Sunday, March 28, 2021

म्युचुअल फन्डमा लगानी प्रतिफल कि छल ?


बढ्दो बजारका उत्साहित लगानीकर्ता ‘मेरो सेयर’मा देखिएका सबै सार्वजनिक निष्कासन (आईपीओ) कम्पनीको सेयर भन्दै ‘म्युचुअल फन्ड’, डिबेन्चर खरिद गर्दै पछुताउनेको जमात बढ्दो छ । कुनै पनि धितोपत्र, जति नै राम्रो लगानी उपकरण चाहे त्यो सेयर, ‘म्युचुअल फन्ड’ वा डिबेन्चर नै भए पनि पर्याप्त जानकारीबिनाको लगानी प्रतिफलका नाममा आफैंमाथि छल हो । हुन त विश्वव्यापी रूपमा लगानी र लगानी व्यवस्थापनका लागि सर्वस्वीकार्य लगानी उपकरण मानिने ‘म्युचुअल फन्ड’, नेपालको सन्दर्भ परिपक्व र सर्वस्वीकार्य नभइसकेको अवस्थामा बुझेर लगानी गर्नु नै छलबाट बच्ने निर्विकल्प उपाय हुनेछ ।

म्युचुअल फन्ड के हो ?

सामूहिक हित र जोखिम न्यूनीकरणका लागि लागत, लाभ र जोखिम बाँडफाँडको सहमतिमा धेरै लगानीकर्ताहरूको लगानीमा सञ्चालित कोष (फन्ड) नै सामूहिक लगानी कोष अर्थात् ‘म्युचुअल फन्ड’ हो । यो कम्पनीको सेयर होइन, तर सामहिक रूपमा कोषमा संकलित रकम सेयर, डिबेन्चर, मुद्दतीजस्ता विविध लगानी उपकरणमा नियमानुसार लगानी गरी जोखिम र लाभ (रिस्क–रिटर्न) व्यवस्थापन गर्ने माध्यम हो । अप्रत्यक्षतः यसमा लगानी धितोपत्रमा लगानी नै हुँदा ‘बजार जोखिम’ निहित हुन्छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार ‘लगानी कोष भन्नाले योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्यले करारको आधारमा सहभागीहरूबाट सामूहिक लगानी योजनामा जम्मा गरेको रकमबाट सिर्जना भई आफ्नो जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बद्ध सम्पत्ति सम्झनुपर्छ र सो शब्दले यस ऐनबमोजिम योजना व्यवस्थापकले आफ्नो जिम्मेवारीमा लिएको कोष वा सम्पत्तिको लगानी व्यवस्थापनबाट सिर्जित थप सम्पत्ति र प्रतिफलस्वरूप जम्मा भएको रकम समेतलाई जनाउँछ’ भनेको छ ।

सञ्चालन र व्यवस्थापन

प्रचलित सामूहिक लगानी कोषसम्बन्धी नियमानुसार निष्कासन, सञ्चालन र नियमन हुने ‘म्युचुअल फन्ड’मा (क) योजना प्रायोजक (फन्ड स्पोन्सर) द्वारा प्रायोजनसँगै बीउ पुँजीमार्फत निश्चित प्रतिशत एकाइ (युनिट) किनेर लगानी गर्छ; (ख) योजना व्यवस्थापक (फन्ड म्यानेजर) ले कोष सञ्चालन, व्यवस्थापन र डिपोजिटरी गर्छ; (ग) योजना सुपरिवेक्षक (फन्ड सुपरभाइजर) ले निर्धारित रणनीतिअनुरूप लगानी, जोखिम र लाभको सुपरिवेक्षण गर्छ । व्यक्तिगत तवरमा गर्ने विश्लेषण र लगानी व्यवस्थापन फन्डमा व्यावसायिक टिमले गर्छ । यसबापत खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु— ‘न्याभ’) को आधारमा क) योजना व्यवस्थापकले वार्षिक बढीमा १.५ प्रतिशत; ख) सुरपरिवेक्षकले बढीमा ०.२ प्रतिशत र ग) डिपोजिटरीले बढीमा ०.२ प्रतिशतसम्म वार्षिक सेवा शुल्क वा दस्तुर लिन सक्नेछ ।

प्रकार र प्रकृति

समग्रमा ‘म्युचुअल फन्ड’हरू निश्चित अवधिको ‘बन्दमुखी’ र अनिश्चित अवधि वा दीर्घकालीन ‘खुलामुखी’ हुन्छन् । हाल १८ ‘बन्दमुखी’ र दुई ‘खुलामुखी’ योजना (एनआईबीएल सहभागिता फन्ड र एनआईसी एसिया डाइनामिक डेप्थ फन्ड) सञ्चालनमा छन् । तत्काल दोस्रो बजार प्रवेश गर्ने कुमारी इक्विटी फन्ड र सनराइज ब्लुचिप फन्डबाहेक पनि थप फन्डहरू प्रक्रियामा छन् ।

