बैंक अन्तर्गतको भुक्तानी प्रणाली विभाग(Payment Systems Department)बाट स्वीकृति लिएर मात्र गर्न यसो गर्न पाइन्छ। अनि उक्त विभागले पनि केबल व्यक्ति वा कम्पनी हेरेर होइन, कम्पनीको कार्यसञ्चालन ढाँचा, कम्पनीले जोखिम निराकरण गर्न तय गरेको पद्दति, कम्पनीको प्राविधिक क्षमता लगायतका विविध कुरा जाँच गरेर मात्र सञ्चालन अनुमति दिनेगर्छ। यसैले वालेट कम्पनीहरुले पैसा चोर्छन् भन्नु मिथ्या मात्र हो।

३. अनि मेरो बैंक खाताबाट पैसा वालेटमा सार्यो भने नि?
तपाईंको बैकबाट वालेटमा पैसा सार्ने भनेको तपाईंले हो, तपाईं अलावा अरु कसैले सो काम गर्न सक्दैन। फेरि तपाईले बैंकबाट वालेटमा पैसा सार्दा, वालेट कम्पनीलाई कुन बैंकबाट पैसा आयो भन्ने मात्र थाहा हुन्छ, तपाईको खाता कुन हो भन्ने थाहा हुन्न। ढुक्क हुनुहोस् वालेट कम्पनीले चाँहदैमा तपाईको बैक खाताबाट १ सुकको पनि तल माथि हुन्न।

४. फेरि बैंकको सिस्टम/वेभसाइट/इन्टरनेट बैंकिङ्ग /मोबाइल बैंकिङ्ग आदि इत्यादि पनि केहि सिमित कम्पनीले बनाएको छ रे, त्यसो हुँदा त त्यो कम्पनीले जे पनि गर्न सक्ला नि होइन?
पक्कै पनि बैंकले विविध सिस्टमहरु बनाउन तेस्रो पक्ष कम्पनीहरुलाई काम दिन्छ। तर त्यसो भन्दैमा बैंकले सञ्चालन गर्ने सिस्टमहरुमा त्यस्ता कम्पनीहरुको अनधिकृत पहुँच हुन्छ भन्ने होइन। बैंकहरुले आफ्ना सारा ग्राहकहरुको पैसाको जिम्मेवारी लिएका हुन्छन् यसर्थ सम्पुर्ण बैंकले आफ्ना ग्राहकको विवरण अनि पैसाको सुरक्षाको पनि जिम्मेबारी लिन्छन् अनि तपाईको अनुमति बेगर कसैलाई पनि तपाईको खातामा पहुँच दिँन्नन।

४. मैले मेरो बैंक खाताबाट नै कारोबार गरे हुन्न, किन वालेटहरुमा पैसा हालि हालि कारोबार गर्नु?
बिल्कुलै सही, तपाईको पैसा तपाईले आफ्नै बैंक खाताबाट मनलागे अनुसार खर्च गर्न पाउनुपर्छ र पाउनुहुन्छ पनि। तर सबै बैंकको सम्बन्ध तपाईले कारोबार गर्ने सेवा प्रदायक संग नहुन सक्छ। यसो गर्नु कार्य संचालन अनि प्राविधिक हिसाबले पनि अनावश्यक हो। बरु सेवा प्रदायकहरुले आआफ्नो सेवालाई प्रविधि कम्पनीहरुसंग Integrate गरेमा त्यस्ता प्रविधि कम्पनीहरुले विभिन्न बैंकसंग भुक्तानी सम्झौता गर्दै तपाई हामीलाई सजिलोसंग आफ्नै बैंक खाताबाट कारोबार गर्न सक्ने बनाउन सक्छन्।
तर कतिपय अवस्थामा बैंकहरुले भुक्तानी कारोबारलाई अझ सजिलो बनाउन यस्ता प्रविधी कम्पनीहरुले सञ्चालन गर्ने वालेटहरुमा पनि पैसा राखेर कारोबार गर्नसक्ने बनाउन सक्छन। वालेट चलाउने कि नचलाउने निर्णय तपाईको हो।

५. वालेट चलाएर मलाई के फाइदा हुन्छ त?
फाइदा/बेफाइदा भन्दा पनि कारोबार कति सजिलो हुन्छ भन्ने हो। मानि लिँउ तपाईलाई १० जना साथी/आफन्तको मोबाईलमा ब्यालेन्स हाल्नु छ, बैंक खाताबाट गरेमा १० चोटि खाता छान्नुपर्छ, अनि १० चोटी पासवर्ड हाल्नुपर्छ तर त्यहि कुरा वालेटबाट गरेमा १ चोटी चाहिने जति पैसा खाताबाट वालेटमा सार्यो अनि त्यसपश्चात बैंक खाता नछोइकन चाहेजति नम्बरमा ब्यालेन्स हाल्न सक्नुहुन्छ। फेरि हरेक कारोबारको सम्पुर्ण विवरण तपाईलाई बैंक खातामा देखाउन पनि मन नलाग्न सक्छ, त्यसतो बेलामा वालेट काम आऊँछ नि।
तपाईंको बैकले माथि भनेजस्तै सबै सेवा प्रदायकसंग भुक्तानी सम्झौता नगरेको पनि हुनसक्छ। त्यस्तो बेलामा भुक्तानीको लागि वालेट चलाउन पर्नसक्छ।

६. अनि वालेट कम्पनीहरुले मैले वालेटमा राखेको पैसाबाट ब्याज लिन्छन् रे नि?
नेपाल राष्ट्र बैंकले ग्राहकको वालेटमा रहेको सारा पैसाको हिसाब वालेट कम्पनीसंग लिइराखेको हुन्छ। नेपाल राष्ट्र बैंकको नियमावली अनुसार कसैले पनि वालेटको पैसाबाट ब्याज लिन/दिन पाउँदैन। यदि कसैले यसो गरे गराएमा सर्वप्रथम नेपाल राष्ट्र बैंकले नै आवश्यक कारबाही गर्छ।

७. अनि वालेट कम्पनीलाई के फाइदा त?
वालेटबाट सबै कारोबार सित्तैमा गर्न मिल्दैन नि। कति कारोबारको लागि वालेट कम्पनीलाई  तपाईले अतिरिक्त शुल्क पनि तिर्नुपर्ने हुन्छ। साथै वालेट कम्पनीसंग सम्बद्द सेवा प्रदायकहरुले सेवा बेचे बापत पनि वालेट कम्पनीलाई केहि प्रतिशत सेवा शुल्क त तिर्नु परिहाल्छ।

आशा छ, केहि भ्रम चिर्न सफल भएँ। अझै पनि हामीलाई हामीले बनाएको संरचना अनि नीति नियममाथि विश्वास गर्नुछैन अनि अफवाहको पछाडि लाग्नु छ भने त्यसै गरौं / खुल्ला हृदयले सेवा बहिष्कार गरौं तर याद राख्नुपर्ने कुरा भुक्तानी प्रणाली सम्बद्द कम्पनीहरुलाई यसरी नै अनर्गल प्रचार गर्दै ठीक पार्यौ भने फेरी पैसाको मुठ्ठो बोक्दै बैंक वा सेवा प्रदायकमा लाइन लाग्नु पर्ने दिन छिट्टै आउन सक्छ ।
प्रविण अाचार्य