Showing posts with label जाेखिम. Show all posts
Showing posts with label जाेखिम. Show all posts

Monday, March 16, 2020

सेयर बजारमा मूल्यगत जोखिम र अवसर

सेयर मूल्य र मूल्यान्तर

धितोपत्र (सेयर, डिबेन्चर वा म्युचुअल फन्डका एकाइ) प्राथमिक बजारमा किन्न र दोस्रो बजारमा किन्न तथा बेच्न सकिन्छ । प्राथमिक बजारमा धितोपत्रको मूल्य स्थिर हुन्छ, अर्थात् अंकित मूल्य वा प्रिमियम सहित निश्चित वा लिलामीको हकमा क्रेताले कबोल गरेबमोजिम हुन्छ । दोस्रो बजार (सेयर बजार) मा किनबेच हुने धितोपत्रको मूल्य स्टक ब्रोकरमार्फत क्रेता र विक्रेताले आपसी मोलमोलाइ र सहमतिमा तय हुन्छ, त्यसैले प्रत्येक कारोबारमा एउटै धितोपत्रको फरक मूल्य कायम हुन सक्छ । तोकिएको कानुनी सीमाभित्र रहेर स्वस्थ मोलमोलाइबाट कायम फरक मूल्यलाई नै मूल्यान्तर भनिन्छ, जुन कानुनत: वैधानिक मानिन्छ । सेयर बजारमा सबैभन्दा जटिल र विवादस्पद भनेकै मूल्य हो ।

विद्यमान नियमानुसार कम्पनीको हकमा बिहान कारोबार सुरुअगाडि (प्रिओपनिङ) मा अघिल्लो कारोबार मूल्यको ५ प्रतिशतसम्म तथा नियमित कारोबार समयमा अन्तिम कारोबार मूल्यको २ प्रतिशत र दैनिक अधिकतम १० प्रतिशतको मूल्यान्तर हुन सक्छ । सूचीकृत कम्पनीहरूको सेयरको समग्र मूल्य सूचकांक जनाउने नेप्से परिसूचकको हकमा सर्किट भनिने मूल्यान्तर कारोबार सुरु भएको पहिलो घण्टा ४ प्रतिशतमा २० मिनेट, दोस्रो घण्टा ५ प्रतिशतमा ४० मिनेट र त्यसपछि ६ प्रतिशत भएमा दिनभरिलाई कारोवार नै रोकिने व्यवस्था छ ।

थप टिप्पणी, २०७८ असार १० गते नियामकबाट (क) प्रिअाेपन सेसनमा विगतकाे ५ प्रतिशतकाे सट्टा ‘२ प्रतिशत घटी वा बढीको मूल्य सीमा’ (±२ प्रतिशत) कायम कायम गर्न, र (ख) खरिदबिक्रि अादेश प्रविष्टिमा हाल कायम रू १ काे व्यवस्थालाइ परिवर्तन गर्दै १० पैसा घटि वा बढिकाे अन्तरमा मूल्यमा अादेश दिन सकिने (माेलमाेलाइ) काे व्यवस्था गर्न निर्देशन भएकाे छ। नियामककाे २०७८ असार १० काे निर्देशन । 

