Wednesday, January 11, 2017

नेपाल लाइफको एफपीओमा कति गुणा बढी आवेदन ? यस्तो भन्छन् बजारका हस्ती

काठमाडौं : नेपाल लाइफको एफपीओ यतिबेला चर्चाको शिखरमा छ । वित्तीय रूपमा निकै सबल यो कम्पनीको एफपीओमा लगानी गर्न सर्वसाधारण आतुर रहेको पनि देखिन्छ । पुस २७ देखि एफपीओ बिक्री खुला हुँदैछ । एक जनाले न्यूनतम १० र अधिकतम ३० हजार ९६० कित्तासम्म आवेदन दिन पाइनेछ । अहिले बजारमा तरलता अभावको हल्ला आइरहेको छ । सेयर बजार घट्दोक्रममा छ । बजार तल झरिरहँदा नेपाल लाइफको पनि भाउ घटेर यतिबेला तीन हजारभन्दा तल कारोबार भइरहेको छ । तर कम्पनीको समग्र अवस्था हेर्दा भने निकै मजुबत अनि आकर्षक देखिन्छ ।

प्रिमियममा प्रतिकित्ता १४ सय २५ रूपैयाँ भाउ राखिएको यो एफपीओमा कति गुणा बढीसम्म आवेदन पर्ला भनेर यतिबेला सर्वसाधारण लगानीकर्ता निकै उत्सुक अनि कौतुहल भइरहेका छन् । बजारमा तरलता साँच्चिकै अभाव हो वा होइन भनेर जाँच्नसमेत यो एफपीओले सहयोग गर्ने देखिन्छ । किन भने बजारबाट कति  अर्ब पैसा यसमा लगानी हुन्छ । त्यस आधारमा वास्तविकता अनुमान गर्न धेरै हदसम्म सहयोग मिल्न सक्छ । यही सेरोफेरोमा रहेर हामीले केही लगानीकर्ता तथा बजारलाई नजिकबाट नियालिरहेकाहरूसँग नेपाल लाइफको एफपीओमा कति गुणासम्म बढी आवेदन पर्ला भनेर सोधेका छौं । हेरौं उनीहरूको भनाई ।  

१० देखि १२ गुणासम्म पर्न सक्छ

छोटेलाल रौनियार, लगानीकर्ता एवं विश्लेषक : नेपाल लाइफको एफपीओमा १० देखि १२ गुणासम्म बढी आवेदन पर्न सक्ने देखिन्छ । यसआधारमा अब दुई महिनाभन्दा बढी अवधिसम्म ४५ अर्बदेखि ५० अर्ब हाराहारी पैसा फ्रिज हुने अवस्था छ । सेयर पर्नेले भने राम्रो लाभ लिन सक्छन् । कम्पनीको वित्तीय अवस्था निकै सबल भएकाले अहिले बजारमा कायम भाउभन्दा त्यति धेरै तल आउला जस्तो लाग्दैन । तर भोलुम ठूलो छ । बजारमा पैसा पनि अलि अभाव भएजस्तो देखिएको छ । यस कारण १० देखि १२ गुणा हाराहारीमा बढी आवेदन पर्ने अनुमान गर्न सकिन्छ । 


१० गुणा हाराहारीमा आवेदन पर्ने देखिन्छ 

अन्जनराज पौड्याल, पूर्वअध्यक्ष, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल : नेपाल लाइफ एफपीओको भोलुम निकै ठूलो छ । तर पछिल्लो समय एफपीओ र आइपीओमा आकर्षण निकै बढेको छ । समता माइक्रोफाइनान्सले पनि यो फेरि प्रमाणित गरेको छ । यस आधारमा नेपाल लाइफको एफपीओमा १० गुणा हाराहारीमा आवेदन पर्न सक्ने देखिन्छ । अहिले बजारमा तरलता अभाव छ । सेयर बजार पनि घट्दोक्रममा छ । यसले गर्दा कतिपय लगानीकर्ता सशंकित भएको अवस्था छ । यी पक्षहरूका बाबजुत १० गुणा चाहिँ पर्छ नै जस्तो लाग्छ । 

