Wednesday, January 11, 2017

अर्थमन्त्री र गभर्नरज्यू, कति छ बजारमा पैसा स्पष्ट पारिदिनुपर्यो

काठमाडौं : अर्थमन्त्री र गभर्नरज्यू, केही महिना अघिसम्म निक्षेपमा २–४ प्रतिशत ब्याज पाउन पनि ग्राहकले रोइकराइ गर्नुपरेकामा अहिले बैंकहरूले ११.११% सम्म ब्याज घोषणा गर्न थालेका छन् । बचतकर्ता वा ब्याजबाट जीवन निर्वाह गर्नेका लागि यो सुखद् खबर अनि राम्रो अवसर हुनसक्छ । तर सात प्रतिशत हाराहारीमा ऋण लिएर उद्योग व्यवसाय तथा कारोबार गर्नेहरूले अहिले १० प्रतिशत भन्दा बढीको ब्याज कसरी व्यवस्थापन गर्ने ? अनि, त्यसले अर्थतन्त्रमा कस्तो असर पर्नेछ, यसतर्फ विशेष गरी अर्थमन्त्री र गभर्नरलगायतका सरोकारवालाले पक्कै राम्ररी बुझ्नुपर्ने हो । १० प्रतिशतभन्दा बढी ब्याजदर ठीक होइन कि भन्ने मेरो बुझाइ हो ।

ब्याजदर वृद्धिको मुख्य कारण अहिले तरलता अभावलाई औंल्याइएको छ । बैंकहरू बचत बढ्न नसकेको र ऋणको माग निकै बढी भएकाले लगानीयोग्य पुँजीको अभावमा ब्याज बढाउन बाध्य भएको बताइरहेका छन् । हुन् त बैंक तथा वित्तीय संस्थाले आफूसँग उपलब्ध बचतको निश्चित प्रतिशत अर्थात करिब ८० प्रतिशतमात्र लगानी गर्न सक्छन् । अनि प्रायःले अहिले त्यस सीमाको आसपास ऋण लगानी गरिसकेका छन् । यस्तो अवस्थामा उनीहरुले या त ऋण लगानी रोक्नुपर्ने वा महँगोमा भए पनि बचत लिनुपर्ने बाध्यात्मक अवस्थामा छन् । प्रायः बैंक तथा वित्तीय संस्थाले अहिलेको अवस्थामा ऋण प्रवाह नै बन्द गरेका छन् भने केहीले निकै महँगोमा बचत संकलन गरेर ऋण प्रवाह गरेका छन् ।

बचतकर्तालाई यसको सकारात्मक प्रभाव भएता पनि समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्छ कि भन्ने पनि आशंका रहेको छ । एकातिर ऋण पाउन नसकिएको अवस्था र लिएको ऋणमा समेत निकै बढी व्याज तिर्नुपर्दा व्यापारव्यवसाय, उद्योग र लगानीको लागत निकै बढ्नेछ भने अर्कोतर्फ अहिलेकै अवस्था विद्यमान रहेमा महँगो व्याजमा समेत ऋण नपाइने आशंका बढ्न थालेको छ । यसले गर्दा लगानी योजना जोखिममा पर्ने अवस्था छ । बजारमा तरलता समस्याको सिकार अरू क्षेत्रभन्दा पुँजी बजार बढी भएको छ । बढ्दो ब्याजदरका कारण पुँजी बजारबाट रकम बैंक बचतमा फर्किन थाल्दा झन् समस्या भएको छ ।

हकप्रद, बोनस र एफपीओले बढेको सेयरको आपूर्ति थप बढेर मूल्य घटाउन सघाएको छ भने अर्कोतिर सेयर मूल्य घट्दा सेयर धितो कर्जा उपभोग गरिरहेका लगानीकर्ता र कारोबारीले थप सेयर धितो राख्ने वा कर्जा चुक्ता गर्ने भन्ने दुविधामा पर्न थालेका छन ।् जसले थप सेयर दिएर भए पनि कर्जा उपभोग गर्ने जमर्को गरेका छन् उनीहरू महँगो ब्याजको सिकार भएका छन् । यसर्थ, अहिले अर्थतन्त्रको ऐना मानिने पुँजी बजार बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको मारमा परेका छन् ।

