Sunday, December 27, 2020

सेयर बजारमा नियामकीय र राजनीतिक प्रभाव

सेयर बजारमा मूलतः कम्पनीको व्यावसायिक अवस्था, मुनाफा, लाभांशजस्ता वित्तीय सूचकका आधारमा निरन्तर परिवर्तन हुने सूचीकृत कम्पनीका सेयरको माग र आपूर्तिले मूल्य तय गर्ने मान्यता राखिन्छ । सूचनाकै आधारमा सेयरको माग र आपूर्ति तथा मूल्य तलमाथि हुने वा गरिने हुँदा कतिपयले सेयर बजारलाई ‘सूचनाको व्यापार’ भन्छन् भने कसैले ‘सूचना र जोखिमको मूल्य असुल्ने’ बजार मान्छन् । सूचना संवेदनशील उच्च जोखिमयुक्त सेयर बजारमा हाल नियामकीय र राजनीतिक प्रभावसँगै जोखिम र अवसर बढेको छ । जस्तै, केन्द्रीय बैंकबाट मौद्रिक नीतिको समीक्षा र संसद् विघटनपछि सेयर मूल्यमा उच्च गिरावटलाई हेर्न सकिन्छ । बजार नियामकबाट भएको धितोपत्र दलाल शुल्क परिमार्जनको प्रभाव आगामी समयमा देखिनेछ ।

नियामक र नियामकीय प्रभाव

नेप्सेमा हाल विभिन्न क्षेत्रका २ सयभन्दा बढी कम्पनीका सेयरहरू सूचीकृत भई १) बैंकिङ, २) विकास बैंक, ३) फाइनान्स, ४) माइक्रोफाइनान्स, ५) निर्जीवन बिमा, ६) जीवन बिमा, ७) जलविद्युत्, ८) होटल, ९) उत्पादन तथा प्रशोधन, १०) व्यापार, ११) अन्य र १२) म्युचुअल फन्ड उपसमूहगत कारोबारमा छन् । यसमध्ये बैंकिङ क्षेत्र (बैंक, विकास बैंक, वित्त र लघुवित्त) को प्रत्यक्ष नियमन केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक), बिमा क्षेत्र (जीवन र निर्जीवन बिमा) को बिमा समिति, जलविद्युत् क्षेत्रको विद्युत् नियमन आयोगले गर्छ भने अरूको प्रत्यक्ष नियामक छैन । नियामक भएका वा नभएका सबै सूचीकृत कम्पनीका लगानीकर्ता, समग्र धितोपत्र बजारको कारोबार, बजार सञ्चालन, कारोबार सदस्य, सूचीकृत कम्पनीसमेतको नियामकीय जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेवोन) मा रहन्छ । त्यसैले धितोपत्र बजारको सन्दर्भमा सेवोनलाई नियामकको नियामक (सुपर रेगुलेटर) समेत मानिन्छ ।

नियामकीय उपस्थितिले सम्बन्धित क्षेत्रका कम्पनीमाझ स्वस्थ व्यावसायिक प्रतिस्पर्धा, निमयसंगत व्यावसायिक गतिविधि, कानुनको परिपालन, वित्तीय विवरणमा शुद्धताको अपेक्षा गरिन्छ । सुशासनका हिसाबले पनि प्रत्यक्ष नियमन भएका क्षेत्रका कम्पनीहरू विश्वसनीय र लगानी प्राथमिकताका मानिन्छन् । उनीहरूका प्रत्येक निर्णयले सम्बन्धित क्षेत्रका कम्पनीको व्यावसायिक अवसर र जोखिमसँगै सेयर मूल्यसमेत प्रभावित हुने सम्भावना रहन्छ । तर सेयर बजार सम्बन्धित नियामकको चासो र नियमनको क्षेत्र नरहने हुँदा सेवोनले सूचीकरण, सूचना प्रवाह, शुद्धता र सूचनामा समान पहुँचको सुनिश्चिततासँगै विषयगत नियामकहरूको नीतिगत निर्णयबाट सेयर बजारमा पर्ने प्रभावको विश्लेषण र जानकारी राख्दै तत्तत् निकायसँग समन्वय र नकारात्मक प्रभाव न्यूनीकरणमा भूमिका खेल्नुपर्छ । बजार र लगानीकर्ता हितका लागि कतिपय अवस्थामा विषयगत नियामकहरूलाई आवश्यक सुझावसहित समन्वय गर्दै उपयुक्त नीतिनिर्माणमा हस्तक्षेप र पैरवीको जिम्मेवारीसमेत सेवोनले लिनुपर्छ ।

