Tuesday, July 17, 2018

नीतिगत स्पष्टता : अलमलमा लगानीकर्ता

पुँजीबजारलाई नीतिगत रूपमा सम्बोधन गर्ने सरकारको वार्षिक नीति, बजेट, आर्थिक विधेयकपछि पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम’ तथा नेपाल राष्ट्र बैंकले समग्र देशका लागि मुद्रा व्यवस्थापन गर्ने ‘मौद्रिक नीति’ सार्वजनिक गरेका छन् । बोर्डको नीति आगामी वर्ष धितोपत्र बजार विस्तार र विकासमा र केन्द्रीय बैंकको नीति सरकारको नीति र बजेटलाई कार्यान्वयन गर्न आ–आफ्ना क्षेत्रबाट क्रियाशील रहनेछन् । समग्रमा यी दुवैको सामन्जस्यताको सकारात्मक प्रभाव पुँजीबजारलाई पनि पर्नेछ ।

मौद्रिक नीतिमा सेयर बजार
मौद्रिक नीतिले समग्र अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्यको समीक्षा गर्दै नेपाल सरकारको आव ०७५/७६ को नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतालाई दृष्टिगत गरी (क) मुद्रास्फीतिमा चाप पर्न नदिन मौद्रिक योगांकहरूलाई वाञ्छित सीमाभित्र राख्ने, (ख) बढ्दो आयातसँगै बाह्य क्षेत्र स्थायित्वमा पर्न सक्ने प्रभावलाई समेत ध्यानमा राखी मौद्रिक व्यवस्थापन गर्ने, (ग) लक्षित ८ प्रतिशतको आर्थिक वृद्धिलाई सहजीकरण गर्न रोजगार र आय प्रवद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालन, ब्याजदर स्थायित्व कायम गर्ने, (घ) वित्तीय सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न वित्तीय समावेशीकरण एवम् वित्तीय साक्षरण कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै भुक्तानी प्रणालीमा प्रविधिको प्रयोगलाई बढावा दिने नीति लिएको छ । यसको लागि मौद्रिक, कर्जा र दीर्घकालीन ब्याजदर व्यवस्थापनका लागि आवश्यक नीतिगत व्यवस्था तथा वित्तीय क्षेत्र सुधार कार्यक्रम, नियमन, लघुवित्त क्षेत्रको नियमन, विदेशी विनियम व्यवस्थापनका कार्यक्रमहरू प्रस्तुत गरेको छ । पुँजीबजारका सम्बन्धमा:


  • वाणिज्य बैंकले माग गरेमा सहायक कम्पनी स्थापना गरी धितोपत्र व्यवसायीको  कारोबार गर्न सक्ने व्यवस्था (मौद्रिक नीति, बुँदा ९४) । विगतदेखि माग गर्दै आएको बैंकलाई धितोपत्र कारोवारको लाइसेन्स सम्बन्धी मागलाई जारी मौद्रिक नीतिले सम्वोधन गरेको छ । अब बैंकहरुले सहायक कम्पनी मार्फत धितोपत्र दलाल वा ब्रोकरको काम गर्न सक्नेछन् । यसले बैंकहरुलाई थप कार्य विस्तारको अवसरसँगै पूँजीबजारमा प्रविधि र पहुँचको विस्तारमा सकारात्मक भूमिका खेल्न सक्नेछ । 
  • सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था (बुँदा १०२)  यसले मार्जिन कलमा सहुलियतबाट शेयरधितोमा कर्जा लिने लगानीकर्ताहरुलाई राहत र सहजता प्रदान गर्नेछ । विद्यमान अवस्थामा शेयर धितोमा दस प्रतिशत मार्जिन कम हुने वित्तिकै मार्जिन कल आउने र त्रसित भएर थप मार्जिन दिन वा शेयर बिक्री गर्न बाध्य हुने अवस्थाबाट लगानीकर्ताहरुले निकै राहत पाउने छन् ।
  • बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था (बुँदा १०२) गरिने उल्लेख छ । यसले समग्र बजारमा प्रवाह हुनसक्ने अधिकतम कर्जाको आकारलाई केही घटाएको देखिन्छ ।
धितोपत्र बोर्ड र सेयर बजार
समग्र धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले पनि आव ०७४/७५ को समीक्षा गर्दै आव ०७५/७६ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा मुलुक राजनीतिक स्थायित्वबाट आर्थिक विकास/समृद्धितर्फ लम्किरहेको अवस्थामा आर्थिक विकासका लागि अथाह पुँजीको परिचालनका लागि पुँजीबजारलाई सक्रिय बनाई मुलुकको आर्थिक विकासमा योगदान पु-याउन बोर्ड प्रतिबद्ध रहने जनाएको छ । उसले नेपालको धितोपत्र र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्यले आगामी आवमा निम्न काम गर्ने जनाएको छ :
  • धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने,
  • बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने,
  • बजार पूर्वाधार, लगानी उपकरण आदिमा सुधार तथा विकास गर्ने तथा एक नेपाली एक डिम्याट खातालाई अभियानका रूपमा संचालन गर्ने,
  • बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने,
  • बजार सहभागीहरूको व्यवसायिकता तथा स्तर अभिवृद्धि गर्ने,
  • बजार विकास तथा विस्तारका लागि आवश्यक अध्ययन/अनुसन्धान गर्ने,
  • बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रादेशिक पुँजी बजार प्रर्दशनी लगायत विभिन्न प्रशिक्षणमूलक, छलफल/अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
यसका साथै आव २०७४/७५ को निम्न क्रियाकलापहरूको कार्यान्वयनमा निरन्तर लाग्ने जनाएको छ :
  • साना लगानीकर्ताहरूसँग रहेको निश्चित संख्यासम्मको अभौतिकृत हुन बाँकी धितोपत्रलाई बिक्रीको अवसर दिई त्यस्ता धितोपत्रको तरलता अभिवृद्धि गर्न भौतिक धितोपत्र कारोबार गर्ने छुट्टै प्लेटफर्मको विकास गर्ने कार्य अगाडि बढाउने सम्बन्धमा अध्ययन कार्य भैरहेको ।
  • देश संघीयतामा गैसकेको परिपे्रक्ष्यमा बोर्डको शाखा कार्यालय पनि विस्तार गर्दै जानुपर्ने देखिएकाले प्रदेश नम्बर ३ बाहेक अन्य प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी कम्तीमा एक कार्यालय स्थापना गर्ने सम्बन्धमा आवश्यक व्यवस्थापकीय कार्य अगाडि बढिरहेको ।
  • धितोपत्र व्यवसायीहरूको आन्तरिक तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन तथ्यांक व्यवस्थापन प्रणाली खरिद गर्ने तथा धितोपत्र कारोबार सुपरिवेक्षण प्रणालीका लागि अध्ययन कार्य अगाडि बढाउने कार्य भैरहेको ।
  • नगरपालिका बन्ड (म्युनिसिपल बण्ड) निष्कासनसम्बन्धी आवश्यक व्यवस्था तथा ऋणपत्र र अग्राधिकार सेयर बजार विकासका लागि अवलम्बन गरिनुपर्ने प्रोत्साहनमूलक नीतिका सम्बन्धमा अध्ययन कार्य भैरहेको ।
  • बोर्डको लेखा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन एनएफआरएस लागू गर्न प्रथम चरणमा एकान्टिङ म्यानुअल तयार गर्ने तथा बोर्डको दायित्व निर्धारण सम्बन्धमा एक्च्युरल भ्यालुएसन गर्ने कार्य बाँकी रहेको । 
फरक–फरक बुझाइ
मार्जिन प्रकृतिको कर्जामा अंकुश लगाएको हुँदा मौद्रिक नीति सेयर बजारप्रति अनुदार भएको बुझाइ केही लगानीकर्ताहरूको छ । हुन त सबै बैंक तथा वित्तीय संस्थाहरूले यस्तो कर्जा प्रवाह नगर्ने र गरिरहेका केहीको भने तोकिएको सीमा नाघ्ने अवस्थामा केही व्यावहारिक समस्या आउन सक्ने पक्षलाई नकार्न सकिँदैन, तर चैत मसान्तको विवरणअनुसार ३ खर्ब ८८ अर्बको प्राथमिक पुँजी भएको बैंक तथा वित्तीय संस्थाहरूले ९७ अर्बसम्म सेयरधितोमा मार्जिन कर्जा प्रवाह गर्न सक्नेमा केवल ४० अर्ब रुपैयाँ हाराहारीमात्र यस्तो कर्जा प्रवाह भएको छ । गत वर्ष ४० प्रतिशतको सीमा तोक्दा पनि लगानीकर्ताहरू यसैगरी भयभीत भएका थिए, जुन पछि सामान्य भयो । तालिकामा प्रस्तुत अनौपचारिक तथ्यांकले सेयर कर्जा प्रवाहको अवस्था र सम्भावनाले तत्काल आत्तिनुपर्ने अवस्था देखिन्न । केही बैंक तथा वित्तीय संस्थाबाहेक अन्यलाई सेयर कर्जा प्रवाहमा समस्या हुने देखिँदैन । यस्तो कर्जामा अवसर देखेका बैंकहरूलाई प्राथमिक पुँजी बढाउन दबाब भने दिनेछ ।

