Sunday, March 25, 2018

बियरिस र बियरिस ट्र्याप

सेयर बजारमा सशक्त मोलमोलाइयुक्त क्षमता राख्ने क्रेता तथा विक्रेता हुने भएकाले यो अत्यन्तै गतिशील, उतारचढावपूर्ण, संवेदनशील र जोखिमपूर्ण हुन्छ । सामान्यत: क्रेता र विक्रेता सामान्य रहेको नियमित अवस्था (रेगुलर मार्केट), विक्रेता हाबी भएको तीव्रता (बुल मार्केट) र क्रेता हाबी भएको मन्दी (बियरिस मार्केट) देख्न सकिन्छ । यी तीनै अवस्था एउटा चक्रमा घुमिरहन्छन् । प्रत्येक अवस्थामा व्यक्तिगत लगानी क्षमता तथा कारोबार रणनीतिअनुसार किन्ने, बेच्ने वा तटस्थ रहने विकल्प हुन्छ । 

लगानीकर्ताहरू सदैव सेयरको मूल्य बढेको देख्न चाहे पनि राष्ट्रिय-अन्तर्राष्ट्रिय, देशीय आर्थिक–सामाजिक अवस्था, सरकारी नीति, माग तथा आपूर्तिको अवस्था, वैकल्पिक लगानीका क्षेत्रमा पाइने मुनाफा र लगानीकर्ता एवम् कारोबारीको मनस्थिति आदिले मूल्य प्रभावित हुन्छ । बुल बजारमा (१) लोभलालचले किन्न उक्साउँछ, (२) पैसा जोगाउन गाह्रो हुन्छ र (३) विक्रेता हाबी हुन्छन् । बियरिसमा (१) कारोबारी सेयरको घट्दो मूल्यबाट त्रसित हुन्छ, (२) भएको सेयर जोगाउन निकै गाह्रो हुन्छ, (३) बजारमा क्रेता हाबी हुन्छन् । बुल र बियरिस सेयर बजारका अविभाज्य हिस्सा भएकाले एकले अर्कोलाई पछ्याउने र निम्त्याउने समेत गर्छन् । बुल र बियरिस दुवै अवस्थामा लगानीकर्ता र कारोबारीहरूलाई फसाउन निहित स्वार्थ भएको समूहले पासो (ट्र्याप) थाप्छन् । त्यसैले तुलनात्मक रूपमा ‘बियरिस ट्र्याप’ बढी हानिकारक वा जोखिमपूर्ण हुन्छ ।

बियरिस अवस्था

‘बियरिस’ भनेको बजारको घट्दो अवस्था हो । कारोबारीहरू हतोत्साही, निराश, त्रसित र अन्योलपूर्ण बनेर नकारात्मक मनोबलयुक्त मनस्थिति बनाई भविष्यमा बजार थप घट्ने सोचमा नोक्सानी कम गर्न आतुर हुन्छन् र बजारमा घाटाको सम्भावना मात्र देख्छन् । धेरैले स्विकारेको परिभाषाअनुसार बजार ६० दिनसम्म घट्दो अवस्थामा रहेर २० प्रतिशत वा सोभन्दा बढीले घटेको अवस्थालाई बियरिस मानिन्छ, तर २० प्रतिशतभन्दा बढीले घटेको अवस्था दुई महिनाभन्दा कम कायम रहेमा करेक्सन मानिन्छ । बियरिस अवस्थामा लगानीकर्ताहरूले बजारप्रतिको भरोसा गुमाउँछन् र सेयरको मागमा निकै कमी आउँछ । अर्थतन्त्रमा मन्दी, उच्च बेरोजगारी र उच्च मुद्रास्फीतिको अवस्थामा यस्तो स्थिति देखा पर्छ ।बियरिस अवस्था (१) लामो अवधि, (२) नियमित वा मौसमी (सिजनल) र (३) निकै छोटो हुन सक्छ । बढ्दो (बुल) को अन्त्य आकलन गर्न नसकिएजस्तै बियरिसको पनि सुरु वा अन्त्य कुन बिन्दुमा कहिलेबाट हुन्छ, आकलन र यकिन गर्न सकिन्न ।

बियरिस कि करेक्सन ?