१० गुणा बढी पर्छ

बच्चुराम रिमाल, महासचिव, नेपाल इन्भेस्टर्स फोरम : अहिलेको समग्र पक्ष विचार गर्दा नेपाल लाइफको एफपीओमा १० गुणाभन्दा बढीको आवेदन पर्छ जस्तो लाग्छ । कम्पनी राम्रो छ । आधारभूत सबै वित्तीय सूचक मजबुत छन् । बजारमा तरलता अभावको हल्ला पिटाइए पनि वास्तविकरूपा त्यस्तो देखिंदैन । जति तरलता अभाव भने पनि प्राय सबै बैंक तथा वित्तीय संस्था यो एफपीओका लागि पैसा दिन तयार देखिएका छन् । रिपो बिक्री नभएकाले बैंकहरूले मिलेमतोमा ब्याजदर बढाएका हुन जस्तो देखिएको छ । यस आधारमा यो एफपीओमा राम्रै पैसा लगानी हुनेछ । 

१० देखि १२ गुणासम्म पर्छ 

दिलिप मुनंकर्मी, लगानीकर्ता एवं विश्लेषक : बजारको समग्र पक्ष अध्ययन गर्दा नेपाल लाइफको एफपीओमा १० देखि १२ गुणा बढीसम्म आवेदन पर्ने देखिन्छ । यसभन्दा बढी चाहिँ पैसा आउला जस्तो लाग्दैन । किन भने विगतमा चार हजारभन्दा माथि पुगेको यो कम्पनीको भाउ अहिले तीन हजार रूपैयाँभन्दा तल झरेको छ । सेयर बजार पनि घट्दोक्रममा छ । थुप्रै कम्पनीको हकप्रद खुलेको छ । हकप्रदमा खर्च नगरी प्रिमियममा एफपीओ किन्ने अवस्था हुँदैन । अर्कोतिर बजारमा तरलता केही अभाव भएको अवस्था छ । पुस मसान्तमा बैंकको साँवाब्याज भुक्तानी अनि कर तिर्नुपर्ने हुन्छ । यी सबै पक्ष मनन् गर्दा नेपाल लाइफको एफपीओमा १० देखि १२ गुणाभित्रमा आवेदन पर्न सक्छ । 

Published on Nepalipaisa online on 9 Jan 2017
http://nepalipaisa.com/NewsDetail.aspx///id/15489

अर्थमन्त्री र गभर्नरज्यू, कति छ बजारमा पैसा स्पष्ट पारिदिनुपर्यो

काठमाडौं : अर्थमन्त्री र गभर्नरज्यू, केही महिना अघिसम्म निक्षेपमा २–४ प्रतिशत ब्याज पाउन पनि ग्राहकले रोइकराइ गर्नुपरेकामा अहिले बैंकहरूले ११.११% सम्म ब्याज घोषणा गर्न थालेका छन् । बचतकर्ता वा ब्याजबाट जीवन निर्वाह गर्नेका लागि यो सुखद् खबर अनि राम्रो अवसर हुनसक्छ । तर सात प्रतिशत हाराहारीमा ऋण लिएर उद्योग व्यवसाय तथा कारोबार गर्नेहरूले अहिले १० प्रतिशत भन्दा बढीको ब्याज कसरी व्यवस्थापन गर्ने ? अनि, त्यसले अर्थतन्त्रमा कस्तो असर पर्नेछ, यसतर्फ विशेष गरी अर्थमन्त्री र गभर्नरलगायतका सरोकारवालाले पक्कै राम्ररी बुझ्नुपर्ने हो । १० प्रतिशतभन्दा बढी ब्याजदर ठीक होइन कि भन्ने मेरो बुझाइ हो ।