आव २०७४/७५ को विवरणअनुसार मार्जिन कर्जाको अवस्था

बैंक तथा वित्तीय संस्था
प्राथमिक पूँजी (रु. अर्ब)
२५% को अवस्थामा मार्जिन कर्जाको अधिकतम सीमा (रु. अर्ब)
तेस्रो त्रैमाससम्म कर्जा प्रवाह (रु. अर्ब)
औसत (प्रतिशत)
कैफियत
बाणिज्य बैंकहरु (२८)
३३४.१५
८३.५४
३३.०३
९.८८
२५% माथि सिटिजन्स बैंक इन्टरनेसनल ।
विकास बैंक (३४)
४२.००
१०.५०
५.४१
१२.८९
२५% माथि देव, ज्योति र कैलास ।
वित्तीय संस्था (२०)
११.९२
२.९८
१.९८
१६.५७
२५% माथि गुडविल, गुहेश्वरी, आइसीएफसी, जेविल्स र मञ्जुश्री ।
कुल
३८८.०७
९७.०२
४०.४२
१०.४१
औसत १०.४१%
स्रोतः सम्बन्धित कम्पनीहरुको तेस्रो त्रैमासिक विवरणका आधारमा गणना गरिएको ।

मौद्रिक नीतिले पुँजीबजारका लागि प्रत्यक्ष प्रभावित पक्षहरूबाहेक समग्र अर्थतन्त्र र आर्थिक गतिविधिलाई सहज बनाउन वित्तीय स्रोत परिचालन र कोषको लागत न्यूनीकरणका लागि क) वैधानिक तरलता (एसएलआर) वाणिज्य बैंकलाई १०, विकास बैंकलाई ८ र वित्त कम्पनीहरूलाई ७ प्रतिशत कायम गरिएको छ भने अनिवार्य नगद मौज्दात (सिआरआर) ४ प्रतिशतमा कायम, ख) परिवत्र्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था, ग) पुनःकर्जा कोषको सीमा ३५ अर्बको व्यवस्था, घ) दीर्घकालीन ऋणपत्रमार्फत वित्तीय साधन परिचालनमा प्रोत्साहन र कर्जा/कुल वित्तीय स्रोत (सीसीडी) अनुपातमा गणनाको व्यवस्था, ङ) प्रकाशित ब्याजदरमा १ प्रतिशतसम्म मात्र थपेर बोलकवोल गर्न पाइने, च) निक्षेप तथा कर्जाको ब्याजदर अन्तर अधिकतम ४.५ प्रतिशत कायम गर्नुपर्ने र छ) उद्यमशिलता र रोजगारीको विकासका लागि ब्याजमा अनुदानको व्यवस्था गरिने उल्लेख छ ।
मौद्रिक नीतिको बुँदा ६७ मा उल्लिखित बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान हुुँदै आएको ओभरड्राफ्ट  लगायतका  रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा सुविधाको सीमा रु. ७५ लाखबाट रु. ५० लाख कायम तथा व्यक्तिगत ओभरड्राफ्ट र यस्तै प्रकृतिका अन्य कर्जालाई नियन्त्रणले ओभरड्राफ्ट ऋण लिएर सेयर कारोबार गर्नेलाई केही अप्ठेरो पर्न सक्छ । यस्तै प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुदति खातामा रहेको ३ लाख रुपैयाँको निक्षेप सुरक्षण गर्नुपर्ने व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूको कोषको लागत भने केही बढ्नेछ ।
समग्रमा मौद्रिक नीतिले सहज वित्तीय स्रोत परिचालन र लागत नियन्त्रणका उपायहरूमार्फत ब्याजदरको स्थायित्वमा जोड दिएको छ । स्पष्ट रूपमा कर्जाको लागत घट्ने तर पहिले जस्तो सहज र सजिलै कर्जा नपाइने सन्देश दिएको छ ।
अलमलिएका लगानीकर्ता
स्थायी सरकार, बजेट, मौद्रिक नीति र धितोपत्र बोर्डको नीति तथा कार्यक्रमले १) पुँजीबजारको विकास, विस्तार र स्थायित्वका लागि सबैको प्रयास रहने तर अस्वभाविक उतारचढावर सट्टेबाजी (ओभरस्पेकुलेसन) मा भने नियन्त्रण गरिने र २) कर्जा सस्तो तर साँच्चै आवश्यक (जेन्युइन) र तिर्न सक्नेलाई मात्र दिइने स्पष्ट नीति सार्वजनिक भैसकेको अवस्थामा पनि कारोवारी र लगानीकर्ताहरू अलमलमा देखिन्छन् । तर क) सरकार तथा नियामकप्रतिको अविश्वास, ख) बजारको घट्दो क्रम, ग) पुँजीगत लाभकर सम्बन्धमा अपर्झट हानिएको झटारो र अनिर्णित करको दर, घ) सेयरको बढ्दो आपूर्ति र मागबीचको असन्तुलन, ङ) सेयर कर्जाको ब्याजदरमा अस्थिरता र मार्जिन कलको त्रासजस्ता केही व्यावहारिक र मनोवैज्ञानिक कारणबाहेक सेयर अलमलिनुपर्ने अन्य कारण देखिँदैनन् । सुलभ ब्याजदरमा सहज सेयरकर्जा, वैज्ञानिक विधीबाट पुँजीगत लाभकर गणना, प्राकृतिक व्यक्तिका हकमा पुँजीगत लाभकर नै अन्तिम कर हुने कानुनी सुनिश्चितासँगै अल्पकालीन कारोबारीसँगै दीर्घकालीन लगानीकर्ताहरू सेयर बजारमा फर्कने विश्वास गर्न सकिन्छ । 

