Sunday, June 5, 2022

लगानीकर्ताका लागि ‘नो–हार्म’ बजेट


आर्थिक वर्ष २०७९/८० का लागि १७.९३ खर्ब रुपैयाँको विनियोजन बजेट प्रस्तुत भएको छ । ‘आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशीतातर्फको प्रस्थान’ बजेटको रूपमा सरकारबाट प्रस्तुत बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि गर्दै मुद्रास्फीतिलाई ७ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको छ । सरकारले लगानीकर्ताको हित संरक्षण एवम् पुँजीबजार सुधारका लागि बजेटमा समेटिएका लघुवित्त कोष, नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) को सेयर निष्कासन अनि बुँदा ३३२ का कार्यक्रम प्रस्थान बिन्दु हुने जनाएको छ । स्वघोषित नेताहरूले ‘ऐतिहासिक’, ‘हर्ष न बिस्मात’, ‘अपेक्षाअनुसार नभए पनि राम्रो’ भन्ने अभिव्यक्ति दिएकै छन् ।

अपेक्षा र यथार्थता

धितोपत्र बजार परिसूचक उच्चतम बिन्दुबाट करिब ३५ प्रतिशत अर्थात् ११२० बिन्दु तथा बजार पुँजीकरण पनि १५.०९ खर्ब रुपैयाँ हाराहारी घटेको अवस्थामा बजेटले मनोबल उकास्न पुँजीगत लाभकर कटौती र तरलता सहजीकरणका लागि उल्लेख्य प्रयासको अपेक्षामा थिए । आहत लगानीकर्ताले व्यावहारिक कर प्रणालीबाट राहत खोजेका थिए । लाभांश कर, लाभकर र ब्याजकरको व्यावहारिक समाधानको अपेक्षामा थिए । पुँजीगत लाभकर अग्रिम नै संकलन हुँदा पनि ‘दफा ९५ क’ नभई ‘दफा ९२’ अनुसार हुनेमा आशा राखे । स्वाप तथा सेयर प्रिमियममा करको विषय टुङ्गिने अपेक्षामा थिए । हो, लगानीकर्ता र कारोबारीका कुनै पनि करगत अपेक्षा पूरा भएनन् । खुसीचाहिँ पुँजीगत लाभकरको दर बढेन । प्रत्यक्ष आर्थिक भार थप्ने काम र लगानी प्रतिकूल नीतिगत हस्तक्षेप भएन । त्यसैले प्रस्तुत बजेट लगानीकर्ताका लागि प्रतिकूल असरबिनाको ‘नो–हार्म बजेट’ मान्न सकिन्छ । सायद, प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा आर्थिक सर्वेक्षणको आँकडाअनुसार नीतिगत व्यवस्था गरिएको होला ।


सरकारी तथ्यांकअनुसार (क) २०७८ असार मसान्तमा २८८३.४ कायम नेप्से परिसूचक भदौ २ गते ३१९९ पुगेर फागु नमसान्तमा २६६८.१ बिन्दु कायम; (ख) सूचीकृत सेयरको चुक्ता मूल्य ६.५१ खर्ब रुपैयाँ; (ग) सूचीकृत कम्पनी २२८; (घ) बजार पुँजीकरण २०७७ फागुनको तुलनामा ११.७ प्रतिशतले बढेर २०७८ फागुनमा ३७.८२ खर्ब रुपैयाँ कायम हुँदै कुल गार्हस्थ्य उत्पादनसँग बजार पुँजीकरणको अनुपात ७८ प्रतिशत कायम; (ङ) सीडीएससीमा दर्ता कम्पनी २१७ र निक्षेप सदस्य (डीपी) ८२; (च) अभौतीकृत धितोपत्र संख्या ८.३९८ अर्ब; र (छ) हितग्राही खाता (डिम्याट) ५०.९६ लाख पुगेको छ । २०७९ जेठ २० गते डिम्याट बढेर ५१.९५ लाख पुग्दा परिसूचक करिब ३५ प्रतिशतले घटेर २०७८.७० बिन्दु र पुँजीकरण पनि २९.५९ खर्ब रुपैयाँमा ओर्लिएको छ, जुन २०७८ भदौ २ गते करिब ४४.६८ खर्ब रुपैयाँ थियो ।


आव २०७९–८० को ‘नीति तथा कार्यक्रम’ को बुँदा २० मा ‘पुँजीबजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने; आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने; र बिमालाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गरिने’ उल्लेख छ । ‘उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि’ भनेर सम्भवतः उत्पादनशील क्षेत्रका उद्योग सूचीकृत गर्दै लगानीको अवसर र विकल्प सिर्जना गर्ने आशय हुनसक्छ । अरूभन्दा क्रेडिट रेटिङ सम्पन्न हुन सके अन्तर्राष्ट्रिय स्रोत परिचालनमा केही सहजता पक्कै हुनेछ ।


बजेट वक्तव्यमा वित्तीय क्षेत्रअन्तर्गत धितोपत्र बजारसँग प्रत्यक्ष जोडिएका निम्न नीति तथा कार्यक्रमहरू उल्लेख छन् ।

(क) बुँदा ३२९ मा धितोपत्रको दोस्रो बजार र संरचनालाई थप प्रतिस्पर्धी बनाइने; पुँजीबजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखिम न्यूनीकरण गर्दै आमलगानीकर्ताको हकहित संरक्षण गरिने;

