Thursday, June 1, 2017

सेयर बजारमा आस र त्रासको व्यवस्थापन

सेयर बजार, एक हिसाबले ‘आस’ र ‘त्रास’को बजार हो । यही ‘आस’ र ‘त्रास’ले नै बजारलाई गतिशील बनाउँछ, मुनाफा र जोखिम सिर्जना गर्दछ, सँगसँगै नाफा र नोक्सान पनि । यदि ‘आस’ र ‘त्रास’ नहुँदो हो त दोस्रो बजारको जन्म हुँदैनथ्यो होला न त बजारको विकास नै ।

बजारमा खरिदकर्ताले भविष्यमा मुनाफा हुन्छ भन्ने आशामा किन्छ भने बिक्रेताले मूल्य घट्छ भनेर त्रसित भएर बेच्छ । प्राथमिक बजारमा सेयर किन्ने र दोस्रो बजारबाट सेयर किन्ने व्यक्तिको ‘आस’ र ‘त्रास’को अवस्था फरक हुन सक्छ तर कुनै पनि लगानीकर्ताले सेयर किनबेच गर्ने भनेको उक्त सेयरप्रति उसले आकलन गरेको ‘आस’ र ‘त्रास’ नै हो ।

कारोबारीहरू बजारमा अल्पकालीन मुनाफा अर्थात् पुँजीगत लाभको आशामा सेयर खरिद गर्न थाल्छन् भने सम्भावित नोक्सानीको त्रासमा बेच्न थाल्छन् । यहाँ आशा राख्ने र त्रसित हुने बीचको मानसिक द्वन्द्वले बजारमा सेयरको माग र आपूर्तिलाई प्रभावित गर्दै उक्त सेयरको मूल्य निर्धारण गर्दछ ।

कारोबारीहरू मात्र होइन, लगानीकर्ताहरू समेत यस्तो आस र त्रासको द्वन्द्वमा त्रसित वा आशावादी हुने हुन्छन् । उनीहरू दीर्घकालीन मुनाफा अर्थात् गुणात्मक मुनाफाको आसमा लगानी गर्दछन् ।

यही भविष्यमा मुनाफा हुन्छ भन्ने आसले नै काराेवारीहरू सेयर खरिद गर्दछन् भने त्रसित भएको अवस्थामा ‘स्टप लस’ वा ‘प्रोफिट बुक’को नाममा सेयर बेच्न थाल्छन् । हो, यही मौकामा जोखिम बेहोर्ने क्षमता भएका विशेषतः ठूला र संस्थागत लगानीकर्ता वा कारोबारीहरूले आशावादी हुँदै सेयर किन्न थाल्छन् ।

नेप्से विगतकाे १८०० र हालकाे ३२०० माथिको अवस्था होस् वा तत्कालिन ११०० वा हालकाे २८०० मा झर्दा होस्, बजारमा आशावादी र त्रसित दुवै खाले लगानीकर्ता र कारोबारीहरू हुन्छन् । यति हो, सेयर बजार माथि गएको अर्थात् बुलिस अवस्थामा आशावादीहरू हाबी हुन्छन् र आमलगानीकर्ताहरू विशेष गरी मध्यम र साना लगानीकर्ताहरूले खरिद गरिरहेका हुन्छन् भने ठूला र संस्थागत लगानीकर्ताहरू रणनीतिक रूपमा बजारको आशावादी अवस्थालाई प्रयोग गर्दै बेच्न थाल्छन् ।

यसको विपरीत बजार तल झरेको वा बियरिस अवस्थामा समग्र सेयर बजार न्यून हुँदै गएको हुन्छ । यो भनेको आमलगानीकर्ता विशेष गरी मध्यम तथा साना लगानीकर्ताहरू त्रसित भएको अवस्था हो । अर्को शब्दमा, ‘प्यानिक’ भएको अवस्था हो, जसको उपयोग गर्दै आशावादी लगानीकर्ताहरूले सस्तोमा सेयर खरिद गर्दछन् ।

व्यक्तिगत, मध्यम र साना लगानीकर्ता तथा ठूला र संस्थागत लगानीकर्ता वा कारोबारीहरूको ‘आस’ र ‘त्रास’को अवस्था सामान्यतः विपरीत हुन्छ । यसको मूल कारण भनेको जोखिमवहन क्षमता, आर्थिक स्रोत क्षमता, सूचनामा पहुँच, बजारलाई प्रभावित गर्ने क्षमता र सरोकारवालाहरूको भूमिका नै हो ।

