Sunday, July 2, 2017

हकप्रद र एफपीओको दुरुपयोग !

‘फलानो कम्पनीको यति प्रतिशत हकप्रद आउँदै छ ।’ ‘फलानोले त यति एफपीओ जारी गरेर बोनस दिँदै छ ।’ ‘फलानो कम्पनी त कस्तो नराम्रो, अलिकति पनि राइट दिँदैन ।’ यसरी अहिले सेयर बजारमा कम्पनीको व्यावसायिक र वित्तीय अवस्थाभन्दा हकप्रद र एफपीओका आधारमा कम्पनी राम्रो वा नराम्रो छुट्ट्याउन थालिएको छ । हुन पनि आव ०७२/७३ मा ९ अर्ब ४० करोडको हकप्रद तथा ५ अर्ब ८३ करोडको एफपीओ धितोपत्र बोर्डबाट स्वीकृति भएको देखिन्छ भने आव ०७३/७४ को अन्त्यतिर आइपुग्दा ४३ अर्ब ३६ करोडको हकप्रद र करिब २८ करोडको एफपीओ स्वीकृत भएको देखिन्छ । अझै १३ अर्ब ९४ करोडको हकप्रद सेयर तथा प्रिमियर इन्स्युरेन्स, बुटवल पावर कम्पनी, शिखर इन्स्युरेन्स, बैंक अफ काठमाण्डु, नेपाल ग्रामीण विकास बैंक र एनएमबी बैंकको समेत करिब साढे २ करोड कित्ता सेयर एफपीओ स्वीकृतिको पर्खाइमा छन् ।

हकप्रद सेयर

कम्पनी ऐनको दफा ५६ को उपदफा ६ अनुसार हकप्रद सेयर भन्नाले कम्पनीको पुँजीवृद्धि योजनामा लगानी गर्ने हक कायम गर्ने साझेदारहरू मूलतः विद्यमान सेयरधनीहरू र कर्मचारीसमेत भन्ने बुझ्नुपर्ने हुन्छ । तर, अहिले कम्पनीहरूले विद्यमान सेयरधनीबाहेक पनि लिलामीमार्फत नयाँ सेयरधनीहरूलाई समेत हकप्रदबाट नबिकेको सेयर बिक्री–वितरण गर्दै आएका छन्, जुन हकप्रदको सिद्धान्तविपरीत हुन आउँछ ।

थप सार्वजनिक निष्कासन (एफपीओ)

कम्पनीलाई आवश्यक पुँजी नयाँ सेयरधनीहरूबाट संकलन गर्न थप सार्वजनिक निष्कासन वा एफपीओमार्फत प्रिमियम वा अंकित मूल्यमा थप सेयर जारी गर्न सकिन्छ । यसबाट पुँजी संकलनसँगै विद्यमान स्वामित्वको हिस्सामा परिवर्तन पनि हुन्छ ।

हकप्रद र एफपीओको प्रभाव

हकप्रद सेयरबाट संकलित रकम सीधै कम्पनीमा पुँजीकृत हुन्छ भने एफपीओबाट संकलित रकममध्ये अंकित मूल्य पुँजीकृत हुन्छ र प्रिमियम छुट्टै कोषमा जम्मा हुन्छ । यसले कम्पनीको पुँजीगत आधार बलियो हुन्छ र कम्पनीले व्यवसाय विस्तारसँगै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दै सम्भावित जोखिमहरूको सामना गर्ने क्षमतासमेत बढाउनेछ ।

त्यसकारण कम्पनीको विकास र विस्तारले पचाउन सक्ने अवस्थासम्मका लागि हकप्रद वा एफपीओबाट पुँजी संकलन गरिनु कम्पनी र सेयरधनीको हितमा हुन सक्छ । तर, कम्पनीले पचाउनै नसक्ने गरी पुँजी मात्र थप गरिएको अवस्थामा मानिसलाई खाना नपचेजस्तै कम्पनीमा पनि ओभर क्यापिटल भएर मुनाफा मात्र नभई पुँजीगत लागत बढेर कम्पनी नै धराशायी हुने सम्भावना पनि रहन्छ । उदाहरणका लागि नेपाल सेयर मार्केट एन्ड फाइनान्स लि., डेभलपमेन्ट एन्ड क्रेडिट बैंक (पछि ग्रान्ड बैंक), किष्ट बैंक, नेपाल विकास बैंकको इतिहास हेरे पुग्छ ।

हकप्रद, एफपीओ वा बोनस जुनसुकै माध्यमबाट कम्पनीको पुँजी वृद्धि गरिए तापनि त्यसको प्रत्यक्ष असर प्रतिसेयर आम्दानीमा पर्छ । 

उपयाेग कि दुरूपयाेग ?

