Sunday, February 26, 2017

चुक्ता पुँजी पुर्याउने बैंकहरूको आधार

बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका बैंकहरूलाई २०७४ असार मसान्तभित्र आठ अर्ब चुक्ता पुँजी पुर्याउन दिएको बाध्यात्मक निर्देशन बमोजिम अहिले सबै बैंकहरू प्राप्ति, मर्जर, हकप्रद, बोनस वा थप सार्वजनिक निष्कासन एफपिओ) को माध्यमबाट निर्धारित चुक्ता पुँजी पुर्याउने प्रक्रियामा रहेका छन् ।

तोकिएको समयसीमा नजिकिँदै जाँदा हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरूमध्ये पनि धेरैको पुँजी ४–५ अर्ब हाराहारी घुमिरहेको अवस्थामा कुन बैंकले कसरी पुँजी पुर्याउने अहिले लगानीकर्ताहरूको मुख्य चासोको विषय बनेको छ । लगानीकर्ताहरू आफूले लगानी गरेको बैंक रहन्छ/रहँदैन वा अरू कसैसँग मर्ज÷प्राप्तिमा जान्छ वा ल्याउँछ ? कोसँग जाला वा कस्तो ल्याउला ? यस्तै प्रश्नहरूबीच रुमलिएको अवस्थामा पुस मसान्तसम्म बैंकहरूले प्रकाशित गरेको चुक्ता पुँजीको अवस्था, उनीहरूले घोषणा गरेको बोनस, प्रस्तावित हकप्रद, मर्जर वा प्राप्तिको अवस्थासमेतलाई विचार गर्दा केही बैंकहरूलाई आफ्नो अस्तित्व जोगाउन निकै संघर्ष गर्नुपर्ने देखाएको छ ।

हाल सञ्चालनमा रहेका २८ बैंकहरूमध्ये पहिले नै ८ अर्ब पुँजी पुगेको र सार्वजनिक शेयर निष्कासन नगरेको राष्ट्रिय वाणिज्य बैंकलाई छोडेर २७ बैंकहरूको अवस्था हेर्दा सबैभन्दा कम चुक्ता पुँजी जनता बैंक नेपालको २ अर्ब ३० करोड ७२ लाख रहेको छ भने सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ८ अर्ब ७० करोड ६६ लाख १२ हजार रहेको देखिन्छ ।

केहीले प्राप्ति वा मर्जर प्रक्रियालाई अगाडि बढाएका छन् भने केही हकप्रद वा बोनस निष्कासनको प्रकृयामा छन् । उनीहरूले बाहिर ल्याएका पुँजी वृद्धिका उपायहरूलाई समेत विचार गर्दा बैंकहरूले निम्नअनुसार थप पुँजीको जोहो गर्नुपर्ने हुन्छ ।

कसको अवस्था कस्तो छ ? र के गर्लान् ?

काराेवार दैनिक, फागुन १५ अाइतवार, http://www.karobardaily.com/news/73378

Tuesday, February 21, 2017

Some Fundamental Factors

Paid up Capital

  • Money invested by investors
  • Divided into small units in the form of shares, called face value
  • In Nepal, generally Rs. 100 though there are some shares with FV of Rs. 10
  • Limited companies - Private and Public
  • Authorised capital - Maximum capital ceiling authried to inject or issue shares
  • Issued capital - Officially issued capital
  • Paid up capital - Out of issued capital actual paid up (in BFIs and Insurance it is same now)
  • Capital mix - paid up capital + preference share + debenture
  • पुँजी — कम्पनीकाे अधिकृत, जारी र चुक्ता पुँजी हुन्छ । कुल पुँजीलाइ सामान्यत रू १०० (केही कम्पनीकाे रू १०) काे इकाइमा विभाजित गरी शेयरधनीहरूलाइ जारी गरिन्छ । कम्पनीकाे अधिकतम पुँजी सीमा अधिकृत र त्यसमध्ये जारी गरिएकाे जारी पुँजी तथा जारी मध्ये चुक्ता भएकाे चुक्ता पुँजी मानिन्छ ।

Earning per share - Eps

  • Profit/earning made by company: i) Gross/operational income; ii) Net income
  • Net income - real income available for shareholder - Networth 100-200 = at least 20% of earning to reserve | Networth 200+ = company can distribute 100% of EPS
  • Earning per share - EPS (Normal) = Net profit/No. of Shares
  • EBL Q2, Net profit = Rs. 97,15,75,000 and Paid up capital = 4606427000, here no of shares = Paid up capital/100 = 46064270. Therefore, EPS = 971575000/46064270 = 21.09 and if we annualize it is 21.09 x 2 = 42.18
  • Check EPS, possible reported differently (IFRS//NFRS)
  • प्रतिशेयर आम्दानी — यसले कम्पनीले दिन सक्ने लाभांशको निर्धारण गर्दछ । सामान्यतः प्रतिशेयर आम्दानीको ८० प्रतिशतसम्म लाभांस दिने क्षमता हुन्छ तर कुनै कम्पनीको जगेडाकोष चुक्ता पुँजी बराबर वा सो भन्दा बढी छ भने उसले जति कमाएको छ सबै लाभांसको रुपमा बाँड्न सक्छ । उदाहरणको लागि नविलले चाह्यो भने यो वर्षको आम्दानी सबै लाभांसको रुपमा बाँडन सक्छ तर कम्पनीहरुले भविष्यमा आउन सक्ने जोखिम समेतलाइ विचार गरी सबै आम्दानी बाँड्दैनन । प्रति शेयर आम्दानी निकाल्न खुद आयलाई चुक्ता पुँजीले भाग गरे पुग्छ । हुनतः अहिले आइआरएफएस भनेर नयाँ विधिले पनि इपिएस गणना गर्ने चलन छ र तर हामीले सामान्य विधिले गणना गरेर हेरे पुग्छ ।

Price earning - PE

  • P/E
    • Company's share price to its per-share earnings
    • Key ratio that determines times (years) required to get back your investment
    • Investors psycology
    • Second critical factor to consider investment
  • P/E = Market price per share/EPS
    • Normally: PE <10, cheap | PE 10 to 15 fair price | PE 15 to 20 moderately good buy | PE >20 expensve
    • Need to see business growth and industry average PE
    • BFIs PE 15 to 25 should be considered fair priced
    • Change as change in market price
  • मूल्य आम्दानी अनुपात — यसलाई पिई रेसियो पनि भनिन्छ । यसले निश्चित आम्दानी गर्न तिर्नुपर्ने मूल्य जनाउँछ । यस्तो अनुपात वा गुना जति कम भयो त्यति राम्रो हो । यो निकाल्न आजको बजार मूल्यलाई प्रति शेयर आम्दानीले भाग गरे पुग्छ । सामान्यतः पिइ रेसियो १० भन्दा कम भएकोलाई निकै राम्रो मानिन्छ तर कम्पनी र बजारको अवस्था अनुसार कति पिइ उपयुक्त भन्ने आफैले निर्णय गर्नुपर्दछ ।

Net Worth

  • Amount by which assets exceed liabilities
  • Concept applicable to individuals and businesses as a key measure of how much an entity is worth
  • Consistent increase in net worth indicates good financial health
  • Depleted by annual operating losses or a substantial decrease in asset values relative to liabilities.
  • Known as book value or shareholders' equity.
  • Simply verification can be done by (capital+reserve)/no. of shares. But it is calculated using complex formula
  • नेटवर्थ — यसले कम्पनीको वर्तमान अवस्थालाई झल्काउँछ । यो विगतमा १०० रुपैयाँको शेयरको वर्तमान अवस्था हो । नेटवर्थ सकारात्मक नै हुनुपर्छ अर्थात १०० भन्दा बढी हुनुपर्छ । यो हामीले निकाल्न गाह्रो हुने भए पनि कम्पनीको त्रैमासिक विवरण हेरेर केही अनुमान गर्न सक्छौं । जति बढी नेटवर्थ त्यति बलियो हो तर यसले के पनि देखाउँछ भने कम्पनीले आफ्नो आम्दानीको ठूलो हिस्सा नबाँडी जगेडा कोषमा राख्ने गरेको छ ।

Dividend

  • Distribution of a portion of a company's earnings
  • Dividend per share = DPS, Calculated/distributed on percentage of FV
  • Cash or stock or mix or other
  • In Nepal
    • Dividend capacity
    • 5% dividend tax
    • Cash must be collected within 5 years; Stock remains with company — accumulates or increases capital and wealth
  • लाभांस — कम्पनीले गरेको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरिने मुनाफाको हिस्सा नै लाभांस हो । यो मूलतः प्रति शेयर आय र कम्पनीको जगेडा कोषमा निर्भर हुन्छ । नगद वा शेयर लाभांस भन्ने कुरा कम्पनीमा पुँजीको आवश्यतामा निर्भर हुन्छ । नेपालमा लाभांसमा ५% लाभकर लाग्छ ।
Non Performing Loan (NPL)
  • Debtor has not made scheduled payments for at least 90 days
  • Either in default or close to being in default
  • Creates risk and possible legal action
  • Deteoriate financial health of company
  • In Nepal
    • BFIs max 5%
    • Morethan that can not distribute any dividend
    • Regulator may enforce corrective action
  • एनपिएल — नन परफरमिङ लोन अर्थात भाखा नाघेको ऋण । वर्तमान व्यवस्था अनुसार एनपिएल बढीमा ५ प्रतिशत हुनुपर्छ र यो भन्दा बढी भएको बैंक तथा वितिय संस्थाले मुनाफा भए पनि लाभांश वितरण गर्न सक्दैन । एनपिएल जति कम भयो त्यति राम्रो ।