मूल्य र किनबेच

नियमानुसार स्वीकृत योजना (स्किम) लाई रु. १० अंकित मूल्यको ससानो एकाइमा विभाजन गरिन्छ । त्यसैले आईपीओबाट फन्डका योजनामा लगानी गर्न प्रतिएकाइ रु. १० ले कम्तीमा १ सय एकाइका लागि रु. १ हजारको आवेदन दिनुपर्छ । डिम्याट खाता, बैंक खाता र सी–आस्बा भएका लगानीकर्ताले ‘मेरो सेयर’ वा ‘सी–आस्बा’ सेवाप्रदायक बैंक तथा वित्तीय संस्थाबाट ‘सेयर’मा जसरी तोकिएको अवधिमा आवेदन गर्न सकिन्छ ।

‘बन्दमुखी’ एकाइ अनुमति प्राप्त सेयर दलाल (ब्रोकर) कहाँ कारोबार खाता खोलेर दोस्रो बजारमा ब्रोकरमार्फत वा स्वयमले कारोबार प्रणाली (टीएमएस) मा ‘एमएफ’ (MF) छानेर कम्तीमा १ सय युनिटका लागि खरिद–बिक्री आदेश दिन सकिन्छ । ‘न्याभ’को आधारमा किन्नेबेच्नेको वैधानिक सीमाभित्रको मोलमोलाइबाट तय हुने मूल्य र किनबेच निश्चित हुँदैन । सामान्यतः ‘न्याभ’बाट छुट (डिस्काउन्ट) मा किनबेच हुने ‘बन्दमुखी’ एकाइ हाल १२-२९ प्रतिशत छुटमा कारोबार भइरहेको देखिन्छ । किनबेच रकमका आधारमा प्रतिकारोबार न्यूनतम रु. १०, ५ लाखसम्म ०.१५ प्रतिशत, ५ देखि ५० लाखमा ०.१२ प्रतिशत र ५० लाखमाथि ०.१ प्रतिशत ब्रोकर कमिसन तथा ०.०१ सेबोन शुल्क र प्रतिदिन प्रतिफन्ड रु. २५ डीपी शुल्क तथा पुँजीगत लाभमा ५ प्रतिशत (संस्थागतलाइ १०%) लाभकर लाग्छ ।

‘खुलामुखी’ दोस्रो बजारमा सूचीकृत र कारोबार हुँदैन, तर योजना व्यवस्थापकबाट ‘न्याभ’को आधारमा निर्धारित मूल्यमा तोकिएको विधिबाट किनबेच सुनिश्चित हुन्छ । योजना व्यवस्थापकले नै एकाइ किनबेचको व्यवस्था गर्दै नियमानुसार किन्ने (बाई ब्याक) र बेच्ने मूल्य सार्वजनिक गर्नुपर्छ । हाल सञ्चालनमा रहेको एनआईबीएल सहभागिता फन्ड वेबसाइटबाट सहजै वा तोकिएको बिक्री केन्द्रबाट कायम ‘न्याभ’को आधारमा किनबेच गर्न सकिने व्यवस्था छ । किन्दा ‘न्याभ’का आधारमा कुल रकम र डिपी शुल्क रु. २५ मात्र लाग्छ । बेच्दा पनि ‘न्याभ’को आधारमा प्राप्त हुने रकममा धारित (होल्ड) अवधिको आधारमा ६ महिनामा १.५%, ६-१२ महिनामा १.२५%, १२-१८ महिनामा १% र १८-२४ महिनामा ०.७५% ‘एक्जिट फी’ तथा पुँजीगत लाभमा ५ प्रतिशत (संस्थागतलाइ १०%) लाभकर लाग्छ ।

प्रतिफल र साँवा फिर्ता

सैद्धान्तिक रूपमा योजना व्यवस्थापकले सदैव जोखिम व्यवस्थापन गर्दै उच्चतम प्रतिफललाई प्रयास गर्छ । त्यसैले उसको लगानी र कारोबार क्षमताले फन्डको ‘न्याभ’ र एकाइधनीको सम्पत्ति र प्रतिफल निर्भर रहन्छ । योजना व्यवस्थापकले उपलब्ध विभिन्न लगानी उपकरणमा उच्चतम लाभका लागि व्यवस्थित लगानी गर्दै ‘न्याभ’ र आम्दानी बढाउने प्रयास गर्छ । ‘बन्दमुखी’ मा आयको आधारमा एकाइधनीलाई वार्षिक ‘नगद लाभांश’ मात्रै वितरण गरिन्छ । ‘खुलामुखी’ मा भने नगद लाभांश पुनःलगानी (डिभिडेन्ड रिइन्भेस्टमेन्ट) मार्फत ...* थप एकाइ किन्न सकिने प्रावधान हुन्छ । 