हुन त अहिले विस्तारित बजारमा लगानीकर्ताहरूको संख्या र कारोबार हेर्ने हो भने लाखौं व्यक्ति होलान्, जसले ‘आस’ र ‘त्रास’को विविध अवस्था जनाउँछ । तर, बजारमा यस्ता लगानीकर्ता वा कारोबारी पनि हुन्छन्, जो ठिक विपरीत रूपमा चल्छन् । सेयर बजारमा सबैले मानेको मुनाफाको सिद्धान्त पनि ‘अरू आशावादी भएको समयमा आफू त्रसित हुने र अरु त्रसित भएको अवस्थामा आफू आशावादी हुने’ नै हो । तर, यसमा चातुर्य र विश्लेषण क्षमतालाई पनि सँगसँगै लानु पर्दछ ।

पक्कै पनि बुलिस अवस्थामा सेयर कारोबार निकै उच्च हुन्छ किनभने धेरै व्यक्तिहरूले सानो–सानो परिमाणमा तर धेरै सेयर किनिरहेका हुन्छन् । ठूला र संस्थागत लगानीकर्ता वा कारोबारीहरूसँग बजारको माग धान्न सकिने सेयर उपलब्ध हुँदासम्म यस्तो बुलिसलाई यही आस र त्रास रूपी औजार प्रयोग गरी बजारलाई आफू अनुकूल राख्छन् ।

जब आफूसँग सेयरको भण्डार सकिन थाल्छ तिनै ठूला वा संस्थागत लगानीकर्ता वा कारोबारीहरूले मध्यम तथा साना लगानीकर्ता वा कारोबारीहरू माझ ‘त्रास’ फैलाएर सेयर बेच्न उक्साउने र बाध्यताको अवस्था सिर्जना गर्दछन् ।

अवस्थालाई यति त्रसित बनाइन्छ कि मध्यम तथा साना लगानीकर्ताहरू आफूले किनेको भन्दा निकै सस्तोमा घाटा खाएर सेयर बेच्न थाल्छन् । यसलाई केही मध्यस्थ व्यक्तिहरूले ‘स्टप लस’ वा ‘लस बुक’को नाममा थप त्रास फैलाउन सघाउँछन् ।

बृहत् रूपमा सेयर बजारको ‘आस’ र ‘त्रास’को व्यवस्थापन भनेको जोखिम व्यवस्थापन गर्दै यथोचित मुनाफा आर्जन गर्नु हो । चलायमान बजार भएकाले बजारमा सधैं आस र सधैं त्रास हुँदैन । बजारमा कहिले आशावादीहरू हाबी हुन्छन् भने कहिले त्रसित वा निराशावादीहरू ।

यसले बजारमा खरिद वा बिक्रीमा चाप सिर्जना गर्दछ । बजारका यही अवस्थाहरूको विश्लेषण गर्दै आफ्नो लगानी पोर्टफोलियो व्यवस्थापन गर्ने तथा बजारबाट सेयर खरिद विक्री गर्ने काम गरिनुपर्दछ ।

अब कति आशावादी हुने र कहिले त्रसित हुने त ?

त्यो व्यक्तिको जोखिम लिने क्षमता, लगानीको स्रोत, अपेक्षित मुनाफा दरमा निर्भर रहन्छ । कसैले पनि आशावादी हुने र त्रसित हुने समय निश्चित रूपमा बताउन सक्दैन । एउटै व्यक्तिको पनि समय र परिस्थिति अनुसार ‘आस’ र ‘त्रास’को अवस्था फरक पर्न सक्छ ।

सेयर बजारको यस्तो ‘आस’ र ‘त्रास’सँग जुध्न कति जोखिम लिएर, कति समयको लागि र कति मुनाफा वा पुँजीगत लाभको लागि सेयर खरिद गर्न खोजेको हो त्यो स्पष्ट हुनुपर्दछ । यसका साथै, कसैले देखाउने ‘आस’ र फैलाउने ‘त्रास’को विश्लेषण गर्ने क्षमता हुनुपर्छ । त्यस्तै लगानीका स्रोतहरूको व्यवस्थापन, वैकल्पिक योजना, र धैर्यको आवश्यकता हुन्छ । बजारको अध्ययन, सरोकारवाला तथा नीतिनिर्माता र नियामकहरूको भूमिका, कम्पनीको वित्तीय अवस्था, बजार रणनीति, व्यवस्थापन समूह समेतलाई हेर्ने र बुझ्ने चातुर्य र विश्लेषण क्षमता पनि उत्तिकै जरुरी हुन्छ ।

सामान्यतः निम्न कुराहरूलाई मनन गर्न सकिएमा ‘आस’ र ‘त्रास’ व्यवस्थापनमा केही सहज हुन सक्छ ।