Capital adequacy ratio (CAR)

  • Minimum capital required to absorb risk; to make sure that banks have enough cushion to absorb a reasonable amount of losses before they become insolvent and consequently lose depositors’ funds.
  • Capital fund to RWA
  • Measure of a bank's capital.
  • Expressed as a percentage of a bank's risk weighted credit exposures.
  • Protect depositors and promote the stability and efficiency of financial systems around the world.
  • Tier one capital; tier two capital
  • Min 11%
  • पुँजी कोष — इजाजतपत्रप्राप्त संस्थाले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम पुँजीकोष अनुपात कायम गर्नु पर्नेछ । यसले संस्थाको जोखिम वहन क्षमता, पुँजी पर्याप्तता बुझाउँछ । हाल यस्तो अनुपात ११% छ र यसमा राष्ट्र बैंकले परिमार्जन गर्दछ । वासेल कार्यान्वयनका चरणहरु पार गर्दै जाँदा पुँजी कोष र त्यसमा समावेश हुने पुँजीमा परिवर्तन हुँदै जान्छ । सामान्यतः हामीले बुझ्नु पर्ने, पुँजी पर्याप्त हुनु पर्दछ, यो धेरै बढी वा कम हुनु हुन्न, पुँजी कोष कम हुनु भनेको कम्पनीले पुँजी बढाउन दवाव हो ।

Credit Deposit ratio

  • Credit to deposit = CD
  • Capital, credit to deposit = CCD
  • Proportion of loan-assets created by banks from the deposits received.
  • Denotes utilization of deposit and capacity of loan disbursement
  • CD max 80%
  • Increase in CD low availability of fund for loan, hence pressure on interest
  • Now, CCD that considers capital for credit
  • क्रेडिट डिपोजिट रेसियो — यसले समग्र वचतबाट बैंकले प्रवाह गरेको ऋणलाई जनाउँछ । सामान्यतः वचतको अधिकतम ८०% भन्दा बढी ऋण दिन पाइदैन । यसमा पुँजी समेत जोडेर गणना गर्ने विधिलाई क्यापिटल, क्रेडिट एण्ड डिपोजिन रेसियो भनिन्छ । हाल क्यापिटल क्रेडिट डिपेजिट रेसिये हेरिन्छ ।

Quarterly Reports

  • Publish quarterly financial statement
    • Provides picture of financial health
    • Key yardstick
    • Net profit, EPS, PE, Networth, NPL, CAR, CD, provision for possible losses, write back, claims to be paid, etc
  • त्रैमासिक रिपोर्ट — कम्पनीको त्रैमासिक प्रगति र वित्तिय अवस्थाको प्रस्तुति गर्दछ । यसले कम्पनीहरुको कार्यप्रगतिको समिक्षा गर्दै मुनाफाको अवस्था, तोकिएको वित्तिय सूचकहरु पालनाको अवस्था देखाउँछ । यसैको आधारमा लगानी व्यवस्थान हुने र मुनाफामा असर गर्ने हुँदा त्रैमासिक विवरण पढ्न र केही विश्लेषण गर्ने सीप हुनु अपरिहार्य हुन्छ ।

Thursday, February 16, 2017

बजार बियरिस कि क्र्यासः तिनका अाधार

एकै दिनमा आउने ठूलो उतारचढाव र उनीहरूको संस्थागत सुधार, नियामकको अवस्था तथा मुनाफामा प्रगतिले समग्र बजार क्र्यास हो भन्ने पुष्टि हुन सकेको छैन ।

सेयर बजारमा अहिले क्र्यास र बियरिस निकै चलेका र चलाइएका शब्द हुन् । करिब पाँच वर्षअगाडिदेखि सेयरमा लगानी गरेका लगानीकर्ताहरू र केही वर्ष वा महिना अगाडिदेखि सेयर बजार प्रवेश गरेका व्यक्तिहरूबीच पनि बजारको अवस्थाका बारेमा फरक बुझाइ रहेको देखिन्छ ।

यस्तै लगानीकर्ता र सेयर कारोबारी/व्यापारीहरूका बीच पनि अहिलेको बजारको अवस्था के हो ? मतैक्य छैन । वास्तवमा सेयर बजारको अहिलेको अवस्थासम्बन्धी आआफ्नै बुझाइ र परिभाषा रहेका छन्, जुन स्वाभाविक हो ।

बियारिस र करेक्सन

विश्वव्यापी रूपमा समेत सेयरको वास्तविक बियरिस कुन अवस्थामा हो भन्ने मतैक्य पाइन्न । धेरैले स्विकारेको परिभाषा हो :
  • २० प्रतिशत वा सोभन्दा बढीले घटेको बजार, यस्तो घट्दो दर ६० दिनसम्म कायम रहेको अवस्थालाई नै बजारको बियरिस अवस्था भनिन्छ ।
  • तर २० प्रतिशतभन्दा बढीले घटेको अवस्था दुई महिनाभन्दा कम कायम रहेको अवस्थालाई करेक्सन भनिन्छ न कि बियरिस ।
बियरिस अवस्थामा समग्र लगानीकर्ताहरूले बजारप्रतिको भरोसा गुमाउन पुग्छन्, जसले सेयरको मागमा उच्च कमी आउँछ । अर्थतन्त्रमा मन्दी, उच्च बेरोजगारी र उच्च मुद्रास्फीतिको अवस्थामा यस्तो स्थिति देखा पर्छ ।

यसले हालको नेपाली सेयर बजार बियरिस हो भन्ने देखाउँछ । बजारको उच्च बिन्दु २०७३ साउन १२ गतेको १८८१ बाट २०७२ फागुन २ गतेको १२७८.९८ आइपुग्दा करिब ३२ प्रतिशतको गिरावट आएको देखिन्छ । साउन १२ गतेबाट घट्दो क्रममा रहेको बजार साउन २४ र २५ गते पहिलो तीव्र उथलपुथलको सामना ग¥यो । साउन ८ गते ५.०३२५ प्रतिशतले घटेर १६७५.९१ पुगेकोमा भोलिपल्ट ५.०४२६ प्रतिशत बढेर १७६०.४२ बिन्दुमा पुगेको थियो । यसपछि मंसिर ५ गते ३.५२५ प्रतिशत र मंसिर १२ गते ४.२१ प्रतिशतको उच्च गिरावट आयो । यसपछि हालै फागुन १ गते ३.३७४६ प्रतिशतको गिरावटसँगै १२५२.५ प्रतिशत पुग्यो ।

तर, यस आर्थिक वर्षको न्यूनतम बिन्दु १२५२.५ मा समेत करिब ५० करोड हाराहारीको कारोबारले बजारको बियरिस अवस्थालाई पुष्टि गर्न हिचकिचाउनुपर्ने हो कि भन्ने देखिएको छ । बजारमा मानिसले किन्न नचाहेको होइन, सस्तोमा किन्न खोजेको अवस्था छ । फागुन २ गते पुनः न्यूनतम बिन्दु १२१९.१९ को गहिराइबाट बजार माथि उछालिँदै १२७८.९८ मा बन्द भयो । यसले पनि बजारबाट लगानीकर्ताहरूको भरोसा गुमाएको होइन कि भन्ने देखाएको छ ।

क्र्यासै हो त?

