Tuesday, March 7, 2017

नेप्सेको उतारचढाव र बजारमा चलखेल

नेपाली सेयर बजारको मापक नेप्से २०७३ साउन १२ गते ऐतिहासिक उच्च बिन्दु १८८१ मा पुगेको थियो भने २०७३ कै न्यूनतम बिन्दु २०७३ फागुन १ गते १२५२.५ मा आइपुगेको थियो । यस्तै फागुन २ गते १२५२ बाट अझै ओर्लेर १२१९ बिन्दुलाई छोएर पुनः सुधार हुँदै १२७८.९८ मा बन्द भएको हो । यसरी २०७२ वैशाख १२ गतेको महाभूकम्पलाई पनि चिर्दै अगाडि बढेको सेयर बजार करिब सात महिनाको अवधिमा ३२ प्रतिशतको हाराहारी गिरावट आउँदा धेरैले सहज रूपमा लिन गाह्रो भएको छ । कतिपयको बुझाइमा यसलाई सिजनल बियरिस, बियरिस, क्र्यास वा अफ सिजन हो भन्ने रह्यो । वास्तवमा के हो ? कसैले यकिनसाथ भन्न सक्ने अवस्था छैन । तर सेयरबजारको यस निराशाहरूका बीच पनि न्यूनतम दैनिक कारोबार २० करोडभन्दा बढी नै थियो भने वर्षकै न्यूनतम बिन्दु भनिएको दिनमा समेत ५० करोड हाराहारीको कारोबार भएको थियो ।

यो आर्थिक वर्षको पहिलो कारोबार २०७३ साउन २ गतेको नेप्से १७४५.७४ लाई हेर्ने हो भने २०७३ फागुन १ गतेको १२५२.५ बिन्दु करिब २७ प्रतिशतले गिरावट आएको देखिन्छ । विगत पाँच वर्षको तथ्यांक केलाउँदा २०७१ साउन १ गतेको तुलनामा २०७१ माघ मसान्तमा ५.८३ प्रतिशतले कमी आएका देखिन्छ भने २०७२ मा ३१.५ प्रतिशत, २०७० मा ५७.७६ प्रतिशत र २०६९ मा ३६.८८ प्रतिशतले माघ मसान्त वा फागुनको पहिलो हप्ता नेप्से वृद्धि भएको देखिन्छ । यस हिसाबले साँच्चिकै सिजनल बियरिस हो भन्ने ठोकुवा गर्न कठिन छ । विगत पाँच वर्षमा साउन र माघ–फागुनमा कायम नेप्सेको अवस्था तालिका १ मा दिइएको छ ।

तालिका १ः विगत पाँच वर्षमा साउन र माघ मसान्त वा फागुनको पहिलो हप्ता नेप्सेको अवस्था

सामान्यत सूच्किृत कम्पनीहरूमध्ये विशेषत बैंकिङ क्षेत्रका कम्पनीहरूले पुस मसान्तभित्र साधारणसभा गर्ने र मुनाफा बाँडफाँड गरिसक्ने हुँदा माघ–फागुनपछि किन्ने सेयरले अर्को आर्थिक वर्षमा मात्र लाभांश पाउने अवस्थाले कतिपयले उक्त समयमा आफ्नो पोर्टफोलियो व्यवस्थापन, आगामी वर्ष राम्रो लाभांश÷मुनाफा वितरण गर्न सक्ने कम्पनीहरूमा लगानी स्थानान्तरण गर्ने कामहरू गर्दछन् । यस हिसाबले यो वर्ष देखिएको २७ प्रतिशतको गिरावट कतै अफ सिजनको कारण हो कि भन्ने मत पनि रहेको छ ।

यो सँगै नेप्सेको ऐतिहासिक न्यून बिन्दु १ असार २०६८ को नेप्से २९२ बाट २०७३ साउन १२ को १८८१ सम्म पुग्दा नेप्सेले साढे ६ वर्षको अन्तरालमा ५४४ प्रतिशतको हाराहारीमा वृद्धि भएको देखिन्छ । यस बीचमा नेप्सेले सामान्यतः केही तलमाथि हुँदै समग्रमा बुलको अवस्था कायम गरेको देखिन्छ । यसरी निरन्तर उकालो लागेको नेप्सेमा केही ठूलो करेक्सन आवश्यक थियो र हाल त्यही भएको मान्यता राख्नेहरू पनि छन् । नेप्सेको उच्च बिन्दु १८८१ लाई तुलनात्मक रूपमा लिने हो भने हालैको न्यूनतम बिन्दुमा पुग्दा करिब ३२ प्रतिशतले नेप्सेमा गिरावट आएको देखिन्छ । 

