Friday, August 12, 2016

बजारको अनुशासनका लागि बजार निर्माता


२०७३ साउन २० गते बजारले लगानीकर्तालाई पुनः आफ्नो लगानी माथि घोत्लिन बाध्य पारेको छ । आधारभूत रुपमा कमजोर मात्रै होइन बलिया कम्पनीहरुको शेयरमूल्यमा देखिएको तिव्र उतारचढाव बजारको सामान्य सिद्धान्तभन्दा फरक होकी जस्तो अर्थात् अपत्यारिलो देखिन्छ ।

बिहान ११ बजे केही घटेर शुरु भएको कारोवार ४३ विन्दजस्तो घटेर पुनः १० विन्दुको हाराहारी मात्र घटेको अवस्थाबाट पुनः केही समयमा नै ४५ विन्दु भन्दा बढीले घट्नुले बजारको अवाञ्छित उतारचढावलाइ संकेत गरेको देखिन्छ ।

हुनतः बजारमा उतारचढाव सामान्य हो तर जुन तरिकाले बजारमा उतारचढाव देखियो यसले आमलगानीकर्तालाइ सोच्न बाध्य बनाएको मात्र होइन नियामक निकाएले पनि सोच्नुपर्ने समय आएको छ । साउन २० गतेको जस्तै उतारचढावले शेयरबजार एउटा खहरेको रुपमा स्थापित गर्न सघाएको मात्र होइन, यस्ता उतारचढावलाई नियन्त्रित र व्यवस्थित गर्न बजार निर्माताको अपरिहार्य देखिएको छ ।

यदि नेपाली शेयरबजारमा बजार निर्माता भएको भए बजारलाई अनियन्त्रित र अस्वभाविक गतिमा हिँडाउने प्रयास भयो त्यो सम्भव हुने थिएन । बजार निर्माताले निश्चित मूल्य कोरिडर भित्र रहेर किनवेच गर्ने हुँदा शेयरमूल्यमा हुने असमान्य उतारचढाव कम हुन्छ । बजार निर्माताले निश्चित मूल्य भन्दा बढी भएमा उक्त शेयरको आपूर्ति बढाएर मूल्य घटाउन सघाउँछ भने घट्न थालेको अवस्थामा आफूले खरिद गरेर बजार मूल्यलाइ सन्तुलित बनाउन सघाउँछ ।

शेयर बजारमा विद्यमान जोखिम व्यवस्थापन गर्न सरकारले गत वर्ष नै नागरिक लगानी कोषलाई बजार निर्माताको जिम्मेवारी दिने घोषणा गरेको हो तर अझैसम्म त्यसले मूर्तरुप लिन सकेको छैन । प्रत्येक बजेट भाषणमा घोषणा गरिने बजार निर्माताको अभावमा मूलतः सानालगानीकर्ता बढी जोखिममा रहेका छन् । उनीहरु बजारको तिव्र उतारचढावको भेलमा नराम्ररी बगेका छन् । ठूला लगानीकर्ताले यस्ता उतारचढावलाइ अवसरको रुपमा उपयोग गर्न सक्षम भएता पनि साना लगानीकर्ताहरु लगानी योग्य रकम व्यवस्थापन क्षमता, बजार जोखिम विश्लेषण क्षमताको अभाव, शेयर दलालसम्म सहज पहुँचको अभाव अनि सुनुवाइ नुहुने अवस्था, आदिले गर्दा बजारको उतारचढावलाई थेग्न असमर्थ हुन्छन् । यस्तै यस्तो उतारचढावमा साना लगानीकर्ता छिट्टै आतिने हुँदा गलत निर्णय लिन पुग्छन र सस्तो मूल्यमा शेयर बेच्न थाल्छन् ।

अहिले पनि बजारमा ६ वटा सामुहिक लगानी कोषले लगानी गरिरहेका छन् र उनीहरुले बजारमा निश्चित अनुशासनमा हिँडाउन सघाउनु पर्ने हो । तर बजारमा उनिहरुको गतिविधीले त्यसको विपरित काम गरिरहेको हो की भन्ने आभास आम लगानीकर्तामा रहेको छ । सामुहिक लगानी कोषहरु नै आफ्नो स्वार्थ अनुरुप बजारलाइ डो¥याउने गर्न थालेका र त्यसले साना लगानीकर्ताहरु अप्रत्यक्ष रुपमा घाटा सहनु बाध्य भएको होकी भन्ने हल्ला समेत चलेको छ ।

साउन २० गतेको बजारले सामुहिक लगानी कोषको उपस्थिति माथि नै प्रश्न चिन्ह खडा गरेको छ । नत्र त्यति धेरै कोष रहेका लगानी कोषहरुले तिव रुपमा बजारलाइ घट्न रोक्नुको सट्टा बजार अस्थिर बनाएर खरिदलाई मात्र प्राथमिता दिएको होकी भन्ने भान परेको छ ।

यदि सरकारले सामुहिक लगानी कोषलाई बजार निर्माताको रुपमा काम गर्न लगाउने, नागरिक लगानी कोषलाई नै बजार निर्माताको रुपमा बजार प्रवेश गराउने वा आम लगानीकर्ताको सहभागितामा बजार निर्माता नबनाउने हो भने नेपाली शेयरबजार अहिलेको भन्दा बढी जोखिमपूर्ण हुनेछ र साना लगानीकर्ता बजार उतारचढावको सिकार हुन बाध्य हुनेछन् । यसले अन्ततः बजारलाइ ठूलो क्षति पुग्नेछ ।

बजारको उचाइसँगै बढेको जोखिम र लगानीकर्ताको सामुहिक हित, बजार सन्तुलन अनि दिगोपनका लागि समेत बजार निर्माता अपरिहार्य भएको छ । धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र अर्थ मन्त्रालयले यसतर्फ तदारुकता साथ काम अघि नबढाउने हो भने बजारमा यस्तो जोखिम छ र यसो गर भनेर विज्ञप्ती निकाल्नुको कुनै अर्थ रहन्न । विगतमा जस्तो लगानीकर्ताहरुले बजार जोखिम वहन गर्न नसकी बजारबाट बाहिरिए वा बजार प्रति विश्वास कायम नभएमा बजार धरासायी हुनेछ । यस्तो अवस्थामा धितोपत्र बोर्ड होस वा नेप्सेले विज्ञप्ती निकालेर नआतिन्न भन्नुको कुनै अर्थ रहने छैन । बजारको स्थायित्व र अनुशासनको लागि अविलम्व बजार निर्माताको प्रवेश गराइनु पर्दछ र निश्चित बजार निर्माताको व्यवस्थापन नहुँदासम्म विद्यमान सामुहिक लगानी कोषहरुलाइ त्यसप्रति जिम्मेवार बनाइनु पर्दछ । सामुहिक लगानी कोषका गतिविधीहरुलाई नियामक निकायहरुले नियमित अनुगमन गरिनुपर्दछ ।

दिलिपकुमार मुनंकर्मी
आमलगानीकर्ता