निर्वाचनको प्रारम्भिक नतिजाअनुसार वामपन्थी गठबन्धनले देशका ६ वटा प्रदेश र संघीय व्यवस्थापिकामा बहुमत पाएको छ । यस निर्वाचनमार्फत नागरिकले वाम गठबन्धनको राजनीतिक, आर्थिक–सामाजिक अवधारणालाई निश्चित समयावधिका लागि अनुमोदन गर्दै राजनीतिक स्थिरता रोजेका छन् । तर, सेयर बजारमा सम्भावित प्रभावका बारेमा लगानीकर्ता र कारोबारीहरू स्पष्ट हुन नसकेको आभास बजार परिसूचक नेप्सेमा देखिएको उतारचढावले देखाएको छ । बजारको सम्भावित गतिलाई निम्नानुसार अनुमान गर्न सकिन्छ :
राजनीतिक वातावरण
निर्वाचनपश्चात् राजनीतिक वातावरण सङ्लिएको छ । देशमा लोकतान्त्रिक गणतन्त्रका संघीय संरचनाहरूको संस्थागत विकासको एउटा चरण पूरा भएको छ । स्थानीय, संघीय र प्रादेशिक निर्वाचनसमेत सफलतापूर्वक सम्पन्न भएको छ । नेपालको संविधानअनुसार नेपालमा अब स्थानीय, प्रादेशिक र संघीय तहसँगै प्रत्येक तहका आफ्नै व्यवस्थापिका र कार्यपालिका अर्थात् सरकारसमेत हुनेछ । देश राजनीतिक स्थिरतातर्फ अगाडि बढ्ने र स्थिर सरकार पाउने सम्भावना बढेको छ । निर्वाचनले संघीय सरकारका लागि वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएको छ । तर, पनि संघीय सरकारमा एकल पार्टीको बहुमत छैन, प्रादेशिक र स्थानीय तहमा फरक–फरक दलको नेतृत्वका कारण केही असहजता भने आउन सक्छ ।
संघीय सरकार र उसको आर्थिक नीतिले सेयर बजारमा महत्वपूर्ण भूमिका खेल्छ । तर, विद्यमान निर्वाचन प्रणाली र हालसम्मको निर्वाचनको नतिजाका आधारमा संघीय सरकारमा एकल पार्टीको बहुमत नहुने निश्चित भएको छ । प्रत्यक्षतर्फको नतिजा र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मतका आधारमा मूलतः पाँच राजनीतिक दलहरू संघीय सरकारका खेलाडी हुने र त्यसमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) टोली नेता हुने सम्भावना अधिक रहेको छ । २ सय पचहतर सिटको प्रतिनिधिसभामा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रा दल हुने स्पष्ट देखिएको छ । त्यसपछि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको हैसियत हुने अवस्था देखिएको छ । यसले राजनीतिक स्थिरताका लागि र संघीय सरकारमा बहुमतका लागि वाम गठबन्धनको निरन्तरतालाई अनिवार्य सर्तका रूपमा अगाडि सारेको छ । विद्यमान गठबन्धनमा सिर्जना हुन सक्ने कुनै पनि जोखिमले समग्र राजनीतिक वातावरणलाई प्रभावित पार्नेछ ।
सेयर बजारमा प्रभाव
सेयर बजार र राजनीतिक वातावरणको सम्बन्ध अविभाज्य तर अनिश्चित रहन्छ । राजनीतिक परिदृश्यमा देखिने स–सानो परिवर्तनले समेत बजारमा ठूल्ठूला उथलपुथल ल्याउन सक्छ । चुनाव अगाडिसम्म निर्वाचनपछिको वातावरणलाई देखाउँदै बढेको बजार परिसूचक निर्वाचनको प्रारम्भिक नतिजासँगै आमलगानीकर्ता र कारोबारीहरूको अपेक्षाविपरीत घट्न पुगेको छ ।
