Sunday, June 30, 2019

डिबेन्चर कारोबारका व्यावहारिक समस्या र समाधान

मुद्दती बचतकै जस्तो सुनिश्चित आम्दानी (ब्याज) र सेयरको जस्तो पुँजीगत लाभको सम्भावना रहेको डिबेन्चर जोखिम र प्रतिफलको सन्तुलनका हिसाबले जति आकर्षक देखिन्छ, लगानी सहजता र तरलताको हिसाबले त्यत्तिकै अव्यावहारिक महसुस हुन्छ । उद्योग, व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरूको स्वपुँजी (इक्विटी) र ऋण पुँजी (डेब्थ)को सन्तुलन कायम गर्न मात्र होइन, धितोपत्र लगानीकर्ता र कारोबारीहरूका लागिसमेत लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को उपयोगी साधनका रूपमा रहेको डिबेन्चर नेपाली धितोपत्र बजारमा गुमनामजस्तै बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी पर्याप्तता कोष व्यवस्थापनमा ऋण पुँजीको हिस्सा बढाउने र प्रोत्साहित गर्ने नीतिसँगै बैंकहरूको डिबेन्चर जारी हुने क्रम बढे तापनि धितोपत्र बजारमा कारोबारको असहजता र व्यावहारिक कठिनाइले गर्दा डिबेन्चर केवल संस्थागत लगानीकर्ताहरूका लागि बिनाब्याजदर प्रतिस्पर्धा मुद्दती निक्षेप राखेजस्तो मात्र भएको छ ।

व्यक्तिगत लगानीकर्ताहरू त डिबेन्चरमा लगानी त परको कुरा, नामसमेत लिन रुचाउँदैनन् भन्ने डिबेन्चर निष्कासनमा हुने न्यून आवेदनले पनि देखिएको छ । यसले एकातिर ठूलो रकम पुँजीबजारबाट मुद्दती निक्षेपका रूपमा थन्किन बाध्य छ भने अर्कातिर डिबेन्चरका खरिदकर्ताहरूले चाहेर वा नचाहेर पनि आइपिओमा निष्कासनमा खरिद गरिएका डिबेन्चरहरू धारण गरेर बस्न बाध्य भएका छन् । यसका साथै मुद्रा बजारमा मुद्दती वा बचतमा ब्याजदर कम भएको अवस्थामा बढी ब्याजदरका डिबेन्चर किन्ने अवसर र विक्रेताले पनि पुँजीगत लाभको अवसर गुमाएका छन् । लगानीकर्ताहरूले पनि जोखिम व्यवस्थापनका लागि वैकल्पिक वित्तीय उपकरणका रूपमा प्रचलित र रुचाइएको डिबेन्चर किनबेच गर्ने र लगानी व्यवस्थापनको अवसरबाट वञ्चित हुनपुगेका छन् । अझ नेपालको धितोपत्र बजार ऋणपत्रविहीन केवल सेयर बजार (इक्विटी मार्केट) मा सीमित हुनुका साथै बजारको दायरासमेत साँघुरो हुन पुगेको छ । डिबेन्चरमा लगानी बन्द डब्बामा थन्किन पुग्दा डिबेन्चर मार्केट गतिशील र चलायमान हुन सकेको छैन ।

डिबेन्चरमा लगानीका उपायहरू

हाल डिबेन्चरमा लगानीको एउटै उपाय भनेको प्राथमिक निष्कासन (आइपिओ) को समयमा आवेदन गर्ने मात्र हो । विगतमा आमलगानीकर्ताका लागि २० र निजी तवरमा (संस्थागत समेत) ८० प्रतिशत निष्कासन हुँदै आएको डिबेन्चर हाल आमलगानीकर्ताका लागि ४० प्रतिशत छुट्ट्याइएको छ । यसरी निष्कासन हुने डिबेन्चरमा डिम्याट खाता, बैंक खाता र सि–आस्बा भएका लगानीकर्ताहरूले ‘मेरो सेयर’ वा ‘सी–आस्बा’ सेवाप्रदायक बैंक तथा वित्तीय संस्थाहरूबाट ‘सेयर’मा जस्तै गरेर तोकिएको अवधिमा आवेदन गर्न सकिन्छ ।

डिबेन्चरको निष्कासन गर्दाको विवरणपत्रमा धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिने भनिए पनि हालसम्म १५ बैंकहरूबाट जारी भएका २९ वटा डिबेन्चरको एउटा परीक्षण कारोबारबाहेक न त धितोपत्रको सूचीमा नै देखिन्छ, न त कारोबार नै हुन सकेको छ । कानुनी र व्यावहारिक समस्याले धितोपत्र बजारमा डिबेन्चरमा लगानी र कारोबार हाल असम्भवजस्तै छ ।

डिबेन्चर कारोबारका कानुनी प्रावधान र व्यावहारिक समस्या

ऋणपत्रको कारोबारलाई व्यवस्थित गर्न ‘सरकारी ऋणपत्रको प्राथमिक निष्कासन तथा दोस्रो बजार कारोबार नियमावली, २०६१’ कार्यान्वयन जरुरी छ । यसै कानुनका आधारमा विगतमा केही ऋणपत्रको कारोबार भएको सुनिन आएको छ । तर, धितोपत्र बजारमा सूचीकृत व्यवसायिक संस्थाका डिबेन्चर (कर्पोरेट डिबेन्चर) को कारोबारका लागि छुटै कानुन नभएको अवस्थामा यसै कानुनअन्तर्गत दोस्रो बजारमा किनबेच गर्न वा नयाँ कानुन बनाउन सकिन्छ । डिबेन्चर कारोबारमा कानुनसँगै निम्न व्यावहारिक समस्या देखिएका छन् :

