Tuesday, September 12, 2017

लगानी र जोखिमको खेलमा मुनाफा सन्तुलन

लगानीको मूल उद्देश्य निश्चित जोखिम वहन गरी मुनाफा प्राप्त गर्नु हो । तसर्थ न लगानीबिना जोखिम आउँछ, न जोखिमबिनाको लगानी । लगानी र जोखिमबीचको खेल जति सन्तुलित र प्रभावकारी हुन्छ त्यति नै मुनाफा र लगानी सुरक्षित हुन्छ ।

लगानी र जोखिमलाई प्रभावित पार्ने मुख्य तŒव नै मुनाफा र लगानी सुरक्षा हो । जति बढी मुनाफा खोजिन्छ त्यति बढी जोखिम लिनुपर्ने हुन्छ र जति बढी जोखिम लिइन्छ त्यति लगानी असुरक्षित हुन्छ । जोखिम वहन क्षमता, लगानीको स्रोत (बचत वा ऋण), अपेक्षित प्रतिफल, वैकल्पिक लागत आदिले जोखिम र लगानीको खेलमा सीमा निर्धारकको काम गर्छन् र सोही आधारमा लगानीमा प्रतिफल फरक–फरक हुन्छ ।

अझ रमाइलो पक्ष, कसैले जोखिम देखेको लगानीमा अर्कोले मुनाफाको अवसर देख्न सक्छ । त्यस्तै लगानीका लागि सुरक्षित मानिएको क्षेत्रमा कसैलाई जोखिम लाग्न सक्छ ।

लगानी के हो ?
लगानी भनेको त्यस्तो सम्पत्ति वा सामान हो, जुन भविष्यमा आम्दानी गर्ने वा मूल्य बढ्ने अपेक्षामा आज खरिद गरिन्छ । वित्तीय दृष्टिकोणमा भविष्यमा आयआर्जन गर्ने वा मुनाफासहित थप मूल्यमा बिक्री गर्ने उद्देश्यले खरिद गरिने मौद्रिक/वित्तीय सम्पत्ति नै लगानी हो ।

वित्तीय उपकरण (सेयर, डिबेन्चर आदि) मा गरिएको लगानीको प्रतिफलका रूपमा पुँजीगत लाभ वा लगानीबाट आम्दानीका रूपमा लाभांश, ब्याज वा भाडा आदि वा दुवै प्राप्त हुन सक्छ । लगानीकर्ताले सदैव लगानीमा उच्च प्रतिफल खोज्छ र खोज्नुपर्छ । तर, के बुझ्नुपर्छ भने उच्च मुनाफा हुने लगानीमा जोखिम पनि उच्च नै हुन्छ ।

पुँजीबजारका सन्दर्भमा लगानी भन्नाले सामान्यतः दीर्घकालीन प्रतिफल (लाभांश) का लागि गरिएको लगानी बुझिन्छ । यसमा सरकारी ऋणपत्र वा बचतपत्र, डिबेन्चर, सेयर, म्युचुअल फन्डजस्ता फरक जोखिमयुक्त लगानीका विकल्पहरू उपलब्ध हुन्छन् ।

जोखिम र जोखिम व्यवस्थापन
सामान्यतः सम्भावित हानि–नोक्सानी, संकट, क्षतिलाई जोखिम भनिन्छ । लगानीको दृष्टिकोणबाट हेर्दा अपेक्षित प्रतिफल र वास्तविक प्रतिफलबीचको भिन्नता नै जोखिम हो ।

लगानीमा प्रतिफल मात्र होइन, लगानीको केही वा सबै हिस्सा गुमाउने सम्भावनासमेत रहन्छ । त्यसैले सबैभन्दा प्रभावकारी तरिकाले जोखिम व्यवस्थापन गर्ने लगानीकर्ताले नै तुलनात्मक रूपमा बढी प्रतिफल प्राप्त गर्ने मान्यता राखिन्छ ।

लगानीकर्ताले यही सम्भावित हानि–नोक्सानीबाट बच्न जोखिम व्यवस्थापन रणनीति बनाउनुपर्छ । यसका लागि लगानीकर्ताले (क) जोखिम मूल्यांकन गर्ने, (ख) जोखिम वहन क्षमता निर्धारण गर्ने र (ग) जोखिम र प्रतिफलबीचको सन्तुलन बिन्दु कायम गर्नु जरुरी हुन्छ ।

जोखिम मूल्यांकन
कुनै पनि लगानी, सम्पत्ति वा ऋणको सम्भावित हानि–नोक्सानीको पूर्वानुमान नै जोखिम मूल्यांकन हो । यस प्रक्रियाले जोखिम स्तरको आधारमा प्रस्तावित सम्पत्ति खरिद गर्नु हुन्छ कि हुन्न, ऋण प्रवाह वा लगानी गर्नु उपयुक्त छ वा छैन र सम्भावित जोखिम न्यूनीकरणका लागि के–कस्ता उपाय अपनाइनुपर्छ भन्ने बताउँछ ।