यसैबीच धेरै लगानीकर्ता र कारोबारीहरूले बजार ध्वस्त भएको वा क्र्यास भएको हो कि भन्ने आशंका पनि गर्न थाले । १८८१ को नेप्से १२१९ सम्म झर्दा धेरैलाई अक्क न बक्कको अवस्थामा पु-यायो र क्र्यास नै हो कि भन्ने भानमा पुगे । अन्तर्राष्ट्रिय रूपमा स्विकारिएको परिभाषाअनुसार,

“धितोपत्र बजार क्र्यास भनेको धितोपत्रको मूल्यमा एकैचोटि भारी गिरावट आएको नतिजास्वरूप उल्लेख्य रूपमा कागजी सम्पत्ति घट्नु हो । यो आर्थिक कारण लगानीकर्ताहरू आतंकित वा त्रसित भएको अवस्था हो । कहिलेकाहीँ धितोपत्र बजारको सट्टेबाजीमा फोकाहरू उत्पन्न हुँदा पनि यस्तो अवस्था आउँछ ।

यस्तै धितोपत्र बजारको क्र्यास एउटा सामाजिक परिप्रेक्ष्य पनि हो जहाँ बाह्य आर्थिक कारणहरूसँगै आमलगानीकर्ताको बानी–बेहोरा र मानसिक अवस्थाको मिश्रित परिणामस्वरूप बजारका कुनै सहभागीले सेयर बिक्री गरेको आधारमा अन्यले पनि बिक्री गर्न थाल्छन् । सामान्यतः निरन्तर सेयरमूल्यमा वृद्धि, उच्च आर्थिक अपेक्षा, बजारको मूल्य–आम्दानी अनुपात दीर्घकालीन औसतमा भन्दा निकै उच्च हुनु र बजारका सरोकारवालाहरूले उच्च मात्रामा मार्जिन ऋण र लचकताको उपयोग गर्नु नै सेयर बजार क्र्यास निम्त्याउने कारणहरू हुन् ।

तथ्यांकीय रूपमा धितोपत्र बजारको क्र्यासलाई जनाउने त्यस्तो संख्या त छैन, तर कैयौं दिनसम्म दोहोरो अंकले बजारले नोक्सानी बेहोरेको अवस्थालाई नै क्र्यासका रूपमा लिन सकिन्छ । क्र्यासको अवस्था बियरिस र हतास बिक्रीको अवस्थामा भन्दा फरक हुन्छ र मूल्य नाटकीय तथा अचानक तल झर्छ । बियरिस बजारमा सेयर बजार महिनौं वा वर्षौंको अवधिमा घट्दो रहन्छ भने क्र्यासको अवस्था बियरिस बजारसँग सम्बन्धित भए पनि सधंै सँगसँगै जानुपर्छ भन्ने छैन । यस्तै क्र्यासले बियरिस अवस्था ल्याउँछ नै भन्ने पनि हुँदैन, उदाहरणका लागि सन् १९८७ को क्र्यासले बियरिस अवस्था ल्याएन भने जापानमा सन् १९९० दशकको बियरिस थाहै नहुने गरी कैयौं वर्ष कायम रह्यो ।”

यस आधारमा नेपाली सेयर बजारमा विगत ६–७ महिनामा आएको उतारचढाव अनि हालैका दिनमा लगानीकर्ताहरूमाझ देखिएको हतास मानसिक अवस्थाले बजार क्र्यास नै भएको हो कि भन्ने प्रश्न जन्माएको छ ।

यसलाई गत वर्षदेखिको निरन्तर वृद्धिसँग आर्थिक पाटाहरूमा आएको परिवर्तनले पनि केही सघाएको आभास हुन्छ । नेपालको सेयरबजारमा मूलतः बैंक तथा वित्तीय संस्थाहरूको दबदबा रहेको छ । एकै दिनमा आउने ठूलो उतारचढाव र उनीहरूको संस्थागत सुधार, नियामकको अवस्था तथा मुनाफामा प्रगतिले समग्र बजार क्र्यास हो भन्ने पुष्टि हुन सकेको छैन ।

यस्तो अवस्थामा के गर्ने त ?

अहिलेको नेपाली सेयरबजारको अवस्था यही हो भन्ने सुनिश्चित गर्न नसकेको अवस्था र लगानीकर्ता तथा कारोबारीहरूबीच पनि मतैक्य हुन नसकेको अवस्थामा हरेक लगानीकर्ता र कारोबारीको आफ्नो विश्लेषण र सेयर बजारप्रतिको व्यक्तिगत धारणा, उद्देश्यअनुरूप अगाडि बढ्नु उचित हुन्छ । यस्तो अवस्थामा निम्न अनुसार गर्दा उपयुक्त हुन्छ :
  • सेयर बजारमा तत्कालको मुनाफा वा सम्पत्तिमा आर्जन (वेल्थ माक्सिमाइजेसन) के हो ? लगानी गर्न खोजेको हो कि व्यापार÷कारोबार, आफ्नो उद्देश्यबारे स्पष्ट हुनुपर्छ ।
  • लगानी र व्यापारका फरक विधि, मान्यता र मुनाफाका आधार पनि फरक हुन्छन्, त्यसलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ ।
  • विशेषतः दीर्घकालीन लगानीकर्ताका लागि अहिलेको बजार थप लगानी गर्ने मौका हुन सक्छ । मूल्यको सम्भावित उतारचढावलाई आकलन गर्दै आफ्नो जोखिम वहन क्षमताभन्दा बढी मूल्य उतारचढाव हुने र तुलनात्मक रूपमा कम प्रतिफल दिने सेयरलाई कम लागतमा लगानी स्थानान्तरण गर्न सकिन्छ ।
  • लगानीकर्ताले लगानी गर्दा मूलतः आजको बजारमूल्यभन्दा आफ्नो औसत लागतभन्दा मूल्य कम वा बढी हेर्नुपर्छ । बजारमूल्य आफ्नो औसत लागतभन्दा २०–३० प्रतिशतले कम छ, आधारभूत रूपमा कम्पनी बलियो छ, व्यावसायिक विस्तार राम्रो छ र भविष्यमा मुनाफाको संभावना छ भने यही मौकामा थप सेयर किनेर लागत कम गर्नु बुद्धिमानी हुन्छ ।
  • नेप्सेको समग्र बिन्दु छाडेर आफूले लगानी गरेका कम्पनीहरूको आर्थिक, व्यावसायिक र व्यवस्थापिकीय अवस्था हेरौं । नेप्से तलमाथि हुनु भनेको समग्र बजार तलमाथि हुनु हो । त्यहाँ तपाईंले लगानी गर्नुभएका कम्पनीको मात्र औसत मूल्य प्रतिविम्बित हुने होइन । यतिचाहिँ ध्यान दिनुपर्छ । समग्र बजारभन्दा आफूले लगानी गरेको कम्पनीको मूल्यको उतारचढाव कस्तो छ, आज कतिको कारोबार भयो, लगानीकर्ताहरूको मनस्थिति कस्तो छ, आदिमा ध्यान दिनुपर्छ ।
  • विशेष गरी बैंकिङ क्षेत्रको सेयरमा लगानीकर्ताहरूका लागि अहिलेको अवस्था निकै राम्रो अवसर हुन सक्छ । अब यो दरमा सेयरको आपूर्ति बढ्न समय लाग्छ तर समयक्रममा व्यापारी÷कारोबारीको प्रवेश बढ्दो छ । यो सँगै कम्पनीहरूको आर्थिक र व्यवस्थापकीय अवस्था विगतको न्यूनतम बिन्दुभन्दा तुलनात्मक रूपमा राम्रो छ, यो क्षेत्र कठोर परिस्थितिहरूको सामना गर्न सक्षम भएको प्रमाणित भइसकेको छ ।
  • कारोबारी÷व्यापारीहरूका लागि केही अप्ठेरो परिस्थिति आउन सक्छ, उनीहरूको ब्याज र जोखिमको लागत बढ्न सक्छ तर सेयर सस्तोमा पाउनुभएको छ । सस्तो सेयर किनेर आफ्नो भण्डार बलियो बनाउने मौका हुन सक्छ ।
  • बजारमा सेयरसम्बन्धी सचेतना, चासो, नियमन, कानुनी, प्राविधिक वातावरण सबै सेयर बजारमैत्री बनिरहेको छ । ब्याज बढेर सेयरबाट लगानी अन्यत्र केही हदसम्म जान सक्छ, तर सबै जाँदैन ।
  • लगानीकर्ता वा व्यापारी/कारोबारीले विशेष ध्यान दिनुपर्ने कुरा के हो भने, सेयर किन्न र बेच्न खोज्नेहरूबीचको सहमतिको बिन्दु नै नेप्से हो । यहाँ किन्ने र बेच्नेले अनेक उपाय अपनाएर सेयरको मूल्य प्रभावित गर्नु स्वाभाविक हो, चाहे त्यो बुल वा बियरिस अवस्था । ‘बियरिस’ अवस्थामा किन्नेहरू हावी भएजस्तै ‘बुल’मा बेच्नेहरू हाबी हुन्छन् ।

Monday, February 13, 2017

‘भूकम्पको पूर्वानुमान गर्न नसके जस्तै बियरिस बजारलाई पनि चिन्न कठिन हुन सक्छ’