चालू आर्थिक वर्षको पहिलो दिन १५८३.५७ बाट बढ्दै २०७४ साउन २३ मा १६६७.९४ उच्च बिन्दु कायम गरेको नेप्से परिसूचक साउन २२ गतेदेखि घट्दै २०७४ चैत ८ गते १२२०.४४ न्यूनतम बिन्दुमा पुगेको छ । यसरी परिसूचक वर्षको उच्च बिन्दुबाट करिब २६.८३ प्रतिशतले घटेको देखिन्छ । यसबीचमा सामान्य उतारचढाव पनि भएको छ । यस आवको न्यूनतम बिन्दु १२२०.४४ मा समेत कारोबार रकम बढ्दै ४४ करोड रुपैयाँको हुनुले बजार सिजनल बियरिस, बियिरसको मध्य वा अन्तिम बिन्दु भन्ने निश्चित देखिँदैन । अझ सस्तोमा पाए जति कित्ता पनि किन्ने क्रेता देखिँदा बजारमा लगानीकर्ताहरूको भरोसा कायम रहेको अवस्थामा कतै आमलगानीकर्ता फसाउन थापिएको ‘बियरिस ट्र्याप’ हो कि भन्ने आशंकासमेत देखिएको छ । आवको उच्च बिन्दुबाट घटेको बजार परिसूचकका आधारमा भने अहिलेको अवस्थालाई बियरिस मान्नुपर्ने हुन्छ, तर अन्य सूचकहरूले सिजनल बियरिस वा करेक्सनको अवस्थालाई समेत इंगित गरेको छ ।

बियरिस ट्र्याप

आमलगानीकर्ताहरू बुल ट्र्यापमा पर्नेमा सचेत हुन्छन्, तर बियरिस वा सामान्य अवस्थामा सस्तोमा किन्न पासो थापिने सम्भावना र यथार्थलाई अस्वीकार गर्छन् । सैद्धान्तिक रूपमा ‘बियरिस ट्र्याप’ भन्नाले बजारको बढ्दो वा बढ्ने सम्भावनालाई दिग्भ्रमित पारेर वा बियरिसको सङ्केत गराएर सेयर बेच्न उक्साउनु हो । मूल्यमा गिरावट आउने परिस्थिति तयार गरी सस्तोमा अरूसँग रहेको सेयर किन्न यस्तो विधि अपनाइन्छ । पासो थाप्नेको जालमा परेर सेयरधारकहरू मूल्य साँच्चै घट्छ भन्ने कुरामा विश्वस्त हुँदै भएको सेयर बेचेर अझ कम मूल्यमा किन्ने योजना बनाउँछन् । तर, विडम्बना न त बजार मनोगत न्यूनतम बिन्दुमा पुग्छ, न त कम मूल्यमा सेयर किन्न सफल हुन्छ । बेचेकोमा पछुताउनु वा बेचेको मूल्यभन्दा बढी मूल्यमा किन्नुको विकल्प रहन्न । तथ्यांक र बजार विश्लेषणका आधारमा ‘बियरिस ट्र्याप’ केही आकलन गर्न सम्भव भए पनि सामान्यत: अल्पकालीन अवस्थालाई हेरेर बजार साँच्चैको ‘बियरिस’ वा ‘बियरिस ट्र्याप’ भन्न गाह्रो हुन्छ ।

‘बियरिस ट्र्याप’ बाट बच्ने उपाय‘बियरिस ट्र्याप’बाट बच्न बजारको गहन विश्लेषण र यथार्थ आकलन हो । यसका लागि विगतको तथ्यांक, कारोबारको स्वाभाविकता, घट्दो र उतारचढाव अवस्थाको अध्ययन गर्नुपर्छ । किन्नेले कसरी किनिरहेको छ ? आज बेचेको सेयर पुन: बिक्री मूल्यभन्दा कममा खरिदको सम्भावना र क्षमता हुन्छ वा हुँदैन ? केलाइनुपर्छ । बजार विश्लेषणबाट बियरिस देखिएमा रणनीतिअनुसार (१) घाटा कम गर्ने, (२) भएको सेयर बेचेर अन्यत्र लगानी वा बचत गर्ने, (३) अहिले बेचेर पछि सस्तोमा किन्ने विकल्प रोज्न सकिन्छ । तर, बजारमा पासो थापिएको अवस्था वा पुन: किन्न नसकिने अवस्थामा आफूसँग भएको सेयरलाई बचाउन सक्नुमै बुद्धिमानी हुनेछ ।जसरी बढ्दो बजारमा पैसा जोगाउन गाह्रो हुन्छ, घट्दो बजारमा सेयर जोगाउन त्यत्तिकै गाह्रो हुन्छ । अझ पासो थापिएको अवस्थामा बेच्न उक्साहित पारिन्छ । यस्तो अवस्थामा लगानीकर्ताले निम्न उपाय अपनाउन सकिन्छ :