आमलगानीकर्ताको अस्पष्ट मनोविज्ञानको दुरुपयोग गर्दै निहित स्वार्थका लागि हकप्रद वा एफपीओको प्रयोगलाई दुरुपयोग मान्नुको विकल्प रहन्न । पुँजी वृद्धिकै बहानामा केही विकास बैंक तथा फाइनान्स कम्पनीहरूले संस्थागत रूपमा पचाउन सकिने भन्दा निकै बढी हकप्रद घोषणा गरे । बजारमा हकप्रदप्रतिको मोह र कानुनी छिद्रको उपयोग गर्दै साधारणसभा वा विशेष साधारणसभामार्फत हकप्रद जारी गरेर पुँजी वृद्धिको सूचना बजारमा पु¥याउन तँछाडमछाड नै चल्यो । यहाँ कम्पनीलाई वास्तवमा कति पुँजी चाहिन्छ र कतिसम्म पुँजी पचाउन सक्छ हेरिएन, बरु हकप्रद जारी गर्ने सूचनाका आधारमा सेयरको बजार मूल्य कति वृद्धि गर्न सकिन्छ भन्नेमा ध्यान दिन थालियो । 

आमलगानीकर्ता र कारोबारीहरूले हकप्रदको लोभमा उच्च मूल्यमा सेयर खरिद र सञ्चित गर्न थाले । बजार प्रतिस्पर्धामा टिक्न नसक्ने अवस्थाका यस्ता कम्पनीहरू बिस्तारै अन्य संस्थासँग मर्ज वा प्राप्तिमा जान थाले । केही उदाहरणका रूपमा रिलायबल डेभलपमेन्ट बैंक, राप्ती–भेरी विकास बैंक, सेती फाइनान्स, सगरमाथा फाइनान्स, टुरिजम विकास बैंक, सिद्धार्थ विकास बैंक आदिलाई लिन सकिन्छ ।

वाणिज्य बैंकहरूले समेत नबिकेको सेयर केही थप मूल्यमा लिलामी बिक्री गरेर थोरै भए पनि गैरव्यावसायिक मुनाफा कमाउने औजारका रूपमा हकप्रदको उपयोग गरेको देखिन आएको छ ।

अर्कातिर बिमा कम्पनीहरूले न्यून पुँजी र उच्च जोखिम वहन गर्नुपर्ने सन्दर्भलाई जोडेर विगत निकै वर्षदेखि हकप्रदमार्फत पुँजी वृद्धिलाई सेयरको मूल्य बढाउने औजारका रूपमा उपयोग गरिँदै आएको छ । पछिल्लो समयमा यसमा जलविद्युत् कम्पनीहरूसमेत सहभागी हुन थालेका छन् । बिमा कम्पनीहरूको व्यवसायको विस्तार र नियामक बिमा समितिले पुँजीगत आधार परिवर्तन गर्ने सम्भावना थियो नै, तर निश्चित आकारको व्यवसाय गर्ने र व्यवसायको विस्तार गर्दा समेत निकै थोरै स्वपुँजीमा काम गर्ने जलविद्युत् कम्पनीहरूले समेत शतप्रतिशतदेखि २ सय प्रतिशतसम्म हकप्रद जारी गर्न अगाडि सरे । वास्तवमा जलविद्युत्ले अर्को जलविद्युत् आयोजना सञ्चालन गर्दासमेत नयाँ कम्पनीमार्फत गर्ने र मूल कम्पनीले उक्त नयाँ कम्पनीमा थोरै हिस्सा मात्र लगानी गर्ने सन्दर्भमा हकप्रद जारी गर्ने कुरा हास्यापद नै थियो ।

यसरी हकप्रदलाई सूचीकृत कम्पनीहरूले पुँजी संकलनमा उपयोग मात्र होइन, बजारमा सेयरको कृत्रिम माग बढाउँदै सेयरको बजार मूल्य बढाउने औजारका रूपमा दुरुपयोग गरेको भन्दा अत्युक्ति नहोला । नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टडले पुँजी पु¥याउन मात्र नभई सेयर स्वामित्वमा समेत समायोजन गर्न एफपीओ जारी गरे होलान्, तर नियामक र कम्पनी कानुनले समेत केही नबोलेको अवस्थामा शिखर इन्स्युरेन्स र नेपाल लाइफले समेत कानुनी छिद्रको फाइदा उठाउँदै महँगोमा एफपीओ जारी गरे । अझ कतिसम्म भने सम्पूर्ण सेयर सर्वसाधारणमा परिणत भइसकेको अरुण जलविद्युत् कम्पनीले समेत एफपीओ जारी गर्न साधारणसभाबाट स्वीकृत गराउनुलाई दुरुपयोगभन्दा अरू मान्न गाह्रो हुन्छ । शिखर इन्स्युरेन्सले त गत वर्ष जारी एफपीओको प्रिमियमबाट थप बोनस वितरण गर्दै पुनः एफपीओ जारी गर्न स्वीकृतिका लागि धितोपत्र बोर्डमा पुग्नु अर्को उदेकलाग्दो अवस्था हो । अझ कैयौं वर्षदेखि वार्षिक लेखापरीक्षणसमेत गराउन नसकेको राष्ट्रिय बिमा कम्पनी र बिमा संस्थानको समेत एफपीओ जारी हुने झ्याली पिटाइएको छ ।

नियामक नभएको जलविद्युत् क्षेत्रका कम्पनीहरू मात्र होइनन्, सबल नियामक भएको मानिएका बैंक तथा वित्तीय र बिमा क्षेत्रसमेत अवसरको दुरुपयोग गर्न पछि पर्दैनन् भन्ने पुष्टि गरेको छ ।