ब्याजदर वृद्धिको मुख्य कारण अहिले तरलता अभावलाई औंल्याइएको छ । बैंकहरू बचत बढ्न नसकेको र ऋणको माग निकै बढी भएकाले लगानीयोग्य पुँजीको अभावमा ब्याज बढाउन बाध्य भएको बताइरहेका छन् । हुन् त बैंक तथा वित्तीय संस्थाले आफूसँग उपलब्ध बचतको निश्चित प्रतिशत अर्थात करिब ८० प्रतिशतमात्र लगानी गर्न सक्छन् । अनि प्रायःले अहिले त्यस सीमाको आसपास ऋण लगानी गरिसकेका छन् । यस्तो अवस्थामा उनीहरुले या त ऋण लगानी रोक्नुपर्ने वा महँगोमा भए पनि बचत लिनुपर्ने बाध्यात्मक अवस्थामा छन् । प्रायः बैंक तथा वित्तीय संस्थाले अहिलेको अवस्थामा ऋण प्रवाह नै बन्द गरेका छन् भने केहीले निकै महँगोमा बचत संकलन गरेर ऋण प्रवाह गरेका छन् ।

बचतकर्तालाई यसको सकारात्मक प्रभाव भएता पनि समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्छ कि भन्ने पनि आशंका रहेको छ । एकातिर ऋण पाउन नसकिएको अवस्था र लिएको ऋणमा समेत निकै बढी व्याज तिर्नुपर्दा व्यापारव्यवसाय, उद्योग र लगानीको लागत निकै बढ्नेछ भने अर्कोतर्फ अहिलेकै अवस्था विद्यमान रहेमा महँगो व्याजमा समेत ऋण नपाइने आशंका बढ्न थालेको छ । यसले गर्दा लगानी योजना जोखिममा पर्ने अवस्था छ । बजारमा तरलता समस्याको सिकार अरू क्षेत्रभन्दा पुँजी बजार बढी भएको छ । बढ्दो ब्याजदरका कारण पुँजी बजारबाट रकम बैंक बचतमा फर्किन थाल्दा झन् समस्या भएको छ ।

हकप्रद, बोनस र एफपीओले बढेको सेयरको आपूर्ति थप बढेर मूल्य घटाउन सघाएको छ भने अर्कोतिर सेयर मूल्य घट्दा सेयर धितो कर्जा उपभोग गरिरहेका लगानीकर्ता र कारोबारीले थप सेयर धितो राख्ने वा कर्जा चुक्ता गर्ने भन्ने दुविधामा पर्न थालेका छन ।् जसले थप सेयर दिएर भए पनि कर्जा उपभोग गर्ने जमर्को गरेका छन् उनीहरू महँगो ब्याजको सिकार भएका छन् । यसर्थ, अहिले अर्थतन्त्रको ऐना मानिने पुँजी बजार बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको मारमा परेका छन् ।

हामीले थप नबुझेको बजारमा तरलताको अवस्था हो । नेपाल राष्ट्र बैंक तरलता समस्या छैन, बैंक तथा वित्तीय संस्थामा अझै ५० अर्बभन्दा बढी लगानीयोग्य रकम छ भनिरहेको छ । अर्कोतिर बैंकहरू भने लगानी गर्ने रकम नभएको जिकिर गरिरहेका छन् । यस्ता परस्पर विरोधी भनाईले लगानीकर्ता झन् अन्योलमा परेका छन् । चारपाँच वर्ष पहिले पनि सरकारले धेरै रकम ढुकुटीमा थन्क्याउँदा बजारमा अहिलेको भन्दा बढी नगदको हाहाकार भएको थियो । हो, त्यो बेलाको परिस्थिति अहिले भन्दा नाजुक थियो, राष्ट्र बैंकले समेत आवश्यकता अनुसार नगद उपलब्ध गराउन सकेको थिएन ।

हामीले बचतमा भएको रकम पाउनसमेत कठिन थियो । मुद्दति र बचतमा १२ प्रतिशतभन्दा बढी ब्याज थियो भने बैंकले कल खातामा समेत १० प्रतिशतमाथि ब्याज दिन्थे । त्यसैले (अर्थमन्त्री, गभर्नरलगायत सरोकारवाला) समयमा नै तरलताको यथार्थ अवस्था पत्ता लगाएर आवश्यक जानकारी र नियमन नगर्ने हो भने अवस्था झन् भयावह हुन सक्ने देखिन्छ । यसैसन्दर्भमा राष्ट्र बैंकले रिपो जारी गरेर केही रकम बजारमा पठाउने प्रयास नगरेको पनि होइन, तर यो सुविधा उपभोग निकै कम बैंक तथा वित्तिय संस्थाले मात्र गरे ।

