सेयरमा लगानी भनेको सामान्यतः सम्बन्धित कम्पनीमा लगानी गरी व्यवस्थापनमा सहभागी भई वा नभई नाफाघाटामा समानुपातिक हिस्सेदारी लिनु हो । लगानीमा कम्पनीको व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष जिम्मेवारी र सहकार्य गर्दै मुनाफाबाट प्रतिफल खोजिन्छ । नेपालको सन्दर्भमा लगानीकर्ता भनाउँदा कारोबारीले सेयर किनेबेच वा सट्टेबाजीलाई नै लगानीका रूपमा बुझ्छन् र तत्कालीन पुँजीगत लाभमात्र हेर्छन् । कम्पनी र व्यवसायमा चासै राख्दैनन् । हुन त बजार वा कम्पनी दुवै लगानीको मूल उद्देश्य मुनाफा नै हो । मुनाफा लागतमा निर्भर हुन्छ । तर, प्रायः कारोबारी वा लगानीकर्ता किनेको वा धारित धितोपत्रको वास्तविक लागतको हिसाब र जानकारी नै राख्दैनन्, जसले लगानी व्यवस्थापनसँगै किनबेचमा गलत निर्णयको सिकार हुन्छन् ।
लागत
धितोपत्रको खरिद विधि र मूल्यका आधारमा लागत फरक हुन सक्छ । लागत खरिद विधि, बजार, मूल्य, शुल्कमा निर्भर रहन्छ । सामान्यतः प्राथमिक बजारमा कम्पनीबाट प्रत्यक्ष निष्कासित धितोपत्रमा पनि अंकित मूल्य, थप मूल्य वा लिलामीमा कबुल मूल्य नै लागत मानिन्छ । जस्तै, कम्पनीले अंकित मूल्य रु. १ सयमा जारी सेयरको लागत रु. १ सय मानिन्छ भने म्युचुअल फन्डको रु. १० अनि थप मूल्यसहित कम्पनीले रु. ६ सय १ मा जारी सेयरको लागत रु. ६ सय १ नै हुन्छ । लिलामीमा भने रामले रु. १ सय २६, हरिले १ सय २९, श्यामले रु. १ सय ३१ मा बोलकबोल गरेर सेयर प्राप्त गरेमा सोही मूल्य नै लागत मानिन्छ । अन्य अप्रत्यक्ष खर्चहरू, जस्तै— आस्बा शुल्क वा नामसारी शुल्कलाई भने लागतमा स्विकारिएको देखिन्न ।
हकप्रद र बोनस सेयरको वास्तविक लागत विवादित रहे तापनि अंकित मूल्यमा जारी हकप्रदमा भुक्तानी हुने प्रतिकित्ता रु. १ सय नै लागत मानिन्छ भने सेयरधनीका लागि उपलब्ध मुनाफा र सञ्चित रकम पुँजीकरण गर्न अंकित मूल्यमा जारी गरिने सेयर लाभांश (बोनस सेयर) मा लगानीकर्ताले प्रत्यक्ष रकम भुक्तानी नगरे पनि अंकित मूल्य रु. १ सयलाई नै औपचारिक लागत स्विकारिएको छ ।
दोस्रो बजारबाट खरिदमा भने प्रतिकित्ता मूल्यसँगै कारोबार रकमका आधारमा तिरिने दलाल कमिसन, सेबोन शुल्क र डीपी शुल्कसहितको कुल लागतका आधारमा कायम प्रतिकित्ता लागत नै वास्तविक लागत हुन्छ । अझ कारोबार रकमका आधारमा फरक कमिसन दर र निश्चित डीपी शुल्कले एकै मूल्यमा खरिद गर्दासमेत प्रतिकित्ता वास्तविक लागत फरक हुन्छ । जस्तै— कुनै कम्पनीको १ सय कित्ता एकै कारोबारमा रु. ३ सय ५० को मूल्यमा खरिद हुँदा कुल लागत रु. ३६,२७४.८२ र प्रतिकित्ता लागत रु. ३६२.७५ हुन्छ । सोही सेयर सोही मूल्यमा ५ सय कित्ता खरिद हुँदा प्रतिकित्ता लागत रु. ३६२.४४ हुन्छ, जबकि १५ सय कित्ता खरिदमा लागत घटेर रु. ३६२.३० र ६ हजार कित्ता खरिदमा प्रतिकित्ता लागत रु. ३६२.१४ सम्म हुन सक्छ । अझ कारोबार संख्या र रकमका आधारमा वास्तविक प्रतिकित्ता लागत फरक पर्न सक्छ ।