काठमाडौं : विश्व सेयर बजार अनुभवको आधारमा पौल मेरिम्यानले बियरिस बजारको सम्बन्धमा ध्यान दिनुपर्ने २२ बुँदाहरू उल्लेख गरेका छन् । वेब सञ्जालबाट लिइएको यस लेखले अहिलेको अन्योलताको अवस्थामा बजार बियरिस हो कि होइन र यस्तो अवस्थमा के गर्ने भनेर निर्णय लिनमा सघाउ पुग्ने देखेर अनुवाद गरेर हाम्रा पाठकसामू पस्किने प्रयत्न गरेका हौं । यसमा अनुवादक र प्रकाशकको कुनै पनि निजी धारणा रहेको छैन् । 
  1. बियर बजार के हो ? सामन्यतयः यसलाई कहिलेकाही हल्का रुपमा अनेकौं परिभाषा पनि दिइन्छ, तर सबैले स्वीकार गरेको परिभाषा अनुसार २०% वा सो भन्दा बढीले घटेको बजार अनि यस्तो घट्दो दर ६० दिनसम्म कायम रहेको अवस्थालाई नै बजारको बियरिस अवस्था भनिन्छ ।
  2. तर २०% भन्दा बढीले घटेको अवस्था दुई महिनाभन्दा कम छ भने त्यस्तो अवस्थामा यसलाई करेक्सन भनिन्छ । बियरिस भनिंदैन । करेक्सनले पनि लगानीकर्तालाई कम चोट पुग्छ भन्ने होइन तर दुःखका दिन कम हुनेछन् भन्ने मात्र हो ।
  3. बियरिस अवस्थामा समग्र लगानीकर्ताले बजारप्रतिको भरोसा गुमाउन पुग्छन्, जसका कारण सेयरको मागमा उच्चरुपमा कमी आउँछ । अर्थतन्त्रमा मन्दी, उच्च बेरोजगारी र उच्च मुद्रास्फीतिको अवस्थामा यस्तो स्थिति देखापर्छ ।
  4. बियर बजार सामान्य हो, तर यसले लामो प्रभुत्व जमाउन सक्दैन । विश्वका बजारहरूको विगत २०० वर्षको इतिहास हेर्ने हो भने पनि सयर बजार तल गएको भन्दा धेरै पटक माथि गएको नै पाइन्छ । ऐतिहासिकरुपमा हेर्दा बियर बजारको उपस्थिति कम भएता पनि यो निकै दुःखदायी एवं पीडादायी हुने गरेका छन् ।
  5. जसरी भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, त्यस्तै बियरिस बजारको पनि पूर्वानुमान गर्न कठिन हुन्छ । तर यसको लागि पूर्वतयारी गर्न नसक्नेहरुका लागि भने यो ठूलो प्रकोपको रुपमा देखिन्छ । अमेरिकका कै कुरा गर्दा पनि सन् १९२९ पछि अमेरिकी बजारले २५ पटक बियरिसको अवस्थाको अनुभव गरेको छ र त्यो औसतमा ३.४ वर्ष रहेको देखिन्छ ।
  6. तथ्यांकका हिसावले हेर्ने हो भने विश्व सेयर बजारमा बियरिसको अवस्था घर्किसकेको छ । विश्वको पछिल्लो बियरिस अवस्था सन् २००९ मा देखिएको थियो ।
  7. भूकम्प जस्तै बियरिस अवस्था पनि सँधै रहँदैन । विश्वका विगतका २५ वटा बियरिस अवस्थाको विश्लेषणबाट औसतमा यसको अवधि १० महिना रहेको देखिन्छ ।
  8. भूकम्प जस्तै बियरिस अवस्था हल्का वा कडा हुन सक्छ । बियरिस बजारको औसत नोक्सानी ३५% देखिन्छ । सबैभन्दा कम नोक्सानी सन् १९४९ मा २१% भएको थियो भने सबैभन्दा कडा अनि बढी सन् १९३१ बाट १९३२ मा देखिएको थियो जहाँ बजारले ६२% नोक्सानी व्यहोरेको थियो ।
  9. विश्वका अहिलेका लगानीकर्ताहरुले मुख्यतयः सन् २००० देखि २००२ बीचमा ५८% र २००७ देखि २००९ अवधिमा ५७% सम्म गिरावट व्यहोरेका छन् ।
  10. पूर्वतयारी नभएका लगानीकर्तालाई यो बियरिस बजारको भूतले निकै तर्साउँछ । यस्तो अवस्थामा तर्सेका लाखौं लगानीकर्ताहरु अझै पनि अन्योलग्रस्त छन् र बजारबाट टाढै बस्न रुचाउँछन् । उनीहरुले आफूसँग नगद नराख्दा पछि बजार सुदृढ भएपछि पनि राम्रा अवसर गुमाउन पुगे ।
  11. विश्व सेयर बजारको अवस्थाहरू पूर्णतयः खराव मात्रै थिएनन् । विगतका २५ वटा बुलका अवस्था औसतमा ३१ महिना रहेका छन् जुन औसत बियरिसको ३ गुना हो । यस्तै बुलले बजारलाई औसतमा १०७% माथि पुर्याएको छ ।
  12. बियरिस बजारमा जस्तै बुलिस पनि विभिन्न आकारमा देखिन्छन् । सन् १९८७ देखि २००० बीचमा पनि सबैभन्दा सानो बुलमा २१% र लामोमा ५८२%को वृद्धि देखिएको थियो । 
  13. बियरिसको नोक्सानीलाई गणना गर्दा कतिपय अवस्थामा कम्पनीबाट पाइएको लाभांशलाई हिसाब नगरिएको पनि हुन सक्छ । पुनः लगानीलाई समेत ध्यान नदिइने हुँदा बियरिसमा वास्तविक नोक्सानी भने भनिए भन्दा केही कम पनि  हुन सक्छ । त्यसैले बियरिस अवस्था सधैं निकै चोटिलो नहुन पनि सक्छ ।
  14. जसरी बियरिस बजारले तर्साउँछ, त्यसैगरी लामो बुल अवस्थाले लगानीकर्ताहरुलाई बजार जोखिम भनेको सैद्धान्तिक कुरा हो भन्ने गलत भावनाको विकास गर्न सक्छ । सन् २००० मा १३ वर्षको बुलमा लगानी गरिरहेका लगानीकर्ताहरु बजार तीव्र गतिमा झर्दा अक्क न बक्क भएका थिए ।
  15. बियरिस बजार सँधैका लागि रहँदैन । यसको मतलव यो हुनै सक्दैन भन्ने होइन तर अहिलेसम्म अत्यन्त लामो समय देखिएको छैन ।
  16. बियरिस बजारबाट सुरक्षित हुने सुनिश्चित उपाय भनेको सेयरमा लगानी नै नगर्नु हो । तर यसको अवसर आइपर्दाको लागत चाहिँ निकै महंगो हुन जान्छ, त्यो भनेको बुल बजारको लाभ कहिले पनि लिन पाइँदैन ।
  17. लगानी केही सुरक्षित गर्ने उपाय भनेको लगानी विविधीकरण नै हो । सन् २०००–२००२ बीचको बियरिस अवस्थामा लगानी विविधीकरण गर्नेले राम्ररी जोगिन सकेका थिए, त्यसैले त एस एन्ड पी–५०० ५०% ले घट्दा पनि केही लगानीकर्ताले औसत १४% मात्र गुमाएका थिए ।
  18. बियरिस बजारमा तेस्रो विकल्प भनेको पोर्टफोलियोमा बन्ड तथा ऋणपत्र थप्नु हो । विगत ४५ वर्षको अनुभवमा सन् २००८ को डरलाग्दो अवस्थामा समेत ४०% विविधीकृत सेयर र ६०% ऋणपत्र र बन्डमा लगानी गर्दा औसतमा १४.९% मात्र नोक्सानी भएको थियो ।
  19. माथिका बुँदा १७ वा १८ मा एकमात्र अपनाउनु भन्दा दुवै उपाय सँगसँगै अपनाउनु बुद्धिमानी हुनेछ ।
  20. युवाहरुले बियर बजारलाई स्वागत गर्नुपर्दछ । यो सुन्दा नराम्रो लाग्न सक्छ । तर युवाहरुसँग लगानीको लागि लामो समय उपलब्ध हुन्छ । उनीहरुले सस्तोमा सेयर किनेर दीर्घकालीन अवस्थामा निकै उच्च मूल्यमा विक्री गर्न सक्छन् । बियर बजारले सेयरहरु क्षणिकरुपमा भएपनि सस्तो बनाएको हुन्छ र यही मौकामा युवाहरुले जतिसक्दो धेरै सेयर खरिद गर्नुपर्दछ ।
  21. अर्कोतर्फ भर्खर रिटायर्ड भएकाहरु बियर बजारबाट टाढै बस्नु उपयुक्त हुन्छ । यदि तपाई भर्खर रिटायर्ड हुनभएको छ र प्राप्त रकम सेयर बजारमा लगानी गर्दा त्यसले तपाइको जीवनभरीको कमाइ लुट्ने मात्र होइन यसले तपाइको लगानी गर्ने मनोबल पनि लुट्ने छ । साथै, बाँकी जीवनका लागि आउन सक्ने मुद्रस्फीतिसँग जुध्न आवश्यक हुन्छ ।
  22. बजारको बुल र बियर अवस्थालाई सँगै हेर्दा निकै नाटकीय चित्र देख्न सकिन्छ ।
उल्लेखित बुँदाहरु लगानीकर्ताको मनोवल घटाउन होइन केबल सचेत गराउन अनि बजारप्रति विश्वास बढाउनका लागि हो । लामो बुल रन पछि पनि हामी हामी ढुक्क भएर बसेका हुन्छौं तर यो घातक हुनसक्छ । त्यसैले आफ्ना अपेक्षाहरुको परीक्षण गर्दै गरौं, धैर्य राखौं र दीर्घकालीन सोच बनाऔं ।

साभार : मार्केट वाच डट कम 
नेपाली पैसा अनलाइनमा २०७३ फागुन २ गते प्रकासित

- See more at: http://www.nepalipaisa.com/NewsDetail.aspx///id/15794

Thursday, February 9, 2017

बजार बियरिस हाे कि क्र्यास ?