उपयुक्त विकल्प

कम्पनी आफैंले बोनसमार्फत थप पुँजी जुटाउन असमर्थ अवस्थामा हकप्रद र एफपीओ सहज उपाय हो र यसलाई सही ढंगले उपयोग गरिनु कम्पनी र पुँजी बजारका लागिसमेत सकारात्मक हुनेछ । तर, अहिलेको जस्तै यसलाई दुरुपयोग गर्दै आमलगानीकर्तालाई फसाउने र गैरव्यावसायिक मुनाफा कमाउने औजारका रूपमा प्रयोग हुनबाट रोक्न नियामक निकायहरू नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा समितिलगायतले थप सशक्त नियमन र नियन्त्रण गर्नु नै उत्तम विकल्प हुनेछ । हकप्रद र एफपीओ जारी गर्न निम्न प्रावधानहरूसहितको प्रभावकारी मापदण्डहरू तयार गरिनुपर्छ : 
  1. कम्पनीको विगत तीन वा पाँच वर्षको व्यवसाय र मुनाफा वृद्धिदर, लाभांश वितरणका आधारमा आगामी तीन वर्षलाई आवश्यक पर्ने पुँजीको पूर्वानुमान गरी बोनस सेयरले धान्न नसक्ने हदसम्मको थप पुँजी जुटाउन मात्र हकप्रद जारी गर्न सकिने व्यवस्था गरिनुपर्छ ।
  2. हकप्रद जारी गर्ने अनुमति माग्दा नै संकलित पुँजीको उपयोग र त्यसबाट प्राप्त हुने प्रतिफल विद्यमान प्रतिफल दरभन्दा निश्चित प्रतिशतभन्दा कम नहुने सुनिश्चित गरिनुपर्छ ।
  3. कुनै पनि अवस्थामा बढीमा १ सय प्रतिशत वा विगत दुई वा तीन आर्थिक वर्षको कुल प्रतिसेयर आम्दानीभन्दा बढी हकप्रद जारी गर्न नपाइने व्यवस्था गरिनुपर्छ ।
  4. हकप्रद सेयर जारी गर्दा हक हनन हुने वा नयाँ लगानीकर्ता सहजै प्रवेश गर्ने अवस्थालाई निरुत्साहित गरिनुपर्छ । यसका लागि विद्यमान सेयरधनीले नै निश्चित प्रतिशत थप सेयरका लागि आवेदन गर्न सकिने वा लिलामीको अवस्थामा सम्बन्धित समूहका विद्यमान सेयरधनीहरूले प्राथमिकता पाउने व्यवस्था हुनुपर्छ । यसबाट पनि नबिकेको अवस्थामा मात्र नयाँ लगानीकर्ता भित्रिन सक्ने व्यवस्था हुनुपर्छ ।
  5. सम्बन्धित निकायबाट स्वीकृत भएपछि मात्र हकप्रद जारी गर्ने सूचना प्रवाह हुने र यसरी स्वीकृत हकप्रद कुनै हालतमा रद्द गर्न नपाइने व्यवस्था गरिनुपर्छ ।
  6. एफपीओ जारी गर्ने अवधि र मापदण्ड तयार गरी हालको मूल्य निर्धारण विधिबाट डिस्काउन्टेड क्यास फ्लोलाई हटाएर सुधार गरिनुपर्छ ।
  7. एफपीओबाट संकलित प्रिमियम कम्पनीमा नै पुँजीकृत गरिनुपर्ने वा बोनस सेयरका रूपमा बाँड्नसमेत निश्चित अवधिको लकिङ पिरियड राखिनुपर्छ ।
  8. सम्बन्धित क्षेत्रको नियामक नभएको कम्पनीहरूलाई कम्तीमा हकप्रद वा एफपीओ जारी गर्ने सन्दर्भमा धितोपत्र बोर्डले नियमन गर्न सक्ने व्यवस्था गरिनुपर्छ ।
२०७४ असार १७ गते काराेवार दैनिकमा प्रकासित
http://www.karobardaily.com/%E0%A4%B9%E0%A4%95%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6-%E0%A4%B0-%E0%A4%8F%E0%A4%AB%E0%A4%AA%E0%A5%80%E0%A4%93%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%AA%E0%A4%AF%E0%A5%8B%E0%A4%97-

Monday, June 19, 2017

डेडलाइन २०७४ असार मसान्त

नेपाल राष्ट्र बैंकले २०७२ को मौद्रिक नीतिमार्फत बैंकहरूको चुक्ता पुँजी वृद्धि पु¥याउन गरेको निर्णयको निर्धारित समय अब निकै थोरै बाँकी छ । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरूमध्ये सार्वजनिक सेयर निष्कासन गरिनसकेको राष्ट्रिय वाणिज्य बैंकलाई छोडेर बाँकी २७ वटा वाणिज्य बैंकमध्ये हालसम्म नेपाल इन्भेस्टमेन्ट बैंकले मात्र चुक्ता पुँजी ८ अर्बको सीमा पार गरेको छ । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकले पनि हालै जारी हकप्रदलाई असारअगाडि नै बाँडफाँड गरी पुँजीकृत गर्न सकेको अवस्थामा असारको चौथो त्रैमासिक आर्थिक विवरणमा ८ अर्ब ४ करोडजतिको पुँजी पु¥याउनेछ ।

अन्य २५ बैंकले चैत मसान्तमा जारी गरेको त्रैमासिक वित्तीय विवरण र विभिन्न माध्यमबाट जानकारीमा ल्याएका पुँजीवृद्धिको उपायहरूका आधारमा असार मसान्तभित्रै ८ अर्ब पुँजी पु¥याउने अवस्थामा विश्वस्त हुन सकिँदैन । तैपनि बैंकहरूको आम्दानी, जगेडा कोष, प्रतिसेयर आम्दानी र पुँजीवृद्धिका लागि जारी उपायहरूका आधारमा केहीले छोटो समयमा सहजै ८ अर्बको पुँजी आधार पार गर्ने देखिन्छ । तर, केहीको अवस्था हेर्दा पुँजी पुरयाउनेमा विश्वास गरिहाल्न गाह्रो छ ।

कसको अवस्था कस्तो छ ?