तर यसले समस्या समाधानको कुनै संकेतसम्म नहुनु बरु तरलता वा लगानीयोग्य पुँजी अभावको त्रास झन् गहिरो हुँदै गएको देखिन्छ । हाम्रो बुझाईमा राष्ट्र बैंकले अपनाएको उपाय विद्यमान समस्या समाधानका लागि अनुपयुक्त रहेको वा बैंकहरूले संस्थागत स्वार्थका कारण उपलब्ध विकल्प स्वीकार नगरेको जस्तो देखिन्छ । बैंकहरूकै भनाईलाई आधार मान्ने हो भने राष्ट्र बैंकले उपलब्ध गराएको रिपोको रकम बचतका रुपमा गणना गर्न नपाइने वा बचत र ऋणको अनुपात (सिडि रेसियो) व्यवस्थापनमा गणना गर्न नपाइने हुँदा लगानी क्षमता वृद्धिमा सहयोग पुग्दैन ।

यदि यो साँचो हो भने राष्ट्र बैंकले अनिवार्य नगद मौज्दातको प्रतिशत वा सिडि रेसियोमा आवश्यक पुनरावलोकन गरेर भएपनि विद्यमान असहजता र अन्योल चिर्नै पर्दछ । अन्यथा अर्थतन्त्र र त्यसका अंगहरू विशेषगरी पुँजी बजार, उद्योगव्यवसाय, व्यापार सबै प्रभावित भएर नकारात्मक दिशातर्फ लाग्न सक्छ । अन्तमा, नेपाल राष्ट्र बैंक वा तालुक अर्थ मन्त्रालयले समग्र अर्थतन्त्र र बजार सन्तुलनका लागि नेपालका बैंक तथा वित्तीय संस्थाको बचत, ऋण लगानी, थप लगानी क्षमता, तरलताको अवस्था सम्बन्धमा विस्तृत अध्ययन गरेर उपयुक्त उपायको पहिचान तथा कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।

Published on Nepalipaisa online on 11 Jan 2017
Source: http://nepalipaisa.com/NewsDetail.aspx///id/15506

Monday, January 2, 2017

म्युचुअल फन्ड कम्पनीले चाहेमा बजारको गति परिवर्तन गर्न सक्छन्, तर किन हुँदैछन् गुमनाम

मंसिरदेखि ओरालो लागेको सेयर बजार पुसको १३ गतदेखि बल्ल केही थामिएको अवस्था छ । हुनतः अझै पनि ढुक्क हुने अवस्था छैन तर बजारको स्वभावले केही आशा भने पक्कै जगाएको छ । मंसिर १ गते १६९९ विन्दुमा रहेको नेप्से सूचक १४०० मुनिसम्म झरेर अहिले फेरि १४८० अंक माथि आइपुगेको छ । यस अवधिमा धेरै लगानीकर्ताले विविध कारणले परलमूल्य भन्दा कममा सेयर बेचेर करोडौं रूपैयाँ घाटा व्यहोरेका होलान भने केहीले किनबेच गरेर सेयर कित्ता बढाएका हुन सक्छन् । लगानी गरेर सम्पत्ति बढाउन (वेल्थ माक्सिमाइजेस) को उद्देश्य राखेका लगानीकर्ताले घट्दो बजारमा सस्तोमा राम्रा कम्पनीको सेयर खरिद गरेर पक्कै पनि भविष्यको लागि मुनाफा र धनआर्जनको सुनिश्चितता गरेका होलान् । कारोबारीलाई भने यो समय निकै कठिन भएको हुनसक्छ । तैपनि टाठाबाठाले केही कमाएका पनि होलान् । 