मूल्यान्तर र सर्किटसम्बन्धी कानुनी व्यवस्था र प्रचलित विधीबीच केहि भिन्नता देख्न सकिन्छ । प्रत्येक धिताेपत्रकाे सम्बन्धमा कानुनले प्रिअाेपनमा कायम मूल्यकाे ±१० प्रतिशत भनेपनि प्रचलनमा अघिल्लाे दिन कायम अन्तिम काराेवार मूल्यकाे ±१० प्रतिशतमा सर्किटकाे व्यवस्था छ । यसले एक दिनमा एक धिताेपत्रकाे मूल्य अघिल्लाे दिनमा कायम मूल्यकाे अाधारमा कुल २० प्रतिशत र एकै दिन कायम हुनसक्ने न्यून्तम मूल्यकाे अाधार २२.२२ प्रतिशत वा अधिकतम मूल्यका अाधारमा १८.१८ प्रतिशतकाे मूल्यान्तरकाे सम्भावना रहन्छ । मूल्य प्रविष्टिकाे सम्बन्धमा समेत टिएमएसमा उपलब्ध एमकेटि (मार्केट) विकल्पबाट खरिदबिक्री अादेश प्रविष्ट गरिएकाे अवस्थामा २ प्रतिशतकाे मूल्य सीमा सहजै ताेडिन सक्छ । यसरी व्यवहारमा मूल्यान्तर किनबेच अादेशमा ±२ प्रतिशत र दिनकाे ±१० प्रतिशत (कुल २० प्रतिशत) भएपनि कानुनमा केहि विवाद (±१५% अब ±१२%) हाे कि भन्ने विवाद देखिएकाे छ । यससम्बन्धी थप जानकारीका लागि एकैचोटी १८% तल र २२% माथिसम्म जानसक्छ सेयर मूल्य, के सर्किट रेन्ज घटाउन आवश्यक हो? (bizmandu.com) पढ्न सकिन्छ ।


सर्किट ब्रेकर (नेप्सेकाे परिभाषा)

स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन् । बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो । प्रत्येक दिन सेयरको प्रथम कारोबार हुँदा उक्त सेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ । डिवेन्चर भएमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०.१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ ।

यसैगरी कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र  तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ ।

http://nepalstock.com.np/education/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%9f-%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%b0/


क्रेता र विक्रेतामा अन्तर्निहित वैधानिक मूल्यान्तरको अधिकार र सम्भावना नै सेयर बजारको चरित्र र विशिष्टता हो, जसले बजारलाई जीवन्तता दिइरहेको छ । यहि मूल्यान्तरका लागि किन्ने र बेच्नेले स्वार्थ अनुकूल विभिन्न रणनीति अपनाउँछन् । विशेषत: अल्पकालीन लगानीकर्ता (सेयर कारोबारी) हरू मूल्यान्तरले सिर्जना गर्ने मुनाफा (पुँजीगत लाभ)का लागि लगानी र कारोबार गरिरहेका हुन्छन् । मूल्यान्तरले नै कारोबारीको नाफा–घाटा र लगानीकर्ताको अदृश्य सम्पति (भर्चुअल प्रोपर्टी) निर्धारण हुने हुँदा किन्ने, बेच्ने वा धारक (होल्ड) गर्ने सबै मूल्यप्रति सचेत र स्वार्थअनुकूल मूल्य प्रभावित गर्ने प्रयास गर्छन् ।

किन्नेले माग घटाएर, आपूर्ति बढाएर, तर्साएर सस्तोमा बेच्न विक्रेतालाई तथा विक्रेताले पनि अनेक लोभलालच वा आशा देखाएर, प्राकृतिक वा अप्राकृतिक मागको सिर्जना गरेर वा आपूर्ति नियन्त्रण गरेर मूल्यमा प्रभाव पार्दै किनबेचमा उक्साउन सक्छन् । केही समयपहिले मूल्य बढाउन अर्थमन्त्रीको बहिर्गमन, ब्याजदरमा गिरावट, सुलभ कर्जादेखि चिनियाँ व्यापारीको लगानी, बियरिसको समाप्ति, नेप्से ३५ सय र ५४ सय बिन्दु पुग्ने सूचना प्रवाह भयो । पुन: मूल्य घटाउन मुनाफा बुक गरेर ठूला कारोबारी र चिनियाँ व्यापारी बाहिरिएको, कोरोना भाइरसले अर्थतन्त्रमा नकारात्मक प्रभाव, विश्व सेयर बजार ध्वस्तजस्ता अनेक सूचना प्रवाह गरियो । नतिजास्वरूप एक हप्तामा करिब १९७ बिन्दुको उच्च दरमा बढेको बजार मूल्य परिसूचक (नेप्से) अर्को हप्ता १९६ बिन्दु हाराहारी झ-यो । एकै दिन ४, ५ र ६ प्रतिशतको मूल्य गिरावटले बजारमा कारोबार समेत रोकियो ।