थप टिप्पणी १, दुवै प्रकारका म्युचुअल फण्डले दिने लाभांस अंकित मूल्यका अाधारमा हुन्छ, उदाहरणका लागि १५ प्रतिशत लाभांस भनेकाे अंकित मूल्य रू १० काे १५ प्रतिशत अर्थात् प्रति एकाइ रू. १.५ लाभांस  हुन्छ, बजार मूल्यकाे १५ प्रतिशत हाेइन । यस अनुसार १०० एकाइ हुनेले रू १५० पाउँछ । खुल्लामुखीमा भने लाभांस पुनःलगानी पनि हुन्छ र पुनःलगानी गरेमा साेहि रकमले अाउने थप एकाइ पाइन्छ । जस्तै १००० एकाइमा १५ प्रतिशतले पाउने रू १,५०० ले मानाैं बुकक्लाेजकाे दिनकाे न्याभ रू १३ भए करिव ११५ एकाइ दिन्छ ।

अंकित मूल्यभन्दा फरक दाेस्राेबजारबाट किन्नेकाे वास्तविक प्रतिफल (Yield) भने बजारमूल्य वा लागतमा निर्भर हुन्छ । जस्तै, मूल्य १४ घाेषित लाभांस २५ प्रतिशत भएपनि वास्तविक प्रतिफल दर भने १७.८६ (२.५ ÷ १४) हुनेछ ।  अझ लाभांस वितरण पछि न्याभ घटेर वा मूल्य प्रभावले हुने वास्तविक प्रतिफल अनुमान गर्न गाह्रै हुनेछ । 

‘बन्दमुखी’ मा अवधि सकिएपछि सबै सम्पत्तिलाई नगदमा परिणत गरेर एकाइधनीलाई समानुपातिक रूपमा फिर्ता गरिन्छ । अवधि नसकिँदै रकम आवश्यक परे दोस्रोबजारमा बेचेर निस्कन सकिन्छ । जस्तै अवधि सकिँदाकाे अन्तिम न्याभ रू. १४.७५ थियाे सम्पतिलाइ नगदमा परिणत गर्दा प्रति एकाइ रू. १५ भए सबै एकाइधनीले प्रति एकाइ रू. १५ का दरले फिर्ता भुक्तानी पाउँछन् । ‘खुलामुखी’मा भने व्यवस्थित फिर्ता योजना (सिस्टमेटिक विथ ड्र प्लान) बाट एकाइ फिर्ता गरेर वा कायम ‘न्याभ’मा एकाइ बिक्री गरेर निस्कन सकिन्छ ।


यसरी ‘म्युचुअल फन्ड’ लगानीमा वार्षिक नगद लाभांश र पुनःलगानीसँगै बजार मूल्यका आधारमा किनबेच गर्दै पुँजीगत लाभको अवसर पनि रहन्छ ।

‘न्याभ’को अवस्था
तालिकाअनुसार ‘बन्दमुखी’ योजनाहरूको साप्ताहिक ‘न्याभ’ ९.९४ देखि १९.३८ छ भने २९.५४ प्रतिशतसम्मको छुट मूल्यमा किनबेच भइरहेको छ ।

बन्दमुखी म्युचुअल फण्ड, न्याभ र कारोवार मूल्य

सिनं.

फण्ड

आकार
(
रु. करोड)

२०७७ फागुनसम्मको कुल आय (रु. करोड)

२०७७ फागुनको ‘न्याभ’ (रु.)

२०७७ चैत को साप्ताहित ‘न्याभ’ (रु.)

२०७७ चैत १२ को बजारमूल्य (रु.)

साप्ताहिक ‘न्याभ’मा छुट/(प्रिमियम) (%)

सिएमएफ–२ CMF2

५६

२४.३७

१४.४९

१५.१०

१०.६४

२९.५४

एनआईसीबिएफ NICBF

७५.५०

४१.६२

१५.५६

१५.६०

११.३२

२७.४४

एसआइजिएस—२ SIGS2

१२०

६९.१०

१६.३४

१६.३८

११.९७

२६.९२

एसईएफ SEF

१५०

८६.६०

१६.०६

१६.०६

११.७५

२६.८४

एनआइबिएलपिएफ NIBLPF

७५

४८.४१

१६.३२

१६.४२

१२.०२

२६.८०

एलईएमएफ LEMF

१२५

४७.३०

१४.६५

१४.६९

१०.७७

२६.६८

एनइएफ NEF

१२५

७३.१४

१५.८८

१५.९७

११.७५

२६.४२

एनबिएफ–२ NBF2

११२

५४.५६

१५.०९

१५.१३

११.१४

२६.३७

एनआईसीजिएफ NICGF

८३.५२

५४.९९

१६.६०

१६.६५

१२.२८

२६.२५

१०

एसएईएफ SAEF

१३०

१०१.०९

१८.४६

१८.५९

१३.९८

२४.८०

११

सिएमएफ–१ CMF1

८२

२९.८७

१३.८२

१३.८८

१०.४५

२४.७१

१२

एलयुके LUK

६५.२६

२१.०८

१३.२३

१३.३२

१०.०५

२४.५५

१३

एनएमबीएचएफ–१ NMBHF1

१००

४३.५०

१५.०३

१५.१२

११.४७

२४.१४

१४

एसएफएमएफ SFMF

८६

५८.३०

१७.०५

१७.०६

१३.००

२३.८०

१५

एनएमबी–५० NMB50

१२५

७४.५६

१६.३७

१६.४८

१२.६०

२३.५४

१६

जिआईएमइएस–१ GIMES1

१००

८२.६४

१९.२७

१९.३८

१५.०९

२२.१४

१७

एनआइबिएसएफ–१ NIBSF1

१००

४२.८९

१४.६९

१४.७७

१२.८६

१२.९३

१८

एसएलसिएफ SLCF

१२०

–०.७३

९.९४

९.९४

९.९३

०.१

नाेटः जिअाइएमइएस–१ काे डाटा थप, प्रकशित लेखकाे साप्ताहिक न्याभ चैत ६ हुनुपर्ने  अन्यथा भएकाे । डाटा शेयरसंसार डटकम र मासिक विवरण ।

