Showing posts with label सूचना–प्रविधि. Show all posts
Showing posts with label सूचना–प्रविधि. Show all posts

Sunday, May 23, 2021

अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण

निषेधाज्ञा र महामारीसँगै भौतिक उपस्थिति, आउजाउमा असहजताले मात्र होइन, धितोपत्र किनबेचमा सहजता र स्वनियन्त्रणका कारण अनलाइनबाट धितोपत्र कारोबार निकै बढेको छ । करिब ३५ लाख डिम्याट खाता खोलिँदा ७ लाखले कारोबार खाता खोल्दा ६ लाख लगानीकर्ताले ‘अनलाइन कारोबार’ गर्दै आएका छन् ।

धितोपत्र कारोबारलाई सहज, स्वचालित र पेपरलेस बनाउने प्रयासस्वरूप बजार सञ्चालक नेप्सेबाट विकास र २०७५ पुस १७ बाट व्यावहारिक सञ्चालनमा ल्याइएको ‘नेप्से अनलाइन ट्रेडिङ सिस्टम - NEPSE Online Trading System’ (नट्स-NOTS)’ अनलाइन कारोबार प्रणालीको मुख्य हिस्सा ‘ट्रेड म्यानेजमेन्ट सिस्टम - Trade Management System’ (टीएमएस-TMS)मा पहुँच सबैलाई अनिवार्यजस्तै छ । खोजेजस्तै पूर्ण नभए पनि सेमिअटोमेटेड प्रकृतिको विद्यमान ‘टीएमएस’ प्रणालीबाट धितोपत्र दलाल (ब्रोकर) को प्रत्यक्ष सहभागिताबिनै बासस्थान वा कार्यालयबाटै इन्टरनेट सुविधा भएको कम्प्युटर, ट्याबलेट वा मोबाइल फोनजस्ता उपकरणमार्फत क) कोलाटर जम्मा गर्न; ख) खरिद–बिक्री आदेश प्रविष्टि, परिमार्जन र कारोबारको जानकारी लिन; ग) कारोबारको विस्तृत विवरण र अभिलेख हेर्न र रुजु गर्न; घ) भुक्तानी र राफसाफ गर्न सकिन्छ ।

आवश्यक तयारी 

धितोपत्र (दोस्रो वा सेयर) बजारमा कारोबार गर्न प्राथमिक बजारमा चाहिने ‘डिम्याट’, ‘बैंक खाता’, ‘मेरो सेयर’सँगै स्वीकृति प्राप्त धितोपत्र दलाल (ब्रोकर) कहाँ ‘कारोबार खाता’ खोल्नैपर्छ । अनलाइन कारोबारका लागि केवाईसी अद्यावधिक गर्दै ‘टीएमएस’को ‘युजरनेम - User name र पासवर्ड - Password’ लिनुपर्छ, जुन सम्बन्धित दलाल कार्यालय गएर, वेबसाइट मार्फत वा ‘टीएमएस’बाटै पनि रजिस्ट्रर गर्दै निःशुल्क पाइन्छ । यसपछि अनलाइन प्रणालीमा प्रवेश गर्दै निम्न अनुसार काराेवार गर्न सकिन्छ ।


१. कोलाटरल

‘युजरनेम (User name) र पासवर्ड (Password)’ सँगै धितोपत्र किनबेचका लागि सम्बन्धित ब्रोकरबाट कारोबार रकमको सीमा (लिमिट - LIMIT) प्राप्त गर्नुपर्छ, जुन धरौटी रकम (कोलाटरल - Collatoral) र सम्झौताको आधारमा ब्रोकरले उपलब्ध गराउँछ । धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार खरिद आदेश प्राप्त गर्दा नै कम्तीमा २५ प्रतिशत अग्रिम भुक्तानी लिनुपर्ने व्यवस्थाबमोजिम ब्रोकरले ‘कोलाटरल’ माग्छन् । ब्रोकरसँगको सहमतिमा नगद (Cash) वा चेक (Cheque) डिपोजिट गर्न वा आवश्यकताअनुसार बैंक (Bank)/कनेक्ट आईपीएस (connectIPS) बाट अनलाइन नै लोड/जम्मा गर्न सकिन्छ । अनलाइन प्रणालीमा कोलाटरलले नै कारोबार ‘लिमिट’ निर्धारण गर्ने हुँदा कति ‘कोलाटरल’ र कति ‘लिमिट’ ब्रोकर र ग्राहकमा निर्भर हुन्छ । ‘लिमिट’ बिना किनबेच आदेश नै प्रविष्टि गर्न सकिन्न । ‘कोलाटरल’ र ‘लिमिट’ टीएमएसको ‘माइ इन्फरमेसन (My Information)’ वा ‘ड्यास बोर्ड (DASH BOARD)’मा पनि हेर्न सकिन्छ । काेलाटरलकाे कति गुना लिमिट भन्ने ‘म्यानेज काेलाटरल (Manage Collatoral)’ काे   ‘मल्टिल्पिकेसन फ्याक्टर (Multiplication Faction)’ मा हेर्न सकिन्छ । थप जानकारीका लागि काेलाटरल व्यवस्थापन पढ्नुस् ।


२. खरिद–बिक्री आदेश

‘टीएमएस’मा प्रवेश गरी उपलब्ध ‘लिमिट’ अनुसार खरिद–बिक्री आदेश राख्न सकिन्छ । ‘अर्डर म्यानेजमेन्ट (ORDER MANAGEMENT)’को ‘बाइ/सेल (BUY OR SELL)’मा क्लिक गर्दै अथवा ‘मार्केट डाटा (MARKET DATA)’ को ‘मार्केट डेप्थ (MARKET DEPTH)’ मा सम्बन्धित धितोपत्र छनौट गरी ‘बाइ (BUY)’ वा ‘सेल (SELL)’ मा क्लिक गरी खरिद–बिक्री आदेश दिन सकिन्छ । किनबेचका लागि नियमित समय ११ देखि ३ बजेसम्म ‘कन्टिन्युअस (CONTINUOS)’, बिहान १०ः३० देखि १०ः४५ बजेसम्म ‘प्रिओपन (PRE OPEN)’, सूचीकृतको पहिलो कारोबारका लागि ‘स्पेसल प्रिओपन (SPECIAL PRE OPEN)’ र अडलट (१० कित्ता/१ सय एकाइभन्दा कम) का लागि ‘अडलट (ODD LOT)’ छान्नुुपर्छ । यसपछि तोकिएको ‘लिमिट’ भित्र मूल्य र कित्ता उल्लेख गर्दै किन्न ‘एलएमटी–लिमिट (LMT)’ र बजारमा उपलब्ध मूल्यमा तोकिएका कित्ता किन्न ‘एमकेटी–मार्केट (MKT)’ छान्नुपर्छ ।

Option 1 through Order Management > Buy/Sell

Option 2 through Market DATA> Market Depth

यसपछि किनबेच गर्न खोजेको धितोपत्रका आधारमा ‘इन्स्टा (INST)’मा १) साधारण सेयरलाई ‘ईक्यू (EQ)’, २) अग्राधिकार सेयरलाई ‘पीएस (PS)’, ३) अपरिवर्तनीय डिबेन्चरलाई ‘एनसीडी (NCD)’ वा ४) म्युचुअल फन्डलाई ‘एमएफ (MF)’ छानेर सिम्बोलको कोठामा सम्बन्धित धितोपत्रको नाम लेख्ने वा पहिलो अक्षर थिचेसँगै उपलब्ध हुने सूचीबाट छान्ने । धितोपत्र छानेर कित्ता वा एकाइ ‘क्यूटीवाई (QTY)’ कोठामा उल्लेख गरी तिर्न चाहेको प्रतिकित्ता-एकाइ मूल्य ‘प्राइस (PRICE)’मा जनाउने । यसपछि ‘भ्यालिडिटी (VALIDITY)’ मा समय वा विधिको आधारमा १) एक दिनलाई ‘डे (DAY)’, २) किनबेच नहुँदासम्म भए ‘जीटीसी (GTC)’ (गुड टिल क्यान्सिल), ३) तोकिएको मितिसम्म भए ‘जीटीडी (GTD)’ (गुड टिल डेट) सहित मिति उल्लेख गर्ने । यस्तै ‘भ्यालिडिटी’ मा नै खरिद–बिक्री आदेशअनुसार सम्पूर्ण कित्ता/एकाइ कारोबार हुने अन्यथा नहुने गर्न ‘एओएन (AON)’ (अल अर नन), आदेश राख्नेबित्तिकै किनबेच भए गर्ने नभए नगर्ने ‘आईओसी (IOC)’ (इमिडिएट अर क्यान्सिल), अथवा तत्काल किनबेच नभए रद्द हुने आदेशका लागि ‘एफओके (FOK)’ (फिल अर किल) विकल्प रोज्ने ।

