Friday, September 8, 2017

सेयर ज्ञान ३ : यसरी गरौं सानो बचतलाई लगानीमा रुपान्तरण

हामी नेपालीको एउटा परम्परा भनेको बचतको बानी पनि हो । परम्परागत रुपमै पनि भविष्यको लागि साँच्नु पर्छ भनेर खाना पकाउन चामल वा पिठो झिक्दा समेत लक्ष्मी भाग भन्दै पुनः भकारी वा भाँडोमा नै फिर्ता गर्ने चलन छ । यसले आज थोरै कम उपभोग गरेर भए पनि भोलिका लागि बचाउनु पर्दछ भन्ने व्यवहारिक शिक्षा नै बचत सिर्जना हो ।

बचत गर्नुपर्छ भन्ने हामीले आमा, हजुरआमा र पुर्खाबाट सिक्दै, सुन्दै र पढ्दै आए पनि धेरैले आम्दानी नै नभएको हुँदा बचत कसरी गर्ने भन्ने गर्छन् । हो, बचत मूलतः आम्दानी बढाएर नै गर्ने हो । तर कतिपय अवस्थामा खर्चमा कटौति बचतको राम्रो आधार हुनसक्छ । त्यसैले बचतको सिर्जना आम्दानी वृद्धिसँगै खर्चमा कटौति वा नियन्त्रणबाट गर्न सकिन्छ ।

बचतको लागत
दिनहुँ पैसाको अवमूल्यन भइरहने हाम्रोजस्तो अर्थतन्त्रमा बचत आर्थिक रुपमा त्यति लाभदायक नहोला । तर, बचत भोलिको पुँजी सिर्जना र भविष्यलाई आर्थिक जग तयार गर्ने दृष्टिकोणबाट भने पक्कै फाइदाजनक हुनेछ । यस सन्दर्भमा पैसाको मूल्य घटेर हुने अवमूल्यन बचतको लागत सम्झिन सकिन्छ ।

बचत परिचालन
बचत परिचालन भनेको बचतलाई आर्थिक उपार्जन गर्ने काममा लगाउनु हो । जसरी मानिसले निश्चित उमेर नपुगी केही गर्न सक्दैन, बचतले पनि निश्चित आकार ग्रहण नगर्दासम्म परिचालित हुन सक्दैन । त्यसमाथि पैसाको आधारभूत चरित्र नै चञ्चलता हुने र मानवीय स्वभाव, सामाजिक परिवेश र आर्थिक अवस्था समेतले गर्दा धेरैको हातमा पैसा टिक्दैन । तसर्थ, पैसा जोगाउन मात्र होइन पैसालाई सुरक्षित गर्न अनि परिचालन गर्नु निकै गाह्रो हुन्छ । अर्को शब्दमा बचत गर्नु भन्दा बचत परिचालन चुनौतिपूर्ण चातुर्यता हो । यदि बचतलाई सही तरिकाले परिचालन गर्न नसकेमा बचत अपचलन हुने वा घट्ने जोखिम पनि रहन्छ ।
बचत परिचालनका लागि सबैभन्दा पहिले लगानीयोग्य आकारमा परिवर्तन गर्नुपर्ने हुन्छ । बजारमा विभिन्न विकल्पहरुका लागि फरक फरक आकारको न्यूनतम लगानीको माग गर्दछ । जस्तो, बैंकमा बचत होस् की म्युचुअल फण्डको इकाई, शेयर, सुन, जग्गा, उद्योग, व्यवसाय सबैका लागि न्यूनतम मापदण्ड हुन्छ । त्यसैले बचतलाई लगानीयोग्य आकारमा पुर्याउन सबैभन्दा बढी मेहेनत गर्नुपर्दछ । पहिलो चरणमा खुत्रुके र सहकारीमा नियमित बचत राम्रो तरिका हुनसक्छ भने दोस्रो चरणमा बैंक तथा बित्तीय संस्थाहरुमा बचत वा नियमित बचत खातामा जम्मा गर्न सकिन्छ । यसरी जम्मा भएर लगानीका लागि आवश्यक न्यूनतम आकार ग्रहण गरेसँगै बचतलाई परिचालन गरिनुपर्दछ, अर्थात् अब बचतलाई काममा लगाउनु पर्दछ ।
कति, कसरी, कहाँ परिचालन गर्ने ? भन्ने बचतको आकार, जोखिम बहन क्षमता, विद्यमान आर्थिक परिवेश, उपलब्ध अवसर आदिमा निर्भर गर्दछ । उदाहरणका लागि मसँग ५ हजार बचत छ भने पक्कै त्यसलाई ठूलो उद्योग वा व्यवसायमा परिचालित गर्न सकिन्न, तर तिनै उद्योग वा व्यवसायका शेयर वा लगानीका उपकरणमा मेरो बचत परिचालन गर्नसक्छु ।
बचत परिचालनका जोखिम र विकल्पहरु
पक्कै पनि बचत परिचालन हुने बित्तिकै त्यसले लगानीको रुप धारण गर्दछ । लगानीले आफूसँग केही न केही जोखिम पनि सँगै ल्याउँछ । त्यही जोखिमले लगानीमा प्रतिफल सिर्जना गर्दछ, जुन धनात्मक वा ऋणात्मक हुनसक्छ । सजिलो तरिकाले बुझ्दा लगानीमा जोखिम हुन्छ र जोखिम लिँदा नाफा वा घाटा हुन्छ । त्यसैले बचतलाई परिचालन गर्दा अध्ययन, विश्लेषण र सहजता अपनाउनु पर्दछ ।
बजारमा न्यूनतम १ हजारदेखि माथिका लगानीका विकल्पहरु उपलब्ध छन् । जस्तो प्राथमिक निष्कासन वा दोस्रो बजारमा सामूूहिक लगानी कोष(म्युचुअल फण्ड), शेयर, डिबेञ्चर, ऋणपत्रको खरिद, सुन, घरजग्गा, कमोडिटी आदि ।
उपरोक्त विकल्पहरुमध्ये यहाँ धितोपत्र बजारमा उलपब्ध विकल्पहरूकाे संक्षेपमा चर्चा गरिएको छ ।

