Sunday, March 24, 2019

नेप्सेको ११ सय र लगानी रणनीति

१२ सय १२ बाट खुलेको चालू आर्थिक वर्ष ०७५/७६ को नेपाली सेयर बजारको परिसूचक नेप्से विभिन्न उतारचढाव पार गर्दै २०७५ फागुन १९ गते ११ सयको न्यूनतम बिन्दुमा पुग्दा लगानीकर्ताहरूको छटपटाहट भने उच्चतम बिन्दुमा पुग्यो । हुनत मंसिरमा नेप्से १,११८ हाराहारीमा आइपुग्दा लगानीकर्ताहरू आत्तिएर राजनीतिक पार्टी, संसद्, सरकार, नियामक र सञ्चालकसम्मको ढोका ढकढक्याउन पुगेसँगै सरकारबाट ‘मुद्रा तथा पुँजीबजार समस्या पहिचान तथा समाधान समिति’ गठन भई समस्या पहिचान र समाधानको आशामा केही सुधारिँदै १,२१५ सम्म पुगेको नेप्से पुनः १,१०० को बिन्दुमा ओर्लियो । लगानीकर्ता, सरकार, नियामक र बजार सञ्चालकका अनेक प्रयासका बाबजुद चालू आवमा नेप्से परिसूचक १,२८० भन्दा माथि र १,१०० भन्दा तल जान सकेको छैन । चालू अबको १ सय ६७ कारोबार दिनमा ५२ दिन मात्र १,२०० माथि रहेको नेप्सेको औसत परिसूचक १,१८३ र न्यूनतम १,१०० रहेको देखिन्छ । हालसम्मको नेप्सेको उच्चतम बिन्दु १,८८१ को आधारमा हेर्दा नेप्से परिसूचक करिब ७८१ बिन्दु अर्थात् ४१.५ प्रतिशतको गिरावट आएको छ ।
 
परिसूचकको विगत हेर्दा उच्चतम बिन्दुभन्दा पुग्नु करिब ९ महिना अगाडि २०७२ कातिक १९ गते पनि नेप्से १,१०० मा थियो । उच्चतम बिन्दुबाट ओर्लन सुरु भएको करिब ३१ महिनामा बिन्दुगत हिसाबले परिसूचक पुनः उही १,१०० मा फर्किएको छ । यसरी ४० महिनाको चक्रमा नेप्से सूचक घुमिफिरी एउटै बिन्दुमा पुग्दा सेयर बजारको अर्को महत्वपूर्ण आधार बजार पुँजीकरण भने ११ खर्ब ५६ अर्बबाट १३ खर्ब ४३ अर्ब पुगेको छ ।


एघारसयको परिसूचक
मिति
नेप्से विन्दु
कारोवार रकम (रु. करोड)
बजार पूँजीकरण (रु. खर्ब)
२०७२ कातिक १९
११००.०९
१५.६३
११.५७
२०७३ साउन १३
१८८१.४५
२२६.६५
२०.७१
२०७५ साउन १
१२०४.३१
२०.६१
१४.२६
२०७५ फागुन १९
११००.५८
२३.५३
१३.४३
२०७५ चैत ७
११४०.६०
२४.८६
१३.९४

११ सय र लगानीकर्ताको मनोभाव

नेपालका लगानीकर्ता वा कारोबारीले कम्पनीको सेयरको माग र आपूर्ति तथा व्यावसायिक र वित्तीय अवस्थाभन्दा नेप्से परिसूचकलाई लगानी निर्णयको मुख्य आधार बनाउँदै आएका छन् । उनीहरू (क) नेप्से केवल सूचीकृत धितोपत्रहरूको कारोबार दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्यबीचको अनुपात मात्र भएको, (ख) सेयरको बजार मूल्य माग र आपूर्तिसँगै अन्य धेरै तत्व हरूले प्रभावित पार्न सक्ने, (ग) नेपालको बजार परिसूचकमा लगानी र कारोबार गर्न नमिल्ने, (घ) नेप्से तलमाथि हुँदै गर्दा देखिने नाफाघाटा केवाल स्वप्निल (भर्चुअल) हुँदा लगानीको वास्तविक नाफाघाटा सुनिश्चित नहुने तर्फ ध्यान दिँदैनन् । विगत साँढे दुई वर्षको अन्तरालमा नेप्से परिसूचक घट्दै १,१०० हाराहारी पुगेसँगै न्यूनतम बिन्दुका रूपमा मनोगत परिभाषित गर्ने लगानीकर्ता सोअनुरूपको खरिद व्यवहार अपनाउन पनि हिचकिचाउँछन् । विगतको अर्बौंको दैनिक कारोबार औसत रु. ३०.७२ करोडमा खुम्चिनुले लगानीकर्ताहरू ‘पर्ख र हेर’को मनस्थितिमा नै रहेको देखिन्छ ।

हुन त लगानीकर्ताहरू र केही प्राविधिक विश्लेषकहरूबाट नेप्सेको १,१०० बिन्दुलाई नै बियरिसको न्यून बिन्दुका रूपमा व्याख्या हुन थालेको छ । तर, कारोबार रकम, संख्या अनि प्राविधिक विश्लेषणका औजारहरूले यसको पुष्टि गरिनसकेको अवस्थामा आमलगानीकर्ताको मनोभावलाई गलत सावित गर्दै परिसूचक १,१०० भन्दा तल जान्छ वा जाँदैन भनेर शतप्रतिशत ग्यारेन्टी गर्न पक्कै सकिँदैन र कसैले गर्छ भने त्यो गलत हुनेछ । जसरी भूकम्प कहिले ? कति रेक्टर स्केलको ? कति क्षति गर्छ ? केन्द्रबिन्दु कहाँ हुन्छ ? भन्ने पूर्वानुमान असम्भव भएजस्तै नेप्से परिसूचकको उच्चतम–न्यूनतम बिन्दु कहिले तल–माथि जान्छ ? भन्ने ज्योतिष विज्ञान, लगानीकर्ताको अनुभव, प्राविधिक विश्लेषणबाट ग्यारेन्टी गर्न सकिन्न । विगतको चाल, लगानीकर्ताको मनोभाव र अनुभवका आधारमा पूर्वानुमान मात्र गर्न सकिन्छ ।

२०७५ फागुन १९ गतेको १,१०० बिन्दु अहिलेसम्मको न्यूनतम देखिएको र त्यसपछिका दिनमा बिस्तारै परिसूचकसँगै कारोवार रकममा देखिएको वृद्धिले लगानीकर्ता बियरिस बजारलाई विस्तारै विदाइ गर्न अग्रसर भएको हो कि जस्तो देखिँदा कुनै दिन पुनः बिक्री चाप बढेर सूचक दोहोरो अंकले घट्नुले अन्योलतालाई पनि इँगित गर्छ । यससँगै ,दैनिक कारोबार २०–३० करोडको वरिपरि घुम्नु र खरिद चाप उल्लेख्य नबढ्नुले लगानीकर्ताहरूको मनमा कतै न कतै बजार अझै केही घट्छ कि भन्ने आशंका र खरिदको उपयुक्त समय भन्ने आत्मविश्वासमा कमी पनि झल्किन्छ । यसले लगानी निर्णय र व्यवस्थापनमा सचेतता र सजगताको आवश्यकता औंल्याउँछ ।