हामीले थप नबुझेको बजारमा तरलताको अवस्था हो । नेपाल राष्ट्र बैंक तरलता समस्या छैन, बैंक तथा वित्तीय संस्थामा अझै ५० अर्बभन्दा बढी लगानीयोग्य रकम छ भनिरहेको छ । अर्कोतिर बैंकहरू भने लगानी गर्ने रकम नभएको जिकिर गरिरहेका छन् । यस्ता परस्पर विरोधी भनाईले लगानीकर्ता झन् अन्योलमा परेका छन् । चारपाँच वर्ष पहिले पनि सरकारले धेरै रकम ढुकुटीमा थन्क्याउँदा बजारमा अहिलेको भन्दा बढी नगदको हाहाकार भएको थियो । हो, त्यो बेलाको परिस्थिति अहिले भन्दा नाजुक थियो, राष्ट्र बैंकले समेत आवश्यकता अनुसार नगद उपलब्ध गराउन सकेको थिएन ।

हामीले बचतमा भएको रकम पाउनसमेत कठिन थियो । मुद्दति र बचतमा १२ प्रतिशतभन्दा बढी ब्याज थियो भने बैंकले कल खातामा समेत १० प्रतिशतमाथि ब्याज दिन्थे । त्यसैले (अर्थमन्त्री, गभर्नरलगायत सरोकारवाला) समयमा नै तरलताको यथार्थ अवस्था पत्ता लगाएर आवश्यक जानकारी र नियमन नगर्ने हो भने अवस्था झन् भयावह हुन सक्ने देखिन्छ । यसैसन्दर्भमा राष्ट्र बैंकले रिपो जारी गरेर केही रकम बजारमा पठाउने प्रयास नगरेको पनि होइन, तर यो सुविधा उपभोग निकै कम बैंक तथा वित्तिय संस्थाले मात्र गरे ।

तर यसले समस्या समाधानको कुनै संकेतसम्म नहुनु बरु तरलता वा लगानीयोग्य पुँजी अभावको त्रास झन् गहिरो हुँदै गएको देखिन्छ । हाम्रो बुझाईमा राष्ट्र बैंकले अपनाएको उपाय विद्यमान समस्या समाधानका लागि अनुपयुक्त रहेको वा बैंकहरूले संस्थागत स्वार्थका कारण उपलब्ध विकल्प स्वीकार नगरेको जस्तो देखिन्छ । बैंकहरूकै भनाईलाई आधार मान्ने हो भने राष्ट्र बैंकले उपलब्ध गराएको रिपोको रकम बचतका रुपमा गणना गर्न नपाइने वा बचत र ऋणको अनुपात (सिडि रेसियो) व्यवस्थापनमा गणना गर्न नपाइने हुँदा लगानी क्षमता वृद्धिमा सहयोग पुग्दैन ।

यदि यो साँचो हो भने राष्ट्र बैंकले अनिवार्य नगद मौज्दातको प्रतिशत वा सिडि रेसियोमा आवश्यक पुनरावलोकन गरेर भएपनि विद्यमान असहजता र अन्योल चिर्नै पर्दछ । अन्यथा अर्थतन्त्र र त्यसका अंगहरू विशेषगरी पुँजी बजार, उद्योगव्यवसाय, व्यापार सबै प्रभावित भएर नकारात्मक दिशातर्फ लाग्न सक्छ । अन्तमा, नेपाल राष्ट्र बैंक वा तालुक अर्थ मन्त्रालयले समग्र अर्थतन्त्र र बजार सन्तुलनका लागि नेपालका बैंक तथा वित्तीय संस्थाको बचत, ऋण लगानी, थप लगानी क्षमता, तरलताको अवस्था सम्बन्धमा विस्तृत अध्ययन गरेर उपयुक्त उपायको पहिचान तथा कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।

Published on Nepalipaisa online on 11 Jan 2017
Source: http://nepalipaisa.com/NewsDetail.aspx///id/15506

Monday, January 2, 2017

म्युचुअल फन्ड कम्पनीले चाहेमा बजारको गति परिवर्तन गर्न सक्छन्, तर किन हुँदैछन् गुमनाम

