Wednesday, December 11, 2019

शेयर लगानी, जाेखिम र मेराे अनुभव

धेरैमा सेयर भनेको केबल नाफाको मात्र लगानी भन्ने सोच देखिन्छ । सरकार समेत यसको जोखिमलाई बेवास्ता गर्दै सेयरको स नबुझेका आम नागरिकलाई सेयर बेच्न वा भिडाउन अग्रसर छ । तर वास्तवमा सेयरमा लगानी भनेको संसारमै सबैभन्दा जोखिमपूर्ण क्षेत्र पनि मानिन्छ । यसर्थ, यसमा राम्रोसँग बुझेर मात्र लगानी गर्नुपर्छ । यसमा कम्पनीको व्यावसायिक, व्यवस्थापकीय–सञ्चालनसँगै सेयर बजारको मूल्यगत जोखिम, नियामकीय जोखिम, अर्थतन्त्र, बाह्य पक्ष जस्ता विभिन्न जोखिम रहन्छन् ।

हो, यही जोखिमले गर्दा यसमा प्रतिफल (नाफा) को सम्भावना पनि बढी हुन्छ । किनभने जोखिम र प्रतिफल (बढी रिस्क र बढी रिर्टन) को सोझो सम्बन्ध हुन्छ । त्यसो भए यस्तो जोखिमपूर्ण क्षेत्रमा किन लगानी गर्ने त ? कारण प्रतिफल  नै हो । अरु व्यवसायमा एउटा मुनाफाको कुरा हुँदा सेयरमा पुँजीगत लाभ र लाभांशको दोहोरो प्रतिफलको कुरा हुन्छ । त्यो पनि अनिश्चित र असीमित ।

पुँजीगत लाभ वा लाभांश आउँछ या आउन्न । आए कति आउँछ त्यो अनिश्चित छ । बजारमा कम्पनीको सेयर मूल्य अनुसार पुँजीगत लाभ र कम्पनीको आम्दानी अनुसार लाभांश पनि असीमित छ । यहाँ रमाइलो चाहिँ दुवै अवस्थामा लगानीकर्ताले सक्रिय श्रम गर्दैन, केबल लगानी र व्यवस्थापन मात्रै गरिरहेको हुन्छ । कसैले गरेको व्यवसाय र कारोबार मूल्यको आधारमा सम्बन्धित कम्पनीमा लगानीकर्ताको लाभ–हानी र लाभांश फरक परिरहेको हुन्छ ।

यति भनिरहँदा सेयर बजारप्रति यहाँहरु अलि नकारात्मक वा चिन्तित हुनुभयो होला । तर कुरा त्यस्तो मात्र होइन, सेयरमा जोखिम छ र त मजा पनि छ नि । जोखिम छ र त प्रतिफल छ अनि जोखिम भएरै लगानीकर्ताहरुको आउजाउ भइरहन्छ । नभए सबै जना बैंक मुद्दति निक्षेप वा ऋणपत्रमा जस्तो निष्कृय भइहाल्छौं नि होइन र ?

यति कुरा गरिसकेपछि हामीले सेयरको जोखिम त केहि बुझ्यौं अब जोखिम व्यवस्थापन कसरी गर्ने त ? जोखिम कति लिने ? कसरी व्यवस्थापन गर्ने ? भन्ने प्रमुख प्रश्न आउँछ । यसका लागि सबैभन्दा पहिले आफ्नो जोखिमबहन क्षमता अर्थात् कतिसम्म जोखिम लिन सक्छु (रिस्क अपाटाइट) भन्ने निर्धारण गर्नुपर्छ । अर्थात्, म यतिसम्मको घाटा वा नोक्सानी सहनसक्छु भन्ने नै हो । नोक्सानी उठाउन तयार भएपछि नाफाको कुरा आउँछ, कति नाफा चाहिएको हो त्यो पनि विचार गर्नुपर्छ ।