नेप्से परिसूचक

स्टक एक्सचेन्जमा सूचीकृत धितोपत्रहरूको कारोबार भएको दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्यबीचको अनुपात नै बजार परिसूचक हो । सूचीकृत धितोपत्रको मूल्य बढेमा यो परिसूचक बढ्ने र मूल्य घटेमा घट्ने गर्छ । नेपाल स्टक एक्सचेन्जले प्रत्येक कारोबार भएको दिन यस प्रकारको परिसूचक गणना गर्छ । यसलाई नेप्से परिसूचक भनिन्छ । यसले समग्र बजारको प्रतिनिधित्व गर्छ ।

कस्ताे रणनीति

बजार परिसूचक हेरेर र आधारभूत विश्लेषण गरेर लगानी वा कारोबार गर्ने लगानीकर्ताहरूसँग सदैव उपलब्ध हुने मुख्य तीन विकल्पहरू (क) किन्ने, (ख) बेच्ने, वा (ग) तटस्थ रहने नै हो । बजार परिसूचक र कारोबारको अवस्था, व्यक्तिगत जोखिमवहन क्षमता (रिक्स एपाटाइट), लगानी उद्देश्य, रकम, स्रोत, अवधिअनुसार कुनै वा मिश्रित रणनीति अपनाउन सकिन्छ ।

१. किन्नेः नेप्सेको १,१०० परिसूचक साँच्चिकै न्यूनतम भन्ने आत्मविश्वास भएका लगानीकर्ताको तत्कालीन रणनीति सेयर किन्ने नै हुनुपर्छ । सेयर बजारको बियरिस अवस्था भनेको बजारले दिएको किन्ने अवसर पनि हो । पछि बेच्न र औसत लागत घटाउन पनि सेयर किन्नैपर्ने हुन्छ, तर किन्दा औसत लागत व्यवस्थापन वा पूँजीगत लाभमा स्पष्ट हुनुपर्छ । व्यवसाय र मुनाफा ठिक तर औसत लागत बढी भएका कम्पनीको लागत घटाउन पनि सस्तो हुँदा सेयर किन्नु श्रेयस्कर हुनसक्छ । बियरिसको अन्तिम बिन्दु वा ‘बियरिस ट्र्याप’ को अवस्थामा केही नाफा भएका वा कम घाटा भएका सेयर बेचेर भए पनि भविष्यमा बजारको तुलनामा बढी मुनाफा दिने, निकै मूल्य घटेका, घाटा बढी भएका कम्पनीको सेयर बुद्धिमानी हुन्छ ।

२. तटस्थ रहनेः परिसूचक न्यूनतम भएकोमा विश्वस्त छैन भने तटस्थ रहन सकिन्छ । यसलाई ‘पर्ख र हेर’ वा ‘होल्ड’ रणनीति पनि भनिन्छ । यसमा आफूसँग भएको सेयर नबेच्ने वा बजारबाट नकिन्ने विकल्प हुन्छ । यसोगर्दा केही महँगोमा बेचेर पुनः सस्तोमा किन्ने, छोटो अवधिमा केही मुनाफा कमाउने, र सस्तोमा किनेर औसत लागत घटाउने अवसरबाट भने वञ्चित हुनुपर्नेछ । बियरिस बजारको सबैभन्दा चुनौती नै सेयरको कित्ता जोगाउनु वा बढाउनु हो । थप लगानी गर्न आँट र रकमले साथ नदिएको अवस्थामा पनि बजार मूल्य घटाएर बेच्न उक्साउन थापिने ‘मूल्य पासो’मा नफस्नु वा नडराई आफूसँग भएको सेयर जोगाउनु लगानी व्यवस्थापनको एउटा विकल्प हुन सक्छ ।

३. बेच्नेः बजारको कारोबार र लगानीकर्ताको सेयर किनबेच व्यवहारले १,१०० को परिसूचकलाई पूर्ण पुष्ट्याइँ नगरिसकेको अवस्थामा अझै घट्छ भन्ने बलियो सोच भएका लगानीकर्ताले केही सेयर बेचेर घाटा कम गर्न वा ‘स्टप लस’ रणनीति अपनाउन सकिन्छ । तर, बजारले लगानीकर्ताको विगतको ९०० को बिन्दुलाई केही हदसम्म गलत सावित गर्दैै १,१०० मा नै सोच्न झकझक्याएको अवस्थामा‘स्टप लस’रणनीति अपनाउँदा विशेष सावधानी अपनाउनुपर्नेछ ।

४. छोटो अवधिको कारोबार गर्नेः नेप्से परिसूचकको उतारचढावले दीर्घकालीन लगानी निर्णय गर्न कठिन भएको अवस्थामा छोटो अवधिको कारोबार वा लगानी गर्न सकिन्छ । बियरिस र ‘बियरिस ट्र्याप’ को अवस्थामा आमरूपमा अपनाइने कारोबार रणनीति ‘सर्ट सेल’ हो । नेपालमा ‘इन्ट्रा डे’ (सोही दिन किनबेच) को प्रावधान नभएको अवस्थामा ‘सर्ट सेल’ लाई व्यवहारमा अपनाउन भने सहज छैन । बजार र कम्पनीको कारोबारको सूक्ष्म अध्ययन गर्दै स–सानो कितामा छोटो अवधिको कारोवार वा थोरै–थोरै गर्दै किनबेचको विकल्प अपनाउन सकिन्छ ।

आमभावना र केही विश्लेषणले नेप्सेको १,१०० लाई न्यूनतम भन्न खोजे पनि लगानी व्यवहार र कारोबार रकमले पुष्ट्याइँ नगरेको वर्तमान अवस्थामा बियरिस अवस्थाको अन्त्य मानेर लगानीमा हतारो वा केही मुनाफा बुक गर्नु अगाडि थप सचेत र सजग हुनैपर्छ । ११ देखि १३ सयको चक्रमा बजार लामो समय र धेरै पटक घुमेको नेप्से कता जान्छ ? कहिले अगाडि बढ्छ र बुलको लयमा फर्कन्छ त्यो अनिश्चित छ । बजारको चरित्र हेर्दा विगतमा जस्तो ११ सयबाट अबको ९ महिनामा १,८८१ पार हुने वा ९ सयको हाराहारीमा पुग्ने सम्भावना कम नै छ । यस अवस्थामा दीर्घकालीन लगानी वा कारोबार रणनीति अनुसार बजारको चाल हेर्दै सोही लयमा आफ्नो लगानी व्यवस्थापन गर्दै जानु बुद्धिमानी हुनेछ ।

सेयर बजारमा बियरिस ‘मन नपरेको पाहुना’ हो भने ‘बियरिस ट्र्याप’ चातुर्य क्रेताले थापेको पासो हो । ‘हूलमूलमा जीउ र अनिकालमा बीउ जोगाउनु’ भनेजस्तै सेयर बजारको बुलमा पैसा जोगाउनु र बियरिसमा कित्ता जोगाउनु वा थप्नु नै बुद्धिमानी हुन्छ ।

पक्कै पनि लगानीकर्ताहरूले नेप्सेको बिन्दुभन्दा कम्पनीको प्रतिसेयर आय, मूल्य आम्दानी अनुपात, नेटवर्थ जस्ता सूचक र व्यवसाय, व्यवस्थापन, सुशासनलाई हेर्दै औसत लागत, लाभांश र लगानीमा प्रतिफलतर्फ ध्यान केन्द्रित गर्नु श्रेयष्कर हुनेछ । यसका साथै आफ्नो विद्यमान पोर्टफोलियो पुनरावलोकन गरी कम्पनीहरूको आधारभूत अवस्था, जोखिम बहन क्षमता, लगानीको स्रोत, लागत (ब्याज) र वैकल्पिक अवसरको विश्लेषण गरी तटस्थ बस्ने, घाटा कम गर्ने (स्टप लस), थप लगानी गर्ने, औसत लागत घटाउने, लगानी गरिएका कम्पनी परिवर्तन गर्ने वा किनबेच गर्ने रणनीति अपनाउन सकिन्छ ।

