Saturday, August 26, 2017

प्रति शेयर आम्दानी अन्यौलता

आर्थिक वर्षको अन्त्यसँगै कम्पनीहरूको वार्षिक कारोवारको आर्थिक अवस्था र मुनाफा सहितको चौथो अपरिष्कृत त्रैमासिक वित्तीय विवरणहरू प्रकासन शुरु भएको छ । यो त्रैमासिक वित्तीय विवरण भएता पनि यसले कम्पनीहरूको एक आर्थिक वर्षमा कति पुँजी लगाए, कति कमाए र कतिसम्म लाभांस दिन सक्छन् अनुमान गर्ने आधार पनि दिन्छ । सोही आधारमा लगानीकर्ताहरू कुन शेयर किन्ने र कुन बेच्ने लगानीसम्बन्धी निर्णय गर्दछन् । तर हालै प्रकाशित वित्तीय विवरणहरूमा लगानी निर्णयलाई प्रभावित गर्ने मुख्य वित्तीय सूचक वा अनुपात देखाउने प्रति शेयर आम्दानीमा अपनाइएको फरकफरक मापदण्डले गर्दा विगतको भन्दा फरक प्रकृतिको प्रति शेयर आम्दानी प्रस्तुत भए । यसले सामान्य प्रति शेयर आम्दानी निकाल्दै आएका आमलगानीकर्ता र कारोवारीहरूमा अन्यौलता ल्यायो ।

वित्तीय विवरण सम्बन्धी कानुनी प्रावधान

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को परिच्छेद ७ ले अनुसूची १४ मा उल्लिखित विवरण सो त्रैमासिक अवधि समाप्त भएको तीसदिन भित्र बोर्ड समक्ष पेश गर्नुपर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ । नियमावलीको अनुसूची १४ अनुसार त्रैमासिक विवरणमा गत वर्ष र यस वर्षको सोही अवधिको तुलनात्मक विवरण, सम्बन्धित पक्ष बीच भएको कारोवार सम्बन्धी विवरण समेत खुलाएर सो त्रैमाससम्मको वासलात र नाफानोक्सान सम्बन्धी वित्तीय विवरण प्रकाशित गर्नुपर्ने उल्लेख छ । यस्तो विवरणमा न्यूनतम रुपमा प्रमुख वित्तीय अनुपातहरू जस्तैः प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रति शेयर नेटवर्थ, प्रति शेयर कुल सम्पतिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण उल्लेख छ ।

त्रैमासिक विवरणमा प्रस्तुत हुने त्यस्ता वित्तीय विवरणका अतिरिक्त व्यवस्थापकीय विश्लेषण, कानुनी कारवाही सम्बन्धी विवरण, संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण, समस्या तथा चुनौति, संस्थागत सुशासन सम्बन्धी जानकारी अध्यक्ष/कार्यकारी प्रमुखले सत्य, तथ्यताको उदघोष सहित प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

प्रति शेयर आम्दानी

सामान्य रुपमा प्रति शेयर आम्दानी अर्थात् ईपिएस भनेको कायम सर्वसाधारण शेयरमा कम्पनीले गरेको खुद आम्दानीको हिस्सा हो । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । प्रति शेयर आम्दानीले कम्पनीले प्रत्येक शेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रति शेयर आम्दानी भनेको कम्पनीले सर्वसाधारण शेयरधनीको लागि कमाएको मुनाफा हो । हुनतः प्रति शेयर गणना गर्ने विभिन्न सूत्रहरूको विकास भएको छ । अन्तराष्ट्रिय रुपमा समेत विभिन्न किसिमका सूत्रहरूको प्रचलनमा रहेको पाइन्छ । नेपालको सन्दर्भमा पनि बैंकिग क्षेत्रमा नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम (एनएफआरएस) को प्रचलनसँगै भारित औसत पुँजीको अवधारणा सहितको सूत्र ३ बाट प्रति शेयर आम्दानी गणना विधि प्रयोगमा आएको छ ।