बजार सञ्चालन र कारोबारका सन्दर्भमा सेवोनले सम्भावित मूल्य र सूचना पासो, स्वार्थपरक कारोबार र मूल्यान्तरको खेलमा झेलको सम्भावनालाई मनन गर्दै चुस्त नियमन र नियामकीय उपस्थिति देखाउनै पर्छ । खुला सूचनाको चुहावट र गैरजिम्मेवारी, भित्री सूचनाका आधारमा स्वार्थपरक कारोबार, निश्चित कम्पनी र समूहमा सर्कुलर ट्रेडिङ हुँदासमेत नियामकको उपस्थिति नदेखिएर नै होला, कतिपय सन्दर्भमा ‘नियामक हराएको बजार’ भन्ने व्यङ्ग्य हुँदै आएको छ । नियामकीय क्षमता र संस्थागत कमजोरीका कारण सूचीकृत कम्पनी र बजारलाई प्रभाव पार्ने नीतिगत निर्णयहरूमा समेत विषयगत नियामकहरूले सेवोनसँगको समन्वयको आवश्यकता नै महसुस नगरेको आभास हुन्छ ।

जति नै सुपर रेगुलेटर भनिए पनि सेयर बजारमा केन्द्रीय बैंकको उल्लेख्य प्रभाव देखिन्छ । सूचीकृत कम्पनी, बजार पुँजीकरण र परिसूचक चलायमान बनाउने सन्दर्भमा वित्तीय क्षेत्रको बलियो उपस्थितिसँगै केन्द्रीय बैंकको संस्थागत सबलता र नीतिगत निर्णयबाट बजारमा पैसाको उपलब्धता र लागतमा पर्ने असरसमेतले गर्दा सेयर बजारको वास्तविक नियन्त्रक र नियामक नै केन्द्रीय बैंक भएको आभास हुन्छ । अन्य प्रत्यक्ष नियामकलाई नचिनेजस्तो गर्ने सेयर बजारले सरकार र सेवोनको नीतिगत/नियामकीय कुराभन्दा केन्द्रीय बैंकको नियामकीय क्षमतालाई बढी पत्याउने र नीतिगत कुरालाई छिट्टै प्रत्तिउत्तर (रेस्पोन्स) गरेको पाइन्छ । जस्तै, आव २०७७/७८ को मौद्रिक नीतिमार्फत सेयर कर्जामा सहजताकै कारण २०७७ साउन ४ मा ८४.२६ बिन्दुले बढेर १४७९.०३ पुगेको बजार परिसूचक नेप्से २०७७ मंसिर १७ गते २०७१.०२ को उच्चतम बिन्दु पुगेको थियो । तर मौद्रिक नीति समीक्षामा सेयर कर्जामा पुनरावलोकन गर्ने जनाएको भोलिपल्ट १२३ बिन्दुले नेप्से परिसूचक घटेर २०५५.४५ बाट १९३२.११ मा झरेको बजार केन्द्रीय बैंकको आश्वासनपछि केही सम्हालिएको थियो ।