निर्वाचनको मिति घोषण हुँदा १६०० को हाराहारी रहेको बजार परिसूचक घट्दै दोस्रो चरणमा २०७४ मंसिर २१ गते निर्वाचनको अघिल्लो दिन १५३६ मा पुगेको थियो भने निर्वाचन सकिएर बजार खुल्दा सुरुवाती केही समय निरन्तरमाथि उक्लँदै गए पनि सोही दिन बजार करिब ६ अंकले घटेर बन्द हुन पुग्यो । निर्वाचनको नतिजा आइनसकेको र केही मुनाफा बुक गर्न खोज्नेहरू हाबी भएर बजार घटेको हो कि भन्ने कुरा प्रत्यक्ष निर्वाचनको सम्पूर्ण नतिजाले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिँदा समेत बजार बढ्नुको बदला घट्दो क्रममा रहनु र सप्ताहान्त करिब १६ अंकले घटेर बजार परिसूचक १५२० मा पुग्नुले नयाँ राजनीतिक वातावरणलाई सेयर बजारले सहज रूपमा नलिएको वा अन्यौललाई दर्साएको छ । हुन त धेरै लगानीकर्ताले बजारमा सकारात्मक सन्देश र आशाका किरणहरू छर्दै बजार बढाउनमा सघाउने कामसमेत नभएको होइन । तैपनि आमलगानीकर्ता र कारोबारीहरू सेयर बजारप्रति ढुक्क हुन नसकेको आभास दिएको छ ।
यसले सेयर बजारमा राजनीतिक वातावरण, स्थिर सरकार, सम्भावित आर्थिक सुधारसँगसँगै कम्पनीहरूको व्यवसाय, मुनाफा, व्यवस्थापन, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपातसमेत रहेको तर्फ लगानीकर्ता र कारोबारीलाई झकझक्याएको छ । कम्पनीहरूको कमजोर त्रैमासिक रिपोर्ट, बैंकहरूको पुँजी वृद्धिको अल्पकालीन प्रभाव, बिमा कम्पनीहरूमा पनि पुँजीवृद्धिसँगै थप कम्पनीहरूको प्रवेश, लघुवित्तसम्बन्धी अस्थिर नीति र अनिश्चितता, जलविद्युत् क्षेत्रका कम्पनीहरू नयाँ र निश्चित आम्दानीमा बाँधिएका हुनु इत्यादि कारण पनि बजारमा केही नकारात्मक प्रभाव परेको हो । यस्तै, गत वर्ष यही समयमा बजारमा आएको उच्च गिरावटले गर्दा पनि कतिपय लगानीकर्ता झस्किएका हुन सक्छन् ।
सेयर बजारको भविष्य
निर्वाचनपश्चात् पनि सेयर बजारमा ठूलो उतारचढाव नआउनु र गत वर्षको जस्तो बजारमा भारी गिरावट नआएर बजार बिस्तारै सम्हालिएको देखिएको छ । तर, सेयर बजारको भविष्य के हुन्छ भन्ने सम्बन्धमा लगानीकर्ता र कारोबारीहरूका आ–आफ्नै तर्कवितर्क छन् । सेयर बजार आफैंमा वस्तु वा सेवाको प्रत्यक्ष बजार नभएको हुँदा, ससाना कुराले यसलाई छिटो प्रभावित गर्छ । जोसुकैले जेसुकै भने पनि बजारको भविष्य सम्बन्धमा कसैले ठोकुवा गर्न सक्दैन । राजनीतिक वातावरणसँगै, संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारहरूले लिने आर्थिक नीति र लगानीको वातावरणसँगै कम्पनीहरूको मुनाफा र व्यवसायमा निर्भर रहनेछ ।
१. राजनीतिक वातावरण : वामपन्थी गठबन्धनले निरन्तरता पाएको अवस्थामा राजनीतिक वातावरण अनुकूल हुनेछ र यसले स्थायी सरकार, सरकारी नीतिनियममा निरन्तरता दिनेछ । तर, एकल पार्टी बहुमत नहुनु र गठबन्धनका दलहरूको सौदाबाजी र राजनीतिक अवस्थामा सदैव नयाँ सम्भावनाका कारण पूर्णत ढुक्क हुने अवस्था छैन ।
२. सरकारको आर्थिक नीति : सेयर बजारलाई प्रभावित पार्ने अर्को मुख्य तत्व सरकारको आर्थिक नीति पनि हो । केही लगानीकर्ता र कारोवारीहरूमा वामपन्थी सरकारले राज्यनियन्त्रित अर्थनीति अवलम्बन गरी निजी क्षेत्रको लगानी निरुत्साहित गरिँदा सेयर बजारमा नकारात्मक असर पर्ने धारणा बनाएको पाइन्छ । तर, चुनावी सभाकै क्रममा समेत पुँजीबजारलाई प्रोत्साहित गरिने र वाम गठबन्धनको चुनावी घोषणपत्रमा ‘आत्मनिर्भर अर्थतन्त्रको विकास र समग्रमा समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्ति हाम्रो मूल आर्थिक कार्यदिशा र मार्गचित्र नै सामाजिक–आर्थिक