एओएन विवाद र उययाेग 

  • ‘एओएन (AON)’ (अल अर नन) ले माग र अापुर्तिमा खेलेर मूल्य प्रभावित गरेकाे भन्ने नयाँ विवाद सिर्जना गरिएकाे छ । नेप्सेले अाधिकारिक सूचना विना २०७८ जेठ ३० गते दिनकाे १ बजेबाट टिएमएसमा खरिदतर्फ एओएन डिसेवल गरेकाे छ । यससँगै क्रेताले चाहेकाे परिमाणमात्र किन्न पाउने अधिकारबाट बञ्चित भएका छन् । कसैले ५५ किता पाए किन्छु नभए किन्दिन भन्न नपाउने भएकाे छ, अब क्रेताले ५५ किता किन्न खाेज्दा ५० मात्रै पनि पाउन सक्नेछ । त्यसैले खरिद अादेश राख्दा बिक्रिमा रहेकाे किता र अादेश संख्यामा विशेष चनाखाे हुनुपर्ने छ । हेर्दा ठूलाे समस्या देखिन्न तर ग्राहककाे छनाैटकाे अधिकारमा प्रहार भएकाे छ र उसले बिक्रेताकाे इच्छामा निर्भर भएर किन्नुपर्ने छ । यस्तै क्रेताकाे लगानी याेजना र लगानी व्यवस्थापन याेजना माथि अप्रत्यक्ष नियन्त्रण भएकाे छ । 
  • विक्रीकाे सन्दर्भ हाल एओएन नहटेकाे अवस्थामा यस विकल्पबाट बेच्दा चाहेकाे परिमाण नै बेच्न सकिन्छ । यदि एओएनमा नराखि बेच्ने हाे भने ५७ किता बेच्न खाेज्दा ५२ किता बिकेर ५ किता अडलटमा जाने वा कतिपय अवस्थामा १ किता नबिकेर पछि बेच्दा लाग्ने चर्काे लागतले धेरैलाइ दुःख दिनेछ । अझ ५७ किता बेचेर ऋण वा तिरनतारन गर्न खाेज्नेकाे सबै नबिकेर सिर्जना हुने अार्थिक समस्याकाे सम्भावना रहन्छ । एओएन राख्दा कि ५७ कित्तै बिक्छ नभए बिक्दैन, जसले अडलट बस्ला भन्ने चिन्ता हुन्न ।
  • एओएन राखिएका अादेशहरू एकैपटकमा काराेवार हुने सम्भावना बढि हुन्छ, यसले ससानाे काराेवार हुँदा लाग्ने उच्चदरकाे कमिसन जाेगिनसक्छ, भने धेरै काराेवारकाे रेकर्ड झन्झट पनि हुन्न ।

यसरी प्रणालीमा प्रविष्ट खरिद–बिक्री आदेशहरू ‘मूल्य र समय (PRICE AND TIME)’का आधारमा म्याचिङ हुँदै कार्यान्वयन हुन्छन् । ‘अर्डर म्यानेजमेन्ट (Order Management)’को ‘डेली अर्डर बुक (Daily Order Book)’मा गएर आफूले राखेको आदेशको अवस्था थाहा पाउन सकिन्छ । कार्यान्वयन भएका आदेश ‘कम्प्लिटेड (Completed)’ मा र बाँक ‘ओपन (Open)’ मा देखिन्छ । ‘एक्सन (Action)’ मा क्लिक गर्दै उक्त धितोपत्रको बजार माग र आपूर्तिको अवस्था (मार्केट डेप्थ - Market Depth) पनि हेर्न वा किनबेच नभइसकेको अवस्थामा मूल्य वा कित्ता-एकाइ परिमार्जन गर्न सकिन्छ । ‘कम्प्लिटेड’मा पनि प्लस चिह्नमा थिचेर आदेश कार्यान्वयन र ‘ट्रेड डिटेल (Trade Detail)’मा आदेशअनुसार किनबेच भएको कित्ता, मूल्य, कमिसन, सेबोन शुल्क, डिपी शुल्क तथा बिक्रीको हकमा लाभकरको जानकारी लिन सकिन्छ ।


खरिद–बिक्री आदेशको विकल्पका आधारमा नियमित कारोबार समयपश्चात् ‘कम्प्लिटेड’ मा जान्छन् र ती ‘कम्प्लिटेड’, ‘पार्सियल्ली कम्प्लिटेड’ वा ‘क्यान्सिल’ हुन्छन् ।

३. सेयर र रकम भुक्तानी

प्रचलित नियमानुसार किनेको धितोपत्रको रकम र बेचेको धितोपत्र कारोबारको भोलिपल्ट (अर्को कार्यदिन, टी प्लस वन) ब्रोकरलाई हस्तान्तरण गर्ने जिम्मेवारी किन्ने–बेच्नेको हुन्छ । बेचेको धितोपत्र सीडीएस्सीको ‘मेरो सेयर’ मा उपलब्ध ‘सेयर ट्रान्सफर’को विकल्प प्रयोग गरी विद्युतीय माध्यमबाट ‘ईडीआईएस’ द्वारा हस्तान्तरण गर्नुपर्छ । ‘ईडीआईएस’ सम्भव नभए मात्र डीपीबाट उपलब्ध ‘डीआईएस–डेबिट इन्स्ट्रक्सन स्लिप’ भरेर ब्रोकरलाई दिनुपर्छ । तोकिएको अवधिमा कुनै पनि कारण धितोपत्र हस्तान्तरण गर्न असफल भए ‘क्लोजआउट’ मा परिन्छ र बिक्री मूल्यको २० प्रतिशत जरिवाना बेहोर्नुपर्नेछ । रकमको सम्बन्धमा कुनै जरिवानाको कानुनी व्यवस्था नभए पनि किनेको भुक्तानी दिनु नैतिक दायित्व हो ।