शेयर बजारमा अहिले क्र्यास र बियरिस निकै चलेका र चलाइएका शब्द हुन् । विगतदेखिका लगानीकर्ताहरु हुन् वा केहि वर्ष/महिनादेखि शेयर बजारमा प्रवेश गरेका व्यक्तिहरु बीच पनि बजारको अवस्थाको बारेमा फरक बुझाइ रहेको देखिन्छ । यस्तै लगानीकर्ता र शेयर कारोवारी÷व्यापारीहरुका बीच पनि अहिलेको बजारको अवस्था के हो ? भन्ने मतैक्य छैन । वास्तवमा शेयर बजारको अहिलेको अवस्था सम्बन्धी आआफ्नै बुझाइ र परिभाषा रहेका छन्, जुन स्वभाविक हो ।

विश्वव्यापी रुपमा समेत वास्तविक बियरिस कुन अवस्थालाई भन्ने मतैक्यता नभएपनि धेरैले स्वीकारेको परिभाषा अनुसार,
१. २० प्रतिशत वा सो भन्दा बढीले घटेको र त्यस्तो घट्दोदर कम्तिमा ६० दिन कायम रहेको अवस्थालाई नै बजारको बियरिस अवस्था भनिन्छ ।
२. तर २०% भन्दा बढीले घटेको अवस्था दुई महिनाभन्दा कम कायम रहेको अवस्थालाई करेक्सन भनिन्छ, बियरिस अवस्था होइन ।
३. बियरिस अवस्थामा समग्र लगानीकर्ताहरुले बजार प्रतिको भरोसा गुमाउन पुग्छन्, जसले शेयरको मागमा उच्च कमि आउँछ । अर्थतन्त्रमा मन्दी, उच्च बेरोजगारी र उच्च मुद्रास्फीतिको अवस्थामा यस्तो स्थिति देखापर्छ ।

उपरोक्त परिभाषा अनुसार, हालको नेपाली शेयर बजार बियरिस हो, किनभने बजारको उच्च विन्दु २०७३ साउन १२ गतेको १८८१ बाट २०७३ फागुन २ गतेको १२७८.९८ आइपुग्दा करिव ३२% को गिरावट आएको छ । साउन १२ गतेबाट घट्को बजारले साउन २४ र २५ गते पहिलो उथलपुथलको सामना गर्यो । साउन ८ गते ५.०३२५%ले घटेर बजार भोलिपल्टै ५.०४२६% ले बढ्यो । यसपछि मंसिर ५ गते ३.५२५% र मंसिर १२ गते ४.२१% को उच्च गिरावट आयो । यसपछि हालै फागुन १ गते ३.३७४६% को गिरावटसँगै १२५२.५% पुग्यो ।

तर, यस आर्थिक वर्षको न्यूनतम विन्दु १२५२.५ मा समेत करिव ५० करोड हाराहारीको कारोवारले बजारको बियरिस अवस्थालाई पुष्टि गर्न हिच्किचाउनु पर्ने हो कि देखिएको छ । यसले क्रेताहरु सस्तोमा किन्न खोजेको अवस्था देखिएको छ । फागुन २ गते पुनः न्यूनतम विन्दु १२१९.१९ को गहिराइबाट बजार माथि उछालिँदै १२७८.९८ मा बन्द भयो । यसले पनि बजारबाट लगानीकर्ताहरुको भरोसा गुमाएको होइन कि भन्ने देखाएको छ ।

यसैबीच धेरै लगानीकर्ता र कारोवारीहरुले बजार ध्वस्त भएको वा क्र्यास भएको हो कि भन्ने आशंका पनि गर्न थाले । १८८१ विन्दुको नेप्से १२१९ सम्म झर्दा धेरैलाई अक्कनबक्क बनाउँदै क्र्यास नै हो कि भनेर झकझक्यायो ।

अन्तराष्ट्रिय स्वीकारिएको परिभाषा अनुसार, “धितोपत्र बजार क्र्यास भनेको धितोपत्रको मूल्यमा एकैचोटी भारी गिरावट आएको नतिजास्वरुप उल्लेख्य रुपमा कागजी सम्पत्ति घट्नु हो । यो आर्थिक कारण लगानीकर्ताहरु आतंकित वा त्रसित भएको अवस्था हो । कहिलेकाहीँ धितोपत्र बजारको सट्टेबाजीमा फोकाहरु उत्पन्न हुँदा पनि यस्तो अवस्था आउँछ ।

यस्तै धितोपत्र बजारको क्र्यास एउटा सामाजिक परिप्रेक्ष पनि हो जहाँ वाह्य आर्थिक कारणहरुसँगै आमलगानीकर्ताहरुको बानी–व्यहोरा र मानसिक प्रतिक्रियास्वरुप बजारको कुनै सहभागीले शेयर विक्री गरेको आधारमा अन्यले पनि विक्री गर्न थाल्छन् । सामान्यतः निरन्तर शेयरमूल्यमा वृद्धि, महत्वकांक्षी आर्थिक अपेक्षा, बजारको मूल्य आम्दानी अनुपात दीर्घकालीन औसतमा भन्दा निकै उच्च हुनु र बजारका सरोकारवालाहरुले उच्च मात्रामा मार्जिन ऋण र लचकताको उपयोग गर्नु नै शेयर बजार क्र्यास निम्त्याउने कारणहरु हुन् ।

तथ्यांकीय रुपमा धितोपत्र बजारको क्र्यासलाई जनाउने त्यस्तो संख्या त छैन तर कैयौंदिनसम्म दोहोरो अंकले बजारले नोक्सानी व्यहोरेको अवस्थालाई नै क्र्यासको रुपमा लिन सकिन्छ । क्र्यासको अवस्था बियरिस र हतास विक्रीको अवस्थामा भन्दा फरक हुन्छ र मूल्य नाटकीय तथा अचानक तल झर्दछ । बियरिस बजारमा शेयर बजार महिनौं वा वर्षौंको अवधिमा घट्दो रहन्छ भने क्र्यासको अवस्था बियरिस बजारसँग सम्बन्धित भएता पनि सँधै सँगसँगै जानु पर्दछ भन्ने छैन । यस्तै क्र्यासले बियरिस अवस्था ल्याउँछ नै भन्ने पनि हुँदैन, उदाहरणको लागि सन् १९८७ को क्र्यासले बियरिस अवस्था ल्याएन भने जापानमा सन् १९९० दशकको बियरिस थाहै नहुने गरी कैयौं वर्ष कायम रह्यो ।”उपरोक्त परिभाषा र विगत ६–७ महिनामा आएको उतारचढाव अनि हालैका दिनमा लगानीकर्ताहरु माझ देखिएको हतास मानसिक अवस्थामले नेपाली शेयर बजार साँच्चिकै क्र्यास नै भएको हो कि भन्ने प्रश्न जन्माएको छ । यसलाई गतवर्षदेखिको निरन्तर वृद्धिसँग आर्थिक पाटाहरुमा आएको परिवर्तनले पनि केही सघाएको आभास भएको छ ।