लगानीकर्ता हुन् वा कारोबारी जसले सेयर सञ्चित (होल्ड) गरेर बसेका छन्, उनीहरुमध्ये धेरै कमको मात्र पोर्टफोलियो हरियो बाँकी होला नभए धेरैको अवस्था कति प्रतिशतले रातो भन्ने नै हो । यसरी सेयर सञ्चित गर्ने लगानीकर्ता वा कारोबारीको अहिलेको समस्या भनेको बेचौं निकै घाटा हुन्छ र सामान्यतः लगानी वा कारोबार घाटा खान गरिँदैन्, थप किनौं भने पैसा छैन । ऋण नै लिउँ भने पनि सेयरको मूल्य घटेकाले मात्र होइन बैंकमा भनिएको तरलता अभावले सहज ऋण पाउन निकै मुस्किल छ । त्यसैले कारोबारीले अब बजार बढ्ने अवस्था पर्खिनुको विकल्प छैन । थप लगानी गर्न चाहनेले अनौपचारिक क्षेत्रबाट ऋण लिने वा बजार केही बढेपछि वा तरलतामा केही सहज भएपछि बैंकबाट थप ऋण लिनुपर्ने अवस्था छ ।

यी त भए सामान्य लगानीकर्ता वा कारोबारीको अवस्था, तर अहिले बजारमा विद्यमान म्युचुअल फन्डको अवस्था के कस्तो होला त ? धेरैको जिज्ञासाको विषय पनि यही देखिन्छ । किनभने यिनीहरुसँग लगानीका लागि ठूलो रकमको साथै प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) मा आरक्षणका साथै कारोबारमा समेत छुट पाउँदै आएका छन् । म्युचुअल फन्डहरू बजारबाट सानोसानो रकम संकलन गरी विभिन्न प्रकारका लगानी उपकरणमा लगानी गरेर लगानीकर्ताको सम्पत्ति बढाउने उद्देश्य सहित स्थापित भएका हुन् । यिनीहरू विशेषगरी थोरै रकम भएका तर सेयरमा सीधै लगानी गर्न असमर्थ साना लगानीकर्ता लक्षित हुन्छन् । यिनीहरुले लगानी गर्ने भनेको सेयर, डिबेन्चर÷ऋणपत्र, मुद्दतिमा बचत वा अन्य सम्पत्ति नै हुन् । यिनीहरू सदैव उपलब्ध रकमको उच्चतम प्रतिफल आउने गरी लगानी गर्न लागिपर्छन् । 

यी कम्पनीहरूले प्रकाशित गरेको मंसिर मसान्तको विवरण हेर्दा विद्यमान म्युचुअल फन्डहरूको बैंक मौज्दात हेर्दा लगानी गर्न डराएका वा जोखिम लिन नचाहेका हुन् कि जस्तो पनि देखिन्छ । भर्खरै बजारमा आएकाले नबिल इक्विटी फन्डसँग सबैभन्दा बढी ९४.४७ करोड रुपैयाँ बैंकमा छ, जुन स्वभाविकै पनि हुन सक्छ । तर पुरानामध्ये सबैभन्दा बढी नबिल व्यालेन्स फन्ड १ ले करिव ४६.४७ करोड रुपैयाँ र सबैभन्दा कम लक्ष्मी भ्यालु फन्डले करिब १५ करोड रूपैयाँ बैंकमा निक्षेप राखेको छ ।

अहिले बजारमा रहेका सबै म्युचुअल फन्डहरुले गरी लगानीकर्ताबाट कुल ६ अर्ब ५० करोड रूपैयाँ संकलन गरेका छन् । यी कोषमध्ये करिब ३१८.९६ करोड रुपैयाँ (जोखिम व्यवस्थापनका लागि आवश्यक तरलता समेत) अर्थात् औसत करिब ५८.७६% रकम बैकको वचत खातामा रहेको छ (हेरौं तालिका १) । यसरी बैंकको वचत खाताको साथै यिनीहरुले उल्लेख्य रकम मुद्दति खातामा समेत राखेका छन् । लगानी व्यवस्थापनका हिसाबले कोषको निश्चित प्रतिशत न्यूनतम प्रतिफल आउने गरी मुद्दतिमा राख्नुलाई केही हदसम्म ठीकै मान्न सकिएला तर ५८% हाराहारी रकम बचत खातामा थन्क्याउनुलाई कति जायज मान्न मिल्ला ?