१. ब्याज : अन्य धितोपत्रभन्दा फरक विशेषता रहने डिबेन्चरमा धारण गरेको दिनसम्मको ब्याज प्राप्त हुन्छ । धितोपत्र बजारबाट कारोबार गर्दै गर्दा डिबेन्चरसँगसँगै ब्याजमा अधिकारसमेत विक्रेताबाट क्रेतामा हस्तान्तरण गरिनुपर्ने हुन्छ । यसको लागि डिबेन्चरको किनबेचसँगै हकसमेत एकैदिनमा हस्तान्तरण गरिसक्नुपर्छ । यो भनेको सेयरकारोबारमा हाल प्रचलित‘टिप्लस थ्री’ को हकहस्तान्तरण ‘टी जिरो’ मा हुनुपर्नेछ । बिहान किनेबेच भएको डिबेन्चरको लेनदेन दिउँसो नै राफसाफ गरी ब्याजको हकसमेत क्रेतामा सोही दिन हस्तान्तरण गरिसक्नुपर्ने हुन्छ । अन्यथा उक्त दिनको ब्याज मुल्तबी हुने वा किन्ने वा बेच्ने कसलाई र कुन आधारमा दिने व्यावहारिक र कानुनी जटिलता आउनेछ ।

२. ब्याजकर र लाभकर : डिबेन्चरको ब्याज आयमा प्राकृतिक व्यक्ति र संस्थालाई फरक दरमा कर लाग्छ । तर, पुँजीगत लाभका सम्बन्धमा स्पष्ट छैन । हालको व्यवस्था अनुसार व्यक्तिलाई ब्याज आयमा ५ प्रतिशत र पुँजीगत लाभमा ७.५ प्रतिशत (२०७६ साउन १ गतेपछि ५ प्रतिशत) तथा संस्थागतलाई ब्याजमा १५ र लाभमा १० प्रतिशतको दरमा स्रोतमा नै कर कट्टी हुने देखिन्छ । करका कारण संस्थागत लगानीकर्ताहरू डिबेन्चर किनबेचमा हतोत्साहित महसुस गरिएको छ ।

३. राफसाफ : नियमावलीको परिच्छेद ३, नियम १५ अनुसार क) किनबेच गर्ने ग्राहकले धितोपत्र बोर्डले स्वीकृत गरेको ढाँचामा दलाललाई खरिद वा बिक्रीको आदेश दिनुपर्ने, ख) आदेशमा ऋणपत्रको नाम, किसिम, संख्या र मूल्यसहित आदेश बहाल रहने अवधि खुलाउनुपर्ने, ग) आदेशमा निश्चित मूल्य, न्यूनतम वा अधिकतम मूल्य वा बजारको स्थिति हेरी दलालले उपयुक्त ठहर्याएको मूल्य खुलाउनुपर्ने, घ) आदेशको अवधि उल्लेख नभएको अवस्थामा त्यस्तो आदेश तीन दिनसम्म बहाल रहने, ङ) बिक्री गर्न चाहेको ऋणपत्रको प्रमाणपत्र पेस गर्नुपर्ने र खण्डी अवधिबाहेक ब्याज भुक्तानी मितिसम्म पाकेको ब्याज भुक्तानी लिइसकेको हुनुपर्ने, च) बिक्रीका लागि ऋणपत्र बुझिलिने दलालले तत्कालै सोको निस्सा ग्राहकलाई दिनुपर्ने उल्लेख छ । यसअनुसार कारोबार गर्दैगर्दा ‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९’ को धितोपत्रको राफसाफ तथा फछ्र्यौटसम्बन्धी व्यवस्थाले कानुनी व्यवधान आउन सक्ने देखिन्छ । उक्त नियमावलीको नियम १३ बमोजिम ‘धितोपत्रको राफसाफ तथा फछ्र्योट कार्य कारोबार भएको दिनबाहेक तीन कार्य दिन (टी प्लस थ्री) भित्र गर्नुपर्ने’ व्यवस्था गरेको छ ।

४. कारोबार मूल्य : डिबेन्चरको कारोबार सामान्यत: अंकित मूल्यमा नै हुन्छ र उक्त दिनसम्मको ब्याज छुटै गणना गरिँदै आएको छ, तर कानुनत: यसको स्पष्ट व्यवस्था र व्यावहारिक प्रयोग नभएको अवस्थामा डिबेन्चर खरिद–बिक्री मूल्यलाई ब्याजसहित वा ब्याजबाहेक मान्ने भन्ने स्पष्टता आवश्यक छ ।

५. कारोबार शुल्क : हाल सरकारी ऋणपत्रको खरिद–बिक्रीमा रु. ५ लाखसम्मको कारोबारमा ०.२०, रु. ५ देखि ५० लाखसम्ममा ०.१० तथा रु. ५० लाखमाथिको कारोबारमा ०.०५ प्रतिशत कारोबार शुल्क लाग्छ । यस्तै अन्य धितोपत्रअन्तर्गत पर्ने कर्पोरेट डिबेन्चरको खरिद–बिक्रीमा रु. ५ लाखसम्मको कारोबारमा ०.३०, रु. ५ देखि ५० लाखसम्ममा ०.२५ तथा रु. ५० लाखमाथिको कारोबारमा ०.२९ प्रतिशतकारोबार शुल्क लाग्छ । यस आधारमा न्यूनतम २५ किता अंकित मूल्य रु. १ हजारमा कारोबार गर्दासमेत कारोबार शुल्कबापत किन्नेले रु. ७५ र बेच्नेले रु. ७५ तिर्नुपर्ने हुन्छ । निकै कम पुँजीगत लाभ हुने निश्चित ब्याज आयको धितोपत्रमा कायम कारोबार शुल्क बढी भएकाले पनि कारोबार निरुत्साहित भएको हुन सक्छ ।