मंसिरदेखि ओरालो लागेको सेयर बजार पुसको १३ गतदेखि बल्ल केही थामिएको अवस्था छ । हुनतः अझै पनि ढुक्क हुने अवस्था छैन तर बजारको स्वभावले केही आशा भने पक्कै जगाएको छ । मंसिर १ गते १६९९ विन्दुमा रहेको नेप्से सूचक १४०० मुनिसम्म झरेर अहिले फेरि १४८० अंक माथि आइपुगेको छ । यस अवधिमा धेरै लगानीकर्ताले विविध कारणले परलमूल्य भन्दा कममा सेयर बेचेर करोडौं रूपैयाँ घाटा व्यहोरेका होलान भने केहीले किनबेच गरेर सेयर कित्ता बढाएका हुन सक्छन् । लगानी गरेर सम्पत्ति बढाउन (वेल्थ माक्सिमाइजेस) को उद्देश्य राखेका लगानीकर्ताले घट्दो बजारमा सस्तोमा राम्रा कम्पनीको सेयर खरिद गरेर पक्कै पनि भविष्यको लागि मुनाफा र धनआर्जनको सुनिश्चितता गरेका होलान् । कारोबारीलाई भने यो समय निकै कठिन भएको हुनसक्छ । तैपनि टाठाबाठाले केही कमाएका पनि होलान् । 

लगानीकर्ता हुन् वा कारोबारी जसले सेयर सञ्चित (होल्ड) गरेर बसेका छन्, उनीहरुमध्ये धेरै कमको मात्र पोर्टफोलियो हरियो बाँकी होला नभए धेरैको अवस्था कति प्रतिशतले रातो भन्ने नै हो । यसरी सेयर सञ्चित गर्ने लगानीकर्ता वा कारोबारीको अहिलेको समस्या भनेको बेचौं निकै घाटा हुन्छ र सामान्यतः लगानी वा कारोबार घाटा खान गरिँदैन्, थप किनौं भने पैसा छैन । ऋण नै लिउँ भने पनि सेयरको मूल्य घटेकाले मात्र होइन बैंकमा भनिएको तरलता अभावले सहज ऋण पाउन निकै मुस्किल छ । त्यसैले कारोबारीले अब बजार बढ्ने अवस्था पर्खिनुको विकल्प छैन । थप लगानी गर्न चाहनेले अनौपचारिक क्षेत्रबाट ऋण लिने वा बजार केही बढेपछि वा तरलतामा केही सहज भएपछि बैंकबाट थप ऋण लिनुपर्ने अवस्था छ ।

यी त भए सामान्य लगानीकर्ता वा कारोबारीको अवस्था, तर अहिले बजारमा विद्यमान म्युचुअल फन्डको अवस्था के कस्तो होला त ? धेरैको जिज्ञासाको विषय पनि यही देखिन्छ । किनभने यिनीहरुसँग लगानीका लागि ठूलो रकमको साथै प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) मा आरक्षणका साथै कारोबारमा समेत छुट पाउँदै आएका छन् । म्युचुअल फन्डहरू बजारबाट सानोसानो रकम संकलन गरी विभिन्न प्रकारका लगानी उपकरणमा लगानी गरेर लगानीकर्ताको सम्पत्ति बढाउने उद्देश्य सहित स्थापित भएका हुन् । यिनीहरू विशेषगरी थोरै रकम भएका तर सेयरमा सीधै लगानी गर्न असमर्थ साना लगानीकर्ता लक्षित हुन्छन् । यिनीहरुले लगानी गर्ने भनेको सेयर, डिबेन्चर÷ऋणपत्र, मुद्दतिमा बचत वा अन्य सम्पत्ति नै हुन् । यिनीहरू सदैव उपलब्ध रकमको उच्चतम प्रतिफल आउने गरी लगानी गर्न लागिपर्छन् । 

