Showing posts with label स्टक एक्स्चेन्ज. Show all posts
Showing posts with label स्टक एक्स्चेन्ज. Show all posts

Sunday, August 15, 2021

धितोपत्रको कारोबार नगदी वा उधारो ?

सैद्धान्तिक रूपमा अग्रिम भुक्तानीसहित नगद लेनदेन हुने धितोपत्र कारोबार वास्तवमा "उधारो कारोबार प्रणाली"मा आधारित छ । धितोपत्र सहज किनबेचका लागि नेप्सेको कारोबार प्रणाली र थलो उपलब्ध छ भने राफसाफ र फछ्र्योटको जिम्मेवारी सीडीएससीमा छ । प्रचलित प्रणालीले प्राप्त खरिद–बिक्री आदेशको मूल्य र समय प्राथमिकतामा स्वचालित कारोबार सम्पन्न हुँदा पनि अनिवार्य मानवीय संलग्नता चाहिने झन्झटिलो र लामो राफसाफ र फछ्र्योट प्रक्रियाले तत्कालीन अवस्थामा हाताहाती/नगदी कारोबार र राफसाफ (रियल टाइम ट्रेडिङ एन्ड सेटलमेन्ट) को सम्भावना कमजोर बनाएको छ ।

प्रचलित कारोबार र राफसाफ

‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५’ बमोजिम धितोपत्र सूचीकरण तथा कारोबार हुन्छ । हाल सूचीकृत धितोपत्र किनबेचलाई नेप्सेले कारोबार प्रणाली र थलो (ट्रेडिङ सिस्टम र प्लेटफर्म) उपलब्ध गराउँछ । नियमावलीबमोजिम स्वचालित विद्युतीय कारोबार प्रणालीका रूपमा प्रयोगमा ल्याइएको ‘नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) ले मूल्य–समय प्राथमिकता (प्राइस टाइम प्रायोरिटी) को आधारमा खरिद–बिक्री आदेश म्याचिङ र कारोबार व्यवस्थापन गर्छ । लगानीकर्ताको पहुँचमा रहने ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रणालीले धितोपत्र दलाल (ब्रोकर) को प्रत्यक्ष सहभागिताबिनै बासस्थान वा कार्यालयबाटै इन्टरनेट सुविधा भएको कम्प्युटर, ट्याबलेट वा मोबाइल फोनजस्ता उपकरणमार्फत क) कोलाटर जम्मा गर्ने; ख) खरिद–बिक्री आदेश प्रविष्टि, परिमार्जन र कारोबारको जानकारी लिने; ग) कारोबारको विस्तृत विवरण र अभिलेख हेर्ने र रुजु गर्ने सुविधाका साथै रकम भुक्तानी र राफसाफको अतिरिक्त सुविधा पनि दिन्छ । टीएमएसमा सोझै पहुँच र दक्षता नहुनेले ब्रोकरलाई तोकिएबमोजिम खरिदबिक्री आदेश दिएर कारोबार गर्न सक्छन् ।

सम्पन्न कारोबारको राफसाफ भने सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) बाट ‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९’ अनुसार हुन्छ । राफसाफ तथा फछ्र्योट प्रक्रियामा नेप्से, सीडीएससी, राफसाफ सदस्य (ब्रोकर/सदस्य) र राफसाफ बैंक (ग्लोबल आईएमई र प्रभु) को सहभागिता रहन्छ । विनियम १३ मा राफसाफ सदस्यले धितोपत्रको राफसाफ तथा फछ्र्योट कार्य कारोबार भएको दिनबाहेक दुई कार्यदिन (टी प्लस टु) भित्र तोकिएको समयमा गर्ने व्यवस्था छ । विनियम १४ अनुसार सीडीएससीले अभौतिक धितोपत्रको ‘ट्रेड टु ट्रेड’ वा ‘नेट सेटलमेन्ट’ का आधारमा राफसाफ तथा फर्छ्योट गर्नेछ ।

राफसाफ प्रक्रियामा क) नेप्सेले दैनिक कारोबार समाप्तिपछि कारोबार विवरण (ट्रेड फाइल) सीडीएससीलाई उपलब्ध गराउँछ; ख) टी प्लस टुभित्र विक्रेता राफसाफ सदस्य (विक्रेता) ले बिक्री भएको धितोपत्र पुल एकाउन्टमा र क्रेता राफसाफ सदस्य (क्रेता)ले रकम राफसाफ बैंकमा जम्मा गर्नुपर्छ; ग) सीडीएससीले नेप्सेबाट प्राप्त कारोबार विवरणका आधारमा राफसाफ सदस्यले बुझाउनुपर्ने तथा बुझाएको धितोपत्र तथा रकम गणना र रुजु गर्नेछ; घ) राफसाफ सदस्यले जम्मा गरेको धितोपत्र वा रकम अपुग भई कुनै कर दस्तुर शुल्क थप गर्नुपर्ने भए थपेर जम्मा गर्न सीडीएससीले निर्देशन दिनुपर्छ; ङ) राफसाफ सदस्यले कारोबारबापत बुझाउनुपर्ने कर दस्तुर शुल्कसमेत सीडीएससीको खातामा रकमान्तर गर्न राफसाफ बैंकलाई निर्देशन दिनेछ; च) तोकिएको चरण÷प्रक्रिया पूरा गरेर सीडीएससीले क्रेता राफसाफ सदस्यले पाउने धितोपत्र सम्बन्धित सदस्यको पुल एकाउन्टमा जम्मा गर्नेछ तथा विक्रेताको रकम सम्बन्धित सदस्यको राफसाफ खातामा जम्मा गर्न राफसाफ बैंकलाई निर्देशन दिनेछ; छ) क्रेता सदस्यले धितोपत्र ग्राहकको खाता (डिम्याट) मा र विक्रेता सदस्यले रकम यथाशीघ्र ग्राहकको खाता (बैंक) मा जम्मा गरिदिनुपर्छ ।