(ख) बुँदा ३३० मा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइने; वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षणको व्यवस्था;

(ग) बुँदा ३३१ मा वस्तु विनिमय बजार र यसका पूर्वाधारहरू सञ्चालनमा ल्याइने; संस्थागत तथा सरकारी ऋणपत्रहरूको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गरिने; उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई सञ्चालन अनुमति दिई सहजीकरण गरिने;

(घ) बुँदा ३३२ मा १ अर्ब वा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूले धितोपत्र सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिने ।

साथै बजेटमा (क) किसानको घरदैलोमा नै लघुवित्तमार्फत सहज कृषि कर्जा उपलब्ध गराउन ५ खर्ब रुपैयाँको ‘लघुवित्त कोष स्थापना’; ख) ग्रामीण विकास लघुवित्तको पुनर्संरचना गरी पुँजी संरचना र संस्थागत क्षमता अभिवृद्धि; (ग) ‘एक परिवार एक बिमा’ कार्यक्रम; लघु बिमा कम्पनी र बिमा सूचना केन्द्र स्थापना; (घ) दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा ल्याइने, वित्तीय प्रणालीमा स्थिरता कायम गरी आन्तरिक लगानी प्रवद्र्धन गर्न र तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन खुला बजार कारोबार स्थिरीकरण कोषको व्यवस्था र वैदेशिक लगानीमा जोखिम न्यून गर्न हेजिङ कोष स्थापना गरिने उल्लेख छ । सरकारले सर्वसाधारणलाई नेपाल विद्युत् प्राधिकरणको सेयर प्रिमियममा जारी गर्दै प्राप्त प्राप्त रकम जलाशययुक्त आयोजना निर्माणलगायत ऊर्जा पूर्वाधार निर्माणमा लगानी गर्ने जनाएको छ ।

नीति तथा कार्यक्रम र बजेटका कतिपय व्यवस्था विगतकै निरन्तरता हुन् । अर्थमन्त्रालयले लगानीकर्ताका लागि विशेष उपहार भन्दै आएको बुँदा ३३२ पनि परिमार्जित व्यवस्था मात्र हुन् र कार्यान्वयनमा सरकारको भन्दा सम्बन्धित कम्पनीहरूको निर्णायक भूमिका रहनेछ । अझ ‘प्राकृतिक स्रोतको उपयोग गर्ने तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त’ निकै विवादास्पद हुनेछ । उल्लिखित कम्पनीहरू सूचीकृत हुँदा पनि सामान्यतः प्रिमियमसहित उच्च मूल्यमा सेयर निष्कासन हुँदा आमलगानीकर्ताको ‘जोखिम र प्रतिफल’ (रिस्क–रिवार्ड) प्रभावित हुनेछ । प्रिमियम मूल्यकै लागि बुक बिल्डिङबिना रियल सेक्टर कम्पनी सूचीकृत गर्न सकिन्न भन्दै नीतिगत हस्तक्षेप गर्न सक्ने कम्पनीहरूबाट आमलगानीकर्ताको कतिको हित हुन्छ भन्न सकिन्न । अझ सूचीकृतमध्ये गायब वास्तविक क्षेत्रका कम्पनीको संख्याले प्रतिफलभन्दा उच्च जोखिम इंगित गर्छ ।

सरकारले विशेष भनेको वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिक निष्कासनमा १० प्रतिशत आरक्षण, लघुवित्त कोष, लघुबिमा कम्पनी स्थापना र नेविप्राको सेयर निष्कासनले धितोपत्र बजारमा प्रभाव पार्न सक्नेछ । हुन त अहिले पनि वैदेशिक रोजगारीमा रहेका कैयौं नेपालीले कार्यरत मुलुकबाटै धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी तथा कारोबार गर्दै आएका छन्, तैपनि सरकारले श्रमिकले वैधानिक माध्यमबाट विदेशी मुद्रा पठाउन भन्ने आशयले आरक्षण दिन खोजेको बुझ्न सकिन्छ । तर, धितोपत्रजस्तो उच्च जोखिमपूर्ण क्षेत्रमा सरकारले विदेश रहेका श्रमिकलाई आरक्षणमार्फत धकेल्नु कत्तिको हितकर हुन्छ, समयले नै बताउला । यसको कार्यान्वयन थप जटिल हुने र निष्कासन लागत बढ्ने निश्चित छ ।

उल्लिखित कार्यक्रम कार्यान्वयन हुँदा पनि लगानीकर्तालाई प्रतिकूल असरभन्दा लगानीका विकल्प र अवसर बढ्ने सम्भावना रहन्छ । त्यसैले अपेक्षित करगत सुधारै नगरे पनि प्रस्तुत बजेटलाई ‘नो–हार्म बजेट’ मान्न सकिन्छ । हुन त यी कार्यक्रम कार्यान्वयनको आशंका मात्र होइन, अपनाइने प्रक्रिया र लाग्ने समयावधि पनि अनिश्चित छ । विगतमा पनि नेपाल दूरसञ्चार कम्पनीको सेयर विनिवेश गर्ने भनेकै हो, तर हालसम्म कुनै प्रक्रिया अगाडि नबढेको मात्र होइन, बजेटमा केही उल्लेख छैन । सूचीकृत कम्पनीले न्यूनतम १० प्रतिशत सेयर जारी गर्नैपर्ने कानुनी प्रावधानविपरित कम सेयर जारी गरेर पनि कारोबार भइरहेकै छ । राज्य र नियामक नदेखेजसरी चुपचाप छन् ।

