Saturday, April 1, 2017

बैंकिङ क्षेत्रको दिन सकिएकै हो त ?

नेप्सेले हालैको उच्च बिन्दु १८८१ बाट तल ओर्लेर १२५२ सम्म पुगेपछि सबै सेयर लगानीकर्ताले जस्तै बैंकिङ क्षेत्रका लगानीकर्ता तथा कारोबारीहरू अत्तालिएका र निराश बनेका छन् । अझ कतिपयको बुझाइमा बैंकिङ क्षेत्र, जसको समग्र नेप्सेमा ठूलो हिस्सा छ र उसैले नेप्सेको दशा र दिशा निर्धारण गर्छ, त्यसको समेत यस्तो हालत देखेर कतै सेयर बजार नै सकिएको हो कि भन्ने अनुमान र चिन्ता व्यक्त हुन थालेका छन् । 

हुन पनि १८८१ हुँदा ३ हजार ५ सयभन्दा माथि कारोबार भइरहेको स्ट्यान्डर्ड चार्टड होस् कि अन्य बैंकहरू सबैंको बजार मूल्य उल्लेख्य घटेको छ र आमलगानीकर्ता अत्तालिएका छन् । पक्कै पनि बजार मूल्य मात्र हेर्ने हो भने प्रायःको मूल्य आधाभन्दा कम भएको छ, अझ केहीको त ६० प्रतिशतभन्दा मुनि पुगेको छ । तर, नेप्सेको समग्र अवस्था र बैंकिङ उपसूचकको अवस्था हेर्ने हो भने औसतमा केवल २५ प्रतिशतको हाराहारी मात्र गिरावट आएको छ । 

हो, सेयर किनबेच गर्ने र कारोबारीहरूले ध्यान दिन नसकेको वा नबुझेको नै यही हो । नेप्से हे-यो २५ प्रतिशत घट्छ, आफूसँग भएको सेयर मूल्य हे¥यो ५०–६० प्रतिशत घटेको छ अनि लौ आफूसँग भएको सेयर त खतम भएछ भन्दै झन् आत्तिएर ठूलै घाटा खाएर बेच्नेहरू पनि भेटिएका छन् ।

यहाँ बुझ्नुपर्ने मुख्य कुरा भनेको बजार मूल्य घटे पनि सेयरको कित्ता उल्लेख्य बढेको छ, जसले पछि गुणात्मक मुनाफा दिन सक्छ । नबेचेसम्म देखिने घाटा वा नाफा भनेको काल्पनिक नाफा वा घाटा मात्र हो । नियामक निकाय नेपाल राष्ट्र बैंकले दिएको बाध्यात्मक पुँजी वृद्धिको निर्देशनसँगै दुई वर्षको अन्तरालमा औसतमा साढे दुई गुणा पुँजी बढाउन मर्जर र एक्विजिसनसँगै ठूलो परिमाणमा हकप्रद सेयर र थप सार्वजनिक निष्कासन (एफपीओ) भएका छन् ।

यसले एकातिर बजारमा बैंकहरूको सेयर आपूर्ति निकै बढेको छ भने अर्कातिर विद्यमान सेयरधनीहरूले आफ्नो हिस्साको हकप्रद भर्न पनि आफूसँग भएको केही सेयर बिक्री गर्नुपरेको छ । तर, खरिदकर्ता वा माग पक्ष सोहीअनुरूप बढेको देखिएन । बलियो बजार निर्माता भएको भए अहिलेको जस्तो बजार मूल्यको उतारचढाव आउँदैनथ्यो कि ? 

बजारमा बैंकको भविष्य 

सेयर बजारका अन्य उपसूचकभन्दा बैंकका सेयरहरूको आपूर्ति तुलनात्मक रूपमा निकै बढेको छ र बजारमा माग र आपूर्तिबीच असन्तुलन ल्याएको छ । बैंकहरूले ८ अर्बको बाध्यात्मक पुँजी सीमा पार नगरेसम्म बजार मूल्यमा आपूर्तिको प्रभाव अझै केही समय रहने पनि पक्का छ ।