हालको प्रक्रियामा
  • कारोबार दिन (टी प्लस जिरो);
  • कारोबारपछिको पहिलो कार्यदिन (टी प्लस वन) मा धितोपत्र किन्ने ग्राहकले रकमबेच्ने ग्राहकले धितोपत्र ब्रोकरलाई हस्तान्तरण;
  • दोस्रो कार्यदिन (टी प्लस टु) मा किन्ने ब्रोकरले रकम र बेच्ने ब्रोकरले धितोपत्र सीडीएससीलाई हस्तान्तरण; सोही दिन सीडीएससीले कारोबार रुजु गरी धितोपत्र र रकमको राफसाफ गर्दै सम्बन्धित ब्रोकरलाई धितोपत्र हस्तान्तरण र रकम दाखिला; र
  • तेस्रो कार्यदिन (टी प्लस थ्री) मा ब्रोकरले किनेको धितोपत्र (ग्राहकबाट भुक्तानी भइसक्दा) सम्बन्धित ग्राहकको डिम्याट खातामा हस्तान्तरण; सोही दिन टीएमएसले बिल तयार गरेपछि बल्ल ग्राहकलाई रकम भुक्तानी सुरु हुन्छ ।
ग्राहक र ब्रोकरको खाता टीएमएममा एकीकृत र एउटै बैंक (राफसाफ बैंक) हुँदा बिल तयार भएसँगै तेस्रो कार्यदिनै (टी प्लस थ्री) रकम भुक्तानी हुन सक्छ, तर फरक बैंकमा एनसीएचएलमार्फत हुने भुक्तानीमा थप समय र दिन लाग्न सक्छ ।

निर्धारित प्रक्रिया पूरा गरी सदस्य (ब्रोकरबीच) धितोपत्र र रकम राफसाफ हुनै कम्तीमा दुई कार्यदिन लाग्ने अवस्थामा ग्राहक र ब्रोकरबीच राफसाफ र फछ्र्योटमा स्वाभाविक रूपमा ३-४ कार्यदिन (टी प्लस थ्री) लाग्न सक्छ । राफसाफ तथा फछ्र्योटको विद्यमान कानुनले क्रेता र विक्रेता राफसाफ सदस्यको प्रक्रियालाई समट्दै अन्त्यमा ग्राहकलाई रकम र धितोपत्र हस्तान्तरणको कुरा गरेको छ । तर, ब्रोकर र ग्राहकबीचको राफसाफ र फछ्र्योटमा कानुन मौन रहँदा आपसी अनौपचारिक समझदारीमा कारोबार तथा राफसाफ हुँदै आएको छ । अझ बेचेको धितोपत्र तोकिएको समयमा हस्तान्तरण हुन नसकेमा क्लोजआउट र २० प्रतिशत रकम थप (जरिवना) तिर्नुपर्ने कानुनी व्यवस्था छ, तर ग्राहकले किनेको रकम समयमा नबुझाएमा कानुनी उपचारको व्यवस्था नै छैन्, जसले ब्रोकरसँगै समग्र प्रणालीमा भुक्तानी सन्तुलनको जोखिम निम्त्याएको छ ।

ब्लगमा चित्र थपिएकाे

उधारोबाट नगदीको सम्भावना

धितोपत्र बजारका दृष्टिले जति धेरै कारोबार त्यति राम्रो अनि जति छिटो राफसाफ र फछ्र्योट त्यति धेरै कारोबार हुन सक्छ । हुन त विश्व धितोपत्र बजारमा स्वामित्वमा नभएको धितोपत्रसमेत भविष्यमा किनेर दिने कबुलियत (फ्युचर) र एकै दिन किनबेच (इन्ट्राडे) को प्रचलन रहेको अवस्थामा यथासमयमा-हाताहाती राफसाफ तथा फछ्र्योट (रियल टाइम सेटलमेन्ट) असम्भवै भन्न नसकिएला । तर नेपाली बजारमा उपलब्ध प्रविधि (दूरसञ्चारको अवस्था, सफ्टवेयर, हार्डवेयर) का साथै उधारो कारोबारी चरित्र, कानुनी व्यवस्था, किन्ने–बेच्नेको नगद र धितोपत्र हस्तान्तरण क्षमता, कारोबार तथा राफसाफमा संलग्न हुने निकाय र तिनका नियम/क्षमतासमेतलाई दृष्टिगत गर्दा यथासमयमा राफसाफ सम्भाव्य र व्यावहारिक नहुन सक्छ । विद्यमान कानुनी व्यवस्था र प्रणालीमा सुधार गर्दै कारोबार र राफसाफको सम्पूर्ण जिम्मेवारी बजार सञ्चालक (नेप्से) लाई दिएर कारोबार प्रणाली (टीएमएस) बाटै विक्रेता ग्राहकको डिम्याट खाता रुजु गर्दै बिक्री धितोपत्र र क्रेता ग्राहकको बैंक खाता रुजु गर्दै खरिद रकम स्वचालित तान्ने व्यवस्था भए बल्ल बजार र ग्राहकले खोजेजस्तो नगदी कारोबार र राफसाफ सम्भव हुनेछ । स्वचालित कारोबारमा हुँदासमेत ग्राहकले नै ‘मेरो सेयर’ बाट धितोपत्र र टीएमएस वा बैंकिङ च्यानलबाट आफैंले रकम हस्तातरण गर्नुपर्ने अर्थात् सम्बन्धित व्यक्ति-संस्थाको निर्देशन चाहिने, धेरै निकायको संलग्नता रहँदासम्म केही सुधार सम्भव भए पनि नगदी राफसाफ कठिन छ ।

उधारो र नगदी राफसाफका फाइदा र बेफाइदा

नगदी कारोबार र राफसाफले छिटो रकम र धितोपत्र प्राप्त हुँदा ग्राहकले छिटोछिटो किनबेच गर्दै मूल्यगत जोखिम कम गर्न तथा पुँजीगत लाभको सम्भावना बढ्न सक्छ । यस्तै बजार प्रणालीको सक्रियता बढेर कारोबार, सूचक र पुँजीकरण बढ्दै पुँजीबजारको फैलावट र गहिराइ बढ्न सक्छ । सेबोन, नेप्से, ब्रोकर, सीडीएससी र राज्यसँगै ग्राहक र अन्य सरोकारवालाको पनि आम्दानी बढ्न मद्दत पुग्नेछ । 

तर, विगतदेखि उधारोमा चलिरहेको बजारमा नगदी कारोबार र राफसाफ सहजै पाच्य नहुन सक्छ । नगद जोहो गर्दै किनबेच गर्ने बहुसंख्यक ग्राहकलाई तत्कालीन नोक्सानी पुग्न सक्छ । भोलि रकम आउँछ वा कुनै धितोपत्र बेचेर तिर्छु भन्दै किन्नेले खातामा रकम नहुँदा किन्नै नसक्ने अवस्थामा समग्र कारोबार र बजार प्रभावित हुन सक्नेछ । प्राविधिक वा व्यक्तिगत कारण क्लोज आउटको जोखिम बढ्न सक्नेछ ।

