Sunday, April 25, 2021

मूल्यान्तरको खेलमा माग र आपूर्ति सन्तुलन र सरकारी कम्पनी

धितोपत्रको प्राथमिक बजारमा सामान्यतः निश्चित वा आरक्षित मूल्य कायम हुँदा मूल्यान्तर (मूल्यको अन्तर) को सम्भावना हुँदैन । सम्भवतः बुक बिल्डिङसँगै अप्रत्यक्ष खेलको सुरुवात विस्तारै होला । तर, दोस्रो बजार (सेयर बजार) मा लगानी वा लगानी व्यवस्थापनसँगै मूल्यान्तरमा खेल्दै मुनाफा (पुँजीगत लाभ) का लागि सेयर किनबेच गरिन्छ । मूल्यान्तरको खेलमा सहभागी धितोपत्र कारोबारीहरू सदैव मूल्य नियन्त्रण वा स्वार्थअनुरूपको मूल्य कायम गर्ने प्रयासमा हुन्छन् । अन्य वस्तु तथा सेवाको व्यवसायभन्दा फरक धितोपत्र बजारमा प्रत्येक कारोबारमा तोकिएको सीमाभित्र वैधानिक मूल्यान्तरको छुट हुन्छ ।

मूल्यान्तरको वैधानिक व्यवस्था र बन्देज

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार क) प्रारम्भिक कारोबार सत्र (प्रि-ओपनिङ) मा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत घटी वा बढी, ख) निरन्तर कारोबार सत्रमा कायम मूल्यको २ प्रतिशत घटी वा बढी, ग) १ सय अंकित मूल्यको धितोपत्रमा न्यूनतम एक रुपैयाँ वा एकले भाग जाने पूर्णांक, तर ५० भन्दा कम मूल्यमा कारोबार हुने धितोपत्रमा एक रुपैयाँभन्दा कमको मूल्यान्तरमा सेयर किनबेच आदेश दिन सकिन्छ । यसरी एक दिनमा बढीमा १० प्रतिशत मूल्य तल वा माथि गर्दै अधिकतम २० प्रतिशतको मूल्यान्तरमा खेल्न सकिन्छ ।

धितोपत्र ऐन, २०६३ दफा ९१ अनुसार “कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार मानिन्छ ।” यस्तो कारोबार दण्डनीय हुन्छ ।

सोही ऐनमा “कसैले हुँदै नभएको वा कृत्रिम वा झुटो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतारचढाव गराएको मानिने” व्यवस्था छ । ऐनअनुसार कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरूसँग मिली (क) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, (ख) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने, (ग) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने, जस्ता काम दण्डनीय हुनेछ ।



थप टिप्पणी, २०७८ असार १० गते नियामकबाट (क) प्रिअाेपन सेसनमा विगतकाे ५ प्रतिशतकाे सट्टा ‘२ प्रतिशत घटी वा बढीको मूल्य सीमा’ (±२ प्रतिशत) कायम कायम गर्न, र (ख) खरिदबिक्रि अादेश प्रविष्टिमा हाल कायम रू १ काे व्यवस्थालाइ परिवर्तन गर्दै १० पैसा घटि वा बढिकाे अन्तरमा मूल्यमा अादेश दिन सकिने (माेलमाेलाइ) काे व्यवस्था गर्न निर्देशन भएकाे छ। नियामककाे २०७८ असार १० काे निर्देशन । 