आशा गरौं, बजेटले नसमेटेका तर बजार र लगानीकर्ताले खोजेका सुविधा–सहुलियत सम्भव भएसम्म मौद्रिक नीतिमार्फत उपलब्ध हुनेछ । अहिले नै ७.३ प्रतिशतको मुद्रास्फीति र बढ्दो उपभोक्ता मूल्यसँगै तरलताको चरम अवस्था भोगिरहेको नेपाली अर्थतन्त्र र धितोपत्र बजारले लक्षित मुद्रास्फीति वाञ्छित सीमाभित्र कायम राख्न अझ कति मूल्य, कसरी चुकाउनुपर्ने ? भविष्यले तय गर्नेछ ।

सम्बन्धित सामग्री

काराेवार दैनिकमा २०७९ जेठ २२ गते प्रकाशित, लगानीकर्ताका लागि ‘नो–हार्म’ बजेट « (karobardaily.com)

Sunday, May 22, 2022

गाभ्दा–गाभिँदा कारोबार रोक्काको आधार र औचित्य

कम्पनीको सबलता र सरोकारवालाको हितको नाममा मर्ज वा बिग मर्जको लहर र कहर चलिरहेकै छन् । तोकिएको पुँजी पु-याउन वा व्यावसायिक आवश्यकताको जगमा थालिएको गाभ्ने–गाभिने लहरमा नियामकीय व्यवस्था र निर्देशनको भूमिका जगजाहेर छ । चुस्त, सबल र सुशासित सानाभन्दा ठूलो चुक्ता पुँजीका कम्पनीहरू बलियो मान्यता ग्रसित नियामकीय रहरले कम्पनी गाभिँदाको कहर सेयरधनीले भोग्दै छन् । बैंक तथा वित्तीय संस्थाहरूबाट सुरु ठूलो चुक्ता पुँजीको कम्पनीको लहरले बिमा क्षेत्रलाई पनि गाँज्दै छ । हालै बिमा समितिले जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २.५ अर्ब रुपैयाँ कायम गर्ने निर्देशनसँगै गाभ्ने–गाभिने लहरमा लगानीकर्ता औचित्यहीन कारोबार रोक्काको कहर भोग्न बाध्य हुँदै छन् ।

कानुनी आधार

कम्पनी गाभ्दा–गाभिँदा ५ निकाय र निम्न १० विद्यमान कानुनले प्रक्रिया, सूचना, सेयर स्वाप, सूचीकरण, कारोबार खुलाउनसमेत सबै नियमन र निर्देशित गर्छ, तर कुनै पनि कानुनी प्रावधानले सीधै ‘कारोबार रोक्न’ भन्दैनन् । ‘एकीकृत कारोबारपछि वा अन्तिम स्वीकृतिसँगै कारोबार खोल्ने’ कानुनी व्यवस्थाले ‘कारोबार रोकिएको वा रोक्नुपर्ने’ अप्रत्यक्ष स्वीकार्छ । बरु धितोपत्र बोर्डको मस्यौदा ‘सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७७’ मा स्पष्ट ‘कारोबार रोक्का हुने’ र ‘कारोबार खुल्ला गर्नुपर्ने’ प्रस्ताव छ ।
थप टिप्पणी, बाेर्डले संसाेधित सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (मस्याैदा) तयार गरी छलफलमा ल्याएकाे छ । यसमा काराेवार राेक्काका लागि नयाँ व्यवस्था गरिएकाे छ । 

— ‘कम्पनी ऐन, २०६३’ को दफा १७७ मा एउटा पब्लिक कम्पनी अर्को कम्पनीमा गाभिनका निमित्त गाभिने कम्पनीले आफ्नो साधारणसभामा विशेष प्रस्ताव पारित गरी उपदफा (३) को अधीनमा रही अर्को कम्पनी गाभिन सक्ने व्यवस्था छ । ‘कम्पनी निर्देशिका, २०७२’ को ८३ मा कम्पनी गाभिनेसम्बन्धी व्यवस्था छ ।

— बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने कार्यलाई ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ र ‘बैंक तथा वित्तीय संस्था ऐन, २०६३’ बमोजिम बनेको ‘बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३’ ले निर्देशित गर्छ । विनियमावलीको विनियम ६ ले “निवेदन दिने प्रक्रियामा निवेदनका साथ सम्बन्धित दुई वा सोभन्दा बढी बैंक तथा वित्तीय संस्थाले आ–आफ्नो सञ्चालक समितिबाट निर्णय गरी ‘नेप्सेबाट गाभ्ने वा गाभिने वा लक्षित संस्थाको सेयर कारोबार रोक्का गरिएको पत्र’* सहित सैद्धान्तिक सहमतिका लागि तोकिएको विषय खुलाई राष्ट्र बैंकमा संयुक्त निवेदन दिनुपर्ने” उल्लेख छ । यस्तै विनियम १२(६) मा “…गाभ्ने–गाभिने वा प्राप्ति (एक्विजिसन) कार्य सम्पन्न भएपश्चात् रोक्का रहेको सेयर कारोबारलाई आवश्यक प्रक्रियाबाट फुकुवा गर्ने व्यवस्था मिलाउनुपर्नेछ । यद्यपि सम्बन्धित संस्थाहरू सहमत भएको अवस्थामा गाभ्ने–गाभिने वा प्राप्ति (एक्विजिसन) को अन्तिम स्वीकृतिको निवेदन पेस गरे पश्चात् रोक्का रहेको सेयर कारोबार फुकुवा गर्न सकिने” उल्लेख छ ।
थप टिप्पणी, * नेरा बैंककाे २०७९ असाेज २७ गते जारी 
बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ काे पाचाैं संसाेधनले नेप्सेबाट चिठीकाे अावश्यकता हटाएर काराेवार राेक्का धिताेपत्र बाेर्डकाे नियमानुसार हुने व्यवस्था गरेकाे छ । नयाँ व्यवस्था यस्ताे छ 

— बिमा कम्पनीको गाभ्ने–गाभिने प्रक्रियालाई ‘बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ तथा जलविद्युत् उत्पादन तथा प्रसारण कम्पनीलाई ‘अनुमतिपत्र प्राप्त व्यक्ति आपसमा गाभिन, आपसमा मिल्न, सेयर खरिद, संरचनाको खरिद–बिक्री वा हस्तान्तरण, प्राप्ति वा ग्रहणसम्बन्धी निर्देशिका, २०७७’ ले सहजीकरण र व्यवस्थित गर्छ । दुवैमा सेयर कारोबार रोक्ने र खोल्ने सम्बन्धमा उल्लेख भएको देखिन्न ।

— सूचीकृत सबै कम्पनीको गाभ्ने–गाभिने कार्यलाई ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’, ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’, र ‘धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४’ ले नियमन र निर्देशित गर्छ । नियमावलीको नियम ४३ ‘क’ मा ‘…संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने’ व्यवस्था मात्र छ । विनियमावलीको परिच्छेद ४ मा सूचीकृत संस्था गाभिएको वा टुक्रिएमा हुने व्यवस्था र विनियम २२(४) मा सूचीकृत संस्थाको सञ्चालक समितिले संस्था गाभ्ने–गाभिने वा विलय हुने वा खरिद गरी लिने वा टुक्रिने निर्णय गरेमा त्यस्तो ‘निर्णय गरेकै दिन वा भोलिपल्ट कारोबार सुरु हुनुअघि नेप्सेलाई जानकारी दिनुपर्ने’ व्यवस्था छ । यस्तै निर्देशिकाको ४७(४) मा “सूचीकृत संगठित संस्थाहरू गाभ्ने वा गाभिने कार्य सम्पन्न भएपश्चात एकीकृत कारोबार सुरु भएसँगै सेयरको कारोबारसमेत सुरु हुने व्यवस्था गर्नुपर्नेछ । तर, एकीकृत कारोबार सुरु भएसँगै सेयरको कारोबारसमेत सुरु हुने व्यवस्था गर्न नसकिने भएमा एकीकृत कारोबार सुरु भएको बढीमा १५ दिनभित्र सेयरको कारोबार सुरु गर्नुपर्ने” उल्लेख छ । सम्भवतः यही कानुनी त्यान्द्रो समाएर कारोबार रोकिँदै आएको हुन सक्छ ।

व्यावहारिक समस्या

प्रचलित कानुनले सीधै कारोबार रोक्न नभने पनि सम्भवतः मूल्य संवेदनशीलता र लगानीकर्ताको हितजस्ता अमूर्त कुरासँगै कारोबार खोल्ने व्यवस्थाको आधारमा विगतदेखि रोकिँदै आएको हुन सक्छ । व्यवहारमा गाभ्ने–गाभिने कम्पनीको पत्रका आधारमा नेप्सेले कारोबार रोक्ने र खोल्दै आएको देखिन्छ । प्रचलनमा ‘मर्जरको अवस्थामा सहभागी सबै कम्पनी’ र ‘एक्विजिसनको अवस्थामा गाभिने कम्पनीको मात्र’ कारोबार रोकिँदै आएको छ । जबकि नेपालमा मर्जर र एक्विजिसनमा तात्विक भिन्नता देखिन्न ।

कारोबार रोक्नु हुन्छ वा हुन्न ? र यसले लगानीकर्ताको हित कि अहितमा फरक मत रहन सक्छ । गाभ्ने–गाभिने प्रक्रिया टुङ्ग्याउन छोटो समय भए पनि कारोबार रोक्नु आवश्यकता पनि होला । तर, लामो समय कारोबार रोकिँदा आमलगानीकर्तासँगै सबै सरोकारवालाले चुकाउने अप्रत्यक्ष लागत र भोग्ने समस्या धेरै छन् । तरल सम्पत्ति सेयर वर्षौं स्थिर बस्दा मूल चरित्र गुमाएको छ । कैयौंले घरव्यवहार र औषधिमूलोमा समस्या भोगेका छन् । बढ्दो बजारमा मूल्यगत लाभ लिन, घट्दो बजारमा मूल्यगत हानि कम गर्न, तुलनात्मक लाभका क्षेत्रमा लगानी व्यवस्थापन गर्दै लाभ र जोखिम व्यवस्थापन गर्न, कर्जा चुक्ता वा व्यवस्थापन गर्नबाट समेत लगानीकर्ता वञ्चित भएका छन् । स्पष्ट कानुनी आधारबिनै व्यक्तिको सम्पत्ति बन्धक बनाइएको र निर्वाध उपभोगबाट वञ्चित गरिएकोमा असन्तुष्टि व्याप्त छ ।