किनेको धितोपत्रको रकम क) टीएमएस, ख) चेक, ग) कनेक्ट आईपीएस, घ) अनलाइन बैंकिङबाट भुक्तानी गर्न सकिन्छ । टीएमएसबाट भुक्तानी गर्न ‘फन्ड सेटलमेन्ट’को ‘पेमेन्ट सेटलमेन्ट’ अन्तर्गत ‘बाई इन्फरमेसन’ मा गएर तिर्न बाँकी बिलहरू हेर्दै तिर्ने बिलको ‘एक्सन’ मा क्लिक गर्दै ‘ईओडी’ छनोट गरी ‘एमाउन्ट’मा बिलअनुसार (प्रणालीले देखाएको रकम) को भुक्तानी रकम उल्लेख गर्ने अनि ‘बैंक’मा ग्लोबल आईएमई वा कनेक्ट आईपीएस छनोट गरेर ‘रिमाक्र्स’ मा बिल मिति वा कारोबार नम्बर केही लेखेर ‘मेक पेमेन्ट÷प्रोसिड’ क्लिक गर्नुपर्छ । यसपछि बैंकको अनलाइन वा कनेक्ट आईपीएस प्रणालीमा जान्छ र उल्लिखित प्रक्रिया पूरा गरी भुक्तानी हुन्छ । सामान्यतः कोलाटर क्यास र ननक्याससमेत हुने र नियमित कारोबारमा आवश्यक परिरहने हुँदा भुक्तानीका लागि ‘कोलाटर’को विकल्प नअपनाउँदा राम्रो । ‘कोलाटरल’बाट भुक्तानीमा प्रणालीले स्वतः भुक्तानी नजनाउने हुँदा ब्रोकरबाट भुक्तानी मिलान गराउनुपर्छ, जसले भुक्तानी अन्योलता र समयमा धितोपत्र नआउने जोखिम रहन्छ । हाल ग्लोबल आईएमई बैंकले मात्र ‘टीएमएस’बाटै भुक्तानी सुविधा दिने र प्रायः ब्रोकरको कारोबार बैंक पनि हुँदा यस बैंकमार्फत भुक्तानी लिँदादिँदा सहज र केही आईपीएस शुल्क बच्छ । सम्बन्धित ब्रोकरको बैंक, खाताको नाम र नम्बर लिएर टीएमएसबाहिरबाट पनि भुक्तानी गर्न सकिन्छ । टिएमएस बाहिरबाट भुक्तानी गरेकाे अवस्थामा दलाललाइ सम्पर्क गरेर टिएमएसमा भुक्तानी, काेलाटरल र लिमिट समायाेजन गराउनुपर्ने हुन्छ । यसले थप समय, लागत र मेहनत लाग्नेछ । इअाेडिकाे हकमा सिस्टमले स्वतः हिसाव मिलान गर्छ ।

In TMS > Fund Settlement > Buy Information


Once click in Make Payment > Confirm Payment


If choosed Global IME Bank leads to GBIME online banking

Complete process and pay

४. विगत कारोबार र हिसाब

टीएमएसमा कारोबारसँगै विगतको कारोबार र हिसाब हेर्न सकिन्छ । ‘फन्ड सेटलमेन्ट’को ‘क्लाइन्ट फन्ड ट्रान्सफर हिस्ट्री’ मा गएर बैंक र एनसीएचएलबाट गरिएको र प्राप्त भुक्तानीको अभिलेख पाइन्छ । यस्तै ‘फन्ड सेटलमेन्ट’ कै ‘बाई इन्फरमेसन’ मा भुक्तानी बाँकी ‘पेमेन्ट ड्यु’, भुक्तानी गरिएका ‘सक्सेस’ र प्रक्रियामा रहेका ‘इन प्रोग्रेस’ को जानकारी पाइन्छ । ‘सेल इन्फरमेसन’ मा प्राप्त हुन बाँकी भुक्तानी ‘पेमेन्ट ड्यु’, स्वीकृत भुक्तानी ‘एप्रुभ्ड’, ब्रोकरबाट भएको भुक्तानी ‘सक्सेस’ र प्रक्रियामा रहेका ‘इन प्रोग्रेस’मा हुन्छ । ‘सक्सेस’मा देखिने सूचीको ‘प्लस’ थिच्दा कारोबारको विस्तृत हिसाब पाइन्छ ।

Buy information

Sell information

यस्तै ‘मार्केट डाटा’ मा बजारको अवस्था, मार्केट डेप्थ, सक्रिय धितोपत्र, बढेका र घटेका १० धितोपत्र, मार्केट लाइभ हेर्न सकिन्छ । ‘ब्रोकर ब्याक अफिस’को ‘डीपी होल्डिङ’ले डिम्याटमा रहेको धितोपत्र देखाउँछ । अनेक समस्या र सुधारको आवश्यकताका बाबजुद उपलब्ध अनलाइन प्रणाली अपनाउनु हितकर छ, जसले स्वनियन्त्रणमा सहजै कारोबार र राफसाफ गर्दै अभिलेखको सुविधा निःशुल्क दिन्छ ।


कतिपय अवस्थामा टिएमएस लगइन गर्दा प्रणालीले यस्ताे सन्देश दिन सक्छ । यसमा वास्तवमा अाेटिपी पठाएकाे हुँदैन र केहि गर्नुपर्दैन, केवल त्याे क्रस (X) थिचे पुनः लगइन विन्डाेमा पुगिनछ र पहिलेकै तरिकाले लगइन हुन्छ ।


थप जानकारीका लागि

Last revised/corrected/updated 25 July 2021, 11:04 NST




Sunday, October 11, 2020

मूल्यपासोभन्दा घातक सूचनापासो

धितोपत्रको मूल्य निर्धारण र सौदाबाजीको मुख्य आधार माग तथा आपूर्ति मानिए पनि वास्तवमा मूल्य प्रभावित गर्ने वा तिरिने सूचनाको मूल्य हो । कसैले सूचनाकै आधारमा आशावादी हुँदै किन्दै गर्दा धारकले निराश (त्रसित) हुँदै बेचिरहेको हुन्छ । यथार्थ, भरपर्दो र शुद्ध सूचना र सूचनामा समान पहुँच स्वस्थ कारोबार वा लगानी निर्णयको आधार भए पनि नेपालका सूचीकृत कम्पनीहरूको गुणस्तरीय सूचना पाउनु असम्भव अनि ‘सूचनामा पहुँच’ भएका व्यक्ति, समूह वा निकायहरूले नै त्यस्ता सूचनाहरूको स्वार्थपरक ढंगले कालोबजारी, उपयोग, विश्लेषण एवम् अर्ध वा भ्रामक सूचना प्रवाह हुँदा आमलगानीकर्ताहरू स्वाभाविक रूपमा ‘सूचनापासो’मा पर्छन् । अझ सूचना प्रवाहका लागि जिम्मेवारी कम्पनी र पदाधिकारी तथा शुद्ध सूचनाको सुनिश्चितताका लागि कार्यरत नियामकहरू जिम्मेवारीबाट पन्छिँदा कारोबारी वा लगानीकर्ताहरू भ्रामक वा अर्धसूचनाको पासोमा पर्नुको विकल्प भेट्टाउन सकेका छैनन् ।

सूचनामा असमान र कमजोर पहुँच अनि आफैँ सूचना र जानकारीको सामान्य आकलन नगरी अरूको भरमा कारोबार गरेर छिट्टै र सजिलै कमाउन खोज्नेहरूलाई स्वार्थी व्यक्ति र समूहले मूल्यपासो (प्राइस ट्र्याप) र ‘सूचनापासो’ (इन्फरमेसन ट्र्याप) थाप्नु अनौठो भएन । त्यसैले मूल्यान्तरका खेलाडीहरूबाट सूचनामा खेल्दै र पासो थाप्दै निश्चित धितोपत्र किनबेच गर्न उक्साउने, लोभ्याउने, तर्साउने र बाध्य पार्ने (बुलिङ) बढ्न थालेको छ ।