यस्तो अवस्थामा के गर्ने त ?
उल्लेखित परिभाषाले अहिलेको नेपाली शेयरबजारको अवस्था यहि हो भन्ने सुनिश्चित गर्न नसकेको अवस्था र लगानीकर्ता तथा कारोवारीहरु बीच पनि मतैक्य हुन नसकेको अवस्थामा हरेक लगानीकर्ता र कारोवारीको आफ्नो विश्लेषण र शेयर बजार प्रतिको व्यक्तिगत धारणा, शेयर किनबेचको उद्देश्य अनुरुप अगाडि बढ्नु उचित हुन्छ । यस्तो अवस्थामा निम्न अनुसार गर्न सकिन्छ ः
१. शेयर बजारमा तत्कालको मुनाफा वा सम्पतिमा आर्जन (वेल्थ माक्सिमाइजेसन) के हो ?, लगानी गर्न खोजेको हो की व्यापार/कारोवार आफ्नो उद्देश्यबारे स्पष्ट हुने ।
२. लगानी र व्यापारका फरक विधि, मान्यता र मुनाफाका आधार पनि फरक हुन्छन्, त्यसलाई आत्मसात गर्दै अगाडि बढ्ने ।
३. विशेषतः दीर्घकालीन लगानीकर्ताको लागि अहिलेको बजार क्र्यास वा बियरिस भन्दा थप लगानी गर्ने मौका हुनसक्छ । मूल्यको संभावित उतारचढावलाई आंकलन गर्दै आफ्नो जोखिम वहन क्षमता भन्दा बढी मूल्य उतारचढाव हुने र तलुनात्मक रुपमा कम प्रतिफल दिने शेयरलाई कम लागतमा लगानी स्थानान्तरण गर्न सकिन्छ ।
४. लगानीकर्ताले आफ्नो औसत लागत भन्दा बजार मूल्य कम वा बढी हेर्नुस । बजारमूल्य औसत लागतभन्दा २०–३० प्रतिशतले कम छ र आधारभूत रुपमा कम्पनी बलियो छ, व्यवसायिक विस्तार राम्रो छ र भविष्यमा मुनाफाको संभावना छ भने यहि मौकामा थप शेयर किनेर लागत कम गर्नुस् ।
५. नेप्सेको समग्र विन्दुभन्दा आफूले लगानी गरेका कम्पनीहरुको आर्थिक, व्यवसायिक र व्यवस्थापिकीय अवस्था हेरौं । नेप्सेले तपाइँसँग भएका कम्पनीसँग समग्र बजार मूल्य प्रतिविम्वित गर्छ, त्यसैले समग्र बजारभन्दा आफूले लगानी गरेको कम्पनीको मूल्यको उतारचढाव कस्तो छ, आज कतिको कारोवार भयो, लगानीकर्ताहरुको मनस्थिति कस्तो छ, आदिमा ध्यान दिऔं ।
६. विशेषगरी बैंकिग क्षेत्रका लगानीकर्ताहरुका लागि अहिलेको अवस्था निकै राम्रो अवसर हुनसक्छ । अहिले केहि समय शेयरको आपूर्ति बढेपनि यसमा कमी आउँछ नै, यस्तै समयक्रममा व्यापारी÷कारोवारीको प्रवेश बढ्छ । यो सँगै कम्पनीहरुको आर्थिक र व्यवस्थापकीय अवस्था विगतको न्यूनतम विन्दुभन्दा तुलनात्मकरुपमा राम्रो छ, यो क्षेत्र कठोर परिस्थितिहरुको सामना गर्न सक्षम भएको प्रमाणित भईसकेको छ । अन्य क्षेत्रको पनि विगतको भन्दा सबै सूचकहरु राम्रा छन्, त्यसैले कम्पनीहरुको विस्तृत अध्ययन गरेर लगानी गर्नु्स् ।
७. कारोवारी/व्यापारीहरुका लागि केही अप्ठेरो परिस्थिति आउन सक्छ, उनीहरुको व्याज र जोखिमको लागत बढ्न सक्छ तर शेयर सस्तोमा पाउनु भएको छ । सस्तो शेयर किनेर आफ्नो भण्डार बलियो बनाउने मौका हुन सक्छ ।
८. बजारमा शेयरसम्बन्धी सचेतना, चासो, नियमन, कानुनी, प्राविधिक वातावरण सबै शेयरबजार मैत्री बनिरहेका छन् । व्याज बढेर शेयरबाट लगानी अन्यत्र केही हदसम्म जानसक्छ तर सबै जाँदैनन् ।
९. लगानीकर्ता वा व्यापारी÷कारोवारीले विशेष ध्यान दिनुपर्ने कुरा के हो भने, शेयर किन्न र बेच्न खोज्नेहरु बीचको सहमतिको विन्दु नै नेप्से हो । यहाँ किन्ने र बेच्नेले अनेक उपायहरु अपनाएर शेयरको मूल्य प्रभावित गर्नु स्वभाविक हो चाहे त्यो बुल वा बियरिस अवस्था । ‘बियरिस’ अवस्थामा किन्नेहरु हावी भए जस्तै ‘बुल’मा बेच्नेहरु हावी हुन्छन् ।

याे लेखकाे सम्पादित भर्सन काराेवार दैनिकमा २०७३ फागुन ४ गते प्रकाशित हाल लिंक नभेटिएकाे 

Tuesday, February 7, 2017

म्युचुअल फन्डबीच पनि बढ्दैछ प्रतिस्पर्धा, पुसमा यस्तो देखियो म्युचुअल फन्डहरूको अवस्था

म्युचुअल फन्डहरु संस्थागत र सामूहिक लगानीकर्ताको हिसावले नेपाली सेयर बजारका अभिन्न अंग बन्न पुगेका छन् । विशेषगरी सेयर बजारमा लगानी गर्न चाहने तर यससम्बन्धी धेरै ज्ञान, सीप र ठूलो रकम नभएका व्यक्तिहरुले एउटा कोषमा पैसा जम्मा गरेर व्यावसायिक संस्थामार्फत सामूहिक रुपमा सेयरमा लगानी गर्ने उद्देश्यले सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरु अगाडि आएका हुन् । विश्वमा म्युचुअल फन्डहरुको उपस्थिति धेरै पुरानो भएता पनि नेपालमा यसको उल्लेख्य विकास र उपस्थिति भने २०६९ देखि मात्र भएको हो । यो भन्दा अगाडि बजारमा एनसिएम म्युचुअल फन्ड एउटाको मात्र उपस्थिति थियो र त्यो १० वर्षको अवधिमा सबै युनिटको भुक्तानी गरेर बन्द भएको थियो ।

हाल बजारमा १० वटा यस्ता सामूहिक लगानी कोषहरुको उपस्थिति रहेको छ र उनीहरुले ५० करोडदेखि एक सय करोडको लगानी कोष खडा गरेका छन् । यस्ता म्युचुअल फन्डहरु खुला वा बन्दमुखी अर्थात् निश्चित अवधिमा बन्द हुने वा निरन्तर चलिरहने गरी दुई प्रकारका हुने भएता पनि नेपालमा सबै म्युचुअल फन्डहरु बन्दमुखी मात्र छन् । यिनीहरुले पाँच वा सात वर्ष अवधिको लागि यस्ता कोष सञ्चालनमा ल्याएका छन् । हाम्रो जस्तो निकै उतारचढाव हुने र अर्थतन्त्रका वास्तविक क्षेत्रको कम सहभागिता रहेको सेयर बजारलाई केही भए पनि व्यवस्थित र संस्थागत उपस्थिति मात्र निश्चित बाटोमा हिँडाउन पनि यस्ता म्युचुअल फन्डहरुको भूमिका रहन्छ ।

त्यस हिसावले म्युचुअल फन्डहरु सेयर बजारका मित्र शक्ति हुन् । नेपालमा पनि २०६५–६८ ताका सेयर बजारमा आएको चरम गिरवाटको अवस्थाबाट पाठ सिकेर नै होला, सरकारी तवरमा नै नीतिगत व्यवस्था गरी म्युचुअल फन्डहरुलाई बजारमा प्रवेश गर्ने वातावरण सिर्जना गरियो । सरकारले उनीहरुलाई कोष व्यवस्थापनमा सघाउन कर छुट र आरक्षणको व्यवस्था समेत गर्यो । 

यसैको नतिजास्वरुप अहिले बजारमा १० वटा म्युचुअल फन्डहरुले उपस्थिति जनाइसकेका छन् भने केही अझै बजार प्रवेशका तयारीमा छन् । विद्यमान म्युचुअल फन्डहरुमध्ये सबैभन्दा पुरानो सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ १ र नयाँमा एनआइबी प्रगति फन्ड हुन् । 

पुस महिनामा म्युचुअल फन्डहरुको अवस्था

विद्यमान म्युचुअल फन्डहरुले पुस मसान्तसम्म ८२५ करोड रूपैयाँ संकलन गरी सूचीकृत सेयर, हकप्रद, बोनस सेयर, ऋणपत्र तथा मुद्दति निक्षेपमा लगानी गरेका छन् । पुस मसान्तमा यी संस्थाहरूको समग्र अवस्था निम्न अनुसार रहेको छ ।


सूचीकृत सेयर र बैक मौज्दातको अवस्था यस्तो देखियो ।


म्युचुअल फन्डहरुको मुख्य मापक नेट एसेट्स भ्यालूलाई हेर्ने हो भने पुस मसान्तमा उनीहरुको अवस्था यस्तो रह्यो । 


यसरी हेर्दा एसआइजिएस १ (सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १)को खुद सम्पत्ति (न्याभ) सबैभन्दा बढी २.३६ प्रतिशतले घटेको देखिन्छ भने नयाँ एनइसफ (नबिल इक्विटी फन्ड)को झिनो रुपमा खुद सम्पत्ति ०.८९ प्रतिशतले बढेको देखिन्छ ।