तर यसरी समग्र नेप्सेमा उल्लेख्य परिवर्तनसँगै सूचीकृत विभिन्न उपसमूहहरूको उतारचढाव अझ फरक अवस्था देखिन्छ । नेप्से २९२ हुँदा २३३ रहेको बैंकिङ इन्डेक्स नेप्से १८८१ पुग्दा १७७९ र नेप्से १२७८ हुँदा १२३१ हाराहारी कायम भएको थियो । तर नेप्से २९२ हुँदा ३९८ को बिमाको इन्डेक्स नेप्से १८८१ हुँदा ९१४५ मा चढेको र १२७८ हुँदा ५२२७ मा ओर्लेको देखिन्छ । नेप्से र विभिन्न उपसमूहहरूको तुलनात्मक अवस्थालाई तालिका २ बाट थप प्रष्ट हुन सकिन्छ ।

तालिका २ः नेप्से र विभिन्न उपसमूहमा परिवर्तन

यसरी उपसमूहगत उतारचढावलाई हेर्ने हो भने नेप्सेमा ५४४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ ६६२, विकास बैंक ६०५, फाइनान्स २०८, होटेल ४८९, जलविद्युत् ४६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने बिमा समूहको वृद्धि २१९८ प्रतिशतको अति उच्च भएको छ । अर्कोतिर नेपाल टेलिकम सूचीकृत अन्य समूहको वृद्धि केवल ८९ प्रतिशतमात्र भएको छ । यसरी हेर्दा नेप्से र बिमा समूह तथा नेप्से र अन्य समूहको वृद्धिबीच निकै ठूलो अन्तर पाउन सकिन्छ । तर बैंकिङ, होटेल र जलविद्युत्को वृद्धि नेप्सेसँगसँगै हिँडेको देखिन्छ।

यस्तै उच्च बिन्दु १८८१ बाट वर्षको हालसम्म कायम न्यूनतम बिन्दुमा आउँदा नेप्सेमा ३३ प्रतिशले कमी आउँदा बैंकिङ ३२, विकास बैंक ३०, फाइनान्स ३४, बिमा ४५, होटेल ३०, जलविद्युत् ४५ र अन्य समूहमा १९ प्रतिशतले कमी आएको छ । वृद्धि र घट्ने क्रमलाई हेर्दा बिमाको वृद्धिको तुलनामा घट्ने दर केही कमी देखिन्छ । सायद यसमा बिमाको पुँजीवृद्धिको अनुमान (स्पेकुलेसन) ले केही काम गरेको हुन सक्छ । तर जलविद्युत् क्षेत्र बजार घट्दा निकै उच्चदरमा घट्न गएको देखिन्छ ।

तथ्यांकलाई केलाउँदा सामान्यतः नेप्से बढ्दा बैंकिङ क्षेत्रले पनि कमाउने र नेप्से घट्दा बैंकिङले पनि उही दरमा गुमाउने गरेको देखिन्छ भने सायद सेयर कारोबारीको निकै हावी भएको हुँदा बिमा क्षेत्र र नेप्सेको उतारचढाव फरक हुने गरेको छ ।

लगानीका हिसाबले बैंकिग क्षेत्रहरूमध्ये वाणिज्य बैंक र विकास बैंक समूहले नेप्सेअनुसार नै सम्पत्ति तलमाथि हुने गरेको देखिन्छ । यस क्षेत्रका लगानीकर्ताहरूको औसत सम्पत्ति विगत साढे ६ वर्षमा ६ सय प्रतिशतले बढेको छ भने बिमा क्षेत्रका मानिसले निकै बढी कमाएका छन् । कमाइसँग बिमामा जोखिम पनि बढी रहेको कुरा नेप्सेको घट्ने क्रमभन्दा बिमाको घट्ने क्रम बढी भएबाट पुष्टी हुन्छ । यसपटक नेप्सेको तुलनामा जलविद्युत् क्षेत्रका लगानीकर्ताले बढी गुमाएको देखिन्छ सायद यस क्षेत्रमा बढ्दो कम्पनीहरूको प्रवेश, लगानीकर्ताहरूको प्राथमिकता बिमा र बैंकिगतिर मोडिनु आदि कारण पनि हुन सक्छ ।

उल्लेखित उपसमूहरूबाहेक पनि नेप्सेमा उत्पादन क्षेत्रको पनि छुट्टै उपसमूहमा कारोबार हुन्छ । तर यो क्षेत्रमा सूचीकृत कम्पनीहरूको कारोबार निकै कम हुने गरेको र समग्र नेप्सेमा यिनीहरूको उल्लेख्य प्रभाव नहुने हुँदा यसलाई छुट्टै विश्लेषण गरिएको छैन । 

Published on Nepalitara online on 2 March 2017 http://nepaltara.com/News/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A5%8D%E0%A4%B8%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%89%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%9A%E0%A4%A2%E0%A4%BE%E0%A4%B5-%E0%A4%B0-%E0%A4%AC%E0%A4%9C%E0%A4%BE%E0%A4%B0/