सूचनापासो

सूचनाको नाममा स्वार्थअनुरूप विश्लेषण वा भित्री सूचनाको आवरण भिराएर थप आकर्षक वा खराब देखाउँदै कसैलाई कुनै धितोपत्र किन्न, बेच्न वा धारण (होल्ड) गर्न उक्साउने, लोभ्याउने, तर्साउने काम नै सूचनापासो वा जाल थाप्नु हो । यसमा अर्धसत्य र आंशिक सूचना प्रवाह, सामूहिक सिन्डिकेट, हल्ला र प्रचार, भित्री सूचनाका आधारमा कारोबार (इन्साइडर ट्रेडिङ), प्रणालीगत छिद्रको प्रयोग (मार्केट डेप्थ) र झूटको खेती हुन्छन् । सूचनापासो थाप्नेहरूले आमलगानीकर्ता र कारोबारीहरूको छिटो र सहज कमाउने चाहना र सूचनामा पहुँच नहुुनुको फाइदा उठाउँदै १. भावनात्मक (इमोसनल), २. हल्ला (-युमर), ३. भ्रामक (मिस इन्फरमेसन), ४. बढ्दो–घट्दो (बुल एन्ड बियर), ५. संकलन र बिक्री (पम्प एन्ड डम्प), ६. मूल्य (प्राइस), ७. माग र आपूर्ति (डिमान्ड एन्ड सप्लाई), ८. विश्लेषण (एनालाइसिस), ९. नियामकीय (रेगुलिटरी) र १०. नीतिगत (पोलिस) पासोहरू फ्याँक्छन् । सूचनाको मूल्य बुझेका तर पहुँच नभएका सूचनाका भोका लगानीकर्ता र कारोबारीहरूलाई सूचनापासो मा पार्दै बजारमा धितोपत्र किनबेच वा होल्ड गराइसेकपछि परिमार्जित सूचनापासो थाप्ने प्रक्रिया सुरु हुन्छ । सामान्यतः मूल्यपासोको सहयोगी औजारका रूपमा सूचनापासो फालिन्छ र जब लक्षित लगानीकर्ता वा कारोबारी पासोमा पर्छ, ऊमाथि मूल्यगत प्रहार गरिन्छ ।

सूचनापासोको माध्यम

सूचनापासोको माध्यम भनेको सूचना प्रवाहका साधनहरू नै हुन् । सूचना प्रविधिको विद्युतीय युग हुँदा सूचनापासोका लागि परम्परागतसँगै नवीन प्रविधि र माध्यमहरू विशेष गरी सामाजिक सञ्जाल र अनलाइनहरूको बढी प्रयोग हुन्छ । पासोमा कति, कसलाई र कसरी पार्ने उद्देश्यअनुरूप व्यक्ति सम्पर्क, सामाजिक सञ्जाल, सञ्चारमाध्यम, बजारीकरण (मार्केटिङ) जस्ता माध्यमहरूबाट सूचनापासो थापिन्छ ।

(क) व्यक्तिगत सम्बन्ध र कानेखुसी : सूचनापासोको परम्परागत र प्रभाविकारी रूपमा प्रयोग हुँदै आएको माध्यम कानेखुसी (ह्विस्परिङ) वा व्यक्तिगत तवरमा सूचना प्रवाह हो । पासो थाप्नेले विशेष सूत्र वा स्रोतको हवाला दिँदै सम्बन्धित धितोपत्र किन्न, बेच्न वा नबेच्न प्रेरित र कतिपय अवस्थामा दबाबसमेत दिइन्छ । किनिसकेको धितोपत्र बेच्न आशा र सम्भावनाको स्वप्न देखाउँदै महँगोमा किन्न उक्साउँछन् भने किन्न खोज्नेले खराब अवस्थाको चित्रण गर्दै त्रसित बनाउँछन् । यसका लागि धितोपत्र दलालहरू, प्रभावशाली व्यक्तिहरू, बजारको फ्लोरको प्रयोग हुन्छ ।

(ख) सामाजिक सञ्जाल : सूचना आदानप्रदानसँगै विशेष सूचनामा पहुँच र स्वार्थपरक सूचना प्रवाह गर्दै सूचनापासो र मूल्यपासोमा पार्ने सबैभन्दा प्रभावकारी माध्यम सामाजिक सञ्जालहरू, जस्तै ः फेसबुक, ट्विटर, युट्युब, ह्वाट्सएप, मेसेन्जर र भाइबर ग्रुप हुन थालेका छन् । सूचना र छलफलको बहानामा खोलिएका अनेकन् पेजहरूसँगै सूचना, विचार, प्राविधिक वा आधारभूत विश्लेषण, अनुभव आदानप्रदान, तुलनात्मक विश्लेषणहरू जस्ता लाग्ने तर स्वार्थपरक पोस्टहरू र पासो थाप्ने क्रम बढेका छन् । आधिकारिक र यथार्य सूचना व्यवस्थित रूपमा प्रवाह र सहजै उपलब्ध नहुँदा लगानी तथा कारोबार निर्णयका लागि आमलगानीकर्ता र कारोबारीहरू सञ्जालमा उपलब्ध गुणस्तरहीन सूचनाहरूमा भरपर्न बाध्य छन्, जसको फाइदा सूचनापासो थाप्ने स्वार्थीहरूले उठाइरहेका छन् । अझ कुनै नियमन र नियन्त्रण नहुने अनि जिम्मेवार हुन नपर्ने सामाजिक सञ्जाल स्वार्थ सिद्ध गर्ने सहज माध्यम बनेको छ ।

(ग) सञ्चार माध्यम : परम्परागत रेडियो, टिभी, पत्रपत्रिका वा अनलाइनहरू सबै सञ्चार माध्यमहरूको चासो धितोपत्र बजारमा बढेको छ भने उनीहरूको पहुँच सूचीकृत कम्पनी, नियामक, राज्यका निकायहरू सबैतिर रहँदै आएको छ । तर धितोपत्र बजारसम्बन्धी पर्याप्त ज्ञान र दक्षताको अभावमा कतिपय सञ्चार माध्यमहरूबाट जानी–नजानी भ्रामक सूचना प्रवाह हुनपुग्छ । कतिपय अवस्थामा सञ्चार माध्यमहरू स्वार्थ समूहको पासोमा परेर दिग्भ्रमित सूचना प्रवाह भइरहेको हुन्छ । स्वार्थ समूहबाट समाचार, टिप्पणी, विश्लेषण, लेख, अन्तर्वार्ताजस्ता अनेक नाममा सूचनापासो थाप्ने क्रम बढेको महसुस गर्न सकिन्छ ।

(घ) कम्पनी : कम्पनीहरूले नै लगानीकर्ताहरूलाई सूचनापासोमा पार्ने पत्याउनै गाह्रो, तर सूचीकृत कम्पनी र पदाधिकारीहरूले जानाजान वा अन्जानमा यथार्थ, पर्याप्त र समयमा सूचना नदिने अनि सार्वजनिक सूचनासमेत भ्रामक, अधकल्चो, ढिला दिने र जिम्मेवारी नलिने नौलो होइन । सार्वजनिक निष्कासनको विवरणपत्र अनुसारका आर्थिक–व्यवसायिक गतिविधि नहुने मात्र होइन, वित्तीय विवरणहरूमा कानुनले तोकेका न्यूनतम सूचना समेत प्रवाह नगर्ने, वास्तविक अवस्थाको झल्काउने यथार्थ र पर्याप्त जानकारी नदिने, प्रतिसेयर आयमा छेडखानी सामान्य हुन थालेको छ । लगानीकर्ता र कारोबारीहरूको भावनामा खेल्दै कम्पनीहरू असम्भव लाभांश र हकप्रदको गलत वाचा गर्ने, झुलाउने, झुक्याउने गर्छन् । औपचारिक वा अनौपचारिक माध्यमबाट सार्वजनिक हकप्रद, लाभांश, मर्ज वा प्राप्तिजस्ता मूल्य संवेदनशील सूचनाहरूप्रति गैरजिम्मेवार कम्पनी र पदाधिकारीहरू माथि कुनै कारबाही नहुँदा खुलमखुल्ला स्वार्थपरक सूचनापासो थाप्न क्रम बढ्दो छ ।