‘कसले जवाफ दिने हो ?’ र ‘मर्जर सम्झौताका कारण सेयर कारोबार रोक्नु समस्या हो कि समाधान ?’ भन्दै कारोबार रोकिएकोमा सामाजिक सञ्जालमा असन्तुष्टि बढ्दो छ । रोक्नु, छेक्न, बाँध्नु अनि कुट्नु मात्र समस्याको समाधान होइन भन्दै सहज निराकरण खोज्न घचघच्याएका छन् । सम्भावित घटना उल्लेख गर्दै सेयर बिक्री गर्न नपाउँदाको घरायसी गर्जो टार्ने समस्यासँगै कारोबार रोक्का हुँदा सेयर बिक्री गरेरै कर्जा व्यवस्थापन गर्न, नियामकीय व्यवस्था पालना गर्न नसकिएको मात्र होइन, इच्छा र सम्पत्ति हुँदाहुँदै ऋणीले कालोसूचीमा पर्ने र खराब कर्जा बढ्ने दृष्टान्त दिएका छन् ।

हाल सूचीकृत ३६ कम्पनीको कारोबार स्थगित छ । मर्जर वा एक्विजिसनकै कारण कारोबार रोकिनेमा नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन जनरल इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, नाडेप लघुवित्त, आँधीखोला लघुवित्त, घोडीघोडा लघुवित्त, समाज लघुवित्त, रैराङ हाइड्रोपावर डेभलपमेन्ट र रिडी हाइड्रोपावर डेभलपमेन्टसहित १४ कम्पनी छन् । हिमालयन र नेपाल इन्भेस्टमेन्टको विशेष साधारणसभाले आपसमा नगाभिने निर्णय गरेको पनि महिनौं भइसक्यो । अझै कहिलेसम्म कति कम्पनीको कारोबार रोकिन्छ र लगानीकर्ताले कहिलेसम्म अनपेक्षित जोखिम लिन र नोक्सानी बेहोर्न बाध्य हुने केही टुंगो छैन । यसरी लामो समयसम्म कारोबार रोकिने त्रासबाट किनबेच, इन्डेक्स र बजार पुँजीकरणसमेत प्रभावित हुन थालेको छ ।

अपेक्षा र विकल्प

कानुनी आधार र औचित्यतामै प्रश्न उठाइएको कारोबार रोक्ने र खोल्ने प्रक्रिया पुनरावलोकन गरी व्यावहारिक समाधान निकाल्नैपर्छ । बोर्डको मस्यौदा ‘…गाभ्ने–गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७७’ संशोधन गर्दै ‘कारोबार नरोकी गाभ्ने–गाभिने कार्य सम्पन्न गर्न सकिने’ व्यवस्थासहित मूल कानुन रूपमा लागू गरिनुपर्छ ।

आमलगानीकर्ता कारोबार रोक्न नहुनेमा एकमत छन् । गाभ्ने–गाभिने कम्पनीको चुक्ता पुँजी र सेयरधनी मिलानका लागि कारोबार रोक्नैपरे (क) एकीकृत कारोबार अगाडि केही दिन; वा (ख) विशेष साधारण सभाले ‘गाभ्न–गाभिन स्वीकृति गरेमा मात्र’ छोटो अवधि; अथवा (ग) विशेष साधारणसभा प्रयोजनका लागि गरिने सेयर दाखिल खारेज (बुक क्लोज) देखि मात्र कारोबार रोकेर एकीकृत कारोबारसँगै खोल्ने विकल्प अपनाउन सकिन्छ । जसरी हुन्छ, लगानीकर्ताको सम्पत्ति निर्वाध उपयोगको संवैधानिक अधिकार सुनिश्चित गरिनुपर्छ ।

विषयवस्तु सम्बन्धित


संजालमा अम्बिका पाैडेलकाे अाक्राेस

काराेवार दैनिकमा २०७९ जेठ ८ गते प्रकाशित गाभ्दा–गाभिँदा कारोबार रोक्काको आधार र औचित्य « (karobardaily.com)
Revised/updated 2022 Oct 15, NST 13:43

Sunday, May 8, 2022

‘एफपीओ’ : लालसा कि बाध्यता ?