अन्त्यमा बजारको विकास र विस्तारका लागिसमेत समयसापेक्ष कारोबार र राफसाफ प्रणालीमा सुधार गर्नैपर्छ । तत्काललाई ट्राफिक र प्राविधिक त्रुटि नआउने गरी टीएमएसको गुणस्तरमा सुधार; टीएमएस, डिम्याट र मेरो सेयरबीच यथासमयमा इन्टिग्रेसन; डिम्याटमा नभएको धितोपत्र बिक्री नहुने सुनिश्चिता; एनसीएचएलको राफसाफ समय बढाएर भए पनि विक्रेता ग्राहकले रकम र क्रेता ग्राहकले धितोपत्र ढिलोमा तीन कार्यदिनमा पाउने सुनिश्चितता भए लगानीकर्ता खुसी हुनेछन् । उधारो कारोबारको जोखिम व्यवस्थापन गर्न ग्राहक र ब्रोकरबीचको कारोबारलाई तत्काल कानुनी दायरमा ल्याइनुपर्छ ।

काराेवार दैनिकमा २०७८ साउन ३१ गते प्रकाशित, धितोपत्रको कारोबार नगद वा उधारो ? « (karobardaily.com)
Revised/updated 19 Aug 2021, NST 13:00

Sunday, May 23, 2021

अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण

निषेधाज्ञा र महामारीसँगै भौतिक उपस्थिति, आउजाउमा असहजताले मात्र होइन, धितोपत्र किनबेचमा सहजता र स्वनियन्त्रणका कारण अनलाइनबाट धितोपत्र कारोबार निकै बढेको छ । करिब ३५ लाख डिम्याट खाता खोलिँदा ७ लाखले कारोबार खाता खोल्दा ६ लाख लगानीकर्ताले ‘अनलाइन कारोबार’ गर्दै आएका छन् ।

धितोपत्र कारोबारलाई सहज, स्वचालित र पेपरलेस बनाउने प्रयासस्वरूप बजार सञ्चालक नेप्सेबाट विकास र २०७५ पुस १७ बाट व्यावहारिक सञ्चालनमा ल्याइएको ‘नेप्से अनलाइन ट्रेडिङ सिस्टम - NEPSE Online Trading System’ (नट्स-NOTS)’ अनलाइन कारोबार प्रणालीको मुख्य हिस्सा ‘ट्रेड म्यानेजमेन्ट सिस्टम - Trade Management System’ (टीएमएस-TMS)मा पहुँच सबैलाई अनिवार्यजस्तै छ । खोजेजस्तै पूर्ण नभए पनि सेमिअटोमेटेड प्रकृतिको विद्यमान ‘टीएमएस’ प्रणालीबाट धितोपत्र दलाल (ब्रोकर) को प्रत्यक्ष सहभागिताबिनै बासस्थान वा कार्यालयबाटै इन्टरनेट सुविधा भएको कम्प्युटर, ट्याबलेट वा मोबाइल फोनजस्ता उपकरणमार्फत क) कोलाटर जम्मा गर्न; ख) खरिद–बिक्री आदेश प्रविष्टि, परिमार्जन र कारोबारको जानकारी लिन; ग) कारोबारको विस्तृत विवरण र अभिलेख हेर्न र रुजु गर्न; घ) भुक्तानी र राफसाफ गर्न सकिन्छ ।

आवश्यक तयारी 

धितोपत्र (दोस्रो वा सेयर) बजारमा कारोबार गर्न प्राथमिक बजारमा चाहिने ‘डिम्याट’, ‘बैंक खाता’, ‘मेरो सेयर’सँगै स्वीकृति प्राप्त धितोपत्र दलाल (ब्रोकर) कहाँ ‘कारोबार खाता’ खोल्नैपर्छ । अनलाइन कारोबारका लागि केवाईसी अद्यावधिक गर्दै ‘टीएमएस’को ‘युजरनेम - User name र पासवर्ड - Password’ लिनुपर्छ, जुन सम्बन्धित दलाल कार्यालय गएर, वेबसाइट मार्फत वा ‘टीएमएस’बाटै पनि रजिस्ट्रर गर्दै निःशुल्क पाइन्छ । यसपछि अनलाइन प्रणालीमा प्रवेश गर्दै निम्न अनुसार काराेवार गर्न सकिन्छ ।


१. कोलाटरल

‘युजरनेम (User name) र पासवर्ड (Password)’ सँगै धितोपत्र किनबेचका लागि सम्बन्धित ब्रोकरबाट कारोबार रकमको सीमा (लिमिट - LIMIT) प्राप्त गर्नुपर्छ, जुन धरौटी रकम (कोलाटरल - Collatoral) र सम्झौताको आधारमा ब्रोकरले उपलब्ध गराउँछ । धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार खरिद आदेश प्राप्त गर्दा नै कम्तीमा २५ प्रतिशत अग्रिम भुक्तानी लिनुपर्ने व्यवस्थाबमोजिम ब्रोकरले ‘कोलाटरल’ माग्छन् । ब्रोकरसँगको सहमतिमा नगद (Cash) वा चेक (Cheque) डिपोजिट गर्न वा आवश्यकताअनुसार बैंक (Bank)/कनेक्ट आईपीएस (connectIPS) बाट अनलाइन नै लोड/जम्मा गर्न सकिन्छ । अनलाइन प्रणालीमा कोलाटरलले नै कारोबार ‘लिमिट’ निर्धारण गर्ने हुँदा कति ‘कोलाटरल’ र कति ‘लिमिट’ ब्रोकर र ग्राहकमा निर्भर हुन्छ । ‘लिमिट’ बिना किनबेच आदेश नै प्रविष्टि गर्न सकिन्न । ‘कोलाटरल’ र ‘लिमिट’ टीएमएसको ‘माइ इन्फरमेसन (My Information)’ वा ‘ड्यास बोर्ड (DASH BOARD)’मा पनि हेर्न सकिन्छ । काेलाटरलकाे कति गुना लिमिट भन्ने ‘म्यानेज काेलाटरल (Manage Collatoral)’ काे   ‘मल्टिल्पिकेसन फ्याक्टर (Multiplication Faction)’ मा हेर्न सकिन्छ । थप जानकारीका लागि काेलाटरल व्यवस्थापन पढ्नुस् ।