तर, बैंकहरूको सकात्मक पक्ष भनेको नेप्सेमा बैंकहरूको उपस्थिति थप बलियो हुनेछ र विगतमा भन्दा नेप्से र सेयर बजारलाई डोर््रयाउने क्षमतामा थप सुधार हुनेछ । ८ अर्ब पुँजीको अवस्थालाई व्यवस्थित गरिसकेपछि बैंकहरूले पुनः आफ्नो गतिमा काम गर्नेछन् र बजारमा आफ्नो उपस्थिति र दबदबालाई पुनः कायम गर्नेछन् । विगतमा पनि पुँजी वृद्धिको केही समय यस्तै भएको थियो ।

बैंकहरूको पुँजी वृद्धि नियमित प्रक्रिया नै हो र केही वर्षको अन्तरालमा नियामक निकायले समग्र अर्थतन्त्र, ऋणको माग, बचतको अवस्थाजस्ता विविध वित्तीय अवस्थाको विश्लेषणका आधारमा न्यूनतम पुँजी कायम गर्दै आएको छ । यसका साथै बैंकहरूले आफ्नो व्यवसायको आकारका आधारमा प्रणालीगत रूपमै पुँजीगत पर्याप्तता अनुपातले गर्दा पनि पुँजी वृद्धि स्वतः गर्नुपर्ने हुन्छ ।

बैंकहरूको पुँजी वृद्धि नियमित र बाध्यकारी दुई तरिकाले हुने गरेको छ । अहिलेको अवस्था नियामकको बाध्यकारी पुँजी वृद्धिका साथै कतिपयको पुँजी पर्याप्तता अनुपातले गर्दा समेत नियमित रूपमा पुँजी वृद्धि गर्दै आएका हुन् । यसको केही असर बजारमा देखिँदा नै विशेषतः बैंकहरूको सेयर मूल्यमा गिरावट आएको तथ्य नकार्न सकिँदैन । पहिलेदेखि बैंकिङ क्षेत्रमा लगानी गर्दै आएका लगानीकर्ताहरूले अहिलेको मूल्य प्रवृत्तिलाई सामान्य रूपमा लिनुपर्छ र विगतलाई फर्केर हेर्दा पनि यसलाई स्वाभाविक मान्न सकिन्छ ।

८ अर्ब पुगेपछि के त ?

यो भनेको एउटा बच्चा सधैं १ वर्षकै हुन्छ वा केही विकास हुँदैन भन्ने यथास्थितिवादी र नकारात्मक सोच हो, जसले ५० करोड वा २ अर्ब पुँजी पुग्दाको अनुभव र त्यसपछिको अवस्था विश्लेषण गर्न सकेनन् वा चाहेनन्, उनीहरूलाई बैंकहरूको पुँजी अधिकतम सीमामा पुगे र अब केही हुँदैन भन्ने लाग्नु स्वाभाविक होला ।

तर, सचेत लगानीकर्ताले विगतलाई पनि फर्केर हेर्नुका साथै देशको अर्थतन्त्रलाई पनि नियाल्ने हो भने बैंकहरू अब ८ अर्बमा रोकिनेछैनन्, जसको व्यवसायको आकार र क्यापिटल एडिक्वेसी तोकिएको बिन्दुभन्दा कम छ, उनीहरूले केही समय नगद वा निकै न्यून गतिमा पुँजी वृद्धि गर्दै जालान्, तर २ अर्बबाट पुँजी बढाउँदै गएका बैंकहरूले अनुभवबाट सिकिसकेका छन्, व्यवसाय र जोखिम वहनको आधार पुँजीकोष हो र यो समयसँगै बाध्यकारी होस् वा नियमित प्रक्रियामा बढाउँदै जानुपर्नेछ । उदाहरणका लागि नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकलाई हेरे पुग्छ । उनीहरूलाई न ८ अर्ब पु-याऊ भन्नुपरेको छ न त आधारभूत रूपमा कमजोर देखिएका छन् ।

उल्लिखित कुराका अतिरिक्त बैंकका निम्न सबल पक्षहरूले गर्दा केही समयपछि बैंकको सेयर मूल्यमा सुधार आउने आशा गर्न सकिन्छ ः