तालिका १ : हाल सञ्चालनमा रहेका म्युचुअल फन्डहरू, तिनको कोषको आकार र बैंकमा मौज्दात (मुद्दति बाहेक)

अहिले कायम म्युचुअल फन्डहरुमध्ये मंसिर मसान्तमा प्रतिइकाई खुद सम्पत्तिको मूल्य सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ को २५.३७ रुपैयाँ र सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत योजना १ को ९.३४ रुपैयाँ रहेको छ । यिनीहरुको औसत प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५.४० रुपैयाँ रहेको छ । (हेरौं तालिका २) 

तालिका २ : मंसिर मसान्तमा म्युचुअल फन्डहरूको प्रतिइकाई खुद सम्पत्तिको मूल्य


हुनतः गत कात्तिकको प्रतिइकाई खुद सम्पत्तिको मूल्य सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको २८.४१ रुपैयाँ र सबैभन्दा कम नबिल इक्विटी फन्डको ९.८१ रुपैयाँ थियो । ( पढौं तालिका ३) ।

तालिका ३ : मंसिर मसान्त र कात्तिक मसान्तको प्रतिइकाई खुद सम्पत्तिको मूल्यको तुलनात्मक अवस्था

गत पुस १४ वा १३ गते कारोबार भएको मूल्यको आधारमा यी म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पत्तिको मूल्यलाई तुलना गरेर हेर्ने हो भने सबैभन्दा बढी नबिल ब्यालेन्स फन्ड १ को ११.२५% ले र सबैभन्दा कम नबिल इक्विटी फन्डको ०.८१ % ले घटेको देखिन्छ । कात्तिकको तुलनामा मंसिरमा औसतमा ८.८९% ले म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य घटेको छ । यदि म्युचुअल फन्डमा लगानी गर्ने हो भने लगानीका दृष्टिकोणले कुन चाहिँ बढी फाइदाजनक होला त ? यसको लागि बजार मूल्य र प्रतिइकाई खुद सम्पत्तिको मूल्यको तुलनामा बढी छुट भएको तुलनात्मक रुपमा बढी फाइदाजनक हुन्छ ।

उपलब्ध सातमध्ये सबैभन्दा बढी बजार मूल्य सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ को २३.७२ रुपैयाँ र सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत योजना १ को १०.३० रुपैयाँ रहेको छ । तर प्रतिइकाई खुद सम्पत्तिको मूल्यको तुलनामा १८.११ % कम बजार मूल्यको आधारमा सिद्धार्थ इक्विटी ओरियन्टेड फन्ड सबैभन्दा सस्तो वा लगानीको पहिलो प्राथमिकतामा रहेको छ भने सबैभन्दा महँगो १०.२८ % बढी बजार मूल्यको साथ ग्लोबल आईएमई समुन्नत योजना १ रहेको छ ।

तालिका ४ : मंसिर मसान्तको प्रति इकाई खुद सम्पत्तिको मूल्य र बजार मूल्यको तुलनात्मक अवस्था


निष्कर्षमा के भन्न सकिन्छ भने म्युचुअल फन्डहरुले पनि लगानीकर्ता वा कारोबारीको रुपमा लगानी र मुनाफा गर्ने हुन् र उनीहरुको पनि मुख्य लगानीको क्षेत्र भनेको सेयर त्यो पनि दोस्रो बजारमा खरिदबिक्री नै हो भन्ने प्रस्ट हुन्छ । तुलनात्मकरूपमा आमलगानीकर्ता वा कारोबारीको तुलनामा उनीहरुसँग तुलनात्मक रुपमा ठूलो कोष हुने अनि नियमित ठूलो रकमको कारोबार गर्न सक्ने हुँदा सेयर दलालको प्राथमिकतामा पर्ने गरेको देखिन्छ । यस्ता कम्पनीको पहुँच ठूलो हुने तथा कानुनी रुपमा समेत केही सुविधा प्राप्त गरेकाले कारोबारमा सहज र कम मूल्य पर्ने निश्चित छ ।