यस्तै, विभिन्न समयमा विभिन्न मूल्यमा खरिद र कम्पनीबाट जारी बोनस वा हकप्रदसहितको भारित औसत लागत र धारित अवधिको प्रभाव लाभांश प्रतिफल र लाभकरमा हुने हुँदा लगानीकर्ताले भारित औसत लागतमा चनाखो हुनैपर्छ । किनबेचको मुनाफा वा प्रतिफलको उद्देश्यअनुसार लागत व्यवस्थापन गरिएन भने तुलनात्मक रूपमा बढी लाभकर तिर्न वा कम प्रतिफलमा चित्त बुझाउनुपर्नेछ ।
लागत र लाभांश प्रतिफल
लगानीमा प्रतिफल कम्पनीको मुनाफा र लाभांशसँगै लागतमा निर्भर हुन्छ । कम्पनीले अंकित मूल्यमा एकै दरमा लाभांश वितरण गर्दासमेत प्रत्येक सेयरधनीको लागतका आधारमा लाभांश प्रतिफल दर फरक हुन सक्छ । जस्तै— कम्पनीले २० प्रतिशत लाभांश दिएको अवस्थामा बुकक्लोज मूल्य रु. २ सय ८० भए, बुकक्लोज मूल्यमा लाभांश प्रतिफल दर करिब ७.१४ प्रतिशत हुनेछ । तर, लागतका आधारमा अंकित मूल्यमा सेयर किनेको कृष्णको प्रतिफल दर २० प्रतिशत नै हुँदा विभिन्न समयमा विभिन्न मूल्यमा खरिद र विगतको बोनस अनि हकप्रदसहितको औसत लागत रु. २ सय ५० कायम गरेको रामको प्रतिफल करिब ८ प्रतिशत रहन्छ । यस्तै, रु. ३ सय मूल्यमा किन्ने हरिको लागत रु. ३०१.५० हुँदा लाभांश प्रतिफल करिब ६.६३ प्रतिशत मात्र हुन्छ । यसले जति कम लागत उति धेरै प्रतिफल देखिन्छ । हुन त दीर्घकालीन लगानीमा कम्पनीबाट प्राप्त बोनस सेयर वा हकप्रद जारी भएको अवस्थामा स्वतः लागत समायोजित हुँदै जान्छ भने चनाखो लगानीकर्ताले तुलनात्मक उच्च प्रतिफल कायम गर्न वा प्रतिफल दर बढाउन बजारमा न्यून मूल्य हुँदा थप सेयर खरिद गर्दै औसत लागत घटाउँदै जानुपर्छ ।
प्रायः लगानीकर्ताले लगानीमा प्रतिफल दर (रिटर्न अन इन्भेस्टमेन्ट) वा लाभांश प्रतिफल (डिभिडेन्ड यिल्ड) बुझ्दैनन् वा बुझ्न चाहँदैनन् र कम्पनीबाट घोषित लाभांशलाई नै लगानी प्रतिफल मान्दछन् । केहीले भर्खर सुरु बुकक्लोज मूल्यमा प्रतिफल दर गणनाले पनि सम्बन्धित कम्पनीको तत्कालीन मूल्यमा लाभांश प्रतिफल त बताउँछ, तर लगानीकर्ताको वास्तविक प्रतिफलको जानकारी दिँदैन । लगानीकर्ताको वास्तविक प्रतिफल दर सम्बन्धमा लागतमा जस्तै विवाद रहे तापनि कम्पनीबाट वितरित वा घोषित कुल लाभांशलाई औसत लागतले भाग गरेर कम्तीमा सामान्य प्रतिफलको अवस्था थाहा पाउन सकिन्छ । अंकित मूल्यमा खरिद गरेका बाहेक प्रत्येक लगानीकर्ताले धारित सेयरको लागत फरक हुने अझ प्रत्येक कारोबारमा समेत लागत फरक हुने अवस्थामा प्रतिफल दर पनि फरक हुनेमा सजग हुनुपर्छ । बजारको जतिकै वा बढी प्रतिफलका लागि लागत प्रचलित मूल्यनजिक वा त्योभन्दा कम राख्न सक्नुपर्छ । प्रतिफल बढाउन लागत घटाउनैपर्छ ।