सामान्य रुपमा कम्पनीले सबै खर्च र तिर्नुपर्ने रकम घटाएर आउने रकम अर्थात् सर्वसाधारण शेयरधनीहरूका लागि उपलब्ध हुने रकमलाई कायम शेयर संख्याले भाग गरेर सामान्य प्रति शेयर आम्दानी निकालिन्छ । यसको लागि, 
  • सूत्र १: खुद आम्दानी/कायम कुल सर्वसाधारण शेयर संख्याको सामान्य सूत्र प्रयोग गरिन्छ । यदि कम्पनीले अग्राधिकार शेयरबाट पुँजी संकलन गरेको छ भने त्यस्तो अवस्थामा खुद आम्दानीबाट कायम अग्राधिकार शेयरका लागि लाभांस घटाएर कायम कुल शेयर संख्याले भाग गरिन्छ ।
  • सूत्र २: (खुद आम्दानी – अग्राधिकार शेयरका लागि लाभांस)/कायम कुल सर्वसाधारण शेयर संख्या, यसका साथै अन्तराष्ट्रिय रुपमा कम्पनी विभिन्न समयमा पुँजी संकलन र परिचालन गरेको आधारमा निम्न प्रकारका सूत्रहरूको समेत प्रयोग गर्ने चलन रहेको छ ।
  • सूत्र ३ः (खुद आम्दानी – अग्राधिकार शेयरका लागि लाभांस)/भारित औसत सर्वसाधारण शेयर संख्या
  • सूत्र ४ः (खुद आम्दानी – अग्राधिकार शेयरका लागि लाभांस)/औसत सर्वसाधारण शेयर संख्या
  • सूत्र ५ः (नियमित संचालन मुनाफा – अग्राधिकार शेयरका लागि लाभांस)/भारित औसत सर्वसाधारण शेयर संख्या

विगतको प्रचलन र हाम्रो सन्दर्भ

नेपालमा एभरेष्ट बैंक, कृषि विकास बैंक र तारागाउँ होटलले मात्र अग्राधिकार शेयर जारी गरी पुँजी संकलन गरेको हुँदा सामान्यतः कम्पनीको खुद आम्दानी नै सर्वसाधारण शेयरधनीहरूको मुनाफाको रुपमा लिइन्छ र यसलाई कम्पनीको कायम शेयर संख्याले भाग गरेर सामान्य प्रति शेयर आम्दानी निकाल्न प्रचालन रहेको छ । कम्पनीहरूले आर्थिक वर्ष २०७२/७३ सम्म प्रति शेयर आम्दानीको सामान्य सूत्र १ वा सूत्र २ प्रयोग गरेर नै प्रति शेयर आम्दानी निकाल्ने गरिन्थ्यो ।

प्रति शेयर आम्दानी र लगानीको सम्बन्ध

लगानीकर्ताको लगानी निर्णयको मुख्य आधार कम्पनीको मुनाफा र लाभांस नै हो । अझ दोस्रो बजारमा लगानी निर्णयलाई मुनाफा र प्रति शेयर आम्दानीले निकै प्रभाव पार्दछ । यसको मुख्यकारण मुनाफाको सोझो सम्बन्ध लाभांस क्षमतासँग जोडिन्छ, जुन लगानीकर्ताको लगानीमा प्राप्त हुन्छ । कम्पनीको संचालक समितिले चाहेको अवस्थामा सामान्यतः खुद मुनाफा वा प्रति शेयर आम्दानीको ८० प्रतिशतसम्म लाभांसको लागि छुट्याउन सकिन्छ । प्रति शेयर नेटवर्थ चुक्ता पुँजीको दोब्बर भएको अवस्थामा मुनाफाको सम्पूर्ण रकम नै लाभांसको रुपमा बाँड्न पनि सकिन्छ ।