यसकारण पनि बजारमा यिनीहरुको महत्वपूर्ण र हस्तक्षेपकारी भूमिका रहनेमा दुईमत छैन । यिनीहरुले चाहेमा बजारको धारलाई परिवर्तन गर्न र मार्गनिर्देश गर्न सक्ने अवस्था छ । तर पनि मंसिरदेखि आजसम्म बजारमा देखिएको अनिश्चितता र अप्राकृतिक उतारचढाबलाई नियन्त्रित दिशामा हिँडाउन यिनीहरुको उल्लेख्य भूमिका देखिएको छैन । यतिमात्र होइन, केही म्युचुअल फन्डले धमिलो पानीमा माछा मार्ने प्रवृत्ति देखाएका आवाजसमेत उठनुले म्युचुअल फन्ड कम्पनीहरूप्रति आमलगानीकर्ताको धारणा नकारात्मक हुँदै गएको अवस्था छ । यिनीहरुसँग उपलब्ध कोषको केही हिस्सा मात्र पनि बजारलाई सकारात्मक दिशा दिन परिचालित गरिएको भए बजारले यतिबेला अर्कै उचाइ लिने निश्चित थियो ।

साथै, यी कम्पनीहरूको प्रतिइकाई खुद सम्पत्तिको मूल्य पनि बढ्ने सुनिश्चित थियो । तर दुर्भाग्य यिनीहरुको प्रतिइकाई खुद सम्पत्तिको मूल्य औसतमा १.५० रुपैयाँ अर्थात् ८.८९ % ले घटेको छ । अब पुसको बाँकी आधा महिनामा यिनीहरुले बजारको विकास र विस्तारका लागि के कस्तो भूमिका निर्वाह गर्नेछन् त्यो हेर्न बाँकी नै छ, तर आशा गरौं म्युचुअल फन्ड कम्पनीहरूले पनि जानाजान आफ्नो सम्पत्ति घटाउन अग्रसर हुनेछैनन्

यस्तो छ म्युचुअल फन्डको लगानीसम्बन्धी कानुनी प्रावधान 

परिच्छेद – ८ दफा -३६ , लगानीको सिमा (१) योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा देहाय बमोजिमको सिमा भित्र रहि गर्नु पर्नेछ :
क) कुनै एक संगठित सस्थाको साधारण शेयरमा त्यस सस्थाको कुल चुक्ता पूजीको दश प्रतिशत भन्दा बढी नहुने गरि , 
ख) कुनै एक संगठित सस्थाले निष्कासन गरेको अग्राधिकार शेयर वा डिबेन्चरको बिस प्रतिशत भन्दा बढी नहुने गरि , 
ग) कुनै एक संगठित सस्थाको धितोपत्र योजनाको कुल रकमको दश प्रतिशत भन्दा बढी नहुने गरि, 
घ) अन्य सामुहिक लगानीकोष अन्तर्गतको योजनामा आफ्नो योजनाको बिस प्रतिशत भन्दा बढी नहुने गरि, 
ङ) बैक निक्षेपमा योजनाको कुल सम्पतिको दश प्रतिशत भन्दा बढी नहुने गरि, 
च) मुद्रा बजार उपकरणमा योजनाको कुल सम्पतिको दश प्रतिशत भन्दा बढी नहुने गरि । 

बिस्तृत विवरणको लागि सेबोनको वेबसाइटमा उपलब्ध सामुहिक लगानी कोष नियामावली २०६७ हेर्नु होला |
तथ्यांकहरू सम्बन्धित म्युचुअल फण्डहरूकाे मंसिरमा प्रकासित विवरण र नेप्सेकाे वेबसाइटबाट लिइएकाे हाे ।

Published in Nepali Paisa online on 2 Jan 2017, http://nepalipaisa.com/NewsDetail.aspx///id/15433