(ङ.) नियामक : धितोपत्र बजारमा कारोबार र सूचना प्रवाहको लागि नेप्सेको वेबसाइट र त्यस्ता सूचनाहरूको अभिलेख र नियमन गर्ने नेपाल धितोपत्र बोर्ड (सेवोन) छ । यस्तै बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंक, बिमा कम्पनीहरूको बिमा समिति र जलविद्युत् कम्पनीहरूको नियमन विद्युत् नियमन आयोगबाट नियमन हुन्छ । विभिन्न तहमा रहेका नियामकहरूले प्रवाह गर्ने नीतिगत निर्देशन, सूचना, निर्णयहरूको अनिश्चितता, निरन्तरता र व्यावहारिक कार्यान्वयन नहुँदा पनि लगानीकर्ताहरू सूचनापासोमा पर्ने जोखिम रहन्छ । अझ लगानीकर्ताहरूको हित संरक्षण र बजार सुशासनको मुख्य जिम्मेवार निकायहरूले समेत कम्पनीबाट प्रवाहित सूचनाहरूको सम्परीक्षण समेत नगरी लगानीकर्ताहरूमाझ पु-याइदिँदा सूचनाहरू जानकारीमूलकभन्दा घातक बन्दै आएका छन् । नेप्सेको विन्डोबाट प्रवाहित लाभांश र हकप्रदका कतिपय सूचनापासोमा परेर लगानी गरेका लगानीकर्ताहरू अन्ततः पुर्पुरोमा हात राख्न बाध्य भएका मात्र होइन, त्यस्ता सूचनाको जवाफदेहिताका लागि तततत् निकायमा पुग्दासमेत कुनै कारबाही र जिम्मेवारी लिनुभन्दा पन्छिने कामले लगानीकर्ताहरू सूचनापासोमा छट्पटाउन बाध्य छन् ।

सूचनापासोबाट बच्ने र बचाउने

कारोबार र लगानी निर्णयका लागि अत्यावश्यक सूचनाको कालोबजारीको सम्भावनासँगै पहुँचवालाहरूले सूचनाको स्वार्थपरक उपयोग र मूल्य असुली गर्छन् नै, त्यसबाट बच्ने जिम्मेवारी लगानीकर्ता र कारोबारीमै रहन्छ । त्यससँगै लगानीकर्ताहरूको हित संरक्षणका लागि कार्यरत निकायहरूले पनि यथार्थपरक, पर्याप्त, शुद्ध सूचना र सूचनामा समान पहुँचका लागि जिम्मेवारी लिनै पर्छ । लगानी तथा कारोबार अगाडि सूचनाको शुद्धता परीक्षण र स्वविश्लेषण सीप र क्षमताको विकासले सामाजिक सञ्जाल, मिडिया, कम्पनीबाट प्रवाहित सूचना र सूचनापासो छुट्ट्याउन र पासोबाट सुरक्षित हुन सकिन्छ ।

१. कम्पनीका प्रकाशित विवरण अध्ययन गर्दा व्यावसायिक प्रकृति र अवस्था, मुनाफाका स्रोत, नियामकीय व्यवस्थाका समग्र पक्षमा सजग हुँदै विस्तृत अध्ययन र पुनःपरिक्षण गर्ने ।

२. सामाजिक सञ्जालमा विश्वासिला व्यक्तिहरूलाई मात्र फलो गर्ने, उपलब्ध सूचनाहरूको परीक्षण गरेर मात्र कार्यान्वयन गर्ने, सूचनापासो थाप्ने कुरामा चनाखो बन्ने, लहलहैमा नलाग्ने ।

३. निःशुल्क र सहजै उपलब्ध गराइएका वा प्रवाहित सूचनाहरूको विश्वसनीयतामा सहज हुँदै अप्रत्यक्ष मूल्यप्रति चनाखो हुने । अनौपचारिक सूचनाहरू लिँदै गर्दा त्यसको आधिकारिक वा भरपर्दो स्रोतबाट पुष्ट्याइँ गरेर मात्र कार्यान्वयन गर्ने ।

४. सबै लगानीकर्ताहरूलाई सूचनापासोबाट जोगाउन र यथार्थपरक, भरपर्दो र शुद्ध सूचनाको सुनिश्चितताका लागि बजार सञ्चालक वा नियामकले सूचना/तथ्यांक भण्डारण, व्यवस्थित अभिलेख, कम्पनीबाट सूचनाहरूको परीक्षण गरेर सबैको समान पहुँच सुनिश्चित गर्ने । गलत सूचना प्रवाह गर्ने कम्पनीका पदाधिकारीहरूलाई कारबाही गर्ने ।

५. नियामकले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट प्रवाह भएका सूचनाहरूको नियमित अनुगमन/नियमनका लागि आवश्यक सफ्टवेयर वा संयन्त्रको व्यवस्था गर्दै, भ्रामक, गलत र तथ्यहीन सूचना प्रवाह गर्ने व्यक्ति र निकायहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने ।

नाेटः सूचनापासाे सम्बन्धी याे लेख केवल विषय उठान मात्र हाे । अहिले व्यक्ति, कम्पनी, बजार संचालक र नियामक समेत पासाे थाप्न उदेत यस बजारमा सही सूचना सम्भव छैन तर सचेत हुँदा लगानी संरक्षण, केहि सहि निर्णय भने सम्भव छ । बजार संचालकले प्रवाह गर्ने परिसूचक वा पूँजीकरण समेत अबिश्वसनीय र प्रश्न उठने बजारमा अरूबाट धेरै अासा राख्नु पनि गलत हुनेछ ।

काराेवार दैनिकमा २०७७ असाेज २५ गते प्रकाशित, https://www.karobardaily.com/news/119823

Sunday, September 27, 2020

भारित औसत लागत (WACC) गणना र जोखिम

धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड) को लागत, लाभ र लाभकर समस्या समाधानको विकल्पमा प्रचलनमा ल्याइएको भारित औसत लागत गणना विधिमा लागत गणना र घोषणाको अधिकार, जिम्मेवारी र दायित्व लगानीकर्तालाई नै सुम्पिएको छ । सीडीएस एन्ड क्लियरिङ कम्पनी (सिडिएससी) ले विकास गरेको उत्कृष्ट स्वचालित गणना विधिमा विभिन्न विधिबाट प्राप्त सेयरको औसत लागत गणना सिस्टम (प्रणाली) बाट नगरी सम्पूर्ण दायित्व लगानीकर्तालाई सुम्पिएर सरकार र सीडीएससी सर्लक्क पन्छिएको छ । लगानीकर्ताले जसोतसो हिसाब गरेर स्वघोषणा गरिएको लागतको सम्भावित गल्तीबाट सिर्जना हुने करको दीर्घकालीन जोखिम लिन बाध्य बनाइएको छ ।

सामान्यतः लगानीकर्ताले हिसाब नराख्ने, सहजै औसत लागत गणना गर्न नसक्ने र अन्योलपूर्ण हुने जानकारी हुँदाहुँदै पनि सीडीएससीले अर्धस्वचालित कारोबार प्रणालीमा भएका तथ्यांक (२०७२ पुस मसान्तसम्म) र पूर्ण अभौतिक कारोबार (२०७२ माघ १ गतेदेखि) सुरु भएपछिका तथ्यांकलाई नयाँ स्वचालित प्रणालीमा समाहित नगरी २०७७ साउन १ बाट कार्यान्वयनमा ल्याउँदा समस्यैसमस्या देखिएको छ । कामचलाउ ‘वाक’ प्रणाली लगानीकर्ताका लागि ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तो भएको छ ।

स्वचालित भनिएको प्रणालीमा क) कारोबारको तथ्यांक उपलब्ध भएको हकमा कारोबारको वास्तविक लागत र लागत नखुलेको वा अप्रमाणित अवस्थामा अंकित मूल्य नै लागत, ख) बोनस सेयर र हकप्रदको हकमा अंकित मूल्य नै लागत, ग) लिलामी, पारिवारिक हस्तान्तरण, एफपीओ, मर्जर, खरिद सेयरको हकमा लगानीकर्ताले घोषणा गरेको वा अंकित मूल्य नै लागत, र घ) पहिलो खरिद पहिलो बिक्री (फिफो) सिद्धान्तका आधारमा बिक्री भएका सेयर र लागत समायोजन गरी बाँकी सेयरको भारित औसत विधिबाट लागत गणना गरिएको देखिन्छ ।

