Sunday, December 1, 2019

सेयरधनीबीच विभेद र बजारमा यसको प्रभाव

कुनै कम्पनीको सेयरमा स्वामित्व भएका व्यक्ति वा संस्था दुवै सेयरधनी हुन् । सेयर स्वामित्व कम्पनी स्थापना गर्दा, कम्पनीले सार्वजनिक वा थप निष्कासन गरेको खरिद गरेर र दोस्रोबजार (स्टक एक्सचेन्ज) बाट प्राप्त गर्न सकिन्छ । व्यवसायको अवधारणा एवम् सम्भावित जोखिमसमेत आकलन गरी प्रचलित कम्पनी कानुनबमोजिम कम्पनी स्थापना गर्ने संस्थापक सेयरधनी हुन् । व्यावसायिक आवश्यकता र कानुनी व्यवस्था बमोजिम थप पुँजीको लागि कम्पनीले सेयर बिक्री गर्नसक्छन । यसरी बिक्री गरिने सेयर कम्पनीको व्यवसाय र सम्भावनालाई हेरी बुझि जाँची आमसर्वसाधारणले अंकित वा थप (प्रिमियम) मूल्यमा किनेर सेयर स्वामित्व प्राप्त गरी स्वामी बन्न सक्छन् । नेपालको सन्दर्भमा जे जसरी स्वामित्व प्राप्त गरे पनि कम्पनीप्रतिको दायित्व (संचालन) र अधिकार (नाफको बाँडफाँड) मा समान हुन्छ । कुनै कम्पनीको सेयरमा स्वामित्व भएका व्यक्ति वा संस्था दुवै सेयरधनी हुन् । सेयर स्वामित्व कम्पनी स्थापना गर्दा, कम्पनीले सार्वजनिक वा थप निष्कासन गरेको खरिद गरेर र दोस्रोबजार (स्टक एक्सचेन्ज) बाट प्राप्त गर्न सकिन्छ । व्यवसायको अवधारणा एवम् सम्भावित जोखिमसमेत आकलन गरी प्रचलित कम्पनी कानुनबमोजिम कम्पनी स्थापना गर्ने संस्थापक सेयरधनी हुन् । व्यावसायिक आवश्यकता र कानुनी व्यवस्था बमोजिम थप पुँजीको लागि कम्पनीले सेयर बिक्री गर्नसक्छन । यसरी बिक्री गरिने सेयर कम्पनीको व्यवसाय र सम्भावनालाई हेरी बुझि जाँची आमसर्वसाधारणले अंकित वा थप (प्रिमियम) मूल्यमा किनेर सेयर स्वामित्व प्राप्त गरी स्वामी बन्न सक्छन् । नेपालको सन्दर्भमा जे जसरी स्वामित्व प्राप्त गरे पनि कम्पनीप्रतिको दायित्व (संचालन) र अधिकार (नाफाको बाँडफाँड) मा समान हुन्छ ।

कानुनी परिभाषाकानुनी परिभाषाअनुसार कम्पनीको सेयरमा स्वामित्व भएको व्यक्तिलाई ‘सेयरधनी’ भनिन्छ । कम्पनी ऐन अनुसार ‘संस्थापक’ भन्नाले कम्पनी संस्थापना गर्नको लागि कार्यालय (कम्पनी रजिष्ट्रार) समक्ष दाखिल गरिने प्रबन्धपत्र तथा नियमावलीमा लेखिएको कुरालाई मञ्जुर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनुपर्छ । यस्तै बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०६३ (बाफिया) अनुसार ‘संस्थापक’ भन्नाले यस ऐन बमोजिम बैंक वा वित्तीय संस्था संस्थापना गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा कम्तीमा एक सेयर लिन मन्जूर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनुपर्छ ।संस्थापक बाहेकको अन्य सेयरधनीलाई सर्वसाधारण सेयरधनीका रूपमा लिँदै ‘सर्वसाधारण सेयर समूह’ का रूपमा लिनुपर्ने उल्लेख गरेको छ । कानुनतः सीमित अधिकार तर भुक्तानीमा अग्राधिकार भएको सेयरधारण गर्ने सेयरधनीलाई ‘अग्राधिकार सेयरधनी’ भनिन्छ । यसरी कानुनी रूपमा संसारभर नै कम्पनीमा साधारण (संस्थापक र सर्वसाधारण) र अग्राधिकार गरी दुई प्रकारका सेयर र सेयरधनी हुन्छन् ।