नियामकीय प्रभावका विषयवस्तु

कुनै पनि नियामकीय निर्णयको प्रभाव सूचीकृत सम्बन्धित कम्पनीको व्यवसाय र मुनाफासँगै बजार मूल्यमा पनि पर्छ । विशेषगरी अनुमति (लाइसेन्स), पुँजी, सार्वजनिक निष्कासन, हकप्रद, थप निष्कासन, र लाभांश नीति (मुनाफा वितरण) जस्ता कुराले सेयरको आपूर्ति, मूल्य र प्रतिफललाई प्रत्यक्ष प्रभाव पार्छ । नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेखनीय उपस्थिति र प्रभावका कारण केन्द्रीय बैंकको हरेक नीतिले बैंक तथा वित्तीय संस्थाको मुनाफा, लाभांश क्षमता र लाभांश नीति प्रभावित हुने हुँदा बैंक तथा वित्त कम्पनीको सेयर मूल्य, नेप्से परिसूचक र ४ वटा उपसूचकमा प्रभाव पर्छ । केन्द्रीय बैंकले लिने सेयर कर्जा नीतिले भने कारोबारी र लगानीकर्ताहरूको ऋण लिने, मार्जिन, भुक्तानी क्षमता, लागत र सहजता (क्रयशक्ति) सँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह र नीति, ब्याजदर प्रभावित हुने हुँदा समग्र बजार प्रभावित हुन्छ । बैंक तथा वित्तीय संस्थाको लाइसेन्स बन्द गर्ने, पुँजी वृद्धि, हकप्रद दिने र नदिने, एफपीओसँगै लाभांश नीति (बोनस र नगद अनुपात) ले बैंकिङ कम्पनीहरूको मूल्य प्रभावित भएको बिर्सनु हुन्न । यस्तै बिमाको नयाँ अनुमति, बिमाका प्रावधानसँगै एक्चुअरी र लाभांशका हरेक सूचनाले सेयर मूल्य प्रभावित हुन्छन् । हकप्रद र मुनाफा प्रभावित गर्ने नीतिले जलविद्युत् कम्पनीका सेयर मूल्य अति प्रभावित हुँदै आएका छन् ।

सेवोनकै पनि बजार सञ्चालन पूर्वाधार, शुल्क तथा कमिसनजस्ता नीतिगत व्यवस्थाले कारोबार लागतसँगै बजारलाई प्रभाव पार्छ । विगतकै अनुभवका आधारमा २०७७ पुस १० को निर्णयानुसार घटेको धितोपत्र दलाल शुल्कले कारोबार रकम बढाउने र परिसूचकमा सकारात्मक प्रभाव पार्ने आशा गर्न सकिन्छ ।

राजनीतिक प्रभाव

राजनीतिले आर्थिक–सामाजिक गतिविधिमा उल्लेख्य प्रभाव पार्ने हुँदा पनि प्रत्येक राजनीति उतारचढावमा सेयर बजारले स्वाभाविक प्रतिक्रिया जनाउँछ । चुनाव अगाडि, चुनावको नतिजा आउँदै गर्दा, सरकार बन्नु अगाडि र सरकार बनिसकेपछि विश्व सेयर बजारले तीव्र प्रतिक्रिया जनाएका छन् । अझ नेपालमा अस्थिर राजनीतिक अवस्थामा बन्ने वा सम्भावित सरकारको बहानामा सेयर बजारमा उतारचढाव हुँदै आएका छन् । २०७० को संविधानसभाको चुनावसँगै बढेको बजार २०७३ साउन १२ गते १८८१ बिन्दुको तत्कालीन उचाइ पुगेर २०७४ को संघीय संसद्को निर्वाचन अगाडिसम्म १५३६ बिन्दु तिर ओर्लिएर नयाँ सरकार बन्ने समयतिर केही तलमाथि हुँदै २०७५ फागुन १९ गते नेप्से परिसूचक करिब ११०० बिन्दुसम्म झरेको थियो । सरकारको पनि आर्थिक नीति भन्दा अर्थमन्त्री को ? भन्ने विषयले बढी प्रभावित हुने नेपाली सेयर बजारको हालैको नयाँ बिन्दुगत उचाइका लागि कतिपयले नयाँ अर्थमन्त्रीलाई कारक बताउँछन् । उसो त हालै २०७७ पुस ५ गते संघीय प्रतिनिधिसभा विघटनको समाचारसँगै ९६.८८ बिन्दुको उच्च गिरावट आएर १९३५.६३ कायम नेप्से परिसूचक केही सम्हालिँदै २०७७ पुस ९ गते २०३८.६३ कायम हुन पुगेको छ । राजनीतिक सरगर्मीसँगै बजार परिसूचकमा अन्तरदिन र साप्ताहिक प्रभाव बढ्दो देख्न सकिन्छ ।