यी कम्पनीहरूले प्रकाशित गरेको मंसिर मसान्तको विवरण हेर्दा विद्यमान म्युचुअल फन्डहरूको बैंक मौज्दात हेर्दा लगानी गर्न डराएका वा जोखिम लिन नचाहेका हुन् कि जस्तो पनि देखिन्छ । भर्खरै बजारमा आएकाले नबिल इक्विटी फन्डसँग सबैभन्दा बढी ९४.४७ करोड रुपैयाँ बैंकमा छ, जुन स्वभाविकै पनि हुन सक्छ । तर पुरानामध्ये सबैभन्दा बढी नबिल व्यालेन्स फन्ड १ ले करिव ४६.४७ करोड रुपैयाँ र सबैभन्दा कम लक्ष्मी भ्यालु फन्डले करिब १५ करोड रूपैयाँ बैंकमा निक्षेप राखेको छ ।

अहिले बजारमा रहेका सबै म्युचुअल फन्डहरुले गरी लगानीकर्ताबाट कुल ६ अर्ब ५० करोड रूपैयाँ संकलन गरेका छन् । यी कोषमध्ये करिब ३१८.९६ करोड रुपैयाँ (जोखिम व्यवस्थापनका लागि आवश्यक तरलता समेत) अर्थात् औसत करिब ५८.७६% रकम बैकको वचत खातामा रहेको छ (हेरौं तालिका १) । यसरी बैंकको वचत खाताको साथै यिनीहरुले उल्लेख्य रकम मुद्दति खातामा समेत राखेका छन् । लगानी व्यवस्थापनका हिसाबले कोषको निश्चित प्रतिशत न्यूनतम प्रतिफल आउने गरी मुद्दतिमा राख्नुलाई केही हदसम्म ठीकै मान्न सकिएला तर ५८% हाराहारी रकम बचत खातामा थन्क्याउनुलाई कति जायज मान्न मिल्ला ?

तालिका १ : हाल सञ्चालनमा रहेका म्युचुअल फन्डहरू, तिनको कोषको आकार र बैंकमा मौज्दात (मुद्दति बाहेक)

अहिले कायम म्युचुअल फन्डहरुमध्ये मंसिर मसान्तमा प्रतिइकाई खुद सम्पत्तिको मूल्य सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ को २५.३७ रुपैयाँ र सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत योजना १ को ९.३४ रुपैयाँ रहेको छ । यिनीहरुको औसत प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५.४० रुपैयाँ रहेको छ । (हेरौं तालिका २) 

तालिका २ : मंसिर मसान्तमा म्युचुअल फन्डहरूको प्रतिइकाई खुद सम्पत्तिको मूल्य


हुनतः गत कात्तिकको प्रतिइकाई खुद सम्पत्तिको मूल्य सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको २८.४१ रुपैयाँ र सबैभन्दा कम नबिल इक्विटी फन्डको ९.८१ रुपैयाँ थियो । ( पढौं तालिका ३) ।

तालिका ३ : मंसिर मसान्त र कात्तिक मसान्तको प्रतिइकाई खुद सम्पत्तिको मूल्यको तुलनात्मक अवस्था

गत पुस १४ वा १३ गते कारोबार भएको मूल्यको आधारमा यी म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पत्तिको मूल्यलाई तुलना गरेर हेर्ने हो भने सबैभन्दा बढी नबिल ब्यालेन्स फन्ड १ को ११.२५% ले र सबैभन्दा कम नबिल इक्विटी फन्डको ०.८१ % ले घटेको देखिन्छ । कात्तिकको तुलनामा मंसिरमा औसतमा ८.८९% ले म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य घटेको छ । यदि म्युचुअल फन्डमा लगानी गर्ने हो भने लगानीका दृष्टिकोणले कुन चाहिँ बढी फाइदाजनक होला त ? यसको लागि बजार मूल्य र प्रतिइकाई खुद सम्पत्तिको मूल्यको तुलनामा बढी छुट भएको तुलनात्मक रुपमा बढी फाइदाजनक हुन्छ ।

उपलब्ध सातमध्ये सबैभन्दा बढी बजार मूल्य सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ को २३.७२ रुपैयाँ र सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत योजना १ को १०.३० रुपैयाँ रहेको छ । तर प्रतिइकाई खुद सम्पत्तिको मूल्यको तुलनामा १८.११ % कम बजार मूल्यको आधारमा सिद्धार्थ इक्विटी ओरियन्टेड फन्ड सबैभन्दा सस्तो वा लगानीको पहिलो प्राथमिकतामा रहेको छ भने सबैभन्दा महँगो १०.२८ % बढी बजार मूल्यको साथ ग्लोबल आईएमई समुन्नत योजना १ रहेको छ ।