१.    आपूर्तिमा कमी : सेयर आपूर्ति हुने मुख्य स्रोत नयाँ बैंक खोल्नु हो । तर, हालसम्मको अवस्था र विद्यमान नीतिअनुसार तत्काल थप बैंक स्थापना हुने स्थिति छैन । यसले अहिले बजारमा रहेका २८ वटा बैंकले बैंकको सेयरको माग धान्नुपर्ने हुन्छ । अहिले क्षणिक रूपमा बढेको आपूर्ति समस्या केही समय पछि स्वतः हट्नेछ र आपूर्ति सन्तुलन वा माग पक्ष हावी हुनेछ ।


२.    अर्थतन्त्रको मियो हुनु : अन्य उद्योग, व्यवसायको तुलनामा बैंकहरूका फरक पक्ष भनेको उनीहरू समग्र अर्थतन्त्रका मियो हुन् । अर्थतन्त्र फराकिलो हुँदै जाँदा बैंकहरू स्वाभाविक रूपमा ठूला र सबल बन्न बाध्य हुनेछन् । यस्तै अर्थतन्त्रका कुनै पनि उद्योग, व्यवसाय सञ्चालन हुँदा त्यसको आधार भनेको बैंकहरू नै हुने हुँदा मुनाफाको सानै हिस्सा भए पनि बैंकहरूमा आइपुग्नेछ । यसको अर्थ बिमा, होटल, उत्पादनमूलक उद्योग, जलविद्युत् जुनसुकैको विकास र विस्तार हुँदा त्यसको अप्रत्यक्ष लाभ बैंकले पाउँछ ।

३.    बलियो नियमन : नेप्सेमा विद्यमान अन्य उपसमूह जस्तै— बिमा, जलविद्युत्, होटलको तुलनामा बैंकहरूको नियमन बलियो छ । यही बलियो नियमन र नियामक हुँदा बैंकहरूको विकासमा सघाउ पुग्ने मात्र होइन; सुशासन, पारदर्शिता, समानता, कानुनसंगत र प्रणालीगत सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ । अझ ‘क’ वर्गका कुनै पनि बैंकहरूलाई धराशायी हुनबाट जोगाउन नियामकको सकारात्मक भूमिका रहँदै आएको तथ्यलाई बिर्सनु हुँदैन ।

४.    पारदर्शिता : संस्थागत सुशासन वा पारदर्शिताको सवालमा बैंकहरू अन्य व्यवसायको तुलनामा खरो उत्रेको अनुभव गर्न सक्छौं । हुन त नेप्सेमा सूचीकृत सबै कम्पनीले त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने, साधारणसभा गर्ने जस्ता कानुनी प्रावधान छन् । तुलनात्मक रूपमा बैंकहरूको वित्तीय विवरण पारदर्शी रहेको पाउन सकिन्छ । बलियो नियामकका कारण अन्यको तुलनामा छिटो वा समयमै साधारणसभा बोलाउने काम हुने गरेको छ । बैंकहरूको वित्तीय विवरण हेरेर कुनै पनि लगानीकर्ता वा कारोबारीले उक्त बैंकको वित्तीय अवस्था बुझ्न र सहजै भविष्यको पुर्वानुमान गर्न सक्छन्, जुन अन्य क्षेत्रमा निकै गाह्रो वा असम्भव छ ।

५.    लगानीकर्ता वा कारोबारीको प्राथमिकता : विद्यमान अवस्थामा समेत सेयर बजारमा बैंकहरूको दबदबा कायम हुनु र धेरै लगानीकर्ता वा कारोबारीहरूको प्राथमिकतामा बैंकिङ क्षेत्र नै पर्नुले गर्दा पनि बैंकका सेयरहरू तुलनात्मक रूपमा बढी तरल र बजारको प्राथमिकतामा रहेको छ । हालै सामाजिक सञ्जालमा गरेको अनौपचारिक सर्भेमा समेत ९० प्रतिशतभन्दा बढीले आफ्नो लगानी वा कारोबारका लागि प्राथमिकताको उपसमूह बैंकलाई रोजेको देखिन्छ ।

अहिलेको क्षणिक अवस्था भनेको बैंकहरूको सेयरको बाढी आएको अवस्था हो, सक्नेले भेलको मौका छोपेर केही फाइदा उठाए हुन्छ, त.र दीर्घकालीन लगानीकर्ताहरूले आत्तिएर बैंकहरूमा भएको लगानी बेचेर भाग्नुपर्ने अवस्था छैन ।