केही सुझाव

१. राफसाफ नियमावलीमा सुधार : सरकारी ऋणपत्र कारोबार सम्बन्धी नियमावलीअनुरूप नै कर्पोरेट डिबेन्चरको पनि कारोबार गर्ने व्यवस्था वा छुटै कारोबार नियमावली तयारी गरिनुपर्छ । यसका साथै डिबेन्चरको विशेषतालाई ध्यान दिई ‘टी जिरो’ राफसाफ प्रणाली प्रयोगमा नआउँदासम्म डिबेन्चर कारोबारको राफसाफ ‘टी जिरो’ मा हुने गरी विशेष व्यवस्था गर्ने वा राफसाफ नियमावलीमा उपनियम थप वा परिमार्जन आवश्यक हुनेछ ।

२. कारोबार समय : डिबेन्चर कारोबार दिनमै राफसाफ गरिसक्नुपर्ने अवस्थामा हालको सेयर कारोबार समयमा त्यो सम्भव नहुन सक्छ । त्यसैले दलालले बिहान १० देखि ११ वा १२ बजेसम्म कारोबार गरी सोही दिन चार बजेभित्र राफसाफ गर्ने प्रणाली र कानुनी व्यवस्था गरिनुपर्छ ।

३. ब्याज र मूल्य : डिबेन्चरको मूल्य र ब्याजको समस्या समाधान गर्न पहिलो विकल्प दलालमार्फत नै ब्याज गणना र मिलान हुने तथा अंकित वा कारोबार मूल्य नै मूल्य कायम हुने व्यवस्था गर्न सकिन्छ भने दोस्रो विकल्पमा कारोबार दिनसम्मको पाकेको खण्डित ब्याजसहितको ब्याज र मूल्य जोडेर कारोबार मूल्य कायम गर्न सकिन्छ । दोस्रो विकल्प अपनाउँदा हस्तान्तरणमा सहज भए तापनि पुँजीगत लाभको समस्या आउन सक्ने हुँदा डिबेन्चरमा लाभकर नलाग्ने व्यवस्था गरिनुपर्छ । यसको साथै नेप्सेले प्रत्येक दिन बजार खुल्नुअगाडि वा बन्द गर्दा प्रत्येक डिबेन्चरको अंकित मूल्य र पाकेको खण्डित ब्याज जोडेर आधार मूल्य प्रकाशन गर्न सकिन्छ ।

४. सूचीकरण र मार्केट डेब्थ : सेयर कारोबार हुने प्रणालीमा नै डिबेन्चरलाई समाहित गरी सूचीकृत धितोपत्र र मार्केट डेब्थमा देखिने व्यवस्था गरिनुपर्छ । डिबेन्चरको हकमा बाँकी अवधि (म्याचुरिटी डेट) र यसको यिल्ड कर्भ समेत गणना र जानकारीको दिइनुपर्छ ।
नाेटः सबै  डिबेन्चर काराेवारका लागि नेप्समा सूचीकृत भएता पनि हाल निश्चित डिबेन्चरकाे मात्र काराेवार भइरहेकाे छ, त्यसैले यसकाे व्यवहारिक रूपमा काराेवार सहज छैन । काराेवार गर्दा पनि ब्याज गणना र हस्तान्तरणकाे प्रकृयाले गर्दा बेच्नेले अघिल्लाे ब्याज (असार र पुस मसान्त) पछिकाे ब्याज समेत गुमाउनु परेकाे छ ।

निश्कर्ष

डिबेन्चरबिनाको धितोपत्र बजार अपूर्ण र असन्तुलित हुने ध्यानमा राख्दै लगानी र बचतको एउटा महत्वपूर्ण उपकरण डिबेन्चरमा लगानी प्रोत्साहित गर्दै नेपाली धितोपत्र बजारमा डिबेन्चरको उपस्थिति र कारोबारसमेतलाई प्रवद्र्धन गर्न मूल्य, ब्याज र राफसाफ समस्याको समाधान निकाल्दै गर्दा कारोबार शुल्कमा पनिउल्लेख्य कमी ल्याउन पहल गरिनुपर्छ । अन्यथा, डिबेन्चरले धितोपत्र बजारको गतिशीलता बढाउने भन्दा बजारको रकम डब्बामा बन्द गरी निष्क्रियता बनाउनेछ ।

काराेवार दैनिकमा २०७६ असार १५ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/21344

Sunday, June 16, 2019

डिबेन्चर कि मुद्दती निक्षेप : पैसा कहाँ लगाउने ?

पुँजीबजारमा लगानीको मुख्य उपकरण सेयर र ऋणपत्र (डिबेन्चर) मध्ये नेपालमा सेयरको दबदबा रहेको छ । एक हिसाबले नेपाली पुँजीबजार भनेको सेयर बजार (इक्विटी मार्केट) मात्रै हो । उद्योग, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका लागि पुँजी व्यवस्थापनको वैकल्पिक उपायका रूपमा विश्वभरि प्रचलित डिबेन्चर नेपालमा भने त्यति प्रचलनमा छैन । विगतमा केही उद्योग तथा नेपाल विद्युत् प्राधिकरणले पुँजी व्यवस्थापनका लागि प्रयोगमा ल्याएको डिबेन्चर हाल आएर बैंक तथा वित्तीय संस्थाहरूले पुँजी व्यवस्थापनको राम्रो उपकरणका रूपमा अपनाउन थालेका छन् । प्राधिकरणले ऋणपत्रकै अर्को स्वरूप बन्ड जारी गरेको थियो । गत वर्षदेखि नेपाल राष्ट्र बैंकले ऋणपत्र जारीमा सहजीकरण र प्रोत्साहित गरेसँगै बैंकहरूले डिबेन्चर जारी गर्ने क्रम पनि बढेको छ । हाल १५ बैंकहरूबाट २७ अर्ब ६५ करोड हाराहारीको विभिन्न अवधिको २९ वटा डिबेन्चर जारी भएका छन् । यसमध्ये नेपाल बंगलादेश बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री भइरहेको छ । कृषि विकास बैंकको ४६ करोड र ग्लोबल आईएमई बैंकको ४० करोडको डिबेन्चरको अवधि सकिने लागेको छ । एनआईसी एसिया, प्रभु, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे र हिमालयन बैंकले पनि ऋणपत्र जारी गर्न गइरहेका छन् । यसले डिबेन्चरको आपूर्ति बढाउनुका साथै लगानी वा बचत परिचालनको विकल्प पनि बढाएको छ । 

मुद्दती निक्षेपमा जस्तै निश्चित अवधि र दरमा ब्याज पाइने डिबेन्चर धेरैका लागि बचत परिचालनको विकल्प पनि हो । यहाँ डिबेन्चरका अन्य पक्षहरूभन्दा र मुद्दती निक्षेपको विकल्प हुन सक्छ वा सक्दैन् भन्ने पक्षबाट चर्चा गर्ने प्रयास गरिएको छ ।

डिबेन्चर के हो ?