तालिका ४ : मंसिर मसान्तको प्रति इकाई खुद सम्पत्तिको मूल्य र बजार मूल्यको तुलनात्मक अवस्था


निष्कर्षमा के भन्न सकिन्छ भने म्युचुअल फन्डहरुले पनि लगानीकर्ता वा कारोबारीको रुपमा लगानी र मुनाफा गर्ने हुन् र उनीहरुको पनि मुख्य लगानीको क्षेत्र भनेको सेयर त्यो पनि दोस्रो बजारमा खरिदबिक्री नै हो भन्ने प्रस्ट हुन्छ । तुलनात्मकरूपमा आमलगानीकर्ता वा कारोबारीको तुलनामा उनीहरुसँग तुलनात्मक रुपमा ठूलो कोष हुने अनि नियमित ठूलो रकमको कारोबार गर्न सक्ने हुँदा सेयर दलालको प्राथमिकतामा पर्ने गरेको देखिन्छ । यस्ता कम्पनीको पहुँच ठूलो हुने तथा कानुनी रुपमा समेत केही सुविधा प्राप्त गरेकाले कारोबारमा सहज र कम मूल्य पर्ने निश्चित छ ।

यसकारण पनि बजारमा यिनीहरुको महत्वपूर्ण र हस्तक्षेपकारी भूमिका रहनेमा दुईमत छैन । यिनीहरुले चाहेमा बजारको धारलाई परिवर्तन गर्न र मार्गनिर्देश गर्न सक्ने अवस्था छ । तर पनि मंसिरदेखि आजसम्म बजारमा देखिएको अनिश्चितता र अप्राकृतिक उतारचढाबलाई नियन्त्रित दिशामा हिँडाउन यिनीहरुको उल्लेख्य भूमिका देखिएको छैन । यतिमात्र होइन, केही म्युचुअल फन्डले धमिलो पानीमा माछा मार्ने प्रवृत्ति देखाएका आवाजसमेत उठनुले म्युचुअल फन्ड कम्पनीहरूप्रति आमलगानीकर्ताको धारणा नकारात्मक हुँदै गएको अवस्था छ । यिनीहरुसँग उपलब्ध कोषको केही हिस्सा मात्र पनि बजारलाई सकारात्मक दिशा दिन परिचालित गरिएको भए बजारले यतिबेला अर्कै उचाइ लिने निश्चित थियो ।

साथै, यी कम्पनीहरूको प्रतिइकाई खुद सम्पत्तिको मूल्य पनि बढ्ने सुनिश्चित थियो । तर दुर्भाग्य यिनीहरुको प्रतिइकाई खुद सम्पत्तिको मूल्य औसतमा १.५० रुपैयाँ अर्थात् ८.८९ % ले घटेको छ । अब पुसको बाँकी आधा महिनामा यिनीहरुले बजारको विकास र विस्तारका लागि के कस्तो भूमिका निर्वाह गर्नेछन् त्यो हेर्न बाँकी नै छ, तर आशा गरौं म्युचुअल फन्ड कम्पनीहरूले पनि जानाजान आफ्नो सम्पत्ति घटाउन अग्रसर हुनेछैनन्

यस्तो छ म्युचुअल फन्डको लगानीसम्बन्धी कानुनी प्रावधान 

परिच्छेद – ८ दफा -३६ , लगानीको सिमा (१) योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा देहाय बमोजिमको सिमा भित्र रहि गर्नु पर्नेछ :
क) कुनै एक संगठित सस्थाको साधारण शेयरमा त्यस सस्थाको कुल चुक्ता पूजीको दश प्रतिशत भन्दा बढी नहुने गरि , 
ख) कुनै एक संगठित सस्थाले निष्कासन गरेको अग्राधिकार शेयर वा डिबेन्चरको बिस प्रतिशत भन्दा बढी नहुने गरि , 
ग) कुनै एक संगठित सस्थाको धितोपत्र योजनाको कुल रकमको दश प्रतिशत भन्दा बढी नहुने गरि, 
घ) अन्य सामुहिक लगानीकोष अन्तर्गतको योजनामा आफ्नो योजनाको बिस प्रतिशत भन्दा बढी नहुने गरि, 
ङ) बैक निक्षेपमा योजनाको कुल सम्पतिको दश प्रतिशत भन्दा बढी नहुने गरि, 
च) मुद्रा बजार उपकरणमा योजनाको कुल सम्पतिको दश प्रतिशत भन्दा बढी नहुने गरि । 