कुल आम्दानीलाई हेर्ने हो भने उपरोक्त १० म्युचुअल फन्डहरुको अवस्था यस्तो रह्यो । 


मासिक प्रगतिलाई हेर्दा एइएफ (नविल इक्विटी फण्ड) ले २ करोड हाराहारी कमाएको देखिन्छ भने गुमाउनेमा एसआइजीएस–१ (सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १)ले करिव ३ करोड गुमाएको देखिन्छ । यदि अहिले बजारबाट उपलब्ध म्युचुअल फन्डहरु किन्ने हो भने सबैभन्दा सस्तो कुन पर्दछ हेर्न बजार मूल्यसँग उक्त फन्डको नेट एसेटस् भ्यालुको आधारलाई लिनुपर्दछ । यस हिसावले निम्न अनुसारको अवस्था देखिन्छ ।


तुलनात्मक आधारमा सबैभन्दा बढी छुट एनएमविएसएफ १ –एनएमवि सुलभ फन्ड) मा २६.८ प्रतिशत पाइएको छ भने जिआईएमइएस १ (ग्लोवल आईएमई सम्मुनत योजना १) लाई करिव ९.६६ प्रतिशत थप मूल्य तिर्नुपर्ने अवस्था छ । अहिलेको अवस्थामा सबैभन्दा घाटा ग्लोवल आईएमई सम्मुनत योजना १ का लगानीकर्ताहरुलाई भएको देखिन्छ । म्युचुअल फन्डका युनिटहरु दोस्रो बजारमा पनि सहजै कारोबार गर्न सकिने र यसले धितोपत्र बजारका फाइदा समेत हुने हुँदा सानो रकममा सेयर बजारको लाभ लिन चाहनेहरुका लागि पक्कै पनि यो लाभदायी हुनसक्छ ।

यसले मुनाफाको आधारमा वार्षिक नगद लाभांशको साथै अवधिको समाप्तिमा आफ्नो सम्पत्ति बेचेर युनिटधनीहरुलाई वितरण गर्ने हुँदा तोकिएको अवधि समाप्तिपछि प्रतिफलसहित लगानी फिर्ता हुन्छ । नेपालको पहिलो म्युचुअल फन्ड (एनसिएम) ले १० वर्षमा वार्षिक लाभांशको अतिरिक्त करिब तीन गुणा अर्थात् १० को ३० भन्दा केही बढी भुक्तानी गरेको थियो । आगामी वर्ष अवधि समाप्त हुने एसआइजीएस–१ र एनविएफ–१ ले समेत पाँच वर्षको अवधिमा दुई गुणाको हाराहारीमा लगानी फिर्ता गर्ने सम्भावना रहेको छ । तर म्युचुअल फन्डको ठूलो हिस्सा सेयरमा लगानी गरिने हुँदा सेयर बजारको उतारचढावले यसको खुद सम्पत्ति थपघटमा उल्लेख्य भूमिका खेल्दछ ।

Published on Nepalipaisa online on 24 Magh 2073, http://www.nepalipaisa.com/NewsDetail.aspx///id/15729




सेयर ज्ञान ६: शेयरमा लगानी कि व्यापार (काराेवार) ?

सामान्यतः शेयर भविष्यको लागि किनिन्छ र यसमा मुनाफा हेरिन्छ, तर विगत १–२ वर्षमा शेयरको दोस्रो बजारमा आएको मूल्यको उतारचढावले मानिसले वस्तु कारोवार गरे जस्तै शेयरको व्यापारका लागि समेत किन्न थालेका छन् ।

हो, शेयरमा दुई प्रकारको मुनाफा हुन्छ १) नगद वा शेयरको रुपमा कम्पनीबाट पाइने लाभांस र २) बजारमा शेयरको मूल्य बढ्दा हुने पुँजीगत लाभ । यसमध्ये व्यापारी वा कारोवारीको लक्ष्य मूलतः पुँजीगत लाभ नै हुन्छ र हुनुपर्दछ भने लगानीकर्ताले बजारमूल्य भन्दा कम्पनीले प्रदान गर्ने लाभांश (नगद वा बोनस शेयर) लाई ध्यान दिनुपर्दछ ।
विगतलाई हेर्ने हो भने शेयर किन्ने भनेको दीर्घकालीन लगानीको लागि गरिन्थ्यो । तत्कालिन अवस्थामा शेयरको भौतिक रुपमा खरिद विक्री हुने र नामसारीमा समेत निकै समय लाग्ने भएकोले मात्र होइन शेयर वास्तवमा दीर्घकालीन लाभ अर्थात् सम्पत्ति आर्जन (वेल्थ माक्सिमाइजेसन) गर्ने उद्देश्यले गरिन्छ । नेपालमा पनि विगतमा लगानीलाई मूल उद्देश्य बनाएर आर्थिक आवश्यकताका व्यवहारिक समस्या समाधानका उपायको रुपमा शेयर विक्री हुने गरेको थियो । तर केहि वर्षदेखि कार्यान्वयनमा आएको अभौतिक शेयरको कारोवार र अनलाइनसँगै शेयरको हस्तान्तरणमा सहजताले गर्दा मानिसले यसलाई वस्तु व्यापारको एउटा विकल्प वा सोही अनुरुप शेयर व्यापारलाई अगाडि बढाएको देखिन्छ, भने म्यूचुअल फण्डहरुले यस्तो शेयर व्यापारमा थप सघाउ पु¥याएका छन् ।

के त्यसो भएर शेयर सँधै किन्ने मात्र हो त ?

शेयर किन्नु भनेको कुनै कम्पनीमा लगानी गर्नु हो । यस हिसावले भन्ने हो भने शेयर किन्ने मात्र हो । लगानीको मुख्य उद्देश्य मुनाफा अर्थात् लाभांस हुन्छ र शेयरमा लगानी पनि लाभांशको लागि गरिन्छ । शेयरबाट प्राप्त हुने पुँजीगत लाभ लगानीकर्ताको लागि प्राथमिक मुनाफा हुनै सक्दैन, यो त केवल पुरक मुनाफा हो । यो सँगै लगानीबाट मुनाफा पाउन निश्चित समय र परिश्रम लाग्छ । कुनै पनि लगानीमा आजको भोलि मुनाफा हुँदैन । यस्तो केवल व्यापारमा मात्र हुन्छ । अहिले आमव्यक्तिले लगानी गरेका कम्पनीहरुको व्यवस्थापन व्यवसायिक व्यक्तिबाट हुने हुँदा मात्र अरु व्यवसायमा गरिएको लगानी जस्तो लगानीकर्ताले बढी परिश्रम गर्नु नपरेको हो । यसको साथै हामीले शेयर किनेर लगानी गर्दा अरुले स्थापना गरेको कम्पनीहरुमा लगानी गर्ने हुँदा कम्पनीले पहिलो पटक सार्वजनिक निस्कासन गरेको अवस्थामा बाहेक थप मूल्य तिर्नुपर्ने हुन्छ । यस्तो मूल्य कम्पनीको मुनाफाको अवस्था, विक्रीका लागि उपलब्ध शेयरसंख्या, खरिद गर्न चाहने संभावित क्रेताहरु, भविष्यको अवस्था आदिमा निर्भर गर्दछ । हाम्रो शेयर बजारमा क्रेता र विक्रेताको प्रत्यक्ष भेट हुँदैन र उक्त दुवै पक्षको तर्फबाट शेयर दलालहरुले निर्धारित शुल्क लिएर कारोवार गरिदिन्छन् ।
यसलाई सहज तरिकाले बुझ्न एउटा घर वा जग्गाको उदाहरण लिउँ । जसरी घर किन्दा पछि यति मूल्यमा बेच्छु भन्ने होइन आफ्नो सम्पति र सुविधाको लागि किनिन्छ । आज किन्यो भोलि २–४ लाख बढी मूल्य आयो भनेर पक्कै विक्रि गरिन्न । हो, आफुले प्रयोग गरेर बढी भएको क्षेत्र अरुलाई प्रयोग गर्न दिएर निश्चित भाडा लिइन्छ । तर समयक्रममा पहिले बनाएको वा किनेको घर मन लागेन वा त्यसमा समस्या आयो वा बजारमा मूल्य वृद्धिले निकै राम्रो मूल्य आयो भने बेचिन्छ । बेच्ने पनि आफूलाई चित्तबुझ्दो मूल्य पाए न बेच्ने हो ।
त्यस्तै शेयरमा लगानी पनि सम्पतिको खरिद हो र यो दीर्घकालीन हुन्छ । यसमा कम्पनीबाट वार्षिक मुनाफाको आधारमा लाभांसको रुपमा मुनाफा पनि पाइन्छ । योसँगै समयक्रममा यसको मूल्य पनि बढ्दछ । यहाँ एउटा फरक के छ भने शेयर ससानो इकाइमा खरिद वा विक्रि गर्न सकिन्छ र कम्पनीले पुँजी बढाउने क्रममा दिने बोनस वा हकप्रदले प्रतिशेयर औसत लागत कम गर्दै गर्न सक्छ । जबकी घरजग्गाको लागत कुनैपनि अवस्थामा कम हुँदैन र सहजरुपमा सानो इकाइमा खरिद विक्रि हुनसक्दैन ।