जोखिम न्यूनीकरण

सेवोनले राजनीतिक प्रभावलाई केही गर्न नसके पनि नियामकीय प्रभावको नकारात्मक प्रभाव र जोखिमबाट बजार, कारोबारी र लगानीकर्तालाई बचाउन थप जिम्मेवार निर्वाह गर्न सक्छ । विशेषगरी केन्द्रीय बैंकसँग समन्वय र सम्बन्ध सुधार गर्दै सेयर कर्जा, सूचीकृत बैंक तथा वित्तीय संस्थाका पुँजी, मुनाफा र सेयरको आपूर्तिमा प्रभाव पार्ने विषय, वित्तीय विवरणमा एकरूपताका लागि पहल कदमी लिनुपर्छ । यस्तै बिमा समिति र विद्युत् नियमन आयोगसँगै उचित समन्वय राख्दै बिमा र जलविद्युत् क्षेत्रका कम्पनीको सेयर मूल्य प्रभावित हुने नीतिगत सवालमा सहभागिता र समन्वय खोज्नुपर्छ । मूल्य प्रभावित गर्ने नियामकीय र नीतिगत निर्णयमा सम्बन्धित नियामकका कर्मचारी, नीतिगत निर्णयमा पहुँच प्राप्तबाट हुन सक्ने सूचना चुहावट रोकथाममा आवश्यक पहल गर्नुपर्छ ।

सेवोनले सक्रिय उपस्थिति जनाउँदै क) बजार सञ्चालक (नेप्से), कारोबार सदस्य (दलाल, डीपी), संस्थागत र व्यक्तिगत कारोबारीको निरन्तर सुपरिवेक्षण, नियमन र आवश्यक कारबाही, ख) समग्र कारोबारको व्यावहारिक अनुगमन, तथ्यांक भण्डारण र विश्लेषण, ग) कम्पनीका सूचनाहरूको केन्द्रीकृत भण्डारण, विश्लेषण र एकरूपता कायम गराउँदै सूचनाको शुद्धता, यथार्थपरकता, विश्वसनीयता र उत्तरदायी बनाउँदै सूचनामा सबैको समान पहुँच सुनिश्चितताद्वारा र सूचना पासो भत्काउनुपर्छ । सेवोन र अन्य नियामकले नीतिगत निर्णय गर्दा नियमन र नियन्त्रणको मसिनो सीमालाई बिर्सनु हुन्न । लगानीकर्ता र कारोबारीहरूले पनि सम्भावित नियामकीय र राजनीतिक परिदृश्यप्रति चनाखो हुँदै कारोबार तथा लगानी व्यवस्थापन गर्नुपर्छ ।

काराेवार दैनिकमा २०७७ पुस १२ मा प्रकाशित, सेयर बजारमा नियामकीय र राजनीतिक प्रभाव « (karobardaily.com)

Tuesday, December 15, 2020

विशेष टिप्पणीः कोभिडको त्रासमा सेयरबजारको आश

सन् २०२० विश्व जनजीवन र आर्थिक–सामाजिक पूर्णत कोभिडमय रह्यो । सुरुवाती चरणमा निकै त्रसित, आतंकित र निरास बनाएको कोभिडले वर्षको अन्ततिर आइपुग्दा बल्ल आशाको किरण देखाउँदै छ । खोपको विकास र कोभिडसँग जीउने मानवीय प्रयासस्वरूप परिवर्तित जीवनशैली र आर्थिक–सामाजिक गतिविधिले सम्भावनाको ढोका उघ्रिँदैछ । चीनको बुहानबाट विकासितमुलुक हुँदै नेपाल आइपुगेको कोभिड आतंकसँग जुध्न विश्वले डोर्‍‍याएको लकडाउनको बाटोमा नेपाल पनि लुखुरलुखुर हिँड्न बाध्य भयो । नेपाल सरकारले २०७६ चैत ११ गतेबाट अत्यावश्यकबाहेकका सेवा र आवागमनसमेत ठप्प पार‍‍्याे भने अत्यावश्यक सेवा समेत नियन्त्रित रूपमा सञ्चालनमा ल्यायो ।