१. १ अर्बभन्दा कम पुँजी आवश्यकः ग्लोबल आईएमई र कृषि विकास बैंकले १ अर्बभन्दा कम पुँजी थप गरे पुग्नेछ । कृषि विकास बैंकले आम्दानीबाटै १३ प्रतशित बोनस दिएर सहजै ८ अर्ब पुर्याउने सक्नेछ भने ग्लोबल आईएमईले रिलायबललाई प्राप्तिपश्चात् ८ अर्ब नजिक पुग्नेछ ।

२. २ अर्बभन्दा कम पुँजी आवश्यकः हिमालयन, माछापुच्छ्रे, एनएमबी, एनआईसी एसिया र नबिललेमध्ये माछापुच्छ्रेले हालै १२ प्रतिशत हकप्रद जारी गरेको छ । यसपछि उसले थप ८ प्रतिशतजति बोनस दिए ८ अर्ब पुग्नेछ । नबिलले २९ प्रतिशत, हिमालयनले २१ प्रतिशत र एनआईसीले २० प्रतिशत हाराहारी बोनस दिएर पुँजी पुर्याउने देखिन्छ । एनएमबीले १ अर्ब १४ करोड हाराहारीको एफपीओ जारी गर्न निवेदन दिएको छ । त्यस आधारमा उसलाई पुँजी पुर्याउन गाह्रो नहोला ।

३. ३ अर्बभन्दा कम पुँजी आवश्यकः प्राइम, प्रभु, सिटिजन्स, प्राइम, बैंक अफ काठमान्डू, नेपाल बंगलादेश बैंक, सनराइज, सानिमा र सिद्धार्थ बैंकहरूले तेस्रो त्रैमासअनुसार ८ अर्ब पुर्याउन अझै २ देखि ३ अर्ब पुँजी थप गर्नुपर्छ । यसमध्ये नेपाल बंगलादेश बैंकले ८० प्रतिशत, सिटिजन्सले २५ प्रतिशत, सानिमाले ३० प्रतिशत, सिद्धार्थले ३० प्रतिशत हकप्रद जारी गरेका छन् ।

सिद्धार्थले हालै ३० प्रतिशतपछि पनि पुनः १० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । प्रभुले गत वर्ष नै जारी गर्ने भनेको ४० प्रतिशत अझै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति हुन बाँकी छ । प्राइमले हालै कन्ट्री र विराटलक्ष्मीलाई प्राप्ति गरेको छ । बैंक अफ काठमाडौंले भने संस्थापक र सर्वसाधारणको पुँजी हिस्सा मिलाउन थप संस्थापक सेयर सार्वजनिक निष्कासन गर्न स्वीकृतिका लागि धितोपत्र बोर्ड पुगेको छ ।

नेपाल बंगलादेश बैंकले ११ प्रतिशत, सिटिजन्सले १० प्रतिशत, सानिमाले १६ प्रतिशत, सनराइजले १४ प्रतिशत र सिद्धार्थले थप हकप्रद दिएको अवस्थामा करिब ७ प्रतिशत बोनस दिएमा पुँजी पुग्ने आधार देखिएको छ ।
बैंक अफ काठमान्डुले एफपीओ निष्कासन गर्न पाएमा पुँजी पु¥याउन अझै २८ प्रतिशतजति बोनस दिनुपर्ने देखिन्छ । तर, विद्यमान प्रतिसेयर आम्दानीबाट आवश्यक बोनस दिन सक्ने अवस्था छैन । जगेडा कोष र गत वर्ष लुम्बिनी बैंक गाभ्दा सञ्चित पुँजीबाट उसले बोनसको जोहो गर्नुपर्ने हुन्छ ।

प्राइमसँग तत्कालै अर्को वित्तीय संस्था प्राप्ति गर्ने, केही हकप्रद जारी गर्ने वा जगेडा कोषहरूबाट रकम जोहो गरी आवश्यक पर्ने करिब २८ प्रतिशत नै बोनस दिने विकल्प रहन्छ । तर, प्राइमलाई पनि विद्यमान प्रतिसेयर आम्दानीबाटै बोनस दिन नपुग्ने अवस्थामा अर्को संस्था प्राप्ति, थप हकप्रद वा जगेडाका कोषबाट बोनस सेयर बाँड्नुपर्ने बाध्यता आउन सक्छ ।

उल्लिखित ७ वटामध्ये बैंक अफ काठमाण्डूले एफपीओ निष्कासन अस्वीकृत भएको अवस्थामा ४२ प्रतिशत थप पुँजीको जोहो गर्न निकै मेहनत गर्नुपर्नेछ । प्रभुको प्रस्तावित हकप्रद स्वीकृत नभएको अवस्थामा पुँजी पु¥याउन कठिन हुनेछ ।