काराेवार दैनिकमा २०७५ चैत १० गते प्रकाशित, https://karobardaily.com/news/idea/17636

Wednesday, March 20, 2019

नसुल्झिएको लाभकर, उल्झिएको प्यान

शेयरमा गरिने लगानीमा लगानीकर्ताहरुले लाभांस र लागतभन्दा बढी मूल्यमा हक निःसर्ग (आफूसँग भोगाधिकार भएको शेयरको हक बेच्दा) पूँजीगत लाभ पाउँछन् । लाभांसमा कम्पनीले तोकिएको दरमा कर गणना र कर कट्टी गरीभुक्तानी दिने तथा लाभांस कर नै अन्तिम हुँदा यसमा खास विवाद देखिएको छैन । हो, बोनस शेयरमा लगाइँदै आएको ५ प्रतिशत लाभांस करसम्बन्धमा लगानीकर्ता र सरकारबीच केही असमझदारी भएपनि तैं चुप मै चुप रहेर लगानीकर्ताहरुले सरकारसँग द्वन्द्व गर्न नचाहेको देखिन्छ ।
भोगाधिकार निसर्ग गर्दा प्राप्त पूँजीगत लाभको दरका सम्बन्धमा विवाद नभएता पनि क) गणना विधि, ख) अन्तिम कि अग्रीम र ग) कर प्रयोजनका लागि कसरी लिने भन्ने अन्यौलताले शेयरबजार, लगानीकर्ता वा कारोवारी त प्रभावित हुँदै आएका छन् नै, सरकार, नियामक र बजार संचालक एवम् सरोकारवालाहरु बीच समयसमयमा द्वन्द्वको रुप पनि लिँदै आएको छ ।
बोनस वा हकप्रदको वास्तविक लागत कति र कसरी गणना गर्ने भन्ने विवादमा २०७५ जेठ २२ गते लगानीकर्ताहरूबाटै कारोवार बन्द गरेका थिए । आन्दोलनको दबाबपछि सेयरबजारमा देखिएको गविधाहरूमा स्पष्टता ल्याउन र प्रमाणित सुधारका लागि आवश्यकता अनुसार विज्ञ-विशेषज्ञसँग राय-सुझाव लिई सुझावसहितको प्रतिवेदन पेश गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त कार्यदलको प्रतिवेदन प्राप्त नभएसम्मका लागि पुँजीबजार पूर्ववत संचालन गर्न आवश्यक व्यवस्था सम्बन्धी पत्र सिडिएसबाट जारी भएपछि बजार पूर्ववत संचालनमा आएको हो ।
आजको मितिसम्म उक्त कार्यदलले बोनस र हकप्रद शेयरको लागत गणना सूत्र र प्रविधिको सम्बन्धमा के कस्तो प्रगति भयो कुनै निर्णय गरेको वा सोको लागि आवश्यक पूर्वाधार तयार गरेको जानकारी सूचित गरेको छैन ।
कार्यदलले काम गरेको ९ महिना बितिसक्दा र नयाँ बजेट, आर्थिक नीति तथा कार्यक्रम आउन केवल २ महिना जति बाँकी हुँदासमेत लागत र लाभ गणना विधीको निक्र्यौल नहुँदा आगामी आर्थिक वर्षमा समेत लाभ गणना र करको असमझदारीले निरन्तरता पाउने होकी भन्ने आशंका बढेको छ भने लगानीकर्ताहरु घाटामा कर र करमा दर्ताको विवादमा उल्झिन बाध्य छन् ।
लाभ गणना विवाद
विद्यमान आयकर ऐन २०५८ को दफा ९५क(२)(क) अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट लाभको हकमा धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा (दफा ३७ बमोजिम गणना गरिएको) लाभ रकमको ७.५ प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था गरेको छ । यसमा सबैको आफ्नै बुझाइ र व्याख्या रहँदै आएको छ ।
सामान्य रुपमा हेर्दा आईपिओ र दोस्रो बजारबाट किनेको शेयरको लागत र लाभसम्बन्धी कुनै विवाद देखिँदैन् र लगानीकर्ता र सरकारबीचको विवाद भनेको बोनस र हकप्रद शेयरको लागतको सम्बन्धमा देखिए पनि गहिरिएर हेर्ने हो भने लगानीकर्ताले बिक्री गरेको शेयरको वास्तविक लागत र लाभको हिसाव गर्न र गणना गरिएको लाभकर दुरुस्त भएको सुनिश्चित गर्न सकिने अवस्था छैन । उदाहरणको लागि श्यामको एविसि बैंकको शेयरमा लगानी र कारोवार तथा लागत र लाभलाई नियालौं ।
शेयर खरिद
किता
लागत (रु.)
शेयर विक्री
किता
बिक्री रकम (रु.)
आईपिओ
१००
१०,०००



बोनस शेयर
२०
??



खरिद
२००
३०,०००



खरिद
१३२
१६,५००
बिक्री
११०
१७,६००
हकप्रद
१५०
१५,०००



खरिद
१००
१२,५००
बिक्री
५०
,४००
कुल
७०२
८४,०००
कुल बिक्री
१६०
२५,०००
औसत लागत/कित्ता