तर महामारीकाबीच निरन्तर सञ्चालित विश्व धितोपत्र बजारको विपरित सरकारी र नियामकीय निर्देशनसँगै २०७६ चैत ११ गतेबाट नेपाली पुँजीबजार भने बन्द भयो । स्वचालित र प्रविधिमा आधारित भनिएको पुँजीबजार बन्द हुँदा पक्ष र विपक्षमा कारोबार र लगानीकर्ताहरूको तर्क–वितर्क निकै भए । बजार खोल्ने प्रयासस्वरूप सर्किटको नियम नै परिमार्जन गरेर २०७७ वैशाख ३० गते खुलेको बजार पुनः ३१ गतेबाट बन्द भयो । तरल सम्पत्ति लामो समय बन्धकमा परेको र स्वचालित भनिएको बजार संचालनका कानुनी र व्यवहारिक समस्याहरू केलाउँदै समाधान निकाल्न लगानीकर्ता, बजार नियामक, सरकारी निकाय, बजार संचालक र दलालहरूबीच छलफलहरू भए । लकडाउन र अन्योलता कै बीच २०७७ असार १५ गतेबाट बजार नियमित कारोबारमा फर्कियो । कारोबारमा भौतिक उपस्थिति निरुत्साहित गर्दै क) अनलाइन कारोबारलाई प्राथमिकता, ख) विद्युतीय भुक्तानीमा सहजीकरण, ग) अनलाइनबाटै डिम्याट, कारोबार खाता र अनलाइन प्रणालीको युजर नेम र पासवर्ड लिने व्यवस्था गरियो भने अनलाइन कारोबार प्रणालीबाटै डिम्याटमा भएको सेयर जाँचको शुरुवात गरियो । कोभिडले अन्य क्षेत्रमा जस्तै नेपाली सेयरबजारलाई विद्युतीय प्रणालीमा हिँड्न बाध्य बनायो भने कतिपयलाई वैकल्पिक आयको सम्भावित क्षेत्रका रूपमा परिचय दियो । निराशा र आशंकालाई चिर्दै बजार परिसूचक र पुँजीकरणले सबैलाई उत्साहित र आशावादी बनाउँदै लग्यो ।

कोभिड र बजार

लकडाउन र नियन्त्रित आर्थिक गतिविधि बीच अर्थतन्त्र र आर्थिक वृद्धिदरमा उल्लेख्य संकुचन आउने अर्थविद्हरूको अनुमान रहेको छ भने अनौपचारिक तथ्यांकहरूले अर्थतन्त्रमा करिव २ खर्बको आर्थिक क्षति पुगेको बताइन्छ । यसका बावजुदसुरुवाति चरणको केहि नकारात्मक प्रभाव बाहेक सेयर बजार परिसूचक र कारोबार रकममा उल्लेख्य सुधार आएको छ । कतिपयले बजार बढेको भन्दा चलखेल, कर्नरिङ र सर्कुलर ट्रेडिङ गरी बढाइएको र यसले अर्थतन्त्रसँग तालमेल नराख्ने अस्वभाविक भन्दै स्थायित्वमा प्रश्न उठाए । नेपालको सन्दर्भमा जति नै अर्थतन्त्रको ऐना र ब्यारोमिटर भनेपनि नेप्से परिसूचक (इण्डेक्स) र पुँजीकरणले न समग्र धितोपत्र बजारको गहिराइ र फैलावट समेत नाप्न सक्छ, न अर्थतन्त्रसँगको बजार सम्बन्धलाई यथार्थपरक प्रस्तुत गर्न । बजार सरोकारवालाहरूबाटै शुद्धतामा बारम्बार प्रश्न उठाइएको परिसूचक र पुँजीकरणले बजारको यथार्थरूप मात्र होइन, अर्थतन्त्रसँगको सम्बन्धलाई पस्कन नसक्ने तितो यथार्थ पनि हाम्रो सामु रहेकै छ । अझ अर्थतन्त्र संकटका बावजुद बजारमा वृद्धिको सम्भावना नेपाली धितोपत्र बजारले स्वीकारेको छ । त्यसैले जुनसुकै कारण बजारको उतारचढाव भएपनि बजार सदैव सही हुन्छ (मार्केट इज अलवेज राइट) भन्ने मान्यता प्रचलित पनि छ ।

विश्वमा कोभिड फैलिंदै गर्दा नेपालमा त्यसको खास चर्चा र प्रभाव समेत थिएन भने सूचीकृत कम्पनीहरूको आव २०७६-७७ को दोस्रो त्रैमासिक वित्तिय अवस्थाको पूर्वानुमान र विवरण निस्कँदै थिए । २०७६ असार मसान्तको १२५९.०१ को बजार परिसूचक पुस मसान्तमा १२६३.३८ र बजार पुँजीकरण रु. १६.१ खर्बबाट बढेर २०७६ फागुन १८ मा १६६७.७४ (बन्द १६३९.८७) विन्दु पुगि बजार परिसूचक सरकार लकडाउनमा जानु अघिल्लो कारोबार दिन २०७६ चैत ९ मा घटेर १२५१.४५ मा ओर्लिएको र पुँजीकरण रु. १६ खर्ब कायम भयो ।