१. डिबेञ्चर वा ऋणपत्र:निश्चित अवधि र ब्याजदरसहित बजारमा उपलब्ध हुने डिबेञ्चर, ऋणपत्र वा बचतपत्र जस्ता लगानीका उपकरणहरु बचतपछि सबैभन्दा कम जोखिमपूर्ण मानिन्छ । नेपालमा बैंकहरुले डिबेञ्चर तथा सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले ऋणपत्र वा बचतपत्र जारी गर्दछन् । एक हिसाबले मुद्दति बचत जस्तै भए पनि यसमा धितोपत्र बजारमार्फत सहज खरिद बिक्रीको विशेषता समेत जोडिएको हुन्छ, तर नेपालमा त्यति धेरै कारोबार हुँदैन ।
२. सामूूहिक लगानी कोष (म्युचुअल फण्ड) : विशेषगरी सानो बचत परिचालन गर्न इच्छुक व्यक्तिहरु लक्षित सामूूहिक लगानी कोषले धेरै व्यक्तिहरुसँग रहेको ससानो बचतलाई एउटा कोषमा संकलन गर्दछ । जसलाई सामूूहिक लगानी कोष वा म्युचुअल फण्ड भनिन्छ । कोष संकलन गर्न सम्बन्धित निकायबाट स्वीकृति लिएर कोष व्यवस्थापक र संचालकले इच्छुक व्यक्तिहरुलाई सानो इकाइका रुपमा युनिटको बिक्री गर्दछ । संचालकले संकलित रकम तोकिएको उद्देश्यअनुसार विभिन्न क्षेत्रमा लगानी गरेर मुनाफा कमाउँछ, नेपालको सन्दर्भमा यस्ता कोषहरुले समेत शेयर बजारलाई लगानी परिचालनको मुख्य क्षेत्र बनाएको अवस्थामा म्युचुअल फण्डसँगै शेयरबजारको फाइदा र बेफाइदा पनि जोडिएको हुन्छ ।
विद्यमान कानुनी व्यवस्था अनुसार यस्ता इकाइहरुको अंकित मूल्य १० रुपैयाँ हुन्छ र न्यूनतम १०० युनिट खरिद गर्नुपर्ने हुन्छ । यस आधारमा म्युचुअल फण्डमा लगानी गर्न न्यूनतम १ हजार रुपैयाँ आवश्यक पर्दछ । प्राथमिक सार्वजनिक निष्कासनबाट यस्तो युनिट खरिद गर्दा तोकिएको न्यूनतम युनिटका लागि आवेदन दिनुपर्ने हुन्छ र लगानी गर्दा कोषको संचालक, अवधि, जोखिम व्यवस्थापनका उपाय, प्रक्षेपित आम्दानी आदिलाई विशेष ध्यान दिनुपर्दछ ।
हाल दोस्रो बजारमा ११ वटा यस्ता कोषका युनिटहरु सहजै किन्न पाइन्छ, जसको मूल्य करिब १० देखि २८ रुपैयाँसम्म पर्दछ । केही यही वर्ष अवधि समाप्त हुने प्रक्रियामा समेत रहेका छन्, केही अबको केही वर्षमा र केही भर्खर बजारमा आएका छन् । पुराना कोषले बजारमा लगानी गरेर सम्पत्ति जोडेको हुने हुँदा केही बढी मूल्य पर्दछ । दोस्रो बजारमा किन्दा कोषको खुद सम्पत्तिको मूल्य(नेट एसेटस् भ्यालु वा न्याभ) र बजारमा कारोवार मूल्य, सम्पतिको गुणस्तर, जस्ता पक्षलाई ध्यान दिनुपर्दछ ।