नाफा खोज्दै गर्दा न्यायोचित भने हुनुपर्छ नभए उच्च नाफाको लोभले बढी जोखिम लिँदा पुँजी नै सकिन पनि सक्छ । एउटा पुरानो नेपाली उखान छ नि, ‘नाफा गर्ने चुत्को साँवा नै फुत्को’ । त्यसैले जोखिम आफ्नो क्षमता अनुसार र प्रतिफल न्यायोचित खोज्नुपर्छ भनेको घाँटी हेरेर हाड निल्ने । जोखिम व्यवस्थापन चाहिँ समय र परिस्थिति अनुसार गर्नुपर्छ ।

सामान्यतयः सेयर वा अन्य लगानी गर्दा सबै पुँजी वा स्रोत एकै ठाउँमा र एकैपटक लगानी नगर्ने नै हो । यसलाइ कतिपयले पोर्टफोलियो म्यानेजमेन्ट पनि भन्छन् । अथवा, ‘डु नट पुट अल एग्स इन सिंगल बास्केट’ भनेजस्तै हो । यसका साथै हामीले लगानीका लागि उपलब्ध स्रोतलाई एकैपटक लगानी नगरी पहिलो चरणमा करिब ५०% र समय परिस्थिति अनुसार थपघट गर्दै जानुपर्छ ताकि बजारले उत्पन्न गर्ने जोखिम र अवसरको केही मात्रामा भए पनि उपयोग वा व्यवस्थापन गर्न सकियोस् ।

जोखिम पनि बुझ्यौं र सेयर किन्न तयार भयौं । अहिले धितोपत्र बजारमा उपलब्ध लगानीको क्षेत्र हेर्ने हो भने सेयर र डिबेन्चर छन् । सेयर पनि बैंक तथा वित्तीय संस्था, विमा, जलबिद्युत, उत्पादन, होटल, म्युचुअल फन्ड र अन्य समूहका उपलब्ध छन् । उपलब्ध स्रोत र ज्ञानको आधारमा केही वा एकै समूह भित्रका केही कम्पनी छान्न सकिन्छ । अथवा एउटा क्षेत्रबाट राम्रा २–३ कम्पनी छान्न पनि सकिन्छ ।

कम्पनी र क्षेत्र छान्दै गर्दा कुन क्षेत्रमा के का लागि लगानी र कतिसम्म भन्ने अर्को अहम प्रश्नको जवाफ खोज्नुपर्छ । यसले सेयरमा कारोबार, लगानी र सेयरधनी के बन्ने अनि पुँजीगत लाभ वा लाभांश अथवा सञ्चालनको तहमा संलग्न हुने भन्ने जवाफ पाउने छौं । तपाइँहरुलाई अचम्म लाग्यो होला, म यहाँ कारोबारी, लगानीकर्ता र सेयरधनी भनिरहेको छु, जुन कानुनी परिभाषा वा बजारमा कतै सुनिन्न् । हो, कानुनमा सबैलाई सेयरधनी नै भनिन्छ ।


यी ३ पक्षको फरक लगानीको अवधि, उद्देश्य र प्रतिफलमा देख्न सकिन्छ । हामीमा पनि जोखिम लिने क्षमता केही मात्रामा छ । छोटो अवधिका लागि पुँजीगत लाभ वा हानी व्यहोर्ने हो भने अन्य वस्तुहरु जस्तै सेयरको व्यापार वा कारोबार गर्न सकिन्छ । यसलाई कारोबारी भन्न सकिन्छ । यसका लागि मूलतः सेयरको माग, आपूर्ति र मूल्यलाई पछ्याउने अनि माग र आपूर्ति व्यवस्थापनको क्षमता चाहिन्छ । यसमा मूल्यगत अवसर खोज्दै प्रोफिट (नाफा) बुक वा जोखिम व्यवस्थापन गर्न लस (नोक्सान) बुक गरिन्छ ।