१. आस त्यति राख्नुस् जति सम्भव र उचित छ । यति कुरामा ध्यान दिनुहोस्, कसैले भन्दैमा आजको भोलि नै डबल मुनाफा हुँदैन । बजारको क्षमता, अर्थतन्त्रको अवस्था, कम्पनी जस्ता समग्र पक्षमा मुनाफा निर्भर रहन्छ । आस गर्नु भनेको जोखिम लिनु हो, त्यसैले त्यति जोखिम लिनुहोस् जति आफूले वहन गर्न सक्नुहुन्छ ।

२. बढी मुनाफाको आसमा धेरै जोखिम लिनु भनेको सम्भावित घाटालाई निम्त्याउनु पनि हो । सेयर किन्दा आस गरिएभन्दा फरक परिस्थिति सिर्जना भएको अवस्थामा अन्य आशा लाग्दा कम्पनीहरूको विश्लेषण गरी पोर्टफोलियो व्यवस्थापन गर्नुहोस् । आशासँगै धैर्य पनि राख्नुहोस् । आशालाई परिणाममा परिणत गर्न आवश्यक मिहेनत पनि गर्नुपर्छ । 

३. निकै आशावादीहरू हावी भएको बजारमा विविध कारणले तत्कालै त्रास छाउन सक्छ । यस्तो अवस्थाको लागि मानसिक र आर्थिक रूपमा आवश्यक विकल्पहरू सहित तयार रहनु आवश्यक छ ।

४. त्रसित अवस्थामा आवेशमा आएर घाटामा सेयर बेच्नु मूर्खता हुन्छ । त्रास कसरी सिर्जना भयो र यसको अवधि कस्तो रहन्छ अनुमान गर्नुपर्छ । त्रसित अवस्थामा अझै धैर्य कायम गर्नुपर्छ ।

५. बजारमा त्रास फैलाइएको हो वा देश र विदेशको समग्र आर्थिक पक्षहरूको प्रभावले सिर्जित भएको हो त्यसलाई राम्ररी विश्लेषण गर्नुपर्छ । जसरी समय परिवर्तनशील छ, ‘आस’ र ‘त्रास’को अवस्था पनि परिवर्तन हुन्छ । दुवै अवस्थामा महत्वपूर्ण पक्ष भनेको धैर्य नै हो ।

काराेवार राष्टिय दैनिकमा  २०७४ बैशाख ३ गते प्रकासित, http://www.karobardaily.com/news/76371
Reviewed/updated 17 Sept 2021, NST 06.30

Sunday, April 2, 2017

सेयर बजारमा जोखिम

‘जुवाघर’, ‘सुनको अन्डा पार्ने कुखुरी’, ‘मेहनतबिना पैसा कमाउने क्षेत्र वा व्यवसाय’, ‘पैसा गुमाउने व्यापार’ जस्ता अनेक तरिकाले सेयर बजारलाई परिभाषित गरिन्छ । यस्ता स्वपरिभाषाहरू व्यक्तिगत अनुभव र क्षमतामा बनेका वा बनाइएका हुन्, यसको मूल कारण सेयर बजारसम्बन्धी बुझाइ वा अध्ययनको कमी नै हो ।


के हो त सेयर बजार ?

जसरी हामी कपडा पसलमा कपडा, खाद्यान्न पसलमा खाद्यान्न किन्छौं, त्यस्तै कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि जारी गरेको पुँजीको सानो एकाइ अर्थात् कम्पनीको सेयर वा हिस्सा खरिद–बिक्री गर्ने बजार नै ‘सेयर बजार हो । यहाँ कम्पनीले विभिन्न समयमा सर्वसाधारणका लागि (क) प्राथमिक निष्कासन (आईपीओ), (ख) थप सार्वजिक निष्कासन (एफपीओ) र (ग) लिलामी (अक्सन) मार्फत जारी गरेका सेयरहरूको किनबेच हुन्छ । यसरी कम्पनीले प्रत्यक्ष रूपमा तोकिएको मर्चेन्ट वा आफैं जारी गरेको सेयर सामान्यतः (क) आईपीओ र हकप्रद अंकित मूल्य १ सय रुपैयाँमा, (ख) एफपीओ कम्पनीले प्रिमियमसहित वा बाहेक तोकेको मूल्यमा र (ग) लिलामीमा आफूले मूल्य तोकेर किन्न पाइन्छ, तर बिक्री भने बढी मूल्य तिर्नेले पहिले पाउँछ, जसलाई सामान्यतः प्राथमिक बजारका रूपमा बुझ्न सकिन्छ ।