३. शेयर :आफूसँग केही बचत छ, केही बढी जोखिम लिन तयार हुनुहुन्छ, आफैं जोखिम विश्लेषण गरी लगानी व्यवस्थापन गर्न इच्छुक हुनुहुन्छ, तर ठूलो लगानी गर्न सक्नुहुन्न भने कम्पनीहरुले निश्कासन गरेको शेयरमा लगानी गर्नसक्नु हुन्छ । शेयर भनेको कुनै कम्पनीमा गरिने प्रत्यक्ष लगानी हो । यस्ता लगानीकर्तालाई शेयरधनी भनिन्छ र धेरैजना शेयरधनीहरुको लगानीका सामूूहिक संस्थागत स्वरुप नै कम्पनी हो । शेयरले लगानीकर्ता वा शेयरधनीहरुको कम्पनीमा स्वामित्वसँगै नाफा वा घाटामा कानुनी हिस्सेदारी स्थापित गर्दछ । त्यसैले शेयरमा लगानी बचत, डिबेञ्चर, ऋण/बचतपत्र, म्युचुअल फण्ड भन्दा बढी जोखिमपूर्ण मानिन्छ । यसमा लगानीकर्ताको अध्ययन, विश्लेषण, सहभागिता, सचेतता र सजगता अपरिहार्य हुन्छ ।
अहिले कम्पनीले गर्ने सार्वजनिक निष्कासनको शेयर किन्न नागरिकता, डिम्याट खाता, बैंक खाता आवश्यक पर्दछ । यस्तो शेयरहरु अंकित मूल्य सामान्यतः १०० रुपैयाँमा पाइन्छ र तोकिएको अवधिभित्र तोकिएको न्यूनतम किता (हाल ५० किता)का लागि तोकिएको स्थानमा आवेदन दिनुपर्दछ । मागभन्दा बढी शेयरको माग भएको अवस्थामा तोकिएको विधिबाट बाँडफाँड हुन्छ । त्यसैले आवेदक सबैले माग बमोजिमको शेयर पाउने सुनिश्चित हुँदैन ।
उपलब्ध बचत परिचालनको अर्को बाटो धितोपत्रको दोस्रोबजार हो । अरुले बेच्न खोजेको शेयर बजार मूल्य(जुन सामान्यतः अंकित मूल्यभन्दा बढी हुन्छ)मा किन्न पाइन्छ । यसका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ५० दलाल कम्पनी वा तिनका शाखामा गएर ग्राहक खाता खोल्नुपर्दछ । कानुनतः दलाल मार्फतमात्र शेयर खरिद गर्न सकिन्छ । यसरी शेयर किन्दा कति मूल्यसम्म तिर्ने, कुन कम्पनीको किन्ने आफैले निर्णय गर्नुपर्दछ ।
त्यसका लागि कम्पनीको वित्तिय विवरण, व्यवस्थापन र संचालक, व्यवसाय, नाफाघाटाको अवस्था हेर्नुपर्दछ । दोस्रो बजारमा किन्दा अंकित मूल्यभन्दा बढी मूल्यमा किन्नुपर्ने हुँदा कम्पनीसँग प्रत्यक्ष जोडिएको नाफाघाटासँगै बजारमा शेयरको माग र आपूर्तिका आधारमा हुने मूल्य घटबढको जोखिम पनि हुन्छ ।
४. अन्य उपकरण र विकल्प: बजारमा बचत परिचालनका लागि उल्लेखित बित्तीय उपकरणहरुका अतिरिक्त सुन, घरजग्गा जस्ता विकल्पहरु उपलब्ध छन् । यसमा प्रतिफल र जोखिम भने फरक हुन्छ । 
वित्तीय उपकरणहरुमा लगानीका लागि पनि सम्बन्धित लगानीकर्ताको नाममा नै शेयरमा लगानी व्यवस्थापन गरिदिने लगानी व्यवस्थापकहरु पनि छन्, जसलाई पोर्टफोलियो म्यानेजर भनिन्छ । उनीहरुले निश्चित शुल्क लिएर तोकिएको आकारको बचतको जिम्मा लिएर लगानी व्यवस्थापन गरिदिन्छ । अवधि, विधि र मुनाफाको वितरण भने सम्झौता अनुसार फरक हुन्छ ।
(लेखक नेपाली सेयर बजारका जानकार हुन् ।)
बिजशाला अनलाइनमा ११ भदाै २०७४ (२७ अगस्त २०१७) मा प्रकाशित
Read more at http://www.bizshala.com/story/%E0%A4%B8%E0%A5%87%E0%A4%AF%E0%A4%B0-22#vSDzeWSl31plXGum.99