प्रति शेयर आम्दानीले लाभांससँगै मूल्य आम्दानी अनुपात (Price earning ratio), लाभांस भुक्तानी अनुपात (Dividend payout ratio) र शेयर पुँजी वा नेटवर्थमा प्रतिफल (Return on equity) लाई असर गर्दछ । त्यसैले फरक सूत्रगत आधारमा फरक प्रति शेयर आम्दानी आउने वित्तिकै अन्य वित्तीय अनुपातहरू समेत प्रभावित हुँदा कुन शेयर किन्ने, बेच्ने वा होल्ड गर्ने जस्ता लगानी निर्णय समेत प्रभावित हुनेछ ।

नयाँ प्रचलन

आर्थिक वर्ष २०७३/७४ सँगै बैंक तथा वित्तीय संस्थाहरूमा एनएफआएएस विधिबाट आय गणना गर्ने प्रचलनको शुरुवात गरिएको छ, जसले कम्पनीले आम्दानी गर्न प्रयोग गरेको भारित औसत पुँजीलाई ध्यान दिन्छ । अर्थात् कम्पनीले विभिन्न समयमा विभिन्न किसिमले संकलित रकमलाई आयआर्जन गर्न प्रयोग गरेको अवधिले समायोजन गरी भारित औसत निकाल्छ । एनएफआरएसको नेपाल लेखामान प्रणाली (नास)को ३२ बुँदामा प्रति शेयर आय गणनासम्बन्धी विधि दिईएको छ । जसले निम्न कुरामा ध्यानदिनुपर्ने उल्लेख गरेको छः
  • आधारभूत वा समायोजित (Diluted) प्रति शेयर आयको गणना गर्दा प्रयोग गरिने रकम (सूचक)ले नाफा वा नोक्सानीमा पुर्याएको योगदानको आधारमा समायोजन ।
  • आधारभूत वा समायोजित प्रति शेयर आयको गणना गर्दा भारित औसत सर्वसाधारण शेयरलाई भाजकको रुपमा प्रयोग गरिँदा एक आपसमा समायोजन ।
  • पुँजी संकलनका उपकरणहरू (विशेष परिस्थितिमा जारी हुने शेयर) जसले भविष्यमा संभावित प्रति शेयर आयलाई प्रभावित गर्दछ, तर प्रतिवेदनको अवधिमा समायोजित प्रति शेयर आयको गणनामा असर नगर्ने अवस्थामा त्यस्ता उपकरणलाई समायोजन गर्नुनपर्ने रुपमा लिने ।
  • यदि कम्पनीले वासलात मिति पछि उक्त अवधिको वासलातलाई असर पुग्ने उल्लेख्य सर्वसाधारण शेयर कारोवार भएको वा सर्वसाधारण शेयरको कारोवार हुने संभावना जसले कायम हुने शेयर संख्यामा उल्लेख्य परिवर्तन ल्याउँछ, सोको विवरण । उदाहरणको लागि सर्वसाधारण शेयर जारी र शेयरको नगद, वारेन्ट र अप्सन, परिवर्तन र एक्सरसाइज (नास ३४.१७) ।

