नेपाल इन्भेस्टमेन्ट बैंकले आव ०७३/७४ को लाभांशसम्बन्धी दिएको दुइटा सूचना र मौद्रिक नीतिका बारेमा सम्प्रेषण भएका समाचारले लगानी र कारोबारमा सूचनाको प्रभाव कस्तो हुन्छ भन्ने बुझ्न सकिन्छ । त्यस्तै कम्पनीहरूले बजारमूल्यलाई प्रभावित गर्न हकप्रद, थप सार्वजनिक निष्कासन (एफपीओ) जारी जस्ता सूचना प्रवाह गरी थाती राख्ने वा अन्य निर्णय गर्ने प्रवृत्ति मौलाएको छ । नेपाली लगानीकर्ता वा कारोबारीहरूलाई एक त सहज, यथार्थ र शुद्ध आधिकारिक सूचनाको अभावमा अनौपचारिक सूचनाको भरमा सेयर किनबेच गर्दै आएका छन्, जसले थप जोखिम निम्त्याएको छ । कतिपय अवस्थामा निर्णयहरू गलत सावित हुन पुगेका छन् । सूचनामा पहुँच भएका केही व्यक्ति, संस्था र समूहले आफूअनुकूल सूचनाको दुरुपयोग गर्दा त्यसको मूल्य अर्को लगानीकर्ताले चुक्ता गरिरहेको हुन्छ ।
सेयरको बजार मूल्य निर्धारणमा कम्पनीको व्यावसायिक क्षमता, सम्पत्ति र साखसँगै सूचनाले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विश्वमै सेयरबजारलाई सूचना संवेदनशील मानिन्छ । सूचनाको दृश्य मात्र होइन, अदृश्य मूल्य निकै ठूलो रहन्छ ।
सूचनाकाे स्राेत
सूचनाकाे स्राेत
कम्पनीको वित्तीय तथा आधारभूत सूचनाको आधिकारिक स्रोत सम्बन्धित कम्पनी नै हो । कम्पनीले आमसञ्चार माध्यम वा वेबसाइटमार्फत प्रवाह गर्ने सूचना आधिकारिक हो र सोको जिम्मेवारी सम्बन्धित कम्पनी र अधिकारीमा रहन्छ ।
यस्तै पुँजीबजारको अवस्था, कारोबार, पुँजीकरण, बजारको इन्डेक्सजस्ता बजारसँग सम्बन्धित सूचनाको आधिकारिक निकाय नेपाल स्टक एक्सचेन्ज हो भने धितोपत्र निष्कासन तथा नियमनसम्बन्धी सूचनाका लागि नेपाल धितोपत्र बोर्ड जिम्मेवार रहन्छ । नेपाल राष्ट्र बैंक र बिमा समितिबाट सम्बन्धित क्षेत्रको सञ्चालन र नियमनसम्बन्धी आधिकारिक सूचना प्राप्त गर्न सकिन्छ । यसका अतिरिक्त अन्य सरोकारवाला निकाय र म्युचुअल फन्ड सञ्चालकहरूले पनि आधिकारिक सूचना प्रवाह गर्छन् । अनलाइन पत्रिका, सामाजिक सञ्जाल, सूचनामा पहुँच भएका र अनुभवी व्यक्ति र केही छलफल समूहहरू अनौपचारिक सूचनाका स्रोत हुन सक्छन् । तर, अनौपचारिक सूचनाको विश्वसनीयता, जिम्मेवारी र शुद्धता सदैव शंकास्पद रहन्छ ।
सूचना प्रवाहसम्बन्धी कानुनी व्यवस्था
सूचना प्रवाहसम्बन्धी कानुनी व्यवस्था
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को परिच्छेद ७ मा सूचना, जानकारी तथा विवरणसम्बन्धी व्यवस्था गरिएको छ । यसअनुसार,
- ऐन तथा यस नियमावलीबमोजिम धितोपत्र दर्ता गरेका संगठित संस्थाले प्रत्येक तीन महिनाको अनुसूची १४ मा उल्लिखित विवरण सो त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डसमक्ष पेस गर्नुपर्नेछ र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा समेत प्रकाशन गर्नुपर्नेछ । अनुसूची १४ अनुसार सूचीकृत कम्पनीले त्रैमासिक अवधिको वासलात, नाफा–नोक्सानसम्बन्धी विवरण, न्यूनतम रूपमा प्रमुख वित्तीय अनुपातहरू : जस्तै प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपातसहितको वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ । यसका साथै व्यवस्थापकीय विश्लेषण, कानुनी कारबाहीसम्बन्धी विवरण, संगठित संस्थाको सेयर कारोबारसम्बन्धी विश्लेषण, समस्या तथा चुनौती, संस्थागत सुशासन, र सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष÷कार्यकारी प्रमुखको उद्घोषण त्रैमासिक विवरणमा उल्लेख गर्नुपर्नेछ ।
- आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन बोर्डसमक्ष पेस गर्नुपर्नेछ । अनुसूची १५ अनुसार सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षण भएको वित्तीय विवरण, कानुनी कारबाहीसम्बन्धी विवरण, संगठित संस्थाको सेयर कारोबारसम्बन्धी विश्लेषण, समस्या तथा चुनौती, संस्थागत सुशासन उल्लेख गर्नुपर्नेछ ।
- साधारणसभा गर्नुपूर्व त्यस्तो साधारणसभामा छलफल हुने विषयको जानकारी बोर्डलाई दिनुपर्नेछ र साधारणसभा सम्पन्न भएको मितिले ३० दिनभित्र साधारणसभामा पेस भएको प्रस्ताव, छलफल भएका विषय तथा निर्णयसम्बन्धी विवरण बोर्डमा पेस गर्नुपर्ने छ ।
- सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने अनुसूची १६ मा उल्लिखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तीन दिनभित्र बोर्डमा पेस गर्नुपर्नेछ । अनुसूची १६ मा २५ वटा विशेष घटना वा परिस्थितिसम्बन्धी विवरण दिइएको छ । यस्तै उपनियम ३ मा वित्तीय विवरणसम्बन्धी, ६ र ७ मा सूचनाको माग तथा आपूर्तिसम्बन्धी थप व्यवस्था गरिएको छ ।
सूचना प्रवाहलाई व्यवस्थित र जिम्मेवारी बनाउन धितोपत्र कारोबार ऐन, २०६३ को परिच्छेद ९ मा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्ड–सजायको व्यवस्था गरेको छ, जसको दफा ९१ देखि १०० मा भित्री कारोबार, भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति, सूचना वा जानकारी सार्वजनिक गरेको मानिने, झूटो कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पारेमा, झुक्याउने विवरण दिने, जालसाजीयुक्त कारोबार, जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने, लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा सम्बन्धी कानुनी व्यवस्था दिइएको छ ।
दफा १०१ मा अनुसार झूटो कारोबार, मूल्यमा उतारचढाव, र धितोपत्र बजारलाई प्रभावित गरेमा ५० हजारदेखि १ लाख ५० हजारसम्मको जरिवाना वा एक वर्ष कैद वा दुवै हुन सक्ने व्यवस्था छ । यस्तै झुक्याउने विवरण दिने, जालसाजीयुक्त कारोबार, लिखत वा विवरण लुकाएमा वा नष्ट गरेमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यसका साथै कसैले नियतवश वा कानुनविपरीत कार्य गरी कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानि–नोक्सानी गरे÷गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र वास्तविक हानि–नोक्सानीको क्षतिपूर्तिसमेत भराइदिन सक्ने देखिन्छ ।
उल्लिखित कानुनी व्यवस्थाका बाबजुद सूचनाको दुरुपयोग गरी दृश्य–अदृश्य रूपमा भइरहेका भित्री कारोबार, बजार प्रभावित गर्ने काम रोक्न नसक्नु दुर्भाग्य हो ।
सूचनामा पहुच