मूल्यान्तर र सर्किटसम्बन्धी कानुनी व्यवस्था र प्रचलित विधीबीच केहि भिन्नता देख्न सकिन्छ । प्रत्येक धिताेपत्रकाे सम्बन्धमा कानुनले प्रिअाेपनमा कायम मूल्यकाे ±१० प्रतिशत भनेपनि प्रचलनमा अघिल्लाे दिन कायम अन्तिम काराेवार मूल्यकाे ±१० प्रतिशतमा सर्किटकाे व्यवस्था छ । यसले एक दिनमा एक धिताेपत्रकाे मूल्य अघिल्लाे दिनमा कायम मूल्यकाे अाधारमा कुल २० प्रतिशत र एकै दिन कायम हुनसक्ने न्यून्तम मूल्यकाे अाधार २२.२२ प्रतिशत वा अधिकतम मूल्यका अाधारमा १८.१८ प्रतिशतकाे मूल्यान्तरकाे सम्भावना रहन्छ । मूल्य प्रविष्टिकाे सम्बन्धमा समेत टिएमएसमा उपलब्ध एमकेटि (मार्केट) विकल्पबाट खरिदबिक्री अादेश प्रविष्ट गरिएकाे अवस्थामा २ प्रतिशतकाे मूल्य सीमा सहजै ताेडिन सक्छ । यसरी व्यवहारमा मूल्यान्तर किनबेच अादेशमा ±२ प्रतिशत र दिनकाे ±१० प्रतिशत (कुल २० प्रतिशत) भएपनि कानुनमा केहि विवाद (±१५% अब ±१२%) हाे कि भन्ने विवाद देखिएकाे छ । यससम्बन्धी थप जानकारीका लागि एकैचोटी १८% तल र २२% माथिसम्म जानसक्छ सेयर मूल्य, के सर्किट रेन्ज घटाउन आवश्यक हो? (bizmandu.com) पढ्न सकिन्छ ।


माग र आपूर्तिको खेलमा सरकारी कम्पनी

वस्तु तथा सेवा होस् वा सेयरको मूल्य निर्धारणमा मुख्य भूमिका माग र आपूर्तिकै हुन्छ । मूल्य बढाउन माग बढाउन वा आपूर्ति घटाउन तथा मूल्य घटाउन माग घटाउन वा आपूर्ति बढाउन सक्नुपर्छ । मूल्यान्तरको खेलमा स्वार्थअनुकूल मूल्य डोर्याउँदै जित्ने मुख्य उपाय भनेकै माग र आपूर्ति व्यवस्थापन हो । माग र आपूर्तिबीच जति असन्तुलित अवस्था हुन्छ, मूल्यान्तरको खेल त्यति सहज हुन्छ । हाल बजारमा उच्चमूल्यका सेयरले पनि यसको पुष्टि गर्छ । उच्च माग र न्यून आपूर्तिका सेयरको मूल्य निर्धारणमा आधारभूत पक्ष (फन्डामेन्टल) ले काम गर्दैन् । यस यथार्थतालाई बिर्संदै इन्साइडर ट्रेडिङ, पम्प एन्ड डम्प, सर्कुलर ट्रेडिङ र कर्नरिङको कुरा जोडतोडले उठ्छ, तर माग र आपूर्ति व्यवस्थापनमा नियामक र सरकारको कहिल्यै ध्यान जाँदैन ।

तालिकाः उच्चमूल्यका १० सूचीकृत कम्पनी सहित सरकारको उल्लेख्य लगानी र नियन्त्रणका कम्पनीहरू

कम्पनी

सूचीकृत शेयर (कित्ता)

सरकारको हिस्सा (%)

संस्थापक (%)

सर्वसाधारण (%)

अन्तिम कारोवार मूल्य* (रु)

बजार पूँजीकरण (रु. अर्ब)

नेपाल टेलिकम

१५,००,००,०००

९१.

९१.५३

.४७

,२९७

१९४.५५

नेपाल बैंक

१२,६३,६७,५८७

५१

५१

४९

४३८

५५.३५

कृषि विकास बैंक

१०,९८,९९,२९६

५१

५१

४९

४२८

४७.०४

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलममेन्ट कम्पनी

११,००,००,०००

५०

८०

२०

४८२

५३.०२

नेपाल पुनर्बीमा कम्पनी

१०,००,००,०००

४४

८४

१६

,४०३

१४०.३०

राष्ट्रिय विमा कम्पनी

२६,६६,३६५

४७.