नाेटः प्रकाशितमा सामान्य सुधार
काराेवार दैनिकमा २०७५ असार ३१ गते प्रकाशित
https://karobardaily.com/news/idea/7805

Friday, July 13, 2018

मौद्रिक नीतिको उपहार : मार्जिन सहजता र बैंकलाई ब्रोकर लाइसेन्स

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले व्यवस्था गरेबमोजिम आर्थिक वर्ष ०७५/७६ को मौद्रिक नीति २७ असार ०७५ मा सार्वजनिक गर्‍यो। यसले समग्रमा अर्थतन्त्रको विद्यमान अवस्था एवं परिदृश्यका साथै नेपाल सरकारबाट जारी आव ०७५/७६ को बजेटको प्राथमिकता, नीति र कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरेको छ।

त्यसअनुरूप मुद्रास्फीतिमा चाप पर्न नदिन मौद्रिक योगांकहरूलाई वाञ्छित सीमाभित्र राख्ने र बढ्दो आयातसँगै बाह्य क्षेत्र स्थायित्वमा पर्नसक्ने प्रभावलाई समेत ध्यानमा राखी मौद्रिक व्यवस्थापन गर्ने सरकारी नीति देखिएको छ । यस्तै, आव ०७५/७६ को लक्षित आठ प्रतिशतको आर्थिक वृद्धिलाई सहजीकरण गर्न रोजगार प्रवद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालन, व्याजदर स्थायित्व कायम गर्ने तथा वित्तीय सेवामा सबै नेपालीको सहज पहुँच सुनिश्चित गर्न वित्तीय समावेशीकरण एवं वित्तीय साक्षरण कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै भुक्तानी प्रणालीमा प्रविधिको प्रयोगलाई बढावा दिने नीति सरकारको देखिन्छ।

त्यसका लागि मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले मौद्रिक व्यवस्थापन, कर्जा व्यवस्थापन, दीर्घकालीन व्याजदर व्यवस्थापनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने बताएको छ। यस्तै, वित्तीय क्षेत्र सुधार कार्यक्रम, नियमन, लघुवित्त क्षेत्रको नियमन, विदेशी विनियम व्यवस्थापनका कार्यक्रमहरू प्रस्तुत गरेको छ।

सेयर बजारसँग प्रत्यक्ष सरोकार

अर्थतन्त्रको ऐनाको रूपमा लिइने पुँजीबजार (धितोपत्र बजार) का सम्बन्धमा मौद्रिक नीतिमा केवल तीन बुँदाहरूमा निम्नानुसार गरिने उल्लेख छ :

क) बुँदा १०१ मा सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको ऋणमा कर्जा सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरिने।

ख) बुँदा ९४ मा वाणिज्य बैंकहरूलाई धितोपत्र व्यवसायीको कारोबार  गर्न  दिनुपर्ने माग भई आएको सम्बन्धमा सम्बन्धित वाणिज्य बैंकबाट अनुरोध भइआएमा यसका लागि छुट्टै सहायक कम्पनी स्थापना गरी यस्तो कारोबार गर्न सक्ने व्यवस्था मिलाइने छ।

ग) बुँदा १०२ मा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिने।

यसरी एकातर्फ मार्जिन कलमा सहुलियतबाट सेयर धितोमा कर्जा लिने लगानीकर्ताहरूलाई राहत र सहजता प्रदान गरिएको छ। यसले अप्रत्यक्ष रूपमा सेयरधितोमा ६० प्रतिशतसम्मको मार्जिन सुविधा प्रदान गरेको छ। विद्यमान अवस्थामा सेयर धितोमा केही प्रतिशत मार्जिन कम हुनेबित्तिकै मार्जिन कल आउने र त्रसित भएर थप मार्जिन दिन वा सेयर बिक्री गर्न बाध्य हुने अवस्थाबाट त्यस्ता लगानीकर्ताहरूले निकै राहत पाएका छन्। हुन त, लगानीकर्ताहरूले अपेक्षा गरेको सेयर धितोको सीमा ५० प्रतिशतबाट ६०-७० प्रतिशत गरिनुपर्ने मागभन्दा फरक हो। तर, घुमाउरो तरिकाले उनीहरूको माग केही सम्बोधन भएको छ।

पुँजीबजारका लगानीकर्ताहरूले विगतदेखि माग गर्दै आएको बैंकलाई धितोपत्र कारोबारको लाइसेन्ससम्बन्धी मागलाई जारी मौद्रिक नीतिले सम्बोधन गरेको छ। अब बैंकहरूले सहायक कम्पनीमार्फत् धितोपत्र दलाल वा ब्रोकरको काम गर्न सक्नेछन्। भर्खर नीतिगत व्यवस्था भएको अवस्थामा यसले कसरी मूर्तरूप लिन्छ र पूँजीबजार विकास र विस्तारमा वास्तविक प्रभाव भविष्यमा देखिएला। तर, लगानीकर्ताहरूको लामो समयदेखिको माग सम्बोधन गर्न मौद्रिक नीतिले पहल गरेको छ।