यसका साथै सेयरको मात्र कारोबार हुने दोस्रो बजारमा समेत आफूले चाहेको कम्पनीको सेयर खरिद गर्न सकिन्छ । दोस्रो बजारमा सेयर खरिद गर्दा भने अंकित मूल्यभन्दा कम्पनीको सेयरको माग र आपूर्तिको आधारमा प्रचलित मूल्यमा खरिद गर्नुपर्ने हुन्छ, जुन सामान्यतः कम्पनीले प्रत्यक्ष रूपमा बिक्री गरेको आईपीओ वा एफपीओभन्दा बढी हुन्छ । 

यसरी किनेको सेयर बिक्री गर्न भने सेयर खरिद–बिक्री गर्ने अनुमतिप्राप्त सेयर दलालसमक्ष जानुपर्छ । उसले तपाईंको आदेशअनुसार सेयर खरिद–बिक्री गरिदिन्छ । यस्तो बजारलाई धितोपत्र बजार वा दोस्रो बजार वा सेयर बजार भनिन्छ ।

दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्दा मूल्य तोकेर, चलेको मूल्य वा निश्चित मूल्यका बीचमा सेयर दलालमार्फत किनबेचको आदेश दिन सकिन्छ । अन्य वस्तु तथा सेवाको खरिद वा बिक्रीभन्दा फरक भनेको खरिदकर्ता र विक्रेताको प्रत्यक्ष भेटघाट हुँदैन, सबै काम क्रेता र विक्रेताको तर्फबाट सेयर दलालले गरिदिन्छन् । 


सेयर बजारको जोखिम 

सैद्धान्तिक रूपमा सेयरको मूल्य उक्त सेयरको माग र आपूर्तिले निर्धारण गर्छ, तर मूल्य छिनछिनमा सामान्य कारण समेत परिवर्तन हुन सक्छ, कम्पनीको आर्थिक अवस्थाका साथै उक्त सेयरको माग र आपूर्तिको अवस्था देशको अर्थतन्त्र, सम्बन्धित क्षेत्रको अवस्था, अन्य वैदेशिक आर्थिक पक्ष एवं राजनीतिक उतारचढावले निकै प्रभाव पार्छ ।

सेयर बजारमा मूल्य र कम्पनीको अवस्थाजस्ता जोखिमहरूका साथै देशको आर्थिक नीति, पुँजीप्रवाह, राजनीतिक अवस्था र वैदेशिक आर्थिक परिदृश्यसमेतको उल्लेख्य प्रभाव रहन्छ । सेयर बजार कुनै पनि सूत्र वा विधिले पूर्वानुमान गर्न नसकिने हुन्छ, अर्थात् विश्वव्यापी रूपमै सेयर बजार अनिश्चितापूर्ण बजार हो । यस्तै जोखिमले नै बजारलाई चलायमान बढाउँछ र पुँजीगत लाभ वा नोक्सानीको सिर्जना हुन्छ ।

यहाँ कमाउने मात्र होइन, गुमाउने सम्भावना पनि उत्तिकै हुन्छ । रमाइलो कुरा, यहाँ कसैले गुमाउँदा कसैले कमाइरहेको हुन्छ भने गुमाउनेले पनि घाटा कम गरेको वा मुनाफा व्यवस्थापनको नाममा सन्तोष मानिरहेको हुन्छ ।

सेयर बजारमा देखिने विविध जोखिममध्ये देहायका जोखिमहरूलाई महत्वपूर्ण मान्न सकिन्छ : 

१. मूल्य घटबढको जोखिमः सैद्धान्तिक रूपमा सेयरको मूल्य मूलतः बजारमा उक्त सेयरको माग तथा आपूर्तिले निर्धारण हुन्छ । तर, यस्तो माग र आपूर्तिलाई कम्पनीको आर्थिक अवस्था, व्यवस्थापन, विगतको लाभांश दर, अहिलेको प्रतिसेयर आम्दानी र सम्भावित अवस्था, कम्पनीको भविष्यको व्यावसायिक अवस्था, आदिले प्रत्यक्ष असर गर्छ । क्रेता र विक्रेताले सेयर दलालले कारोबार भइसकेपछि दिने सूचनाका आधारमा मात्र आफूले किनबेचका लागि दिएको सेयरको वास्तविक कारोबार मूल्य थाहा पाउँछ । हो, यही मूल्यमा हुने उतारचढावको जोखिम वहन गरेबापत सेयरकारोवारीले पुँजीगत लाभ वा नोक्सानी वहन गर्छ ।