वैधानिक रूपमा खेलिएको मूल्यगत खेलमा पहिले हावी भएका विक्रेताहरू एकै हप्ता क्रेताहरूको दबाबमा मूल्य घटाएर बेच्न बाध्य भए । मूल्य पासोमा पालैपालो फसेकाहरू आपसी आरोप–प्रत्यारोपसँगै नियामकलाई समेत नियमन र नियन्त्रणको प्रयास नगरेको भन्दै मूल्यान्तरको खेलमा तान्ने प्रयास भयो, जुन मूल्यगत खेलमा सहभागी क्रेता र विक्रेताले स्वार्थअनुकूल मूल्य पासो खेलाउन नसक्दा पराजित मानसिकता सिर्जित आक्रोसजस्तै हो ।

मूल्यगत जोखिम र अवसर

किन्नेले सस्तोमा किन्न र बेच्नेले महँगोमा बेच्न रणनीतिअनुरुप खेलिएको मूल्यान्तरको खेलबाट कायम मूल्यले हुने पुँजीगत नाफाघाटा र सेयर सम्पत्तिको वृद्धि वा नोक्सानी नै मूल्यगत जोखिम र अवसर हो । रमाइलोचाहिँ, सेयर बजारको मूल्य पासो फ्याँकेर खेलिने मूल्यान्तरको खेलमा एउटै धितोपत्रमा किन्न चाहनेले अवसर र बेच्न खोज्नेले जोखिम देख्छ । त्यसैले विक्रेता अनेक अवसरको देखाउँदै महँगोमा किन्न क्रेतालाई उक्साउँछ भने क्रेता पनि सम्भावित जोखिम र नोक्सानी देखाएर तसाउँदै विक्रेतालाई सस्तोमा बेच्न बाध्य पार्छ । क्रेता र विक्रेताबीचको मोलमोलाइबाट तय मूल्यमा सम्बन्धित पक्षहरूबीच तोकिएको धितोपत्रको किनबेच हुनुका साथै सम्बन्धित कम्पनीका सबै सेयरधारकहरूको खुद सम्पत्तिमा बृद्धि वा हानि पु-याइरहेको अनि अर्को मोलमोलाइको सीमा तय गरिरहेको हुन्छ; अर्थात् केही व्यक्तिको मूल्यगत खेलले त्यसमा सहभागी नभएका अन्य सेयरधनीलाई जोखिम र अवसरको सिर्जना गर्ने हुँदा यसमा कानुनी सीमा र उच्च नियमनको व्यवस्था हुन्छ । भित्री सूचनाको आधारमा मूल्य पासोमा फसाउन र कारोबार त दण्डनीय नै हुन्छ ।

अति मूल्य संवेदनशिल र जोखिमपूर्ण मूल्यान्तरको खेलमा कारोबार र लगानीकर्ताले सम्भावित जोखिम र अवसरको सूक्ष्म विश्लेषण गर्दै कतिसम्म घाटा बेहोर्ने ? कति र कुन नाफा कमाउने ? मूल्य परिवर्तनका कारण हुन सक्ने जोखिम र अवसरको व्यवस्थापन कसरी गर्ने ? जस्ता अनेक पक्षलाई ध्यान दिएर किन्ने, बेच्ने वा धारण गर्ने स्वार्थअनुरूप आफूले वहन र व्यवस्थापन गर्न सक्ने सीमासम्मको मात्र जोखिम लिनु र अवसरको सदुपयोग गर्नुपर्छ ।

जोखिम मापन र विश्लेषण

दोस्रोबजारमा कारोबारी र लगानीकर्ताले सही मूल्यगत जोखिम मापन र विश्लेषण गर्न सके मात्र स्वार्थ अनुकूल मूल्य कायम गर्दै अवसरको सिर्जना गर्न सक्छ । यहाँ क्रेता र विक्रेताले आफूलाई निकै चतुर ठानेर एकले अर्कोलाई मूल्य पासो थापेर किनबेचका लागि उक्साउने हुँदा धितोपत्रको वास्तविक जोखिम कति वा उचित मूल्य (फेयर प्राइस) कति गणना गर्न निकै जटिल हुन्छ । किनबेचको उद्देश्य र स्वार्थअनुरूप मूल्यगत जोखिम मापन गर्न कारोबारीले प्राविधिक विश्लेषणको रेसिस्टेन्स र सपोर्ट विधि पछ्याउन तथा लगानीकर्ताले मुख्य वित्तीय सूचकहरूको आधारमा मूल्य अनुपातको सहयोग लिन सकिन्छ ।