थप टिप्पणी १, २०७८ साउन १ बाट लागू अार्थिक अध्यादेश, २०७८ काे व्यवस्था बमाेजिम धारित (हाेल्ड) अवधिकाे अाधारमा ३६५ दिनसम्मलाइ अल्पकालीन मान्दै ७.५ प्रतिशत र ३६५ दिनभन्दा बढि हाेल्ड धिताेपत्रलाइ दीर्घकालीन मान्दै ५ प्रतिशत लाभकर लाग्छ । प्रचलित भारित अाैसत लागत गणना प्रणालीबाटै अल्पकालीन (Short term - ST) र दीर्घकालिन (Long term - LT) छुट्याउँछ । अाैसत लागत गणना गरिसेकेकाे छैन भने पहिले माइ पर्चेज साेर्स (MyPurchase Source) मा गएर WACC गर्नुपर्नेछ ।बिक्री गरेकाे धिताेपत्र इडिअाइएस (EDIS) गर्नु अगाडि LT वा ST काे घाेषणा र अनुमाेदन गर्नुपर्नेछ, यसकाे लागि पहिले बेचेकाे दिन,
१. माइ पर्चेज साेर्स (MyPurchase Source) मा गएर भारित अाैसत लागत  गणना र अनुमाेदन (WACC) गर्ने,
२. माइ हाेल्डिङमा (My Holding) मा गएर बेचेकाे धिताेपत्र (शेयर, डिबेन्चर, म्युचुअल फण्ड) छान्दै हाेल्ड अवधि (Holding Days) क्लिक गर्दै रूजु (Validate/update) गर्ने,
३. अब पहिले जस्तै माइ इडिअाएस (MyEDIS) काे ट्रान्सफर शेयर (Transfer Share) मा गएर शेयर हस्तान्तरण गर्ने ।

यदि मेराे शेयरकाे एप (MeroShare APP) प्रयाेग गर्नु हुन्छ भने पहिले प्लेस्टाेरबाट एप अपडेट गर्नुस् । त्यसपछि उल्लेखित प्रकृयाबाट माइ पर्चेज साेर्समा गएर हाेल्ड अवधि अनुमाेदन गर्नुस । थप जानकारीका लागि सिडिएससीले उपलब्ध गराएकाे लागत घाेषणा विधि (म्यानुअल) हेर्नुस अथवा ‘मेरो सेयर’ सुविधा र समस्या (dilipmuna.blogspot.com) मा शेयर हस्तान्तरणकाे टिप्पणी ५ पढ्नुस् ।


धितोपत्रका स्रोत र लागत

प्राथमिकमा अंकित मूल्य र ‘वाक’ विधिपछि दोस्रो बजारबाट खरिद धितोपत्रको लागत गणनामा खासै समस्या नभए पनि एकमुस्ट डिम्याट गरिएका, पारिवारिक हस्तान्तरण, लिलामी, गाभिएका कम्पनी, एकबाट अर्को डीपीमा स्थानान्तरित, पुराना प्रिमियम मूल्यमा खरिद आईपीओ र एफपीओ सबै प्रकारका सेयरको लागत अंकित मूल्य (रु. १ सय वा १०) मा राखिदिएका कारण लगानीकताहरूले छुट्टै लागत गणना र घोषणा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । तर, सम्बन्धित निकायले आधिकारिक निर्देशिका र विधि उपलब्ध नगराएको अवस्थामा निम्न स्रोतबाट प्राप्त धितोपत्रको निम्नानुसार लागत गणना र घोषणाको विकल्प देखिन्न ।

१. प्राथमिक बजारबाट खरिद
प्राथमिक बजारमा (अंकित वा प्रिमियमसहित) खरिद गरिएका सेयरको तिरिएको मूल्यलाई नै प्रमाणको जिम्मेवारीसहित लागत घोषणा गर्न सकिन्छ ।
थप टिप्पणी २, नयाँ सूचीकृत कम्पनीकाे हकमा प्रणाली (System) ले नै अंकित मूल्य रू १०० वा रू १० देखाउँछ, माइ पर्चेज साेर्स (My Purchase Source)मा गएर त्यसलाइ स्वीकृत गरे पुग्छ । 

२. बोनस र हकप्रद
कम्पनीहरूले जारी बोनस वा हकप्रद सेयरको यथार्थ लागतका सम्बन्धमा सरकार र लगानीकर्ताबीच फरक मत रहँदै आएको छ । विशेष गरी बोनस सेयरको वास्तविक लागत अंकित मूल्य (रु. १ सय), करसहितको मूल्य (रु. १ सय ५.२६) वा बोनस दरले समायोजित मूल्य भन्ने विवाद निरुपण उपायका रूपमा ल्याइएको भारित औसत लागत विधिले अंकित मूल्यलाई नै बोनस सेयरको लागत स्वीकारेको अवस्थामा बोनस र हकप्रद सेयरको समेत लागत रु. १ सय घोषणा गर्न सकिन्छ ।
थप टिप्पणी ३, बाेनस तथा हकप्रदकाे बुकक्लाेजसँगै मूल्य समायाेजन हुन्छ तर लागत गणनामा देखिँदैन । त्यसैले बाेनस र हकप्रद सूचीकृत नहुँदै मूल किताहरू बेच्दा अाैसत लागत समायाेजन हुँदैन । पछि बाेनस र हकप्रद सूचीकृत हुँदा यदि मूल किता बाँकि नभएकाे अवस्थामा सूचीकृत भएर प्राप्त हुने बाेनस रहकप्रदकाे लागत मूल्य रू १०० नै देखिन्छ जसले अनपेक्षित वा घाटामा करकाे सम्भावना रहन्छ । तसर्थ बुकक्लाेज पछि बाेनस वा हकप्रद सूचीकृत नहुँदासम्म मूल किता सबै खाली गरेर बेच्नुभन्दा केहि किता बाँकी राख्नु वा सूचीकृत भएपछि मात्र बेच्नु पर्छ ।  बुकक्लाेज र मूल्य समायाेजन सम्बन्धी जानकारीका लागि  लाभांश, बुक क्लोज र मूल्य समायोजन लेख पढ्न सक्नुहुन्छ ।
 
३. दोस्रो बजारबाट खरिद
दोस्रो बजारबाट किनिएको धितोपत्रको हकमा लागतमा ब्रोकर कमिसन, सेवोन शुल्क र डीपी शुल्क समेत जोडिएर आएको कुल लागत नै प्रणालीले देखाउने हुँदा प्रणालीले देखाएको लागतलाई आधिकारिक मान्न सकिन्छ । जस्तै, प्रतिकित्ता २ सयमा ५ सय कित्ता सेयर किन्दा लागत रु. १ लाखमा ब्रोकर कमिसन ५ सय ५० र सेवोन शुल्क १५ तथा डीपी शुल्क २५ समेत कुल लागत रु. १ लाख ५ सय ९० का आधारमा प्रणालीमा देखिने प्रतिकित्ता लागत रू. २०१.१८ हुन्छ । तर ‘वाक’ प्रणाली अगाडिका धितोपत्रहरूको लागत गणना र प्रमाणीकरण केही जटिल भए पनि निम्नानुसार गर्न सकिन्छ ।

क)   विभिन्न समयमा विभिन्न दरमा दोस्रो बजारबाट ‘खरिद मात्र’ भए खरिदको लागतमा हकप्रद र बोनसको प्रतिकित्ता रु. १ सयका दरले लागत जोडेर आउने कुल लागतलाई कुल कित्ताले भाग गरेर औसत लागत गणना र घोषणा गर्न सकिन्छ ।

ख)    विभिन्न समयमा विभिन्न दरमा ‘खरिद–बिक्री’ समेत भएको अवस्थामा पहिलो खरिदबाट पहिलो बिक्री (फिफो) विधिबाट कटाउँदै बाँँकी कित्ताको औसत लागत गणना गर्न सकिन्छ । यसमा आधिकारिक विधि उपलब्ध नहुँदा येनकेन गणना गरिएको लागतको प्रमाणिकरण भने कठिन छ ।