बैशाख मसान्तमा दुई दिन र केहि सुधार र प्रयास पछि लकडाउनकै बीच २०७७ असार १५ गते नियमित कारोबारका लागि खुलेको बजार पहिलो दिन नकारात्मक (नेगेटिभ) सर्किटपछि केही सम्हालिँदै दोस्रो र तेस्रो दिन सकारात्मक (पोजिटिभ) सर्किट तथा चौथो दिन नेगेटिभ सर्किटसँगै कारोबार रोकियो ।लामो समयपछि नियमित सर्किट र चार घण्टा (११ देखि ३ बजेसम्म) को कारोबार समयसहित खुलेको बजार करिब ४० मिनेटमै ४ प्रतिशतको नेगेटिभ सर्किटसँगै रोकिएको कारोबार खुलेर सम्हालिँदै पहिलो दिन परिसूचक १२.८७ अंकले झरेर ११८८.७० कायम हुँदा करिब ४८.५३ करोडको कारोबार भयो ।

असार १६ गते एक बजेतिरै ६ प्रतिशतको पोजिटिभ सर्किट र ७२.०५ अंकको वृद्धिसँगै परिसूचक १२६०.७५ पुग्दा करिब २२.७२ करोडको मात्र धितोपत्र किनबेच र बजार बन्द भयो । असार १७ गते पनि १२.२४ बजेतिरै ६ प्रतिशतको पोजिटिभ सर्किटसहित ७५.७७ अंकले बढेर परिसूचक १३३६.५२ पुग्दा ४०.७३ करोडको कारोबारसँगै बजार बन्द भयो । लगातारको सर्किटसँगै दुई दिनमा १४७ अंकले उक्लेको बजार चौथो दिन १२.४० बजेतिरै ६ प्रतिशतको नेगेटिभ सर्किटसहित ८०.४१ अंकको गिरावटसँगै १२५६.११ पुगेर ४७.६६ करोडको किनबेच हुँदा पूरै दिन कारोबार रोकियो । केहि दिनको उच्च उतारचढाव पछि भने बजारले विस्तारै लयमा फर्किएर आवको समाप्तिमा बजार परिसूचक १३६२.३४ र पुँजीकरण १७.९३ खर्बमा पुग्यो ।

तालिकाः कोभिडका बीच बजार परिसूचक, कारोवार र पूँजीकरण

 

२०७६/७७
पुस मसान्त

लकडाउन अघिल्लो कारोवार
२०७६ चैत

बजार खुलेको
२०७७ असार १५

२०७६/७७ असार मसान्त

उच्च विन्दु २०७७ मंसिर १७

२०७७
मंसिर २८

कोभिड प्रभाव
(
चैत बाट मंसिर २८)

अंक

प्रतिशत

नेप्से

१२६३.३८

१२५१.४५

११८८.७०

१३६२.३४

२०७१.०२

२०१०.४५

७५९.००

६०.६५

सेन्सिटिभ

२७४.२८

२७१.०६

२५६.२९

२८८.२४

३९६.०४

३८२.११

१११.०५

४०.९७

फ्लोट

८९.३५

८८.५६

८३.५३

९५.४६

१३९.२१

१३६.३३

४७.७७

५३.९४

उपसमूह

 

 

 

 

 

 

 

 