Saturday, August 26, 2017

पैसा कहाँ लगानी गर्ने ? सेयर कि घरजग्गा ?

वचत तथा लगानीका विभिन्न औजारहरु शेयर, घरजग्गा, सुन, ऋण वा वचतपत्र, वचत तथा मुद्धति आदि मध्ये अहिले धेरैको रोजाइमा शेयर वा घरजग्गा प्राथमिकतामा रहेको देखिन्छ । मानिसहरुले प्रतिफल वा विकल्पको तुलना गर्दा समेत जग्गामा लगाउँदा यति मुनाफा हुन्छ र शेयरबाट यति मुनाफा आउँछ भन्ने हिसाव गर्ने प्रचलन रहेको छ । तसर्थ शेयर र घरजग्गा लगानीका परिपूरक अनि प्रतिश्पर्धी पनि हुन्। यसो भन्दैमा शेयर र घरजग्गाको लगानी एउटाबाट अर्कोमा सहजै सर्ने अवस्था नभएता पनि शेयर र घरजग्गामा लगानी केहीहदसम्म सर्न शुरु भएको पनि छ । यस अवस्थामा शेयर वा घरजग्गा लगानीका लागि कुन उपयुक्त हुन्छ भन्ने विश्लेषणका लागि निम्न पक्षहरुलाई केलाउनु बुद्धिमानी हुनेछ ।

लगानी र स्रोत व्यवस्थापन 

लगानीका दृष्टिकोणले घरजग्गामा केही ठूलो रकम एकैपटक आवश्यक पर्दछ । उदाहरणको लागि २.५ आना जग्गा किन्दा नै लाखौं रुपैयाँ आवश्यक पर्ने हुन्छ । यसको विपरित शेयरमा केहि हजार र त्यो पनि आफूसँग उपलब्ध भए अनुसार लगानी गर्न सकिन्छ । यसको साथै शेयर बजारमा विभिन्न मूल्यका शेयरहरु उपलब्ध हुनुका साथै सामूहिक लगानी कोष (म्युचुअल फण्ड) मार्फत निकै सानो रकम समेत लगानी गर्न सकिन्छ । यस हिसावले घरजग्गाको तुलनामा शेयर लगानी सहज देखिन्छ ।

लगानीको लागि रकम व्यवस्थापनमा भने शेयरको तुलनामा घरजग्गामा केही सहज हुनसक्छ । बैंक तथा वित्तिय संस्थाहरुले तुलनात्मक रुपमा घरजग्गालाई प्राथमिकता दिने हुँदा आफूसँग उपलब्ध स्रोत बाहेक ऋण भुक्तानीको भरपर्दो माध्यम भएको अवस्थामा घरजग्गामा ऋण सहज हुन्छ । हुनतः बैंक तथा वित्तिय संस्थाहरुले शेयर धितो कर्जा उपलब्ध गराउन थालेका छन्, तर तुलनात्मक रुपमा केही बढि व्याज तिर्नुपर्ने र निश्चित शेयरमा बाहेक ऋण नपाइने संभावना रहन्छ ।