अधिकार र दायित्व

सामान्यतः कानुनत कम्पनी ऐनअनुसार संस्थापित कम्पनीको कारोबारको सम्बन्धमा सेयरधनीको दायित्व निजले खरिद गरेको वा खरिद गर्न कबुल गरेको हदसम्म रहन्छ । संचालन र व्यवस्थापनको पूर्ण दायित्व सेयरधनी (संस्थापक र सर्वसाधारण) को हुन्छ । यस्तै धारित सेयरको हिस्साको आधार मुनाफा प्राप्त गर्ने, संचालक समितिमा प्रतिनिधित्व वा मत दिने, कम्पनीको कुनै पनि विषयवस्तुमा छलफल र निर्णयमा मत व्यक्त गर्ने अधिकार रहन्छ । कानुनले सर्वसाधारण सेयरधनीको विशेष दायित्व उल्लेख गरेको देखिँदैन, तर संस्थापकले क) पुरा नाम र ठेगाना उल्लेख गरी लिन मञ्जुर गरेको सेयरको विवरण सहित प्रबन्धपत्रतथा नियमावलीमा सहीछाप गर्नुपर्ने, ख) कम्पनीको नियमावलीबमोजिम वा कम्तीमा एक सय कित्ता सेयर खरिद गर्न मञ्जुरहुनुपर्ने, ग) कम्पनीको प्रथम वार्षिक साधारण सभा नभएसम्म सञ्चालकहरूको नियुक्ति गर्नुपर्ने व्यवस्था छ । पब्लिक कम्पनीमा कम्तिमा सातजना संस्थापक हुनुपर्नेछ ।

संस्थापकहरूले क) प्रथम साधारण सभा नभएसम्म र निजको नाममा जारी भएको सेयरको माग रकम पुरा चुक्ता नगरेसम्म आफूले लिएको सेयर बिक्री गर्न वा धितोबन्धक राख्न पाउने छैन भने ख) सोह्र वर्ष उमेर नपुगेको नाबालक र कानून बमोजिम करार गर्न अयोग्य व्यक्ति कम्पनीको संस्थापक हुन सक्ने छैन । बाफियाले भने बैंक तथा वित्तीय संस्थामा क) संस्थापक हुन उपयुक्तता परीक्षण (फिट एण्ड प्रोपर टेस्ट) पास गरेको, ख) संस्थापकहरूको हिस्सा कम्तिमा ५१ प्रतिशत, ग) कारोबार सञ्चालन गरेको मितिले पाँच वर्ष र सर्वसाधारणमा सेयर जारी गरेपछि राष्ट्र बैंकको स्वीकृति लिई बिक्री भएकोत्यस्तो सेयर संस्थापक समूहमा नै रहने गरी मात्र संस्थापक सेयर बिक्री वा धितोबन्धक राख्न सकिने तथा चुक्ता पुँजीको दुई प्रतिशतभन्दा कम सेयर धारण गर्ने संस्थापकले भने आफ्नो सेयर बिक्री वा धितो बन्धक राख्दा राष्ट्र बैंकको स्वीकृति लिन आवश्यक नपर्ने, घ) कारोबार सञ्चालन गरेको दश वर्ष पुगेपछि पुँजी बजार, बैंकिङ्ग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी राष्ट्र बैंकको स्वीकृतिमा संस्थापक सेयर क्रमशः सर्वसाधारण सेयरमा परिणत गर्न सकिने, ङ) संस्थापक, सञ्चालक वा शून्य दशमलव एक प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन नपाइने, च) संस्थापक, सञ्चालक वा कार्यकारी प्रमुख जमानत बसी कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा दिन नहुने, छ) संस्थापक, सञ्चालक, कार्यकारी प्रमुख वा निजको परिवारको सदस्य लेखापरिक्षक नियुक्त हुन नसक्ने व्यवस्था गरेको छ । यसका साथै बैंक तथा वित्तिय संस्थाको संस्थापकहरूले सर्वसाधारणलाई सेयर निष्कासन गरी उनीहरूसमेतको सहभागिताको साधारण सभा मार्फत् पारित नहुँदासम्म लाभांस वितरण गर्न पाइँदैन् ।

