Sunday, September 23, 2018

नगद कि सेयर लाभांश (बाेनस सेयर) : कुन फाइदाजनक ?

आर्थिक वर्षको अन्त्य र कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरणहरूको प्रकाशनसँगै लगानीकर्ताहरू सम्भावित लाभांशको अनुमान तथा कारोवारीहरू संभावित लाभांशले मूल्यमा पार्नसक्ने सकारात्मक र नकारात्मक प्रभावको पूर्वानुमान गर्दै सेयर किनबेचका लागि सल्बलाउन थालेका छन् । वास्तवमा लाभांश भनेको कम्पनीले आर्जन गरेको खुदमुनाफाबाट प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गरी बाँकी रहेको रकमबाट लगानीकर्ताहरूलाई वितरण गरिने प्रतिफल हो । यस्तो प्रतिफल कम्पनीको आगामी वर्षको व्यवसायको लागि आवश्यक पुँजी, पुँजीकोषको अवस्था, नगद प्रवाह, नियामकीय व्यवस्था आदिको आधारमा नगद वा सेयर लाभांश हुनसक्छ । नेपालको सन्दर्भमा नगद वा सेयर (बोनस सेयर) लाभांश प्रतिफलसँगै सेयरधनीहरूको समूहगत स्वार्थ, न्यूनतम पुँजीकोष र चुक्ता पुँजीसँग समेत जोडिएको हुँदा थप जटिल हुनुको साथै बजारमूल्यमा छिटो प्रभाव पर्ने गरेको छ । 

नगद लाभांश

खुदमुनाफाको आधारमा कम्पनीले लगानीकर्तालाई नगदको रुपमा भुक्तानी गर्ने प्रतिफल नै नगद लाभांश हो । यसमा कम्पनीको आर्थिक मूल्यलाई पुनः व्यवसायिक कार्यमा प्रयोग नगरी सेयरधनीको लाभ र उपयोगमा छोडिन्छ । यस्तो लाभांश कम्पनीले सम्बन्धित निकाय र साधारणसभाबाट स्वीकृति पछि अंकित मूल्यको आधारमा नगद वितरण गरिन्छ । उदाहरणका लागि कुनै कम्पनीले १० प्रतिशत नगद लाभांश दिँदा १ सय कित्ताको सेयरधनीले प्रति कित्ता रु. १०का दरले हुनआउने रु. १ हजारमा ५ प्रतिशतले लाभांश कर कटाएर ९ सय ५० रुपैयाँ नगद लाभांश पाउँछ ।

अन्तराष्ट्रियस्तरमा नगद लाभांशकै दरले बजार मूल्य पनि समायोजन हुने भएता पनि नगदलाई नै प्राथमिकता दिइन्छ । नेपालमा भने नगद लाभांश दर बुक क्लोजमूल्यको १० प्रतिशत बढी भए मात्र मूल्य समायोजन हुने व्यवस्था रहेकोले म्युचुअल फण्ड र कम मूल्यका सेयर बाहेक सामान्यतः नगद लाभांशले मूल्य समायोजन हुने अवस्था निकै कम आउँछ ।नगद लाभांशको सेयरमूल्य समायोजन नहुँदाको लाभ रहने भएता पनि नेपालका सर्वसाधारण लगानीकर्ताहरू नगद लाभांश पटक्कै मन पराउँदैनन् भन्ने कुरा नगद लाभांश घोषणासँगै फष्र्ट माइक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, आइसीएसफसी फाइनान्स, स्वदेशी लघुवित्त जस्ता कम्पनीका घट्दो सेयरमूल्यमा व्यक्त भएको देखिन्छ ।

अर्कोतर्फ संस्थापक वा आफूले धारण गरेको सेयर सहजै बिक्री गर्न कानूनतः रोक लगाइएको वा कानूनी अवरोध पार गर्नुपर्ने सेयरधनीहरूले भने थोरै भएपनि नगद लाभांश नै खोज्दछन् । उनीहरू लाभांश नगदको रुपमा नै वितरण गरेर सेयरधनीलाई पुनः सेयरमा लगानी, वैकल्पिक क्षेत्रमावा उपभोगमा लगाउने स्वतन्त्र दिनुपर्ने र सेयर लाभांश मार्फत पुनःलगानीका लागि बाध्य पार्न नहुने तर्क गर्छन् । नगद लाभांशमासामान्यत मूल्यसमायोजनको जोखिम कम हुँदाको मनोवैज्ञानिक फाइदा हुने विचार राख्छन् ।