अन्यौलता र निकास

पुँजीकरणको नयाँ प्रचलनसँगै आमलगानीकर्ताहरू यथार्थ प्रति शेयर आम्दानी सम्बन्धमा अन्यौलतामा परेका छन्, किनभने पहिलेको सामान्य सूत्रले निकाल्दा आउने प्रति शेयर आम्दानी भन्दा एनएफआरएस सूत्रबाट बढि प्रति शेयर आय आउँछ । यसले मूलतः परिचालित प्रति शेयर पुँजीमा आम्दानी हेर्ने हुँदा र वास्तविक लाभांस क्षमतालाई प्रतिविम्वित गर्दैन्, किनभने कम्पनीको खुद आम्दानीले प्रकाशित प्रति शेयर आम्दानी अनुसारको लाभांस भुक्तानी क्षमता राख्दैन । पहिले विशेषगरी विमा कम्पनीहरूको प्रति शेयर आम्दानी र लाभांस भुक्तानी बीचमा रहँदै आएको अपारदर्शिता र अन्यौलता अब बैंक तथा वित्तीय संस्थामा पनि देखिने संभावना बढेकोछ । एनएफआरएस विधि लेखांकन सर्वस्वीकृत विधि भएता पनि लगानीकर्ताको चासो प्रति शेयर बाँडफाँडका लागि कति आम्दानी उपलब्ध हुनसक्ने रकम अन्यौलपूर्ण बनेको छ ।

यसले एकातिर संभावित प्रति शेयर लाभांसको दर सामान्यरुपमा गणना गर्न नसकिने हुन्छ भने अर्कोतिर कम्पनीले कहिले र कुन अवधिमा बोनस र हकप्रदलाई पुँजीकरण गरेको छ र कुन आधारमा प्रति शेयर आय गणना गरेको हो पारदर्शी नहुने अवस्था छ । यसो हुँदा आमलगानीकर्ता जो सामान्य प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात र नेटवर्थ जस्ता आधारभूत वित्तीय सूचकको समेत ज्ञान राख्न सक्दैनन् उनीहरू थप अन्यौलमा पर्ने र जोखिम व्यहोर्नु पर्ने अवस्थामा पुग्नेछन् ।

यसको साथै वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरू कसैले एनएफआरएस र कसैले सामान्य सूत्रबाट प्रति शेयर आय गणना गरी विवरण प्रकाशित गरेका छन् । विशेषगरी ठूलो परिणाममा हकप्रद जारी गरी पुँजी संकलन गरेका बैंकहरूले एनएफआरएस विधिबाट र केहिले सामान्य सूत्रबाट प्रति शेयर आम्दानीको गणना र प्रस्तुत गरेबाट कतै पुँजीको भारी थपिएसँग बढि प्रति शेयर आम्दानी देखाउन त एनएफआरएस लागु गरेका त होइनन् भन्ने आम चासो उब्जेको छ । जानकारहरूका अनुसार प्रति शेयर आम्दानीको लेखांकनका लागि नियामकबाट कुनै सूत्र वा मापदण्ड निर्देशित छैन, जसले गर्दा कम्पनीहरूले आफ्नो अनुकूलतामा कहिले एनएफआरएस त कहिले सामान्य विधिबाट प्रति शेयर आम्दानीको गणना गर्ने गरेको पाइन्छ ।

एउटा बैंकले त प्रति शेयर आम्दानी एनएफआरएस विधिबाट गरे पनि टिप्पणीमा यो एनएफआरएस विधिबाट गरिएको होइन भन्ने उल्लेख गरेको छ । यसरी प्रति शेयर आम्दानीको गणना र वित्तीय विवरण प्रस्तुतिमा एकरुपता नहुँदा आमलगानीकर्ता यथार्थ र शुद्ध सूचना पाउनबाट समेत वञ्चित हुनपुगेका मात्रै होइनन् र कुन विधि आधिकारिक हो भन्ने निक्र्यौल गर्न नसक्ने अवस्थामा पुगेका छन् । लेखांकनमा जुन विधि अपनाइएता पनि एकरुपता र यथार्थ जानकारी नै आमलगानीकर्ताको चासोको विषय हो ।