बिस्तृत विवरणको लागि सेबोनको वेबसाइटमा उपलब्ध सामुहिक लगानी कोष नियामावली २०६७ हेर्नु होला |
तथ्यांकहरू सम्बन्धित म्युचुअल फण्डहरूकाे मंसिरमा प्रकासित विवरण र नेप्सेकाे वेबसाइटबाट लिइएकाे हाे ।

Published in Nepali Paisa online on 2 Jan 2017, http://nepalipaisa.com/NewsDetail.aspx///id/15433

Thursday, December 22, 2016

वास्तवमा साइक्लिक बियरिस हो वा सिजनल बियरिस

अहिले सेयर बजार घट्दोक्रममा रहेको छ । यति बेला धेरैको बुझाइमा बजार बियरिस हो की भन्ने आशंका पनि बढ्न थालेको छ । १८८१ पुगेको नेप्से १५०० मुनिसम्म पुग्नु के करेक्सन मात्रै हो त ? धेरैको अनुमान विपरित नेप्सेमा देखिएको यो करेक्सनले शेयर बजारलाई साँच्चिकै अनुमान गर्न नसकिने बजारको रुपमा परिभाषित गरेको छ । त्यसो भए अहिलेको अवस्था के हो अनि अब के गर्ने ? सबै लगानीकर्ता र कारोवारीको मनमा यही प्रश्न उब्जेको छ । अरु लगानीकर्ता जस्तै म पनि सोचनीय अवस्थामा छु र यो वास्तवमा साइक्लिक बियरिस हो वा सिजनल बियरिस ठम्याउन सकेको छैन ।

विगत वर्षहरुमा पनि केही समय बजारले न्यून विन्दु कायम गर्दथ्यो । केही वर्ष अगाडिसम्म फागुन–चैतलाई सेयरको अफ सिजन मानिन्थ्यो र त्यसबेला निकै कममात्र कारोवार हुन्थ्यो । गत वर्ष पनि भदौतिर बजार न्यून विन्दुतिर ओर्लिएको थियो । यो वर्ष दर्शैं अगाडि बजार तल झर्ने धेरैले अनुमान गरेका थिए र बजारमा त्यस्तै किसिमका हल्ला फैलिएको पनि थियो । तर अनुमान विपरित बजारमा सामान्य करेक्सन मात्र भयो । तर तिहारपछि बजार बढ्ने आशामा बसेका लगानीकर्ता र कारोवारी अहिले चकित परेका छन् ।

सबै अनुमान विपरीत बजारले उल्टो चाल चालेको छ । त्यसैले, केहीले यसलाई बजार क्र्यासको अवस्था पनि भन्न थालेका छन्, भने केहीले बियरिस । तर मेरो बुझाइमा यो सिजनल बियरिस मात्र हो । सम्भवतः अबको एक महिना बजार यस्तै न्यून विन्दुमा रहने छ र त्यसपछि पुनः आफ्नै लयमा फर्कनेछ ।

यदि बजारको विगतको चक्रलाई हेर्ने हो भने अहिले बजार बियरिस हुन नपर्ने हो र क्र्यास त झनै होइन । किनभने केही दिन अगाडिसम्म पनि बजार सूचकांक घटेपनि कारोवार रकम राम्रो थियो । लाग्छ, अहिले ठूला र संस्थागत लगानीकर्ताहरु थकाइ मार्न र दसैं अगाडि बुक गरेको मुनाफा व्यवस्थापन गर्नमा नै व्यस्त छन् भने साना तथा मध्यम वर्गका लगानीकर्ता वाध्यताले विक्री गर्ने र सस्तोमा किन्ने होडमा छन् ।
बजार अब के हुन्छ त ?