ग)   ‘वाक’ विधि अगाडिको खरिदबिक्री र पछिको खरिद अनि बिक्रीसमेत भएको ‘मिश्रित अवस्था’मा पुरानो वा एकमुस्ट डिम्याटमा आएका धितोपत्रको छुट्टै भारित औसत लागत गणना र घोषणा गर्दै पछिको खरिदको हकमा प्रणालीमा देखिएको लागत रुजु गरि अनुमोदन गर्न सकिन्छ ।

४. डीपी स्थानान्तरण
एउटा डीपीबाट अर्कोमा सेयर स्थानान्तरण गर्दासमेत हाल पुनः लागत गणना र घोषणा गर्नुपर्छ, सम्भवतः यो छिटै निरुपण हुनेछ । यदि पुरानो डीपीमा नै ‘वाक’ गरेको भए नयाँमा सोही लागत राखेर टिप्पणी (रिमाक्र्स) मा डीपी स्थानान्तरण लेख्नेबाहेक उपाय देखिन्न । पुरानो औसत लागत गणना नगरेको भए नयाँ डीपीमा एकमुस्ट प्राप्त देखिने सेयरको छुट्टै औसत लागत गणना र घोषणाको विकल्प देखिन्न ।

५. गाभिएर कायम सेयर
विभिन्न कम्पनी विभिन्न स्वापमा गाभिएर कायम सेयर कित्ताको लागत घोषणामा स्वाप र पुरानो लागतलाई ध्यान दिनुपर्छ । विगतमा यसरी कायम नयाँ सेयरको लागत अंकित मूल्य (रु. १ सय) नै आउँथ्यो र त्यसको पहिलेको औसत लागतलाई स्वाप रेसियोले कायम कित्ताको अनुपातले नयाँ लागत गणना गरेर कायम लागत घोषणा गर्नुपथ्र्याे । जस्तै, ओम विकास बैंकको औसत रु. २ सय ५० लागतको १ सय कित्ता सेयर एनएमबी बैंकसँगको स्वापका आधारमा ७६ कित्ता भएर आएको अवस्थामा नयाँ औसत लागत रु. ३ सय २८.९५ हुन्छ । तर, हाल गाभिनु अगाडि नै ‘वाक’ गरेमा नयाँ औसत लागत प्रणाली नै गणना गरिदिने हुँदा उक्त नयाँ लागत अनुमोदन मात्र गरे पुग्छ । जस्तै, सहयोगी विकास बैंकको औसत रु. २ सय ५० लागत गणना भइसकेको १ सय कित्ता सेयर सिटिजन्स बैंकको सेयर भएर आउँदा कायम ९१.७५ कित्ताको भारित लागत प्रणालीले नै प्रतिकित्ता रु. २७२.४८ (२५०/०.९१७५) गणना गरेर दिन्छ । तर, सहयोगीको पहिले नै ‘वाक’ नभएको अवस्थामा कायम ९१.७५ कित्ताको लागत प्रणालीले रु. १ सय देखाउँछ र आफूले यथार्थ लागत गणना गरेर लागत घोषणा गर्नुपर्नेछ ।

थप टिप्पणी–सुझाव, मर्ज वा प्राप्ति पछिकाे भारित अाैसत मूल्य सच्याउने वा ब्राेकर वा सिडिएसकाे झन्झटबाट जाेगिन पनि एकीकृत काराेवार अगाडि नै भएकाे सेयर किताकाे भारित अाैसत लागत गणना (WACC) गर्नु उपयुक्त हुनेछ । WACC गर्दैमा केहि बिग्रँदैन नगरे पछि किता स्वाप अनुसार र लागत अंकित मूल्यमा देखाउँछ । एकीकृत काराेवार वा सूचीकरण अगाडि WACC भएकाहरूकाे भने प्रणााली नै स्वाप अनुसार समायाेजित किता र लागत गणना गरेर डिम्याटमा पठाउँछ ।

 

थप टिप्पणी ४, विद्ममान कानुनी व्यवस्था अनुसार मर्ज वा प्राप्ति (एक्विजीसन) गरेका बैंक तथा वित्तिय संस्थाकाे हकमा धिताेपत्र बजारमा काराेवार शुरू हुनुभन्दा अघिल्लाे दिनसम्म कायम शेयरधनीहरूले यसरी काराेवार शुरूभएका मितिले २ वर्षसम्म पूँजीगत लाभकर (Capital Gain Tax - CGT) छुट पाउँछन् । उदाहरणका लागि ए र बि कम्पनीकाे शेयर नेप्सेमा ५ गते सूचीकृत भई संयुक्त काराेवार भएकाे अवस्थामा ए र बि कम्पनीका ४ गतेसम्म कायम शेयरधनीले ५ गतेबाट २ वर्षसम्म लाभकर छुट पाउँछन् । तर सिडिएससीकाे प्रणालीमा यस्ताे शेयर छुट्याउने व्यवस्था नभएकाे हुँदा बिक्री पश्चात् लगानीकर्ता स्वयमले संयुक्त काराेवार अगाडिकाे भनि लिखित स्वघाेषणा गर्नुपर्ने छ । यदि घाेषणा नगरिएकाे अवस्थामा WACC System ले देखाउने मूल्यका अाधारमा लाभकर गणना हुनेछ । त्यसैले लाभकरबाट जाेगिन निम्न मध्ये कुनै विकल्प अपनाउन सकिन्छ,

  • बिक्री गरी WACC गरिनसकेकाे अवस्थामा बिक्री मूल्य नै खरिद मूल्य राखेर रिमार्क्समा फलानाे कम्पनीसँग मर्ज वा एक्विजिसन अगाडिकाे भनेर उल्लेख गर्न सकिन्छ । बिक्री पश्चात् ब्राेकरलाइ तत्काल खबर गरी लागत घाेषणा फारम भरेर पठाउने र इडिअाइएस (EDIS) गर्न सकिन्छ ।
  • बिक्री पश्चात् इडिअाइएस (EDIS) नगरी डिअाइएस (DIS) बाेकेर वा भरेर ब्राेकरलाइ शेयर हस्तान्तरण गर्न सकिन्छ । डिअाइएसमा कैफियतमा स्पष्टसँग फलानाे कम्पनीसँग मर्ज वा एक्विजिसन अगाडिकाे भनेर उल्लेख गर्नुपर्छ ।

नाेटः लागत गणना  (Weighted Average Cost Calculation - WACC) सम्बन्धी थप जानकारीका लागि लगानीकर्ताकाे अाफ्नाे हुन नसकेकाे मेराे शेयर पढ्नुहाेस् ।

 
यसमा अार्थिक अध्यादेश, २०७८ ले आयकर ऐनको दफा ४७क. उपदफा ६ संशोधन गर्दै “उपदफा (१) अनुसार गाभिई निःसर्ग हुन चाहने एकै वर्गका निकायले संवत् २०७९ साल असारमसान्त भित्र गाभिने आशयपत्र आन्तरिक राजस्व विभागमा दिनुपर्ने” गरिएको छ । अब वाणिज्य–वाणिज्य बैंक, विकास–विकास बैंक र फाइनान्स (वित्तीय संस्था)–फाइनान्स आपसमा मर्ज/एक्विजिसन हुँदा मात्र लाभांश र लाभकर छुट हुनेछ । ऐनको दफा ४७क(४)ले गाभिई निःसर्ग भएको निकायमा कायम सेयरधनीहरूले आफ्नो सेयर गाभिएको दुई वर्षभित्र बिक्रीको माध्यमबाट निःसर्ग गरेमा भएको लाभमा पुँजीगत लाभकर तथा उपदफा (५) ले गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम सेयरधनीलाई वितरित लाभांशमा कर नलाग्ने व्यवस्था गरेको छ ।