‘खुल्लामुखी’ को ‘न्याभ’ तर्फ एनआईविएल सहभागिता फण्डको रु. १६.३३ र एनआईसी एसिया डाइनामिक डेप्थ फण्डको रु. १०.९४ छ । यसमा डिस्काउन्ट हुँदैन्, न्याभमा नै किन्नुपर्ने छ ।


लगानी र ध्यान दिनुपर्ने

मूलतः धितोपत्रमा चासो र इच्छा भएका तर स्वयम् लगानी व्यवस्थापन गर्न नसक्ने वा नचाहने निष्क्रिय लगानीकर्तासँगै नगद लाभांश र पोर्टफोलियो व्यवस्थापनका लागि सक्रिय लगानीकर्ताले पनि ‘म्युचुअल फन्ड’ मा लगानी आवश्यक मानिन्छ । व्यावसायिक टिमबाट व्यवस्थापन हुने ‘म्युचुअल फन्ड’ को बजार र कारोबारमा विशेष पहुँचसँगै सूचीकृत कम्पनीले निष्कासन गर्ने धितोपत्रमा ५ प्रतिशत आरक्षणका साथै करहरू छुट पाउँछन्, जसको लाभ एकाइधनीले पनि पाउँछन् । आरक्षण र सहुलियत अनुरूप उपलब्धि हासिल गर्न नसकेकाेमा याेजना व्यवस्थापकहरूकाे क्षमता माथि अनेक प्रश्न उठाउँदै आरक्षण बन्द गरिनु वा आरक्षणकाे शेयरमा लकिङ हुनुपर्ने आवाज चर्कै उठ्छ । तर उपलब्ध सुविधाकाे फाईदा उठाउन एकाइ किन्नुकाे विकल्प रहन्न । एकपटक किनेर ७–१० वर्षमा पैसा चाहिँदा ‘बन्दमुखी’मा लगानी गर्न सकिन्छ । एकपटक किनेर लामो अवधि धारण गर्ने वा नियमित (मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक) लगानी गर्दै जान ‘खुलामुखी’ योजना उपयुक्त हुन्छ । यस्तै लाभांश लिने वा पुनःलगानीको आधारमा बन्द वा खुला योजना छनोट गर्नुपर्छ ।

‘बन्दमुखी’मा लगानी गर्दा मुख्यतः ‘न्याभ’को अवस्था (मासिक/साप्ताहिक), योजना व्यवस्थापक र सुपरिवेक्षक, लगानी र धितोपत्रको वास्तविक लागत (नोट/टिप्पणीमा हेर्ने), खुद सम्पत्ति, आम्दानीको अवस्था, प्राप्त भएकाे र नभएकाे आय, विगतको लाभांश र ‘न्याभ’, बाँकी अवधिलाई ध्यान दिनुपर्छ । ‘खुलामुखी’मा योजनाको लगानी, ‘न्याभ’, बिक्री केन्द्र र शुल्क; पुनःलगानीको विकल्प, सिस्टमेटिक इन्भेस्टमेन्ट र विथ ड्र प्लानसमेतमा ध्यान दिनुपर्छ ।

बढ्दो ‘म्युचुअल फन्ड’सँगै प्रतिस्पर्धा पनि बढेको छ, जसले एकातिर लगानीकर्तालाई छनोटको अवसर बढेको छ भने अर्कातिर योजना व्यवस्थापक र योजनाले सार्वजनिक निष्कासनमा पाउने आरक्षित धितोपत्रको हिस्सा घट्नेछ।

थप टिप्पणी २, म्युचुअल फण्डहरूकाे अाय समेत समावेश गरेर ‘न्याभ’ गणना हुन्छ, त्यसैले लाभांस घाेषणा, बुक क्लाेजकाे समय तिर म्युचुअल फण्ड किन्दा लाभांसकै अनुपातमा बजार मूल्य समायाेजना वा ‘न्याभ’ घट्ने तर्फ सजग हुनुपर्छ।