लगानीको उद्देश्य

दुवै क्षेत्रमा लगानीको उद्देश्य मुनाफा नै हो । घरजग्गा वा शेयर दुवैदीर्घकालीन लगानी वा कारोवर गर्ने उद्देश्यले लगानी गर्न सकिन्छ । घरजग्गामा लगानी आफ्नै प्रयोग, दीर्घकालीन पुँजीगत लाभ वा कारोवारको उद्देश्यले गरिन्छ भने नियमित आय (पेन्सन), केही वर्षमा मुनाफा लिएर विक्री गर्न मध्यकालीन वा दीर्घकालीन लगानी तथा छोटो अवधिमा कारोवार गर्न शेयरमा लगानी गरिन्छ । उद्देश्यका हिसावले दुवैको उस्तै देखिएतापनि घरजग्गाको तुलनामा शेयरमा निकै छोटो अवधिका लागि समेत लगानी गरी पुँजीगत लाभ लिन सकिने सम्भवना बढिरहन्छ ।

जोखिम

घरजग्गाको तुलनामा शेयरको मूल्य, आपूर्ति, नियम कानुन धेरै परिर्वतन भईरहने हुँदा पक्कै शेयरमा केही बढी जोखिम रहन्छ । घरजग्गाको जोखिम भनेको कुनै बदमासले झुक्याएर विक्री गर्ने, समयपरिस्थिति र उक्त क्षेत्रको जग्गाको मागका कारण मूल्यमा हुने सामान्य घटबढ मात्र हो । घरजग्गा थप आपूर्तिको नहुने हुँदा आपूर्तिको जोखिम हुँदैन । घरको सम्बन्धमा त विमा गरेर धेरै हदसम्म जोखिम न्यूनीकरण समेत गर्न सकिन्छ ।

शेयरमा तुलनात्मक रुपमा धेरै जोखिम रहन्छ । जस्तो कम्पनीको संख्या र पुँजीको अवस्था, विद्यमान लगानीकर्ताको प्रवृति, नियामक निकायको निर्देशन र कानुनी व्यवस्था आदिका कारण बजारमा उपलब्ध हुने शेयरको संख्या, सम्बन्धित कम्पनीको व्यवसाय, मुनाफा, व्यवस्थापन, आर्थिक राजनीतिक अवस्था, कानुनी प्रावधान, आदि विविध कारणले शेयरको माग तथा आपूर्ति, मूल्य, मुनाफामा प्रभावित हुन्छ । यसको सम्पूर्ण जोखिम लगानीकर्ता वा कारोवारीले उठाउन पर्ने हुन्छ, यहाँ विमाको विकल्प उपलब्ध हुँदैन ।

मुनाफा वा प्रतिफल

घरजग्गा वा शेयरमा निहित विभिन्न किसिमका जोखिम वहन गरे वापत लगानीकर्ताहरुले खोज्ने मुनाफा नै हो ।घरजग्गाबाट बहालको रुपमा नियमित आम्दानीका साथै लागतभन्दा बढी मूल्यमा विक्री हुँदा एकमुष्ट पुँजीगत लाभ प्राप्त हुन्छ ।सामान्यतः घरजग्गामा बहालभन्दा पुँजीगत लाभ प्रधान हुन्छ ।

शेयरमा भने लगानी गरिएको कम्पनीको मुनाफाको आधारमा लाभांस (नगद वा शेयर)का साथै पुँजीगत लाभ वा हानीको संभावना रहन्छ । शेयरको एउटा राम्रो पक्ष भनेको गुणात्मक वृद्धि (मल्पिप्लाएर इफेक्ट) पनि हो, जसले मूलतः दीर्घकालीन लगानीकर्ताहरुको शेयर संख्या र लाभांस दुवै वृद्धिको गुञ्जायस राख्दछ ।घरजग्गामा तुलनात्मक जोखिम कम हुँदा नकारात्मक प्रतिफल वा नोक्सानीको संभावना पनि कम हुन्छ भने शेयरमा यो उच्च रहन्छ ।