मूलतः प्राविधिक विश्लेषण (टेक्निकल एनालाइसिस) का आधारमा किनबेच गर्ने वा माग र आपूर्ति व्यवस्थापन गर्दै सेयर किनबेच गर्नुपर्छ । बजार अनुसार चल्न वा किनबेच गर्न नसकेको अवस्थामा मूल्यगत पासो (बुल वा बियर ट्रयाप) मा फस्ने अनि ठूलो नोक्सानी व्यहोर्न बाध्य हुने सम्भावना पनि रहन्छ । होइन, म अलि लामो समय कुर्छु र लाभांशमा जोड दिन्छु ।

मूल्यगत लाभ हुँदा राम्रो तर नभए पनि केही फरक पर्दैन भने मध्यकालीन अवधिका लगानी योजना बनाउँदै उच्च लाभांश क्षमता भएका कम्पनीमा लगानी गर्दै जानुलाई लगानीकर्ता भन्न सकिन्छ । यस्ता कम्पनीका सेयरको माग र आपूर्तिका आधारमा केही पूँजीगत लाभ पनि पाउने सम्भावना रहन्छ । यदि, हामी लगानीकर्ता हुने हो भने अब माग र आपूर्ति वा सेयरको मूल्य र मूल्यगत लाभ होइन, कम्पनीको व्यवसाय, व्यवस्थापन, सञ्चालक, नाफा, लाभांश क्षमता, विगतको लाभांश प्रवृत्ति, गुडविलका साथै इपीएस, नेटवर्थ, मूल्य आम्दानी अनुपात हेर्नुपर्छ ।

साथै, बैंकको हकमा क्यापिटल एडिक्वेसीजस्ता आधारभूत पक्षहरू (फन्डामेन्टल एनालाइसिस) को विश्लेषण गर्नुपर्छ । यस्तै, किताबी मूल्य र बजार मूल्य, ग्राहम भ्यालु, क्युमुलेटिभ एनुएल ग्रोथ जस्ता कुराहरु पनि हेर्न सकिन्छ । यसमा अलि अध्ययन र मेहेनतको आवश्यकता पर्छ । लगानीकर्ताले मूलतः लागत र प्रतिफलमा ध्यान दिनुपर्छ र लागत व्यवस्थापन (औसत लागत व्यवस्थापन) गर्दै तुलनात्मक रुपमा उच्च प्रतिफल हासिल गर्ने प्रयत्न गर्नुपर्छ ।

कम्पनीको त्रैमासिक वा वार्षिक वित्तीय विवरणका आधारमा लगानी व्यवस्थापन अर्थात् एउटा कम्पनीबाट तुलनात्मक बढी लाभको अर्को कम्पनीमा लगानी सार्न पछि हट्नु हुन्न । यसरी कानुनी रूपमा कारोबारी, लगानीकर्ता र सेयरधनीलाई एकै रूपमा बुझिँदै गर्दा व्यावहारिक रूपमा लगानीको उद्देश्य, अवधि, जोखिमबहन क्षमता, जिम्मेवारी जस्ता विभिन्न पक्षमा फरक देख्न सकिन्छ ।


सामान्यतः कारोबारीलाई कम्पनीको खासै मतलब हुन्न भने लगानीकर्ताले केही हदसम्म कम्पनीको स्थायित्व, व्यवसाय र नाफालाई आत्मसात गरेको हुन्छ । सेयरधनीले भने कम्पनीलाई आत्मसात् गर्दै त्यसको पूर्ण स्वामित्व र उत्तरदायित्वसमेत लिएको हुन्छ ।

यहाँ कम्पनीको व्यवसाय विस्तार र चुस्त व्यवस्थापनबाट वस्तु तथा सेवा विक्री गरी प्राप्त नाफामा वृद्धि गर्दै उच्चतम नाफा र लाभांश हासिल गर्ने अनि कुनै पनि जोखिमसँग डराएर भाग्ने भन्दा त्यस्ता जोखिम व्यवस्थापन र सञ्चालनमा आफैं अगाडि सरिन्छ वा संचालक र व्यवस्थापनसँग सहकार्य गरिन्छ ।