प्रचलन अनुसार घाेषित लाभांस बुकक्लाेजकाे मितिमा कायम काराेवार मूल्यकाे १० प्रतिशतभन्दा बढि भएमा मात्र मूल्य समायाेजन हुन्छ । जस्तै, कुनै याेजनाले २५ प्रतिशत लाभांस घाेषणा गर्याे र बुकक्लाेजकाे अघिल्लाे काराेवार मूल्य रू. १५ कायम भयाे । यहाँ घाेषित लाभांस २५ प्रतिशत अर्थात् प्रति एकाइ रू २.५ कायम काराेवार मूल्य रू १५ काे  १६.६७ प्रतिशत (१० प्रतिशत भन्दा बढि) हुँदा मूल्य समयाेजन हुन्छ । बुक क्लाेज पछिकाे लागि नेप्सेले रू १२.५ (१५–२.५ = १२.५) सन्दर्भ मूल्य ताेक्छ । तर यदि बुक क्लाेजकाे लागि कायम काराेवार मूल्य २७ भएकाे भए घाेषित लाभांस रू २.५, ९.२५% मात्र हुँदा नेप्सेले मूल्य समायाेजन गर्दैन । बजार संचालक वा प्रणालीले मूल्य समायाेजन गरे वा नगरे पनि न्याभ घट्ने हुँदा स्वभाविक रूपमा बजार मूल्य पनि घट्नसक्छ । बजारले अाफै मूल्य समायाेजन गर्नसक्छ । उदाहरणकाे रू १५ काे न्याभ लाभांस वितरण पछि रू १२.५ हाराहारी झर्छ । त्यसैले मूल्य तिर्दा न्याभमा प्रभावलाइ विशेष ध्यान दिनुपर्छ । अन्यथा, रू १५ न्याभकाे २५ प्रतिशत लाभांसकाे लाेभमा रू १४/१५ तिरेर किन्दा भाेली न्याभ नै रू १२.५ मा झरेर अाफ्नाे रू १४ बाटै अाफैले लाभांस खाएकाे अवस्था अाउन सक्छ ।

शेयर र म्युचुअल फण्डमा लाभांस पछिकाे सम्पतिमा भने फरक हुन्छ । कम्पनीले छुट्याएकाे नाफाबाट लाभांस बाडछ, जसले लाभांस वितरण पछि कम्पनीकाे पुँजी घट्दैन । तर म्युचुअलमा न्याभमा प्राप्त भएकाे र नभएकाे नाफा समेत हिसाव हुन्छ र प्राप्त नाफाकाे वितरणयाेग्य रकमबाट लाभांस बाँड्ने हुँदा लाभांस वितरण पछि खुद सम्पति (न्याभ) नै घट्छ । 

 
बन्दमुखी म्युचुअल फण्ड, न्याभ र कारोवार मूल्य


...*प्रकाशित लेखमा भूलवस अंकित मूल्य भएकाेले सच्याइएकाे

Disclosure/Note: Text in red are added and/or amended on published article. I will not be responsible for any profit/loss from investment in MF based on this article. 
२०७६–७७ मा म्युचुअल फण्डहरूकाे अवस्था र लाभांस यहाँ पढ्न सक्नु हुन्छ । म्युचुअल फण्डसम्बन्धी थप लेख र टिप्पणीहरू मेरै ब्लग वा ज्याेति दाहालकाे www.jdahal.blogspot.com मा पढ्न सक्नुहुनेछ ।

काराेवार दैनिकमा २०७७ चैत १५ गते प्रकाशित, म्युचुअल फन्डमा लगानी प्रतिफल कि छल ? « (karobardaily.com)
Revised and/or updated: 21 July 2021, NST 15.27

Sunday, March 7, 2021

डिबेन्चर, लगानी र किनबेच

‘डिबेन्चर’ अर्थात् ऋणपत्र, कम्पनीलाई आर्थिक स्रोत (रकम) जुटाउने र लगानीकर्तालाई निश्चित प्रतिफलसहित तुलनात्मक रूपमा कम जोखिमपूर्ण लगानी उपकरण । किनबेचमा केही सहजता र बढ्दो निष्कासनसँगै पुँजीबजारमा ‘डिबेन्चर’को उपस्थिति, स्वीकार्यता र कारोबार बढेको छ । नबुझी कम्पनीको सेयर भन्दै आवेदन दिने र किनबेचमा समस्या भोग्ने बढेका छन् । वास्तवमा कम जोखिमपूर्ण पुँजीबजारको प्रमुख लगानी उपकरण किनबेच र राफसाफका व्यावहारिक समस्या, ब्याज हस्तान्तरण र लागत–लाभको अन्योलताले अपेक्षाकृत कारोबार हुन सकेको छैन ।

‘डिबेन्चर’ के हो?

कम्पनी वा व्यावसायिक संस्था वा सरकारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी रकम संकलन गर्न ऋणदाता वा साहू–महाजनसँग गरिने कबुलियत वा तमसुक नै ऋणपत्र अर्थात् ‘डिबेन्चर’ हो । यो व्यक्ति–व्यक्ति वा व्यक्ति–बैंक वा कम्पनी र बैंकबीच ऋण लिएजस्तै हो । यसमा अवधि, ब्याजदर, ब्याज गणना र भुक्तानीको तरिका र समय उल्लेख गरिएको हुन्छ, जसको कार्यान्वयन कानुनतः बाध्यकारी हुन्छ । त्यसैले ‘डिबेन्चर’ जारी गर्ने र किन्नेबीचको सर्तसहितको लिखित करार नै ‘डिबेन्चर’ हो । यसमा तोकिएको दर र अवधिमा ब्याजका साथै समयावधि पछि सावाँ भुक्तानी हुने वा ससर्त वा निसर्त साधारण सेयरमा पूर्ण परिवर्तनीय (फुल्ली कन्भर्टिबल), आंशिक–परिवर्तनीय (पार्सियल्ली कन्भर्टिबल), स्वेच्छिक पूर्ण परिवर्तनीय (अप्सनली फुल्ली कन्भर्टिबल) र अपरिवर्तनीय (ननकन्भर्टिबल) हुन्छन् । हाल जारी सबै ‘डिबेन्चर’ अपरिवर्तनीय (ननकन्भर्टिबल ‘डिबेन्चर’— ‘एनसीडी’) हुन् ।