काराेवार राष्ट्रिय दैनिकमा चैत .... गते प्रकाशित

Tuesday, March 7, 2017

नेप्सेको उतारचढाव र बजारमा चलखेल

नेपाली सेयर बजारको मापक नेप्से २०७३ साउन १२ गते ऐतिहासिक उच्च बिन्दु १८८१ मा पुगेको थियो भने २०७३ कै न्यूनतम बिन्दु २०७३ फागुन १ गते १२५२.५ मा आइपुगेको थियो । यस्तै फागुन २ गते १२५२ बाट अझै ओर्लेर १२१९ बिन्दुलाई छोएर पुनः सुधार हुँदै १२७८.९८ मा बन्द भएको हो । यसरी २०७२ वैशाख १२ गतेको महाभूकम्पलाई पनि चिर्दै अगाडि बढेको सेयर बजार करिब सात महिनाको अवधिमा ३२ प्रतिशतको हाराहारी गिरावट आउँदा धेरैले सहज रूपमा लिन गाह्रो भएको छ । कतिपयको बुझाइमा यसलाई सिजनल बियरिस, बियरिस, क्र्यास वा अफ सिजन हो भन्ने रह्यो । वास्तवमा के हो ? कसैले यकिनसाथ भन्न सक्ने अवस्था छैन । तर सेयरबजारको यस निराशाहरूका बीच पनि न्यूनतम दैनिक कारोबार २० करोडभन्दा बढी नै थियो भने वर्षकै न्यूनतम बिन्दु भनिएको दिनमा समेत ५० करोड हाराहारीको कारोबार भएको थियो ।

यो आर्थिक वर्षको पहिलो कारोबार २०७३ साउन २ गतेको नेप्से १७४५.७४ लाई हेर्ने हो भने २०७३ फागुन १ गतेको १२५२.५ बिन्दु करिब २७ प्रतिशतले गिरावट आएको देखिन्छ । विगत पाँच वर्षको तथ्यांक केलाउँदा २०७१ साउन १ गतेको तुलनामा २०७१ माघ मसान्तमा ५.८३ प्रतिशतले कमी आएका देखिन्छ भने २०७२ मा ३१.५ प्रतिशत, २०७० मा ५७.७६ प्रतिशत र २०६९ मा ३६.८८ प्रतिशतले माघ मसान्त वा फागुनको पहिलो हप्ता नेप्से वृद्धि भएको देखिन्छ । यस हिसाबले साँच्चिकै सिजनल बियरिस हो भन्ने ठोकुवा गर्न कठिन छ । विगत पाँच वर्षमा साउन र माघ–फागुनमा कायम नेप्सेको अवस्था तालिका १ मा दिइएको छ ।

तालिका १ः विगत पाँच वर्षमा साउन र माघ मसान्त वा फागुनको पहिलो हप्ता नेप्सेको अवस्था

सामान्यत सूच्किृत कम्पनीहरूमध्ये विशेषत बैंकिङ क्षेत्रका कम्पनीहरूले पुस मसान्तभित्र साधारणसभा गर्ने र मुनाफा बाँडफाँड गरिसक्ने हुँदा माघ–फागुनपछि किन्ने सेयरले अर्को आर्थिक वर्षमा मात्र लाभांश पाउने अवस्थाले कतिपयले उक्त समयमा आफ्नो पोर्टफोलियो व्यवस्थापन, आगामी वर्ष राम्रो लाभांश÷मुनाफा वितरण गर्न सक्ने कम्पनीहरूमा लगानी स्थानान्तरण गर्ने कामहरू गर्दछन् । यस हिसाबले यो वर्ष देखिएको २७ प्रतिशतको गिरावट कतै अफ सिजनको कारण हो कि भन्ने मत पनि रहेको छ ।