‘एफपीओ’को प्रिमियमको लालसामा गरिने मर्ज वा प्राप्तिलाई निरुत्साहन गर्दै व्यावसायिक आवश्यकताको आधारमा पुँजीगत क्षमता बढाउन ‘एफपीओ’ वा अन्य उपयुक्त विकल्पबारेमा सोच्नुपर्छ ।


‘एफपीओ’ अर्थात् फर्दर पब्लिक वा फलोअन पब्लिक अफरिङ, जसलाई थप सार्वजनिक निष्कासन भनिन्छ, एकपटक सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले नयाँ सेयरधनीमार्फत थप पुँजी संकलन गर्न थप सेयर निष्कासन विधि नै ‘एफपीओ’ हो । यसमा अंकित वा प्रिमियमसहितको तोकिएको निश्चित मूल्यमा सेयर बिक्री गरिन्छ । निष्कासित सेयरमा निषेधितबाहेक सबै इच्छुक लगानीकर्ताले आवेदन दिन सक्छन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको नियम १४ मा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गरी सूचीकरण भइसकेको कम्पनीले पुँजी वृद्धि गर्नुपरेमा धितोपत्रको थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यु—‘एफपीओ’) गर्न सक्ने उल्लेख छ । यसले थप पुँजी संकलनका लागि थप सार्वजनिक निष्कासनलाई मात्र ‘एफपीओ’ मानेको छ । नेपालमा प्रचलित ‘एफपीओ’ले कम्पनीमा सेयरको संख्या बढाउनुका साथै प्रतिसेयर मुनाफा र नेटवर्थमा प्रभाव पार्छ, जसलाई डाइलुटेड ‘एफपीओ’का रूपमा बुझिन्छ ।

अन्तर्राष्ट्रिय धितोपत्र बजारमा भने फलोअन पब्लिक अफरिङलाई पनि ‘एफपीओ’ बुझिन्छ, जसमा थप सार्वजनिक निष्कासन वा विद्यमान संस्थापक, प्रि–आईपीओमा किनेका, सञ्चालकजस्ता ठूला वा कारोबार रोकिएका सेयरधारकहरूले सर्वसाधारणलाई बेचिन्छ । यसमा (क) थप सेयर निष्कासनमा कित्ता बढ्ने ‘डाइलुटेड एफपीओ’ र (ख) निश्चित समूहको सेयर सर्वसाधारणलाई बिक्रीमा कम्पनीको सेयर कित्ता नबढ्ने ‘ननडाइलुटेड एफपीओ’ वा ‘अफर सेल’ हुन सक्छ । डाइलुटेडमा प्राप्त रकम कम्पनीमा रहन्छ भने ननडाइलुटेडमा विक्रेता सेयरधनीले रकम प्राप्त गर्छ र कम्पनीको हिसाबकिताबमा कुनै प्रभाव रहँदैन । यस आधारमा नेपाल टेलिकमको सार्वजनिक निष्कासन ननडाइलुटेड अफर सेल पनि मान्न सकिन्छ ।

नेपालमा सामान्यतः प्रिमियममा थप कित्ता निष्कासन गर्दै सेयर प्रिमियम संकलन गर्ने र त्यसबाट सेयर लाभांश (बोनस सेयर) बाँड्ने लालसामा कतिपय सूचीकृत कम्पनीले ‘एफपीओ’लाई प्राथमिकता दिने गरेका छन् । गैरव्यावसायिक आय (सहज रकम– इजी मनि)को लोभमा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरू ‘एफपीओ’ निष्कासनका लागि लालायित हुने गरेको सुनिन्छ । हुन त विगतमा जस्तो उच्च प्रिमियममा ‘एफपीओ’ जारी गर्न रोक्दै प्रतिसेयर नेटवर्थको अंकुस लगाएको छ र प्राप्त सेयर प्रिमियम सेयर लाभांशबाहेक अन्य रूपमा सेयरधनीलाई वितरण गर्न रोकेको छ । यस्तो सेयर प्रिमियमलाई लाभांशका रूपमा वितरणमा महालेखाले निरन्तर करको प्रश्न उठाउँदै आएको छ । चतुरहरूले विगतमा सेयर प्रिमियमका लागि हकप्रदको खेती गर्दै आएकोमा नियामकीय नियन्त्रणपछाडि ‘एफपीओ’को छिद्र समाउँदै सूचीकृत कम्पनीले विशेष गरी प्राथमिक सार्वजनिक निष्कासन नगरेका (असूचीकृत) कम्पनी गाभ्दै संस्थापक र सर्वसाधारण सेयरको हिस्सा बिगार्ने र कानुनी प्रावधानको टेको टेकेर प्रिमियममा थप सार्वजनिक निष्कासन गर्ने लालसा बढेको सुनिन्छ ।

लालसा कि बाध्यता ?

विगतमा कतिपय बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले तोकिएको पुँजी पु-याउने बाध्यकारी नियामकीय प्रावधानमा टेकेर वा उपलब्ध अवसरको सदुपयोग गर्दै थप सार्वजनिक निष्कासन गरे । नेपाल लाइफ, शिखर, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट, एनएमबी, नेपाल बैंकले यही प्रिमियमबाट बोनस सेयर वितरण गर्दै चुक्ता पुँजी उल्लेख्य बढाए । अंकित मूल्यमा हकप्रद जारी गर्न नचाहेका केही कम्पनीका लागि थप पुँजी जुटाउने बाध्यता र प्रिमियमको लालसामा तत्कालीन अवस्थामा ‘एफपीओ’ जारी गरिएका थिए ।