८०.४६

१९.५४

१७,६००

४६.९३

बिसालबजार कम्पनी

,९१,४००

अनिश्चित

नखुलेको

नखुलेको

,१६८

.५६

साल्ट ट्रेडिङ कम्पनी

१९,२०,२४६

११.

नखुलेको

७८.७४

१०,३००

१९.७८

युनिलिभर

९२०,७००

 

नखुलेको

नखुलेको

१९,४४०

१७.९०

बोटलर्स नेपाल (तराई)

१२,१०,०००

 

७५

२५

,१३०

११.०५

जनउत्थान सामुदायिक लघुवित्त

,९२,०००

 

५५

४५

,९५०

.९२

हिमालयन डिस्टिलरी

८६,७७,०२५

 

५८

४२

,३३४

३७.६१

नागरिक लगानी कोष

,००,००,००३

 

८०

२०

,८८६

११६.५८

नेसनल माइक्रोफाइनान्स

३१,९४,९४८

 

७०

३०

,१०१

.९१

फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स

६२,५५,१९३

 

७०

३०

२८८५

१८.०५

नोटः तथ्यांक नेप्से वेबसाइट र सम्बन्धित कम्पनीको रिपोर्ट, एचआईडिसिएलको वार्षिक प्रतिवेदनमा पूँजी वृद्धि र हिस्सा परिवर्तन देखिन्छ । 
* २०७८ बैशाख ९ काे मूल्य

बजारमा सरकारी कम्पनीका करोडौं कित्ता सूचीकृत भए पनि कारोबारयोग्य कित्ता कम र संस्थागत मागमा प्रोत्साहनले कतै सरकार नै माग र आपूर्तिबीच असन्तुलन गर्दै मूल्यान्तरका सहयोगी बन्दै त छैन भन्ने आशंका उब्जाएको छ । सरकारको बहुसंख्यक वा नियन्त्रणका नेपाल टेलिकम (एनटिसी), राष्ट्रिय बिमा कम्पनी (आरबीसीएल), हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलममेन्ट कम्पनी (एचआईडीसीएल), नेपाल बैंक (एनबीएल), कृषि विकास बैंक (एडीबीएल) र नेपाल पुनर्बिमा कम्पनी (एनआरआईसी) सँगै सरकारी हस्तक्षेप रहेका साल्ट ट्रेडिङ कम्पनी (एसटीसी) र विशालबजार कम्पनी (बीबीसी) सूचीकृत छन् । यसबाहेक नागरिक लगानी कोष, नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा पनि सरकारको लगानी र अप्रत्यक्ष नियन्त्रण छ ।

१५ करोड कित्ता सूचीकृत र सबैभन्दा बढी पुँजीकरणको नेपाल टेलिकमको ८.४७ प्रतिशतले करिब १.२७ करोड कित्ता कारोबारयोग्य देखिए पनि कर्मचारीसँग रहेको लाखौं कित्ता बिक्रीमै आउँदैन । यस्तै नेपाल पुनर्बिमाको केवल १.६० करोड, एचआईडीसीएलको २.२ करोड कित्ता मात्र कारोबारयोग्य छ । विवादास्पद विशालबजार कम्पनीको विवरणमा ५ लाख कित्ता र नेप्सेमा ४.९१४ लाख कित्ता मात्र सूचीकृत देखिन्छ, जबकी ४.१ करोड कित्ता लगत कायम गरिसकेको छ । साल्ट ट्रेडिङको पनि सूचीकृत १९.२० लाख कित्ता देखिन्छ, तर महालेखाले सरकारको हिस्सामा प्रश्न उठाइरहेकै छ । दुवै कम्पनीमा सरकारको वास्तविक हिस्सा, सूचीकृत र कारोबारयोग्य कित्ताको विवाद कायमै छ । सरकारकै अप्रत्यक्ष नियन्त्रणको नागरिक लगानी कोषको पनि ६० लाख कित्ता हाराहारी मात्र कारोबारयोग्य छ । सरकारको प्रत्यक्ष र अप्रत्यक्ष नियन्त्रण रहने सूचीकृत कम्पनीहरूको सेयर मूल्य असन्तुलित माग र आपूर्तिबाट प्रभावित महसुस हुन्छ । एकातिर कम कारोबारयोग्य कित्ता अर्कोतिर बैंक तथा बिमा क्षेत्रले समेत लगानी तथा किनबेच गर्न पाउँदा थप मागको सिर्जनाले मूल्य वृद्धिमा मद्दत पुगेको छ । अझ नेपाल टेलिकमले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को “सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाको जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (इनिसियल पब्लिक अफरिङ) गर्नुपर्ने” प्रावधानविपरीत ८.४७ प्रतिशत सेयर निष्कासन गरेर कानुन मिच्दै सेयरको आपूर्ति नियन्त्रित गरिरहेको छ ।