२. कम्पनीको व्यवस्थापन र व्यावसायिक जोखिम : कुनै पनि कम्पनीको सेयर खरिद गरेको प्रत्येक व्यक्ति उक्त कम्पनीको सेयरधनी हुन्छ र सोबापत मुनाफाका साथै नोक्सानीको जिम्मेवार पनि बन्छ । कम्पनीको सञ्चालन संस्थापक र सर्वसाधारण सेयरधनीहरूमध्ये धेरै सेयरको प्रतिनिधित्व गर्ने सञ्चालक समिति वा निजहरूले नियुक्त व्यावसायिक व्यवस्थापन समूहले गर्छ । यसले अधिकांश सेयरधनीको कम्पनीमा अप्रत्यक्ष सहभागिता रहन्छ, तर कम्पनीको नाफा वा नोक्सानीमा भने आफूले धारण गरेको सेयरको अनुपातमा प्रत्यक्ष जोखिम वा हिस्सा लिनुपर्छ । यस्तो जोखिमको मूल्य कारोबारीले सेयर मूल्य घटेर चुक्ता गर्छन् भने दीर्घकालीन लगानीकर्ताले लगानीमा नोक्सानी बेहोर्न बाध्य हुन्छ ।

३. देशको आर्थिक नीति, नियामकको नीति र राजनीतिक जोखिम : सेयर बजारको सबैभन्दा ठूलो चुनौती, जोखिम वा अनिश्चितता भनेकै यही नीतिगत तथा राजनीतिक जोखिम हो । प्रत्येक पटक नयाँ सरकार बन्ने समयमा वा र राष्ट्र बैंक र बिमा समितिले ल्याउने नीतिगत व्यवस्थाले सेयर बजारमा केही न केही प्रभाव पर्दै आएको छ । तर, यस्तो सूचनामा केही विशिष्ठ लगानीकर्ता वा कारोबारीहरूको पहिलो पहुँच हुने हुँदा अरू थप जोखिममा पर्छन् ।

४. देश तथा विश्वव्यापी आर्थिक अवस्थाको जोखिम : सेयर बजार देशको अर्थतन्त्रको ऐना मानिन्छ । नेपालको सन्दर्भमा विशेष गरी बैंक–वित्तीय संस्था तथा बिमाको दबदबा रहेको हुँदा यो परिभाषामा समेटिन गाह्रो हुन्छ, तर पनि देशका आर्थिक परिसूचकहरू राम्रो भएको अवस्थामा सेयर बजारमा पनि सामान्यतः सकारात्मक असर पर्छ । नेपालको सन्दर्भमा ठूला वा संस्थागत कारोबारीहरूको आर्थिक उद्देश्य र दबदबा रहेको हुँदा देशको आर्थिक परिसूचकहरू सकारात्मक हुँदासमेत विगत केही दिनअगाडिसम्म सेयर बजारले अल्पकालीन बियरिसको अवस्थाको सामना गर्नुपरेको थियो ।

५. अन्य जोखिम : नेपालका सेयर बजार वित्तीय परिसूचक भन्दा भित्री सूचना र हल्लाको भरमा निर्देशित हुँदा जोखिम बढाउनुका साथै बिनाकारण बजार निकै तलमाथि हुने गरेको छ । सीमित व्यक्ति तथा संस्थाहरूको भित्री सूचनामा विशेष पहुँच सबैभन्दा ठूलो जोखिम हो । यसले सीमित व्यक्तिहरूले पहिले नै कम्पनी र नीतिगत सूचना प्राप्त गरी आफूअनुकूलको परिस्थिति सिर्जना गर्दै अप्राकृतिक तरिकाले थप लाभ लिन्छन् ।

बिनाअध्ययन–विश्लेषण लहलहैमा लगानी तथा कारोबार गर्ने बानीले निकै ठूलो जोखिम निम्त्याउँछ । तर, प्रायः व्यक्तिले अल्पकाल वा दीर्घकाल र कुन उद्देश्यले लगानी गर्ने यकिन नगरी हल्लैहल्ला र अरूले भनेको वा सुनेको भरमा कारोबार गर्दा जोखिम बढ्छ । कुनै एउटा कम्पनी वा क्षेत्रमा केही समयका लागि भएको अधिक मुनाफालाई हेरेर कम्पनीहरू तथा समग्र बजारले दिने औसत प्रतिफलभन्दा बढी अपेक्षा राखेर लगानी तथा कारोबार गर्दा धेरै निराश बन्ने गरेका छन् । 

सेयर बजारको रमाइलो पक्ष भनेकै प्रत्येक व्यक्तिले आफ्नो जोखिमवहन क्षमताअनुसारको सेयरमा लगानी गर्नु वा जोखिम उठाउने अवसर प्राप्त गर्नु र सोबापत नाफा वा नोक्सान प्राप्त गर्नु हो । लगानीकर्ता वा कारोबारीले सेयर बजारको यस्तै विविध जोखिम वहन गरेबापत नै अल्पकालीन वा दीर्घकालीन मुनाफा प्राप्त गर्छ । यस्तो मुनाफा कम्पनीले दिने बोनस, बजार मूल्यभन्दा सस्तोमा कम्पनीले जारी गर्ने हकप्रद वा एफपीओ तथा बजारको पुँजीगत लाभ वा दुवै हुन सक्छ ।