कम्पनी वा व्यावसायिक संस्था वा सरकारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुँजी व्यवस्थापनका लागि रकम संकलन गर्न ऋणदाता वा साहू–महाजनसँग गरिने कबुलियत वा तमसुक नै डिबेन्चर हो । यो व्यक्ति–व्यक्ति वा व्यक्ति–बैंक वा कम्पनी र बैंक बीच ऋण लिए जस्तै हो । यसमा ऋणको अवधि, ब्याजदर, ब्याज गणना र भुक्तानीको तरिका र समय उल्लेख गरिएको हुन्छ, जसको कार्यान्वयन कानुनतः बाध्यकारी हुन्छ । त्यसैले डिबेन्चर जारी गर्ने र किन्ने बीचको सर्तसहितको लिखित करार नै डिबेन्चर हो । यसमा तोकिएको दर र अवधिमा ब्याजका साथै समयावधि पछि सावाँ भुक्तानी हुने वा शर्त अनुसार हुने कानुनी सुनिश्चितता गरिएको हुन्छ ।

शब्दकोषका अनुसार १) आसामीले ऋण लिएको प्रमाणस्वरूप साहूलाई लेखिदिने तमसुक, र २) राष्ट्र बैंकद्वारा निर्धारित समयमा साँवा–ब्याज फर्काउने गरी समयसमयमा जारी गरिने वा खरिद–बिक्री हुने विभिन्न रकमको पत्रलाई ऋणपत्र भनिन्छ । यस अनुसार डिबेन्चर सरकार वा व्यावसायिक संस्थाद्वारा जारी हुनसक्छ । सरकारी ऋणपत्रलाई सामान्यतः बन्ड भनिन्छ र यसको अवधि निजी व्यावसायिक संस्थाद्वारा जारी हुने कर्पोरेट डिबेन्चरभन्दा लामो अवधिको हुन्छ । तुलनात्मक रूपमा बनड ऋणपत्रभन्दा बढी सुरक्षित मानिन्छ ।

मुद्दती निक्षेप के हो ? 

कानुनी परिभाषा अनुसार ‘मुद्दती खाता’ भन्नाले ग्राहकले बैंक वा वित्तीय संस्थामा निश्चित अवधिसम्म सामान्यतयाः निक्षेप झिक्न नपाउने गरी जम्मा गरिराखेको रकमको हरहिसाब लेखिएको आवधिक खाता सम्झनुपर्छ । आमरूपमा बैंक तथा वित्तीय संस्थामा निश्चित अवधिसम्म रकम राख्ने गरी संचालित निक्षेप खाता नै ‘मुद्दती निक्षेप’ हो । यसमा तोकिएको अवधिभन्दा अगाडि रकम निकाल्न पाइँदैन र रकम जम्मा गर्दा सम्झौता भएको दर र समयमा ब्याज प्राप्त हुन्छ । यस्तो ब्याजदर सम्झौता अवधिभर परिवर्तन समेत हुँदैन् । सामान्यतः ३ महिनादेखि ५ वर्षसम्मको मुद्दती निक्षेप प्रचलनमा रहेको छ ।

मुद्दती कि डिबेन्चर ?

निश्चित अवधि र तोकिएको ब्याजदर पाइने समान प्रकृतिको मुद्दती खाता वा डिबेन्चरमध्ये कुन लाभदायक भन्ने उपलब्ध रकम, प्रचलित ब्याजदर, अवधिमा निर्भर हुन्छ । बचत प्रकृतिको मुद्दती निक्षेपमा आफूसँग पैसा हुँदा बैंक तथा वित्तीय संस्थामा गएर रकम जम्मा गर्न सकिन्छ भने डिबेन्चर जारी भएको बखत वा धितोपत्र बजारमा कसैले विक्री गरेको अवस्थामा मात्र खरिद गरी लगानी गर्न सकिन्छ । त्यसैले कतिपय अवस्थामा बढी ब्याजदर पाइने डिबेन्चरमा पैसा हुँदैमा लगानीको अवसर नपाइन सक्छ भने मुद्दतीमा सहजै पैसा बचत गर्न सकिन्छ । प्रकाशित लेखकाे दुवैलाइ विभिन्न अाधारमा तुलनात्मक अवस्थाकाे तालिकालाइ यहाँ बुँदागत प्रस्तुत गरिएकाे छ ।