(क) मूल्य आम्दानी अनुपात : मूल्यगत जोखिम र अवसर मापनको सबैभन्दा सहज र आमरूपमा प्रचलित विधि मूल्य आम्दानी अनुपात (पीई रेसियो) हो । परल वा प्रचलित मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर पीई निकालिन्छ । लगानीकर्ताहरूको कम्पनीप्रतिको विश्वास र मनोविज्ञानसँगै जोखिमलाई मूल्यमा व्यक्त गर्ने र प्रत्येक कारोबारको मूल्यसँगै परिवर्तन हुने पीई रेसियो धेरैले कम भएको कम्पनीमा लगानी सुरक्षित र कम जोखिमको मान्यतामा लगानीको प्राथमिकतामा राख्छन् । सामान्यत: पीई रेसियो १० गुनासम्म सस्तो र कम जोखिम, १५ गुनासम्म किन्न उपयुक्त र मध्यम जोखिम, २० गुनासम्म जोखिमयुक्त (थोरै बढी मूल्य) र २० भन्दा बढी हुँदा महँगो वा अति जोखिमपूर्ण मानिन्छ । पीई रेसियोको आधारमा लगानी निर्णय गर्दा जोखिम र प्रतिफल अन्तरसम्बन्ध, अन्य वित्तीयसूचक, व्यवसायिक विस्तारको अवस्था र समान व्यवसाय गर्ने वा एउटै इन्डस्ट्रीको पीई रेसियोलाई ध्यान दिँदै आफ्नो जोखिमवहन र व्यवस्थापन क्षमताका आधारमा उपयुक्त पिई आफै निर्धारण गर्नुपर्छ ।

(ख) किताबी बजार मूल्य अनुपात : बजारको प्रचलित वा परल मूल्यलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएर आउने खुद सम्पत्तिको आधारमा गणना गरिएको किताबी मूल्य (बुक भ्याल्यु) लेभाग गरेर किताबी र बजार मूल्य अनुपात (प्राइस टु बुक अर्थात् पिबी रेसियो) निकालिन्छ । यसले वास्तविक प्रतिकित्ता सम्पत्तिका लागि कति गुना मूल्य भन्ने देखाउँछ । यो पनि मूल्यसँगै परिवर्तन हुन्छ र कम रेसियोले बुक भ्याल्युको तुलनामा सस्तो वा महँगो अर्थात् मूल्यगत रुपमा कति जोखिम र अवसर देखाउँछ । सामान्यत: पिबी रेसियो २ गुनासम्म कम जोखिमपूर्ण र लगानीयुकतमानिन्छ, तर कति गुनासम्मको मूल्य उचित र कति जोखिम लिने आफैंले निर्णय गर्नुपर्छ ।

(ग) ग्राहम भ्याल्यु : उचित मूल्य र मूल्यगत जोखिम मापन गर्न प्रयोग गरिने अर्को औजार ग्राहम भ्याल्यु पनि हो । बेन्जामिन ग्राहमद्वारा प्रतिपादित यस सिद्धान्तमा कम्पनीको दीर्घकालीन विकास दर, आम्दानी, खुद सम्पति र लाभांस दर (डिभिडेन्ड पेआउट) जस्ता विभिन्न आधारभूत पक्षहरूको सूत्रगत विश्लेषण गरेर उक्त कम्पनीको सेयरको अन्तर्य मूल्य (सैद्धान्तिक वा उचित मूल्य) गणना गरी प्रचलित मूल्यसँग तुलना गरिन्छ । प्रचलित वा परल मूल्यभन्दा अन्तर्य मूल्य (इन्ट्रिन्जिक भ्याल्यु) बढी भएको कम्पनी लगानीको लागि उपयुक्त मानिन्छ । भ्याल्यु इन्भेस्टरसमेत भनिने दीर्घकालीन लगानीकर्ताले ग्राहम सिद्धान्तलाई लगानी निर्णयको मुख्य आधार बनाउँछन् ।