  • नयाँ व्यवस्था, यस्ताे कर सुविधा २०७९ असारमसान्त भित्र मर्ज वा प्राप्तिकाे सम्झाैता गरेका कम्पनीले मात्र पाउने हुँदा २०७९ साउन १ पछि सम्झाैता गरेका कम्पनी (प्रभु र सेञ्चुरी)ले करगत (वितिय) सुविधा पाउने छैनन् । 

 

सुझाव–सजगता, लाभकर छुट पाउन बिक्री लगत्तै ब्राेकरलाइ सम्पर्क गरेर मिल्ने अवस्थामा मेराे सेयरबाट लागत मिलाउने वा मर्ज वा प्राप्तिकाे भनेर लागत घाेषणा गर्दै छुट दावी गर्नुपर्छ । छुट दावी नगरी बिक्री पछि मेराे सेयरबाट सेयर हस्तान्तरण गरे पश्चात् प्रणालीले कर गणना गरिसकेपछि कायम कर रकम पुनरावलाेकनकाे गुन्जायस निकै कम हुन्छ । त्यसैले  लागत घाेषणाकाे फारम ब्राेकरले उपलब्ध गराउँछ वा उसकाे वेबसाइटमा हुनसक्छ । लागत परिमार्जन वा छुट दावी पछि पनि करकाे अन्तिम दायित्व भने बिक्रेतामा नै रहन्छ । 


थप टिप्पणी, मर्ज वा प्राप्ति अगाडि वाक नगरिएकाे अवस्थामा मर्ज वा प्राप्ति पछाडि वाक अंकित मूल्य वा रू १०० नै देखाउँछ, यसलाइ सच्याउन परेमा हाल सिडिएसले भ्यू हिस्ट्रि मार्फत लागत सच्याउने व्यवस्था गरेकाे छ । यहाँ लागत रूजु गरि भारित अाैषत लागत सुधार्न सकिन्छ । रूजु गरिसकेपछि गल्ति भएमा भने सिडिएसमा नै गएर लागत मूल्य रिसेट गराउनु पर्ने हुन्छ, जसकाे विधि तल दिइएकाे छ ।



६. लिलामीबाट खरिद
कम्पनीहरूबाट लिलामीमा बिक्री सेयरमा आफूले तिरेको लागत नै प्रमाणको जिम्मेवारीसहित लागत घोषणा गर्न सकिन्छ ।

तालिकाः भारित औसत लागतको गणनाको नमुना

खरिद मिति

खरिद किता

खरिद दर (रु)

कुल लागत (रु)

खुद लागत

बिक्री मिति

बिक्री किता

बाँकि किता

औसत लागत (रु)

२०७१/१०/२१

११०

३०१

३३,४५१

 

 

 

११०

३०४.१०

२०७१/१०/२१

३१६

३००

९५,६७२

३०२.७६

 

 

४२६

३०३.११

२०७१/१२/१३

३९४

२७७

११०,१४२

२७९.५५

 

 

८२०

२९१.७९

 

 

 

 

 

२०७२//

२००

६२०

२९१.७९

 

 

 

 

 

२०७२//१०

४६६

१५४

२९१.७९

२०७२//२६

१०००

२६७

,६९,४४८

२६९.४५

 

 

११५४

२७२.४३

बोनस शेयर

७८

१००

२९,९००

१००

 

 

१२३२

२७९.४७

२०७२//२९

१०००

२४०

,४२,२०१

२४२.२०

 

 

२२३२

२६२.७७

गाभिएर प्राप्त

१५००

२५०

,७५,०००

२५०

 

 

३७३२

२५७.६४

बोनस शेयर

१०७

१००

१०,७००

१००

 

 

३८३९

२५३.२५

हकप्रद

१५३६

१००

१५३,६००

१००

 

 

५३७५

२०९.४५

 

 

 

 

 

२०७४//

१०००

४३७५

२०९.४५

 

एकमुष्ट किता (डिम्याट वा डिपीबाट वा भारित अगाडि कायम)

४३७५

२०९.४५

२०७४/१०/

५००

१७७

८९,०२५

१७८.०५

 

 

४८७५

२०९.४५

बोनस

५००

१००

५०,०००

१००

 

 

५३७५

१९६.३५

२०७६//२३

१५०

१३७

२०,७०१

१३८

 

 

५५२५

१९४.७७

खुद लागत प्रकाशितमा नभएकाे

सावधानी र सुझाव

१.  लागत गणना र घोषणाको दायित्व निर्वाह गर्दासमेत असीमित करको जोखिम रहनेतर्फ सचेत हुँदै प्रणाली वा स्वगणनाको हिसाब रुजु गर्दै सुनिश्चित भएपछि मात्र अनुमोदन गर्नुपर्छ ।

२.  हाल भारित औसत लागत घोषणा गरेपछि सच्याउने विकल्प रहन्न । कतिपय अवस्थामा मानवीय वा प्राविधिक कारण हुन सक्ने यस्ता त्रुटि रेकर्ड राखेर सच्याउने विकल्प दिनैपर्छ ।

थप टिप्पणी ३, हाल भूलबस हुने गलत लागत घाेषणा सच्याउने विकल्प उपलब्ध गराएकाे छ । यसकाे लागि WACC Reset गर्नुपर्ने कम्पनीकाे विवरण, नागरिकता, शुल्क (हाल रू. १००) तिरिएकाे भाैचर 
सहित सिडिएसकाे कार्यालयमा स्वयम उपस्थित भएर मूल्य रिसेट गराउन सकिन्छ । फारम यहाँ क्लिक गरेर वा सिडिएसकाे वेबसाइटबाट डाउनलाेड गरेर भर्न सकिन्छ । 
 

३.  हाल प्रणालीबाट प्राप्त वा स्वगणना लागतबाट भविष्यमा सिर्जना हुन सक्ने करको जोखिम उन्मुक्ति पाउन सकिन्न । अब नियमसंगत घोषित लागतको असिमिति जोखिमबाट मुक्ति दिनैपर्छ । निश्चित अवधिभित्र सम्बन्धित निकायबाट रुजु गर्ने र कुनै टिप्पणी नभएमा कर प्रयोजनका लागि स्वतः अन्तिम मानिनुपर्छ ।

४.  ‘मेरो सेयर’बाट बिक्रीको सेयर विद्युतीय हस्तान्तरण (इडिआइएस) गर्न डिम्याटमा भएका सबै धितोपत्रहरूको ‘वाक’ भएको हुनैपर्ने अवस्थामा लागत र करको केही जोखिम लिनु वा बेचेको सेयरको कागजी डीआईएस (भुक्तानी पुर्जी) दिनुको विकल्प रहन्न ।

५.  हकप्रद र बोनसको बुक क्लोजपछि मूल सेयर घाटामा बेच्दासमेत हकप्रद र बोनसको लागत अंकित मूल्य नै  कायम हुने अवस्थामा लागत मूल्य र थप करसहित दोहोरो नोक्सानी हुन्छ । नियामक र सरकारले बुक क्लोज र मूल्य समायोजन विधिमा पुनरावलोकन गर्दै बोनस वा हकप्रदको समायोजित मूल्यलाई लागत घोषणा गर्ने विकल्पमा जानुपर्छ ।

६.  प्रिमियम मूल्यमा सेयर बेच्ने कम्पनीले सोको आधिकारिक प्रमाण र लिलामीको हकमा सकारेको मूल्यको प्रमाण उपलब्ध गराइनुपर्छ ।

(व्यावहारिक अनुभवका आधारमा सुझाइएको लागत विधिबाट कुनै लागत वा करको जोखिम सिर्जना भएमा त्यसको जिम्मेवार लेखक वा पत्रिका हुनेछैन ।)
काराेवार दैनिकमा २०७७ असाेज ११ गते प्रकाशित, https://www.karobardaily.com/news/118522
Revised and/or updated on 01 Aug 2023, 09.40 NST