११९.६५
औसत बिक्री मूल्य/कित्ता

१५६.२५
बाँकी शेयर र बजार मूल्य (रु.)
५४२
५५,०००



उदाहरण अनुसार लगानीकर्ता र सरकारबीच लागत र लाभ गणनाका सम्बन्धमा निम्न विवाद हुँदै आएको वा हुने सम्भावना रहन्छ ।
१) बोनस शेयरको लागत: अब यहाँ श्यामले बोनस शेयरको लागि क) कुनै रकम तिर्नु नपरेको हुँदा शून्य लागत, ख) सरकारले रु. १०० मानेर रु. ५ लाभांस कर लिएको हुँदारु. १०० लागत, वा ग) कम्पनीले शेयरधनीको तर्फबाट लाभांस समेत तिर्ने गरी दिएको प्रति किता लाभांस रु. १०५.२६ नै लागत मान्ने ? भन्ने अन्यौलता मात्र होइन उक्त बोनस शेयर प्राप्त गर्न उच्च मूल्यमा बजारबाट खरिद गरिएको लागत र बुक क्लोज पछि बोनस शेयरको अनुपातमा नेप्सेले समायोजन गरेको मूल्यको आधारमा लागत गणना गर्ने भन्ने अन्यौलता रहँदै आएको छ ।
२) हकप्रद शेयरको लागत:  श्यामले १५० किता हकप्रद शेयर खरिदका लागि प्रत्यक्ष भुक्तानी गरेको रु. १५ हजार (१५० x रु. १००)लाई लागत मान्ने कि उक्त हकप्रदको हक कायम गर्न बजारबाट शेयर खरिद गर्दा तिरेको मूल्य र हकप्रदको आधारमा बुक क्लोज पछि समायोजित हुने मूल्यले सिर्जना हुने लागत मध्ये कुन चाहिँ लगानीकर्ताको वास्तविक लागत हो र कुन आधारमा लाभ गणना गरेर कर लगाउने भन्ने विवाद रहँदै आएको छ ।
३) कुल शेयरको लागत र लाभ:  बोनस र हकप्रदको उक्त विवादको समाधान गर्न गठित कार्यदलले विभिन्न छलफल र परामर्श गरी लागत र लाभको गणना विधि निकाल्ने कुरा चले पनि धेरै लगानीकर्ता र सरकारले ध्यान नदिएको अर्को पाटो आईपीओ वा दोस्रोबजारबाट खरिद शेयरको समेत वास्तविक लागत र लाभ गणनाको विद्यमान प्रणाली र कटाउँदै आएको लाभकरसमेत विवादित हुने संभावना देखिन्छ । उदाहरण अनुसारप्रचलित विधिमा श्यामले विक्री गरेको ११० र ५० किताको लागत रु. १०० वा रु. १५० को आधारमा ७.५ प्रतिशतका दरले लाभकर लगाइँदै आएको छ किनभने उसले बेचेकोमा नाफा देखिन्छ । तर के श्यामले शेयरको हक निसर्गबाट प्राप्त रकमका वास्तविक लाभ भएको हो त? मूल प्रश्नको उत्तर केलाउने तर्फ कसैको ध्यान गएको देखिँदैन् ।
यहाँ श्यामले उक्त कम्पनीको शेयरको केही किता बिक्री गरेको र त्यो शेयर वास्तवमा बोनस, बजारबाट खरिद वा हकप्रदबाट प्राप्त मध्येको कुन हो ? त्यसको वास्तविक लागत कति हो ? भन्ने प्रमाणित गर्ने बैज्ञानिक आधार र क्षमता व्यक्तिगत लगानीकर्ताहरुसँग नहुने वा व्यवहारिक रुपमा सम्भव नहुने अवस्थामा सरकारले शेयर ब्रोकर मार्फत हुँदै आएको लाभकरको गणना माथि स्वभाविक प्रश्न उठने छ । उदाहरण अनुसार पनि श्यामले रु. २५ हजारको शेयर बिक्रीवापत तत्कालका केही मुनाफा देखिए पनि बजारमूल्यको आधारमा नोक्सानीमा देखिन्छ ।
यसरी कुन लागतको र कसरी खरिदको शेयर पहिचान गरी वास्तविक लागत निकाल्ने नसकिने भएको अवस्थालाई ध्यान दिएर नै लगानीकर्ताहरुले औसत लागतको आधारमा लाभ र लाभकर गणनाको लागि आवाज उठाउँदै आएका हुन् । माथिको उदाहरण अनुसार पनि श्यामले औसत लागत रु. ११९ को आधारमा प्रति किता करिव रु. ३६ लाभ प्राप्त गरेको देखिन्छ र सोही आधारमा लाभकर गणना गरेको अवस्थामा विवादको दायरा साँघुरिने र विवाद घट्ने देखिन्छ । अन्यथा, लगानीकर्ताले नोक्सानीमा कर तिर्नुपरेको र सरकारले पाउनुपर्ने जति कर नपाएकोमा एकले अर्कोलाई शंकाको दृष्टिले हेर्ने र घोचपोच चलि नै रहनेछ ।
करमा दर्ता र प्यान विवाद
शेयरको लाभांस करमा सामान्य असहमतिका बावजुद खास विवाद नरहेको अवस्थामा स्थायी लेखा नम्वर अर्थात् करमा दर्ताको मुख्यविवाद र आशंका भनेकै पूँजीगत लाभकर गणना र कर निर्धारणमा रहँदै आएको छ । सरकारले कानुनतः पूँजीगत लाभलाई अन्तिम हो वा होइन भन्ने द्विविधा कायमै राख्दै कर छलि वा अपर्याप्त कर भुक्तानीको आशंकामा कर व्यवस्थापनको बहाना बनाउँदै लगानीकर्ताहरुलाई करमा दर्ता हुन अर्थात् प्यान लिन दवाव दिँदै आएको छ भने लगानीकर्ताहरु शेयरमा आवश्यकभन्दा बढी कर लगाइसकेको र आफूहरुले हक निसर्ग गरेकोमा पनि तोकिएको कर तिरिसकेको भन्दै अनावश्यक करको प्रकृयामा नजाने बताइरहेका छन् ।
सरकारले पनि किन प्यान चाहिएको ? र यथार्थ उद्देश्य र करको गणना कसरी हुने बताउन चाहँदैन भने लाभ करलाई आयकर प्रयोजनमा जोडेर थप करको निर्धारण गरिने आशंकमा लगानीकर्ताहरु प्यानलाई सरकारले थापेको करको धरापका रुपमा लिएका छन् । प्यानसम्बन्धी विवादहरु विभिन्न लेखमा पढ्न सकिन्छ ।
शेयर बिक्रीमा वास्तविक लाभ र गणनाको विवादसँगै जोडिएको प्यानको विवाद गत माघदेखि उग्ररुपमा अगाडि बढेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनको निर्देशनभन्दै नेप्सेबाट जारी भएका सूचनामात्र होइन, बोर्डले समेत कहिले खरिदमा मात्र प्यान त कहिले रु. ५ लाख माथिको कारोवारमा प्यान भन्ने निर्णयहरुमा निरन्तरको परिवर्तनले थप अन्यौलता र विवाद सिर्जना गर्ने निश्चित छ ।
समाधानको विकल्प
लाभकरसम्बन्धी बैज्ञानिक विधीको तर्जुमा गर्दै वास्तविक लागत र करलाई व्यवहारिक बनाउन सकेमा लगानीकर्ता र सरकारबीचको करको विवाद धेरै हदसम्म सहजै समाधान हुने आशा गर्न सकिन्छ । सरकारले शेयरबजारमा प्यान लगाउने र लाभकरको विवाद निरुपणका निम्ति तत्काल २०७६ बैशाख १ गतेदेखि रु. ५ लाखको कारोवारमा अनिवार्य भन्ने बोर्डको निर्देशन फिर्ता गर्दै, लाभकर गणना विधिको विकास पश्चात् आगामी आर्थिक वर्षको आर्थिक नीति तथा कार्यक्रममा अनुसार हुने र सो नीति तथा कार्यक्रममा निम्नअनुसार लाभकर र करको व्यवस्था गर्दै लगानीकर्ता र सरकारबीच सुमधुर सम्बन्ध र पूँजीबजारको सहकार्यलाई अगाडि बढाउन सकिन्छ ।
१. लाभकर गणनाको सफ्टवेयर:  लाभकर गणनाको मुख्य विवादको रुपमा रहँदै आएको लागत र लाभलाई सँधैको लागि निरुपण गर्न एउटै कम्पनीको अनेक लागत रहने वर्तमान प्रणालीमा सुधार गर्दै केवल औसत लागतका आधारमा लाभ र कर गणना गरिनुपर्छ । यसले आइपीओ, एफपिओ, बजारबाट, बोनस, हकप्रदको लागत कति र कहिले किनेको, कुन बेचेको भन्ने विवाद र द्विविधाबाट लगानीकर्ता र सरकारले मुक्ति पाउने छ ।
व्यक्तिगत तवरमा औसत लागत गणना र प्रमाणीकरण व्यवाहारिक नहुनसक्छ, त्यसैले कारोवार र शेयरसम्बन्धी पूर्ण विवरण हुने नेप्से वा सिडिएससीबाट संचालन हुने गरी एउटा प्रभावकारी सफ्टवेयर निर्माण गर्दै सो सफ्टवेयर मार्फत औसत लागत, खुद लाभ रकम र कर गणना एवम् प्रमाणीकरण गर्ने प्रणालीको विकास र कार्यान्वयन गरिनुपर्छ । यस्तो लाभकर लगानीकर्ताले शेयरधारण गरेको अवधिको आधारमा फरकफरक दरमा कर लगाइनु पर्छ ।
२. लाभकर अग्रिम नभई अन्तिम हुने: कट्टा गरिएको लाभकर नै अन्तिम हुने कानुनी सुनिश्चितता गरिनुपर्छ । यसो भएमा शेयर कारोवारमा कर निर्धारणयोग्य आय नहुने अवस्थामा प्यान आवश्यक नहुन सक्छ र प्यान नै लगाउँदा समेत थप करको धराप भन्ने लगानीकर्ताको मानसिकता परिवर्तन गर्न सघाउ पुग्ने र प्यान कार्यान्वयन सहज हुनेछ ।
३. शेयर सम्पत्ति र लगानी: सरकारले शेयर सम्पत्ति कि वस्तु भन्ने विद्यमान कानुनी अन्यौलताको अन्त गर्दै शेयरको बिक्री नभई हित निसर्गबाट पूँजीगत लाभ हुने र प्राकृतिक व्यक्तिको हकमा घरजग्गाको जस्तै अन्तिम कर हुने कानुनी व्यवस्था गर्नुपर्छ ।
क्लिकमाण्डु अनलाइनमा २०७५ चैत २ गते प्रकाशित