शब्दकोशका अनुसार, १) आसामीले ऋण लिएको प्रमाणस्वरूप साहूलाई लेखिदिने तमसुक र २) राष्ट्र बैंकद्वारा निर्धारित समयमा साँवा–ब्याज फर्काउने गरी समय–समयमा जारी गरिने वा खरिद–बिक्री हुने विभिन्न रकमको पत्रलाई ‘ऋणपत्र’ भनिन्छ ।

कम्पनी ऐन २०६३ दफा २(ध) मा ‘डिबेन्चर भन्नाले कम्पनीको जायजेथा धितो राखी वा नराखी कम्पनीले जारी गरेको ऋणपत्र सम्झनुपर्छ’ भनेको छ । यसरी जारी हुने ऋणपत्र धारकको हित रक्षा संरक्षणका लागि ‘डिबेन्चर ट्रस्टी’ को व्यवस्थासमेत गरिएको हुन्छ । त्यस्तो डिबेन्चर ट्रस्टी धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त हुनुपर्नेछ । ऋणपत्र पब्लिक र प्राइभेट दुवै प्रकारका कम्पनीले उठाउन सक्छन् । पब्लिक कम्पनीले खुलारूपमा प्रस्ताव आह्वान गरी उठाउन सक्छन् भने प्राइभेट कम्पनीले खुलारूपमा उठाउन सक्दैनन् । कम्पनी ऐन २०६३ को दफा २०(२)(प) मा कम्पनीले ऋण उठाउन सक्ने व्यवस्था कम्पनीको नियमावलीमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

‘डिबेन्चर’को विशेषता नै मुद्दती निक्षेपको जस्तै निश्चित प्रतिफल अनि सेयरको जस्तै पुँजीगत लाभको सम्भावना तर सेयरभन्दा कम जोखिम हो । तसर्थ, कम जोखिम लिन चाहने र समग्र पोर्टफोलियोको जोखिम–प्रतिफल (रिस्क–रिटर्न) सन्तुलनका लागि ‘डिबेन्चर’ उपयोगी मानिन्छ । ब्याजदर र भुक्तानी अन्तराल, अवधि, परिवर्तनीयता जारी गर्दा नै निर्धारित हुन्छ । हाल ५ देखि १० वर्ष अवधि र ६ देखि १२.५ प्रतिशत ब्याजदरका ‘डिबेन्चर’ प्रचलनमा छन् । प्रायःले असार र पुस मसान्त (६–६ महिना) मा ब्याज दिन्छन् भने केहीले असार, असोज, पुस र चैतमा पनि दिन्छन् । यसमा ब्याजदर घटबढकाे जाेखिम हुन्न । ब्याजका हिसावले असाेज वा पुस मसान्त बुकक्लाेज मिति हाे र उक्त दिन डिबेन्चर धारण गरेकाे ब्यक्तिले नै सम्बिन्धत अवधि अर्थात् साउनदेखि पुस वा माघदेखि असारकाे ब्याज पाउने अधिकार राख्छ । पाकेकाे ब्याज डिपीमा उल्लेखित वा ताेकिएकाे बैक खातामा केहि दिनमा पठाइदिन्छन् । अवधि समाप्ति (म्याच्याेरिटि)मा सावाँ रकम एकमुष्ठ फिर्ता हुन्छ । अवधि नसकिँदै रकम अावश्यक परेमा धिताे राखेर ऋण लिन वा दाेस्राे बजारमा बेच्न सकिन्छ ।

किनबेच

विगतमा प्राथमिक बजार (आईपीओ) बाट मात्र किन्न वा लगानी गर्न सकिने ‘डिबेन्चर’, हाल दोस्रो बजार (सेयर बजार) बाट पनि किन्न वा लगानी गर्न सकिन्छ । कानुनतः ‘डिबेन्चर’ निजी (प्राइभेट) र सावर्जनिक (पब्लिक) तवरमा बिक्री गरिन्छ । कुल बिक्रीको ४० प्रतिशत आमलगानीकर्ताका लागि छुट्ट्याइन्छ । १ हजार रुपैयाँ अंकित मूल्य हुने ‘डिबेन्चर’ प्राथमिक बजारमा न्यूनतम २५ युनिट (एकाइ) का लागि २५ हजार रुपैयाँको आवेदन दिनुपर्छ । डिम्याट खाता, बैंक खाता र सी–आस्बा भएका लगानीकर्ताहरूले ‘मेरो सेयर’ वा ‘सी–आस्बा’ सेवाप्रदायक बैंक तथा वित्तीय संस्थाबाट ‘सेयर’मा जसरी तोकिएको अवधिमा आवेदन गर्न सकिन्छ ।