बैंकहरुको हालैको मूल्यान्तर, पिई रेसियो, पिबी रेसियो, ग्राहम भ्यालू र छुट वा प्रिमियम
बैंक
प्रतिशेयर आय (रु.)
नेटवर्थ (बुकभ्यालू) (रु.)
०७६ फागुन १ को अन्तिम मूल्य (रु.)
२०७६ फागुन १५ को अन्तिम मूल्य (रु.)
२०७६ फागुन २९ को अन्तिम मूल्य (रु.)
१–१५ गते मूल्यान्तर रु. (%)
१५–२९ गते मूल्यान्तर रु. (%)
१–२९ गते मूल्यान्तर रु. (%)
२९ फागुनको पिई रेसियो
२९ फागुनको पिबी रेसियो
ग्राहम भ्यालू
ग्राहम भ्यालूको आधारमा २९ फागुन मूल्यमा छुट वा प्रिमियम
नेपाल बंगलादेश
१९.०२
१४२.३०
२०४
२६२
२१५
५८ (२८)
–४७ (१८)
११ (५)
११.३०
१.५१
२४६.७७
–३१.७७
नेपाल
२३.९७
२५०.०५
२६७
३१५
२७३
४८ (१८)
–४२ (१३)
६ (२)
११.३९
१.०९
३६७.२३
–९४.२३
बैंक अफ काठमान्डू
२०.६८
१५९.८५
२३२
२८४
२३९
५२ (२२)
–४५ (१६)
७ (३)
११.५६
१.५०
२७२.७२
–३३.७२
प्रभु
२१.०५
१४७.६१
२४१
२८४
२४४
४३ (१८)
–४० (१४)
३ (१)
११.५९
१.६५
२६४.४१
–२०.४१
सेञ्चुरी
१५.४५
१२७.००
१८३
२०२
१८१
१९ (१०)
–२१ (१०)
–२ (–१)
११.७२
१.४३
२१०.१२
–२९.१२
नेपाल क्रेडिट एण्ड कमर्स
१६.१७
१३५.१२
१९३
२२४
१९१
३१ (१६)
–३३ (१५)
–२ (–१)
११.८१
१.४१
२२१.७२
–३०.७२
कुमारी
१६.८१
१३०.६४
१९३
२२८
२००
३५ (१८)
–२८ (१२)
७ (४)
११.९०
१.५३
२२२.२९
–२२.२९
लक्ष्मी
१८.४१
१३३.९०
२२४
२६७
२२१
४३ (१९)
–४६ (१७)
–२ (–१)
१२.००
१.६५
२३५.५१
–१४.५१
माछापुच्छ्रे
१९.४३
१३१.८८
२३१
२८३
२३५
५२ (२३)
–४८ (१७)
४ (२)
१२.०९
१.७८
२४०.११
–५.११
सनराइज
२१.०६
१४२.२६
२४४
२९९
२२५
५५ (२३)
–४४ (१५)
११ (५)
१२.११
१.७९
२५९.६३
–४.६३
ग्लोबल आइएमई
२२.५३
१४५.२३
२७६
३०६
२७४
३० (११)
–३२ (१०)
–२ (–१)
१२.१६
१.८९
२७१.३३
+२.६७
मेगा
१८.२९
१२७.२५
२०४
२६५
२२३
६१ (३०)
–४२ (१६)
१९ (९)
१२.१९
१.७५
२२८.८४
–५.८४
सिटिजन्स
१५.९५
१४१.१३
१९४
२३०
१९५
३६ (१९)
–३५ (१५)
१ (१)
१२.२३
१.३८
२२५.०५
–३०.०५
प्राइम कमर्सियल
२३.१५
१३६.५६
२७७
३३५
२८७
५८ (२१)
–४८ (१४)
१० (४)
१२.४०
२.१०
२६६.७०
+२०.३०
एनआईसी एसिया
४१.५०
१६४.८७
५०३
६६०
५५०
१५७ (३१)
–११० (१७)
४७ (९)
१३.२५
३.३४