यसको निकास भनेको नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बिमा समितिले सम्बन्धित सरोकारवालाहरूसँगको सहकार्यमा सबै कम्पनीहरूका लागि आयव्ययको गणना गर्ने एउटै मापदण्ड तयारी गरी कार्यान्वयनमा ल्याउनु नै हो । यदि एनएफआरएस अनुसार नै वित्तीय विवरण तयार हुने अवस्थामा स्पष्ट टिप्पणी सहित वा लेखांकन प्रति शेयर आम्दानी (Accounted earning per share) र बाँडफाँडयोग्य प्रति शेयर आम्दानी (Dispensable earning per share) को उल्लेख गरी विवरण प्रकाशित गरिनुपर्दछ । बिमा कम्पनीहरूको वित्तीय विवरणमा समेत संभावित एक्चुलरी भ्यालुयसनको रकम उल्लेख गरिनु पर्दछ, जसले केहि हदसम्म यथार्थ संभावित प्रतिफलको अनुमानलाई सघाउँदै लगानीमा प्रतिफलको अन्यौलता हटाउने छ भने बजारलाई लगानीकर्ता मैत्री र पारदर्शी पनि बनाउने छ ।

लगानी सम्बन्धी निर्णय, प्रतिफल र जोखिमको सम्पूर्ण भागिदार अन्तत लगानीकर्ता नै हुनेहुँदा कुनै कम्पनीको शेयर किनबेच गर्दा उक्त कम्पनीको वित्तीय व्यवसायिक र व्यवस्थापकिय विश्लेषण र परिक्षण गर्ने जिम्मेवारी भने लगानीकर्ता स्वयंको हुने हुँदा थप सचेत र सजग हुनुको विकल्प रहँदैन ।

काराेवार दैनिकमा २०७४ साउन २७ गते प्रकाशित
Published in Karobar daily on 13 August 2017

Saturday, August 12, 2017

सेयर ज्ञान १ : सोझा लगानीकर्ता यसरी फस्छन् ‘बुल ट्रयाप’मा, यस्तो छ बच्ने उपाय

शेयरमा लगानीको मुख्य लोभ भनेको लाभांश र पुँजीगत लाभ नै हो । कारोबारी वा छोटो समयको लगानी गर्नेलाई पुँजीगत लाभको लोभ हुन्छ भने दीर्घकालीन लगानीकर्ताहरु भने लाभांशसँगै पुँजीगत लाभको लोभमा शेयर किन्दछन् । त्यो भनेको लगानीकर्ता र कारोबारीले लगानी वा कारोवार बापत खोजेको वा अपेक्षित प्रतिफल अर्थात मुनाफा नै हो । त्यसैले शेयर बजारका लगानीकर्ता वा कारोबारीलाई लाभांश र पुँजीगत लाभको लोभले डोहोर्याइरहन्छ र यसका लागि भविष्यको संभावित जोखिम उठाउन लगानीकर्ताहरु तयार हुन्छन् । त्यस भए जोखिम के हो त ? के जोखिम उठाउनेबित्तिकै मुनाफा सुनिश्चित नै हुन्छ ? सामान्य शब्दमा जोखिम भनेको भविष्यको अनिश्चितता हो । शेयर बजारमा यस्तो अनिश्चितता निकै धेरै हुन्छ, जस्तोः
क) मूल्य घटबढको जोखिम, 
ख) कम्पनीको व्यवस्थापन र व्यवसायिक जोखिम, 
ग) देशको आर्थिक नीति, नियामकको नीति नियम र राजनीतिक जोखिम, 
घ) राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिवेशले निम्त्याउने जोखिम, 
ङ) शेयर क्रेता र बिक्रेताको निहित स्वार्थगत जोखिम । 

कम्पनी एउटा पक्षले व्यवस्थापन र संचालन गरेको हुन्छ, नियामकले त्यसको नियमन गर्दछ अनि सरकारले सो क्षेत्रका लागि समय समयमा नियमकानुन बनाउँछ भने राष्ट्रिय अन्तराष्ट्रिय कारण आर्थिक, राजनीतिक परिवेशमा परिवर्तन आउँछ । यस्ता परिवर्तनहरुको प्रभाव सकारात्मक वा नकारात्मक कस्तो हुन्छ भन्ने कुनै निश्चित हुँदैन । यी सबै कुराले अन्ततः उक्त कम्पनीको शेयर मूल्यमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्दछ । यी सबै अनिश्चितताहरुको जोखिम भने लगानीकर्ता र कारोबारीले उठाउँछ ।