सेयर लाभांश

कम्पनीलाईथप पुँजी आवश्यक हुँदा वा पुँजी बढाउन आर्जित खुद मुनाफा सेयरधनीलाई नगदको सट्टा थप कित्ता सेयरलाभांशका रुपमा वितरण भएको देखाएर पुनःपुँजीकरण गरिन्छ । यसमा पनि बुकक्लोजको मितिसम्म कायम सेयरधनीहरूलाई सम्बन्धित निकाय र साधारणसभाबाट स्वीकृति पछि कम्पनीले अंकित मूल्यका आधारमा लाभांशको दरमा सेयरधनीहरूलाई थप कित्ता सेयर दिइन्छ । यसमा सेयरधनीहरूले सिधै नगद भुक्तानी गर्नुनपर्ने र अंकितमूल्यमा सेयरपाएकोमा मख्ख पर्दै गर्दा तत्कालको कुल सम्पत्ति भने बढ्दैन र वास्तविक लाभ भने शून्य देखिन्छ ।

मानौं, बजारमा प्रति किता सेयर मूल्य रु. ३ सय भएको कम्पनीले १० प्रतिशत बोनस सेयर जारी गर्दा १०० कित्ताकोसेयरधनीले थप १० कित्ता सेयरपाउँदा बोनस सेयर अगाडि उसको सम्पत्ति १०० किताको३०० रुपैयाँका दरले ३० हजार रुपैयाँ थियो भने सेयर लाभांश पछि बजारमूल्य समयोजन हुनेहुँदा ११० किताको २७२.७३ दरले कुल ३० हजार रुपैयाँ नै हुन्छ । बरु कम्पनीले पुँजीकरण गर्ने कर समेत प्रति कित्ता रु. १०५.२६ का दरले सेयरधनीको नाममा वितरण गरेको देखिने १ हजार ५२ रुपैयाँ ६० पैसा गायव हुन्छ । जुन सेयरधनीका लागि तत्कालीन नोक्सानी हो । बरु १० प्रतिशत नगद दिएको भए उसको सम्पत्ति ९ सय ५० रुपैयाँले बढेर करिव ३० हजार ९ सय ५० (१०० x ३०० + ९५०) रुपैयाँ हुने थियो ।

अन्तराष्ट्रियस्तरमा बोनस सेयरमा सामान्यतयाः लाभांश कर नलागे तापनि त्यति रुचाइदैन ।बोनसलाई सेयरधनीमा लादिएको बोझ वा चतु्याँइपूर्वक सेयरधनीको सम्पत्ति एउटा पकेटबाट अर्को पकेटमा सार्ने रणनीतिका रुपमा पनि लिइन्छ । अझ आगामी वर्षमा पुँजी वृद्धिको अनुपातमा कम्पनीले व्यवसायको विस्तार र मुनाफा बढाउन नसकेमा प्रतिसेयर आम्दानी र नेटवर्थ घट्नेआधारभूत वित्तीयसूचकहरू नकारात्मक हुने र थप आपूर्ति अनुरुप बजारमा सेयरको माग नभएको अवस्थामा बजारमूल्य घट्ने जोखिम पनिसँगै रहन्छ ।यसैकारण पनि कतिपय मुलुकमा बोनस सेयर जारी गर्नुभन्दा पहिले सम्बन्धित नियमकबाट पुँजी वृद्धिको कारण र संकलित पुँजीको उपयोग सम्बन्धी विस्तृत कार्ययोजना नै पेस गर्नुपर्छ ।

नेपालमा भने विशेषगरी सर्वसाधारण सेयरधनी (लगानीकर्ता) वा कारोवारीहरूको बोनस सेयर मोह, व्यवसायको आकारको आधारमा पुँजीकोष तोकिनु (क्यापिटल एडिक्वेसी रेसियो), डिबेन्चर, अग्राधिकार सेयर वा अन्य बैकल्पिक पुँजीका स्रोतहरूको उपलब्धता वा सहजता नहुनु, जस्ता कारण पनि कम्पनीहरूसेयर लाभांश मार्फत खुद मुनाफालाई पुँजीकरण गरी पुनः कम्पनीमा भित्र्याउन बाध्य हुन्छन् ।