२. खरिद–बिक्री आदेश

‘टीएमएस’मा प्रवेश गरी उपलब्ध ‘लिमिट’ अनुसार खरिद–बिक्री आदेश राख्न सकिन्छ । ‘अर्डर म्यानेजमेन्ट (ORDER MANAGEMENT)’को ‘बाइ/सेल (BUY OR SELL)’मा क्लिक गर्दै अथवा ‘मार्केट डाटा (MARKET DATA)’ को ‘मार्केट डेप्थ (MARKET DEPTH)’ मा सम्बन्धित धितोपत्र छनौट गरी ‘बाइ (BUY)’ वा ‘सेल (SELL)’ मा क्लिक गरी खरिद–बिक्री आदेश दिन सकिन्छ । किनबेचका लागि नियमित समय ११ देखि ३ बजेसम्म ‘कन्टिन्युअस (CONTINUOS)’, बिहान १०ः३० देखि १०ः४५ बजेसम्म ‘प्रिओपन (PRE OPEN)’, सूचीकृतको पहिलो कारोबारका लागि ‘स्पेसल प्रिओपन (SPECIAL PRE OPEN)’ र अडलट (१० कित्ता/१ सय एकाइभन्दा कम) का लागि ‘अडलट (ODD LOT)’ छान्नुुपर्छ । यसपछि तोकिएको ‘लिमिट’ भित्र मूल्य र कित्ता उल्लेख गर्दै किन्न ‘एलएमटी–लिमिट (LMT)’ र बजारमा उपलब्ध मूल्यमा तोकिएका कित्ता किन्न ‘एमकेटी–मार्केट (MKT)’ छान्नुपर्छ ।

Option 1 through Order Management > Buy/Sell

Option 2 through Market DATA> Market Depth

यसपछि किनबेच गर्न खोजेको धितोपत्रका आधारमा ‘इन्स्टा (INST)’मा १) साधारण सेयरलाई ‘ईक्यू (EQ)’, २) अग्राधिकार सेयरलाई ‘पीएस (PS)’, ३) अपरिवर्तनीय डिबेन्चरलाई ‘एनसीडी (NCD)’ वा ४) म्युचुअल फन्डलाई ‘एमएफ (MF)’ छानेर सिम्बोलको कोठामा सम्बन्धित धितोपत्रको नाम लेख्ने वा पहिलो अक्षर थिचेसँगै उपलब्ध हुने सूचीबाट छान्ने । धितोपत्र छानेर कित्ता वा एकाइ ‘क्यूटीवाई (QTY)’ कोठामा उल्लेख गरी तिर्न चाहेको प्रतिकित्ता-एकाइ मूल्य ‘प्राइस (PRICE)’मा जनाउने । यसपछि ‘भ्यालिडिटी (VALIDITY)’ मा समय वा विधिको आधारमा १) एक दिनलाई ‘डे (DAY)’, २) किनबेच नहुँदासम्म भए ‘जीटीसी (GTC)’ (गुड टिल क्यान्सिल), ३) तोकिएको मितिसम्म भए ‘जीटीडी (GTD)’ (गुड टिल डेट) सहित मिति उल्लेख गर्ने । यस्तै ‘भ्यालिडिटी’ मा नै खरिद–बिक्री आदेशअनुसार सम्पूर्ण कित्ता/एकाइ कारोबार हुने अन्यथा नहुने गर्न ‘एओएन (AON)’ (अल अर नन), आदेश राख्नेबित्तिकै किनबेच भए गर्ने नभए नगर्ने ‘आईओसी (IOC)’ (इमिडिएट अर क्यान्सिल), अथवा तत्काल किनबेच नभए रद्द हुने आदेशका लागि ‘एफओके (FOK)’ (फिल अर किल) विकल्प रोज्ने ।

एओएन विवाद र उययाेग 

  • ‘एओएन (AON)’ (अल अर नन) ले माग र अापुर्तिमा खेलेर मूल्य प्रभावित गरेकाे भन्ने नयाँ विवाद सिर्जना गरिएकाे छ । नेप्सेले अाधिकारिक सूचना विना २०७८ जेठ ३० गते दिनकाे १ बजेबाट टिएमएसमा खरिदतर्फ एओएन डिसेवल गरेकाे छ । यससँगै क्रेताले चाहेकाे परिमाणमात्र किन्न पाउने अधिकारबाट बञ्चित भएका छन् । कसैले ५५ किता पाए किन्छु नभए किन्दिन भन्न नपाउने भएकाे छ, अब क्रेताले ५५ किता किन्न खाेज्दा ५० मात्रै पनि पाउन सक्नेछ । त्यसैले खरिद अादेश राख्दा बिक्रिमा रहेकाे किता र अादेश संख्यामा विशेष चनाखाे हुनुपर्ने छ । हेर्दा ठूलाे समस्या देखिन्न तर ग्राहककाे छनाैटकाे अधिकारमा प्रहार भएकाे छ र उसले बिक्रेताकाे इच्छामा निर्भर भएर किन्नुपर्ने छ । यस्तै क्रेताकाे लगानी याेजना र लगानी व्यवस्थापन याेजना माथि अप्रत्यक्ष नियन्त्रण भएकाे छ । 
  • विक्रीकाे सन्दर्भ हाल एओएन नहटेकाे अवस्थामा यस विकल्पबाट बेच्दा चाहेकाे परिमाण नै बेच्न सकिन्छ । यदि एओएनमा नराखि बेच्ने हाे भने ५७ किता बेच्न खाेज्दा ५२ किता बिकेर ५ किता अडलटमा जाने वा कतिपय अवस्थामा १ किता नबिकेर पछि बेच्दा लाग्ने चर्काे लागतले धेरैलाइ दुःख दिनेछ । अझ ५७ किता बेचेर ऋण वा तिरनतारन गर्न खाेज्नेकाे सबै नबिकेर सिर्जना हुने अार्थिक समस्याकाे सम्भावना रहन्छ । एओएन राख्दा कि ५७ कित्तै बिक्छ नभए बिक्दैन, जसले अडलट बस्ला भन्ने चिन्ता हुन्न ।
  • एओएन राखिएका अादेशहरू एकैपटकमा काराेवार हुने सम्भावना बढि हुन्छ, यसले ससानाे काराेवार हुँदा लाग्ने उच्चदरकाे कमिसन जाेगिनसक्छ, भने धेरै काराेवारकाे रेकर्ड झन्झट पनि हुन्न ।