मौद्रिक नीतिको सेयर धितोमा प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जाको सीमा ४० बाट २५ प्रतिशतमा घट्दा केही बैंक तथा वित्तीय संस्थालाई अप्ठ्यारो पर्न सक्छ। यसले समग्र बजारमा प्रवाह हुनसक्ने अधिकतम कर्जाको आकारलाई घटाएको देखिन्छ। तर, विद्यमान अवस्थामा समेत बैंक तथा वित्तीय संस्थाहरूले चाहेमा खर्बसम्मको सेयर कर्जा प्रवाह हुनसक्ने र हाल केवल ३५/४० अर्ब मात्र ऋण प्रवाह भएको अवस्थामा तत्काल कुनै समस्या हुने देखिँदैन।

वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी करिब २६ प्रतिशत सेयर धितो कर्जा प्रवाह गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई ऋण घटाउन केही दबाब परेतापनि ऋणको माग भएको अवस्थामा अन्य बैंकहरूले सहजै ऋण प्रवाह गर्न सक्ने अवस्था छ।

मौद्रिक नीतिको बुँदा ६७ मा उल्लेखित बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान हुँदै आएको ओभरड्राफ्ट लगायत रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा सुविधाको सीमा ७५ लाखबाट ५० लाख रुपैयाँ कायम गरिने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट र यस्तै प्रकृतिका अन्य कर्जालाई नियन्त्रण गर्न थप आवश्यक नीतिगत व्यवस्था गरिएको अवस्थामा ओभरड्राफ्टमार्फत् ऋण लिएर सेयर कारोबार गर्ने कारोबारीहरूलाई केही हदसम्म नकारात्मक प्रभाव भने पर्न सक्छ।

मौद्रिक नीतिले पुँजीबजारका लागि प्रत्यक्ष प्रभावित पार्ने उल्लेखित पक्षहरू बाहेक समग्र अर्थतन्त्र र आर्थिक गतिविधिलाई सहज बनाउन एकातिर बैंक तथा वित्तीय संस्थाहरूको स्रोत परिचालनमा सहज बनाउने प्रयास गरिएको छ। अर्कोतिर कोषको लागत (कस्ट अफ फन्ड) घटाउन वैधानिक तरलता (एसएलआर) र अनिवार्य नगद मौज्दात (सीआरआर)मा कटौति गरिनुका साथै वाणिज्य बैंकहरूले निक्षेप तथा कर्जाको व्याजदर अन्तर (स्प्रेड) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। यसबाट सस्तो र सहज ऋण प्रवाहमा सघाउने छ।

केही संकुचनलाई बिर्सने हो भने समग्रमा प्रस्तुत मौद्रिक नीति अर्थतन्त्र र पुँजीबजारका लागि समेत सकारात्मक देखिन्छ। मार्जिनमार्फत् तत्काल राहत पाएका लगानीकर्ताहरूले आगामी दिनमा सस्तो ऋण पाउने सम्भावनाले पनि थप उत्साहित हुने अवस्था रहन्छ। यस्तै, देशको समग्र अर्थतन्त्रमा हुने विकास, रोजगारी र उद्यमशीलताको विकासले सिर्जना हुने बचत पुनः परिचालित हुने क्रममा केही हिस्सा पुँजीबजारमा आउने सम्भावनाका कारण पनि निराशाका बीच मौद्रिक नीतिलाई सकारात्मक रूपमा लिइनु उपयुक्त हुनेछ ।

नेपालसमय अनलाइनमा २०७५ असार २८ गते प्रकासित
https://nepalsamaya.com/news/1848

Tuesday, July 3, 2018

पुँजीबजारमा प्रविधि, लागत र बहिष्करणको जोखिम

सूचना प्रविधि पनि गाँस, बास र कपासजत्तिकै महत्वपूर्ण आधारभूत आवश्यकता, व्यवसाय, मुनाफा, कूटनीति, राजनीति सबैको अस्त्र भएको छ । समाजको अविभाज्य हिस्सा हुन पुगेको अवस्थामा पुँजीबजार प्रविधिबाट अछुतो रहने कुरै भएन । विश्व पुँजीबजारमा सहजता र सुरक्षित कारोबारको हिस्सा बनिसकेको प्रविधिले बजार सञ्चालन, व्यवस्थापन, नियमन, लगानीकर्तासँग सञ्चार र सूचना प्रवाहका लागि सहयोगी र विश्वनीय माध्यमका रूपमा प्रयोग हुँदै आएको छ, तर प्रविधिलाई भर्खरै आत्मसात् गर्दै अगाडि बढेको नेपाली पुँजी (धितोपत्र) बजारमा आमलगानीकर्ताका लागि भने नयाँ प्रविधिहरू लागत, पहुँच र ज्ञानको कारण ‘...दिनभरिको सिकार’ जस्तो भएको छ ।