यो सँगै नेप्सेको ऐतिहासिक न्यून बिन्दु १ असार २०६८ को नेप्से २९२ बाट २०७३ साउन १२ को १८८१ सम्म पुग्दा नेप्सेले साढे ६ वर्षको अन्तरालमा ५४४ प्रतिशतको हाराहारीमा वृद्धि भएको देखिन्छ । यस बीचमा नेप्सेले सामान्यतः केही तलमाथि हुँदै समग्रमा बुलको अवस्था कायम गरेको देखिन्छ । यसरी निरन्तर उकालो लागेको नेप्सेमा केही ठूलो करेक्सन आवश्यक थियो र हाल त्यही भएको मान्यता राख्नेहरू पनि छन् । नेप्सेको उच्च बिन्दु १८८१ लाई तुलनात्मक रूपमा लिने हो भने हालैको न्यूनतम बिन्दुमा पुग्दा करिब ३२ प्रतिशतले नेप्सेमा गिरावट आएको देखिन्छ । 

तर यसरी समग्र नेप्सेमा उल्लेख्य परिवर्तनसँगै सूचीकृत विभिन्न उपसमूहहरूको उतारचढाव अझ फरक अवस्था देखिन्छ । नेप्से २९२ हुँदा २३३ रहेको बैंकिङ इन्डेक्स नेप्से १८८१ पुग्दा १७७९ र नेप्से १२७८ हुँदा १२३१ हाराहारी कायम भएको थियो । तर नेप्से २९२ हुँदा ३९८ को बिमाको इन्डेक्स नेप्से १८८१ हुँदा ९१४५ मा चढेको र १२७८ हुँदा ५२२७ मा ओर्लेको देखिन्छ । नेप्से र विभिन्न उपसमूहहरूको तुलनात्मक अवस्थालाई तालिका २ बाट थप प्रष्ट हुन सकिन्छ ।

तालिका २ः नेप्से र विभिन्न उपसमूहमा परिवर्तन

यसरी उपसमूहगत उतारचढावलाई हेर्ने हो भने नेप्सेमा ५४४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ ६६२, विकास बैंक ६०५, फाइनान्स २०८, होटेल ४८९, जलविद्युत् ४६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने बिमा समूहको वृद्धि २१९८ प्रतिशतको अति उच्च भएको छ । अर्कोतिर नेपाल टेलिकम सूचीकृत अन्य समूहको वृद्धि केवल ८९ प्रतिशतमात्र भएको छ । यसरी हेर्दा नेप्से र बिमा समूह तथा नेप्से र अन्य समूहको वृद्धिबीच निकै ठूलो अन्तर पाउन सकिन्छ । तर बैंकिङ, होटेल र जलविद्युत्को वृद्धि नेप्सेसँगसँगै हिँडेको देखिन्छ।

यस्तै उच्च बिन्दु १८८१ बाट वर्षको हालसम्म कायम न्यूनतम बिन्दुमा आउँदा नेप्सेमा ३३ प्रतिशले कमी आउँदा बैंकिङ ३२, विकास बैंक ३०, फाइनान्स ३४, बिमा ४५, होटेल ३०, जलविद्युत् ४५ र अन्य समूहमा १९ प्रतिशतले कमी आएको छ । वृद्धि र घट्ने क्रमलाई हेर्दा बिमाको वृद्धिको तुलनामा घट्ने दर केही कमी देखिन्छ । सायद यसमा बिमाको पुँजीवृद्धिको अनुमान (स्पेकुलेसन) ले केही काम गरेको हुन सक्छ । तर जलविद्युत् क्षेत्र बजार घट्दा निकै उच्चदरमा घट्न गएको देखिन्छ ।

तथ्यांकलाई केलाउँदा सामान्यतः नेप्से बढ्दा बैंकिङ क्षेत्रले पनि कमाउने र नेप्से घट्दा बैंकिङले पनि उही दरमा गुमाउने गरेको देखिन्छ भने सायद सेयर कारोबारीको निकै हावी भएको हुँदा बिमा क्षेत्र र नेप्सेको उतारचढाव फरक हुने गरेको छ ।

लगानीका हिसाबले बैंकिग क्षेत्रहरूमध्ये वाणिज्य बैंक र विकास बैंक समूहले नेप्सेअनुसार नै सम्पत्ति तलमाथि हुने गरेको देखिन्छ । यस क्षेत्रका लगानीकर्ताहरूको औसत सम्पत्ति विगत साढे ६ वर्षमा ६ सय प्रतिशतले बढेको छ भने बिमा क्षेत्रका मानिसले निकै बढी कमाएका छन् । कमाइसँग बिमामा जोखिम पनि बढी रहेको कुरा नेप्सेको घट्ने क्रमभन्दा बिमाको घट्ने क्रम बढी भएबाट पुष्टी हुन्छ । यसपटक नेप्सेको तुलनामा जलविद्युत् क्षेत्रका लगानीकर्ताले बढी गुमाएको देखिन्छ सायद यस क्षेत्रमा बढ्दो कम्पनीहरूको प्रवेश, लगानीकर्ताहरूको प्राथमिकता बिमा र बैंकिगतिर मोडिनु आदि कारण पनि हुन सक्छ ।