बैंकिंग

१११६.७६

१०९३.२६

१०१६.२८

११५३.००

१५०७.३२

१४८१.५४

३८८.२८

३५.५२

विकास बैंक

१७०४.००

१७११.०१

१६२४.६८

१७११.४३

२२३९.७१

२१६५.३२

४५४.३१

२६.५५

लघु वित्त

१९६६.००

२०५०.३०

१९६८.९२

२४३८.९९

३१५८.५४

३०७५.५४

१०२५.२४

५०.००

वित्त

६१८.३३

६३६.१२

६२५.१४

६५४.७०

९०२.१३

८८७.८८

२५१.७६

३९.५८

निर्जिवन विमा

५०७८.७२

५२७१.७५

५०४०.७९

६२४५.१८

१००७९.००

९६४०.२७

४३६८.५२

८२.८७

जीवन विमा

६३७७.१२

६७९७.२०

६७४७.०७

८०८७.३३

१२८६४.९५

१२६०८.३०

५८११.१०

८५.४९

जलविद्युत

१०२३.०६

९३३.०६

८८६.३३

९६६.१७

१७२१.३१

१७४५.०२

८११.९६

८७.०२

व्यापार

७७६.३२

७६३.७२

७९०.३९

८७६.०५

२३११.७४

१९४५.१८

११८१.४६

१५४.७०

होटेल

१९९५.९७

१५६३.४५

१५३०.२५

१४६७.७४

२०५८.८२

१९८५.४२

४२१.९७

२६.९९

उत्पादन तथा प्रशोधन

२४२८.५६

२४५९.३२

२४९३.६३

२७०१.६९

४८४५.३८

४८२४.१५

२३६४.८३

९६.१६

अन्य

६८७.४४

६७९.९३

६६१.८२

७६८.५३

१८१७.१६

१६७७.३५

९९७.४२

१४६.६९

दैनिक कारोवार रकम (रु. करोड)

१०२.६४

१९.४६

४८.५३

११६.०५

७४६.३५

४८९.९५

४७०.४९

२४१७.७३

बजार पूँजीकरण (रु. खर्ब)

१६.१०

१६.००

१५.६०

१७.९३

२७.७५

२६.९५

१०.९५

६८.४४

तथ्यांक साभारः शेयरसंसार डटकम र नेप्से वेबसाइट

लकडाउनकै बीचमा पनि विभिन्न कम्पनीका सेयर निष्कासन र सूचीकरण भए भने बजारले एउटा गति लिन थाल्यो । लकडाउन अनौपचारिक रूपमा खुल्दै गयो भने सरकारमा अर्थमन्त्री परिवर्तन भयो । बजारमा कारोबारीहरूको सकृयता बढ्न थाल्यो, जसले बजार परिसूचक २०७७ मंसिर १७ गते हालसम्मको उच्च विन्दु २०७१.०२ र बजार पुँजीकरण २७.७५ खर्ब रूपैयाँ कायम हुन पुग्यो । दैनिक कारोबार समेत २०७७ मंसिर १४ मा उच्चतम ९.२२७ अर्ब रुपैयाँसम्म पुग्यो ।

कोभिडबाट सूचीकृत कम्पनीहरूको व्यवसाय र मुनाफामा धेरैथोरै प्रभाव परेकै छ । होटल व्यवसाय अझै ४–५ वर्ष प्रभावित हुने तथ्य नै बाहिरिएको छ । बैंक तथा वित्तिय संस्थाहरूले राज्य र नियामकीय निर्देशनसँगै ब्याज छुट र कर्जा अनि ब्याज भुक्तानीमा थप समय दिँदाको थप प्रभावित भए । विमा व्यवसाय तुलनात्मकरूपमा कम प्रभावित देखिँदै गर्दा विद्युत उत्पादन भई ग्रिडमा जोडिएका जलविदुत आयोजना भने सामान्यत प्रभावित भएनन् । यसरी कोभिड संक्रमणको फैलावट, आर्थिक गतिविधिमा संकुचन र सूचीकृत कम्पनीहरूमा नकारात्मक प्रभावका बावजुद बजार परिसूचक र पुँजीकरण ५० प्रतिशत हाराहारी बढेको यथार्थ हो ।

२०७७ मंसिर २८ को बजार तथ्यांकले लकडाउनको अघिल्लो दिनभन्दाबजार परिसूचक ७५९ (६०.६५%) र पुँजीकरण १०.९५ खर्ब रूपैयाँ(६८.४४%) ले बढेको छ । उपसूचकगत रूपमा सबैभन्दा बढि व्यापार समूहको १५४.७० र अन्य समूहको १४६.६९ प्रतिशतले बढ्दा बैंकिग क्षेत्रऔसतमा ३७.९१, बीमा औसतमा ८४.१८, जलविदुत ८७.०२ प्रतिशतले बढेको छ ।