त्यसकारण सेयर किनबेच गर्दा त्यसमा अन्तर्निहित जोखिम, कम्पनीको आर्थिक अवस्था, देशको आर्थिक तथा राजनीतिक अवस्थाका साथै आफूले वहन गर्न सक्ने जोखिमलाई ध्यान दिएर विश्लेषणसहित लगानी वा कारोबार गर्नु जोखिम व्यवस्थापनको व्यावहारिक सूत्र हुनेछ । सेयर बजार जोखिमपूर्ण हुन्छ, जोखिमबापत नाफा वा नोक्सान हुन्छ । त्यसैले आफ्नो जोखिम वहन क्षमता विश्लेषण गरेर मात्र कारोबार गर्नुपर्छ ।

काराेवार राष्ट्रिय दैनिकमा २०७३ चैत २० गते प्रकाशित
http://www.karobardaily.com/news/75481

Saturday, April 1, 2017

बैंकिङ क्षेत्रको दिन सकिएकै हो त ?

नेप्सेले हालैको उच्च बिन्दु १८८१ बाट तल ओर्लेर १२५२ सम्म पुगेपछि सबै सेयर लगानीकर्ताले जस्तै बैंकिङ क्षेत्रका लगानीकर्ता तथा कारोबारीहरू अत्तालिएका र निराश बनेका छन् । अझ कतिपयको बुझाइमा बैंकिङ क्षेत्र, जसको समग्र नेप्सेमा ठूलो हिस्सा छ र उसैले नेप्सेको दशा र दिशा निर्धारण गर्छ, त्यसको समेत यस्तो हालत देखेर कतै सेयर बजार नै सकिएको हो कि भन्ने अनुमान र चिन्ता व्यक्त हुन थालेका छन् । 

हुन पनि १८८१ हुँदा ३ हजार ५ सयभन्दा माथि कारोबार भइरहेको स्ट्यान्डर्ड चार्टड होस् कि अन्य बैंकहरू सबैंको बजार मूल्य उल्लेख्य घटेको छ र आमलगानीकर्ता अत्तालिएका छन् । पक्कै पनि बजार मूल्य मात्र हेर्ने हो भने प्रायःको मूल्य आधाभन्दा कम भएको छ, अझ केहीको त ६० प्रतिशतभन्दा मुनि पुगेको छ । तर, नेप्सेको समग्र अवस्था र बैंकिङ उपसूचकको अवस्था हेर्ने हो भने औसतमा केवल २५ प्रतिशतको हाराहारी मात्र गिरावट आएको छ । 

हो, सेयर किनबेच गर्ने र कारोबारीहरूले ध्यान दिन नसकेको वा नबुझेको नै यही हो । नेप्से हे-यो २५ प्रतिशत घट्छ, आफूसँग भएको सेयर मूल्य हे¥यो ५०–६० प्रतिशत घटेको छ अनि लौ आफूसँग भएको सेयर त खतम भएछ भन्दै झन् आत्तिएर ठूलै घाटा खाएर बेच्नेहरू पनि भेटिएका छन् ।

यहाँ बुझ्नुपर्ने मुख्य कुरा भनेको बजार मूल्य घटे पनि सेयरको कित्ता उल्लेख्य बढेको छ, जसले पछि गुणात्मक मुनाफा दिन सक्छ । नबेचेसम्म देखिने घाटा वा नाफा भनेको काल्पनिक नाफा वा घाटा मात्र हो । नियामक निकाय नेपाल राष्ट्र बैंकले दिएको बाध्यात्मक पुँजी वृद्धिको निर्देशनसँगै दुई वर्षको अन्तरालमा औसतमा साढे दुई गुणा पुँजी बढाउन मर्जर र एक्विजिसनसँगै ठूलो परिमाणमा हकप्रद सेयर र थप सार्वजनिक निष्कासन (एफपीओ) भएका छन् ।

यसले एकातिर बजारमा बैंकहरूको सेयर आपूर्ति निकै बढेको छ भने अर्कातिर विद्यमान सेयरधनीहरूले आफ्नो हिस्साको हकप्रद भर्न पनि आफूसँग भएको केही सेयर बिक्री गर्नुपरेको छ । तर, खरिदकर्ता वा माग पक्ष सोहीअनुरूप बढेको देखिएन । बलियो बजार निर्माता भएको भए अहिलेको जस्तो बजार मूल्यको उतारचढाव आउँदैनथ्यो कि ? 