शेयर व्यापार

समयक्रमसँगै अन्य वस्तुको व्यापार जस्तै शेयर पनि एउटा वस्तुको रुपमा व्यापारयोग्य वस्तुको रुपमा देखापरेको छ । व्यापारीहरुले अन्य वस्तु जस्तै शेयर खरिद गर्ने र निश्चित मुनाफा वा मूल्य थप गरेर विक्रि गर्ने गर्दछन् । जसरी व्यापारीहरुले विक्रीका लागि सामानको भण्डारण गर्दछन्, शेयर कारोवारीले पनि विक्रिका लागि शेयर किनेर राख्नु स्वभाविक हो । यहाँ लगानीकर्ताले जस्तो लाभांस होइन मूल्य वृद्धिलाई जोड दिइन्छ र सकेसम्म बढि मूल्य नै व्यापारीको प्राथमिकता हुन्छ । तसर्थ, शेयर व्यापारीको मुख्य आम्दानी भनेको पुँजीगत लाभ नै हो ।
अन्य वस्तु तथा सेवाको व्यापार भन्दा शेयर व्यापारमा फरक भनेको यसमा व्यापारी र क्रेताको भेट हुँदैन भने व्यापारको लागि सरकारले तोकेको नेपाल स्टक एक्सचेन्ज मार्फत खरिद विक्री गर्नुपर्दछ । यहाँ अर्को पसल खोलेर बस्नु पर्दैन् । शेयर दलालले नै तपाइको शेयर बेचेर पैसा ल्याइदिन्छन् । यसरी हेर्दा यो सहज व्यापार पनि हो ।

शेयरको व्यापार कि लगानी गर्ने ?

शेयर वस्तु तथा सेवा जसरी व्यापार गर्न पनि सकिने र धनसम्पतिको रुपमा लगानी पनि गर्न सकिने द्वैध विशेषता भएको हुँदा आफ्नो उद्देश्य अनुरुप लगानी वा व्यापार गर्न सकिन्छ । तर शेयर किन्नु अगाडि कुन उद्देश्यले शेयर किन्ने हो सो निश्चित गर्नुपर्दछ । उद्देश्य अनुरुप निम्न कुराहरुमा विशेष ध्यान दिइनु पर्दछ ।

 

लगानी

व्यापार

उद्देश्य

दीर्घकालीन लाभसम्पति आर्जन

तत्कालिन मुनाफा

खरिद

कम्पनीको आधारभूत आर्थिक अवस्था, व्यवसाय, व्यवस्थापन, वार्षिक मुनाफा र प्रतिशेयर आम्दानी, बजारमूल्य र आम्दानीको अनुपात, विगतमा कम्पनीले प्रदान गरेको लाभांसको अवस्था पक्षहरुलाई विश्लेषण गरेरमात्र शेयर खरिद गर्नुपर्दछ ।

बजारमा कम्पनीको शेयरका माग र आपूर्तिको अवस्था, विगतदेखिको मूल्य प्रवृति, कम्पनीको आगामी योजना र त्यसले मूल्यमा पार्ने प्रभाव

विक्री

केहि समयको अन्तरालमा वा आफ्नो आर्थिक आवश्यकता समाधानको लागि, कम्पनीको प्रगति खुम्चिएको वा कम्पनीको प्रगति सन्तोषजनक नभएको अवस्थामा, खरिद गरेको मूल्यभन्दा निकै राम्रो मूल्य आएमा, लगानीको क्षेत्र परिवर्तन गर्न वा अन्य कम्पनीमा लगानी सार्ने अवस्थामा शेयर विक्रि गर्न सकिन्छ ।

आवश्यकता अनुसारको मूल्य वृद्धि भएमाबजारमा मूल्य थप घट्ने अवस्था देखिएमा, कम्पनीले थप शेयर जारी गर्दा शेयरको आपूर्तिले गर्दा माग र मूल्यमा असर पर्ने देखिएमा

विश्लेषण

मुख्यतः फण्डामेन्टल र लामो अवधिका तथ्यांकहरुलाई हेर्नुपर्दछ।

लगानीमा संभावित लाभांस हेर्नुपर्दछ र सँगसँगै बजारमा वैकल्पिक लगानीबाट प्राप्त हुन सक्ने लाभ पनि हेर्नुपर्दछ।

लगानीका अप्रत्यक्ष लागत जस्तो व्याज, कमिसन तथा शुल्क आदि समेत जोडेर वास्तविक लागत र लाभांसको आधारमा लाभ लागत विश्लेषण गर्नुपर्दछ।

प्रति किता औसत लागत हेर्नुपर्छ ।

मुख्यतः आम क्रेता वा अन्य विक्रेताहरुको मानसिक अवस्था अर्थात् मास साइकोलोजि, मूल्य प्रवृतिको आधारमा भविष्यको मूल्य प्रक्षेपण अर्थात प्राविधिक विश्लेषण गर्नुपर्दछ।

अन्य वस्तु तथा सेवाको तुलनात्मक लाभको विश्लेषण गर्नुपर्दछ ।

खुद लागत गणना गर्नुपर्छ ।

प्रतिफल

प्राथमिक रुपमाः लाभांस (नगद वा बोनस शेयर), बजारमूल्य भन्दा कम लागतमा कम्पनीबाट छुटमा थप शेयर उपलब्ध हुने, वैकल्पिक प्रतिफलका रुपमा पुँजीगत लाभ पाइने ।

प्राथमिक रुपमा मूल्य वृद्धिबाट हुने पुँजीगत लाभ तर केहिले काही बजारले थप मुनाफका रुपमा बोनस र हकप्रद शेयरको लाभ हुन सक्छ।

जोखिम

शेयरबजारको जोखिमसँगै दीर्घकालमा कम्पनी, बजार, माग तथा आपूर्तिको जोखिम समेत हुन्छ ।

बजार निकै उतारचढाव भएको अवस्थामा मूल्य वृद्धि सँगै निकै घटेर तत्कालिन अवस्थामा घाटा व्यवस्थापन गर्न नसकिने अवस्था पनि आउन सक्छ।

अवसर

अल्पकालमा मूल्यको उतारचढावको फाइदासँगै दीर्घकालीन पुँजीगत लाभ पाउन सकिन्छ ।

बजार उल्लेख्य घटेमा सस्तोमा थप शेयर खरिद गरेर औसत लागत घटाउँदै दीर्घकालमा मुनाफा लिन सकिन्छ ।

कारोवारको मुनाफा तत्काल पाउन सकिन्छ।

तत्काल विक्रि गरी घाटा न्यूनीकरण गर्न सकिन्छ ।

घट्दो बजार

थप शेयर खरिद गरेर औसत लागत घटाउने वा तत्कालको लागि निश्चित शेयर विक्रि गरी थप मूल्य घटाएर किन्ने ।

सस्तो मूल्यमा थप शेयर किन्ने र केही मूल्य बढेमा सस्तो किनेको शेयर बेचेर मुनाफा सुरक्षित गरि हाल्ने।

बढ्दो बजार

भएको शेयर मध्ये केही विक्रि गरेर पुँजीगत लाभ सुरक्षित गर्ने, वैकल्पिक लगानीको अवसर खोजि गरी लगानी स्थानान्तरण गर्ने।

सस्तोमा किनेको वा लक्षित मुनाफा भएको शेयर बेच्ने र पुनः केही घटाएर किन्ने ।

वास्तवमा व्यापारबाट तत्काल मुनाफा आउछ र दैनिक आर्थिक आवश्यकता समाधान गर्न सहज हुन्छ । यसले छिटोछिटो नगद प्रवाह हुँदा बजारको जोखिम व्यवस्थाप सजिलो हुन्छ । दीर्घकालमा हेर्ने हो भने कुल सम्पत्ति लगानीकर्ताको नै बढ्ने विश्वव्यापी व्यवहारिक अनुभवले देखाएको छ । यदि लगानी र व्यापार दुवैको लाभ र जोखिम लिन चाहनु हुन्छ भने उपलब्ध कोषको निश्चित प्रतिशत छुट्याएर सोही अनुरुप व्यवस्थापन गर्नुस् । लगानी गर्दै हुनुहुन्छ भने तत्कालिन उतारचढाव र मुनाफा भन्दा दीर्घकालिन मुनाफा र सम्पति वृद्धिमा ध्यान दिनुस् । बजारमा आफूले लगानी गरेको शेयरको मूल्य निकै घटेमा सस्तोमा थप शेयर किनेर औसत लागत घटाउनुस तर कम्पनीको अवस्था र प्रगति सन्तोषजनक छैन भने लागत घटाउने भन्दा घाटा घटाउने उपाय अपनाउनुस् । लगानीलाई कम्पनी छनौट गर्दा विगत र भविष्यलाई ध्यान दिनुस भने व्यापार गरिने शेयरको लागि माग र आपूर्तिलाई विशेष ध्यान दिनुस् ।
Published on aarthiknews online on 20 Magh 2073| http://aarthiknews.com/2017/02/80413
Last update 2020 Sept 15, 12.10 pm