समाधानको बाटोः मिश्रित लाभांश

नगद वा सेयर जुन रुपमा दिएपनि कम्पनीले खुद मुनाफाबाट सेयरधनीहरूलाई वितरण गरेको प्रतिफल नै लाभांश हो । नेपालमा मात्र होइन, विश्वबजारमा पनि नगद कि बोनस सेयर भन्नेमा फरक विचार र प्राथमिकता रहँदै आएको छ । नेपालमा नगद लाभांशमा मूल्य समायोजनको लाभ हुँदा र अन्तर्राष्ट्रिस्तरमा बोनस सेयरमा लाभांश कर नलाग्दा पनि सेयरधनीहरूको नगद र बोनस सेयरको प्राथमिकता भने विपरित खालको रहँदै आएको छ ।

दुवै प्रकारका लाभांशका आ–आफ्नै फाइदा र बेफाइदाका बावजुद तत्कालीन बजारको अवस्था, सेयरको बजारमूल्य, भविष्यको व्यवसायिक पूर्वानुमानका आधारमा सेयरधनीहरू नगद वा सेयर लाभांशका प्राथमिकता जाहेर गर्दछन् । लाभांश नै नदिएका वा नगद मात्र दिएका कम्पनीहरुको पनि बजारमूल्य उच्च रहेको उदाहरण विश्वमा मात्र होइन नेपालमा पनि पाउन सकिन्छ । नगद नै पाएपनि पुनः लगानी गरेर सम्पत्तिको गुणात्मक वृद्धि (क्युमुलेटिभ ग्राेेथ) गर्ने र बोनस दिएको अवस्थामा पनि आवश्यक सेयर बेचेर आर्थिक गर्जो टार्ने विकल्प शेयरधनीसँगै रहन्छ नै । तर नेपालमा संस्थापक र सर्वसाधारण सेयरधनीको विभाजन र सेयर किनबेचमा कानूनी जटिलताले गर्दा सामान्यतः सर्वसाधारण सेयरधनीहरूलेसेयर लाभांशलाई र संस्थापकहरूले नगद लाभांशलाई प्राथमिकता दिएको पाइन्छ । सर्वसाधारण सेयरधनीहरूले पनि कम शेयरमूल्य भएका कम्पनीबाटनगद र महँगाबाट सेयर लाभांशलाई प्राथमिकता दिएको पाइन्छ । उनीहरुले पनि सेयर लाभांशले बजारमूल्य समायोजन हुने र सूचीकृत भएर खातामा आइपुग्दासम्म मूल्य परिवर्तनबाट सिर्जिना हुनसक्ने थप जोखिम तर्फ ध्यानदिएको देखिँदैन । पक्कै लाभांशलाई पुँजीको रुपमा परिचालन गरी कम्पनीले मुनाफा गर्दा त चक्रिय र दीर्घकालीन गुणात्मक फाइदा हुनसक्ला, तर तत्काल कुनै फाइदा नहुने स्पष्ट छ ।

वास्तवमा कम्पनीको व्यवसायिक आवश्यकता, पुँजीको प्रभावकारी उपयोगिता र तरलताको आधारमा मुनाफाको पुँजीकरण वा नगद लाभांशका रुपमा वितरण गर्नु कम्पनी र सेयरधनीको हितमार अनावश्यक पुँजीको भार थोपरिए (ओभर क्यापिटलाइजेसन) को अवस्थामा हानीकारक हुनसक्छ । नेपाली धितोपत्रबजारमा बाहुल्यता राख्ने बैंक तथा वित्तीय संस्था र विमा कम्पनीहरूका सेयरधनीहरूको स्वार्थ समूहको साथै नियमकीय प्रावधानका कारण पनि लाभांशको स्वरुप छनौटमा कम्पनीहरू स्वतन्त्र देखिन्नन् । नियमकले गुणात्मकरुपमा पुँजीवृद्धि गर्दा गत केही आर्थिक वर्ष प्रायः बैंक तथा वित्तीय संस्थाहरू उल्लेख्य रुपमा बोनस वितरण गर्न बाध्य थिए भने अहिले विमा कम्पनीहरू खुदमुनाफालाई लाभांशका रुपमा पुँजीकरण गर्न बाध्य छन् । यसको साथै बैंकहरूको कार्यक्षेत्रको आधारमा तोकिएको न्यूनतम चुक्ता पुँजीका साथै वासेलका आधारमा न्यूनतम पुँजीकोष कायम गर्न पनि सेयर लाभांश जारी गर्न बाध्य हुन्छन् । त्यसैले त न्यूनतम ८ अर्बको चुक्ता पुँजी पुगेका बैंकहरूले पनि समग्र पुँजीकोष न्यूनतम ११ प्रतिशत र नगद लाभांश प्रयोजनका लागि पुँजीकोष सामान्यतः १२ प्रतिसत कायम हुनुपर्ने प्रावधानले गर्दा पुँजीकोष हेरेर कुन बैंक तथा वित्तिय संस्थाले सेयर वा नगद लाभांश निर्धारण र अनुमान गर्न सकिने अवस्था छ ।