बजारमा बैंकको भविष्य 

सेयर बजारका अन्य उपसूचकभन्दा बैंकका सेयरहरूको आपूर्ति तुलनात्मक रूपमा निकै बढेको छ र बजारमा माग र आपूर्तिबीच असन्तुलन ल्याएको छ । बैंकहरूले ८ अर्बको बाध्यात्मक पुँजी सीमा पार नगरेसम्म बजार मूल्यमा आपूर्तिको प्रभाव अझै केही समय रहने पनि पक्का छ ।

तर, बैंकहरूको सकात्मक पक्ष भनेको नेप्सेमा बैंकहरूको उपस्थिति थप बलियो हुनेछ र विगतमा भन्दा नेप्से र सेयर बजारलाई डोर््रयाउने क्षमतामा थप सुधार हुनेछ । ८ अर्ब पुँजीको अवस्थालाई व्यवस्थित गरिसकेपछि बैंकहरूले पुनः आफ्नो गतिमा काम गर्नेछन् र बजारमा आफ्नो उपस्थिति र दबदबालाई पुनः कायम गर्नेछन् । विगतमा पनि पुँजी वृद्धिको केही समय यस्तै भएको थियो ।

बैंकहरूको पुँजी वृद्धि नियमित प्रक्रिया नै हो र केही वर्षको अन्तरालमा नियामक निकायले समग्र अर्थतन्त्र, ऋणको माग, बचतको अवस्थाजस्ता विविध वित्तीय अवस्थाको विश्लेषणका आधारमा न्यूनतम पुँजी कायम गर्दै आएको छ । यसका साथै बैंकहरूले आफ्नो व्यवसायको आकारका आधारमा प्रणालीगत रूपमै पुँजीगत पर्याप्तता अनुपातले गर्दा पनि पुँजी वृद्धि स्वतः गर्नुपर्ने हुन्छ ।

बैंकहरूको पुँजी वृद्धि नियमित र बाध्यकारी दुई तरिकाले हुने गरेको छ । अहिलेको अवस्था नियामकको बाध्यकारी पुँजी वृद्धिका साथै कतिपयको पुँजी पर्याप्तता अनुपातले गर्दा समेत नियमित रूपमा पुँजी वृद्धि गर्दै आएका हुन् । यसको केही असर बजारमा देखिँदा नै विशेषतः बैंकहरूको सेयर मूल्यमा गिरावट आएको तथ्य नकार्न सकिँदैन । पहिलेदेखि बैंकिङ क्षेत्रमा लगानी गर्दै आएका लगानीकर्ताहरूले अहिलेको मूल्य प्रवृत्तिलाई सामान्य रूपमा लिनुपर्छ र विगतलाई फर्केर हेर्दा पनि यसलाई स्वाभाविक मान्न सकिन्छ ।

८ अर्ब पुगेपछि के त ?

यो भनेको एउटा बच्चा सधैं १ वर्षकै हुन्छ वा केही विकास हुँदैन भन्ने यथास्थितिवादी र नकारात्मक सोच हो, जसले ५० करोड वा २ अर्ब पुँजी पुग्दाको अनुभव र त्यसपछिको अवस्था विश्लेषण गर्न सकेनन् वा चाहेनन्, उनीहरूलाई बैंकहरूको पुँजी अधिकतम सीमामा पुगे र अब केही हुँदैन भन्ने लाग्नु स्वाभाविक होला ।

तर, सचेत लगानीकर्ताले विगतलाई पनि फर्केर हेर्नुका साथै देशको अर्थतन्त्रलाई पनि नियाल्ने हो भने बैंकहरू अब ८ अर्बमा रोकिनेछैनन्, जसको व्यवसायको आकार र क्यापिटल एडिक्वेसी तोकिएको बिन्दुभन्दा कम छ, उनीहरूले केही समय नगद वा निकै न्यून गतिमा पुँजी वृद्धि गर्दै जालान्, तर २ अर्बबाट पुँजी बढाउँदै गएका बैंकहरूले अनुभवबाट सिकिसकेका छन्, व्यवसाय र जोखिम वहनको आधार पुँजीकोष हो र यो समयसँगै बाध्यकारी होस् वा नियमित प्रक्रियामा बढाउँदै जानुपर्नेछ । उदाहरणका लागि नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकलाई हेरे पुग्छ । उनीहरूलाई न ८ अर्ब पु-याऊ भन्नुपरेको छ न त आधारभूत रूपमा कमजोर देखिएका छन् ।

उल्लिखित कुराका अतिरिक्त बैंकका निम्न सबल पक्षहरूले गर्दा केही समयपछि बैंकको सेयर मूल्यमा सुधार आउने आशा गर्न सकिन्छ ः