उच्च मूल्यका १० कम्पनीहरूमध्ये ४ सरकारी लगानी वा प्रत्यक्ष/अप्रत्यक्ष नियन्त्रणका र युनिलिभर, बोटलर्स नेपाल तराई, जनउत्थान लघुवित्त, हिमालय डिस्टिलरी, नेसनल माइक्रोफाइनान्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स सहित ६ कम्पनी छन्, जसको सेयर मूल्य प्रतिकित्ता २८ सय माथि छ । यसरी उच्च मूल्य कायम हुनुमा तिनको व्यवसाय र मुनाफाभन्दा सेयरको माग र आपूर्तिबीच असन्तुलन स्पष्ट झल्कन्छ । हुन त बैंक तथा बिमा क्षेत्रका बाहेक अन्यमा संस्थापक र सर्वसाधारणको सेयर किनबेचमा खास भिन्नता नहुँदा सर्वसाधारणको हिस्सा कति भन्नेले महत्व राख्दैन, तर निकै थोरै कित्ता बजारमा पठाउँदै मूल्यमा खेल्ने अवसर दिइरहने हो भने कर्नरिङ, पम्प एन्ड डम्प, सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ बेकार कुरा हुनेछन् ।

निष्कर्ष र सुझाव

एउटै बजार प्रणालीमा २-४ लाख**कित्ता र २०-२५ कराेड** कित्ता सूचीकृत कम्पनीको कारोबार हुने अवस्थामा पक्कै बजारले नै मूल्यान्तरमा खेल्ने सहज वातावरण तयार गरिदिनेछ । अझ निकै थोरै पुँजी र धेरै पुँजीका कम्पनीको पनि ५-१० प्रतिशत सर्वसाधारणमा जारी गरी कारोबारयोग्य कित्ता नियन्त्रित हुँदा माग र आपूर्तिको सामान्य सिद्धान्त मात्र होइन, कारोबारका लागि उपलब्ध केही हजार कित्ताहरू निश्चित व्यक्तिबीच किनबेच गर्दै वा आफ्नै समूहले किनेर र पछि बजारमा आपूर्ति नियन्त्रित गर्दै उच्च माग सिर्जना गरेर मूल्यलाई उच्चस्तरमा पुर्याउनु कुनै कठिन हुनेछैन । थोरै पुँजी र कम कारोबारयोग्य कित्ता सेयर सूचीकरण भनेको कानुनतः खुल्ला रूपमै सर्कुलर ट्रेडिङ, पम्प एन्ड डम्प र कर्नरिङलाई प्रोत्साहन हो । बजारमा रियल सेक्टर वा निश्चित कम्पनीको प्रवेशलाई प्रोत्साहन भन्दैमा १-२ लाख कित्ताका कम्पनीलाई सूचीकरण अनुमति दिनु ‘आ बयल मुझे मार’ भनेजस्तै हो ।

