Sunday, April 2, 2017

सेयर बजारमा जोखिम

‘जुवाघर’, ‘सुनको अन्डा पार्ने कुखुरी’, ‘मेहनतबिना पैसा कमाउने क्षेत्र वा व्यवसाय’, ‘पैसा गुमाउने व्यापार’ जस्ता अनेक तरिकाले सेयर बजारलाई परिभाषित गरिन्छ । यस्ता स्वपरिभाषाहरू व्यक्तिगत अनुभव र क्षमतामा बनेका वा बनाइएका हुन्, यसको मूल कारण सेयर बजारसम्बन्धी बुझाइ वा अध्ययनको कमी नै हो ।


के हो त सेयर बजार ?

जसरी हामी कपडा पसलमा कपडा, खाद्यान्न पसलमा खाद्यान्न किन्छौं, त्यस्तै कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि जारी गरेको पुँजीको सानो एकाइ अर्थात् कम्पनीको सेयर वा हिस्सा खरिद–बिक्री गर्ने बजार नै ‘सेयर बजार हो । यहाँ कम्पनीले विभिन्न समयमा सर्वसाधारणका लागि (क) प्राथमिक निष्कासन (आईपीओ), (ख) थप सार्वजिक निष्कासन (एफपीओ) र (ग) लिलामी (अक्सन) मार्फत जारी गरेका सेयरहरूको किनबेच हुन्छ । यसरी कम्पनीले प्रत्यक्ष रूपमा तोकिएको मर्चेन्ट वा आफैं जारी गरेको सेयर सामान्यतः (क) आईपीओ र हकप्रद अंकित मूल्य १ सय रुपैयाँमा, (ख) एफपीओ कम्पनीले प्रिमियमसहित वा बाहेक तोकेको मूल्यमा र (ग) लिलामीमा आफूले मूल्य तोकेर किन्न पाइन्छ, तर बिक्री भने बढी मूल्य तिर्नेले पहिले पाउँछ, जसलाई सामान्यतः प्राथमिक बजारका रूपमा बुझ्न सकिन्छ ।

यसका साथै सेयरको मात्र कारोबार हुने दोस्रो बजारमा समेत आफूले चाहेको कम्पनीको सेयर खरिद गर्न सकिन्छ । दोस्रो बजारमा सेयर खरिद गर्दा भने अंकित मूल्यभन्दा कम्पनीको सेयरको माग र आपूर्तिको आधारमा प्रचलित मूल्यमा खरिद गर्नुपर्ने हुन्छ, जुन सामान्यतः कम्पनीले प्रत्यक्ष रूपमा बिक्री गरेको आईपीओ वा एफपीओभन्दा बढी हुन्छ । 

यसरी किनेको सेयर बिक्री गर्न भने सेयर खरिद–बिक्री गर्ने अनुमतिप्राप्त सेयर दलालसमक्ष जानुपर्छ । उसले तपाईंको आदेशअनुसार सेयर खरिद–बिक्री गरिदिन्छ । यस्तो बजारलाई धितोपत्र बजार वा दोस्रो बजार वा सेयर बजार भनिन्छ ।

दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्दा मूल्य तोकेर, चलेको मूल्य वा निश्चित मूल्यका बीचमा सेयर दलालमार्फत किनबेचको आदेश दिन सकिन्छ । अन्य वस्तु तथा सेवाको खरिद वा बिक्रीभन्दा फरक भनेको खरिदकर्ता र विक्रेताको प्रत्यक्ष भेटघाट हुँदैन, सबै काम क्रेता र विक्रेताको तर्फबाट सेयर दलालले गरिदिन्छन् । 


सेयर बजारको जोखिम 

सैद्धान्तिक रूपमा सेयरको मूल्य उक्त सेयरको माग र आपूर्तिले निर्धारण गर्छ, तर मूल्य छिनछिनमा सामान्य कारण समेत परिवर्तन हुन सक्छ, कम्पनीको आर्थिक अवस्थाका साथै उक्त सेयरको माग र आपूर्तिको अवस्था देशको अर्थतन्त्र, सम्बन्धित क्षेत्रको अवस्था, अन्य वैदेशिक आर्थिक पक्ष एवं राजनीतिक उतारचढावले निकै प्रभाव पार्छ ।