क) प्रकृति
  • मुद्दति — वचत निक्षेप
  • डिबेन्चर — लगानी
  • प्रतिफलको हिसावले त्यति फरक देखिन्न ।
ख) वचत वा लगानी
  • मुद्दति — आफूसँग वचत रकम भएको समयमा बैंक तथा वित्तीय संस्थामा गएर सहजै मुद्दति खाता खोलेर तोकिएको अवधिको लागि रकम वचत गर्न सकिन्छ ।
  • डिबेन्चर — डिबेन्चरमा लगानी गर्न निष्कासनको समयमा शेयरमा जस्तै तोकिएको अवधिभित्र आवेदन गर्नुपर्छ । यसको लागि डिम्याट खाता, बैंक खाता, सि–आस्वा चाहिन्छ । धितोपत्रको दोस्रो बजारबाट पनि डिबेन्चर खरिद गर्न सकिने विकल्प भएपनि व्यवहारिक झन्झट र बढी लागत पर्न सक्छ ।
  • मुद्दतिमा वचत भन्दा डिबेन्चरमा लगानी गर्न प्रकृयागत झन्झट बढी हुन्छ ।
ग) प्रतिफल
  • मुद्दति — तोकिएको दर र अन्तरालमा ब्याज पाइन्छ । हाल व्यक्तिगत मुद्दति निक्षेपमा अवधि र संस्था अनुसार ताेकिएकाे दर (हाल ६-८.७५%) मा ब्याज पाइन्छ । सामान्यतः मासिक वा त्रैमासिक रुपमा ब्याज पाइन्छ ।
  • डिबेन्चर — संस्थागत र व्यक्तिले जारी हुँदा तोकिएको दर र अन्तरालमा ब्याज पाइन्छ । हाल १०–११ प्रतिशत हाराहारीको ब्याजदरका डिबेन्चर जारी भइरहेका छन् भने विगतमा ६ देखि १२.५ प्रतिशतसम्म ब्याजदरका डिबेन्चर जारी भएका छन् । सामान्यतः छ महिनाको अन्तराल (असार र पुस मसान्त) मा ब्याज पाइन्छ ।
  • बजारमा पैसाको माग र आपूर्तिको आधारमा ब्याजदर तलमाथि हुने भएपनि मुद्दतिको भन्दा डिबेन्चरमा केही ब्याज बढी हुन्छ ।
घ) सावाँ फिर्ता
  • मुद्दति — तोकिएको अवधी पछि सावाँ फिर्ता हुन्छ ।
  • डिबेन्चर — तोकिएको अवधी पछि सावाँ फिर्ता हुन्छ ।
ङ) अवधि
  • मुद्दति — बैंक तथा वित्तीय संस्था अनुसार सामान्यतः ३ महिनादेखि १० वर्षको निक्षेप राख्न सकिने भएपनि ५ वर्षभन्दा लामो मुद्दति त्यति प्रचलनमा छैन । कति अवधी र कहिले मुद्दति निक्षेप राख्ने वचतकर्तासँग छनौटको अधिकार हुन्छ ।
  • डिबेन्चर — सामान्यतः ५ वर्षदेखि १० वर्ष अवधीको हुन्छ । डिबेन्चरको अवधी जारी हुँदा नै निर्धारण हुन्छ, यसमा लगानीकर्ताको अवधी छनौटको अधिकार हुँदैन् ।
  • मुद्दतिको अवधी तुलनात्मक रुपमा डिबेन्चरभन्दा छोटो देखिन्छ । मुद्दतिमा जस्तो डिबेन्चरमा अवधी छनौटको अधिकार हुन्न ।
च) जोखिम
  • मुद्दति — मुद्दतिलाई सामान्यतः जोखिमरहित मानिन्छ ।
  • डिबेन्चर — डिबेन्चरलाई जोखिमरहित वा तुलनात्मक रुपमा निकै कम जोखिम भएको लगानी उपकरणको रुपमा लिइन्छ । बण्ड अझ ऋणपत्रभन्दा बढी सुरक्षित मानिन्छ । बजारबाट गरिने किनबेचमा मूल्यगत जेखिम हुन्छ ।
छ) आपतकालीन अवस्थामा
  • मुद्दति — मुद्दति रसिद धितोमा केही थप ब्याज तिरेर बैंक तथा वित्तीय संस्थाबाट सहजै ऋण लिन सकिन्छ । विशेष अवस्थामा निश्चित शर्तमा मुद्दति निक्षेप तोड्न पनि सकिन्छ ।
  • डिबेन्चर — डिबेन्चर धितोमा ऋण लिएर आवश्यक रकमको जोहो गर्न सकिन्छ । धितोपत्र बजारमा बिक्री गरी लगानी फिर्ता गर्न पनि सकिने व्यवस्था छ, तर हाल व्यवहारिक रुपमा किनबेच भएको छैन । सबै डिबन्चर काराेवारका लागि नेप्सेमा सूचीकृत भएता पनि हाल निश्चित डिबेन्चरहरू मात्र काराेवार भइरहेका छन् र काराेवार गर्दा पनि ब्याज गणना र हस्तान्तरणकाे प्रकृयाले गर्दा बेच्नेले पाकेकाे ब्याज गुमाउनु पर्ने अवस्था छ ।
  • रकम आवश्यक पर्दा मुद्दति र डिबेन्चर धितोमा सहजै ऋण प्राप्त गर्न सकिन्छ । डिबेन्चर दाेश्राे बजारमा बेचेर रकम पाउन सकिन्छ ।
ज) कर
  • मुद्दति — प्राप्त ब्याजमा व्यक्तिलाइ ५ प्रतिशत र संस्थालाइ १५ प्रतिशतले ब्याज कर लाग्छ ।
  • डिबेन्चर — प्राप्त ब्याजमा व्यक्तिलाइ ५ प्रतिशत र संस्थालाइ १५ प्रतिशतले ब्याज कर लाग्छ । यस्तै बजारमा बिक्रीमा पूँजीगत लाभ भएमा व्यक्तिलाइ ५ तथा संस्थालाइ १० प्रतिशत लाभकर लाग्छ ।
झ) निस्सा
  • मुद्दति — मुद्दति वचतको निस्सा स्वरुप मुद्दति प्रमाणपत्र वा रसिद पाइन्छ ।
  • डिबेन्चर — हाल शेयर जस्तै डिबेन्चर डिम्याट खातामा जम्मा हुन्छ ।