गत मंसिर २ गतेदेखि बजार असामान्य बनेको पक्कै हो र यो कता गएर स्थिर हुन्छ अनुमान गर्नै नसकिने अवस्थामा पुगको छ । अर्थतन्त्र गत वर्ष भन्दा राम्रो छ तर तरलतामा दबाब आएका कारण बैंकको ब्याजदरमा स्वभाविक वृद्धि देखिँदा सेयर बजारमा त्यसको केही नकारात्मक प्रभाव भने परेकै हो ।

यो सँगै राजनीतिक अवस्थामा आएको अन्योलताले बजारलाई थप नकारात्मक बनाउन केही सहयोग पुगेकै हो । बजारले अहिलेको बुललाई निरन्तरता दिन्छ वा साँच्चिकै बियरिस हुन्छ थाहा पाउन अझै माघसम्म कुर्नुपर्ने हुन्छ ।

यदि माघसम्म पनि नेप्से घट्ने क्रम जारी रहे बजार बियरिस उन्मुख जनाउने छ र माघको दोस्रो साताबाट विस्तारै बजार बढ्न थालेमा भने फेरि अहिलेको बुललाई केही उचाइसम्म पु¥याउने छ ।

के नेप्से १००० तल वा २००० अंक माथि जान्छ ?

अहिले बजारमा दुईथरिका लगानीकर्ता र विश्लेषक देखिएका छन् । विगतमा बजारमा त्यतिधेरै विश्लेषक नहुँदा लगानीकर्ताहरुले आफ्नै अनुभव र सूचनाको आधारमा बियरिस र बुल बजारमा कारोबार गर्दै आएका थिए । अर्को शब्दमा अन्दाज र अनुभव मुख्य औजार थिए ।

तर अहिले प्राविधिक विश्लेषणका सफ्टवेयरमा पहुँच, सचेतनामा वृद्धि, तालिममा पहुँच, सामाजिक सञ्जालको व्यापकता अनि अनलाइन मिडियाले गर्दा सूचना, विश्लेषण र मानिसको तर्क क्षमता धेरै जनासम्म पुगेको छ । यसले एकातिर लगानीकर्ताहरुलाई फाइदा भएको छ भने अर्कोतिर निराशा र आकांक्षा बढाउन पनि केही हदसम्म सघाएको छ ।

यहाँ विचारणीय कुरा के छ भने बजार अझै सामान्य हुन सकेको छैन, सूचकांकमा उतारचढाव मात्रै होइन रकम पनि निकै तलमाथि भइरहेको छ । माग र आपूर्तिको सामान्य सिद्धान्तमात्र होइन लगानीको सामान्य सिद्धान्त विपरीत बजार चल्न खोजेको जस्तो देखिन्छ ।

लगानीकर्ताको एउटा समूह निकै निराश बनेका छन् र बजार क्र्यास भयो, अब खत्तम भयो, हामी सबै जोगी हुने भयौं भन्ने त्रसित भएका छन् भने अर्को समूह बजारमा स्वभाविक करेक्सनका कारण बजार घटेको वा घटाइएको हुँदा बजारले २००० को विन्दु पार गर्नेमा विश्वस्त छन् ।

हुनतः बजार यस्तै विपरीत अपेक्षाहरुले गर्दा नै चल्ने हो तर यस्तो अपेक्षा स्वभाविक र यथार्थपरक हुनुपर्दछ, अन्यथा यसले मानसिक तनावबाहेक केही दिँदैन । मेरो विचारमा अहिलेको बजार विगतको भन्दा निकै कुराले भिन्न छ ।
  • अहिले व्यक्तिगत लगानीकर्तासँगै बजारमा संस्थागत लगानीकर्ताका रुपमा धेरैवटा म्युचुअल फन्ड कम्पनीहरु छन्, जसले बजारलाई १००० अंक भन्दा तल जानबाट रोक्नेछ । यस्तै, बजार निकै फराकिलो भएको छ । 
  • कारोवार सहज भएको छ र धितोपत्र बोर्डले तारिफयोग्य सुधारका कामहरु पनि अगाडि बढाइरहेको छ । लगानीकर्ताहरु निकै सचेत भएका छन् भने ऋणमा पहुँच बढेको छ । यस्ता कारणहरुबाट पनि बजार विगतमा जस्तो ३०० मा पुग्ने वा अहिले भनिए जस्तो १००० मुनि जाने सम्भावना कम रहेको छ । 
  • त्यसोभए बजार २००० अंक माथि पुग्छ त ? होइन हाम्रो अर्थतन्त्र, विगतको तुलनामा बजारमा निकै धेरै सेयर आपूर्ति हुनु, बढ्दो ब्याजदर, बजार चक्रको मध्य अवस्थालगायतले गर्दा अब निकै बढेर २००० पार गर्न केही समय लाग्न सक्छ । यो त्यति सहज छैन । 