१.    आपूर्तिमा कमी : सेयर आपूर्ति हुने मुख्य स्रोत नयाँ बैंक खोल्नु हो । तर, हालसम्मको अवस्था र विद्यमान नीतिअनुसार तत्काल थप बैंक स्थापना हुने स्थिति छैन । यसले अहिले बजारमा रहेका २८ वटा बैंकले बैंकको सेयरको माग धान्नुपर्ने हुन्छ । अहिले क्षणिक रूपमा बढेको आपूर्ति समस्या केही समय पछि स्वतः हट्नेछ र आपूर्ति सन्तुलन वा माग पक्ष हावी हुनेछ ।


२.    अर्थतन्त्रको मियो हुनु : अन्य उद्योग, व्यवसायको तुलनामा बैंकहरूका फरक पक्ष भनेको उनीहरू समग्र अर्थतन्त्रका मियो हुन् । अर्थतन्त्र फराकिलो हुँदै जाँदा बैंकहरू स्वाभाविक रूपमा ठूला र सबल बन्न बाध्य हुनेछन् । यस्तै अर्थतन्त्रका कुनै पनि उद्योग, व्यवसाय सञ्चालन हुँदा त्यसको आधार भनेको बैंकहरू नै हुने हुँदा मुनाफाको सानै हिस्सा भए पनि बैंकहरूमा आइपुग्नेछ । यसको अर्थ बिमा, होटल, उत्पादनमूलक उद्योग, जलविद्युत् जुनसुकैको विकास र विस्तार हुँदा त्यसको अप्रत्यक्ष लाभ बैंकले पाउँछ ।

३.    बलियो नियमन : नेप्सेमा विद्यमान अन्य उपसमूह जस्तै— बिमा, जलविद्युत्, होटलको तुलनामा बैंकहरूको नियमन बलियो छ । यही बलियो नियमन र नियामक हुँदा बैंकहरूको विकासमा सघाउ पुग्ने मात्र होइन; सुशासन, पारदर्शिता, समानता, कानुनसंगत र प्रणालीगत सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ । अझ ‘क’ वर्गका कुनै पनि बैंकहरूलाई धराशायी हुनबाट जोगाउन नियामकको सकारात्मक भूमिका रहँदै आएको तथ्यलाई बिर्सनु हुँदैन ।

४.    पारदर्शिता : संस्थागत सुशासन वा पारदर्शिताको सवालमा बैंकहरू अन्य व्यवसायको तुलनामा खरो उत्रेको अनुभव गर्न सक्छौं । हुन त नेप्सेमा सूचीकृत सबै कम्पनीले त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने, साधारणसभा गर्ने जस्ता कानुनी प्रावधान छन् । तुलनात्मक रूपमा बैंकहरूको वित्तीय विवरण पारदर्शी रहेको पाउन सकिन्छ । बलियो नियामकका कारण अन्यको तुलनामा छिटो वा समयमै साधारणसभा बोलाउने काम हुने गरेको छ । बैंकहरूको वित्तीय विवरण हेरेर कुनै पनि लगानीकर्ता वा कारोबारीले उक्त बैंकको वित्तीय अवस्था बुझ्न र सहजै भविष्यको पुर्वानुमान गर्न सक्छन्, जुन अन्य क्षेत्रमा निकै गाह्रो वा असम्भव छ ।

५.    लगानीकर्ता वा कारोबारीको प्राथमिकता : विद्यमान अवस्थामा समेत सेयर बजारमा बैंकहरूको दबदबा कायम हुनु र धेरै लगानीकर्ता वा कारोबारीहरूको प्राथमिकतामा बैंकिङ क्षेत्र नै पर्नुले गर्दा पनि बैंकका सेयरहरू तुलनात्मक रूपमा बढी तरल र बजारको प्राथमिकतामा रहेको छ । हालै सामाजिक सञ्जालमा गरेको अनौपचारिक सर्भेमा समेत ९० प्रतिशतभन्दा बढीले आफ्नो लगानी वा कारोबारका लागि प्राथमिकताको उपसमूह बैंकलाई रोजेको देखिन्छ ।

अहिलेको क्षणिक अवस्था भनेको बैंकहरूको सेयरको बाढी आएको अवस्था हो, सक्नेले भेलको मौका छोपेर केही फाइदा उठाए हुन्छ, त.र दीर्घकालीन लगानीकर्ताहरूले आत्तिएर बैंकहरूमा भएको लगानी बेचेर भाग्नुपर्ने अवस्था छैन ।

काराेवार राष्ट्रिय दैनिकमा चैत .... गते प्रकाशित