४. ४ अर्बभन्दा कम पुँजी आवश्यकः नेपाल एसबीआई, नेपाल क्रेडिट एन्ड कमर्स, जनता, एभरेस्ट, सिभिल र मेगा बैंकहरूले अझै ३ देखि ३.५ अर्ब पुँजी थप्नुपर्ने अवस्था छ । नेपाल एसबीआईले हालै ४० प्रतिशत हकप्रद जारी गरेपछि पनि थप २२ प्रतिशत बोनस दिनुपर्ने देखिएको छ । एभरेस्टले ३ बराबर १ कित्ता हकप्रद जारी गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि पुगेको छ । हुनत एभरेस्टले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग मर्ज वा प्राप्तिको प्रयास गरिरहेको सूचना पनि बाहिर आएको छ, तर मर्ज वा प्राप्ति सफल नभएको अवस्थामा पनि उसले हकप्रदबाहेक थप करिब ३१ प्रतिशत बोनस दिनुपर्ने देखिन्छ ।

जनताले सिद्धार्थ डेभलपमेन्ट बैंक र मेगाले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जको प्रक्रियालाई अगाडि बढाएका छन् । जनता र सिद्धार्थको विशेष साधारण सभासमेत सम्पन्न भई एकआपसमा मर्जको स्वीकृतिसमेत प्राप्त भएको अवस्थामा उनीहरूको मर्ज सुनिश्चितजस्तै भएको छ । जनताले प्रस्तावित हकप्रद रद्द गरिसकेको अवस्थामा ८ अर्ब पुग्न अझै १ अर्ब थप पुँजी आवश्यक देखिन्छ । यो उसले तत्कालै अर्को संस्था गाभेर वा १६ प्रतिशत जति बोनस दिएर पुरयाउनुपर्नेछ । तर, अहिलेको प्रतिसेयर आम्दानीले आवश्यक बोनस दिन पुग्दैन । 

मेगाले टुरिजमसँग मर्जका अतिरिक्त आफंैले ६५ प्रतिशत हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको छ, जुन सम्बन्धित निकायहरूबाट स्वीकृत हुन बाँकी नै छ । जारी दुवै प्रक्रिया सफल भएमा मेगाको पुँजी ९.५ अर्बभन्दा बढी हुनेछ भने कुनै एकमा असफल हुँदा बोनस वा हकप्रद वृद्धिको वैकल्पिक उपाय अपनाउन बाध्य हुनेछ ।

सिभिलले हालै २.८८ प्रतिशत बोनस दिनुका साथै हामा र युनिक फाइनान्स प्राप्ति गरेको छ । अझै पनि उसलाई ३ अर्ब पुँजी जुटाउनुपर्ने बाध्यता छ । यसका लागि ४० प्रतिशत हकप्रद पारित गरेको छ र यसको आवश्यक प्रक्रिया नै सुरु गरेको छैन र त्यो सम्बन्धित निकायबाट स्वीकृत हुनै बाँकी छ । जारी सबै प्रयास सफल भएको अवस्थामा समेत सिभिलले करिब ११ प्रतिशत बोनस दिन ८० करोडजति जोहो गर्नुपर्ने अवस्था छ । उसको जगेडा कोषको आकार हेर्दा यो त्यति सहज देखिँदैन ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको अवस्था भने निकै नाजुक छ । भर्खरै सम्पन्न मर्जमा समेत अदालतमा मुद्दाका कारण कारोबारसमेत रोकिन पुगेको छ । सबै कुरा मिलेमा पनि अझै ३ अर्ब ३० करोडको थप पुँजी जुटाउने भरपर्दो आधार देखिएको छैन । 

उल्लिखित समूहका ६ वटामध्ये सिभिल र एनसीसीको पुँजी पु¥याउने आधार निकै कमजोर छ ।

५. ४ अर्बभन्दा बढी पुँजी आवश्यकः स्ट्यान्डर्ड चार्टर्ड, सेञ्चुरी, कुमारी र लक्ष्मीलाई अझै ४ अर्बभन्दा बढी पुँजी आवश्यक देखिन्छ ।

स्ट्यान्डर्ड चार्टडले एफपीओ जारी गरेर पुँजी ४ अर्ब पुरयाएको छ भने उसले अब शतप्रतिशत बोनस दिनुपर्ने बाध्यता छ । उसले एफपीओबाट प्राप्त प्रिमियम, उपलब्ध सञ्चित कोष र मुनाफाबाट समेत गरेर आवश्यक पुँजी पु¥याउने बताउँदै आएको छ ।

सेन्चुरी बैंकले हालै अरनिको र इनोभेटिभ विकास बैंकहरूलाई प्राप्ति गरेको छ भने अल्पाइन डेभलपमेन्ट, सगरमाथा फाइनान्स र सेती फाइनान्ससँग प्राप्तिको सम्झौता गरेको छ । जारी प्रक्रियालाई सफलतापूर्वक टुङ्ग्याउन सकेको अवस्थामा उसलाई नपुग केही करोड बोनस वा अन्य उपायबाट पूरा गर्न सम्भव देखिन्छ । यसका साथै सेञ्चुरीले ४० प्रतिशत हकप्रद निष्कासन गर्ने जनाएको छ, जसको सम्बन्धित निकायबाट स्वीकृति हुनै बाँकी छ । यीमध्ये कुनै एकमा समस्या आउँदा निकै समस्यामा पर्नेछ ।