दोस्रो बजारमा ब्रोकरमार्फत वा स्वयम्ले कारोबार प्रणाली (टीएमएस) मा ‘एनसीडी’ छानेर कम्तीमा १ युनिट*का लागि खरिद–बिक्री आदेश दिन सकिन्छ । किनबेच रकमका आधारमा प्रतिकारोबार न्यूनतम रु. १०, ५ लाखसम्म ०.१५ प्रतिशत, ५ देखि ५० लाखमा ०.१२ प्रतिशत र ५० लाखमाथि ०.१ प्रतिशत ब्रोकर कमिसन तथा ०.०१ सेबोन शुल्क र प्रतिदिन प्रतिडिबेन्चर रु. २५ डीपी शुल्क लाग्छ । किनबेच र लगानी गर्दा इक्विटीमा प्रतिफल, मुद्दतीको ब्याजदर, पोर्टफोलियोसँगै व्यावहारिक पाटो हेर्नुपर्छ । शेयरकाे जस्ताे उच्च काराेवार हुँदैन र मूल्य पनि धेरै तलमाथि हुन्न, त्यसैले मूल्यगत जाेखिम पनि कम हुन्छ ।
*कानुनतः १ युनिटकाे काराेवार गर्न मिल्ने भए पनि हाल टिएमएसमा १० युनिटकाे मात्र खरिदबिक्री अादेश दिन सकिन्छ । १ युनिटकाे पनि अडलटमा किनबेच हुनसक्छ । यसमा सुधार गरिने अाश्वासन प्राप्त भएकाे छ ।

डिबेन्चरमा ब्राेकर कमिसन

कारोवार रकम (रु)

२०७३.०४.०६–२०७७.०९.११ काे ब्राेकर कमिसन (%)

२०७७ पुस १२ देखि ब्राेकर कमिसन (%)

,००,००० सम्म

०.३ (न्यूनतम रु. २५)

०.१५ (न्यूनतम रु. १०)

,००,००१ देखि ५०,००,००० सम्म

०.२५

०.१२

५०,००,००१ देखिमाथि

०.२

०.१०



 
व्यावहारिक पाटो

१. कारोबार र मूल्य : हाल कारोबारमा केही सहज भए पनि पाकेको ब्याज, मूल्य र पुँजीगत लाभकरको अन्योलता कायमै छ । तोकिएको सीमाभित्र रहेर मोलमालाइ गरी मूल्य निर्धारण र किनबेच गर्न सकिन्छ, तर उक्त मूल्य ब्याजसहित वा रहित भन्ने अन्योलता रहन्छ । ब्याजसहितको मूल्य मान्दा लागत गणनामा ब्याजलाई अस्वीकार हुँदा घाटामा वा लाग्नेभन्दा बढी लाभकर तिर्नुपर्नेछ ।
टिएमएसमा डिबेन्चर खरिदबिक्री अादेश प्रविष्ट गर्दा अर्डर म्यानेजमेन्टकाे बाइ सेल अन्तगर्त अाइएनएसटी (INST) मा एनसिडि (NCD) छान्नुपर्छ । मार्केट डेप्थमा पनि (NCD) छनाैट गरेर सूचीकृत डिबेन्चरहरूकाे बजार अवस्था हेर्न सकिन्छ ।

२. ब्याज : हाल साउनदेखि पुस र माघदेखि असार मसान्तबीचको किनबेचमा पाकेको ब्याजसमेत किन्नेलाई जाने परिपाटीले बेच्नेले ‘डिबेन्चर’को सिद्धान्तविपरीत धारित अवधिको प्रतिफल पाइरहेका छैनन् । अझ वास्तविक लाभ नहुँदासमेत मूल्यका आधारमा लाभ देखिँदा बेच्नेले लाभकरसहित दोहोरो नोक्सानी बेहोर्नुपर्छ । त्यसैले बेचेको दिनसम्मको बेच्नेले र किनेको दिनबाट किन्नेले पाउने गरी सहजै ब्याज हस्तान्तरण वा लागतमा पाकेको ब्याज गणना गर्ने परिपाटी हुनैपर्छ । सीडीएससीले प्रत्येक कारोबार दिनपछि ‘डिबेन्चर’धारक (ब्याज पाउन) को जानकारी सम्बन्धित ‘डिबेन्चर’ रजिस्ट्रारलाई पठाएर ब्याज हस्तान्तरणको व्यवस्था गर्न सकिन्छ ।

३. ब्याजकर र लाभकर :‘डिबेन्चर’को ब्याज आयमा प्राकृतिक व्यक्ति र संस्थालाई फरक दरमा कर लाग्छ । हाल व्यक्तिलाई ब्याज र पुँजीगत लाभमा ५ प्रतिशत तथा संस्थालाई ब्याजमा १५ र पुँजीगत लाभमा १० प्रतिशतले स्रोतमा नै कर कट्टी हुन्छ । करको भिन्न दरले व्यक्ति र संस्थाबीच ‘डिबेन्चर’को कारोबार व्यावहारिक समस्या छ ।