यस्तो जोखिम लिने क्षमता व्यक्तिपिच्छे फरक हुन्छ । लगानीकर्ताको जोखिम लिने क्षमता पैसाको स्रोत बचत वा ऋण, कुनै कम्पनीको सूचनामा पहुँच र सोसम्बन्धमा बुझाई, विश्लेषण र पूर्वानुमानमा निर्भर रहन्छ । यसैको आधारमा कुनै पनि कम्पनी सम्बन्धी आफ्नो धारण बनाउँछन् र शेयर किन्न र बेच्न अग्रसर हुन्छ । अर्थात् एउटा लगानीकर्ताले यो कम्पनीको भविष्यमा हुने आम्दानी समेतको आधारमा शेयरको मूल्य घट्छ भन्ने सोच्न थाल्छ भने अर्कोले त्यसको विपरीत कम्पनीको भविष्य अझ राम्रो हुने र शेयरको मूल्य पनि बढ्ने पूर्वानुमान गर्दछ । बेच्नेले शेयर बेचेर जोखिम घटाउन थाल्छ भने किन्नले जोखिम उठाउन थाल्छ ।

यहाँ किन्ने र बेच्ने दुवैले आफ्नो निर्णयलाई सही नै आँकलन गर्दछन्, तर त्यसको यथार्थमा के हो भन्ने सँधै अनिश्चित नै हुन्छ ।

हो, यस्तो अनिश्चितता वा जोखिम उठाउँदा कहिले नाफा हुन्छ भने कहिलेकाहीँ घाटा हुन्छ । लाभांशगत नाफा वा घाटा सम्बन्धित कम्पनीको व्यवसायिक कार्यसम्पादन र खुद मुनाफा (प्रति शेयर आम्दानी)मा निर्भर गर्दछ भने पुँजीगत लाभ बजारमा उक्त कम्पनीको शेयरको माग र आपूर्तिमा निर्भर रहन्छ ।

बुल र बुल ट्रयाप

शेयर बजारको सन्दर्भमा बुल भनेको बजारको बढ्दो अवस्था हो र यस्तो अवस्थामा लगानीकर्ता र कारोवारीहरु निकै उत्साहित हुँदै भविष्यको सम्बन्धमा समेत सकारात्मक हुन्छन् । यो समयमा लगानीकर्ताहरुको मनोबल उच्च हुन्छ र भविष्यमा बजार थप उचाइमा पुग्ने र अहिले शेयर किनेर थप मुनाफामा बेच्न आतुर हुन्छन् । बजारमा केवल मुनाफाको मात्र अवसर देख्छन् । यस्तो समग्र बजार, बजारको कुनै उपसमूह वा कुनै कम्पनीको मात्र पनि हुनसक्छ ।

बुलको पनि शुरु, मध्यम र उत्कर्ष अवस्था हुन्छ । सामान्य विश्लेषणबाट यस्तो पहिचान गर्न निकै गाह्रो पनि हुन्छ भने बुल अवस्थामा बजारमा प्रवाह हुने र प्रवाहित गरिने वास्तविक तथा प्रायोजित सकारात्मक समाचार र मनोभावले गर्दा धेरैले केवल शेयरको मूल्य बढेको मात्र देख्छन् ।

तर, यस्तो अवस्था कति समय रहन्छ, त्यो पुनः अनिश्चित हो । परिवर्तन अवश्यम्भावी छ । लगानीकर्ताको मनोभाव, व्यवसायिक वातावरण, कम्पनीको व्यवस्थापन र मुनाफा, कानुनी र सामाजिक–आर्थिक वातावरणले गर्दा बुलको अवस्थामा कुनै पनि समय परिवर्तन हुनसक्छ । केही क्षण अगाडिसम्म निकै उच्च माग भएको शेयरको माग केही समयपछि नहुनसक्छ ।