निष्कर्ष

सरसर्ती हेर्दा बचत र लगानीका उपकरणजस्तो देखिने मुद्दती र डिबेन्चरमध्ये कुनमा बचत रकम परिचालन गर्ने र बढी लाभदायक भन्ने रकम, अवधि, ब्याजदर, अवसरको उपलब्धता, भविष्यमा रकम आवश्यक पर्ने सम्भावना र जोखिम लिने क्षमता, धितोपत्र बजारमा पहुँचमा निर्भर गर्नेछ । निश्चित अवधिसम्म सुनिश्चित ब्याज आम्दानीको अवसर सहितका मुद्दती र डिबेन्चरमध्ये लामो अवधि रकम परिचालन गर्न सक्ने तरलता भएका व्यक्ति तथा संस्थाहरूका लागि मुद्दतीभन्दा डिबेन्चर केही फाइदाजनक हुन सक्छ । संस्थागत निकायहरूले मुद्दती निक्षेप राख्न कोटेसन वा सिलबन्दी प्रस्ताव आह्वान गर्नुपर्ने र लामो अवधिको रकम मुद्दतीमा प्रचलनमा नरहेको अवस्थामा निश्चित अवधि र ब्याजदरसहितको डिबेन्चर लगानीको लागि सहज र प्राथमिकता रहन सक्छ ।

त्यस्तै छोटो तथा पाँच वर्षको अवधिसम्म रकम परिचालन गर्ने व्यक्तिहरूका लागि मुद्दती निक्षेप सहज हुन सक्छ । अनि बजारमा ब्याजदर बढिरहेको समयमा केही वर्षको मुद्दती तथा ब्याजदर घटिरहँदा डिबेन्चर तुलनात्मक रूपमा बढी फाइदाजनक हुन सक्छ । ब्याजदर परिवर्तनको लाभ र कुल प्रतिफलको सन्तुलन कायम गर्दै उपलब्ध कुल रकमको एक हिस्सा मध्यम अवधि (२–३ वर्ष) को मुद्दती र केही रकम उपलब्धमध्ये बढी ब्याज पाइने डिबेन्चरमा लगानी गर्नु बुद्दिमानी हुनेछ ।

समान प्रकृतिको लाभ र निश्चित अवधिको बचत र लगानी उपकरणहरू मुद्दती र डिबेन्चरमध्ये धितोपत्र बजारमा खरिद–बिक्री, बचत र ऋण पुँजीको समेत विशेषता हुने डिबेन्चरको बजार भने उलेख्य विस्तार हुन सकेको छैन् । पुँजी परिचालन र बचतको विशेषतायुक्त डिबेन्चरको प्रवद्र्धनमार्फत धितोपत्र बजारमा वैकल्पिक लगानी तथा बचत परिचालनको अवसर सिर्जना गर्न क) मार्केटको व्यावहारिक तथा कानुनी समस्याको अध्ययन, ख) सहज कारोबारका लागि शुल्क, मार्केट मेकर वा डिलरको व्यवस्था, ग) कारोबार शुल्क र बजार मूल्यमा निर्धारणमा सहजीकरण, घ) ब्याजमा कर छुट, ङ) ब्याज भुक्तानीको अन्तराल मुद्दतीको जस्तै मासिक वा त्रैमासिक गरिनु उपयुक्त हुन्छ ।

नाेटः डिबेन्चर र मुदतिसम्बन्धी याे सामान्य तुलनात्मक विषय उठान हाे र यसकाे अाधारमा लगानी निर्णय लिनु अगाडि थप अध्ययन अावश्यक हुनेछ ।


काराेवार दैनिकमा २०७६ असार १ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/20751
Revision-update: 27 March 2021, 1:04 pm

Sunday, June 2, 2019

बजेटः लाभकर घट्दा पनि अन्यौलग्रस्त लगानीकर्ता

सरकारले २०७६ जेठ १५ गते आव २०७६-७७ को संघीय बजेट र आर्थिक विधेयक प्रस्तुत गरेको छ । सेयर कारोबारमा लाभ गणनार लाभकरको अन्योलता, सडकदेखि सदनसम्म तताएको सेयर बजार, लगानीकर्ताहरूको आन्दोलन र सरकारबाटै पुँजीबजारको समेत समस्या पहिचान र समाधानका लागि समिति नै गठन भएका पृष्ठभूमिमा प्रस्तुत आव ०७६-७७ को बजेट र आर्थिक विधेयकलाई लगानीकर्ताहरूले निकै चासोपूर्वक हेरिरहेका थिए । आव ०७५-७६ को बजेट वक्तव्यसँगै पुँजीगत लाभकरको वृद्धि र बजेट प्रस्तुतिको केही दिनमै बोनस तथा हकप्रद सेयरको लागत र लाभ गणना विधिमा उत्पन्न विवादसँगै ओरालो लागेको सेयर बजारका कारणबाट आक्रोशित लगानीकर्ताहरूलाई फकाउन पनि अर्थमन्त्रीबाट बजेटमा लगानीकर्ताहरूको मागहरू सम्बोधन हुने आशा र अपेक्षा थियो । यस्तै, बिग मर्ज, लाभकर अन्तिम हुने, अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई फरक दरमा लाभकर, भारित औसत लागतका आधारमा लाभकर, इटिडिएसजस्ता विभिन्न पक्षमा बजेटबाट सम्बोधन हुनेमा लगानीकर्ता र सरोकारवालाहरूले अपेक्षा राखेका थिए ।

केही अपेक्षाहरूको समीक्षा
बजेटमा लगानीकर्ताहरूलाई प्रत्यक्ष फाइदा पुग्ने ‘प्राकृतिक व्यक्तिको हकमा पुँजीगत लाभकर ५ प्रतिशत लगाउने र भारित औसत लागत विधिबाट लागत गणना गरिने’ र धितोपत्र कारोबारसँग प्रत्यक्ष सरोकार राख्ने निम्न नीति तथा कार्यक्रम समावेश गरिएको छ ।
१. सबै प्रकारका धितोपत्र र ऋणपत्रको दोस्रो बजारमा कारोबार विद्युतीय प्रणालीमार्फत गर्न विद्युत्तीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने एवं सरकारी ऋणपत्र खरिद–बिक्रीको लागि अनलाइन प्रणाली विकास गरिने ।
२. धितोपत्रको दोस्रो बजारमा निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरूको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्ध गरिनेछ ।
३. धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संस्थागत सुधार गरिने ।
४. गैर–आवासीय नेपालीहरूले दोस्रो बजारमार्फत पनि लगानी गर्न सक्ने गरी पुँजीबजारलाई फराकिलो बनाइने ।
५. कर्जा सूचना र सुरक्षित कारोबार ऐनमा परिमार्जन गरिने ।
६. ट्रस्टी ऐन तर्जुमा गरी सामूहिक लगानी कोष, सेयर अभौतीकरण र सिडिएससीलगायतको कार्य व्यवस्थित गरिने।