खरिदविक्रीको सहजता र पारदर्शिता

नेपालको सन्दर्भमा घरजग्गाको खरिदविक्रीको लागि निश्चित बजार छैन र व्यक्तिगत वा सामुहिक वा संस्थागत रुपमा विद्यमान दलाल वा सिधै खरिदविक्री गर्नुपर्ने बाध्यता रहेको छ । यसको साथै कानुनी रुपमा समेत निश्चित क्षेत्रफलभन्दा सानो आकारमा जग्गा टुक्र्याउन नपाइने नियमले गर्दा पनि खरिद वा विक्री गर्दा उक्त आकार भन्दा सानो जग्गा खरिदविक्री हुन गाह्रो छ । अहिलेको अवस्थामा किन्दा पनि निकै ठूलो रकमको जोहो गर्नुपर्ने हुन्छ भने विक्री गर्दा पनि आवश्यकता अनुसार विक्री गर्न सहज छैन ।

यसको तुलनामा शेयर आफूसँग उपलब्ध रकम, आफ्नो जोखिमवहन क्षमता, आसातित प्रतिफलको आधारमा विभिन्न विकल्पहरु मध्ये छानेर सानो आकारमा समेत खरिदविक्री गर्न सकिन्छ । उदाहरणको लागि आफूसँग १०,००० छ भने सोही मूल्यको शेयर किन्न सकिन्छ भने आफूलाई २५,००० मात्र चाहिएको छ भने सोही मूल्य हाराहारीको शेयर विक्री गर्न सकिन्छ । जुन घरजग्गामा संभव हुँदैन ।सहज खरिदविक्रीले गर्दा घरजग्गाको तुलनामा शेयरमा तरलताको फाइदा रहन्छ ।

यस्तै घरजग्गामा खरिद र विक्रीको आधिकारिक मूल्य, दलालको कसिन जस्ता कुराहरु पारदर्शी हुँदैनन् र क्रेता र विक्रेता दुवै तेस्रो पक्ष अर्थात् दलालबाट शोषित हुने संभावना निकै उच्च रहन्छ । यसको साथै सरकारी दस्तुरका लागि तोकिएको मूल्य र वास्तविक कारोवार मूल्यमा समेत आपसी समझदारीमा फरक मूल्य कायम हुने हुँदा संस्थागत रुपमा भएको खरिदविक्री बाहेक कुन घरजग्गा कति मूल्यमा किनबेच भयो यकिन भन्न सकिने अवस्था रहन्न । अर्कोतिर एउटै क्षेत्रमा समान प्रकृतिको घरजग्गा समेत धेरै फरकमूल्यमा कारोवार हुने संभावनाले गर्दा घरजग्गाको मूल्य आंकलन गर्न असम्भव नै हुन्छ ।

शेयर कारोवारका लागि सरकारले नेपाल स्टक एक्सचेन्ज, मान्यताप्राप्त दलाल तथा सोमा लाग्ने शुल्क तथा कमिसनहरु समेत सुनिश्चित गरिएको हुँदा यहाँ क्रेता र विक्रेता बीच प्रत्यक्ष भेट नभएता पनि किनबेच भएको शेयर कति मूल्यमा भयो र सोको कति भुक्तानी हुन्छ थाहा हुन्छ । क्रेताले कुन शेयरको लागि कति मूल्य र शुल्क तिर्दैछु र विक्रेताले कति मूल्यमा बेचे वापत कति भुक्तानी आउछ र सोको पुँजीगत लाभ वा हानी पारदर्शी रुपमा जानकारी पाउन सक्छ । विद्यमान अवस्थामा कुन शेयर कतिसम्ममा खरिद वा विक्री हुनसक्छ भन्ने आंकलन गर्न सकिन्छ ।

तसर्थ पारदर्शिता र कारोवारको सन्दर्भमा शेयरको तुलनामा घरजग्गा निकै अपारदर्शि र मूल्य आंकलन गर्न कठिन हुन्छ । चाहेको समयमा किनबेच गर्न समेत घरजग्गामा अलि कठिन नै हुन्छ । घरजग्गाको अर्को अभाव भनेको प्रत्यक्ष नियामक हो, जसले थप जटिलता र अपारदर्शितालाई बढवा दिएको छ ।

यसको साथै घरजग्गा र शेयरमा पुँजीगत लाभमा कर समान दर भएता पनि कारोवारमा हुने पारदर्शिताले गर्दा घरजग्गामा पुँजीगत लाभ छल्न जति सजिलो छ, त्यो शेयरमा हुँदैन ।

शेयर कि घरजग्गा ?