हाल चुक्ता पुँजीकै लागि थप सेयर निष्कासन अप्रत्यक्ष रोक छ, तर मर्ज वा प्राप्ति प्रोत्साहनका नाममा चुक्ता पुँजी बढाउन अप्रत्यक्ष दबाब पनि बढेकै छ । पुँजी पनि बढाउन पाइने र कानुनी बाध्यताका नाममा ‘एफपीओ’ पनि ल्याउने अवसरको रूपमा उपयोग गर्न केही बाठा लघुवित्तहरूले सूचीकृत नभएका अर्थात् आईपीओ जारी नगरेका कम्पनी मर्ज गर्दै संस्थापक र सर्वसाधारणको सेयर हिस्सालाई कानुनी प्रावधानभन्दा फरक बनाउने प्रयासमा लागेको आभास दिएका छन्, जसले बाहिरबाट हेर्दा कानुनी बाध्यता देखिए तापनि वास्तवमा पुँजी र सेयर प्रिमियमको लालसामा गाभ्न वा गाभिन तयार भएका छन् ।

कानुनी प्रावधान

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९ अनुसार इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याउनुपर्ने व्यवस्था गरेको छ । यही कानुनी प्रावधानका कारण संस्थापकको हिस्सा बढाउँदै सर्वसाधारणको हिस्सा घटाउने र ‘एफपीओ’को छिद्रको उपयोग गर्ने बदनियतका साथ मर्ज वा प्राप्तिलाई उपयोग हुने गरेको अनौपचारिक भनाइ सुनिन्छ ।

‘एफपीओ’ जारी गर्ने सम्बन्धमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७ को नियम १४(१) मा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गरी सूचीकरण भइसकेको संगठित संस्थाले आफ्नो पुँजी वृद्धि गर्नुपरेमा धितोपत्रको थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यु) गर्न सक्ने व्यवस्था छ । तर, त्यस्ता कम्पनीको (क) विगत पाँच वर्षमा कम्तीमा पछिल्लो तीन वर्ष खुद मुनाफामा सञ्चालन भई प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीभन्दा बढी भएको, (ख) धितोपत्रको सार्वजनिक निष्कासन भएको तीन वर्ष पूरा भएको, (ग) धितोपत्रको थप सार्वजनिक निष्कासन गर्ने सम्बन्धमा वार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएको, (घ) अंकित मूल्यभन्दा बढी मूल्य तोकी निष्कासन गर्ने भएमा मूल्य निर्धारण गरिएको विधि र सोको औचित्य पुष्टि गर्ने आधार उल्लेख भएको सर्त पूरा गर्नुपर्नेछ । थप सार्वजनिक निष्कासन गर्दा नियम १३ बमोजिम स्वीकृति लिई विवरणपत्र प्रकाशन गर्नुपर्नेछ ।

यस्तै धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार (१) धितोपत्रको थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यु) गर्न चाहने कम्पनीको प्रबन्धपत्र, नियमावली वा सम्बन्धित संस्थाको चार्टरमा थप सार्वजनिक निष्कासन गर्न सकिने सम्बन्धमा स्पष्ट व्यवस्था; (२) धितोपत्रको थप सार्वजनिक निष्कासन भएपश्चात् कम्पनीको पुँजी संरचना तथा सञ्चालक समितिमा हुने परिवर्तन सम्बन्धमा त्यस्तो सङ्गठित संस्थाको प्रबन्धपत्र, नियमावली तथा सम्बन्धित संस्थाको चार्टरमा स्पष्ट व्यवस्था; (३) कम्पनीले साधारणसभाबाट निर्णय भएको दुई महिनाभित्र धितोपत्रको थप सार्वजनिक निष्कासनको लागि बोर्डमा निवेदन दिनुपर्ने; (४) निवेदनमा (क) धितोपत्रको थप सार्वजनिक निष्कासन गर्ने सम्बन्धमा सञ्चालक, समिति तथा साधारणसभाको निर्णय, (ख) पछिल्लो पाँच वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण, (ग) धितोपत्रको थप सार्वजनिक निष्कासनका लागि नियुक्त गरिएको निष्कासन तथा बिक्री प्रबन्धकसँग गरिएको सम्झौता, (घ) निष्कासन गरिने धितोपत्र प्रत्याभूत (अन्डरराइट) गरिएको भए प्रत्याभूतिकर्तासँग गरिएको सम्झौता संलग्न गर्नुपर्नेछ । यस्तै थप सार्वजनिक निष्कासन गरेको मितिले पाँच वर्ष पूरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्कासन गर्न सक्नेछैन ।

यस्तै प्रिमियममा ‘एफपीओ’ जारी गर्ने कम्पनीले नियम २५ख. अनुसार सूचीकृत सङ्गठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्कासन गर्न आवश्यक परेमा त्यस्तो संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको ‘प्रतिसेयर नेटवर्थ’ भन्दा बढी नहुने गरी प्रिमियमसहितको निष्कासन मूल्य निर्धारण गर्नुपर्नेछ ।

थप टिप्पणी १ ः बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे नियम ४, याेग्यतामा “सर्वसाधारणमा शेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्रप्राप्त संस्थाहरु समेत एक आपसमा गाभ्न गाभिन वा प्राप्ति (एक्विजिशन) का लागि योग्य मानिनेछन् । तर गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात् कायम हुने संस्थाको कूल जारी पूँजीको कम्तीमा तीस प्रतिशत शेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्था सम्बन्धित संस्थाले मिलाउनु पर्नेछ ।”