१. लगानी वा कारोबार रणनीति पुनरावलोकन : बजारको वास्तविक अवस्था, आफ्नो पोर्टफोलियो र कम्पनीहरूको आधारभूत अवस्था, बजारमूल्यमा उतारचढावसमेतको अध्ययन गरी जोखिम बहन क्षमता, लगानीको स्रोत, लागत (ब्याज) र वैकल्पिक अवसरको पुनरावलोकन गरी तटस्थ बस्ने, घाटा कम गर्ने (स्टप लस), थप लगानी गर्ने, औसत लागत घटाउने, लगानी गरिएका कम्पनी परिवर्तन गर्ने वा किनबेच गर्ने रणनीति अपनाउन सकिन्छ । यस्तै बजार थप तलमाथि हुँदा कतिसम्म जोखिम लिने, बैंकबाट लिएको ऋणको साँवाब्याज भुक्तानी कसरी गर्नेसमेतको पूर्वतयारी गर्नुपर्छ ।

२. तटस्थ रहने : यसलाई ‘पर्ख र हेर वा होल्ड’ रणनीति पनि भनिन्छ । यसमा सेयरको बजारमूल्य जति नै तलमाथि भए पनि किनबेच नगरी तटस्थ बसिन्छ । यसको बेफाइदा वा लागत भनेको (क) केही महँगोमा बेचेर पुन: सस्तोमा किन्ने, (ख) छोटो अवधिमा मुनाफा कमाउने, र (ग) सस्तोमा किनेर औसत लागत घटाउने अवसरबाट वञ्चित हुनुपर्नेछ । पासो थाप्नेले कुनै पनि तरिकाले बजारमा सेयरको मूल्य घटाउन खोजे पनि सेयरधारकले बिक्री नगरी तटस्थ बसेको अवस्थामा मूल्य बढाउनु वा स्थिर रहनुको विकल्प रहन्न । बियरिस र ‘बियरिस ट्र्याप’को अवस्थामा लगानीकर्ताको सबैभन्दा चुनौती नै सेयरको कित्ता जोगाउनु वा बढाउनु हो । यसको सबैभन्दा उपयुक्त रणनीति तटस्थ रहने हो ।

३. छोटो अवधिको कारोबार गर्ने : बियरिस र ‘बियरिस ट्र्याप’ अन्तर्राष्ट्रिय रूपमा अपनाइने कारोबार रणनीति ‘सर्ट सेल’ हो । नेपालमा ‘इन्ट्रा डे’ (सोही दिन किनबेच) र कमोडिटीमा जस्तो ‘फ्युचर ट्रेड’ को प्रावधान नभएको अवस्थामा ‘सर्ट सेल’ सहज र व्यावहारिक छैन । यहाँ स–सानो कारोबार गर्ने विकल्प भने अपनाउन सकिन्छ ।

४. किन्ने : कसैले किन्ने मनसायले बजारमा बेच्नेहरूलाई उक्साउन पासो थापेको थाहा भएमा सकेको किन्ने प्रयास गर्नुपर्छ । सेयर बजारको बियरिस अवस्था भनेको बजारले दिएको किन्ने अवसर पनि हो । पछि बेच्न र औसत लागत घटाउन पनि किन्नुपर्ने हुन्छ । बियरिसको अन्तिम बिन्दु वा ‘बियरिस ट्र्याप’ को अवस्थामा भने केही नाफा भएका वा कम घाटा भएका सेयर बेचेर भए पनि भविष्यमा बजारको तुलनामा बढी मुनाफा दिने, निकै मूल्य घटेका, घाटा बढी भएका कम्पनीको सेयर किन्नुपर्ने हुन्छ ।