केहि व्यावहारिक पाटाहरू

कानुनी रूपमा समानता र अधिकार तथा दायित्व परिभाषित भएता पनि व्यवहारमा कम्पनी र विशेषगरी पुँजीबजारमा सूचीकृत कम्पनीहरूको सेयरधनीहरूबीच निम्न विभेद र समस्याहरू रहँदै आएका छन् ।

१) कानुनी बन्देजका समस्याहरूः सेयरधनीहरूको समान अधिकार र दायित्वको अवधारणा विपरित जोखिम लिएर कम्पनी स्थापना गर्ने संस्थापकहरूलाई विभिन्न कानुनी र व्यवहारिक बन्देज र विभेद गरिएको छ। जलविदुत तथा अन्य क्षेत्रका संस्थापक र आरक्षित कोटाका सेयरधनीहरूले तीन वर्षसम्म बिक्रीमा बन्देज भएपनि त्यसपछि संस्थापक र सर्वसाधारणको विभेद भने देखिँदैन् । तर बैंक तथा वित्तिय संस्थामा क) संस्थापकको सेयर सम्पत्तिको उपभोग, ख) मुनाफा बाँडफाँटमा प्रतिबन्ध, ग) अनिश्चित अवधिसम्म बाध्यकारी सेयरधारण, घ) ठूला सर्वसाधारण भन्दा साना संस्थापक सेयरधनीमाथि अनेकन प्रतिबन्धले संस्थापकहरूमाथि विभेद भएको देखिन्छ ।

यस्ता प्रतिवन्ध र लकिङले केहि फाइदादेखिएता पनि अनावश्यक द्वन्द्व, ईष्र्या जन्माउनुका साथै लकिङ सकिने र संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन (कन्भर्ट) हुने बहानामा बजारमा मूल्य प्रभावित र आतंकित बनाउने अनि उकुसमुकुस सेयरधनीहरूले एकैपटक ठूलो परिमाणको सेयर बिक्रीमा ल्याउँदा मूल्य गिरावटबाटसबै सेयरधनी र कम्पनी समेत प्रभावित हुन्छन् ।

२) कारोबारः सूचीकृत कम्पनीहरू मध्ये बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरधनी हुन फिट एण्ड प्रोपर टेस्ट पास गर्नुका साथै संस्थापक सेयर कारोवार गर्दा
क) सम्बन्धीत कम्पनीको संचालक समितिबाट स्वीकृति हुनुपर्ने,
ख) दुई प्रतिशतभन्दा बढीको सेयरधनीको हकमा नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति गराउनुपर्ने,
ग) कालोसूचीमा नभएको प्रमाणपत्र,
घ) खरिद बराबरको आयस्रोत खुलेको प्रमाण,
ङ) करचुक्ता प्रमाण समेत पेश गर्नुपर्ने,
च) प्यान दर्ताको प्रमाण,
छ) सेयर खरिदका लागि विद्यामान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने,
ज) विद्यमान बाहेक नयाँ व्यक्तिले संस्थापक सेयर खरिद गर्ने अवस्थामा फिट एण्ड प्रोपर टेस्ट र पत्रिकामा सूचना समेत जारी गर्नुपर्ने व्यवस्थाले कारोवारमा असहजतासँगै तरलता, माग–आपूर्तिको असहजता र मूल्यगत जोखिम निम्त्याएको छ ।

अर्कोतर्फ सर्वसाधारण सेयर भने रु. ५ लाखसम्मको बिना प्यान र सोभन्दा माथि प्यान दर्ता भएर तथा रु १० लाख माथि स्रोत खुलाएर सहजै किन्न सकिन्छ भने बेच्न केवल प्यान दर्ताको प्रकृया पुरा गरे पुग्छ ।