Thursday, March 14, 2019

सेयर लगानीकर्ता साढे १४ लाख

सेयर लगानीकर्ताको संख्या साढे १४ लाख

साभारः भुवन पाैडेलकाे लेख काराेवार दैनिकमा बुधबार, २०७५ फागुन २९ प्रकाशित

धितोपत्र बजारमा जोडिएका लगानीकर्ताको संख्या साढे १४ लाखभन्दा बढी रहेको पाइएको छ । पछिल्लो समय बजार विस्तार भएको तथा सानो रकम पनि लगानी गर्न सकिने भएकाले लगानीकर्ताको संख्या उच्च देखिएको हो । केन्द्रीय निक्षेप सेवा सञ्चालन गरी सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गरेपछि सेयर बजारमा जोडिएका लगानीकर्ताको संख्या १४ लाखभन्दा बढी देखिएको हो । यद्यपि, डिम्याट खाता खोल्न बाँकी रहेको लगानीकर्ताको संख्या अझै बढी रहेको अनुमान गरिएको छ ।

डिम्याट खाताका आधारमा लगानीकर्ताको संख्या गणना गर्दा मंगलबारसम्ममा १४ लाख ६० हजार ५ सय ८३ पुगेको छ । जसमध्ये ७ हजार २ सय २१ वटा खाता भने दोहोरो खाता अर्थात एकै व्यक्तिले एकभन्दा बढी खाता खोलेको सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए । “सेयर बजारप्रति चासो राख्ने सर्वसाधारणको संख्यामा उत्साहजनक रूपमा वृद्धि भएको छ,” उनले भने, “कर्मचारी सञ्चय कोषको लगानी रहेका योजनाहरूको सेयर कोषले आफ्ना सञ्चयकर्तालाई पनि दिने गरेकाले प्राथमिक बजारमा सर्वसाधारणको सहभागिता उल्लेख्य बढेको छ ।” प्राथमिक बजारमा आएका लगानीकर्ता सेयर बिक्री वा खरिदका लागि दोस्रो बजार जाने गरे पनि सक्रिय लगानीकर्ताको रूपमा भने धेरै कम रहने गरेको गुप्ताको भनाइ छ । 
डिम्याट खाता खोलेर भौतिक सेयर अभौतिकीकरण गराउने भन्दा पनि बजार प्रवेशका लागि डिम्याट खाता खोल्ने लगानीकर्ता धेरै रहेको जानकारी गुप्ताले दिए । “आर्थिक वर्ष २०७२÷७३ को तुलनामा डिम्याट खाता २०७३÷७४ मा १२२.१९ प्रतिशतले बढेर ८ लाख ७१ जार पुगेको थियो,” उनले भने, “अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पनि डिम्याट खाता ४८.९१ प्रतिशतले बढेको छ ।” गत आवको अन्तिममा १२ लाख ९७ हजार रहेको डिम्याट खाता चालू आर्थिक वर्षको फागुनसम्ममा १ लाख ६३ हजारले वढेको उनले बताए । यो आवधिमा सीडीएसले प्रवद्र्धन गरेको सेयर बजारमा लगानी गर्ने अनलाइन माध्यम मेरो सेयरको मात्र ४ लाख ६५ हजार ९ सय ७० जनाले मेरो सेयरको माध्यमबाट आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने तथा सेयरको कारोबार गर्ने गरेका छन् । 
उपत्यकाकेन्द्रित सेयर बजार भनेर आलोचना गरिरहँदा उपत्यकाभन्दा बाहिरका लगानीकर्ताको सेयर बजारमा सहभागिता २.२५ गुणा धेरै रहेको छ । फागुन २८ गतेसम्ममा पुँजी बजारसंग जोडिएका लगानीकर्ता ४ लाख ४७ हजार ४ सय २ छन् भने उपत्यकाबाहिर १० लाख ६ हजार ३ सय ९ जना छन् । लगानीकर्ताको ठेगाना जहाको भए पनि डिम्याट खाता कहाँ छ भन्ने विषयलाइ आधार बनाइ छुट्याइएको हो । 
सेयर बजार विस्तारका लागि गाउँगाँउका सर्वसाधारणलाई सेयर बजारमा ल्याउँदा उनीहरूको लगानीको निर्णय गर्ने क्षमतालाइ पनि हेर्नु जरुरी रहेको मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष धु्रव तिमिल्सिनाले बताए । “बजारसम्बन्धी पर्याप्त जानकारी नलिइ प्रवेश गर्दा जोखिम झन बढ्नसक्छ,” उनले भने, “पुँजी बजारमा प्रत्यक्ष रूपमा लगानी गर्दा नियामक निकायले सक्षम र असक्षम लगानी छुट्याउँदा उपयुक्त हुन्छ । त्यसो गरेको खण्डमा असक्षम लगानीकर्ताले सामूहिक लगानी कोष तथा पोर्टफोलियो म्यानेजरको माध्यमबाट लगानी गर्न सक्छन् ।” लगानीकर्ताको संख्यामा देखिएको वृद्धि भौतिक सेयरलाइ अभौतिक गराउने क्रम कायम भएकाले पनि हुनसक्ने तिमिल्सिनाले बताए । सबै सेयर अभौतिक भएपनि आता खोल्न रोकिने अवस्था हो भने बजारमा लगानीकर्ता आए भनेर भन्न नकिल्ने उनको तर्क छ । 
यद्यपि, सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै नियामक निकायले पनि सोच्नुपर्ने बजारका जानकारहरू बताउँछन् । सेयर बजारमा आउने लगानीकर्ताबिना ज्ञान आएको खण्डमा लगानीकर्ता स्वयंलाई मात्र नभै बजार समेत बिग्रिने सम्भावना हुने उनीहरूको तर्क छ । पछिल्लो समयमा सेयर बजारमा पूर्वाधारको विकासले लगानीको संख्या बढेको छ । सेयर बजारको विकास र विस्तार गर्ने तथा सक्दो धेरै लगानीकर्ता बजारमा प्रवेश गराउने नियामक निकाय नेपाल धितोपत्र बोर्डको नीति भएपनि सबै लगानीकर्ता लगानीको निर्णय गर्न सक्नेछन् वा छैनन् भन्नेमा पनि ध्यान दिनु आवश्यक छ ।
कुल सेयर लगानीकर्ता : १४,५३,७११
दोहोरो डिम्याट भएका लगानीकर्ता : ७,२२१
लगानीकर्ता (पुरुष): ८,९१,९९२
लगानीकर्ता (महिला) : ५,६१,७१९
लगानीकर्ता (उपत्यकाभित्र) : ४,४७,४०२
लगानीकर्ता (उपत्यकाबाहिर) : १०,०६,३०९
मेरो सेयर प्रयोगकर्ता : ४,६५,९७०