विगत र वर्तमान

शिखर इन्स्योरेन्सले २०७२ पुसमा ५ लाख १० हजार ९ सय ८८ कित्ता प्रतिकित्ता ६ सय ५० रुपैयाँका दरले पहिलो पटक ‘एफपीओ’ निष्कासन गरेको देखिन्छ । तालिका १ अनुसार हालसम्म ‘एफपीओ’ जारी गरेका १३ कम्पनीमध्ये केवल रिलायन्स फाइनान्स र ग्रामीण विकास लघुवित्तले मात्र अंकित मूल्य रु. १ सयमा निष्कासन गरेका छन् भने अन्यले १ सयदेखि १ हजार ३ सय २५ रुपैयाँ प्रिमियम थपेर एफपीओ जारी गरेका थिए ।

तालिका १ः हालम्म ‘एफपिओ’ जारी गरेका कम्पनी, कित्ता र दर

कम्पनी

जारी किता

दर (रु)

सूचीकृत मिति

सिटिजन्स बैक इन्टरनेसनल

,६३,२८६

२००

२०७५ भदौ १७

नेपाल बैंक

,७६,८४,८५८

२८०

२०७५ कातिक २५

एनएमबी बैक

,१४,१५,१६३

३३३

२०७५ भदौ ६

बुटवल पावर कम्पनी

४०,८१,०००

५०१

२०७५ बैशाख १३

प्रिमियर इन्सुरेन्स कम्पनी (नेपाल)

,५९,५६५

७९९

२०७४ चैत ९

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था

,७५,०००

१००

२०७४ कातिक १४

पोखरा फाइनान्स

,८३,६८२

२२०

२०७४ असोज ६

स्ट्यान्डर्ड चार्टड बैक नेपाल

२५,५८,१४०

१२९०

२०७४ जेठ २

नेपाल लाइफ इन्सुरेन्स कम्पनी

३०,९६,४२९

१४२५

२०७४ बैशाख ७

नेपाल एसबिआई बैंक

६७,७६७

९७१

२०७३ फागुन २३

नेपाल इन्भेष्टमेन्ट बैक

९०,६९,३८८

६०१

२०७३ असार १३

रिलायन्स फाइनान्स

,१४,२८६

१००

२०७३ बैशाख १४

शिखर इन्सुरेन्स कम्पनी

,१०,९८८

६५०

२०७२ माघ १०


यसबाहेक बैंक अफ काठमान्डुले करिब ६१.५८ लाख कित्ता संस्थापक सेयर थप सार्वजनिक निष्कासन गरेको थियो ।

हाल कानुनले नै ‘प्रतिसेयर नेटवर्थ’ भन्दा बढी नहुने गरी प्रिमियमसहितको निष्कासन मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था गरेअनुसार निम्नानुसार ६ लघुवित्त कम्पनीहरूमध्ये ५ ले प्रिमियम मूल्य र एउटाले अंकित मूल्यमा ‘एफपीओ’ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एउटा आवेदन पुनरावलोकनका लागि सम्बन्धित कम्पनीलाई फिर्ता पठाए पनि महिनौं अगाडिका आवेदन अनिश्चितताको भुमरीमा रुमल्लिरहेका छन् ।

तालिका २ ‘एफपिओ’का लागि आवेदन दिएर स्वीकृतिको पर्खाइमा रहेका कम्पनी, कित्ता र दर

कम्पनी

जारी किता

प्रस्तावित दर (रु)

आवेदन मिति

किसान लघुवित्त वित्तीय संस्था

१२,९८,२५९

१२५

२०७८ असार २९

मिर्मिरे लघुवित्त वित्तीय संस्था

५१,३१६

१७७.८

२०७८ कातिक २३

युनिक नेपाल लघुवित्त वित्तीय संस्था

,७९,४२५

१००

२०७८ चैत १७

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था

,७८,४५१

१५९

२०७८ चैत २५

समता घरेलु लघुवित्त वित्तीय संस्था

,८९,४४०

१५९.०७

२०७८ चैत २९

नयाँ सारथी लघुवित्त वित्तीय संस्था

,२९,६४९

११६

२०७८ भदौ ९


अन्त्यमा, व्यावसायिक आवश्यकताका आधारमा थप पुँजी संकलनका लागि ‘एफपीओ’ एउटा विकल्प हुन सक्छ । कम्पनीको व्यावसायिक आवश्यकताअनुसार ‘एफपीओ’ उपयोग गर्नु गलत होइन । तर मर्ज वा प्राप्तिको छिद्रबाट छिरेर ‘एफपीओ’मा सफा नियत देखिन्न । ‘एफपीओ’कै लागि असूचीकृत कम्पनी गाभ्ने गलत प्रवृत्तिलाई प्रोत्साहित गरिनु हुन्न । नियामकले पनि ‘एफपीओ’को प्रिमियमको लालसामा गरिने मर्ज वा प्राप्तिलाई निरुत्साहन गर्दै व्यावसायिक आवश्यकताको आधारमा पुँजीगत क्षमता बढाउन ‘एफपीओ’ वा अन्य उपयुक्त विकल्पबारेमा सोच्नुपर्छ ।

थप सामग्री

काराेवार दैनिकमा २०७९ बैशाख २५ गते प्रकाशित, ‘एफपीओ’ : लालसा कि बाध्यता ? « (karobardaily.com)

Revised/updated 2022 May 17, nst 1.03 pm