लागत र लाभकर
लागतको सम्बन्ध र प्रभाव पुँजीगत लाभकरमा समेत रहन्छ । लाभकर र लागतको विपरीत सम्बन्ध रहन्छ । हालको बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वको धितोपत्र बिक्रीमा हुने पुँजीगत लाभमा ५ र सोभन्दा कममा ७.५ प्रतिशतले अग्रिम लाभकर असुलीको कानुनी व्यवस्थाबमोजिम लागत घट्दा लाभकर बढ्छ भने धारित अवधि बढ्दा लाभकर घट्छ । लाभको गणना भारित औसत लागतका आधारमा गरिन्छ । त्यसैले संकलन वा बेच्ने उद्देश्यअनुरूप धारित धितोपत्रको भारित औसत लागत घटाउने वा बढाउने उपाय अपनाउन सकिन्छ । बजार मूल्यभन्दा लागत कम छ र बिक्री गरी मुनाफा बढाउन बिक्री पहिले बजारबाट थप खरिद गरी औसत लागत बढाएर वा धितोपत्रको धारित अवधि बढाएर लाभकर जोगाउन सकिन्छ । हुन त भारित औसत लागत लाभ विधिमा आधारित फरक दरको लाभकर अपनाएर राज्यले सट्टेबाजीभन्दा दीर्घकालीन लगानी गर्दै लाभकर बचाउन र प्रतिफल बढाउन लगानीकर्तालाई प्रेरित गरेको छ ।
लागतमा आधारित लगानी व्यवस्थापन
लागत र लगानी अवधिका आधारमा प्रतिफल दरसँगै लाभकरसमेत प्रभावित हुन्छ । लागत घट्दा प्रतिफल र लाभकर बढ्छ भने लगानी अवधि बढ्दा लाभकर घट्छ र चक्रिय प्रतिफल (कम्पान्डिङ रिटर्न)को सम्भावना रहन्छ । तसर्थ, समग्र लगानीमा प्रतिफल वा मुनाफा वृद्धिका लागि १) प्रतिकित्ता, औसत र वास्तविक लागतको हिसाब राख्ने, २) तुलनात्मक बढी प्रतिफलका लागि बजार मूल्यभन्दा लागत सकेसम्म कम राख्ने, ३) प्रचलित मूल्यभन्दा धारित धितोपत्रको लागत बढी तर व्यवसाय र मुनाफा ठीकै रहेका दीर्घकालीन लगानीको कम्पनीमा समय–समयमा थप खरिद गर्दै औसत लागत घटाउँदै जाने, ४) बिक्री गरेर पुँजीगत लाभ लिने अवस्थामा लागत निकै कम भएमा थप सेयर खरिद गर्दै औसत लागत बढाएर लाभकर व्यवस्थापन गर्ने । यस्तै, धारित (होल्ड) कम्पनीको लागत, बजार मूल्य र प्रतिफलसँगै सम्बन्धित सेक्टरको औसत र तुलनात्मक प्रतिफल हेरेर तुलनात्मक लाभ र लगानी उद्देश्यका आधारमा अन्य कम्पनी वा सेक्टरमा लगानी सार्ने वा नसार्ने निर्णय गर्ने । लागतको तुलनामा बजार मूल्य निकै उच्च वा पुँजीगत लाभको अवसर हुँदा मूल्यगत मुनाफा (प्रफिट बुक) लिँदै खुद वास्तविक लागत घटाउने ।
समग्रमा लागतमा आधारित हुँदै लगानी व्यवस्थापन गर्दा प्रतिफल बढाउन लागत घटाउनु अनि लाभकर बचाउन लागत बढाउनुपर्छ । मूल्यका आधारमा मुनाफा व्यवस्थापन गर्न सकिन्छ, तर प्रतिफल र लाभकरका लागि लागत र अवधिमा नै ध्यान दिनुपर्नेछ ।
काराेवार राष्ट्रिय दैनिकमा २०७८ पुस ४ गते प्रकाशित, लागतमा आधारित लगानी व्यवस्थापन « (karobardaily.com)
No comments:
Post a Comment