जारी ‘डिबेन्चर’ र अवस्था

कानुनले प्राइभेट र पब्लिक कम्पनीले ‘डिबेन्चर’ जारी गर्न सक्ने व्यवस्था गरे पनि बैंक तथा वित्तीय संस्थाबाहेक अरूले ‘डिबेन्चर’लाई आर्थिक स्रोत व्यवस्थापनको विकल्प बनाएको देखिन्न । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को पुँजीकोष प्रयोजनका लागि डिबेन्चर जारी गर्न सक्ने व्यवस्थाअनुसार पुँजीकोष र पुँजी–कर्जा–निक्षेप (सीसीडी) व्यवस्थापनका लागि २०७७ पुससम्म १९ वाणिज्य बैंकले करिब ६१.७८ अर्ब, एक विकास बैंकले १ अर्ब, तीन वित्तीय संस्था (फाइनान्स) ले ९५ करोड रुपैयाँको ‘डिबेन्चर’ जारी गरेका छन् । वाणिज्य बैंकहरूले प्राथमिक पुँजीको न्यूनतम २५ प्रतिशत ‘डिबेन्चर’ जारी गर्नेपर्ने नियामकीय निर्देशनका बाबजुद हालसम्म सेञ्चुरी, सिभिल, मेगा, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकले गरेका छैनन् । प्राइम र एनसीसीले निकट भविष्यमै ‘डिबेन्चर’ जारी गर्दै छन् । विकास बैंक तथा वित्तीय संस्थाले भने स्वेच्छिक रूपमा ‘डिबेन्चर’ जारी गर्न थालेका छन् ।
प्राइम, एनसिसि, नेपाल र सिभिल बैंकले डिबेन्चर जारी गरिसकेका छन् । अावकाे अन्तसम्म पनि मेगा, सेञ्चुरी र स्ट्यान्डर्ड चार्टरले डिबेन्चर जारी गर्ने इच्छा देखाएका छैनन् ।

जारीमध्ये चालू आवमा सिटिजन्स, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया र एनएमबी बैंक प्रत्येकको ५०–५० करोड रुपैयाँको तथा एभरेष्ट बैंककाे ६० कराेडकाे ‘डिबेन्चर’  परिपक्व हुनेछन् । सर्तबमोजिम ‘डिबेन्चर’को आकार र अवधिअनुसार प्रत्येक वर्ष मुनाफाबाट ‘डिबेन्चर रिडेम्पसन रिजर्भ’ मा निर्धारित रकम छुट्ट्याइन्छ, जुन परिपक्वतासँगै लाभांशलाई उपलब्ध हुन्छ । तर, ‘डिबेन्चर’लाई पुँजीकोषको हिस्साका रूपमा लिइँदा ‘रिडेम्पसन रिजर्भ’बाट निस्कने रकम सेयर लाभांश वितरण गरी पुँजीकरण वा जगेडा कोषमा राखिन्छ, नगद लाभांश बाँड्न पाइँदैन । यसरी ‘डिबेन्चर’ पुँजीकरणले भविष्यमा पुँजीको भार तथा ‘रिडेम्पसन रिजर्भ’मा रकम छुट्ट्याउनुपर्दा वर्तमानमा वार्षिक लाभांश क्षमता प्रभावित हुने जोखिम निम्तिन्छ ।
अाव २०७८–७९ काे पुस मसान्तसम्म अाैसतमा ४.११ अर्बले २४ बैकले  करिव १११ अर्बकाे डिबेन्चर जारी गरेका छन् । सबैभन्दा बढि कृषिले १८ अर्ब र एनअाइसि एसियाले ११ अर्ब रूपैयाँकाे डिबेन्चर जारी गरेका छन् ।

निचोड

नेपाली बजारमा भर्खर पहिचान बनाउँदै गरेको ‘डिबेन्चर’ उच्च जोखिमपूर्ण सेयरमा लगानी गर्न नचाहने तर निश्चित प्रतिफल र कम जोखिम खोज्नेलाई मात्र होइन, समग्र पोर्टफोलियोको जोखिम व्यवस्थापन गर्न लगानीकर्तालाई पनि अपरिहार्य लगानी उपकरण हो । बजार सञ्चालक, नियामक र राज्यले मूलतः राफसाफ, ब्याज र लाभकरका व्यावहारिक समस्या सुल्झाएर कारोबारमा सहजता र प्रोत्साहन गरिए ‘डिबेन्चर’ले वैकल्पिक लगानी उपकरणको काम गर्नेछ ।

डिबेन्चरसम्बन्धी थप अध्ययनका लागि

काराेवार दैनिकमा २०७७ फागुन २३ गते प्रकाशित, डिबेन्चर, लगानी र किनबेच « (karobardaily.com)
*राताे शव्दहरू परिमार्जित वा थपिएका
Revised/update 30 Mar 2022, NST 13:37