रूपान्तरणका मुख्य नीति हुने’ उल्लेख गरेबाट पूर्णतः साम्यवादी आर्थिक नीति नहुने कुरा निश्चित छ । यस्तै घोषणपत्रमा निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगका रूपमा सामेल र प्रोत्साहन गरिने तथा लगानीमैत्री वातावरण, अनुकूल श्रमसम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिने उल्लेख छ । यसले पनि वामपन्थी सरकारले समेत निजी क्षेत्रको लगानीलाई उत्तिकै प्राथमिकता दिने कुरा देखिन्छ ।
हालै डा. युवराज खतिवडाले वामपन्थी सरकार पूर्णतः राज्यनियन्त्रित अर्थव्यवस्थामा नजाने बताएबाट पनि धेरै हदसम्म वामपन्थी सरकारले निजी क्षेत्रसँगसँगै लैजानेमा विश्वस्त हुन सकिन्छ । हो, राज्यले केही व्यवस्थित गर्ने क्रममा तीनखम्बे आर्थिक नीतिले वितरणमुखी बजेटमा जोड देला, तर पक्कै पनि देश साम्यवादी अर्थतन्त्रमा फर्कंदैन । डा. खतिवडाले ‘बजारलाई उचाल्ने, पछार्ने र बीचबीचमा खेलफड्को गर्नेले अब बन्ने सरकारबाट तर्सिनु स्वाभाविक हो र उनीहरू तर्सिनु पनि पर्छ । अपारदर्शी हिसाबले कारोबार गर्नेहरूले सोच्नैपर्ने दिन आएको छ अब । पुँजीबजारलाई व्यवस्थित ढंगले अगाडि बढाउँदा त्यसको माध्यमबाट पनि अब बन्ने वामपन्थी नेतृत्वको सरकारलाई वर्षमा एक–डेढ खर्ब पुँजी परिचालन हुन्छ । ठूलो मात्रामा पुँजी संकलन हुँदा सेयर बजारमा स्थायित्व पनि आउँछ ।’ बताएबाट अबको सरकारले पनि पुँजीबजारलाई उत्तिकै प्राथमिकता राख्नेमा आश्वस्त हुन सकिन्छ ।
जहाँसम्म व्यावहारिक पक्ष छ, सरकार गठन भई सरकारको नीति सार्वजनिक भइसकेपछि पनि वास्तविक प्रभाव देखिन केही समय लाग्ने निश्चित छ । वामपन्थी सरकार गठन भई उल्लिखित अर्थनीति र पुँजीबजारसम्बन्धी नीति अवलम्बन गरिएको अवस्थामा पुँजीबजार थप व्यवस्थित र परिपक्व हुनेछ भने लगानीकर्तालाई लगानीमा सहज हुने सम्भावना रहन्छ । यसले कम्पनीको आधारभूत पक्षलाई अध्ययन गरी दीर्घकालीन लगानीमा जोड दिनेछ ।
३. कम्पनीहरूको आधारभूत पक्ष : वामपन्थी गठबन्धन वा अन्य गठबन्धनको सरकार आए पनि आधारभूत पक्षहरूका सबल कम्पनीहरूको बजार मूल्यमा उल्लेख्य वृद्धि नहुँदासमेत दीर्घकालीन मुनाफाको सम्भावना रहन्छ । बैंकिङ क्षेत्र नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने दबाबमा व्यवसाय विस्तार र पुँजी परिचालनमा केही कमजोर देखिएका छन् । पुँजी संकलनको कार्य सकिएपछि बैंकहरू संस्थागत व्यवस्थापनसँगै बचत र लगानी परिचालनमार्फत व्यवसाय विस्तार तथा मुनाफा वृद्धिमा केन्द्रित हुने विश्वास गर्न सकिन्छ । बिमा कम्पनीहरू पनि बिस्तारै संस्थागत सुदृढीकरण, पुँजी संकलन तथा व्यवसाय विस्तारमा केन्द्रित हुन थालेको आभास पाइएको छ । जलविद्युत् क्षेत्रको विकास र विस्तारसँगै नेप्सेमा सूचीकृत हुने कम्पनीहरूको वृद्धि हुँदै जाने निश्चित छ ।
माथि उल्लिखित पक्षहरूका आधारमा सेयर बजार केही समय सामान्य उतारचढावबाट गुज्रनेछ भने सरकारको गठन, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण, कम्पनीहरूको दोस्रो त्रैमासिक रिपोर्टको प्रकाशनसँगै बजारले एउटा अल्पकालीन चरित्र प्रस्तुत गर्नेछ । बजार वास्तविक स्वरूपमा आउन भने केही समय लाग्न सक्नेछ ।