उल्लिखित पक्षहरुको आधारमा लगानीको उद्देश्य, जोखिमवहन क्षमता, आफूसँगको ज्ञान र सीप, लगानी अवधि, आसातित प्रतिफल आदिलाई मनन् गरेर शेयर वा घरजग्गामा भन्ने निर्धारण गर्नुपर्ने हुन्छ । स्वप्रयोजनको अवस्थामा बाहेक घरजग्गा र शेयरको तुलनात्मक विश्लेषण गरी खरिदविक्री गर्न संभव हुन्छ । कुनै ठाउँमा चलनचल्तीको भन्दा निकै कममूल्य वा ठूला पूर्वाधार विकासका कारण भविष्यमा घरजग्गाको मागमा निकै उछाल आएर मूल्य वृद्धि हुने संभावना छ, आफूसँग ठूलो रकम वचत छ, र तत्काल रकम आवश्यक हुने अवस्था छैन, बजारमा व्याजदर कम छ भने घरजग्गा लगानीको प्राथमिकतामा राख्न सकिन्छ । तर आफूसँग थोरै मात्र रकम वचत छ, त्यो पनि केही समयको लागि हो भने शेयर उपयुक्त विकल्प हुनसक्छ ।

यसको साथै आफूलाई नियमित आम्दानी चाहिन्छ वा एकमुष्ट लाभ, आफ्नो सम्पति कतिको तरल राख्ने आदि पक्षले समेत शेयर वा घरजग्गाको छनौट प्रभावित हुन्छ ।घरजग्गाको तुलनामा शेयरमा लगानी गर्ने हो भने अलि बढि चनाखो भई सम्बन्धित कम्पनीको वित्तिय, व्यवसायिक र व्यवस्थापकिय अवस्था, राष्ट्रिष्य–अन्तर्राष्ट्रिय आर्थिक–राजनीतिक अवस्था, बजारमा प्रचलित व्याजदर, वैकल्पिक अवसरहरु, बजारमा सम्बन्धित कम्पनीको शेयरको माग र आपूर्तिको अवस्थामा, नियामक र कानुनी प्रावधानलाई नियाल्नु जरुरी हुन्छ ।

यदि सम्पत्ति व्यवस्थापन वा लगानी विविधीकरण(पोर्टफोलियो म्यानेजमेन्ट)को लागि घरजग्गा वा शेयरको विकल्प खोजिएको हो भने उपलब्ध स्रोत बाँडफाँड गरी दुवैमा लगानी गर्नु बुद्धिमानी हुनसक्छ, जसले गर्दा शेयरबाट पाइने गुणात्मक वृद्धि, नियमित लाभांस र पुँजीगत लाभको साथै घरजग्गाको एकमुष्ट पुँजीगत लाभको मिश्रणबाट खुद मुनाफा केही वृद्धि हुन सक्नेछ ।

नेपाली तारा अनलाइनमा प्रकाशित http://nepaltara.com/News/13106-2/

बैंकहरुको ३७ प्रतिशत पुँजी बढ्दा आम्दानीमा २६ प्रतिशत वृद्धि

हाल संचालनमा रहेका २८ बाणिज्य बैंकहरु मध्ये सार्वजनिक शेयर निष्कासन नगरेको राष्ट्रिय बाणिज्य बैंकलाई छोडेर हेर्ने हो भने नेपाल राष्ट्र बैंकले तोकेको ८ अरबको चुक्ता पुँजी पुर्याउन २७ बैंकहरुले बोनस, हकप्रद, मर्ज वा प्राप्तिका माध्यमबाट आर्थिक वर्ष २०७३/७४ मा ४७ अरव ६० करोड २२ लाख ४३ हजार पुँजी थप गरेका छन् । 