यसरी प्रणालीमा प्रविष्ट खरिद–बिक्री आदेशहरू ‘मूल्य र समय (PRICE AND TIME)’का आधारमा म्याचिङ हुँदै कार्यान्वयन हुन्छन् । ‘अर्डर म्यानेजमेन्ट (Order Management)’को ‘डेली अर्डर बुक (Daily Order Book)’मा गएर आफूले राखेको आदेशको अवस्था थाहा पाउन सकिन्छ । कार्यान्वयन भएका आदेश ‘कम्प्लिटेड (Completed)’ मा र बाँक ‘ओपन (Open)’ मा देखिन्छ । ‘एक्सन (Action)’ मा क्लिक गर्दै उक्त धितोपत्रको बजार माग र आपूर्तिको अवस्था (मार्केट डेप्थ - Market Depth) पनि हेर्न वा किनबेच नभइसकेको अवस्थामा मूल्य वा कित्ता-एकाइ परिमार्जन गर्न सकिन्छ । ‘कम्प्लिटेड’मा पनि प्लस चिह्नमा थिचेर आदेश कार्यान्वयन र ‘ट्रेड डिटेल (Trade Detail)’मा आदेशअनुसार किनबेच भएको कित्ता, मूल्य, कमिसन, सेबोन शुल्क, डिपी शुल्क तथा बिक्रीको हकमा लाभकरको जानकारी लिन सकिन्छ ।


खरिद–बिक्री आदेशको विकल्पका आधारमा नियमित कारोबार समयपश्चात् ‘कम्प्लिटेड’ मा जान्छन् र ती ‘कम्प्लिटेड’, ‘पार्सियल्ली कम्प्लिटेड’ वा ‘क्यान्सिल’ हुन्छन् ।

३. सेयर र रकम भुक्तानी

प्रचलित नियमानुसार किनेको धितोपत्रको रकम र बेचेको धितोपत्र कारोबारको भोलिपल्ट (अर्को कार्यदिन, टी प्लस वन) ब्रोकरलाई हस्तान्तरण गर्ने जिम्मेवारी किन्ने–बेच्नेको हुन्छ । बेचेको धितोपत्र सीडीएस्सीको ‘मेरो सेयर’ मा उपलब्ध ‘सेयर ट्रान्सफर’को विकल्प प्रयोग गरी विद्युतीय माध्यमबाट ‘ईडीआईएस’ द्वारा हस्तान्तरण गर्नुपर्छ । ‘ईडीआईएस’ सम्भव नभए मात्र डीपीबाट उपलब्ध ‘डीआईएस–डेबिट इन्स्ट्रक्सन स्लिप’ भरेर ब्रोकरलाई दिनुपर्छ । तोकिएको अवधिमा कुनै पनि कारण धितोपत्र हस्तान्तरण गर्न असफल भए ‘क्लोजआउट’ मा परिन्छ र बिक्री मूल्यको २० प्रतिशत जरिवाना बेहोर्नुपर्नेछ । रकमको सम्बन्धमा कुनै जरिवानाको कानुनी व्यवस्था नभए पनि किनेको भुक्तानी दिनु नैतिक दायित्व हो ।


किनेको धितोपत्रको रकम क) टीएमएस, ख) चेक, ग) कनेक्ट आईपीएस, घ) अनलाइन बैंकिङबाट भुक्तानी गर्न सकिन्छ । टीएमएसबाट भुक्तानी गर्न ‘फन्ड सेटलमेन्ट’को ‘पेमेन्ट सेटलमेन्ट’ अन्तर्गत ‘बाई इन्फरमेसन’ मा गएर तिर्न बाँकी बिलहरू हेर्दै तिर्ने बिलको ‘एक्सन’ मा क्लिक गर्दै ‘ईओडी’ छनोट गरी ‘एमाउन्ट’मा बिलअनुसार (प्रणालीले देखाएको रकम) को भुक्तानी रकम उल्लेख गर्ने अनि ‘बैंक’मा ग्लोबल आईएमई वा कनेक्ट आईपीएस छनोट गरेर ‘रिमाक्र्स’ मा बिल मिति वा कारोबार नम्बर केही लेखेर ‘मेक पेमेन्ट÷प्रोसिड’ क्लिक गर्नुपर्छ । यसपछि बैंकको अनलाइन वा कनेक्ट आईपीएस प्रणालीमा जान्छ र उल्लिखित प्रक्रिया पूरा गरी भुक्तानी हुन्छ । सामान्यतः कोलाटर क्यास र ननक्याससमेत हुने र नियमित कारोबारमा आवश्यक परिरहने हुँदा भुक्तानीका लागि ‘कोलाटर’को विकल्प नअपनाउँदा राम्रो । ‘कोलाटरल’बाट भुक्तानीमा प्रणालीले स्वतः भुक्तानी नजनाउने हुँदा ब्रोकरबाट भुक्तानी मिलान गराउनुपर्छ, जसले भुक्तानी अन्योलता र समयमा धितोपत्र नआउने जोखिम रहन्छ । हाल ग्लोबल आईएमई बैंकले मात्र ‘टीएमएस’बाटै भुक्तानी सुविधा दिने र प्रायः ब्रोकरको कारोबार बैंक पनि हुँदा यस बैंकमार्फत भुक्तानी लिँदादिँदा सहज र केही आईपीएस शुल्क बच्छ । सम्बन्धित ब्रोकरको बैंक, खाताको नाम र नम्बर लिएर टीएमएसबाहिरबाट पनि भुक्तानी गर्न सकिन्छ । टिएमएस बाहिरबाट भुक्तानी गरेकाे अवस्थामा दलाललाइ सम्पर्क गरेर टिएमएसमा भुक्तानी, काेलाटरल र लिमिट समायाेजन गराउनुपर्ने हुन्छ । यसले थप समय, लागत र मेहनत लाग्नेछ । इअाेडिकाे हकमा सिस्टमले स्वतः हिसाव मिलान गर्छ ।

In TMS > Fund Settlement > Buy Information


Once click in Make Payment > Confirm Payment


If choosed Global IME Bank leads to GBIME online banking

Complete process and pay

४. विगत कारोबार र हिसाब

टीएमएसमा कारोबारसँगै विगतको कारोबार र हिसाब हेर्न सकिन्छ । ‘फन्ड सेटलमेन्ट’को ‘क्लाइन्ट फन्ड ट्रान्सफर हिस्ट्री’ मा गएर बैंक र एनसीएचएलबाट गरिएको र प्राप्त भुक्तानीको अभिलेख पाइन्छ । यस्तै ‘फन्ड सेटलमेन्ट’ कै ‘बाई इन्फरमेसन’ मा भुक्तानी बाँकी ‘पेमेन्ट ड्यु’, भुक्तानी गरिएका ‘सक्सेस’ र प्रक्रियामा रहेका ‘इन प्रोग्रेस’ को जानकारी पाइन्छ । ‘सेल इन्फरमेसन’ मा प्राप्त हुन बाँकी भुक्तानी ‘पेमेन्ट ड्यु’, स्वीकृत भुक्तानी ‘एप्रुभ्ड’, ब्रोकरबाट भएको भुक्तानी ‘सक्सेस’ र प्रक्रियामा रहेका ‘इन प्रोग्रेस’मा हुन्छ । ‘सक्सेस’मा देखिने सूचीको ‘प्लस’ थिच्दा कारोबारको विस्तृत हिसाब पाइन्छ ।