यसका साथै बैंक तथा वित्तीय क्षेत्र र बिमाको व्यवसायिक विकासमा सघाउ पुग्ने नीतिगत सुधार पनि बजेटमा समेटिएका छन् । यसबाट उत्साहित लगानीकर्ता र सेयर लगानी तथा कारोबारको क्षेत्रमा क्रियाशील पाँचवटा संघसंस्थाले बजेटबाट सेयर बजारका सबै समस्या सम्बोधन भएको, उत्कृष्ट बजेट, बुलको आधारशिलाजस्ता अभिव्यक्ति बाहिरिए । पक्कै उल्लिखित सुधारसँगै पुँजीबजारको सुधार हुनेछ, तर बजेटले दीर्घकालीन लगानीकर्ताहरूको मुख्य चासोको लाभकरसम्बन्धी अन्यौलता चिर्न र सट्टेबाजी नियन्त्रणमा भने चुकेको देखिन्छ ।

(क) बिग मर्ज : सरकारले प्रस्तुत बजेट भाषणमा बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिंदै ठूला बैंक तथा वित्तीय संस्थाहरूसमेत एक आपसमा गाभ्न प्रोत्साहित गरिने र बिमा कम्पनीको हकमा समेत लागू गरिने उल्लेख गरेको छ । तर, आयकर छुट र बाध्यकारी मर्जको व्यवस्था नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले व्यावसायिक रणनीतिअनुरूप भइरहेको मर्ज तथा प्राप्तिमा नै बिग मर्ज सीमित हुने सम्भावना देखिन्छ । हुन त मौद्रिक नीतिमार्फत पुँजीगत आधार वृद्धि गर्दै बैंकहरूलाई बाध्यकारी मर्जमा जान नियामकले नीतिगत दिन सक्छ, तर बैंकहरूलाई स्वेच्छिक मर्जमा जानैपर्ने धरातल पक्कै कमजोर बनेको छ । बिमाको क्षेत्रमा भने मर्ज वा प्राप्तिमा बैंक तथा वित्तीय क्षेत्रमा जस्तै लाभांश र पुँजीगत लाभकरमा छुटको व्यवस्था भएको अवस्थामा बिमा कम्पनीहरूको मर्ज वा प्राप्ति नियामक बिमा समितिको नियमन, तदारुकता र सहजीकरण क्षमतामा निर्भर रहनेछ ।

(ख) लाभ गणना : सरकार र लगानीकर्ताहरूबीचको द्वन्द्वको प्रमुख कारणका रूपमा रहँदै आएको सेयर बिक्रीमा प्राप्त हुने पुँजीगत लाभको गणनासम्बन्धी विवाद समाधान गर्न बजेट वक्तव्यको ३०९ नंं. बुँदामा ‘सेयर कारोबारको पुँजीगत लाभकरको गणना भारित औसत लागत विधिबाट गर्ने व्यवस्था मिलाई सेयर लगानीकर्ताहरूलाई प्रोत्साहित गर्न हाल प्राकृतिक व्यक्तिलाई लाग्दै आएको करको दर ५ प्रतिशत कायम गरेको’ उल्लेख छ । यसले बोनस र हकप्रदको सेयरको लागत र लाभ गणनासम्बन्धी २०७५ जेठदेखिको विवाद समाधान हुने र घाटामा समेत लाभकर तिर्नुपर्ने अवस्थाबाट मुक्त हुनेमा लगानीकर्ताहरू आशावादी बनेका छन् । बजेट वक्तव्यसँगै उत्साहित लगानीकर्ताले व्यक्तिगत तवरमा औसत लागत गणना र प्रमाणीकरण व्यवहारिक नहुने अवस्थालाई ध्यान दिएर सेयर कारोबारसम्बन्धी पूर्ण विवरण हुने नेप्से वा सिडिएससीबाट सञ्चालन हुने गरी एउटा प्रभावकारी सफ्टवेयर निर्माण गर्दै सो सफ्टवेयरमार्फत औसत लागत, खुद लाभ रकम र कर गणना एवम् प्रमाणीकरण गर्ने प्रणालीको विकास र कार्यान्वयन गरिनुपर्नेमा आवाज उठाइरहेका छन् ।

(ग) पुँजीगत लाभकर अन्तिम वा अग्रिम : आर्थिक विधेयक ०७६÷७७ ले आयकर ऐन, २०५८ को .... (१०) दफाको ९५क. अग्रिम कर असुल गर्नेको उपदफा (२) को खण्ड (क) मा रहेको ७.५ प्रतिशतलाई संशोधन गरी पाँच प्रतिशत राख्ने र “उपदफा (२क) मा उपदफा (२) को खण्ड (क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो, त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गर्नुपर्नेछ ।” थप गरिएको उल्लेख छ ।