पुँजीबजारमा प्रविधि

नवीनतम सूचना प्रविधिको उपयोग सन्दर्भमा नेपाली पुँजीबजारलाई शिशु/बाल अवस्था मान्न सकिन्छ । वि.सं. १९९४ मा नै सेयर जारी भए पनि २०४१ बाट मात्र सूचीकृत धितोपत्र खुला बोलकबोल (ओपन आउट क्राई) बाट कारोबार तथा कागजागतका आधारमा राफसाफ फछ्र्योट हुँदै आएकोमा २०६४ बाट बल्ल कम्प्युटरकृत स्वचालित कारोबार प्रणाली सुरु भयो । सोही वर्ष वाइड एरिया नेटवर्कमार्फत कारोबार सुरु गरी वेबसाइटमार्फत कारोबारको विवरण प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरियो । धितोपत्र अभौतीकरण र निक्षेपका लागि केन्द्रयी निक्षेप प्रणालीका सञ्चालन गर्न २०६७ मा नै सीडीएस एन्ड क्लियरिङ कम्पनीको स्थापना भए पनि २०७१ बाट धितोपत्रको अभौतीकरण र कारोबार सुरु भएसँगै पुँजीबजारमा प्रविधिको वास्तविक प्रयोग भएको देखिन्छ । २०७२ देखि भने पूर्ण अभौतिक धितोपत्रको मात्र कारोबार गर्दै विद्युतीय कारोबारमा प्रवेश गरेको हाम्रो पुँजीबजारमा २०७३ देखि एप्लिकेसन सपोर्टेड वाई ब्लक्ड एमाउन्ट (आस्बा) र २०७४ मा परिष्कृत सी–आस्बाको सुरुसँगै सार्वजनिक निष्कासन (आईपीओ), हकप्रद र थप सार्वजनिक निष्कासन (एफपीओ) मा प्रविधिले निकै सहजता प्रदान गरेको छ ।

सम्भवतः २०७५ मा नै अनलाइनबाटै कारोबार र राफसाफ गर्दै नवीनतम प्रविधिको प्रयोगमा थप फड्को मार्नेछ । यसका लागि नेपाल स्टक एक्सचेन्जले नयाँ सफ्टवेयरको विकास अन्तिम चरणमा पुगेको जनाएको छ भने अन्य प्राविधिक, मानवीय, भौतिक र कानुनी पूर्वाधारहरूको तयारी पनि सँगसँगै भइरहेको छ । यसरी हुँदा पनि विश्व पुँजीबजारमा प्रयोग भइरहेको स्तरको प्रविधि र सुविधाका लागि भने अझै थप लगानी र समय लाग्ने देखिन्छ ।

प्रविधिसगै बढ्दो लागत

विश्वको व्यावहारिक अनुभव हेर्ने हो भने वस्तु तथा सेवाको उत्पादन र वितरणका लागि समयसँगै लागत कम गर्ने माध्यम प्रविधि बनेका छन् । नेपालको पुँजीबजारका सन्दर्भमा प्रविधि सहज र छिटो कार्यसम्पन्न गर्ने माध्यम त बन्यो तर लागत मितव्ययी हुन नसकेको अनुभव लगानीकर्ताहरूले गर्न बाध्य छन् । 

अभौतिक सेयरको कारोबार गर्ने प्रविधिको उदयसँगै डिम्याट खाता खोल्न र वार्षिक नवीकरण शुल्क तिर्न बाध्य लगानीकर्ताहरू सेयरको नामसारीका लागि विगतको रु. ५ को सट्टा रु. २५ तिर्न बाध्य भए । डीपीमार्फत डिम्याट खातामा निःशुल्क अनलाइन पहुँच पाइरहेका लगानीकर्ताहरू सीडीएसले विकास गरेको सशुल्क ‘मेरो सेयर’को लगइन लिन बाध्य भएका छन् ।

यसका साथै अनिवार्य बैंक खाता, एकाउन्टपेयी चेकबाट मात्र भुक्तानी, बैंक खाताबाट मात्र लाभांशको भुक्तानीजस्ता प्रविधिगत सेवाको उदयसँगै लगानीकर्ताहरू बैंक खाता सञ्चालन र अनलाइन एक्सेस, चेक क्लियरिङ र आईपीएसका लागि थप शुल्क तिर्न बाध्य छन् । सरसर्ती हेर्दा एक जना लगानीकर्ताले (क) डिम्याट खाता खोल्दा रु. १ सय ५० सँगै वार्षिक नवीकरण शुल्क रु. १ सय, (ख) मेरो सेयरको लग–इनका लागि वार्षिक रु. ५०, (ग) शून्य मौज्दातको बैंकमा खाता खोल्दा पनि अनलाइन एक्सेस लिन वार्षिक रु. २ सय हाराहारी, (ग) रु. २ लाखभन्दा बढीको सेयर बिक्रीमा प्रत्येक चेक क्लियरिङ शुल्क रु. ३०, र (घ) लाभांश, सेयर नपरेको पैसा फिर्ता हुँदा आईपीएस शुल्क न्यूनतम रु. ५ भन्दा तिर्नुपरेको छ ।