त्यसो भए अब के गर्ने त ? 
  • सकिन्छ, माघ–फागुनसम्म कुर्नुहोस् र बजारको वास्तविक गतिलाई पछ्याउने प्रयास गर्नुहोस् । यस कुराइका दौरान नाफासँगै सम्भावित घाटाको लागि पनि मानसिक रुपमा तयार रहनुस् । 
  • सेयर बजारमा आफ्नो लगानी वा कारोवार बारेमा स्पष्ट हुनुहोस् । लगानीकर्ता बन्ने सोच भएमा बजार जति घटेपनि चिन्ता लिन छोडनुस् र लगानी जुटाउन सके थप सेयर खरिद गरी औसत लागत घटाउनुहोस् । कारोवारी भएर तत्काल मुनाफा खोजेको हो भने केही नाफा भएका, तुलनात्मक रुपमा कम घाटा भएका कम्पनी बेचेर धेरै घाटा भएका कम्पनीहरुको सेयरको औसत लागत घटाउनुहोस् । 
  • बैंकहरुबाट ऋण लिइराख्नु भएको छ भने थप सेयर दिएर वा ऋण रकम घटाएर सम्भावित मार्जिन कललाई व्यवस्थापन गर्नुहोस् । 
  • आफूसँग लगानीयोग्य रकम छ भने सानोसानो परिणाममा राम्रा कम्पनीका सेयर किन्न नछोड्नुस् । 
  • बढी जोखिमपूर्ण सेयरमा केही घाटा बुक गरेर भएपनि कम जोखिमपूर्ण सेयरमा सिफ्ट हुनुहोस् । 
  • कारोबारी हुनुहुन्छ भने विस्तारै लगानीकर्ता बन्ने प्रयास गर्नुहोस् । 
  • लगानी गर्दा थप विश्लेषण गरी सम्भावित नाफाघाटालाई आत्मसात गर्न तयार भएर लगानी गर्नुहोस् । 
  • लगानी गर्दा छोटो अवधि होइन, दीर्घकालीन मुनाफालाई ध्यानदिनुस् । अझ सेयरमा गरिने लगानीको वास्तविक प्रतिफल प्राप्त गर्न अन्य व्यवसायको तुलनामा निकै धैर्य र समय लाग्दछ । किनभने व्यवसायमा प्रत्यक्ष संलग्न लगानीकर्ता र व्यवस्थापनसँगै अर्थतन्त्रको गतिमा यसको निर्भरता रहन्छ । 
  • विगत वर्षहरुमा केही कारोबारीहरुले छोटो अवधिमा राम्रो मुनाफा आर्जन गर्नुभयो होला । सोही आधारमा सेयर भनेको छोटो अवधिमा धेरै कमाइ गर्ने ठाउँ हो भनेर मात्र नबुझ्नुस् । 
  • लगानी होस् वा कारोबार न्यायोचित प्रतिफलको अपेक्षा गर्नुहोस् । कसैले प्राप्त गरेको मुनाफा भन्दा लगानीमा आफ्नो अपेक्षा र बजारको सम्भावनालाई ध्यान दिनुहोस् । प्रत्यक्ष सहभागी व्यवसायमा १५–२० प्रतिशत मुनाफा अनि सेयरबजारमा १०० प्रतिशत मुनाफा न्यायोचित नहोला की ?
Published on Nepali Paisa online on 16 Dec 2016, http://nepalipaisa.com/NewsDetail.aspx///id/15316