सेयर बजारमा मूल्य र कम्पनीको अवस्थाजस्ता जोखिमहरूका साथै देशको आर्थिक नीति, पुँजीप्रवाह, राजनीतिक अवस्था र वैदेशिक आर्थिक परिदृश्यसमेतको उल्लेख्य प्रभाव रहन्छ । सेयर बजार कुनै पनि सूत्र वा विधिले पूर्वानुमान गर्न नसकिने हुन्छ, अर्थात् विश्वव्यापी रूपमै सेयर बजार अनिश्चितापूर्ण बजार हो । यस्तै जोखिमले नै बजारलाई चलायमान बढाउँछ र पुँजीगत लाभ वा नोक्सानीको सिर्जना हुन्छ ।

यहाँ कमाउने मात्र होइन, गुमाउने सम्भावना पनि उत्तिकै हुन्छ । रमाइलो कुरा, यहाँ कसैले गुमाउँदा कसैले कमाइरहेको हुन्छ भने गुमाउनेले पनि घाटा कम गरेको वा मुनाफा व्यवस्थापनको नाममा सन्तोष मानिरहेको हुन्छ ।

सेयर बजारमा देखिने विविध जोखिममध्ये देहायका जोखिमहरूलाई महत्वपूर्ण मान्न सकिन्छ : 

१. मूल्य घटबढको जोखिमः सैद्धान्तिक रूपमा सेयरको मूल्य मूलतः बजारमा उक्त सेयरको माग तथा आपूर्तिले निर्धारण हुन्छ । तर, यस्तो माग र आपूर्तिलाई कम्पनीको आर्थिक अवस्था, व्यवस्थापन, विगतको लाभांश दर, अहिलेको प्रतिसेयर आम्दानी र सम्भावित अवस्था, कम्पनीको भविष्यको व्यावसायिक अवस्था, आदिले प्रत्यक्ष असर गर्छ । क्रेता र विक्रेताले सेयर दलालले कारोबार भइसकेपछि दिने सूचनाका आधारमा मात्र आफूले किनबेचका लागि दिएको सेयरको वास्तविक कारोबार मूल्य थाहा पाउँछ । हो, यही मूल्यमा हुने उतारचढावको जोखिम वहन गरेबापत सेयरकारोवारीले पुँजीगत लाभ वा नोक्सानी वहन गर्छ ।

२. कम्पनीको व्यवस्थापन र व्यावसायिक जोखिम : कुनै पनि कम्पनीको सेयर खरिद गरेको प्रत्येक व्यक्ति उक्त कम्पनीको सेयरधनी हुन्छ र सोबापत मुनाफाका साथै नोक्सानीको जिम्मेवार पनि बन्छ । कम्पनीको सञ्चालन संस्थापक र सर्वसाधारण सेयरधनीहरूमध्ये धेरै सेयरको प्रतिनिधित्व गर्ने सञ्चालक समिति वा निजहरूले नियुक्त व्यावसायिक व्यवस्थापन समूहले गर्छ । यसले अधिकांश सेयरधनीको कम्पनीमा अप्रत्यक्ष सहभागिता रहन्छ, तर कम्पनीको नाफा वा नोक्सानीमा भने आफूले धारण गरेको सेयरको अनुपातमा प्रत्यक्ष जोखिम वा हिस्सा लिनुपर्छ । यस्तो जोखिमको मूल्य कारोबारीले सेयर मूल्य घटेर चुक्ता गर्छन् भने दीर्घकालीन लगानीकर्ताले लगानीमा नोक्सानी बेहोर्न बाध्य हुन्छ ।

३. देशको आर्थिक नीति, नियामकको नीति र राजनीतिक जोखिम : सेयर बजारको सबैभन्दा ठूलो चुनौती, जोखिम वा अनिश्चितता भनेकै यही नीतिगत तथा राजनीतिक जोखिम हो । प्रत्येक पटक नयाँ सरकार बन्ने समयमा वा र राष्ट्र बैंक र बिमा समितिले ल्याउने नीतिगत व्यवस्थाले सेयर बजारमा केही न केही प्रभाव पर्दै आएको छ । तर, यस्तो सूचनामा केही विशिष्ठ लगानीकर्ता वा कारोबारीहरूको पहिलो पहुँच हुने हुँदा अरू थप जोखिममा पर्छन् ।