५. बेच्ने : घट्दो बजारमा घाटा कम गर्न ‘स्टप लस’ रणनीतिअनुरूप बेच्ने गरिन्छ । यस्तै बजार थप घट्ने वा निकै लामो समय बियरिस अवस्थामा रहने पुष्टि भएको अवस्था र बियरिसको सुरुवाती चरणमा सेयर बेच्नु राम्रो विकल्प हुन सक्छ, तर बियरिस बजार निकै सुस्त र लगानीकर्ताहरू नकारात्मक र त्रसित हुने हुँदा बेच्न पनि त्यति सहज हुन्न । किन्नेले आफ्नो मूल्यमा किन्न र ‘पर्ख र हेर’को मनस्थितिमा हुन्छ । ‘बियरिस ट्र्याप’ मा भने यो निकै जोखिमपूर्ण हुन सक्छ ।

निष्कर्ष

सेयर बजारमा बियरिस ‘मन नपरेको पाहुना’ हो भने ‘बियरिस ट्र्याप’ चातुर्य व्यक्तिले थापेको पासो हो । आमरूपमा तटस्थ रहनु पहिलो, किन्नु दोस्रो र बेच्नु अन्तिम विकल्प हुन सक्छ । ‘हूलमूलमा जीउ र अनिकालमा बीउ जोगाउनु’ भनेजस्तै सेयर बजारको बुलमा पैसा जोगाउनु र बियरिसमा कित्ता जोगाउनु वा थप्नु नै बुद्धिमानी हुन्छ ।

काराेवार दैनिकमा २०७४ चैत ११ गते प्रकाशित

Monday, March 12, 2018

बैंक मौज्दातमुखी हुँदै म्युचुअल फन्डहरू

सामूहिक लगानी कोषसम्बन्धी कानुनको निर्माणपश्चात् नेपाली धितोपत्र बजारमा सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरूको उपस्थिति अहिले १४ पुग्न लागेको छ । लगानीयोग्य ससाना रकम एकत्रित गरी धितोपत्र बजारलाई चलायमान बनाउन यिनीहरूको उल्लेख्य भूमिका रहनेमा दुईमत रहन्न । सामूहिक हित र जोखिम न्यूनीकरण सिद्धान्तका आधारमा मुनाफा बाँडफाँड तथा जोखिम वहनका लागि स्थापित तथा सञ्चालित कोष नै सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्ड हुन् ।

बजारमा विद्यमान म्युचुअल फन्डहरू

नेपाली धितोपत्र बजारमा सामूहिक लगानीसम्बन्धी कानुन नआउँदै एनआईडिसी क्यापिटल मार्केट्सले पहिलो पटक ‘एनसिएम म्युचुअल फन्ड’ को नाममा १० वर्ष म्युचुअल फन्ड सञ्चालन गरेको थियो । सामूहिक लगानी कोष नियमावली–२०६७ र निर्देशिका आएपछिको पहिलो म्युचुअल फन्डका रूपमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ ले भर्खरै अवधि पूरा गरी रकम फिर्ता भुक्तानीको प्रक्रियामा रहेको छ ।

हाल बजारमा (१) ग्लोबल आईएमइ सम्मुन्नत योजना–१ (जीआईएमईएस–१), (२) लक्ष्मी इक्विटी फन्ड (एलईएमएफ), (३) लक्ष्मी भ्यालु फन्ड–१ (एलभीएफ–१), (४) नबिल ब्यालेन्स फन्ड–१ (एनबीएफ–१), (५) नबिल इक्विटी फन्ड (एनईएफ), (६) एनआईबीएल प्रगति फन्ड (एनआईबीएलपीएफ), (७) एनआईबीएल समृद्धि फन्ड–१ (एनआईबीएलएसएफ–१), (८) एनएमबी हाइब्रिड फन्ड–१ (एनएमबीएचएफ–१), (९) एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ (एनएमबीएसएफ–१), (१०) सानिमा इक्विटी फन्ड (एसएईएफ), (११) सिद्धार्थ इक्विटी फन्ड (एसईएफ) र (१२) सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम (एसईओएस) समेत १२ वटा म्युचुअल फन्डहरू सञ्चालित छन् । यस्तै हालै जारी भएका सिटिजन्स म्युचुअलफन्ड–१ र एनआईसी एसियाग्रोथ फन्डसहित बजारमा १४ वटा म्युचुअल फन्डहरूको उपस्थिति रहने देखिन्छ । धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा रहकोे ग्लोबल आईएमई ब्यालेन्स फन्ड र खुलामुखी एनआईबीएल सहभागिता फन्डसमेतको उपस्थितिपछि बजारमा १६ वटा म्युचुअल फन्डको उपस्थिति हुनेछ । नागरिक लगानी कोषले पनि खुलामुखी प्रकृतिको नागरिक एकांकी योजना सञ्चालन गरेको छ । खुलामुखी म्युचुअल फन्ड स्टक एक्सचेन्जमा सूचीकरण भएर कारोबार नहुने प्रकृतिका हुन्छन् ।