त्यसैले अवाञ्छित मूल्यान्तर नियन्त्रण र निरुत्साहनका लागि सूचीकरण र बजार प्रणालीमा कारोबारका लागि निश्चित कित्ता वा प्रतिशत कारोबारयोग्य सेयर हुनैपर्ने बाध्यात्मक व्यवस्था गरिनुपर्छ । यसमा सूचीकृत वा सूचीकरण हुने सरकारी कम्पनीहरूले नेतृत्वदायी र उदाहरणीय भूमिका खेल्दै टेलिकमले थप सेयर निष्कासन गर्नुपर्छ । उदाहरणका लागि क) न्यूनतम ५० करोडभन्दा न्यून पुँजीका कम्पनी मुख्य बजार प्रणालीमा प्रवेश निषेध, तथा ख) निजी क्षेत्रका कम्पनीकोे न्यूनतम २० र सरकारी नियन्त्रण वा लगानीका कम्पनीमा न्यूनतम ३० प्रतिशत सेयर कारोबारयोग्य हुनैपर्ने व्यवस्था गर्न सकिन्छ ।
थप सामग्री
** प्रकाशित लेखमा सच्याइएकाे 
काराेवार दैनिकमा १२ बैशाख २०७८ मा प्रकाशित, मूल्यान्तरको खेलमा माग र आपूर्ति सन्तुलन « (karobardaily.com)
Revised/updated 5 July 2021, NST 14:53

Sunday, April 11, 2021

बुक बिल्डिङका अवसर र चुनौतिहरू

खुल्ला बजारको मान्यताविपरीत नियन्त्रित र आरक्षित अंकित मूल्यमा सर्वसाधारणमा सेयर जारी गरिरहेको नेपाली धितोपत्र बजारले धितोपत्र (सेयर) को उचित मूल्य पहिल्याउन ‘बुक बिल्डिङ’ विधि कार्यान्वयनको प्रयास गरिरहेको छ । विद्यमान अंकित मूल्यमा सेयर निष्कासनले स्थापित र मुनाफासहित सकारात्मक नेटवर्थका कम्पनीको सेयर अप्रत्यक्ष छुटमा लगानीसँगै तत्कालीन केही मूल्यगत लाभको अवसर त होला, तर राम्रा कम्पनी बजारबाट हतोत्साहित हुने, लगानीको अवसर गुम्ने सम्भावना पनि रहन्छ । अर्कातिर व्यवसाय सञ्चालन र तत्काल मुनाफा नहुने ऋणात्मक नेटवर्थका कम्पनीलाई अंकित मूल्यमार्फत अप्रत्यक्ष प्रिमियम वा बढी मूल्य तिर्नुपर्नेछ । मूल्यगत द्वन्द्व निरूपण गर्दै उचित मूल्य निर्धारणका लागि ‘बुक बिल्डिङ’ कम्पनी र लगानीकर्तालाई स्वीकार्य विकल्प हुन सक्छ ।

‘बुक बिल्डिङ’ र मूल्य निर्धारण

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार ‘बुक बिल्डिङ विधि’ ले संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दा धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि वा प्रक्रियालाई जनाउँछ । ‘बुक बिल्डिङ निर्दे शिका, २०७७’ ले धितोपत्रको निष्कासन मूल्य बजारले नै निर्धारण गर्ने तथा मूल्य निर्धारण प्रक्रियालाई पारदर्शी तथा प्रतिस्पर्धी बनाउने अपेक्षा गरेको छ ।

यस विधिबाट धितोपत्र निष्कासन गर्न चाहने संस्था क) तीन आर्थिक वर्षदेखि लगातर खुद मुनाफामा रहेको, ख) साधारणसभाले ‘बुक बिल्डिङ’ विधिमार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको, ग) प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीको कम्तीमा १ सय ५० प्रतिशत रहेको र घ) औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड पाएको हुनुपर्नेछ।