हो, प्रविधिले गर्दा धितोपत्र/सेयरको आवेदन र लाभांश प्राप्ति सहज भएको छ, तर प्रविधिको नाममा अनेक शुल्क तिर्न बाध्य लगानीकर्ताहरूका लागि प्रविधि आर्थिक बोझ त बनेकै छ, ‘नखाउँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार’ सावित हुँदैछ । यसले ‘अगुल्टोले हानेको कुकुर बिजुलीबाट पनि तर्सिन्छ’ भनेजस्तै लगानीकर्ताहरू आउने अनलाइनका नाममा थप केकति लागत बेहोर्न बाध्य हुने भन्नेमा सशंकित भएका छन् । पक्कै पनि प्रविधिले लगानीकर्तासँगै बजार सञ्चालक, डिपोजिटरी र क्लियरिङ, सेयर दलाल, डीपी सेवाप्रदायक र नियामक सबैलाई सहज भएको छ, तर यसको सम्पूर्ण आर्थिक भार आफूमा सारिएको अनुभूति लगानीकर्ताहरूले गरिरहेका छन् ।

डिजिटल डिभाइड

विश्वमा प्रविधिको विकास र प्रयोग समग्र मानवीय हितमा गर्ने भनिए पनि अधिकतम लाभ भने विकासकर्ता/उत्पादक, निर्यातक हुँदै पहुँच र लगानी क्षमता भएकाहरूले आफ्नो स्वार्थ अनुकूल व्यक्तिगत, व्यवसायिक, राष्ट्रिय स्वार्थमा उपयोग भइरहेको देखिन्छ । प्रविधिकै नाममा ज्ञान, सीप र पहुँच नभएका मानिसहरू आर्थिक र भौतिक सेवासुविधाबाट बहिष्करणमा परेका वा पारिएको मात्र होइनन्, आर्थिक क्रियाकलापबाट विमुख हुँदै कठिन जीवनयापन गर्न बाध्य हुनुपरेको तितो यथार्थ पनि हाम्रो सामु छ ।

नेपाली पुँजीबजार पनि प्रविधिमैत्री बन्दै गर्दा प्रविधिको ज्ञान र सीप भएका व्यक्तिलाई स्वभाविक रूपमा लगानी र कारोबारमा सहज पहुँच र अवसर हुनेछ, तर लगानी र कारोबारको क्षमता भई सूचना प्रविधि र कम्प्युटरसम्बन्धी सीप र पहुँच नभएका लगानीकर्ताहरू (क) बजारमा आफ्नो पहुँच र नियन्त्रण गुमाउन, (ख) बजारबाट बाहिरिन, (ग) आफ्नो सम्पत्तिमा अर्को व्यक्तिलाई पहुँच दिएर थप जोखिम मोल्न बाध्य हुने सम्भावना रहन्छ ।

विगतमा दलालमार्फत वा निष्कासनकर्ता संस्थामा गएर सहजै धितोपत्र खरिद गर्दै आएका केही लगानीकर्ता अहिले पनि इमेल एकाउन्ट नभएर वा डिम्याट खाताको ज्ञान वा विश्वास नभएर वा अन्य कारण डिम्याट खाता खोल्न नसकेर आफूसँग भएको सेयर प्रमाणपत्र सिरानी हालेर बस्न बाध्य छन् । प्रविधिमा आधारित डिम्याट खाता, मेरो सेयर, सी–आस्बा अनिवार्य हुँदा नै कारोबार र लगानीमा समस्या भोगिरहेका केही लगानीकर्ताहरू कम्प्युटर प्रविधिमार्फत अनलाइन कारोबारसँगै बजारबाट बाहिरन बाध्य हुने जोखिम उच्च देखिन्छ ।

तसर्थ, पुँजीबजारमा प्रविधि भित्र्याउँदै गर्दा पुँजीबजारका त्यस्ता लगानीकर्ताहरू बहिष्करणमा नपरून भन्ने चनाखो हुनैपर्छ । उनीहरूको क्षमता विकास, कारोबार तथा लगानीमा सहज पहुँचका लागि उपयुक्त विकल्पसहितविशेष व्यवस्था गरिनुपर्छ । निश्चित अवधि म्यानुअल र प्रविधिमा आधारित द्वैध बजार सञ्चालन विधि अपनाउन परे पनि तयार हुनुपर्छ ।