उपयुक्त संशोधनले भारित औसत विधिबाट लागतको आधार लिने र लाभकरको दर पाँच प्रतिशत गर्नेबाहेक लाभकरसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा कुनै परिवर्तन भएको छैन । विद्यमान आयकर ऐन, २०५८ को दफा ९५क. अग्रिम कर असुल गर्ने अन्तर्गत उपदफा (२) मा प्रचलित कानुनबमोजिम दर्ता भई धितोपत्रको खरिद बिक्रीको कारोबार गर्ने बासिन्दा निकायबाहेक अन्य कुनै व्यक्तिलाई कुनै बासिन्दा निकायमा रहेको हितको निःसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा (क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको सात दशमलव पाँच प्रतिशत (संशोधनपछि ५ प्रतिशत), बासिन्दा निकायको हकमा लाभ रकमको १० प्रतिशत र अन्यको हकमा लाभ रकमको २५ प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था छ ।

सेयर बजारसँग सम्बन्धित संघसंस्थाले २०७५ जेठ १६ गते जारी प्रेस वक्तव्यमा “विगतमा ७.५ प्रतिशत लाभकर लगाई आएकोमा यसलाई ५ प्रतिशतमा झारी ‘अन्तिम लाभकर’का रूपमा कायम गर्दै पुँजीबजारलाई प्रोत्साहन, ....” भन्ने उल्लेख भएसँगै सर्वसाधारण लगानीकर्ताले पुँजीगत लाभकर नै ‘अन्तिम कर’ भएको बुझाइराखेका छन् । केही व्यक्तिले भने कानुनतः अन्तिम नभनिए तापनि सेयरको पुँजीगत लाभलाई रोजगारी, व्यावसायिक र अन्य आयबाट छुट्ट्याई आय विवरण भर्ने अवस्थामा कुनै थप रकम करका रूपमा तिर्नुनपर्ने जिकिर गरेका छन् । अरू लगानीकर्ताहरूले भने अग्रिम करको दफाअनुरूप असुल गरिएको लाभकर अन्तिम नहुँदा रोजगारी, व्यवसाय वा अन्य आयसँगै सेयरको आय मिलान गरी निर्धारित आयकरको स्लाबअनुरुप कर निर्धारण हुन सक्ने र कर अधिकृतले थप कर निर्धारण गर्न सक्ने आशंका जनाइरहेका छन् । आन्तरिक राजस्व कार्यालयको निर्देशिकामा भने ‘सेयर कारोबारमा सेयर निःसर्ग भएकै समयमा जस्तै खरिद बिक्री भएकै बखत कर लाग्छ र अग्रिमकर कट्टीका रूपमा दाखिला हुनुपर्छ । तर यस्तो कर रकम अन्तिम नभएकाले सम्बन्धित करदाताले आय विवरणसाथ लाभको पनि गणना गरी करयोग्य आय निकाल्ने र सोमा लाग्ने कर तिर्ने र अग्रिम कर मिलान गर्न पाउँछ’ भन्ने उल्लेख छ ।

विभिन्न अन्यौलता चिर्न पनि लगानीकर्ताहरूले आयकर ऐनमा संशोधन वा स्पष्ट कानुनी परिभाषा र निर्देशनको आवश्यकता महसुस गरेका छन् । अहिलेकै अवस्थामा विभिन्न पेसा व्यवसाय गर्दै सेयरमा समेत लगानी गर्दै आएका लगानीकर्ताहरू सेयर कारोबारलाई आफ्नो प्यानमा आबद्ध गर्न सशंकित हुनेछन् । विकल्पमा हालको ‘दफा ९५क. अग्रिम कर असुल हुने’को सट्टा ‘दफा ९२. अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी’ अन्तर्गतको लाभांश, ब्याज, भाडा, लाभ जस्तै प्राकृतिक व्यक्तिको हकमा पुँजीगत लाभकर समेत समावेश गरिनु उपयुक्त हुन सक्छ ।

(घ) कट्टा लाभकर प्यानमा आबद्ध : हाल प्यानसहित कारोबार गरिरहेका लगानीकर्ताहरूको कट्टा भएको लाभकर समेत ईटिडिएस नहुँदा सम्बन्धित व्यक्तिको प्यानमा नदेखिने र आय विवरण भर्न दलालमार्फत नेप्सेबाट कर कट्टाको प्रमाण संकलन गरिरहनुपर्ने झन्झट हटाउने मागलाई सम्बोधन गर्दै ‘धितोपत्रको दोस्रो बजारमा निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरूको प्यानसहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्ध गरिने’ उल्लेख छ ।

(ङ) अल्पकालीन र दीर्घकालीन लगानीमा फरक दरको लाभकर : सेयरको दोस्रो बजारमा स्वाभाविक रूपमा हुने सट्टेबाजी नै हो, तर यस्तो सट्टेबाजीलाई व्यवस्थित गर्न पनि सेयरधारण (होल्ड) अवधीको आधारमा फरक दरको लाभकर लगाइने अपेक्षा धेरै लगानीकर्ताहरूले गरेका थिए । तर बजेट वक्तव्यमा यसको सम्बोधन नहुँदा दीर्घकालीन लगानीकर्ताहरू निराश बनेका छन् ।

अन्त्यमा, सोचेजति नभए पनि सरकारले लगानीकर्ता र पुँजीबजारप्रति केही संवेदशीलता भने देखाएको छ । लाभकरको दरमा कटौती र लाभ–लागत गणनामा अपनाइने विधिले सरकार र लगानीकर्ताबीचको सम्बन्धमा सुधार ल्याउँदै अविश्वास घटाउन मद्दत पुग्नेछ । हो, लाभकरसम्बन्धी कानुनी अस्पष्टता र अल्पकालीन र दीर्घकालीन लगानीलाई एकै दृष्टिले हेर्ने सरकारी सोचले दीर्घकालीन लगानी प्रोत्साहित गर्न केही गाह्रो हुनेछ । आगामी दिनमा सरकारले कट्टा लाभकरबाहेक थप कुनै कर नलाग्ने र दीर्घकालीन लगानीकर्तालाई लाभकरमा सहुलियत दिँदै सेयरमा सट्टेबाजीभन्दा लगानीलाई प्रोत्साहन गर्नुपर्छ ।
काराेवार दैनिकमा २०७६ जेठ १९ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/20097