निर्देशिकाअनुसार मूल्य सीमा निर्धारणका लागि १) निष्कासन तथा बिक्री प्रबन्धक र स्वचालित विद्युतीय प्रणालीमार्फत कार्य सञ्चालन सम्झौता, २) नियमावलीको अनुसूची ५ बमोजिमको विवरणसहित निष्कासन गरिने धितोपत्रको संख्या, ‘अनुमानित मूल्य’, मूल्यांकनको औचित्य र आधार खुलाएर प्रारम्भिक विवरण पत्र तयार, ३) योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई छलफल, ४) कम्तीमा १० योग्य संस्थागत लगानीकर्तासँग न्यूनतम खरिद सेयर संख्या, ‘आशय मूल्य’ र मूल्यांकनको आधारसहित आशय मूल्य प्राप्ति, ५) आशय मूल्यको अध्ययन गरी ‘आधार मूल्य’को २० प्रतिशत तल र माथि रहने गरी ‘मूल्य सीमा’ कायम, र ६) स्वीकृतिका लागि बोर्डमा निवेदन दिनुपर्नेछ । यसपछि मूल्य निर्धारणका लागि १) तोकिएको मूल्य सीमा भित्र, आशय मूल्य पेस गरेकाबाट उल्लिखित संख्या र मूल्यभन्दा कम नहुने गरी, एक संस्थागतबाट निष्कासनको बढिमा २० प्रतिशत नहुने गरी र स्वार्थ नबाझिएका योग्य संस्थागत लगानीकर्ताहरूबाट बोलकबोल गर्ने; २) स्वचालित विद्युतीय बिल्डिङ गराउने; र ३) बुक बिल्डिङ निर्देशिकाको अनुसूची ३ बमोजिम ‘कट अफ मूल्य’ निर्धारण गर्दै आवेदक संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँड गर्नुपर्छ ।

बाँडफाँड भएका योग्य संस्थागत लगानीकर्ता, सेयर संख्या र ‘कट अफ मूल्य’ सहित संशोधित विवरणपत्र बोर्डबाट स्वीकृति गराएर ‘कट अफ मूल्य’को १० प्रतिशत छुटमा सर्वसाधारणलाई सेयर निष्कासन र बाँडफाँड गर्नुपर्छ । यसमा आवेदन र बाँडफाँड न्यूनतम ५० कित्ताको हुनेछ ।

सम्भवतः यस विधिबाट सेयर निष्कासन गर्ने पहिलो कम्पनी सर्वोत्तम सिमेन्ट हुनेछ, जसले मूल्य सीमा निर्धारणका लागि छलफलको चरण पूरा गरेको छ । बोलकबोल, ‘कट अफ मूल्य’ निर्धारण र योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँडपछि निर्धारित ‘कट अफ मूल्य’बाट १० प्रतिशत कम मूल्यमा सर्वसाधारणका लागि निष्कासन हुनेछ । त्यसैले हालको अनुमानित र बाहिरिएको प्रतिकित्ता रु. ७ सय ५० आधिकारिक र अन्तिम मूल्य हुनेछैन ।

अवसर

बैंक, बिमा र जलविद्युत्को दबदबा रहेको विद्यमान नेपाली धितोपत्र बजारलाई वास्तविक उद्योग–व्यवसाय (रियल सेक्टर)को उचित सहभागितासहितको अर्थतन्त्रको ऐना बनाउने अवसर ‘बुक बिल्डिङ’ले जुराउन सक्छ । हुन त धितोपत्र बजारमा रियल सेक्टरको सहभागिता बढाउन सरकारले १ अर्बभन्दा बढी पुँजी भएकालाई सर्वसाधारणमा धितोपत्र निष्कासनमा प्रोत्साहनसँगै सूचीकृत उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत् उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने निकायलाई लाग्ने करमा १५ प्रतिशतले छुटको व्यवस्था गरेको छ । सहुलियतका बावजुद धितोपत्र बजार प्रवेशमा अनिच्छुक उद्योग–व्यवसायलाई ‘बुक बिल्डिङ’ले व्यवसाय, मुनाफा र साख प्रतिविम्बित हुने गरी ‘उचित मूल्य’ मा सेयर निष्कासनको अवसरसँगै सूचीकरणमा प्रोत्साहित गर्ने र सर्वसाधारणलाई लगानीको अवसर जुराउने अपेक्षा गर्न सकिन्छ ।