बजार वृद्धि र स्थायित्व

बजार सरोकारवालहरू समय–चक्र (मार्केट साइकल) अनुसार पनि नयाँ उचाइमा पुग्नेमा ढुक्क थिए, तर कोभिड र लकडाउनसँगै आर्थिक गतिविधि र बैंकिङ मुनाफामा प्रभावित हुँदा तत्काल बजार आक्रमक ढंगले अगाडि बढ्नेमा सशंकित थिए । यसैबीच अर्थमन्त्री परिवर्तनसँगै बजारमा अदृष्य रूपमा सकारात्मक माहौल देखिन र कारोबारीहरूको सक्रियता बढ्न थाल्यो । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले बजारमा सस्तो र सहज पैसाको उपलब्ध गराउनुका साथै केही बैंकले पूर्व कर्जा स्वीकृति गरेर खरिद पश्चात् धितो कायम गरे हुने व्यवस्था गरिदिए भने कतिपय व्यवहारिक समस्याको सहज समाधान समेत उपलब्ध गराए । बजेटको सेयर धितोकर्जामा मार्जिन १२० दिनको औसत वा प्रचलित मूल्यको ७० प्रतिशतसम्म उपलब्ध गराउन सकिने नीतिगत व्यवस्थाले पनि कर्जाको लागत र सहजता बनायो । कतिपय बैंक तथा वित्तिय संस्थासँगै अन्य संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्रमा लगानी तथा कारोबार बढाए । बजार वृद्धिमा अधिक तरलताको उल्लेख्य भूमिका रहँदै गर्दा रेमिट्यान्समा निरन्तरको वृद्धि, अन्य आर्थिक क्षेत्रमा अर्थोपाजन अवसरको कमीसँगै बेरोजगार÷अर्धबेरोजगार र फुर्सदिला व्यवसायीको धितोपत्र बजारमा प्रवेशले कारोबार बढाउन सघायो । प्रविधिगत पूर्वाधारमा सुधारसँगै भौतिक उपस्थिति विनै अनलाइन (कम्प्युटर, मोवाइल) बाटै बजारमा सहज पहुँच कायम गरी सेयर तथा रकमको कारोबार र राफसाफले पनि बजार र कारोबार बढायो । यो वा त्यो कारणसँगै कारोबारी र लगानीकर्ताको आशावादी र सकारात्मक मानसिकताले धितोपत्रको माग र मूल्यमा वृद्धिसँगै परिसूचक, कारोबार रकम र बजार पुँजीकरण बढ्यो ।

कारोबार समयमा किन्ने र बेच्नेको मानसिकता अनि मोलमोलाइबाट निर्धारित मूल्यसँगै कम्पनीको सेयरको मूल्य, बजार परिसूचक र पुँजीकरण परिवर्तन सुनिश्चित छ ।आस र त्रासले सहजै डो¥याउने बजार कारोबारीेको व्यवहार र मानसिकता, पैसाको उपलब्धता र लागत अनि नियामकीय भूमिकाले बजारको स्थायित्व र दिशा निर्देशित गर्नेछ।

उच्चविन्दुबाट सामान्य करेक्सन हुँदै सामान्यीकरण तर्फ बढेको बजारसूचीकृत कम्पनीहरूको आगामी वित्तिय उपलब्धिबाट केहि प्रभावित भएता पनि ठूलो गिरावटको अपेक्षा कमै गरिएको छ । अर्थतन्त्रले सोचेजस्तो गति लिएर सूचीकृत कम्पनीहरूको व्यवसाय र मुनाफामा सुधार; बजारमा आवश्यक रकमको सस्तो र सहज उपलब्धता; नियामकीय सहयोग; कारोबार लागत (कमिसन, शुल्क) मा कमी; अनलाइन कारोबार प्रणालीमा थप सुधार, चुस्तता र सहजता भएको र अर्थतन्त्र अनि बजार समेत कोभिड प्रभाव मुक्त हुँदै गएको अवस्थामा बजारको स्थायित्वसँगै थप उच्चतम विन्दु हासिल गर्ने सम्भावना पनि उतिकै रहन्छ । जति नै सकारात्मक र उत्साहित हुँदा पनि सेयर बजार सबैभन्दा जोखिमपूर्ण र अनिश्चित भएकोमा भने सबैको ध्यान जानैपर्छ ।

काराेवार दैनिककाे ११अाैं वार्षिकाेत्सव विशेषांकमा  २०७७ मंसिर ३० गते प्रकाशित, कोभिडको त्रासमा सेयरबजारको आश