बुल बजारको उत्कर्षमा पुगेर फर्किने अवस्था लगानीकर्ताहरुका लागि सबैभन्दा घातक हुन्छ । यसबेला बजार चरम अवस्थामा हुन्छ र कम्पनीका शेयरहरु विभिन्न कारणले माग र मूल्यको दृष्टिकोणबाट उचाईमा हुन्छन् । लगानीकर्ताहरुले अलिकति पनि होस् पुर्याउन नसक्दा निकै ठूलो नोक्सानी व्यहोर्नुपर्ने संभावना यस्तो बेलामा उच्च हुन्छ । यसरी शेयरको उच्च मूल्यमा खरिदका कारण सिर्जना हुने उच्च जोखिमको अवस्थालाई बुल ट्रयाप भन्न सकिन्छ । यस्तो अवस्थामा केही टाठाबाठा र संस्थागत लगानीकर्ताहरु भने बजारको बुल अवस्थाको उपयोग गर्दै मुनाफा संकलन गर्न पछि पर्दैनन् अर्थात् प्रोफिट बुक गर्न थाल्छन् । अर्कातिर आम लगानीकर्ताहरुलाई बजार थप बढ्ने लोभ र लालसाले निकै उच्च मूल्यमा शेयर किन्न प्रेरित गर्छ । अर्थात् बजारमा थापिएको उच्च मूल्यको पासोमा पर्छन् ।

निकै थोरै संस्थागत लगानीकर्ता, थोक बिक्रेता (मार्केट डिलर)को अभाव, बजार तथा सूचनामा सबै लगानीकर्ताहरुको पहुँचमा कठिनाई, लगानी तथा जोखिम सम्बन्धी अध्ययन, अभिमुखीकरण र तालिमको अभाव, बजारमा उपलब्ध बित्तीय उपकरणहरुको केवल शेयरमात्र हुनु आदि कारण हाम्रो जस्तो सानो शेयरबजारमा बुल ट्रयापको संभावना पनि बढी नै हुन्छ ।

बुल ट्रयापबाट बच्ने उपाय

पक्कै पनि लोभ र अनिश्चितता नहुने हो भने दोस्रो बजारमा अंकित मूल्यमा थप मूल्य तिरेर शेयर खरिद बिक्री हुँदैन थियो होला । अनि यस्तो लोभको सही तह के हो ? र कतिमा नियन्त्रण गर्ने ? सबैभन्दा जटिल प्रश्न यही हो । लोभलाई शूून्यमा झार्ने हो भने शेयर किनबेच मात्र होइन सामाजिक–आर्थिक वातावरणबाट समेत बाहिरिनुको विकल्प रहँदैन । तर, यही लोभको उचित व्यवस्थापन गर्दै जोखिम र मुनाफा बीच सन्तुलन कायम गर्न सकिएन भने लोभले लाप र लाभले विलाप अर्थात् बुल ट्रयापमा पर्ने संभावना उच्च हुन्छ ।

यसका लागि सबैभन्दा पहिले शेयरबजारमा जोखिम छ भन्ने आत्मस्वीकार गरी आफ्नो जोखिम वहन क्षमतालाई आंकलन गर्नु पर्दछ । त्यसपछि जोखिम वहनका लागि मानसिक–आर्थिक रुपमा तयार भई निश्चित सीमासहितको मापदण्ड तयार गर्नुपर्दछ । भनेको यति प्रतिशतसम्म नाफा वा घाटा व्यहोर्न यति समयसम्म कुर्न तयार हुन्छु र यस्तो अवस्थामा सिर्जना हुनसक्ने जोखिमलाई यसरी व्यवस्थापन गर्नेछु भन्ने अनौपचारिक नै भए पनि सोंच वा योजना बनाउनुपर्छ ।