३९२.३६
+१५७.६४
कृषि विकास
२९.६९
२५५.७२
३८४
४६७
३९७
८३ (२२)
–७० (१५)
१३ (३)
१३.३७
१.५५
४१३.३१
–१६.३१
सानिमा
२६.०७
१३९.०६
३४४
४२४
३४९
८० (२३)
–७५ (१८)
५ (१)
१३.३९
२.५१
२८५ं६०
+६३.४०
सिद्धार्थ
२०.९८
१५०.७२
३०९
३८१
३११
७२ (२३)
–७० (१८)
२ (१)
१४.८२
२.०६
२६६.७३
+४४.२७
हिमालयन
३७.१८
१७८.३६
५२८
६९८
५८४
१७० (३२)
–११४ (१६)
५६ (११)
१५.७१
३.२७
३८६.२७
+१९७.७३
नेपाल इन्भेष्टमेन्ट
२३.४३
१८४.०३
३७५
४८४
४०२
१०९ (२९)
–८२ (१७)
२७ (७)
१७.६१
२.१८
३११.४७
+९०.५३
सिभिल
७.९०
१२४.२२
१५१
१६२
१४४
११ (७)
–१८ (११)
–७ (–५)
१८.२३
१.१६
१४८.५९
–४.५९
एनएमबी
२३.४५
१४४.२६
३८०
४९८
४३७
११८ (३१)
–६१ (१२)
५७ (१५)
१८.६४
३.०३
२७५.८९
+१६१.११
नविल
४०.४४
२३६.६८
७२३
९५५
७९०
२३२ (३२)
–१६५ (१७)
६७ (९)
१९.५४
३.३४
४६४.०६
+३२५.९४
नेपाल एसबिआई
२२.३५
१४८.६४
४०४
५४२
४४०
१३८ (३४)
–१०२ (१९)
३६ (९)
१९.६९
२.९६
२७३.४०
+१६६.६०
एभरेष्ट
३५.६२
२०७.०४
६३९
८८०
७०६
२४१ (३८)
–१७४ (२०)
६७ (१०)
१९.८२
३.४१
४०७.३५
+२९८.६५
स्ट्याण्डर्ड चार्टड
३०.६३
१७९.०३
६०७
८३७
६६७
२३० (३८)
–१७० (२०)
६० (१०)
२१.७८
३.७३
३५१.२६
+३१५.७४
औसत
२३.५१
१६०.१३
३२७.३१
४१४.३१
३४६.५४
८७ (२४)
६८ (१६)
१९ (४)
१४.३०
२.१२
२८८.८०
+५७.७४
नोटः तथ्यांकहरु दिपक दाहालको सहयोगमा समायोजित इपिएस र नेटवर्थका आधारमा गणना गरिएको । कैलासको प्राप्तिले प्राइम तथा लाभांसले सेञ्चुरीको तथ्यांक प्रभावित हुनेछ ।

अन्त्यमा, विभिन्न आधारमा बजार मूल्यको विश्लेषण गर्न र केही हदसम्म प्रभावित गर्न सकिए पनि पूर्ण नियन्त्रण गर्न सकिँदैन । तथ्यांकीय शुद्धतामा निर्भर उल्लिखित विश्लेषण नेपालको सन्दर्भमा त्रुटिपूर्ण र थप जोखिमपूर्ण हुने देखिन्छ । तसर्थ, धितोपत्रको मूल्यगत जोखिम लिँदा विश्लेषणसँगै बजारको वर्तमान अवस्था, आर्थिक–राजनीतिक, नीतिनियम, कम्पनीको विगत र विर्तमान अवस्थाका साथै जोखिमवहन र व्यवस्थापन क्षमतामा निकै सजग र सतर्क रहनुपर्छ । 

काराेवाद दैनिकमा प्रकाशित लेख
Revised/updated 1 July 2021, NST 11.33