केही व्यक्ति, समूह तथा अधिकारीहरूको बाहेक सूचीकृत कम्पनीहरूको यथार्थ सूचनामा आमलगानीकर्ताको पहुँच निकै कमजोर छ । कम्पनीहरूले कानुनतः बाध्यात्मक सूचनाबाहेक व्यवसायिक अवस्था, भविष्यको योजना र वित्तीय अवस्थाको यथार्थ सूचना प्रवाह गर्ने प्रचलन छैन । कानुनी आधार पूरा गर्न सूचना अधिकारी राख्ने, तोकिएको सूचना र विवरण प्रकाशित त गर्ने गर्छन् तर त्यसलाई लगानीकर्तासम्म पु¥याउने ठोस पहल गर्दैनन् । यथार्थ र शुद्ध सूचनामा पहुँच नहुँदा आमलगानीकर्ताहरू लहलहैमा निर्णय गर्न बाध्य छन् । त्यसैले त हजारौं कित्ता सेयर लिलाममा आइरहेको छ भने बोनस र नगद लाभांशसम्बन्धी यथेष्ट सूचना नहुँदा करोडौं रुपैयाँ त्यत्तिकै थन्किएको छ । सेयर बजार, सरोकारवाला, ऐन–कानुन, कम्पनीगत सूचना एकीकृत रूपमा उपलब्ध र भण्डारण गर्ने आधिकारिक संस्था र त्यसमा सहज पहुँचको व्यवस्था हुनुपर्छ, जसले अनौपचारिक माध्यममार्फत सूचना प्राप्त गर्नुपर्ने बाध्यता हटाउनेछ । यस्तै सूचीकृत कम्पनीहरूले अनिवार्य रूपमा वेबसाइट सञ्चालन र नियमित अपडेट गर्नैपर्ने, स्थानीय, राष्ट्रिय र अनलाइन सञ्चारमाध्यमहरूमार्फत यथेष्ट सूचना प्रवाहको व्यवस्था मिलाइनुपर्छ । हुन त हकप्रद, एफपीओ, लिलामीका सन्दर्भमा सूचना प्रवाहमा केही सुधार भएका छन् तर यसमा अझै सुधार हुनु आवश्यक छ । शुद्ध र यथार्थपरक सूचना प्रवाह गर्नु कम्पनीको जिम्मेवारी हो भने त्यसको आवश्यक परीक्षण र जाँचबुझ कम्पनीका सम्बन्धित अधिकारी र नियामकको कर्तव्य हो । यस्तै आमजनमानसमा सूचना प्रवाह गर्नुअगाडि त्यसको यथार्थता र शुद्धता परीक्षण गर्नु आमसञ्चारमाध्यमको समेत जिम्मेवारी रहन जान्छ ।
सूचनाको बजारमा हाल सबै सरोकारवाला वा सूचनाका विक्रेताहरू तीव्र सूचना बिक्री गर्ने होडबाजीमा सूचनाको शुद्धताप्रतिको जिम्मेवारी भुलिरहेका छन् । नेपाल स्टक एक्सचेन्ज वा नेपाल धितोपत्र बोर्डको वेबसाइटमा प्रकाशित सूचनामा समेत जिम्मेवारी नलिने परम्परा छ । अझ आजकाल सामाजिक सञ्जाल र अनलाइन पत्रिकाहरूमा प्रकाशित सूचनाको गुणस्तर यति कमजोर पाइन्छ, जसबाट लगानीकर्ताहरू लगानीसम्बन्धी गलत निर्णय गर्न र दिग्भ्रमित हुन पुग्छन् ।
सूचनाको विश्लेषण
सूचनाको वास्तविक लाभग्राही लगानीकर्ता वा कारोबारी नै हुँदा उपलब्ध सूचनाहरूको शुद्धता र यथार्थताको विश्लेषण गर्नु पहिलो जिम्मेवारी आफ्नै हो । विद्युतीय र तीव्र सूचना प्रवाहको वर्तमान समयमा सूचना प्रवाहको कानुनी आधार पूरा गर्न, सार्वजनिक हित र व्यक्तिगत लाभका लागि सूचना आपूर्ति भइरहेका हुन्छन् ।
कम्पनीबाट प्रवाहित सूचनामा समेत गैरजिम्मेवारीपना देखिएको अवस्थामा विशेष गरी सामाजिक सञ्जाल र विश्वसनीयता स्थापित भइनसकेका अनलाइन पत्रिकाहरूमा प्रकाशित सूचनाहरूको दोहोरो परीक्षण नगर्ने हो भने गलत निर्णयको सिकार हुनेमा द्विविधा रहन्न । नेप्सेले प्रवाह गरेको बजारसम्बन्धी सूचनाको थप विश्लेषण र धितोपत्र बोर्डले सार्वजनिक गरेको हकप्रद, सार्वजनिक निष्कासन, एफपीओसम्बन्धी सूचनाहरूसमेत पुनः परीक्षण गर्नुपर्ने अवस्था रहेको छ । सही वा तथ्यपरक लगानी वा कारोबार निर्णयका लागि उपलब्ध सूचनाको विश्वसनीयता, शुद्धता र यथार्थतालाई परीक्षण गरेर मात्र प्रयोग गर्नुपर्छ ।
काराेवार राष्ट्रिय दैनिकमा २०७४ असाेज १ गते प्रकाशित
http://www.karobardaily.com/news/82364