३) मूल्यः कानुनत: कम्पनीको सेयरको अंकित मूल्य रु. १०० वा रु. १० नै हुन्छ, तर नेपालमा सर्वसाधारण सेयरको बजार मूल्य माग र आपूर्तिको आधारमा निर्धारित हुँदा संस्थापक सेयरको मूल्य भने अन्तराष्ट्रिय प्रचलन विपरित नियमनको आधारमा निर्धारित (रेगुलेटेड) हुन्छ ।यस्तो मूल्यगत भिन्नताले सेयर सम्पत्तिको आधारमा संस्थापक र सर्वसाधारण सेयरधनीको आर्थिक हैसियत र क्षमतामा असमानता र विभेद ल्याएको छ ।जस्तै, मेगा बैंकको समान १ लाख कित्तासेयरधनीको सेयर सम्पत्ति प्रचलित मूल्यमा संस्थापकको १ करोड २ लाख र सर्वसाधारणको १ करोड ८० लाख रूपैयाँ हाराहारी हुन्छ । यहाँ संस्थापक सेयरधनीहरूको वेल्थ म्याक्सिमाइजेसन भन्दा आर्थिक क्षमतामासंकुचितभएको छभने प्रतिफल दर, मूल्य आम्दानी अनुपात, किताबी मूल्य अनुपात, जस्ता आधारभूत सूचकहरूमा असमानताका साथै बजार पुँजीकरणको यर्थाथता माथि प्रश्न उठिरहेको छ ।

४) प्रतिफल दरः अंकित मूल्यमा किनिएको संस्थापक वा सर्वसाधारण सेयरको लगानीमा प्रतिफल दर एउटैभएपनि बजारबाट किनिने सेयरको प्रतिफल दर भने उल्लेख्य फरक हुन्छ । उदाहरणको लागि २०७५/७६ को लाभांसका लागि बुक क्लोज अगाडिसंस्थापक सेयर रु. १०४ तथा सर्वसाधारण सेयर रु. २०२ मा किनेको आधारमा संस्थापकहरूले करिव ११.३ प्रतिशत र सर्वसाधारण सेयरधनीले ५.८५ प्रतिशतलगानीमा प्रतिफल पाएको देखिन्छ ।

५) लाभांसः मूल्यगत भिन्नता र कारोवारमा असहजताका कारण लाभांसमा संस्थापकहरूको नगद तथा सर्वसाधारणको बोनस सेयरमा प्राथमिकता र दवावले अनावश्यक द्वन्द्व जन्माउँछ । व्यवसायिक आवश्यकताका भन्दा सेयरधनी समूहको स्वार्थमा नगद वा बोनस सेयर लाभांसका रूपमा दिन बाध्य हुँदा कम्पनी अधिक वा न्यून पुँजीको चपेटामा पिल्सिन बाध्य हुन्छ । अन्यः संस्थापक र सर्वसाधारण सेयरको निश्चित अनुपातको बाध्यताले कतिपय अवस्थामा दीर्घकालीन लगानी क्षमता नभएका सर्वसाधारणले ईच्छा विपरित संस्थापक हुन बाध्य हुनुपरेको उदाहरण एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्सलाई लिन सकिन्छ । यस्तै मूल्यगत लगानीको हिसावले कम लगानी भएका ५१ प्रतिशत संस्थापकले बढि लगानी गरेका ४९ प्रतिशत सर्वसाधारण सेयरधनी माथि शासन गरेको देखिन्छ ।

सुझाव र निष्कर्ष

विद्यमान कानुनी र व्यवहारिक असमानता हटाउँदै कम्पनीमा समानुपातिक अधिकार र दायित्व सहित ‘सर्वप्रथम कम्पनी (कम्पनी फस्र्ट)’ मान्यताका आधारमा सबै सेयरधनीहरू बीच समानता, सहकार्य र समन्वय हुनु जरुरी छ । अन्तराष्ट्रिय प्रचलन विपरित नेपालमा प्रचलित संस्थापक र सर्वसाधारण सेयरधनीको समूहगत र मूल्यगत भिन्नता अन्त गर्दै विकल्पमा ‘व्यवस्थापन सेयर समूह’ कायम गर्न सकिन्छ । विद्यमान समूहलाई कायम नै राख्दा समेत ‘मूल्यगत भिन्नता’ हटाउँदै निश्चित अवधि पछि संस्थापक र सर्वसाधारण सेयर बजारको माग तथा आपूर्तिको आधारमा समान मापदण्ड र मूल्यमा सहजै कारोवार गर्न सकिने हुनैपर्छ । बरु ०.५ प्रतिशत वा निश्चत कित्ता भन्दा बढिको सेयर बिक्री गर्दा स्टक एक्सचेन्ज र बजारलाई पूर्व जानकारी दिने व्यवस्था गर्न सकिन्छ ।
नेपाल राष्ट्र बैककाे संस्थापक शेयर हस्तान्तरण सम्बन्धी व्यवस्था यहाँ पढ्नुस ।
काराेवार दैनिकमा २०७६ मंसिर १५ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/26550

No comments:

Post a Comment