Sunday, March 10, 2019

लाभांश र लगानीमा प्रतिफल दर

सेयर लगानीकर्ताले लगानी गर्दा मुख्यतया प्रतिसेयर आम्दानी र लाभांश (बोनस र नगद) मा ध्यान दिन्छन्, तर लगानीमा प्रतिफल (डिभिडेन्ड यिल्ड) लाई बेवास्ता गरेको वा नबुझेको देखिन्छ । लाभांश अंकित मूल्यमा दिइन्छ । अंकित मूल्यमा किनिएको अवस्थामा बाहेक लाभांशको प्रतिफल दर घोषित लाभांश फरक हुन सक्छ । यसका लागि दोस्रो बजारबाट किनिएको मूल्यका आधारमा लगानीमा प्रतिफल दर (डिभिडेन्ड यिल्ड) गणना गर्नुपर्छ । कुल लगानीमा प्राप्त हुने वास्तविक प्रतिफल नै डिभिडेन्ड यिल्ड हो । प्रतिफल दर लाभांशमा निर्भर रहे पनि लगानीकर्ताले लगानी निर्णय गर्दा लगानीमा प्राप्त हुने वास्तविक प्रतिफलको दरलाई ध्यान दिनुपर्छ ।

लाभांश र प्रतिफल दर के हो ?

(क) लाभांश (डिभिडेन्ड) : कम्पनीको व्यवसायिक गतिविधिबाट सम्पूर्ण खर्च, तिर्नुपर्ने र छुट्याउनुपर्ने रकम (कोष) समेत कटाएर बाँकी लाभमा सेयरधनीको अंश वा हिस्सा नै लाभांश हो । लाभांश बाँडफाँडका लागि तोकिएको बुकक्लोजको मितिसम्म सेयरधारण गरेका सेयरधनीले मात्र लाभांश पाउनयोग्य हुन्छन् । लाभांशका रूपमा वितरणका लागि उपलब्ध मुनाफा रकमबाट सञ्चालक समितिले नियामकीय व्यवस्था (नियामक भएमा) बापत रकम व्यवस्था गरी नगद वा बोनस सेयर वा दुवै किसिमको लाभांश प्रस्ताव भई साधारणसभाबाट पारित भएपश्चात् तोकिएको बमोजिम वितरण गर्छन् । जुनसुकै लाभांश (नगद वा बोनस) मा हाल ५ प्रतिशत लाभकर लाग्छ । सूचीकृत कम्पनीले जारी गरेको लाभांश (नगदमा शर्तसहित र बोनसमा अनिवार्य) पश्चात् एक्सचेन्जले मूल्य समायोजन गर्छ (थप जानकारीका लागि मूल्य समायोजन विधिको अध्ययन गर्नुहोला) ।
धेरैलाइ कम्पनीहरूले बजारमूल्य वा अंकित मूल्यमा लाभांस दिने ज्ञानकाे अभावमा बजारमूल्यमा हिसाव गर्छन्, तर लाभांस सदैव अंकित मूल्यमा दिइन्छ, अर्थात् सूचीकृत प्रायः कम्पनीकाे अंकित मूल्य रू १०० र साेल्टी हाेटलकाे रू. १० हुँदा कम्पनीले १० प्रतिशत लाभांस घाेषणा गरेकाे अवस्थामा प्रति किता १० र साेल्टीकाे हकमा १ हाे । यसमा ५ प्रतिशत लाभांस (नगद र बाेनस) कर कट्टा हुँदा खुद लाभांस (पाउने रकम) कम हुनसक्छ ।
(ख) प्रतिफल दर (डिभिडेन्ड यिल्ड) : लाभांश कम्पनीले अंकित मूल्यका आधारमा गणना र वितरण गर्छ । तर, अंकित मूल्यमा नै सेयर किनेका वा विभिन्न समयमा धितोपत्र बजारबाट सेयर किनेका प्रत्येक लगानीकर्ता मात्र होइन, एकै लगानीकर्ताको पनि प्रत्येक कारोबार र धारण गरेको अवधिअनुसार प्रतिसेयर खुद वा औसत लागत फरक हुन सक्छ । यसरी फरक लागत र समान लाभांश दरले प्रत्येक लगानीकर्ताको खुद वा औसत लगानीमा प्राप्त हुने प्रतिफलको दर फरक पर्छ । वास्तविक लागतको आधारमा प्राप्त प्रतिफल प्रतिशत वा प्रतिसेयर प्रतिफल नै लगानीकर्ताको लगानीमा प्रतिफल दर (डिभिडेन्ड यिल्ड हो । प्रत्येक कारोबार वा कुल लगानीको वा औसत लागतका आधारमा प्रतिफल दर गणना गर्न सकिन्छ । (क) कुल लाभांश (नगद + बोनस सेयर कित्ता गुणा अंकित वा बजार मूल्य)-कुल लगानी गुणा १००, (ख) प्रति सेयर लाभांश-प्रतिकित्ता औसत लागत गुणा १००, र (ग) प्रतिसेयर लाभांश-प्रतिकित्ता लागत गुणा १०० सूत्र प्रयोग गरेर प्रतिफल प्रतिशत वा दर निकाल्न सकिन्छ । त्यसैले प्रतिफल दर गणना वा विश्लेषणका लागि लगानीकर्ताले कुल लागतका आधारमा प्रतिकित्ता औसत लागत वा प्रत्येक कारोबारको प्रतिकित्ता लागत निकाल्नुपर्छ । उदाहरणका लागि रामले एनएमबी बैंकको १ सय कित्ता सेयर एफपिओबाट प्रतिकित्ता रु. ३ सय ३३ का दरले ३३ हजार ३ सय रुपैयाँमा किन्यो र पछि पुन: केही कित्ता बजारबाट रु. ३ सय ७५ (सबै कमिसन समेत) का दरले रु. ३७ हजार ५ सय रुपैयाँमा थप १०० कित्ता किन्यो । मानौं, बैंकले आव ०७४-७५ का लागि बोनस सेयर १० प्रतिशत र नगद २० प्रतिशतसमेत ३० प्रतिशतका दरले लाभांश दियो भने उसको प्रतिफल दर निम्नअनुसार हुनेछ ।
खरिद
किता
कुल लागत
लाभांस (रकम)
प्रतिफल दर (%)
एफपिओ
१००
३३,३००
,०००
९.०९
बजारबाट
१००
३७,५००
,०००
८.००
औसत
२००
७०,८००
,०००
८.४७
उदाहरणअनुसार रामले एनएमबी बैंकबाट ३० प्रतिशत नै लाभांशमा पाउँदासमेत एफपिओमा ९.०९, बजारबाट किनेकोमा ८ र औसतमा ८.४७ प्रतिशत गरी फरक दरमा प्रतिफल पाएको देखिन्छ । बोनस सेयरको लाभ रकम गणना कसरी गर्ने त्यो आफैंमा निर्भर हुन्छ । यहाँ बोनसमा प्राप्त १० प्रतिशत सेयर अर्थात् २० कित्तालाई कम्पनीको अंकित मूल्यमा गणना गरिएको छ । लाभांशपश्चात् सेयरधनीको सेयर कित्ता बढे पनि बोनस सेयरपश्चात् सेयर मूल्य समयाेजन हुने र बजारको तत्कालीन मूल्य हेर्ने हो भने बोनस सेयरबाट तत्कालका लागि लाभ भने नहुन पनि सक्छ।