प्रविधिसँगै जोखिम

नेपालजस्तो प्रविधिको आयात र उपभोगमा सीमित मुलुकलाई प्रविधि वरदान मात्र होइन, जोखिम पनि हुन्छ । हार्डवेयर, सफ्टवेयर, सञ्चारमाध्यम र प्रविधि, स्याटेलाइट सबै अरूको भर पर्नुपर्ने अवस्थामा प्रविधिको माध्यमबाट सूचनामा अनधिकृत पहुँच र दुरुपयोगलाई नकार्न सकिँदैन । जतिसुकै सुरक्षित र त्रुटिरहित प्रविधि भए पनि व्यक्तिगत र व्यावसायिक स्वार्थका कारण प्रविधि जोखिमपूर्ण हुन्छ । अझ कम्प्युटर र सफ्टवेयरमा हुने न्यून लगानी, छलछाम र सुरक्षामा गरिने सम्झौताले थप जोखिम सिर्जना गरिरहेको हुन्छ ।

हुन त भर्खर प्रविधितर्फ बामे सर्दै गरेको नेपाल पुँजीबजारमा प्रविधिगत क्षति र जोखिमका बारेमा खास प्रश्न उठेको वा उठाइएको छैन । सायद पुरानो प्रविधि र आवश्यक लगानी नहुँदा बजार अवधिमा वेबसाइटमा गडबडी, गलत विश्लेषण र सूचना प्रवाह, डिम्याट खाताको विवरणमा त्रुटिलाई लगानीकर्ताहरूले सामान्य रूपमा लिएका छन् । हुन त एसईई नतिजामा गडबडी र व्यक्तिगत सूचनामा अनधिकृत पहुँच कायम गरी व्यावसायिक लाभका लागि प्रयोगलाई सहजै लिने नेपाली समाजका हामी लगानीकर्ताहरूले प्राविधिक त्रुटि भन्दै प्रविधिगत गडबडीलाई सहजै स्विकार्दै आएका छौैं । 

तर अनलाइनमा गएसँगै कारोबार र राफसाफमा प्रविधिको अधिकतम प्रयोग हुने अवस्थामा प्रविधिगत जोखिमको दायरा बढ्ने हुँदा लगानीकर्ताहरूले व्यक्तिगत सूचनाम अनधिकृत पहुँच र दुरुपयोग हुन सक्नेमा आशंका गर्नु स्वभाविक मान्नुपर्ने हुन्छ । नेप्से, सीडीएससी, दलाल र लगानीकर्ताहरूको विद्यमान प्राविधिक सीप र क्षमता, भौतिक पूर्वाधार, सुरक्षित सूचना प्रवाह र भण्डारण (डाटा सेन्टर) तथा सूचनामा पहुँचजस्ता कारण प्रविधिगत जोखिम बढ्ने पो हो कि भन्ने आशंकलाई (क) प्रस्तावित एउटै अनलाइन प्रणालीको विभिन्न मोड्युल र भागहरूको निर्माणमा फरक–फरक पक्षहरूको संलग्नता, (ख) सेयर दलालहरूको विद्यमान व्यवसायको आकार, पुँजी, मानव संसाधन आदिका कारण ट्रेड म्यानेजमेन्ट सिस्टमको विकास, तथ्यांक भण्डार र प्रणाली सञ्चालनमा उदासिनता, (ग) सरोकारवालाहरूबीचको विद्युतीय सञ्चार र कारोबारसम्बन्धी तथ्यांकको सुरक्षित भण्डारणका लागि विद्यमान संस्थाहरूसँग डाटा सेन्टर नहुनुले सघाएको छ । अझ पूर्ण प्राविधिक तयारीबिना अनलाइन कारोबार प्रणाली ल्याइएको अवस्थामा त्यसबाट सिर्जना हुने जोखिम एकले अर्कोलाई पन्छाउने र अन्ततः सबै जोखिम लगानीकर्ताहरूले बेहोर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले विद्यमान वा प्रस्तावित प्रविधिमा प्रश्न उठ्न नदिन जिम्मेवार पक्षले लगानीकर्ताहरूलाई सुरक्षित कारोबार र तथ्यांकमा अनधिकृत पहुँच र सूचनाको दुरुपयोग नहुने विश्वसनीय आधार प्रस्तुत गर्नुपर्छ । जतिसुकै नवीनतम प्रविधि भए पनि त्यसमा मानवीय संलग्नताका कारण विश्वसनीयता मुख्य मुद्दा हुने बिर्सनु हुन्न ।

अन्त्यमा, पुँजीबजारलाई प्रविधिमैत्री बनाउँदै गर्दा (क) लागतको सन्तुलित बाँडफाँड, (ख) बजारमा सबै प्रकारका लगानीकर्ताको सहज पहुँचको सुनिश्चितता, (ग) नयाँ प्रविधिमा पहुँच, ज्ञान र सीप नभएका लगानीकर्ताहरूको क्षमता विकाससँगै उपयुक्त विकल्प, (घ) सुरक्षित कारोबारसँगै तथ्यांकमा अनधिकृत पहुँच र दुरुपयोग नहुने सुनिश्चितता गरिनुपर्छ ।
काराेवार दैनिकमा २०७५ असार १७ गते प्रकाशित, https://karobardaily.com/news/idea/7274