यस्तै पुँजी संकलनको राम्रो विकल्प भए पनि धितोपत्र बजारबाट टाढिँदै आएका उद्योग–व्यवसायलाई निश्चित लागत नपर्ने गरी पुँजी संकलन, सर्वसाधारणको सहभागितामार्फत वस्तु तथा सेवामा अपनत्व र बजारीकरण, सुशासनलाई अँगाल्दै कम्पनीको बजार मूल्य र पुँजीकरणसँगै साख र प्रतिष्ठा बढाउने अवसर हुनेछ ।

निर्देशिकाबमोजिमको विद्युतीय बोलकबोल प्रणालीको विकासले हालको भौतिक उपस्थिति चाहिने सेयर लिलामीलाई विद्युतीय बनाउने ढोका खुल्न सक्छ ।

चुनौतीहरू

१. मूल्य निर्धारणः ‘बुक बिल्डिङ’को मुख्य चुनौती सर्वस्वीकार्य र विश्वासिलो ‘उचित मूल्य’ निर्धारण हुनेछ । यसमा उचित मूल्य पहिल्याउन विभिन्न चरण पार गरिँदै गर्दा संलग्न पक्षहरूको जिम्मेवारी र पारदर्शिता निकै महत्वपूर्ण हुनेछ । आरक्षित र अंकित मूल्यमा सेयर खरिद गरिरहेका आमलगानीकर्ताहरूले बढी मूल्य तिर्नुपर्दाको असन्तुष्टिसँगै निर्धारित मूल्यमा प्रश्न उठाउन सक्नेछन् । नियामकले कम्पनीको योग्यता परीक्षणदेखि मूल्य निर्धारणमा सहजीकरणसँगसँगै कम्पनीको विगतको वित्तीय अवस्था र त्यसमा छेडछाड नभएको, ‘अनुमानित मूल्य’ यथोचित भएको, ‘आशय मूल्य’ र ‘कट अफ मूल्य’ तय गर्दा निष्कासन प्रबन्धक र योग्य संस्थागत लगानीकर्ताहरूबाट अनैतिक र गैरजिम्मेवारीपूर्ण कार्य वा मिलेमतो नभएको सुनिश्चित गर्नैपर्छ । तिरिएको प्रिमियम सेयरधनीकै हुने र लाभांशका रूपमा फिर्ता आएमा प्रभावकारी लागत/मूल्य (इफेक्टिभ कष्ट) घट्ने प्रस्ट्याउन सके मूल्यगत विरोध केही कम हुनेछ ।

२. सूचीकरण र सुशासनः सेयरको उचित मूल्य पाए पनि कम्पनीको व्यवस्थापन र सञ्चालनमा सम्भावित हस्तक्षेप र नियन्त्रणको आशंकमा लक्षित उद्योग–व्यवसाय सूचीकरणमा नआउन सक्छन् । तिनलाई सहभागिता, सुशासन र पुँजीकरणका फाइदा देखाउँदै बजारमा डोर्याउनु चुनौतीपूर्ण हुनेछ । लगानीकर्तालाई पनि अधिकारसँगै जिम्मेवारी लिन प्रेरित गर्न सके केही सहज हुनेछ ।