अंकित मूल्यभन्दा बढि अर्थात् प्रिमियममा अाइपिअाे वा एफपिअाे जारी गरेका कम्पनीहरूले समेत लाभांस अंकित मूल्यमा नै दिने हुँदा प्राथमिक बजारमा खरिदमा समेत प्रतिफल दर फरक हुन्छ ।

बैंकहरूकाे लाभांश र प्रतिफल दर

हाल नेप्सेमा सूचीकृत २७ र सूचीकरण नभएको राष्ट्रिय वाणिज्य बैंकसमेत कुल २८ बैंकहरू सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेकामध्ये २४ वटा बैंकले गत आव ०७४-७५ मा औसत १५.५२ प्रतिशतका दरले लाभांश प्रस्ताव गरेका छन् । यहाँ लाभांश घोषणा गरेका बैंकहरूको प्रतिसेयर लाभांशलाई बुक क्लोज मितिको अघिल्लो दिनको अन्तिम कारोबार मूल्य र बुक क्लोज नभएका बैंकको हकमा हालैको अन्तिम कारोबार मूल्यलाई प्रतिकित्ता लागत मानेर बैंकहरूको प्रतिकित्ता प्रतिफल दर हिसाब गरिएको छ ।

अाव ७४७५ काे प्रतिशेयर अाय, लाभांस र प्रतिफल दर
बैंक
आव २०७४/७५ को आम्दानी
लाभांस (प्रतिशतमा)
बुक क्लोज वा अन्तिम मूल्य (रु.)
प्रतिफल दर (%)
बोनस
नगद
कुल
नेपाल इन्भेष्टमेन्ट
३८.७०
१८.००
२२.००
४०.००
६८१
५.८७
नविल
५०.४१
१२.००
२२.००
३४.००
७९५
४.२८
एनएमबी
३१.२६
१०.००
२०.००
३०.००
३८७
७.७५
बैंक अफ काठमान्डू
२१.८४
१४.००
११.००
२५.००
३२९
७.६०
कृषि विकास
३९.३६
६.००
१५.०५
२१.०५
३३३
६.३२
एभरेष्ट
३४.७०
०.००
२०.००
२०.००
५४१
३.७०
स्ट्याण्डर्ड चार्टड
२७.६०
०.००
१७.५०
१७.५०
६०८
२.८८
ग्लोबल आइएमई
२२.३०
१६.००
१६.००
३२४
४.९४
प्राइम कमर्सियल
२३.५५
१६.००
१६.००
३१२
५.१३
हिमालयन
३२.८१
५.००
१०.७९
१५.७९
५२०
३.०४
नेपाल एसबिआई
२३.३२
५.००
१०.७९
१५.७९
४२४
३.७२
सानिमा
२३.३३
०.००
१४.००
१४.००
३१८
४.४०
सिद्धार्थ
२९.०६
५.००
८.१६
१३.१६
३२५
४.०५
सनराइज
१६.०९
०.००
११.५०
११.५०
२३७
४.८५
नेपाल बंगलादेश
१५.७०
०.००
१०.५३
१०.५३
२०७
५.०९
एनआईसी एसिया
१८.९४
१०.००
०.५३
१०.५३
४०९
२.५७
माछापुच्छ्रे
१६.४१
०.००
१०.००
१०.००
२१६
४.६३
लक्ष्मी
१५.००
८.५०
०.४५
८.९५
२२०
४.०७
जनता
१२.६०
०.००
८.५०
८.५०
१८४
४.६२
कुमारी
१३.९८
८.५०
८.५०
८.५०
२३५
३.६२
प्रभु
१६.२५
८.००
०.४०
८.४०
२२७
३.७०
मेगा
१६.१६
१.००
६.८५
७.८५
१८२
४.३१
सिटिजन्स
१५.८६
१.६४
३.६३
५.२६
२१८
२.४१
सिभिल
१२.२०
०.००
४.०५
४.०५
१५२
२.६६
नेपाल
३७.४८





नेपाल क्रेडिट एण्ड कमर्स
२६.५१





सेञ्चुरी
११.५१





राष्ट्रिय बाणिज्य
५४.४१





औसत
२४.९७
६.०३
९.९०
१५.५२

४.४३

लाभांश घोषणा गरेका २४ बैंकमध्ये नेपाल इन्भेस्टमेन्टले सबैभन्दा बढी ४० प्रतिशत र कम सिभिलले ४.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांशमा घोषणामा नेपाल इन्भेस्टमेन्ट र नविल अब्बल देखिए पनि करिब ७.७५ प्रतिशतको प्रतिफलसहित गुणात्मक रूपमा एनएमबिले सबैलाई उछिनेको छ । सामान्यत: लगानीमा ५ प्रतिशतभन्दा बढी औसत प्रतिफल प्राप्त हुनुपर्ने मान्यता राख्ने हो भने आव ०७४-७५ मा एनएमबिसँगै बैंक अफ काठमाण्डू, कृषि, नेपाल इन्भेस्टमेन्ट, प्राइम र नेपाल बंगलादेश बैंकले मात्र लगानीमा ५.०९ देखि ७.७५ प्रतिशतका दरले सन्तोषजनक प्रतिफल दिएको देखिन्छ । यस्तै १६ प्रतिशत बोनस सेयर लाभांश दिएको ग्लोबल समेत ९ बैंकले ४.०५ देखि ४.९४ प्रतिशत तथा नेपाल एसबिआई बैंकसमेत ५ बैंकले ३.०४ देखि ३.७२ प्रतिशत हाराहारी प्रतिफल देखिन्छ । स्ट्यान्डर्ड चार्टर, सिभिल, एनआईसी एसिया र सिटिजन्सको प्रतिफल दर २.४१ देखि २.८८ प्रतिशत मात्र रह्यो । कुमारी, सिभिल र एनसिसि बैंकले आव ०७३-७४ को समेत लाभांश दिन बाँकी रहेको अवस्थामा हाल ती बैंकहरूको सेयर खरिद गर्ने लगानीकर्ताहरूको वास्तविक प्रतिफल दर बढी हुने सम्भावना छ ।