४. देश तथा विश्वव्यापी आर्थिक अवस्थाको जोखिम : सेयर बजार देशको अर्थतन्त्रको ऐना मानिन्छ । नेपालको सन्दर्भमा विशेष गरी बैंक–वित्तीय संस्था तथा बिमाको दबदबा रहेको हुँदा यो परिभाषामा समेटिन गाह्रो हुन्छ, तर पनि देशका आर्थिक परिसूचकहरू राम्रो भएको अवस्थामा सेयर बजारमा पनि सामान्यतः सकारात्मक असर पर्छ । नेपालको सन्दर्भमा ठूला वा संस्थागत कारोबारीहरूको आर्थिक उद्देश्य र दबदबा रहेको हुँदा देशको आर्थिक परिसूचकहरू सकारात्मक हुँदासमेत विगत केही दिनअगाडिसम्म सेयर बजारले अल्पकालीन बियरिसको अवस्थाको सामना गर्नुपरेको थियो ।

५. अन्य जोखिम : नेपालका सेयर बजार वित्तीय परिसूचक भन्दा भित्री सूचना र हल्लाको भरमा निर्देशित हुँदा जोखिम बढाउनुका साथै बिनाकारण बजार निकै तलमाथि हुने गरेको छ । सीमित व्यक्ति तथा संस्थाहरूको भित्री सूचनामा विशेष पहुँच सबैभन्दा ठूलो जोखिम हो । यसले सीमित व्यक्तिहरूले पहिले नै कम्पनी र नीतिगत सूचना प्राप्त गरी आफूअनुकूलको परिस्थिति सिर्जना गर्दै अप्राकृतिक तरिकाले थप लाभ लिन्छन् ।

बिनाअध्ययन–विश्लेषण लहलहैमा लगानी तथा कारोबार गर्ने बानीले निकै ठूलो जोखिम निम्त्याउँछ । तर, प्रायः व्यक्तिले अल्पकाल वा दीर्घकाल र कुन उद्देश्यले लगानी गर्ने यकिन नगरी हल्लैहल्ला र अरूले भनेको वा सुनेको भरमा कारोबार गर्दा जोखिम बढ्छ । कुनै एउटा कम्पनी वा क्षेत्रमा केही समयका लागि भएको अधिक मुनाफालाई हेरेर कम्पनीहरू तथा समग्र बजारले दिने औसत प्रतिफलभन्दा बढी अपेक्षा राखेर लगानी तथा कारोबार गर्दा धेरै निराश बन्ने गरेका छन् । 

सेयर बजारको रमाइलो पक्ष भनेकै प्रत्येक व्यक्तिले आफ्नो जोखिमवहन क्षमताअनुसारको सेयरमा लगानी गर्नु वा जोखिम उठाउने अवसर प्राप्त गर्नु र सोबापत नाफा वा नोक्सान प्राप्त गर्नु हो । लगानीकर्ता वा कारोबारीले सेयर बजारको यस्तै विविध जोखिम वहन गरेबापत नै अल्पकालीन वा दीर्घकालीन मुनाफा प्राप्त गर्छ । यस्तो मुनाफा कम्पनीले दिने बोनस, बजार मूल्यभन्दा सस्तोमा कम्पनीले जारी गर्ने हकप्रद वा एफपीओ तथा बजारको पुँजीगत लाभ वा दुवै हुन सक्छ ।

त्यसकारण सेयर किनबेच गर्दा त्यसमा अन्तर्निहित जोखिम, कम्पनीको आर्थिक अवस्था, देशको आर्थिक तथा राजनीतिक अवस्थाका साथै आफूले वहन गर्न सक्ने जोखिमलाई ध्यान दिएर विश्लेषणसहित लगानी वा कारोबार गर्नु जोखिम व्यवस्थापनको व्यावहारिक सूत्र हुनेछ । सेयर बजार जोखिमपूर्ण हुन्छ, जोखिमबापत नाफा वा नोक्सान हुन्छ । त्यसैले आफ्नो जोखिम वहन क्षमता विश्लेषण गरेर मात्र कारोबार गर्नुपर्छ ।

काराेवार राष्ट्रिय दैनिकमा २०७३ चैत २० गते प्रकाशित
http://www.karobardaily.com/news/75481

No comments:

Post a Comment