Buy information

Sell information

यस्तै ‘मार्केट डाटा’ मा बजारको अवस्था, मार्केट डेप्थ, सक्रिय धितोपत्र, बढेका र घटेका १० धितोपत्र, मार्केट लाइभ हेर्न सकिन्छ । ‘ब्रोकर ब्याक अफिस’को ‘डीपी होल्डिङ’ले डिम्याटमा रहेको धितोपत्र देखाउँछ । अनेक समस्या र सुधारको आवश्यकताका बाबजुद उपलब्ध अनलाइन प्रणाली अपनाउनु हितकर छ, जसले स्वनियन्त्रणमा सहजै कारोबार र राफसाफ गर्दै अभिलेखको सुविधा निःशुल्क दिन्छ ।


कतिपय अवस्थामा टिएमएस लगइन गर्दा प्रणालीले यस्ताे सन्देश दिन सक्छ । यसमा वास्तवमा अाेटिपी पठाएकाे हुँदैन र केहि गर्नुपर्दैन, केवल त्याे क्रस (X) थिचे पुनः लगइन विन्डाेमा पुगिनछ र पहिलेकै तरिकाले लगइन हुन्छ ।


थप जानकारीका लागि

Last revised/corrected/updated 25 July 2021, 11:04 NST




Sunday, February 21, 2021

सेयर बजार पुँजीकरण : तथ्यांक कि मिथ्यांक ?

सामान्यतः धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयर कित्तालाई अन्तिम कारोबार मूल्यमा गणना भएको कुल बजार मूल्य नै उक्त कम्पनीको बजार पुँजीकरण हो । यसले बजारले तिरेको अन्तिम मूल्यमा अनुमानित सेयरधनीको सेयर सम्पत्ति र कम्पनीको मोल (भ्यालु) जनाउँछ । सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण जोडेर ‘कुल बजार पुँजीकरण’ तथा सर्वसाधारण सेयरधनीको हिस्साको मात्र पुँजीकरण जोडेर ‘फ्लोट बजार पुँजीकरण’ निस्कन्छ । तसर्थ ‘नेप्से परिसूचक’ कम्पनीको मूल्यगत अवस्था र ‘बजार पुँजीकरण’ प्रचलित मूल्यमा सूचीकृत कम्पनीको बजार आकलित मूल्यगत अवस्था मान्न सकिन्छ । बजार पुँजीकरणले सूचीकृत कम्पनीहरूको सेयरको माग र आपूर्ति, व्यवसाय, मुनाफा, जोखिमजस्ता पक्षहरूको विश्लेषणका आधारमा क्रेताले तिरेको वा तिर्न चाहेको प्रतिकित्ता सेयरको बजार मूल्य र सोका आधारमा बजारमा कम्पनीको मूल्यगत हिस्सा र प्रभावलाई अभिव्यक्त गर्ने मान्यता राखिन्छ ।

नेपालमा बजार पुँजीकरण

सूचीकृत कम्पनीको अन्तिम कारोबार भएको न्यूनतम १० कित्ताको मूल्यले कुल सेयर संख्यालाई गुणन गरेर पुँजीकरण निकालिन्छ । अडलट भनिने १० भन्दा कम कित्ताको मूल्य पुँजीकरण गणनामा प्रयोग गरिन्न । जस्तै, नेपाल टेलिकमको सूचीकृत १५ करोड कित्ता सेयरलाई अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. १३५५ ले गुणन गर्दा हुने २.०३ खर्ब रुपैयाँ नै कम्पनीको बजार पुँजीकरण हो, भलै उसको ९२ प्रतिशतभन्दा बढि सेयर कारोबारमा आउँदैन । सूचीकृत कम्पनीको सेयर मूल्यमा परिवर्तन तथा नयाँ कम्पनी थपिएसँगै कुल बजार पुँजीकरण परिवर्तन हुन्छ । नयाँ कम्पनी सूचीकृत हुँदा पहिलो कारोबार दिनको अन्तिम कारोबार मूल्यले कम्पनी र बजार पुँजीकरण निर्धारण हुन्छ ।

आव २०७६-७७ को अन्त्यमा १७.९२७६ खर्बको नेपाली सेयर बजारको कुल बजार पुँजीकरण करिब ७ महिनामा रु. १८.४० खर्ब अर्थात् १०२.६६ प्रतिशत हाराहारी बढेर २०७७ फागुन ६ मा ३६.३३२२ खर्ब रुपैयाँ पुगेको छ । यसमा विद्यमान कम्पनीहरूको सेयर मूल्य वृद्धिसँगै थपिएका कम्पनीहरूको उल्लेख्य योगदान बिर्सनु हुन्न । आधार मूल्यमा ३२.०९ खर्बको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँग तुलना गर्दा कायम बजार पुँजीकरण ११३.२२ प्रतिशत तथा उपभोक्ता मूल्य ३७.६७ खर्बको जीडीपीको ९६.४५ प्रतिशत हाराहारी पुगेको छ । यसै आधारमा सेयर बजारको जोखिम बढेको, अर्थतन्त्रको विपरीत कुदेको, बजार पुँजीकरण र जीडीपी अनुपातसँग असन्तुलितजस्ता टीकाटिप्पणीसँगै खुसियाली व्यक्त भए । यस्तै जीडीपी र बजार पुँजीकरणमा वफेट सिद्धान्तमा बहस अनि जीडीपी र पुँजीकरणको शुद्धतामा तर्कविर्तक भए ।

अन्तर्राष्ट्रिय प्रचलनविपरीत हाम्रो सेयर बजारमा सूचीकृत कम्पनीको नियामक र प्रकृतिअनुसार संस्थापक र सर्वसाधारणको सेयर कारोबारमा क) फरक वा समान मापदण्ड-विधि, ख) फरक वा समान मूल्य र ग) संस्थापकसमेत सहज-खुल्ला कारोबार हुने वा नहुने अनेक प्रावधानले एकै कम्पनीको सेयर तीन थरी मूल्य प्रचलनमा छ । तर बजार पुँजीकरण गणना गर्दा सामान्यतः कारोबार नै नहुने वा फरक मूल्यको सेयरसमेत एकमुस्ट सर्वसाधारण मूल्यमा गरिन्छ । कुल बजार पुँजीकरणको सम्भावित त्रुटिलाई अप्रत्यक्ष स्विकार्दै नेप्सेले सर्वसाधारण सेयरको मात्र छुट्टै फ्लोट इन्डेक्स र फ्लोट बजार पुँजीकरण गणना गर्दै आएको छ । २०७६-७७ को अन्त्यमा ६.३८ रहेको फ्लोट बजार पुँजीकरण हाल रु. १२.७२ खर्ब छ, तर योसमेत विश्वसनीय देखिन्न । यसरी गलत मूल्यमा निकालिएको कुल बजार पुँजीकरण अनि सर्वसाधारणको त्रुटिपूर्ण हिस्सामा निकालिएको फ्लोट बजार पुँजीकरणसँग जीडीपी तुलना कसरी सही हुन्छ ?