यति भएपछि बजारमा निर्धारित सीमा वा अनुशासनभित्र रहेर मात्र कारोवार वा लगानी गर्नुस् नकि बजारको प्रवाहित सूचनाको आधारमा । यदि कारोवारी हो भने जोखिम बहनको तल्लो सीमा अर्थात् यति प्रतिशतसम्मको घाटा व्यहोर्छु भनेको सीमामा पुग्नैै लाग्दा नै त्यसलाई बिक्री गर्नुस । भोली महंगिन्छ भन्ने लोभ निकै घातक हुनसक्छ । यस्तै शेयरको मूूल्य बढिरहेको अवस्थामा समेत चाहेको मुनाफा आउने बित्तिकै तत्काल नयाँ जोखिम लिने स्तर तयार गर्नुस वा बिक्री गरिहाल्नुस् । प्राविधिक भाषामा यसलाई स्टपलस वा प्रोफिट बुक भनिन्छ ।

तर, दीर्घकालीन लगानीकर्ता हुनुहुन्छ भने आफूूले धैर्य गर्छु भनेको समयसम्म उक्त शेयरलाई बेच्ने निर्णय नगर्नुस् । बजारमा शेयर मूल्य निकै तल आउन थाले सस्तोमा शेयर किनेर उक्त कम्पनीको शेयरको औसत लागत घटाउनुस र निकै बढेको अवस्थामा धारण गरेको शेयरमध्ये निश्चित प्रतिशत वा हिस्सा बिक्री गरी मूूल्यमा केही सुधार (करेक्सन) आएपछि किन्ने गरी मुनाफा बुक (प्रोफिट बुक) गर्नुस् ।

सबै कुराको निश्कर्ष भनेको विशेष गरी बजार द्रुत गतिमा बढिरहेको र उच्च विन्दुमा पुगेको अवस्थामा विशेष सतर्कता र सचेतता अपनाएर आफ्नो लगानी वा कारोबार रणनीति र जोखिमवहन क्षमता अनुसार जोखिमको अल्पकालीन व्यवस्थापन गर्नुपर्दछ । बजारमा बेच्ने पक्षले विभिन्न सूचना प्रवाह गरेर शेयर किन्न प्रोत्साहित गर्छ वा पासो थाप्छ । त्यसैले बजारमा आमलगानीकर्ता वा कारोवारी सदैव सचेत र सजग हुनुपर्दछ । मुनाफाको अति लोभ वा बजारप्रतिको उत्साहले कहिलेकाहीँ उच्च मूल्यको पासो वा बुल ट्रयापमा पार्नसक्छ । यो विशेषगरी कारोवारीका लागि निकै घातक हो भने दीर्घकालीन लगानीकर्ताका लागि पनि दीर्घकालीन औसत लागतको थप भार हो । पक्कै पनि बजारमा सधैं आफूले सोचेको जस्तो हुँदैन र यो विभिन्न कारणले परिवर्तन हुन्छ, जसले नाफा र घाटाको अवस्था आउँछ ।

शेयर बजारको सबैभन्दा सशक्त सूत्र आफ्नो जोखिम क्षमता पहिचान गर्दै आधारभूत पक्षहरुको आधारमा कम्पनीको शेयरको माग र आपूर्तिको अवस्था पहिचान गरी जोखिमवहन क्षमताको आधार तयार मापदण्ड र अनुशासित भएर लगानी वा कारोवार गर्नु हो । यसले बुल ट्रयाप मात्र होइन बियरिस अवस्थामा समेत सघाउनेमा कुनै दुई मत नहोला ।

बिजशाला अनलाइनमा २०७४ साउन १५ गते प्रकाशित,
http://www.bizshala.com/story/%E0%A4%B8%E0%A5%8B%E0%A4%9D%E0%A4%BE-1