उल्लेखित उपसमूहरूबाहेक पनि नेप्सेमा उत्पादन क्षेत्रको पनि छुट्टै उपसमूहमा कारोबार हुन्छ । तर यो क्षेत्रमा सूचीकृत कम्पनीहरूको कारोबार निकै कम हुने गरेको र समग्र नेप्सेमा यिनीहरूको उल्लेख्य प्रभाव नहुने हुँदा यसलाई छुट्टै विश्लेषण गरिएको छैन । 

Published on Nepalitara online on 2 March 2017 http://nepaltara.com/News/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A5%8D%E0%A4%B8%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%89%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%9A%E0%A4%A2%E0%A4%BE%E0%A4%B5-%E0%A4%B0-%E0%A4%AC%E0%A4%9C%E0%A4%BE%E0%A4%B0/

Sunday, February 26, 2017

चुक्ता पुँजी पुर्याउने बैंकहरूको आधार

बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका बैंकहरूलाई २०७४ असार मसान्तभित्र आठ अर्ब चुक्ता पुँजी पुर्याउन दिएको बाध्यात्मक निर्देशन बमोजिम अहिले सबै बैंकहरू प्राप्ति, मर्जर, हकप्रद, बोनस वा थप सार्वजनिक निष्कासन एफपिओ) को माध्यमबाट निर्धारित चुक्ता पुँजी पुर्याउने प्रक्रियामा रहेका छन् ।

तोकिएको समयसीमा नजिकिँदै जाँदा हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरूमध्ये पनि धेरैको पुँजी ४–५ अर्ब हाराहारी घुमिरहेको अवस्थामा कुन बैंकले कसरी पुँजी पुर्याउने अहिले लगानीकर्ताहरूको मुख्य चासोको विषय बनेको छ । लगानीकर्ताहरू आफूले लगानी गरेको बैंक रहन्छ/रहँदैन वा अरू कसैसँग मर्ज÷प्राप्तिमा जान्छ वा ल्याउँछ ? कोसँग जाला वा कस्तो ल्याउला ? यस्तै प्रश्नहरूबीच रुमलिएको अवस्थामा पुस मसान्तसम्म बैंकहरूले प्रकाशित गरेको चुक्ता पुँजीको अवस्था, उनीहरूले घोषणा गरेको बोनस, प्रस्तावित हकप्रद, मर्जर वा प्राप्तिको अवस्थासमेतलाई विचार गर्दा केही बैंकहरूलाई आफ्नो अस्तित्व जोगाउन निकै संघर्ष गर्नुपर्ने देखाएको छ ।

हाल सञ्चालनमा रहेका २८ बैंकहरूमध्ये पहिले नै ८ अर्ब पुँजी पुगेको र सार्वजनिक शेयर निष्कासन नगरेको राष्ट्रिय वाणिज्य बैंकलाई छोडेर २७ बैंकहरूको अवस्था हेर्दा सबैभन्दा कम चुक्ता पुँजी जनता बैंक नेपालको २ अर्ब ३० करोड ७२ लाख रहेको छ भने सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ८ अर्ब ७० करोड ६६ लाख १२ हजार रहेको देखिन्छ ।

केहीले प्राप्ति वा मर्जर प्रक्रियालाई अगाडि बढाएका छन् भने केही हकप्रद वा बोनस निष्कासनको प्रकृयामा छन् । उनीहरूले बाहिर ल्याएका पुँजी वृद्धिका उपायहरूलाई समेत विचार गर्दा बैंकहरूले निम्नअनुसार थप पुँजीको जोहो गर्नुपर्ने हुन्छ ।

कसको अवस्था कस्तो छ ? र के गर्लान् ?

काराेवार दैनिक, फागुन १५ अाइतवार, http://www.karobardaily.com/news/73378