कुमारीले ५० प्रतिशत हकप्रद जारी गर्नुका साथै काष्ठमण्डप, काँक्रेविहार र महाकाली विकास बैंकहरू तथा पश्चिमाञ्चल फाइनान्स प्राप्तिको सम्झौता गरेको छ । जारी प्राप्तिपछि पनि उसले १ अर्ब २० करोडजतिको हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । यी प्रक्रियामा केही बाधा उत्पन्न भएमा कुमारीलाई निर्धारित पुँजी पु¥याउन निकै कठिन देखिन्छ । यसका अतिरिक्त कुमारीले बोनसका लागि ८५ करोडको स्रोत जुटाउनुपर्ने हुन्छ । यसमध्ये लक्ष्मीले हकप्रद जारीपछि आर्थिक वर्ष ०७२/७३ को आम्दानीबाट १८.२९ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयर र हकप्रद पुँजीकृत गरेपछि पनि आर्थिक वर्ष ०७३/७४ बाट करिब ६५ करोडजति बोनस दिनुपर्ने अवस्था छ ।

उल्लिखित समूहका चारवटामध्ये कुमारी र सेञ्चुरीको भविष्य जारी प्राप्ति र हकप्रदको स्वीकृतिमा निर्भर रहनेछ ।

काराेवार दैनिकमा २०७४ असार ४ गते प्रकासित
http://www.karobardaily.com/%E0%A4%A1%E0%A5%87%E0%A4%A1%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AA-%E0%A4%85%E0%A4%B8%E0%A4%BE%E0%A4%B0-%E0%A4%AE%E0%A4%B8%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4

Tuesday, June 6, 2017

किन अर्को स्टक एक्सचेन्ज ?

नेपालले हाल तीनखम्बे आर्थिक नीति अपनाए पनि मूलतः यो खुला अर्थतन्त्रको समय हो । यसको मतलब बजारमा कुनै पनि वस्तु तथा सेवाको आपूर्तिकर्ताको प्रवेश तथा बहिर्गमन कहिले र कसरी हुन्छ भन्ने बजारले नै तय गर्छ । यस्तै कसको वस्तु तथा सेवा कति मूल्यमा किन्ने वा नकिन्ने निर्णयको अधिकार उपभोक्तामा सुरक्षित रहन्छ । संक्षेपमा वस्तु तथा सेवाको आपूर्ति र माग दुवै पक्षलाई स्वनिर्णयको अधिकार रहन्छ । तर, नेपालमा सैद्धान्तिक रूपमा खुला अर्थतन्त्र मानिए पनि विशेष गरी वित्तीय बजार र सम्बन्धित पक्षहरू सोअनुरूप नचलेका हुन् कि भन्ने आभास हुन्छ । वित्तीय क्षेत्रमा राज्यले नियमनका नाममा होस् वा अन्य रूपमा नियन्त्रणको प्रयास विगतदेखि नै हुँदै आएको छ र आज पनि त्यसलाई निरन्तरता दिइरहेको छ । उदाहरणका रूपमा बैंक तथा वित्तीय संस्था, बिमा, सहकारी, सेयर दलालजस्ता वित्तीय साझेदारहरूको संख्यालाई खुला बजारको सिद्धान्तविपरीत नियन्त्रण गरिएको छ । 

यहाँ आपूर्तिकर्ता वा सेवाप्रदायकले चाहेअनुसारका सेवा प्रवाह गर्ने संघसंस्था खोल्न, सेवाको बिक्री मूल्य तय गर्न सक्दैनन् । सेवाप्रदायकले सेवा मात्र होइन, आफू कुन स्तरको सेवा प्रवाह गर्ने र कति मुनाफाका लागि कति लगानी गर्ने स्वतन्त्रतासमेत छैन । यसले गर्दा सेवाप्रदायकका साथै उपभोक्ताले आफूअनुकूलको सेवा छनोट गर्ने अवसरसमेत गुमाएका छन् ।

यस्तैमा हाल सेयर बजारमा अर्को बहस थपिएको छ, अर्को स्टक एक्सचेन्ज ल्याउने कि नल्याउने ? वास्तवमा अर्को एक्सचेन्ज चाहिन्छ कि चाहिँदैन भन्ने बजारले निर्धारण गर्नुपर्ने हो । यसविपरीत विद्यमान एक्सचेन्जलाई अप्रत्यक्ष रूपमै भए पनि नियन्त्रणमा राख्ने निहुँमा वा अर्को एक्सचेन्ज आफूले ल्याएको जस लिने अवसरका रूपमा हालको बहसलाई बजारमा फालिएको छ ।

यसमा विशेष गरी अनलाइन ट्रेडिङ र सेयर ब्रोकर थप वा विस्तार गर्ने सम्बन्धमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबीचको मतभिन्नतालाई पनि फर्केर हेर्नुपर्ने हुन्छ । सतही रूपमा अर्को एक्सचेन्ज बजार विस्तारका लागि आवश्यक भनिए तापनि नेप्से र धितोपत्र बोर्डबीच सेयर बजार र त्यसको चलायमानमा आआफ्नो भूमिकालाई थप बलियो बनाउने अदृश्य महŒवाकांक्षाले भूमिका खेलेको छैन भन्न सकिने अवस्था छैन ।

नेपालको सौभाग्य भनौं वा दुर्भाग्य, यहाँ नियामकहरू आफूअन्तर्गतका संस्थाहरूको नियमन र उनीहरूको व्यवसायमा सहजीकरणको मुख्य जिम्मेवारी भन्दा उनीहरूको हाकिम वा नियन्त्रक बन्न चाहन्छन्, चाहे त्यो सेयर बजार होस् वा बैंक तथा वित्तीय संस्था वा बिमाक्षेत्र नै ।