आर्थिक वर्ष २०७२/७३ को लागि कायम १ खर्व २६ अर्व ८१ करोड ४९ लाख १९ हजार रहेको बैंकहरुको चुक्ता पुँजी आ.व. २०७३/७४मा १ खर्व ७४ अर्व ४१ करोड ७१ लाख ६२ हजार पुगेको वित्तिय विवरण प्रकाशित गरेका छन् । यसै आ.व.को अन्तिम प्रतिवेदन तयार गर्ने अवधिसम्ममा बोनस, हकप्रद, मर्ज वा प्राप्तीबाट बाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्व पुर्याउनुपर्ने हुँदा पनि बैंहरुको चुक्ता पुँजी २ खर्व १६ अर्व भन्दा बढि हुने पक्का छ । त्यस आधारमा १ आ.व.मा नै बैंकहरुको चुक्ता पुँजी ७० प्रतिशतभन्दा बढिले बढ्ने छ ।

तुलनात्मक रुपमा सबैभन्दा बढि पुँजी जनता बैंक नेपालले बढाएको छ । उसको पुँजी २०३.१२ प्रतिशतले बढेको छ भने बैंक अफ काठमाण्डु, प्रभु बैंक र नविल बैंकले पुँजी थप भएको छैन ।

सबैंभन्दा बढि पुँजी थप भएका बैंकहरु (रकम रु हजारमा)


हालै प्रकाशित बैंकहरुको वित्तिय विवरणको आधारमा हेर्दा बैंकहरुले ३७.५४ प्रतिशतले चुक्ता पुँजी बढाइसकेका छन् भने खुद मुनाफा भने २६.०७ प्रतिशतले मात्र बढेको छ । २७ बाणिज्य बैकहरुले आव २०७३/७४ मा खुद ४२ अरव १८ करोड १ लाख ७४ हजार कमाए । जनता बैंकले पुँजीसँगै मुनाफा प्रतिशत पनि निकै बढाएको छ, जसलाई बैंक अफ काठमाण्डुले पछ्याएको छ । आव २०७३/७४ मा उल्लेख्य प्रतिशतमा बढाउने बैकहरु निम्न अनुसार छन् । 

सबैंभन्दा बढि प्रतिशले मुनाफा बढाएका बैंकहरु (रकम रु हजारमा)


बैंकहरुले चुक्ता पुँजी मार्फत मात्र आफूलाई बलियो संस्था बनाएका होइनन्, गत आवमा उनीहरुले जगेडा कोष पनि उल्लेख्य बढाए ।

आव २०७२/७३ को भन्दा ९० प्रतिशले बढाएर जगेडा कोषमा १ खर्व ६ अर्व ३५ करोड २६ लाख ७२ हजार पुर्याए । जगेडा कोष बढाउने मामलामा नेपाल बैंक लि. सबैभन्दा अब्बल देखिएको छ । उसले एक आ.व.मा १३१० प्रशितको हाराहारी जगेडा कोष बढाएको छ । यसमा उसले सम्पति तथा अन्य कम्पनीको शेयर विक्रिको नाफाको योगदान उल्लेख्य रहेको छ । उसलाई भने जनता बैंकले पछ्याएको छ ।

सबैंभन्दा बढि प्रतिशले जगेडा काेष बढाएका बैंकहरु (रकम रु हजारमा)


यसरी बैंकहरुले एकै वर्षमा संस्थागत सवलता हासिल गर्न निकै मेहेनत गरेका छन् । जसले गर्दा लगानीकर्ताको प्रतिफलको मुख्य आधार प्रतिशेयर आम्दानीमा सामान्य नकारात्मक असर पुगेको देखिन्छ । गत आ.व.मा बैंकहरुले औसत सामान्य प्रतिशेयर करिव २४.१८ रुपैयाँ कमाए, जुन आव ७२/७३मा करिव २६.३८ रुपैयाँ रहेको थियो । पुँजी वृद्धिमा केन्द्रित हुनु अनि बोनस र हकप्रदका माध्यमले थप भएको पुँजीले तत्काल मुनाफा आर्जन नसकेकोले नै प्रति शेयर आम्दानी केही घटेको हो ।समग्रमा बैंकहरुले बढाएको पुँजी, खुद मुनाफा र जगेडा कोषको अवस्था निम्न अनुसारको रहेको छ ।


अार्थिक न्यूज अनलाइनमा 24 August 2017 (8 Bhadau 2074) मा प्रकाशित
http://aarthiknews.com/2017/08/107914