सेयरमा लगानीको पहिलो चरणमा लगानीकर्ता वा सेयरधनी बन्न त्यति सहज नहुन सक्छ । तर, कारोबार गर्दै सेयरको जोखिम र नाफा बुझ्दै क्रमिक रूपमा लगानीकर्ता र सेयरधनी भने बन्न सकिन्छ । अल्पकालीन रूपमा कारोबारमा देखिने तत्कालीन नाफा धेरैजस्तो देखिए पनि लगानीकर्ताले गर्ने धनको संग्रह र वृद्धि (वेल्थ एक्युमुलेसन) र नियमित आय निकै बढी हुन्छ । अझ सेयरधनी भएर कम्पनी सञ्चालन र नाफा प्राप्त गर्दाको आत्मसन्तुष्टिलाई रुपैयाँमा तुलना गर्न सकिन्न ।

कारोबारी र लगानीकर्ताको नाफा र जोखिम कम्पनीको वास्तविक सेयरधनीमा निर्भर रहन्छ । सेयरधनीले आफैं कम्पनी सञ्चालन वा स्वामित्व लिएर आफैं सञ्चालन र नाफा वितरण गर्दछ । सूचीकृत (स्टक एक्सचेन्जमा सेयर खरिद विक्री हुने) कम्पनीको सेयर खरिद गर्दासमेत आफू कारोबारी, लगानीकर्ता वा सेयरधनी के बन्ने भन्ने निक्र्योल गरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ ।

यहाँ सेयरधनी भन्ने बित्तिकै कम्पनीका सञ्चालक वा प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्ने होइन । सेयर किनबेचको प्रवृत्ति, लगानी अवधि, नाफा लिने तरिकाले पनि सेयरधनी बन्न सकिन्छ । सेयरधनीले कम्पनीमा हरदम समय दिन नसके पनि आवश्यक अवस्थामा सहकार्य र सुझाव दिन तथा कम्तिमा साधारण सभाको समयमा एजेन्डाहरूमा छलफल तथा सञ्चालक र व्यवस्थापनलाई सुझाव दिन सकिन्छ ।

यति धेरै कुरा गरेपछि अब तपाइँहरु आफ्नो क्षमता अनुसार कारोबार, लगानी वा सेयरधनी बन्न सक्नुहुनेछ भन्ने आशा लिएको छु । म भने थाहै नपाइ लगानीकर्ता र बीचमा सानो वा छिटपुट कारोबार गरिरहेको छु भने केही कम्पनीमा सेयरधनी नै छु । पहिलो कारोबार नविल र दोस्रो स्टान्डर्ड चार्टर्डपछि मेरो सेयर खरिद गर्ने बानी बस्दै गयो भने नेप्से सूचक करिब ११७५ बाट ३०० मुनि आउँदा निकै कठिन अवस्थामा पनि पुगेको थिएँ । कतिपय समयमा आफैंलाई बुझाउन नसिकिने अवस्था थियो ।

अहिले जस्तो बुझेको वा बुझाउने पनि कोही थिएनन् । तर बजारमा चासो र सक्दो खरिदलाई भने छोडिन । जब ७० सालको निर्वाचनपछि बल्ल लगानी र बजार मूल्य करिब बराबरको अवस्थामा पुगेको थियो भने सूचक १८८१ हुँदा अहिलेको भन्दा करिब आधा मेरो सेयर सम्पति थियो । अच्चम्म मान्नु भयो होला, मैले केही कम्पनीमा बाहेक घाटा बुक गरेको छैन भने केहीमा लागत व्यवस्थापन गर्दै आएको छु । एउटा उदाहरण दिउँ, सिद्धार्थ बैंकको २०६५ असोज २७ गते १२ सय ८० रुपैयाँमा किनेको लागत हाल करिब २७५ रपैयाँ छ ।

यसको सेयर विभिन्न समय थप ४२ सय १९ कित्ता खरिद र बोनस तथा हकप्रदबाट ९ हजार ७२८ कित्ता समेत पाएकोमा औसत ५४० रुपैयाँमा ४ हजार २१७ कित्ता बिक्री गरेको छु । यस्तै, एभरेष्ट बैंकको औसत लागतको आधारमा करिब ३० लाखको घाटा खुद लागतमा म अझै १५ लाख जति नाफा छु । त्यसैले मैले लगानीकर्ता र सेयरधनी हुँदै गर्दा पनि बजारको चाल अनुसार केही कारोबार पनि गर्नुपर्छ भन्न खोजेको हो ।