बैंकको पुँजीकरण

नेपाल राष्ट्र बैंकको हालैको प्रतिवेदनअनुसार सेयर बजारमा सूचीकृत २ सय १५ कम्पनी (निफ्राबाहेक) मध्ये संस्थापकको कारोबार र मूल्यमा फरक हुने बैंक तथा वित्तीय संस्था र बिमाका १ सय ४५ कम्पनी र बजार पुँजीकरणमा करिब ७१.९ प्रतिशत रहेको छ । सबै कम्पनीको संस्थापकको हिस्साको यथार्थ जानकारीसमेत सहजै उपलब्ध नहुने र कतिपय सेक्टरमा संस्थापक र सर्वसाधारणको कारोबार मूल्यमा भिन्न नहुने अवस्थामा विस्तृत तथ्यांक केलाउनु र शुद्ध बजार पुँजीकरणको आँकडा निकाल्न सम्भव हुन्न । वाणिज्य बैंकहरूको विभिन्न स्रोतबाट उपलब्ध संस्थापकको हिस्सा केलाउँदा मात्र पनि बजार पुँजीकरणको अन्योलता र समस्या छरपस्ट देखिन्छ ।

बैंकहरूकाे पुँजीकरण

बैंक

सूचीकृत किता (करोड)

संस्थापक (%)

सर्वसाधारण (%)

संस्थापक कारोवार मूल्य (रु)

सर्वसाधारण कारोवार मूल्य (रु, २०७७.११.६)

अन्तिम कारोवार मूल्यमा बजार पुँजीकरण (रु अर्ब)

नेप्से अनुसार बजार अवस्था

संस्थापक

सर्वसाधारण

कुल

संस्थापक (%)

सर्वसाधारण (%)

कुल बजार पुँजीकरण (रु अर्ब)

नविल

१३.४८

६०.००

४०.००

६८१

१३६७

५५.०८

७३.७१

१२८.७९

६०.००

४०.००

१८४.२७

एनआईसी एसिया

११.५६

५१.००

४९.००

३३५

९६३

१९.७६

५४.५७

७४.३२

५१.००

४९.००

१११.३६

ग्लोबल आइएमई

२१.६३

५१.३५

४८.६५

१५०

४८६

१६.६६

५१.५५

६७.८१

५७.७६

४२.४४

१०५.१३

नेपाल इन्भेष्टमेन्ट

१६.१०

६८.९८

३१.०२

४२१

५००

४६.७६

२४.९७

७१.७३

७९.४५

२०.५५

८०.५१

एनएमबी

१६.३३

५१.००

४९.००

२५०

४७४

२०.८२

३७.९२

५८.७३

५१.००

४९.००

७७.३९

प्राइम कमर्सियल

१६.०८

५१.००

४९.००

१६९

४८०

१३.८६

३७.८३

५१.६९

५१.००

४९.००

७७.२०

एभरेष्ट

८.८९

७०.००

३०.००

१०४५

८३८

६५.०६

२२.३६

८७.४२

७०.००

३०.००

७४.५३

हिमालयन

१०.६८

८५.००

१५.००

३००

५६६

२७.२५

९.०७

३६.३२

४८.५५

५१.४५

६०.४७

प्रभु

११.३५

५१.००

४९.००

२००

४९०

११.५७

२७.२४

३८.८२

५१.००

४९.००

५५.६०

नेपाल

१२.६४

५१.००

४९.००

१००

४३९

६.४४

२७.१८

३३.६३

४०.४९

५९.५१

५५.४८

स्ट्याण्डर्ड चार्टड

८.५७

७०.२१

२९.७९

१००

६४४

६.०२

१६.४५

२२.४६

७५.००

२५.००

५५.२१

कृषि विकास

१०.९९

५१.००

४९.००

१००

४७२

५.६०

२५.४२

३१.०२

५१.००

४९.००

५१.८७

मेगा

१४.६५

५०.९७

४९.०३

१२६

३३४

९.४१

२४.००

३३.४१

६९.७०

३०.३०

४८.९५

सिद्धार्थ

१०.९६

५१.००

४९.००

१९०

४३६

१०.६२

२३.४२

३४.०४

५१.००

४९.००

४७.८०

कुमारी

१३.८८

५१.००

४९.००

११०

३२४

७.७९

२२.०३

२९.८२

५१.००

४९.००

४४.९७

नेपाल एसबिआई

९.४९

७०.००

३०.००

१४९२

४५५

९९.१५

१२.९६

११२.११

७०.३६

२९.६४

४३.२०

सानिमा

९.६८

५१.०१

४८.९९

१८०

३९९

८.८९

१८.९२

२७.८१

५१.००

४९.००

३८.६३

नेपाल क्रेडिट एण्ड कमर्स

१०.३१

५१.००

४९.००

११८

३३४

६.२१

१६.८८

२३.०९

५१.००

४९.००

३४.४५

लक्ष्मी

१०.७०

५१.००

४९.००

१३७

३२०

७.४७

१६.७७

२४.२४

५५.४५

४४.५५

३४.२३

सनराइज

९.४९

५१.१०

४८.९०

१६२

३४९

७.८५

१६.१९

२४.०५

५१.००

४९.००

३३.११

सिटिजन्स

९.८२

५१.००

४९.००

१७१

३२९

८.५६

१५.८३

२४.३९

७०.१९

२९.८१

३२.३०

बैंक अफ काठमान्डू

९.६६

५१.००

४९.००

१४७

३२६

७.२४

१५.४३

२२.६७

४१.८१

५८.१९

३१.४९

माछापुच्छ्रे

९.०५

५१.००

४९.००

१२०

३३६

५.५४

१४.९१

२०.४५

५१.००

४९.००

३०.४२

नेपाल बंगलादेश

९.०१

५१.६५

४८.३५

११६

३२९

५.४०

१४.३३

१९.७२

५१.६५

४८.३५

२९.६३

सेञ्चुरी

९.०३

५३.४१

४६.५९

११२

२७१

५.४०

११.४१

१६.८१

७०.६८

२९.३२

२४.४८

सिभिल

८.६४

५१.००

४९.००

१०२

२४५

४.५०

१०.३८

१४.८७

५१.००

४९.००

२१.१८

जम्मा

३०२.६९

 

 

 

 

४८८.९२

६४१.३१

११३०.२३

 

 

१४८३.८३

औसत

११.६४

५५.६८

४४.३२

२७४.३८

४८१.००

१८.८०

२४.६७

४३.४७

५६.६६

४३.४४

५७.०७


औसत ५५.६८ संस्थापक र ४४.३२ सर्वसाधारणको हिस्सा रहेको बैंकहरूको बजार पुँजीकरण नेप्सेको १४.८४ खर्ब वा संस्थापकको फरक मूल्यबाट निस्कने ११.३० खर्ब रुपैयाँ कुन यथार्थ हो ? संस्थापक र सर्वसाधारण हिस्सा र मूल्यको सत्यतथ्य सार्वजनिक नहुँदा उल्लिखित दुवै बजार पुँजीकरण त्रुटिपूर्ण हुनसक्छ । स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास र नेपाल बैंकको संस्थापक सेयर कारोबार नभएर वा अन्य कारण मूल्य भेटिएन, जबकि एभरेस्ट र नेपाल एसबीआईको संस्थापकको मूल्य सर्वसाधारणको भन्दा बढी देखियो । नबिल र नेपाल इन्भेस्टमेन्टको वास्तविक संस्थापक सेयरको मूल्य सार्वजनिक नहुँदा ‘नविलपि’ (हाल सर्वसाधारणमा परिवर्तित) र ‘एनआईबीएलपीओ’ को मूल्यमा गरिएको गणना गलत हुन सक्छ । त्यसैले तथ्यांकीय र नीतिगत सुधारबिना बैंकको समेत यथार्थ र विश्वसनीय बजार पुँजीकरण निस्कने अवस्था छैन । नेप्से वेबसाइटमा सार्वजनिक त्रुटिपूर्ण संस्थापक र सर्वसाधारणको हिस्साबाट बजार पुँजीकरण केलाउनु पनि उपयुक्त देखिएन । अझ नेप्सेले केही बैंकको सेयर कित्ता (पुँजी) समेत गलत प्रयोग गरिरहेको आशंका छ ।

अर्कातिर, बजार पुँजीकरणमा दबदबा राख्ने नेपाल लाइफ, नेपाल इन्फ्रास्ट्रक्चर, ग्लोबल आईएमई बैंक, नबिल बैंकको ४० प्रतिशतमाथि सर्वसाधारण सेयर हुँदा नागरिक लगानी कोषको २०, नेपाल पुनर्बिमाको १६, शिवम् सिमेन्टको १२ र नेपाल टेलिकमको ८ प्रतिशत हाराहारी सेयर मात्र कारोबार हुने अवस्थामा हालको बजार पुँजीकरण तथ्यांकलाई मिथ्यांक भन्दा फरक नपार्ला ।

शुद्धीकरण र सुधार

मेरुदण्ड मानिने उत्पादन र व्यापारको स्वस्थ सहभागिता नभएको अनि डिबेन्चर, म्युचुअल फन्ड, सरकारी बचत वा ऋणपत्रलाई नचिन्ने नेपाली धितोपत्र बजारको पुँजीकरणलाई विश्वसनीय र यथार्थपरक बनाउँदै अर्थतन्त्रको ऐना र ब्यारोमिटर बनाउन,
१. मूल्यगत भिन्नता सिर्जित गलत पुँजीकरण सुधार्ने उत्तम विकल्प अन्तर्राष्ट्रिय प्रचलनअनुरूप ‘एक कम्पनी सेयर एकै किसिमको मूल्य’ कायम गर्ने ।
२. मूल्यगत भिन्नता कायम नै रहने अवस्थामा कम्पनीमा कायम संस्थापक र सर्वसाधारण सेयरको ‘वास्तविक हिस्सा र मूल्य’मा बजार पुँजीकरण गणना गर्ने ।
३. प्रचलित १० कित्ताको मूल्यबाट पुँजीकरण गणना विधि परिमार्जन गरी दैनिक वा साप्ताहिक वा निश्चित प्रतिशत सेयरको कारोबारबाट कायम हुने ‘औसत मूल्य’बाट पुँजीकरण गणना गर्ने ।
४. सर्वसाधारणमा फ्लोटेड सेयरको यकिन तथ्यांकमा दैनिक फ्लोट बजार पुँजीकरण गणना र सार्वजनिक गर्ने । कुल बजार पुँजीकरण साप्ताहिक वा मासिक मात्र गणना र सार्वजनिक गर्ने ।
५. उत्पादन र व्यापारको सहभागिता बढाउने ।

बजार पुँजीकरणको सोझो सम्बन्ध सूचीकृत कम्पनी, सूचीकृत पहिलो दिनको अन्तिम कारोबार मूल्य, सेयर संख्या र मूल्यसँग हुन्छ । यसले सेयरको मूल्यगत मानसिकताबाहेक सेयरधनीको सम्पत्ति वा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्दैन । तर, कम्पनीको संस्थापक र सर्वसाधारणको यकिन हिस्सा र मूल्य सार्वजनिक तथा पुँजीकरण गणनामा प्रयोग गरिनैपर्छ । त्रुटिपूर्ण तथ्यांक र मूल्यमा गणना गरिएको बजार पुँजीकरण, सेयरधनीको सम्पत्ति र जीडीपीसँगको तुलना सही हुन सक्दैन । यो केवल मिथ्यांक मात्र हुनेछ । धितोपत्र बजारको दीर्घकालीन विकास र विश्वसनीयताका लागि पनि बजार पुँजीकरणको तथ्यांकीय शुद्धीकरण र गणना विधिमा सुधार अपरिहार्य छ ।

नेप्से इण्डेक्ससम्बन्धी विषयवस्तु समेटिएकाे लेख 

कारावार दैनिकमा २०७७ फागुन ९ गते प्रकाशित सेयर बजार पुँजीकरण : तथ्यांक कि मिथ्यांक ? « (karobardaily.com)