३. सन्दर्भ मूल्य र लागत प्रमाणीकरणः यस विधिअनुसार कम्पनीको अंकित, योग्य संस्थागत लगानीकर्ताहरूले तिर्ने र आम लगानीकर्ताले तिर्ने प्रतिसेयर मूल्य फरक हुनेछ । तसर्थ, सूचीकरण पछि कारोबार खुलाउने सन्दर्भ मूल्य कति र कसरीको तत्काल समाधान गरिनुपर्छ । लागत गणना र प्रमाणिकरणको अन्योलता र द्वन्द्व हटाउन सीडीएससीको भारित औसत लागत गणना प्रणालीमा सम्बन्धितले तिरेको मूल्य नै लागतका रूपमा जनाइनुपर्छ ।

४. नियमाकीय क्षमताः प्रत्यक्ष नियामक नभएका कम्पनीहरूको बोर्डबाट दरिलो नियमनमा सकृय (प्रोएक्टिभ) भूमिका ननिभाउने हो भने आमलगानीकर्ताहरूले विगतको भन्दा कैयौं गुना बढी आर्थिक क्षति बेहोर्ने छन् । उचित मूल्यमा निष्कासनसँगै सूचीकरणपछि पनि कम्पनीहरूको वित्तीय अवस्था र विवरण प्रकाशन, लाभांश, बजारमा सेयरको आपूर्ति र मूल्य, सूचनामा समान पहुँचजस्ता पक्षहरूमा बोर्डको भूमिका खोजिनेछ । विगतमा अंकित मूल्यमा हजार रुपैयाँ क्षति बेहोरेका लगानीकर्ताहरूले कैयौं गुना बढी नोक्सानी बेहोर्ने मात्र होइन, हकप्रद, बोनसको लालसा देखाएर, माग-आपूर्तिमा छेडछाड (कर्नरिङ) गर्दै सेयरको बजार मूल्यमा खेल्दै अन्ततः कम्पनी वा कारोबार बन्दको खतरा र भयावह अवस्था आउनेछ । हालै श्रीराम सुगर मिल्सको हकप्रदको घटना होस् वा भृकुटी पल्प एन्ड पेपर, गोरखकाली रवर, हरिसिद्धि ब्रिक एन्ड टायल, रघुपति जुट मिल्स, बुटवल स्पिनिङ मिल्स, ज्योति स्पिनिङ, अरुण वनस्पति, नेपाल बिटुमिन एन्ड ब्यारेल, फ्ल्युर हिमालयन, बिराट सु, नेपाल वनस्पति घिउ, नेपाल खाद्यजस्ता नामुद उत्पादनमूलक उद्योगहरूको कथा नदोहोरिएला भन्न सकिन्न ।

नियामकीय क्षमतामा बारम्बार सवाल उठिरहेको विद्यमान अवस्थामा ‘बुक बिल्डिङ’ उचित मूल्य निर्धारणको बहानामा टाठाबाठा उद्योग–व्यवसायलाई सेयर प्रिमियम संकलन र अनुचित मूल्यगत नाफाको माध्यम नबन्ने सुनिश्चित गर्न बोर्डलाई सहज छैन् । अझ विगतमा सयौं लगानीकर्ताहरूको करोडौं लगानी डुबाएर बदनाम अनि निश्चित व्यक्तिले मनमौजी चलाएका उद्योग–व्यवसायलाई नियमन र सुशासनमा डोर्याउन नसके बुक बिल्डिङ ‘नखाऊँ भने दिनभरिको सिकार, खाउँ कान्छा बाउको अनुहार’ हुन सक्छ । सरोकारवालले जिम्मेवारीपूर्ण भूमिका निर्वाह, अवसरको सदुपयोग र चुनौतीको सामना गर्न सके ‘बुक बिल्डिङ’ कम्पनी र लगानीकर्ताको हितसँगै बजार विकासमा कोसेढुंगा पनि हुन सक्छ ।

थप कानुनी व्यवस्था

काराेवार दैनिकमा २०७७ चैत २९ गते प्रकाशित, बुक बिल्डिङका अवसर र चुनौतीहरू « (karobardaily.com)