कोषहरूको आकार र अवधि 

सञ्चालनमा रहेका १२ वटा म्यचुअुल फन्डले कुल १२ अर्ब ५ करोड रुपैयाँको कोष परिचालन गरिरहेका छन् । सबैभन्दा सानो एलभीएफ–१ सँग ५० करोड र सबैभन्दा ठूलो एसईएफसँग १ अर्ब ५० करोडको कोष रहेको छ । बजारमा ५० करोडको एउटा, ७५ करोडको दुईवटा, १ अर्बको चारवटा, १ अर्ब २५ करोडको दुईवटा, १ अर्ब ३० करोडको एउटा र १ अर्ब ५० करोडको एउटा म्युचुअल फन्ड सञ्चालनमा छन् । यिनीहरूमध्ये एसईओएस, एलभीएफ–१, एनबीएफ–१ र एनएमबीएसएफ–१ को अवधि पाँच वर्ष, एसईएफको १० वर्ष तथा बाँकी ७ वटाको सातवर्ष अवधि रहेको छ । 

कोषको लगानी प्रावधान 

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ ले योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा (क) कुनै एक संगठित संस्थाको साधारण सेयरमा त्यस संस्थाको कुल चुक्तापुँजीको १० प्रतिशतभन्दा बढी नहुने, (ख) कुनै एक संगठित सस्थाले निष्कासन गरेको अग्राधिकार सेयर वाडिबेन्चरको २० प्रतिशतभन्दा बढी नहुने, (ग) कुनै एक संगठित संस्थाको धितोपत्र योजनाको कुल रकमको १० प्रतिशतभन्दा बढी नहुने, (घ) अन्य सामूहिक लगानीकोषअन्तर्गतको योजनामा आफ्नो योजनाको २० प्रतिशतभन्दा बढी नहुने, (ङ) बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी र (च) मुद्राबजार उपकरणमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्न सकिने व्यवस्था गरेको छ । यस्तै नियम ३७ मा प्रचलित कानुनको अधीनमा रही कुनै योजनाको कुल रकमको बढीमा २५ प्रतिशत रकमसम्म विदेशी धितोपत्र बजारमा लगानी गर्न सकिने व्यवस्था गरेको छ । 

कोष परिचालनको विद्यमान अवस्था 

जुनसुकै नामबाट सञ्चालित भए पनि नेपालको सन्दर्भमा म्युचुअल फन्डहरूले लगानी गर्ने भनेको सेयर, ऋणपत्र-डिबेन्चर र मुद्दती निक्षेप नै हो । 

(क) मुद्दती निक्षेप 
सामूहिक लगानी कोष नियमावलीमा तोकिएको बैंक निक्षेपलाई नै मुद्दती निक्षेप मान्ने हो भने जीआईएमईएस–१, एलभीएफ–१, एनबीएफ–१, एनईएफ, एनआईबीएलएसएफ–१ र एसईएफ–१ ले तोकिएको लगानी सीमा १० प्रतिशत नै बैंक निक्षेप राखेका छन् । उता एसईओएसले १३.५, एसएईएफ तथा एलईएमएफले २०, एनएमबीएसएफ–१ ले दीर्घकालीन एवम् पूर्वभुक्तानी गर्न मिल्नेसमेत गरेर २९.३३, एनएमबीएचएफ–१ ले ५४, एनआईबीएल प्रगति फन्ड शून्य प्रतिशत मुद्दती निक्षेप राखेको देखिन्छ । 

(ख) डिबेन्चर-ऋणपत्र 
निश्चित आम्दानीको अर्को उपकरण डिबेन्चर-ऋणपत्रमा निकै कम लगानी रहेको छ । ६ वटाले शून्य, जीआईएमईएस–१ ले १, एनएमबीएसएफ–१ ले १.८७, एसईओएसले २.६, एनईएफले ४, एनआईबीएलएसएफ–१ ले ४.३ तथा सबैभन्दा बढी एनएमबीएचएफ–१ ले ५ प्रतिशत लगानी गरेका छन् । 

(ग) सेयरमा लगानी 
म्युचुअल फन्डको मुख्य लगानी क्षेत्रका रूपमा रहेको सेयरमा रु. १४.६ देखि ९९.५ करोड (११.२७ देखि ९९.५ प्रतिशत) सम्म लगानी गरेका छन् । कुल १२ अर्ब ५ करोडमध्ये ७ अर्ब २२ करोड अर्थात् औसतमा ६० प्रतिशत सेयरमा लगानी गरेका छन् । भर्खर लगानी प्रारम्भ गरेको एसएईएफले सबैभन्दा कम ११.२७, एसईएफ–१ ले २२.२३, एनएमबीएचएफ–१ ले ३३.८५, एनएमबीएसएफ–१ ले ५३.११, एलईएमएफले ६२.६८, एनबीएफ–१ ले ६२.८, जीआईएमईएस–१ ले ७६.६३, एनईएफले ७८.४६, एलभीएफ–१ ले ८३.४९, एसईओएसले ८७.५५, एनआईबीएलपीएफले ९६.३६ र एनआईबीएलएसएफ–१ ले सबैभन्दा बढी ९९.५ प्रतिशत सेयरमा लगानी गरेका छन् । 

(घ) बैंक मौज्दात 
म्युचुअल फन्डहरूले मुद्दतीबाहेक ठूलो रकम बैंकका विभिन्न खाताहरूमा राखेका छन् । आगामी चैतमा समयावधि सकिने एनबीएफ–१ ले रु. ६०.५८ करोड (८०.७८ प्रतिशत), एसईएफले रु. ११६.६६ करोड (७७.७७ प्रतिशत) र एसएईएफले रु. ९०.२६ करोड (६९.४३ प्रतिशत) रकम लगानी नगरी बैंकमा राखेका छन् । यस्तै एनएमबीएसएफ–१ ले रु. ३० करोड (४०.०५ प्रतिशत), एलभिएफ–१ ले रु. ११.५६ करोड (२३.१३ प्रतिशत), एनईएफले रु. २८.८४ करोड (२३.०८ प्रतिशत), एलईएमएफले रु. २२.२८ करोड (१७.८२ प्रतिशत), एनएमबीएचएफ–१ ले रु. १६.७३ करोड (१६.७३ प्रतिशत), एनआईबीएलएसएफ–१ ले रु. १५.७३ करोड (१५.७३ प्रतिशत), जीआईएमईएस–१ ले रु. १४.४७ करोड (१४.४७ प्रतिशत) र सबैभन्दा कम एनआईबीएलपिएफले रु. ४.५५ करोड (६.०७ प्रतिशत) रकम बैंक खाता राखेका छन् । 

यसरी म्युचुअल फन्डहरूले औसतमा ६० प्रतिशत सेयरमा, १६.६ प्रतिशत मुद्दतीमा र १.६ प्रतिशत ऋणपत्र-डिबेन्चरमा लगानी गरेका छन् । बाँकी रकम र लगानीबाट कमाएको समेत माघ मसान्तसम्म १२ म्युचुअल फन्डहरूले ४ अर्ब ३२ करोड अर्थात् कुल कोषको औसत ३६ प्रतिशत हाराहारी मुद्दतीबाहेकको खातामा राखेका छन् । मुद्दतीसमेत यिनीहरूले कुल कोष रु. १२ अर्ब ५ करोडको ५३ प्रतिशत रु. ६ अर्ब ३३ करोड हाराहारी बैंकमा थुपारेका छन् । हालै जारी सिटिजन्स म्युचुअलफन्ड–१ र एनआईसी एसियाग्रोथ फन्डले समेत करिब १ अर्ब ६० करोड बजारबाट संकलन गरेका छन् । यसरी म्युचुअल फन्डहरू लगानी गर्ने भन्दा प्रवद्र्धक बैंकहरूका लागि रकम संकलन गर्ने, व्यवस्थापन शुल्क प्राप्त गर्ने र कोष सुपरिवेक्षकहरू पाल्ने माध्यम बन्न थालेका छन् । अवधि समाप्ति हुन लागेको एनबीएफ–१ ले सम्पत्तिलाई नगदमा परिणत गर्नु त स्वाभाविक होला, तर एनएमबीका दुवै कोष र एसईएफले बैंकमा पैसा थुपारेर बस्नु त्यति स्वाभाविक मान्न नसकिएला । 

अझ रमाइलो त बजारमा सेयरको मूल्य निकै न्यून बिन्दुमा पुगेको अवस्थामा समेत आफूसँग भएको रकमले सेयरको औसत लागत घटाउनतर्फ नलागी बैंकमै राख्न अग्रसर देखिएका छन्। आमलगानीकर्ताहरूका अनुसार कोषहरूले बजारबाट रकम संकलन गरेको रकम व्यक्तिगत लगानीकर्ताहरूकै हातमा नै भएको भए सीधै सेयरमा लगानी हुने सम्भावना रहन्थ्यो। 

यसरी म्युचुअल फन्डहरूले जोखिम व्यवस्थापनको नाममा ब्याजलाई मात्र प्राथमिकता दिने हो भने उनीहरूको लगानी तथा जोखिम व्यवस्थापन क्षमतामाथि नै प्रश्न उठ्ने मात्र होइन, भविष्यमा निष्कासन हुने म्युचुअल फन्डका एकाइहरू नबिक्ने अवस्था आउन सक्छ । त्यसैले म्युचुअल फन्डहरूले उद्देश्यअनुरूप नै लगानी व्यवस्थापन गरी एकाइधनी र समग्र सेयर बजारको नियमितता र स्थिरतामा समेत लाग्नुपर्छ । नियामक निकायहरूले समेत म्युचुअल फन्डहरूको कोष परिचालनको अवस्था विश्लेषण गर्दै तोकिएको सीमाअनुरूप लगानीका लागि प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।

माघ मसान्तमा म्युचुअल फण्डहरुको अवस्था
(कोषको आकार, खुदसम्पत्ति, मुद्धति, डिबेन्चर र बैंक मौज्दात रकम करोडमा)
म्युचुअल फण्ड
कोषको आकार
अवधि (वर्ष)
खुद सम्पतिको मूल्य–न्याभ (रु)
खुद सम्पति
शेयरमा लगानी
मुदति
डिबेन्चर
प्रतिशत
बैंक मौज्दात
रकम
प्रतिशत
रकम
रकम
प्रतिशत
जिआईएमईएस–१
१००
९.३८
९३.७५
७६.६२
७६.६२
१०
११.००
१४.४७
१४.४७
एलईएमएफ
१२५
९.१५
११४.३८
७८.३५
६२.६८
२५
२०.००
२२.२८
१७.८२
एलभिएफ–१
५०
११.२१
५६.०३
४१.७४
८३.४९
१०.००
११.५६
२३.१३
एनबिएफ–१
७५
१८.०३
१३५.२०
४७.०९
६२.८०
७.५
१०.००
६०.५९
८०.७८
एनईएफ
१२५
९.०८
११३.४९
९८.०७
७८.४६
१२.५
१७.००
२८.८४
२३.०८
एनआईविएलपिएपफ
७५
८.७३
६५.४८
७२.२७
९६.३६

४.५५
६.०७
एनआईविएलएसएफ–१
१००
१२.२०
१२२.२८
९९.४९
९९.५०
१०
४.३
१४.३०
१५.७३
१५.७३
एनएमबीएचएफ–१
१००
१०.३४
१०३.४३
३३.८५
३३.८५
५४
५९.००
१६.७३
१६.७३
एनएमबीएसएफ–१
७५
१३.६७
१०२.५३
३९.८३
५३.११
२२
१.४
३१.२०
३०.०३
४०.०५
एसएईएफ
१३०
९.९६
१२९.४७
१४.६५
११.२७
२६
२०.००
९०.२६
६९.४३
एसईएफ
१५०
१०
१०.००
१५०.०४
३३.३५
२२.२३
१५
१०.००
११६.६६
७७.७७
एसईओएस
१००
१२.२६
१२२.६१
८७.५५
८७.५५
१३.५०
२.६
१६.१०
२०.७३
२०.७३
कुल
१२०५


१३०८
७२२.८९
५९.९९
२००.५
१९.३
१८.२४
४३२.४५
३५.८९
सम्बन्धित योजनाहरुद्वारा प्रकाशित मासिक रिपोर्टको आधारमा । शेयरमा लगानी बजार मूल्यमा नभइर् वास्तविक रकमको आधारमा ।
काराेवार दैनिकमा २७ फागुन २०७४ मा प्रकाशित, https://karobardaily.com/news/idea/3014