यसले उल्लिखित लगानीलाई सफल बनाउन कति दरको प्रतिफल चाहिन्छ भन्ने निर्धारण गर्न सघाउँछ ।सर्वव्यापी रूपमा नै व्यक्तिगत वा संस्थागत तहमा गरिने कुनै पनि लगानीमा निश्चित मात्रामा जोखिमको अपेक्षा गरिन्छ ।

सेयर, म्युचुअल फन्डमा यस्तो जोखिम अझ बढी रहने मान्यता राखिन्छ । जोखिम मूल्यांकनका लागि विभिन्न विधि अपनाउन सकिन्छ । कम्पनीको व्यावसायिक जोखिम मापन गर्न खराब कर्जा, कर्जा–निक्षेप अनुपात, कोषको लागत, संचालन लागत जस्ता पक्षलाई हेर्न सकिन्छ । यस्तै प्रतिसेयर आय, मूल्य–आम्दानी अनुपात, इक्विटीमा प्रतिफल, कुल सम्पत्तिमा प्रतिफल, लाभांश–भुक्तानी अनुपात वा खुद लाभांशजस्ता वित्तीय सूचकहरूले लगानीमा विद्यमान जोखिमको स्तर विश्लेषणमा सघाउँछ ।

जोखिम वहन क्षमता
जोखिम वहन भनेको कतिसम्मको सम्भावित हानि–नोक्सानीलाई पचाउन वा सहज रूपमा लिने त्यसको मानक हो, जुन समय–परिस्थितिअनुसार परिवर्तन भइरहन्छ । यसले व्यक्तिको लगानी निर्णयलाई सोझै प्रभावित गर्छ ।

अर्को शब्दमा, व्यक्तिले कतिसम्म खाना पचाउन सक्छ त्यति मात्र खानुपर्छ भनेजस्तै हो जोखिम वहन पनि । लगानीकर्ताले लगानी निर्णय गर्दा आफ्नो जोखिम पचाउने (रिस्क एपाटाइट) वा कतिसम्म जोखिम बोक्ने क्षमता थाहा भएन वा निर्धारण गरिएन र उच्च प्रतिफलको लोभमा पचाउन सक्नेभन्दा बढी जोखिम लिइयो भने त्रसित वा घबराहटमा गलत समयमा सेयर वा सम्पत्तिको बिक्री गर्न पुगिन्छ, जसले प्रतिफलसँगै मूल पुँजी नै क्षतिको जोखिम रहन्छ ।

पक्कै पनि जोखिम वहन नगरी प्रतिफल पाइन्न तर कति जोखिम वहन गर्ने ? यो निकै पेचिलो प्रश्न हो । त्यसमाथि प्रत्येक व्यक्तिको लगानी अनुभव, विश्लेषण क्षमता, लगानीका लागि उपलब्ध हुने रकमको स्रोत, अपेक्षित प्रतिफल, वैकल्पिक लागत आदि कारण हरेक व्यक्तिको जोखिम वहन क्षमता फरक हुन्छ । तसर्थ, लगानीमा केही न केही जोखिम हुन्छ भन्ने आत्मसात् गर्दै विभिन्न कारण उत्पन्न हुन सक्ने जोखिमलाई सहजै व्यवस्थापन गर्न सकिने तहसम्मको मात्र जोखिम वहन गर्नुमा नै बुद्धिमानी हुनेछ ।

जोखिम र प्रतिफलबीचको सन्तुलन
लगानीकर्ताको चातुर्यता नै आफूले व्यवस्थापन गर्न र वहन गर्न सकिने उच्चतम स्तरमा जोखिम लिएर प्रतिफल बढाउनु हो । कति जोखिम वहन गर्ने प्रश्नको उत्तर पनि कति प्रतिफल चाहिने वा कति जोखिम बराबर कति प्रतिफल प्राप्त गर्न सकिन्छ भन्नेमा निर्भर हुन्छ ।

पक्कै पनि जति बढी जोखिम उति बढी प्रतिफल भन्ने लगानीको सर्वमान्य मान्यता त हो, तर क्षमताभन्दा बढी लिँदा लगानी सुरक्षाको प्रश्न जटिल बन्छ भने कम जोखिम लिँदा प्रतिफल न्यून हुन्छ ।

जोखिम र प्रतिफलबीचको सन्तुलन कायम गर्ने एउटा उपाय भनेको लगानी विविधिकरण हो, जसले उच्च, मध्यम र न्यून स्तरका जोखिमबीच सन्तुलन कायम गरी समग्र प्रतिफललाई सन्तुलित बनाउन सघाउँछ । यस्तै नियमित जोखिम मूल्यांकन गरी लगानी रणनीतिमा परिमार्जन, लागत व्यवस्थापन, घाटा व्यवस्थापन गर्न सकिन्छ ।

नेपाली बजारमा जोखिम र प्रतिफल सन्तुलन
हो, विश्वमै सेयरबजारलाई लगानीको उच्चतम जोखिमयुक्त क्षेत्रमध्येको मानिन्छ । हाम्रो जस्तो भर्खर स्थापित हुने क्रममा रहेको वा हुर्कि नसकेको बजार जहाँ नीति–नियमदेखि प्रविधि विकास र कार्यान्वयनका क्रममा रहेको हुँदा स्वाभाविक रूपमा जोखिम पनि बढी नै हुन्छ ।

अनौपचारिक अर्थतन्त्र, पुँजीबजारप्रतिको सरकारको स्पष्ट दृष्टिकोण नहुनु, बजार सञ्चालक र नियामकहरूबीच सहकार्य र सुमधुर सम्बन्धको अभाव, अल्पकालीन वा तत्कालीन आवश्यकताका आधारमा मात्र नियम–कानुन वा निर्देशन जारी हुनु, निजी क्षेत्र पुँजीबजारप्रति सकारात्मक नहुनु, अस्थिर नीति–नियम, साँघुरो दायरा आदिले गर्दा हाम्रो पुँजीबजारको जोखिमको स्तर पक्कै बढी छ ।

यसका साथै लगानी र कारोबारबीचको अन्योल, सेयर बजार र जोखिमसम्बन्धी सचेतनाको अभाव, व्यावहारिक र सैद्धान्तिक सिकाइको अवसर नहुनु, जोखिम मूल्यांकन र जोखिम व्यवस्थापनका लागि पर्याप्त विकल्पको अभाव, लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमताको ख्याल नराखी लगानी निर्णय गर्नु आदि कारणले कम्पनी, बजार सञ्चालक, नियामक र अर्थतन्त्रले सिर्जना हुने जोखिमसँगसँगै लगानीकर्ता स्वयंबाट पनि थप जोखिम सिर्जना भइरहेको हुन्छ ।

अझ बजारमा लगानीकर्ताहरूबीचको आपसी विभाजन, नियामकको दरिलो उपस्थिति नहुनु, भित्री सूचनाका आधारमा बजारमा कारोबार वा कारोबार नियन्त्रण हुनु, निश्चित व्यक्ति, संस्था वा समूहको पहुँच र नियन्त्रण हाबी हुनु, गलत सूचना प्रवाहमा नियन्त्रण र कारबाही नहुनुले बजारमा जोखिम र अस्थिरता बढाएको छ ।

यस अवस्थामा जोखिम व्यवस्थापनको विकल्प स्वनियमनमा बसेर विभिन्न समूहका र वित्तीय÷व्यावसायिक क्षमताका कम्पनीमा लगानी विविधीकरण, सचेत र सहजपूर्ण लगानी निर्णय र जोखिम वहन क्षमताका आधारमा लगानी व्यवस्थापन गर्नुको विकल्प रहन्न ।

व्यक्तिले लगानी र कारोबारका मान्यताहरूलाई आत्मासात् गर्दै सोही अनुरूपको लगानी वा कारोबारको निर्णय गर्न सके केही हदसम्म जोखिम व्यवस्थापनमा सघाउ पुग्नेछ ।

लगानी गर्ने विकल्प वा कम्पनीको छनोट गर्दा सम्भावित जोखिमसँगै विगतको र विद्यमान मुनाफाको अवस्था, प्रतिसेयर आम्दानी, लाभांश वितरण नीति, कम्पनीको जगेडा कोष, मूल्य आम्दानी अनुपात, इक्विटीमा प्रतिफल, कुल सम्पत्तिमा प्रतिफल, पुँजी परिचालनको अवस्था अध्ययन र विश्लेषण गर्दै जोखिम र प्रतिफलमा केही हदसम्म सन्तुलन कायम गर्न सकिन्छ ।

कारोबार गर्दा बजारमा माग र आपूर्तिको गहन विश्लेषण गर्दै जोखिम वहन क्षमताअनुसार घाटा रोकथामको तत्काल निर्णय लिन र कार्यान्वयन गर्न सक्नुपर्छ ।बजारमा समय र परिस्थितिअनुरूप सिर्जना हुने उतारचढावको विश्लेषण गर्दै लगानी रणनीति, जोखिमस्तर र आफ्नो जोखिमवहन क्षमताको पुनरावलोकन गरी लगानी सुरक्षा र प्रतिफलबीचको सन्तुलन कायम गर्दै जानुपर्छ ।

काराेवार राष्ट्रिय दैनिकमा २५ भाद्र २०७४ (१० सेप्टेम्वर २०१७) मा प्रकाशित

No comments:

Post a Comment