पक्कै पनि नेपालमा धितोपत्र कारोबार सुरु भएको अवस्थाभन्दा हालको बजार निकै फराकिलो र विस्तार भइसकेको छ ।

सेयरको आपूर्ति मात्र होइन, कारोबारी र लगानीकर्ताहरू पनि थपिएका छन् । बजारका मुख्य सरोकारवालाहरू विक्रेता, क्रेता, सेवाप्रदायक नेप्से तथा नियामक धितोपत्र बोर्डले चाहेर वा नचाहेर पनि समयानुकूल केही भए पनि परिवर्तन भएका वा हुँदै आएका पनि छन् । यस्तो सुधारलाई समेत बजार नियन्त्रणको उपायका रूपमा लिने प्रयास भएको आभास मिल्छ ।

कारोबारलाई अर्धस्वचालित बनाउने होस् वा सेयर अभौतीकरण र राफसाफमा सुधार वा उपत्यककाबाहिर सेयर दलालको कार्यालय सञ्चालनकै कुरा, सधैं आ–आफ्नो स्वार्थलाई पहिलो प्राथमिकता दिन्छन् । सबैले सधैं बिर्सने र बेवास्ता गर्ने पाटो भनेको उपभोक्ता अर्थात् सेवा खरिदकर्ता हुन्, जसले यसको मूल्य तिरिरहेको हुन्छ र सम्पूर्ण जोखिम वहन गरिरहेको हुन्छ ।

अर्को स्टक एक्सचेन्ज चाहिन्छ कि चाहिदैन ?

जहाँसम्म नेपालको सेयर बजारमा अर्को स्टक एक्सचेन्ज चाहिन्छ कि चाहिँदैन ? दुवै अवस्थामा स्टक एक्सचेन्जको सेवा उपभोक्ता (लगानीकर्ता र कारोबारी) हरूको हित र अधिकार पहिलो निर्णायक तŒव रहनुपर्छ । अर्थात्, उपभोक्ताले अहिलेको सेवासुविधामा कटौती नहुने गरी आफ्नो क्रयक्षमताअनुरूप वस्तु तथा सेवाको छनोट गर्ने अधिकार पाउनुपर्छ ।

पक्कै नयाँ स्टक एक्सचेन्जले छनोटको अधिकारलाई सुनिश्चित गर्नेछ भने प्रतिस्पर्धाले लागत वा मूल्य घट्ने र गुणस्तरमा वृद्धि हुने सम्भावना पनि रहन्छ । तर, सधैं सोचेजस्तो मात्र हुँदैन, सरकारले सेयर बजारप्रतिको दायित्वका रूपमा सञ्चालित नेपाल स्टक एक्सचेन्जको तुलनामा नयाँ स्टक एक्सचेन्जले लिने मूल्य महँगो र उपलब्ध गराउने सेवा न्यून गुणस्तरको हुने जोखिम पनि रहन्छ । हामी अवसरसँगै सिर्जना हुन सक्ने जोखिम लिन तयार हुने कि नहुने ? नयाँ स्टक एक्सचेन्जले तोकेको मूल्यमा तोकिएको नियमपालन गर्दै सबै लगानीकर्ता र कारोबारीले सेवा उपभोग गर्न सक्ने कि नसक्ने ? विचारणीय पक्ष हुनेछ ।

यहाँ सरकारी विद्यालयमा पढाइ राम्रो भएन भनेर खोलिएको निजी विद्यालय सबैको पहुँचमा नभएको बिर्सनु हुँदैन ।यसो भन्दैमा नयाँ स्टक एक्सचेन्ज आउनु हुँदैन भनेको होइन, विद्यमान वा नयाँ स्टक एक्सचेन्जले उपलब्ध गराउने सेवा–सुविधामा सेवाप्रदायकको अधिकारका साथै उपभोक्ताको पहुँच र अधिकारलाई पनि ध्यान दिइनुपर्छ ।

नयाँ स्टक एक्सचेन्ज र सेवाको स्तरमा सुधार

नयाँ स्टक एक्सचेन्जको बहस नियामकबाट जुन दृष्टिकोणले आएको भए पनि मूल कुरा भनेको विद्यमान स्टक एक्सचेन्जले बजारको अपेक्षाअनुरूपको गुणस्तरीय सेवा प्रवाह गर्न नसक्नु र उपभोक्ताले वैकल्पिक सेवाप्रदायक खोज्नु पनि एक हो ।

आमलगानीकर्ता र कारोबारीले सहज र पारदर्शी रूपमा बजारको सूचना, सेयरको माग र आपूर्तिको अवस्था थाहा पाउन कठिनाइ भोग्नु, सीमित व्यक्ति र समूहको सूचना तथा कारोबारमा तुलनात्मक रूपमा बढी पहुँच हुनुका साथै समय–समयमा नेप्सेको वेबसाइट नै नचल्नु जस्ता सामान्य प्राविधिक समस्या समेत समाधान हुन नसक्नु र निकै पहिलेदेखि छलफलमा आएको अनलाइन कारोबार अझै व्यावहारिक प्रयोगमा आउन नसक्नु नयाँ स्टक एक्सचेन्जको बहस अगाडि बढ्नुका कारक तत्व हुन् ।

सबैको बुझाइमा नयाँ एक्सचेन्ज ल्याउन सकेमा प्रतिस्पर्धाका कारण नै भए पनि सेवाको गुणस्तर र मूल्यमा कमी आउनेछ र अहिलेजस्तो समय–समयमा नेप्सेको साइट नै नखुलेर पाइने दुःखबाट मुक्ति पाइनेछ ।

तर, यसको कुनै ग्यारेन्टी छैन । यसमा स्टक एक्सचेन्जको पूर्वाधार र सेवाप्रवाहको क्षमताका साथै नियामकको भूमिका र बजार स्वयंमा निर्भर रहन्छ । नियमनभन्दा नियन्त्रणमा अगाडि बढेको देखिने धितोपत्र बोर्डले बजारमा लगानीकर्ता र कारोबारीप्रतिको दायित्वलाई निर्वाह गर्दै उनीहरूको आमहितलाई ध्यान नदिने हो भने जतिवटा स्टक एक्सचेन्ज आए पनि बजारमा सुधारभन्दा विकृति बढ्नेछ ।

एउटामार्फत लुटिएको आभास गरेका उपभोक्ता दोहोरो लुटको सिकार हुन पुग्नेछन्; अर्थात् ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ हुने जोखिमतर्फ सजग हुनु जरुरी छ ।

धितोपत्र बोर्डको भूमिका

नेपाली सेयर बजारको नियामक धितोपत्र बोर्ड सरकारी निकायसँगै आमलगानीकर्ता र कारोबारीहरू अनि सेवाप्रदायकको समेत अभिभावक हुनुपर्छ । स्टक एक्सचेन्जको नियमन क्षमता अभिवृद्धिमा सहजीकरणसँगै बजारमा तथ्यपरक र सम्परीक्षण गरिएको सूचना प्रवाह, कुनै पनि सूचनामा समान पहुँच र प्रवाह भएका सूचनाको कार्यान्वयन हुने ग्यारेन्टीका साथै केही व्यक्ति वा समूहले भित्री सूचना (इन्साइडर ट्रेडिङ) मार्फत अतिरिक्त लाभ लिने अवस्थाको नियन्त्रणमा बोर्डको भूमिका प्रभावकारी हुनुपर्छ ।

बोर्डले समग्र बजारको नियमनसँगै बजारको विकास र विस्तारमा समेत जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सम्भावित लगानीकर्ता र कारोबारीहरूको पहिचान गर्दै सेयर बजारका आधारभूत जानकारी दिनु एवम् लाभ र जोखिमको विश्लेषण, कारोबार र लगानीसम्बन्धी तालिम दिनु उसको जिम्मेवारी हुनेछ । यस्तै लगानीकर्ता, कारोबारी, सेयर दलाल, स्टक एक्सचेन्ज, सरकार र समाजको सामूहिक हितका लागि काम गर्ने, बजारको अवसर र लाभमा समान पहुँच र लाभको समानुपातिक वितरणको अवस्था सिर्जना गर्नु बोर्डको दायित्व हो ।

यसका साथै केही पहुँच भएका र प्रभाव पार्न सक्ने केही सरोकारवालाहरूले कुनै पनि तरिकाले अनुचित लाभ लिन नदिनु पनि बोर्डको जिम्मेवारी हो । नयाँ स्टक एक्सचेन्ज आएको अवस्थामा समेत सरकारी र निजी वा पुरानो र नयाँको बहानामा नीतिगत वा सूचनामा पहुँच कुनै पनि रूपमा दुवैले फरक व्यवहारको अनुभूति हुन दिनु हुँदैन ।

तर, धितोपत्र बोर्डको अहिलेसम्मको भूमिकाले समान व्यवहार र सन्तुलित नियामक बन्न सक्छ भन्ने शंका गर्ने ठाउँ दिएको छ । कम्पनीहरूले विभिन्न बहानामा आफ्नै किसिमले प्रतिसेयर आयको विश्लेषण र प्रस्तुति, लाभांशसम्बन्धी गलत सूचना प्रवाहमा नियन्त्रणका साथै आधिकारिक स्रोतबाट हकप्रदको कबुल गर्ने तर त्यस्तो हकप्रद नदिई सुटुक्क मर्ज वा प्राप्तिमा गएर आमलगानीकर्ता र कारोबारीलाई ठूलो नोक्सान पु¥याउने गलत काम हुँदासमेत कुनै कारबाही वा सचेतसमेत नगराउने बोर्डको व्यवहारले यस्तो आशंकालाई बढावा दिएको छ ।

खुला बजार नीति अँगालेपछि सेवा आपूर्ति गर्न पाउने आपूर्तिकर्ता र छनोट गर्न पाउने उपभोक्ताको अधिकारको सम्मान गर्दै बजारमा नयाँ स्टक एक्सचेन्जको प्रवेशलाई सहजीकरण गरिनुपर्छ ।

भोलि कुन टिक्ने र कुन बन्द हुने अनि कसले कति मूल्य लिएर कस्तो सेवा प्रवाह गर्ने भन्ने निर्णय बजारलाई छोडिनु उपयुक्त हुन्छ । यसमा बोर्डले अभिभावकीय भूमिका निर्वाह गर्दै सहजकर्ता र प्रभावकारी नियामकको भूमिका निर्वाह गर्नुपर्छ ।

२०७४ जेठ २१ गते काराेवार राष्ट्रिय दैनिकमा प्रकासित
http://www.karobardaily.com/%E0%A4%95%E0%A4%BF%E0%A4%A8-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A4%95-%E0%A4%8F%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%9A%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%9C-