यसरी नियामकीय प्रावधान र सेयरधनीको विविधताबाट सिर्जित नगद वा सेयर लाभांशको द्वन्द्वात्मक अवस्थाको समाधानका लागि केही नगद र केही सेयर मिलाएर मिश्रित लाभांश दिने चलन छ । जसलेगर्दा सेयरधनीहरूले प्रतिफलको रुपमा केही नगद तथा कम्पनीले व्यवसाय विकास र विस्तारका लागि पुँजीगत आधार पाउँछन् । कति नगद र कति सेयर? भन्ने जटिल प्रश्नको जवाफ पुनः कम्पनीको व्यवसायको विस्तारको सम्भावना, नियामकिय तथा कानूनी प्रावधान, सेयरधनीहरूको अवस्था, आदिमा निर्भर रहन्छ । सामान्यतः ६०ः४० को मिश्रणलाई सन्तुलित मान्न सकिन्छ । उदाहरणको लागि १२ प्रतिशत लाभांश वितरण गर्दा ४.८० रुपैया नगद वा सेयर र ७.२० रुपैया बराबर सेयर वा नगदको मिश्रित हुनसक्छ । यसले संस्थापकको नगद र सर्वसाधारणको बोनस सेयरको चाहनालाई सम्बोधन गर्नुका साथै कम्पनीलाई थप पुँजीको माध्यमबाट व्यवसाय विस्तारको अवसर र चुनौति पनि दिन्छ ।

नगद वा सेयर लाभांशका फाइदा र बेफाइदा तथा सेयरधनीहरूको समूहगत स्वार्थबाट तदस्थ रही कम्पनीको व्यवसायिक अवसर र चुनौतिको सामाना गर्नेसवालमा पक्कै पनि मिश्रित लाभांश नीति सबैभन्दा उपयुक्त सबै पक्षको जित हुने विन–विन लाभांश नीति हुनसक्छ ।

हाल करिव ३०० रूपैया बजारमूल्य भएकाे कम्पनीकाे १०० किता शेयर भएकाे शेयरधनीकाे फरक लाभांसकाे अवस्थामा अनुमानित अवस्था
अवस्था
७४७५
७५७६
नगद (१०%)
शेयर (१०%)
मिश्रित (४०:६०)
नगद (१०%)
शेयर (१०%)
मिश्रित (४०:६०)
बुक क्लोजमा कायम शेयर किता
१००
१००
१००
१००
११०
१०६.६
बुक क्लोज अगाडीको मूल्य (रु)
३००
३००
३००
३००
३००
३००
कुल लाभांस (कर पछि) (रु)
रु. ९५०
१० किता
रु. ३५०+६ किता
रु. ९५०
११ किता
रु. ३८५+६.६ किता
लाभांस पछि शेयर किता
१००
११०
१०६
१००
१२१
११२.६
बुकक्लोज पछि समयोजित मूल्य (रु)
३००
२७३
२८३
३००
२७३
२८३
बुकक्लोज पछि अनुमानित सम्पति (रु)
३०,९५०
३०,०००
३०,३५०
३०,९५०
३३,०३३
३२,२५०
प्रति किता औसत लागत (रु)
३००
२७३
२८३
३००
२४८
२६६
पत्रिकामा नरहेकाे याे तालिका केवल संभावित अवस्थाकाे चित्रण गर्न गरिएकाे अनुमानित अवस्था हाे । बजारमूल्य एकवर्षपछि केही बढेर ३०० नै पुगेकाे अवस्थाकाे अनुमान

थप सामग्री

काराेवार दैनिकमा २०७५ असाेज ७ गते प्रकाशित, नगद कि सेयर लाभांश : कुन फाइदाजनक ? « (karobardaily.com)

No comments:

Post a Comment