मैले अहिलेसम्म सिकेको भनेको बजारमा निकै उतारचढाब आउँछ, कहिले किन्ने (क्रेता) हावी हुन्छ र सस्तो किन्न अनेक हल्ला र प्रयत्न हुन्छन भने कहिले बेच्न अनेक अफवाह समेत चलाइन्छ । तर जबसम्म आफ्नो लागत बजार मूल्यको हाराहारी रहन्छ, कम्पनीले लाभांश दिन्छ र कित्ता जोगाउन सकिन्छ । बजार परिसूचक वा पुँजीकरण जति नै हुँदा पनि आत्तिनु पर्दैन् ।

हो, आफ्नो पोर्टफोलियो रातो र घाटा देखिन सक्छ तर कम्पनी र बजार हुँदासम्म कुनैपनि समयमा नाफा हुनसक्छ । किन्ने, बेच्ने वा होल्डको लगानी निर्णय गर्दा केही मूल्य बढी वा घटी भएपनि विश्लेषण र तनाव रहित भएर गर्नुपर्छ । बजारमा जे गरिन्छ त्यसको भागिदार आफैं हो । त्यसैले जे गरियो ठीक गरियो भन्ने मान्यतासहित लगानी निर्णय गर्नुपर्छ ।

अब तपाईंहरु सबैको चासो होला, अहिले के गर्ने त ? मेरो त निकै ठूलो घाटा छ, किन्न पैसा पनि छैन । बजार मूल्य के हुन्छ ? मेरो पनि प्रश्न यही हो ? के गर्ने ? यसको जवाफ मैले भर्खर व्यक्त विचारको आधारमा आफ्नो जोखिम क्षमता, बुझाई र रणनीति अनुसार गर्ने हो । बजारमा भनिए जस्तो साँच्चै किन्ने र बेच्ने निश्चित समय हुन्न । आफ्नो लागत, क्षमता अनुसार निरन्तर लगानी व्यवस्थापन गर्ने हो ।

हुनतः अहिले बजार परिसूचकका आधारमा न्यूनतम नजिक पुगेको सबैको आशय छ तर हामीले के पनि बुझ्नुपर्छ भने अझै लगानीकर्ताहरु विश्वस्त भएका छैनन्, मनोबल अझै कमजोर, तर पनि निरन्तर आशावादी हुँदै गएका छन् । पछिल्ला दिनहरुमा सेयर बजारले सुधारको संकेत गरिरहेको छ ।

यति भन्दै मेरो आजको छोटो प्रस्तुति यहीं टुंग्याउँछु । तपाईंहरुका केही जिज्ञासा मेटियो होला र केही थप भए होलान् । अबको केही समय हामी जिज्ञासाहरु सुन्ने र मेरो क्षमताले भ्याएसम्म समाधान वा उत्तर दिने प्रयास गर्नेछु । कृपया कुन कम्पनी, कुन सेक्टर भन्ने नितान्त कम्पनी केन्द्रित प्रश्न नगरिदिनु होला, धन्यवाद ।

अाईक्यापिटल फाउण्डेसनकाे पहिलाे ईन्भेष्टमेन्ट क्रोनिकल्समा व्यक्त मेराे विचारकाे केही सम्पादित रूपमा नेपाली पैसामा प्रकाशित लेख ।

यहि सिलसिलामा नेपालीपैसासँगकाे मेराे कुराकानी (प्राविधिक कारण केहि डिस्टर्व छ, सुन्नु हाेला)

(आइ क्यापिटल फाउन्डेसनको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो ।)
www.nepalipaisa.com मा २०७६ मंसिर २५ गते प्रकाशित
http://www.nepalipaisa.com/NewsDetail.aspx/id/29952

2 comments: