Monday, April 20, 2020

लकडाउनमा सेयरबजारसम्बन्धी बेमौसमी बहस


अन्तिमपटक २०७६ चैत ९ गते खुलेको नेपालको शेयरबजार (धितोपत्र वा पूँजी बजार) बन्द भएको आज अठाइसौं दिन भएको छ । अझै कहिले खुल्ने निश्चित पनि छैन । केही वर्षको छोटो अन्तरालमा नेपाली शेयरबजार पुनः अनिश्चितकालीन बन्दको अवस्थामा छ । बजार संचालन नहुँदा निकै तरल सम्पत्ति मानिने शेयर बन्धक भएको छ । कतिले अप्ठेरो अवस्थामा सम्पत्ति बिक्री गर्न, आर्थिक गर्जो टार्न र जोखिम र लगानी व्यवस्थापन गर्न सकेका छैनन् । बजार बन्द हुनुका मुख्यकारण सरकारद्वारा घोषित लकडाउन (बन्दाबन्दी) र निषेधित आवागमन देखिए पनि लगानीकर्ताहरुको विभिन्न समूह बजार बन्द र खुलाउन भूमिका खेलेको आरोप लगाइरहेका छन् ।

अहिलेको अवस्था

संसार नै कोभिड–१९ को महामारीबाट त्रसित भएर सम्भावित संक्रमणबाट बच्ने अचूक उपायका रुपमा बन्दाबन्दी (लकडाउन)लाई अपनाए जस्तै नेपालले पनि सीमा बन्द र हवाई सम्पर्क विच्छेद गरी २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गर्दै नागरिकको आवागमन र सम्पूर्ण क्रियाकलापलाई घरभित्र सिमित गरेको छ । सरकारको स्वीकृति बिना घरबाहिर निस्कन निषेध गरेको छ । लादिएको बन्दी जीवनले मानसिक स्वास्थ्य समेत प्रभावित हुने कुरा आउन थालेको छ । अनिश्चितता र त्रसित भएर सबै कुरा छोडेर जीवनरक्षार्थ लागेका छन् । अत्यावश्यक काममा लागेका समेत निकै सुरक्षित र सतर्क भएर काम गरिरहेका छन् । निश्चित स्वास्थ्योपचारको विकल्परहित भनिएको कोभिड–१९ को संक्रमणबाट बचाउन सरकारहरु अत्यावश्यक सेवालाई सुचारु राखेर अरुलाई बन्द गर्दै नागरिकलाई घरबन्दी बनाइरहेका छन् ।

बजार खुल्ला कि बन्दः तर्कहरु

सरकारले पनि अत्यावश्यकको पनि सकेसम्म कम सेवा सुचार गर्दै अरु पूर्णत बन्द गरे अनुरुप अत्यावश्यक सेवामा नपरेको शेयरबजार पनि बन्द छ । यसैकारण लगानीका हिसावले तरल सम्पति (लिक्विड एसेटस्) मानिने शेयर आवश्यक पर्दा बेच्न नपाएको वा तरल नभएको भन्दै कतिपय व्यक्ति सरकारले बजार जसरी पनि संचालन गर्नुपर्छ भन्ने आवाज उठाइरहेका छन् । अर्को पक्ष विषम परिस्थितिमा बजार संचालन हुननसक्ने तर्क गरिरहेका छन् ।

बजार खोल्ने र बन्दका सम्बन्धमा दुवै पक्ष बलिया तर्क प्रस्तुत गरिरहेका छन् । तर केही लगानीकर्ताहरु भने दुवै तर्क विपरित अहिले आफू सुरक्षित रहँदै बन्दाबन्दी नखुल्दासम्म बजारको बहस बेमौसमी बाजाका रुपमा बुझिरहेका छन् । उनीहरुको प्रश्न छ, के अहिले बजारको चिन्तन गर्ने समय हो ?, के जीवनभन्दा सम्पत्ति महत्वपूर्ण हुन्छ ?, के पैसाले स्वास्थ्योपचार नभएको संक्रमण रोक्न सकिन्छ ?, अनि त्रसित र अनिश्चित मानसिकता बोकेको व्यक्तिले स्वस्थ लगानी वा कारोवार निर्णय गर्न सक्छ ?, र हाम्रो प्राथमिकता शेयरबजार कि संक्रमण रोकथाम ?

यस्तै, बन्दाबन्दीको छबिसौं दिनसम्म पनि नेपालमा केवल ३० जना संक्रमित देखिएका मध्ये एकजना निको भएको र कसैको मृत्यु नभएको आधारमा संक्रमणको जोखिम न्यून मान्न सकिन्छ त ? सरकारले संक्रमणको सम्भावना स्वीकार गर्दै घरबन्दी बनाएको अवस्थामा शेयरबजार संचालनको आवश्यकता र सम्भावनामा बहस, कतै ‘ल्हासाजान कुटिको बाटो’ वा ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भनेजस्तो ‘बेमौसमी बाजा (बहस)’ त होइन भन्नेमा सबैले ध्यान दिनुपर्नेछ । हामी – शेयरबजारका सरोकारवाला– पनि यहि समाजका हिस्सा भएको र हाम्रा सबै गतिविधि यहि समाज र समयमा निर्भर हुने अवस्थामा सरकारको आदेश र परिस्थिति विपरित सम्भव होला त ?

मानौं, सरकारले अहिलेकै परिस्थितिमा शेयरबजार संचालन गर्न स्वीकृति दियो । के हामी शेयर कारोवार गर्न तयार छौं ?, के बहुसंख्यक लगानीकर्ता र कारोवारीको बजार प्रणालीमा न्यायोचित पहुँच दिन सकिन्छ ?, के विद्यमान बजार प्रणाली र पूर्वाधारले भौतिक उपस्थिति विना यान्त्रिक र स्वचालित रुपमा स्वस्थ कारोवार र राफसाफ गर्न सक्छ ? थप प्रश्नहरुको सिर्जना हुने निश्चित छ । सायद धेरैको उत्तर नकारात्मक नै आउनेछ । हामी सबैलाई हाल उपलब्ध स्वचालित भनिएको अनलाइन कारोवार र राफसाफ प्रणालीको सीमा र क्षमता थाहा छ । भर्खर प्रविधि अपनाउँदै गरेको नेपालको शेयर कारोवार प्रणालीमा सुधारका धेरै काम गर्न बाँकी छन् भन्ने यथार्थ थाहाहुँदाहुँदै हामी बजार संचालनको कुरा कतिको व्यवहारिक हुनसक्छ ? हो, अहिलेको अवस्थाबाट सरकार, नियामक, बजार संचालक, ब्रोकर र लगानीकर्ता/कारोवारी सबैले पाठ भने सिक्नैपर्छ । यदि यस्तो विषम परिस्थितिमा पनि शेयरबजार नियमित संचालन गर्ने हो भने चुस्त प्रणाली र प्रविधिमा पहुँच र प्रयोगका ज्ञान हासिल गर्नैपर्ने छ । स्वचालित भनिएको अनलाइन कारोवार, रकम भुक्तानी र शेयर राफसाफका प्रणालीगत, व्यवहारिक र कानुनी समस्या समाधान गरिएको अवस्थामा मात्र बजार संचालनको आवश्यकता र सम्भावनाको बहस बढी सार्थक हुनेछ ।

अन्यथा, विदेशमा बजार खुल्दा नेपालमा किन नखुल्ने, अनलाइनमा कारोवार गर्नेले मात्र बजारमा कारोवार गर्छन्, मन नलाग्नेले कारोवार नगरे हुन्छ भन्ने तर्कहरु स्वार्थपरक र अपरिपक्व तर्क हुनेछ । एकजनाको कारोवारले बाँकी सबैको सम्पत्ति प्रभावित हुने अवस्थामा बहुसंख्यक लगानीकर्ताहरुलाई बजार पहुँचबाट बञ्चित गरेर केही व्यक्तिको स्वार्थमा बजार संचालन गर्नुभनेको प्रविधिको आडमा अन्याय र लुट त हुँदैन? सोचनीय छ । हो, शेयरमा लगानी सबैभन्दा जोखिमपूर्ण छ र बजारमा जोखिम लिन सक्नेले जित्छ, तर जोखिम व्यवस्थापनको न्यायोचित आधार पनि दिनुपर्छ । यसोभन्दैमा बजारमा मूल्यान्तरको सम्भावना र मार्जिन कलको त्रासमा बजार बन्द गर्नुपर्छ भन्दै केही स्वघोषित नेताहरुले बजार संचालक (नेप्से) र नियामक (धितोपत्र बोर्ड)मा दवाव दिनजानु पनि गलत भन्ने भुल्नु हुन्न । लगानी तथा कारोवार गर्दा सिर्जना हुने मूल्यगत जोखिम लिन तयार नहुने व्यक्तिका लागि शेयरबजार हुँदैहोइन भन्न कुनै विद्यावारिधी चाहिन्न ।

सबैकुरा हुँदाहुँदै पनि नेपाली लगानीकर्ता र कारोवारीको विशिष्ट आवश्यकता, क्षमता र चरित्रलाई बेवास्ता गरिनुहुन्न । नेपाल अहिले पनि संसारसँग सोझो मुद्रागत सम्बन्ध नभएको र विदेशी मुद्रा प्रवाहमा नियन्त्रित प्रणाली भएको मुलुक हो । हाम्रो शेयरबजारको मात्र होइन, अर्थतन्त्रको प्रणाली समेत सोझै विश्वसँग जोडिएको छैन । नेपालको अर्थतन्त्र र शेयरबजार समेत एक प्रकारको आइसोलेसनमा रहेको छ । त्यसैले पूर्ण स्वचालित र प्रविधिमैत्री नै हुँदा समेत विश्वबजारसँग सोझै नजोडिएको अवस्थामा नेपाली शेयरबजारलाई भारत वा अन्य मुलुकको शेयरबजार जस्तो नियमित संचालनको बाध्यता हुनेछैन, उसँग नेपाली लगानीकर्ता वा कारोवारीको हितमा बजार व्यवस्थापन गर्ने विकल्प सदैव निहित हुनेछ । विश्वबजारमा जोडिएको अवस्थामा अहिले पनि बजार बन्दगर्ने विकल्प नेपालले पाउने थिएन ।

जहाँसम्म सम्पतिगत तरलताको कुरा छ, सामान्य र सम्भव्यता रहँदाको अवस्थामा यसमा कसैले विमित राख्नसक्दैन । तर राज्य र विश्वले नै विषम भनेको अवस्थामा विश्वका शक्तिशाली राष्ट्रले समेत सबै सिद्धान्तलाई थाति राखेर जीवनलाई प्राथमिकता राखेबाट वर्तमानमा तरलताको सिद्धान्तमा पनि थप बहस आवश्यक नपर्ला ।

बन्दको प्रभाव

बजार संचालन नहुँदा निकै तरल सम्पत्ति मानिने शेयर बन्धक भएको छ । कतिले अप्ठेरो अवस्थामा सम्पत्ति बिक्री गर्न, आर्थिक गर्जो टार्न र जोखिम र लगानी व्यवस्थापन गर्न सकेका छैनन् । विशेषगरी बजारको अनपेक्षित बन्दले शेयर कारोवारलाई व्यवसाय वा पेशा बनाएका र यसैमा आश्रितहरुको आर्थिक वा व्यवहारिक समस्यालाई सरोकारवालाहरुले स्वीकार्नै पर्छ । कारोवारी र अल्पकालीन लगाीकर्ताहरुको व्यवहारिक वा आर्थिक समस्या मात्र होइन, कारोवार गर्न नपाउँदाको छटपटाहत र मानसिक तनाव कम गर्ने सम्बन्धमा सरकार वा नियामकले केही उपाय सुझाउनु राम्रो हुनेछ ।

यदि बजारलाई नियमित संचालन गर्न सकेको भए घरमा निस्सासिएका लगानीकर्ताहरु केहि व्यस्त हुने र मानसिक व्यायामले विषम परिस्थितिमा केहि तनाव कम गर्न सघाउ पुग्न सक्थ्यो । सरकारले धेरथोर राजश्व प्राप्त गर्दथ्यो । विश्वलाई नेपाली बजारको पूर्वाधारगत सक्षमता प्रस्तुत गर्न सक्थ्यो । सँगसँगै त्रसित र उत्तेजित मानसिकतामा असन्तुलित कारोवारले लगानीकर्ताको सम्पत्ति प्रभावित हुनुका साथै विशेषगरी शेयरधितो कर्जा लिएका लगानीकर्ताहरु सम्भावित मार्जिन कलबाट थप तनावग्रस्त हुने सम्भावना रहन्थ्यो । परिस्थितिजन्य त्रासलाई आधार बनाएर अति न्यून मूल्यमा अरुको सम्पत्ति कब्जा हुनसक्थ्यो ।

के सिक्ने र के गर्ने ?

हाल सिर्जित विषम परिस्थितिले नेपालको शेयरबजारको प्रविधिगत खाडलमात्र उदाङगो पारेको छैन्, कारोवारी र लगानीकर्ताहरुलाई लगानी तथा कारोवार गर्दा क) कम्पनी, बजारका आधारभूत तथा प्राविधिक विश्लेषणसँगै सम्भावित अनिश्चितता र पूर्वानुमान गर्न नसकिने जोखिमहरुका लागि समेत तयार हुनपर्ने, ख) लगानी गर्दा वचतबाट मात्र गर्नुपर्ने, ग) ऋणबाट लगानी गर्दा सम्भावित मार्जिन कल, ब्याज र तत्कालिन मूल्यान्तर सिर्जिना हुनसक्ने जोखिम व्यवस्थापन गर्नसक्ने हदसम्ममात्र लगानी र जोखिम लिनुपर्ने, घ) जति नै राम्रो प्रतिफलको अवस्थामा पनि केहि नगद साथमा राख्नुपर्ने (उपलब्ध सबै रकम बजारमा लगानी गर्नु नहुने), ङ) कारोवार र लगानीमा जोखिमवहन क्षमता र रणनीति पुनरावलोकन गरि समयमा नै रणनीति अनुरुप किनबेच वा होल्डको निर्णय कार्यान्वय गरिहाल्नुपर्ने पाठ सिकाएको छ । हुनतः लगानीकर्ताहरु शेयर किन्दा नै बेच्न होइन, लाभांस र दीर्घकालीन सम्पत्तिमा वृद्धिको लक्ष्य राख्नुपर्ने मान्यता राखिन्छ । त्यसैले पनि शेयर किनेको भोलीपल्टदेखि पाँच वर्ष बजार बन्द हुन्छ भन्ने सोच र व्यवस्थापन क्षमता सहित मात्र शेयरमा लगानी गर्नुपर्ने मान्यता राखिन्छ ।

अन्तमा, तत्कालको वहस बजार खोल्ने वा बन्दभन्दै लगानीकर्ता र कारोवारी आपसमा द्वन्द्व गर्दै जग हँसाउनु भन्दा विषम परिस्थितिको अन्त नहुँदा वा बजार प्रणालीले काम गर्न नसक्दासम्म सबैले तनावरहित ढंगले घरमा सुरक्षित रहनु उत्तम हुनेछ । भविष्यमा पूर्वाधारको अभावमा सम्भावत कठिन परिस्थितिमा बजार बन्द गर्नुपर्ने बाध्यता नआओस् भन्नका लागि सबै सरोकारवालाहरुले पाठ सिक्दै प्रणालीगत समस्याहरु पहिचान र समाधानका लागि तत्काल लाग्नुपर्छ । यदि सबै सरोकारवालाहरुले शेयरबजार खोल्नैपर्ने आवश्यकता महसुस गरेको हो भने सरकारलाई दवाव दिएर शेयर कारोवारलाई अत्यावश्यक सेवामा राख्न लगाउँदै बजार संचालक, ब्रोकर र लगानीकर्ताहरुको बजार प्रणाली (कारोवार र राफसाफ)सम्म सहज पहुँच कायम गराउनु पर्नेछ ।

बिजपाटी डटकममा २०७७ बैशाख ७ गते प्रकिशत

No comments:

Post a Comment