निचोड

लगानी निर्णय लिँदा आधारभूत वित्तीय सूचकहरूको अतिरिक्त लाभांश र वास्तविक प्रतिफल दरमा समेत ध्यान दिनुपर्छ । उच्च लाभांश दिने कम्पनीको प्रतिकित्ता लागत समेत बढी हुँदा वास्तविक प्रतिफल कम हुन सक्ने यथार्थतालाई ध्यान दिई लगानी गर्दा सम्भावित लाभांश र लागतका आधारमा प्रतिफल दरको विश्लेषण गर्नु बुद्धिमानी हुन्छ । आव ०७४-७५ को लाभांश हेर्दा नेपाल इन्भेस्टमेन्ट, एनएमबि र बैंक अफ काठमाण्डूले पुँजीगत जगेडा प्रयोग गरी प्रतिसेयर आम्दानीको तुलनामा बढी लाभांश दिएको देखिएको छ भने लाभांशमा नेपाल इन्भेस्टमेन्ट अब्बल भए पनि एनएमबी बैंकबाट लगानीकर्ताले बढी प्रतिफल पाएको देखिन्छ । तसर्थ, लाभांश र प्रतिफल दर पूर्वानुमान गर्दा यस्ता पुँजीगत जगेडा रकम, अघिल्लो वर्षको सञ्चित मुनाफा र चालू आवको मुनाफालाई समेतलाई ध्यान दिनुपर्छ । सामान्यतया पुँजीगत जगेडा रकममा सेयर प्रिमियम, पुँजी फिर्ता कोष जस्ता रकम पर्छन् । यस्तै, एनएफआरएस विधिसँगै बैंकहरूको विभिन्न किसिमको मुनाफा देखिने अवस्थामा खुदमुनाफा वा वितरणयोग्य मुनाफालाई चलाखीपूर्वक हेर्नुपर्छ ।

यहाँबाट २०७८ असाेज ७ गते थपिएकाे 
२०७६–७७ काे बैंकहरूकाे लाभांस र प्रतिफल दर

प्रतिफल वास्तवमा लागतमा निर्भर हुन्छ । त्यसैले समान लाभांसमा पनि हरेक लगानीकर्ताको प्रतिफल दर (Return on Investment)  फरक हुनेछ । अझ प्रत्येक कारोवारमा बजारमूल्य परिवर्तन भइरहने अवस्थामा एउटा सूचीकृत कम्पनीको प्रतिफल दर (आरओआई) कति भन्न सकिन्न, तर सामान्यीकरणका लागि बुकक्लोजमा कायम मूल्यलाई आधार बनाएर आरओई निकाल्ने उपयुक्त विकल्प हुनसक्छ । आर्थिक वर्ष २०७६–७७ मा बैंकहरुले बाँडेको औसतमा १३.९७ प्रतिशत लाभांसबाट बुकक्लोजका आधारमा औसत प्रतिफल ३.२१ हाराहारी देखिन्छ ।

Bank Dividend for FY 7677and Yield at Book-close Price 

Bank

Dividend and Yield

Book close
price

Book close
date

AGM date

Cash

Stock

Total

Yield

BOKL

3.00

13.00

16.00

5.41%

296

28.07.77

15.08.77

MEGA

3.05

10.00

13.05

4.75%

275

17.09.77

29.09.77

KBL

3.15

10.85

14.00

4.62%

303

15.08.77

29.08.77

GBIME

2.00

14.00

16.00

4.57%

350

15.09.77

29.09.77

CZBIL

3.00

8.00

11.00

4.38%

251

11.08.77

20.08.77

NBL

4.00

12.00

16.00

4.31%

371

16.09.77

29.09.77

MBL

3.37

7.03

10.40

4.19%

248

30.06.77

02.09.77

LBL

2.50

9.00

11.50

4.02%

286

17.09.77

28.09.77

SANIMA

3.60

10.00

13.60

3.99%

341

17.07.77

28.07.77

NMB

3.20

13.00

16.20

3.79%

427

16.09.77

29.09.77

CBL

0.42

8.00

8.42

3.63%

232

23.10.77

09.11.77

CCBL

2.25

5.25

7.50

3.59%

209

16.09.77

29.09.77

NIB

5.50

13.00

18.50

3.43%

540

22.09.77

08.10.77

SRBL

2.48

5.80

8.28

3.27%

253

07.09.77

24.09.77

ADBL

0.79

15.00

15.79

3.24%

488

15.09.77

29.09.77

PCBL

-

15.00

15.00

3.21%

468

20.09.77

29.09.77

SBL

3.00

12.00

15.00

3.18%

472

28.09.77

16.10.77

NBB

2.42

6.00

8.42

3.18%

265

10.09.77

26.09.77

HBL

6.00

14.00

20.00

3.13%

639

14.09.77

27.09.77

NCCB

0.54

10.27

10.81

3.03%

357

21.09.77

09.10.77

NICA

1.00

19.00

20.00

2.87%

697

10.08.77

21.08.77

PRVU

0.53

10.00

10.53

2.81%

375

10.09.77

26.09.77

NABIL

1.76

33.50

35.26

2.54%

1,386

15.09.77

29.09.77

SBI

3.47

6.00

9.47

2.32%

408

15.09.77

28.09.77

SCB

4.84

7.00

11.84

1.81%

655

09.09.77

24.09.77

EBL

5.53

5.00

10.53

1.47%

715

10.09.77

27.09.77

Average

2.75

11.22

13.97

3.49%

434.88


अर्को झुकिनु नहुने कुरा, बैकहरुले भन्ने इक्विटीमा प्रतिफल दर (Return on Equity – आरओई) र आरओआई फरक हो । कतिपयले लगानी निर्णयका लागि आरओईको हेर्नुपर्ने कुरामा जोड दिँदै गर्दा त्यसले कम्पनीको इक्विटीमा प्रतिफलको मात्र कुरा गर्ने तर लगानीकर्ताले बजारबाट खरिद धितोपत्र÷शेयरको लागत र लगानी फरक हुँदा कम्पनीको प्रतिफल दरसँग मेल नखाने बिर्सिन्छौं । तसर्थ, लगानीकर्ताले कम्पनीको लाभांस र आरओईभन्दा आफ्नो लागत र लागतकाका आधारमा प्रतिफलमा ध्यान दिनुपर्छ । २०७६–७७ मा बुकक्लोज मूल्यका आधारमा सिद्धार्थ बैकको लाभांस १५ प्रतिशतबाट प्रतिफल दर ३.१८ प्रतिशत देखिन्छ, तर सोही बैंकको अर्का लगानीकर्ताको औसत लागत रु. ३३५ भए प्रतिफल दर ४.४७ प्रतिशत हुनेछ ।

हालै सानिमा बैंकले प्रस्ताव गरेको १७.८९ प्रतिशत लाभांस र उसको आरओई करिव १२.३४ प्रतिशत छ । यस्तै, प्रचलित कारोवार मूल्य रु. ५२८ को आधारमा प्रस्तावित लाभांसबाट लगानीकर्ताको प्रतिफल केवल ३.३८ प्रतिशत हुन्छ, जसलाई बजार मूल्यमा प्रतिफल मान्न सकिन्छ । सानिमा बैंककै एक लगानीकर्ताको औसत लागत रु. ३८२ भए प्रतिफल दर ४.६८ हुनेछ ।

यहाँ बोनसलाई प्रतिफलमा कसरी गणना गर्ने भन्ने विवादित फरक धारणा हुनसक्छ । कतिपयले बोनसमा बजार मूल्य समायोजन हुने कारण शूल्य लाभांस मानेर प्रतिफल समेत शून्य हो कि भन्ने गरेका छन् । केहिले बोनसको दर समायोजित मूल्यले हिसाव गर्ने भन्छन् । यसमा लगानीकर्ताले विवेक प्रयोग गर्नु उपयुक्त हुन्छ । सहजताका लागि कम्पनीको लाभांस दरबाट प्रतिफल दर निकाल्नु उपयुक्त विकल्प हुनसक्छ । 

थप जानकारीका लागि 

काराेवार दैनिकमा २०७५ फागुन २६ गते प्रकाशित, https://karobardaily.com/news/idea/17071
Revised/updated 24 September 2021, NST 11.28